बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता सुरु

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएका छन् ।

प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश सरकारलाई महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न आग्रह गर्ने विश्वास दिलाए ।

विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जाने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत महाँकाललाई प्राथमिकता दिने बताए । null

ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेलको महाँकाल माध्यमिक विद्यालय परिसरमा आजदेखि सुरु भएको प्रतियोगितामा बागमती प्रदेशका १६ टोलीको सहभागिता रहेको छ भने प्रतियोगिता यही वैशाख २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । 

विश्वकप उद्घाटन खेल : क्यानडाविरुद्ध अमेरिकाको शानदार जित

काठमाडौं । आइसीसी टी२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।आइतबार बिहान सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७ दशमलव ४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो। अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाए। यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ६१ र निकोलस क्रितोनले ५१ रन बनाएका थिए। त्यस्तै श्रेयस मोभ्भाले १६ बलमा ३२ रन अविजित बनाएका थिए। जितपछि समुह ए मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ। अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ।

गण्डकी प्रदेशमा २७ गतेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा ७ दिनभित्र दाबी पेस गर्न आह्वान गरिएको छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् । भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनको लागि आह्वान गरेका हुन् । उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।  पाण्डेले बुधवार बिहान पदबाट राजीनामा दिएका थिए ।

सुनको मूल्य फेरि घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा आज मूल्य घटेर कारोबार सुरु भएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८०० रुपैयाँ कायम थियो । अघिल्लो साता सुनको मुल्य उच्च विन्दुमा एक लाख २६ हजार पुगेको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घले गत साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले बढेर कारोबार सुरु भएको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १५ सय ३० रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको १५ सय १५ रुपैयाँ कायम थियो ।

सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम

 काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । मार्क्सवादी ज्ञान केन्द्रले आज नेपाल ल क्याम्पसमा आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो भएको छ । यसैगरी, पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु १० हजार, रु सात हजार पाँच सय र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना स्थान प्राप्त गर्नेले रु दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको छ । विजेता टोलीलाई मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थी सहभागी थिए ।प्रतियोगीलाईर्दशन, समाजिक इतिहास विज्ञान लगायतका विभिन्न विधाबाट प्रश्न सोधिएको थियो । पठन संस्कृतिको विकास गर्न यस किसिमको कार्यक्रम गरिएको आयोजकले जनाएको छ । संस्थाका महासचिव इन्द्रराज भट्टराईले सहजिकरण गरेको कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थीका साथै संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु र सुभचिन्तकहरुसँगै विभिन्न क्याम्पसमा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ: अध्यक्ष ढकाल

ताप्लेजुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताउनुभएको छ।  ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।  उहाँले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गर्नुभयो। उहाँले पाथीभरा केवलकारमा स्थानीयहरुलाई सतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको बताउनुभएको छ । संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उहाँले बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताउनुभयो ।  उहाँले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राख्नुभयो । उहाँले पाथीभरामा केवकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताउनुभयो ।  उहाँले स्थानीयहरुलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताउनुभयो । उहाँले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताउनुभयो ।  उहाँले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको बताउनुभयो । उहाँले केबकार निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताउनुभयो ।  उहाँले पाथीभरा केबकार  आयोजना आइएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताउनुभयो ।  उहाँले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना, व्यवसायीक गतिविधि र राजश्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन शुरुवात गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘पाथीभरा केवलकार बनाउँदा स्थानीयहरुलाई के गर्नुपर्छ । त्यो गर्न तयार छौं । स्थानीय मानिसहरुलाई के सुविधा दिनुपर्छ त्यो भन्नुपर्यो । केबलकारले स्थानीय, बालबालिका तथा वृद्धवृद्धाहरुलाई दिने सुविधाको बारेमा उल्लेख गर्दै थप सेवा सुविधा आवश्यक परे छलफल गर्न तयार छौं।' 'हामी एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकमा पर्यटन विकास गर्ने र रोजगारी सिर्जना गर्ने अभियानमा छौं ।  समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा केवकारले ठूलो भुमिका निर्वाह गर्छ । अहिले नेपालमा वैदेशिक लगानी भित्र्याउनको लागि ठूलो खर्च गरिरहेका छौँ । तर हामी स्वदेशी लगानी विकास गर्छौं भनेर निजी क्षेत्र ताप्लेजुङ जाँदा चन्द्र ढकालको व्यक्तिगत फाइदाको लागि भनियो । मैले मेरो फाइदालाई मात्रै हेर्ने भए अन्य ठाउँमा पाँच तारे होटल खोल्ने थिए । होटल बनाएको भए यति धेरै झमेला आउने थिएन । सम्भावना भएको ठाउँमा पर्यटन र स्थानीय विकासको लागि हो ।  फाइदा मात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । स्वदेशी लगानीलाई निरुत्साहित गर्न खोज्नु गलत हो । सकेसम्म सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन चाहन्छौ ।’

हत्याको प्रयासपछि स्लोभाक प्रधानमन्त्री फिकोको अवस्था चिन्ताजनक

हत्याको प्रयासपछि स्लोभाक प्रधानमन्त्री फिकोको अवस्था चिन्ताजनककाठमाडौँ ।हत्याको प्रयास गरिएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। फिकोमाथि बुधबार ब्राटिसलाभाबाट उत्तर–पूर्वी गाउँमा गोली प्रहार भएको थियो। बुधबार साँझ रक्षामन्त्री रोबर्ट कालिनाकले फिको तीन घण्टादेखि शल्यक्रिया कक्षमा रहेको र अवस्था ‘खराब’ भएको बताए। स्लोभाक राजनीतिज्ञका साथै राष्ट्रपतिले यो घटनालाई ‘प्रजातन्त्रमाथिको हमला’ भनेका छन्। गोली प्रहार गर्ने सन्दिग्धलाई सुरक्षाकर्मीले घटनास्थलबाट नियन्त्रणमा लिएका छन्। यद्यपि, उनको परिचय औपचारिक रूपमा खुलाइएको छैन। घटना स्थानीय समयअनुसार बुधबार दिउँसो करिब २ बजेर ३० मिनेट जाँदा हान्डलोभामा भएको थियो । एउटा बैठकपछि फर्किएर स्थानीयहरूलाई अभिवादन गरिरहेका बेला प्रधानमन्त्री फिकोमाथि एक व्यक्तिले ५ पटक गोली प्रहार गरेका थिए।  उनलाई तत्कालै नजिकैको अस्पताल लगिएको थियो । त्यसपछि उनलाई बान्सका बाइट्रिकास्थित अर्को अस्पतालमा सारिएको थियो।

गायिका रचना रिमालले सन्दीपबारे भनिन् -'दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ'

काठमाडौं ।गायिका रचना रिमालले उच्च अदालत पाटनलाई क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा पठाएपछि छिटो निर्णय दिन आग्रह गरेकी छन् । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिएपछि हेर्न नमिल्नेमा राखेसँगै उनले सो आग्रह गरेकी हुन् । अमेरिका र वेस्टइन्डिजमा हुने टी(२० विश्वकपका लागि नेपाली टोलीको अन्तिम सूची सार्वजनिक भइसकेको अवस्थामा सन्दीपबारे रचनाको यस्तो भनाइ आएको हो । यदि उच्च अदालतले सन्दीपको मुद्दामा चाँडो फैसला दिए विश्वकप खेल्न सक्ने सम्भावना जीवितै छ । त्यसका लागि जिल्ला अदालतबाट दोषी ठहर सन्दीपलाई उच्च अदालतले निर्दोष रहेको फैसला दिनु पर्ने हुन्छ । सन्दीपको मुद्दामा उच्चले ढिलाइ गरिरहेका बेला रचनाले दोषी भए कानुन अनुसार सजाय दिन भनेकी छन् । यद्यपि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गौशाला २६ उपनामकी युवतीलाई बलात्कार गरेको प्रकरणमा दोषी ठहर गरिसकेको छ । ‘दोषी भए कानुनअनुसार सजाय देऊ’, उनले सन्दीपलाई फेसबुकमा मेन्सन गर्दै लेखेकी छन्, ‘निर्दोष भए विश्वकप खेल्न देऊ।’ रचनाको यो भनाइ अदालतले सन्दीपको मुद्दा पटक पटक हेर्न नमिल्नेमा पठाइरहेका बेला आएको हो । उच्चमा सन्दीपको मुद्दाको छिनोफानो दिन जिल्लामा जस्तै ढिलाइ हुन थालेको छ । जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको फैसलाप्रति अहसमति जनाउँदै सन्दीपले गरेको पुनरावेदनमा आइतबार सुनुवाइको पेसी तोकिएको थियो । तर न्यायाधीशद्वय को इजलासमा तेस्रो नम्बरमा रहेको यो मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ । परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको स्रोतले बताएको छ । टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

नेप्सेमा ५.२९ अंकको करेक्सन, कति भयो कारोबार ?

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयर बजार परिसूचक (नेप्से) ५.२९ अंकले घटेको छ ।  नेपाल स्टक एक्सजेन्जका अनुसार यस दिन ५ करोड १३ लाख २१ जहार ६२९ कित्ता बराबरको २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्‌मा जिम्मेवारी बाँडफाट गरेका छन्। उनले चैत २५ गते बिनाविभागीय मन्त्री बनाएका माओवादी केन्द्रमा हरिबहादुर चुमान अर्थ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिएका हुन्। शनिबार बिहान बसेको गण्डकी मन्त्रिपरिषद्‌को बैठकले यो निर्णय गरेको हो ।  शुक्रबारलाई डाकिएको संसद बैठक कांग्रेसले बहिष्कार गरेपछि मुख्यमन्त्री अधिकारीले यो निर्णय लिएका हुन् । सभामुख कृष्ण धिताललाई समेत जोडेर बहुमत पुर्‍याएका मुख्यमन्त्रीको नियुक्ति नै अवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।  हाललाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न भनेको सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दा सुनुवाइ गर्ने यही वैशाख १० गतेलाई पेसी तोकेको छ ।

प्रत्यक्ष प्रसारणकै क्रममा अल जजीरा टेलिभिजनमा इजरायली सेनाको छापा

काठमाडौं । इजरायली सेनाले आफ्नो कब्जामा रहेको 'वेस्ट ब्यांक' को रमल्लामा रहेको अल जजीरा टेलिभिजन च्यानलको कार्यालयमा हतियारसहित छापा मारेको छ । कतारको दोहामा मुख्यालय रहेको अल जजीराको रमल्लास्थित कार्यालय बन्द गर्नसमेत इजरायली सेनाले आदेश दिएको छ । टेलिभिजनका वेस्ट ब्यांक ब्युरो चिफ वालिद अल-ओमारीलाई इजरायली सेनाले आइतबार उक्त आदेश हस्तान्तरण गरेको हो । इजरायली सेनाले बन्द गर्नुको कारण भने नखुलाएको अल जजीराले जनाएको छ । केही समय पहिले अल जजीरालाई इजरायलमा रिपोर्टिङ गर्न प्रतिबन्ध लगाइएको थियो । त्यसलगत्तै वेस्ट ब्यांकस्थित कार्यालय बन्द गर्न इजरायली सेनाले आदेश दिएको हो । गत मे महिनामा इजरायली सरकारले इजरायलमा अल जजीराको प्रत्यक्ष प्रसारणमाथि समेत रोक लगाएको थियो । सुरुमा ४५ जना दिनका लागि बन्द भने पनि इजरायलमा अल जजीराका पत्रकारले अहिले पनि रिपोर्टिङ गर्न पाएका छैनन् । 'पत्रकारहरूमाथि यसरी निसाना साध्नु सत्यलाई मेटाउन खोजिएको हो । साथै मानिसहरूलाई साँचो सूचनाबाट वञ्चित गर्नु हो,' वेस्ट ब्यांकका ब्युरो चिफ ओमारीले भनेका छन् । गत वर्षको अक्टोबरदेखि चलिरहेको इजरायल-हमास युद्धमा पत्रकारहरू चपेटामा परेका छन् । इजरायली सुरक्षा फौजको कारबाहीमा अहिलेसम्म १७३ जना पत्रकार मारिएको गाजास्थित सरकारी अधिकारीहरूद्ये जनाएका छन् । अल जजीराका इस्माइल अल घौल र समिर अबुदाका पनि इजरायली सेनाको कारबाहीमा मारिएका थिए ।

नेपाल युएईसँग पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स युएईले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा  सम्पन्न खेलमा  युएईले  नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो। युएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । युएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एकरएक गोल गरे । अल्मुशरखले खेलको १२औँ र १४औँ मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औँ र अब्बासले ७५औँ मिनेट गोल गरेपछि यूएईले शानदार जित हासिल गरेको हो । जितसँगै पाँच जितका साथ युएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँच वटै खेलमा पराजिति नेपाल भने अङ्कबिहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।

सफाइ पाएपछि अभ्यासमा व्यस्त सन्दीप

काठमाडौं। बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने सक्रिय क्रिकेटमा फर्किन प्रयासरत छन्। नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने तयारी गरिरहेका हुन्। सन्दीप भने यति बेला अभ्यासमा व्यस्त छन्। शनिबार त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा रहेको प्रशिक्षण स्थलमा लामिछाने अभ्यास गरिरहेको भेटिए। सन्दीपको अभ्यास हेर्न संघका सचिव पारस खड्का पनि पुगेका थिए ।

विश्वकप तयारी : नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र अमेरिकाको खेल साँझ ९ : १५ बजे अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा हुनेछ। पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ। अमेरिका र नेपालबिच भएका पछिल्ला ५ खेलमा नेपालले चार खेल गुमाएको छ। विश्वकप आयोजकसमेत रहेको अमेरिकासँगको खाजको खेललाई महत्त्वका साथ हेरिएको छ।

आईसीसीले भन्यो-'नेपाली क्रिकेट गर्व गर्न लायक'

काठमाडौं । टी२० विश्वकपका दौरान नेपालले गरेको प्रदर्शनबारे विश्वभरबाट सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन्। खेलका दौरान कमेन्टरहरुले नेपाली खेलाडी मात्र होइन दर्शकको समेत प्रशंसा गरिरहेका छन् ।  क्रिकेटको नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले समेत आईसीसी टी२० विश्वकपअन्तर्गत आज (शनिबार)दक्षिण अफ्रिकाविरुद्ध नेपालले गरेको प्रदर्शनको खुलेर प्रशंसा गरेको छ।  वेस्ट इन्डिजमा आज बिहान भएको प्रतिस्पर्धामा नेपाली क्रिकेट टोली केवल १ रनले दक्षिण अफ्रिकासँग हार्दा सुपर ८ मा पुग्ने अवसरबाट वञ्चित हुन पुग्यो।खेल सकिएलगत्तै नेपाली टोलीका कप्तान रोहित पौडेलले आज नेपालले गरेको प्रदर्शन गर्व गर्न लायक र आगामी दिनलाई यो अनुभव काम लाग्ने प्रतिक्रिया दिएका थिए।  बीबीसी अंग्रेजीले पनि नेपाली खेलको प्रशंसासहितको समाचार लेखेको छ। नेपाली बलरले दक्षिण अफ्रिकाका ब्याटरलाई दबाबदमा राखेको र नेपाली ब्याटरले राम्रो गर्दागर्दै अन्तिममा खेल गुमाएको लेखेको छ ।  यसैबीच आईसीसीले समेत नेपालले आज देखाएको प्रदर्शन गर्व गर्न लायक भनी प्रशंसा गरेको हो।  आईसीसीले सामाजिक सञ्जालमा नेपाल क्रिकेट संघ (क्यान)लाई मेन्सन गर्दै लेखेको छ, ‘गर्व गर्न लायक प्रदर्शन, आफ्नो शिर ठाडो पार।’ भारतीय मिडियाले नेपालको खेललाई बहादुरीपूर्णको संज्ञा दिदै खेल अनुभवको भने कमि रहेको बताएका छन्। अन्तिम बलमा गुल्शन झा अल्मिल्लिएका कारण खेल सुपर ओभरमा जान नसकेको र नेपालले टेष्ट खेलेको देश दक्षिण अफ्रिका विरुद्ध सानदार प्रदर्शन गरेको उनीहरुले टिप्पणी गरेका छन्।दक्षिण अफ्रिकाका कप्तान एइडेन माकरमले पनि खेलका दौरान नेपालले ठूदो दबाब दिएको र आजको जितको श्रेय समेत नेपाललाई नै जाने उनले बताए।