सुनको मूल्य तोलामा १ हजार सात सय बढयो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । छापावाल सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँ बढेर तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ । 
अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन १० ग्रामको मुल्य मंगलबार १ लाख २२ हजार ३४५ रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार रु १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको छ ।

नेकपा एमाले कैलालीको अध्यक्षमा ढुङ्गाना र सचिवमा चौधरी विजयी

धनगढी । नेकपा (एमाले) कैलाली अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी भएका छन् ।उनी आफ्नो निकटतम प्रतिद्वन्द्वी डेजी पाण्डेयलाई ६९ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी भएका हुन् । विजयी ढुङ्गानाले २८७ र पराजित भएका पाण्डेयले २१८ मत प्राप्त गरेका हुन् । यसैगरी, अध्यक्षका अर्का उम्मेदवार दुर्गाप्रसाद जोशीले ६३ मत प्राप्त गरेर पराजित भए । उपाध्यक्षमा पाण्डेय प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतान्तरले विजयी भए । विजयी शाहीले १९३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी दलबहादुर विष्टले १८८ मत प्राप्त गरे । उपाध्यक्षकै उम्मेदवार विष्णु चौधरीले १०६, मदनराज ओझाले ३३ र गजेन्द्र स्वाँरले २७ मत प्राप्त गरे  सचिवमा पाण्डेय प्यानलकै ममतप्रसाद चौधरी २४३ मत ल्याएर विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी ढुङ्गाना प्यानलका विष्णुकुमार चन्दले १६८ मत प्राप्त गरेर पराजित भए। सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले १४७ मत प्राप्त गरे । उपसचिव (खुलातर्फ) ढुङ्गाना प्यानलका चूडामणि भट्ट २५१ पाएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी भुवन रिजालले १२३ मत प्राप्त गरे । यस्तै, उपसचिवकै उम्मेदवार नृप थ्यायत खड्काले ९५, राजु गुरुङले ७१ मत प्राप्त गरे ।  उपसचिव (महिला)मा गङ्गाकुमारी चौधरी १९६ मत पाएर विजयी भइन्। उनका प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १६१, रत्ना कुँवर जोशीले ९४, अम्बिका विष्टले ९० मत प्राप्त गरे । एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि नवौँ अधिवेशन सुरु भएको छैटौँ दिनमा हिजो शुक्रवार निर्वाचन भएको थियो । निर्वाचनमा ५७७ मत खसेको थियो । सदस्यको मत गणना अझै बाँकी रहेको छ ।  अध्यक्षका आकाङ्क्षी दुर्गाप्रसाद जोशीलाई केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टले साथ दिएका थिए । डेजी पाण्डेलाई स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नारायणमुनि रानाको साथ रहेको थियो । हाल अध्यक्षमा विजयी भएका यज्ञराज ढुङ्गानालाई सुदूरपश्चिमका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीको साथ रहेको बताइएको छ ।

मध्य पूर्वमा थप तनाव हुनबाट जोगाउन विश्वका अधिकांश देशको आह्वान

काठमाडौं । विश्वका अधिकांश देशहरुले मध्यपूर्वमा देखिएको तनाब थप बढ्नबाट जोगाउ सम्बन्धित पक्षलाई आह्वान गरेका छन् । यही अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी वाणिज्य दूतावासमा हवाई आक्रामण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको थियो । उक्त आक्रामणमा इरानका उच्च सैनिक अधिकृत मारिएका थिए ।सोही प्रतिक्रिया स्वरुप इरानले आइतबार बिहान इजरायलमाथि ड्रोन र क्रुज मिसाइल प्रहार गरेपछि पश्चिम एसिया भयंकर युद्धको सङ्घारमा पुगेपछि विश्वबाट दुवै पक्षलाई संयममता अपनाउन आग्रह गरिएको हो । स्थानीय समय अनुसार अप्रिल १४ तारिख बिहान सबेरै इरानी सेनाले इजरायलका सम्बन्धित क्षेत्रमाथि क्षेप्यास्त्र तथा मानवरहित विमानबाट आक्रमण गरेको छ। त्यसपछि इजरायलको वायु सेनाका लडाकू विमानले तीमध्येका करिब ३०० बढि क्षेप्यास्त्र तथा मानवरहित विमान आक्रमणलाई निष्क्रिय पारेको छ। मध्यपूर्वमा देखि थालेको तनाबको वातावरण थप भड्किन नदिन रुसको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै सम्बन्धित पक्षहरुसँग संयम गर्न आह्वान गरेको छ। जोर्डनका राजा अब्दुलाह द्वितीयले गाजा क्षेत्रमा गरिएको आक्रमण तुरुन्तै बन्द गर्नु नै मध्य पूर्व क्षेत्रको स्थितिलाई अझ बढ्न नदिन र पस्थिति गम्भिर हुनुबाट जोगाउनका लागि एउटै मात्र उपाय भएको कुरामा जोड दिएका छन्। त्यसैगरी टर्कीको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै इजरायलले सिरियास्थित इरानको राजदूतावासमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानूनसँग विपरित रहेको दाबी गरेको छ। त्यसका अतिरिक्त, ब्राजिल, मेक्सिको, भेनेजुएला तथा कोलम्बिया लगायत ल्याटिन अमेरिकी मुलुकहरुले पनि दुवै पक्षहरुसँग संयम रहन आह्वान गरेका छन् , अमेरिकाले इरानविरुद्ध आफुले आक्रमण नगर्ने बताउँदै सम्बन्धित पक्षलाई संयम हुन समेत आग्रह गरेको हो ।

घुष लिएको आरोपमा रुसका उपरक्षा मन्त्री जेल चलान

काठमाडौं । रुसका एक उपरक्षा मन्त्रीलाई घुस लिएको आरोपमा मस्कोको एक अदालतले जेल चलान गरेको छ ।घुष लिएको आरोप अस्वीकार गरेको भएपनि अदालतले टिमुर इभानोभलाई विशेष गरी ठूलो मात्रामा घुस लिएको आरोपमा दोषी ठहर गरेको छ । पाँच वर्षको अनुसन्धान पश्चात उनलाई १ मिलियन रुबल भष्ट्राचार गरेको भन्दै दोषी ठहर गरिएको छ । तर उनी अदालले दोषी ठहर गर्नु पहिलेसम्म जिम्मेवारी मै थिए । सन् २०१६ मा रक्षा मन्त्रालयमा नियुक्त भएका ४७ वर्षीय इभानोभले रुसको सैन्य पूर्वाधार परियोजनाको जिम्मेवारी सम्हालेका थिए।रुसी जनताले लामो समयदेखि रूसमा हुने गरेको भ्रष्टाचारको विरोध गर्दै आएका छन् । यद्यपि, २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेदेखि नै यस्ता उच्च प्रोफाइलका भ्रष्टाचार घटनाहरू विरलै सार्वजनिक भएका छन्। इभानोभलाई रक्षामन्त्री सर्गेई शोइगुको सहयोगी मानिन्छन् र धेरै वर्षदेखि उनीसँग काम गरेका व्यक्ति हुन्। उनी पहिले मस्को क्षेत्रका उपप्रधानमन्त्री थिए । जहाँ उनले शोइगुले छोटो समयका लागि गभर्नरको रूपमा सेवा गरेका थिए । २०२२ मा, भ्रष्टाचार विरोधी फाउन्डेसन (एसिएफ), दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नी द्वारा स्थापना गरिएको समूहले श्री इभानोभलाई रूसले कब्जा गरेको युक्रेनको क्षेत्रहरूमा निर्माणको क्रममा भ्रष्टाचार योजनाहरूमा भाग लिएको आरोप लगाइएको छ ।

डिजिटल रूपान्तरणमार्फत समृद्धि हासिल गर्ने सरकारको लक्ष्य : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डिजिटलाइजेसन गर्दै डिजिटल रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्ने सरकारको स्पष्ट लक्ष्य रहेको बताएकी छिन् । सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा शुभकामना दिंदै उनले यस्तो बताएकी हुन् । समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार भन्ने मूल नाराका साथ आज यो दिवस मनाइँदै छ । सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको छ । राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन्। आजको दिनमा विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको समेत उनले बताइन्। 

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन् ।भ्रमण वर्ष अवधिभर भरतपुरमा हुने कार्यक्रमलाई प्रोत्सहान एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा समारोह आयोजना गर्न महानगरपालिकाले अनुरोध पनि गरेको छ । भ्रमण वर्षलाई मध्यनजर राख्दै निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल भइरहेका छन् । जिल्ला खेलकुद विकास समिति चितवनका अनुसार पुस १७ गतेदेखि निरन्तर क्रिकेट प्रतियोगिता भइरहेका छन् । प्रधानमन्त्री कपमा भाग लिन वागमती प्रदेशस्तरीय महिला छनोट प्रतियोगिता भएको थियो । जहाँ वागमती प्रदेशका ४ वटा महिला क्रिकेट टिमबीच प्रतिस्पर्धा भएको थियो । त्यसपछि रंगशालामा खेलकुद गतिविधि विषेश गरी क्रिकेट प्रतियोगिता भइरहेका छन् । समितिकाले तथ्याङक अनुसार वागमती प्रदेशस्तरीय महिला एलिट क्रिकेट प्रतियोगिता, भिजिट भरतपुर कप, सिनियर वागमती प्रदेश छनोट प्रतियोगिता, वडास्तरीय क्रिकेट प्रतियोगिता, मैयाँदेवि मेमोरियल यू–१९ महिला क्रिकेट, चितवन भर्सेज नवलपुर क्रिकेट प्रतियोगिता, अन्तर विद्यालयस्तरीय मेर्यस कप क्रिकेट प्रतियोगिता भइसकेको छ भने इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता भइरहेको छ । वागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच अधुरो क्रिकेट रंगशाला निर्माणका क्रममा वागमती प्रदेशका प्रतियोगिता भरतपुरमै गर्ने सहमति पनि भएको थियो । आगामी चैत्र २५ गतेदेखि भरतपुरमा फेरि पनि वागमती प्रदेशले विभिन्न ९ विद्याको खेल भरतपुरमा गर्दैछ । जसमा क्रिकेट, भलिबल, फुटबल, स्वीमिङ, तेक्वान्दोलगायतका खेलहरु हुन लागेको प्रदेश खेलकुदका सदस्य सचिव सुर्यलाल भण्डारीले जानकरी दिए। यो प्रतियोगितामा नेपालभरका ५ हजारभन्दा बढी खेलाडी भरतपुर आउने छन् । प्रतियोगितको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बाहेक भरतपुर फुटबल, साईकलिङ प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगितालगायतका खेलकुदहरु भइरहेका छन् । भरतपुर महानगरपालिका नेपालको ७५३ वटा पालिका मध्ये सबैभन्दा धेरै खेल गतिविधि गर्ने पालिकाका रुपमा राष्ट्रिय खेलकुद परिषदबाट सम्मानित भइसकेको छ । भरतपुर भ्रमण वर्ष चलिरहेको र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको पक्का भएसँगै भरतपुरमा खेल गतिविधिहरु दिनप्रति दिन वृद्धि हुँदै गईरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट यही भरतपुरको रंगशालामा गराउने गरी पहल गरिरहनु भएको छ । प्रमुख दाहालले यसका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघलाई अनुरोध गरिसक्नु भएको छ। रंगशालाको टेण्डर आह्वान भइसकेकाले यू १९ महिला विश्वकप क्रिकेट बन्द प्रशिक्षण यही गर्न क्यान पनि सकारात्मक देखिएको छ ।भरतपुर महानगरले विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता सम्पन्न गरिसकेकाले आगामी वैशाखमा फुटबलको लिग प्रतियोगिता पनि गर्दैछ ।

काभ्रेकि मनिषा घिमिरे युएईमा सर्बोत्कृस्ट नर्सको उपाधी द्वारा सम्मानित

युएई । युनाइटेड अरब ईमिरेट्स (युएई) मा कार्यरत नेपाली नर्स बर्षको सर्बोत्कृस्ट नर्सले उपाधीले सम्मानित भएकी छिन । रस अल खैमहको शेख खालिफा हस्पिटलमा कार्यरत नर्स मनिषा घिमिरेलाई अल तामायुज मेडिकल हेल्थ केयर कम्पनीले नगद पुरस्कार सहित ‘वनर्स इम्प्लोयी अफ द यिअर अवार्ड’ले सम्मानित गरेको हो । फिलिपिन्स, भारत, क्यामरून, घना लगायत १९ देशका ३०० भन्दा बढी नर्स कार्यरत उक्त कम्पनीमा जम्मा ५ जना नेपाली नर्स कार्यरत छन् । ‘हामी नेपालीहरु आफ्नो काममा ईमान्दार हुन्छौं भन्ने प्रमानित गरेको छु, अवार्डले सम्मानित हुँदा खुशी लागेको छ’ घिमिरेले भनिन् । काममा निपूर्ण र इमान्दार भन्दै कम्पनीले घिमिरेको उच्च मुल्याङ्कन गरेको छ । काभ्रेपलन्चोक घर भएकी घिमिरे ६ बर्ष देखि युएईमा कार्यरत छिन् । हाल युएईमा १० हजार भन्दा बढी नर्सहरु कार्यरत रहेको अनुमान गरिएको छ भने करिब ५० हजार भन्दा बढी महिला कामदार रहेको अनुमान छ ।

अब मायाँमा परी विहे गरेका नाबालकलाई करणी मुद्दा लगाउन नपाइने

काठमाडौं । बाबुआमाको मञ्जुरी नलिई विवाह गरेका नाबालक महिला र पुरुषलाई जबरजस्ती करणी मुद्दा लगाउन नपाइने सरकारी वकिल कार्यालयलाई निर्देशन दिइएको छ। मायामा परी भागेर विवाह गरेको बालकलाई शरीर बन्धक‚ जबरजस्ती करणी, अपहरणजस्ता विषयमा मुद्दा लगाउन नमिल्ने महान्यायाधिवक्ता रमेश बडालले ​निर्देशन दिएका हुन्। महान्यायाधिवक्ता रमेश बडालले आज मातहतका सरकारी वकिल कार्यालयलाई त्यस्तो निर्देशन दिएका हुन्। उनले अभिभावकको मञ्जुरी नलिई भागेर विवाह गरेका बालबालिकालाई अपराध गरेको कसूरमा मात्र सजाय गर्न निर्देशन दिइएको जानकारी दिए। “अठार वर्षमुनिका बालबालिकाले बाबुआमाको मञ्जुरी नलिई प्रेम विवाह गरेको अवस्थामा त्यो बालकलाई धेरै विषयमा बहु मुद्दा लगाउने गरेको देखियो,” महान्यायाधिवक्ता बडालले भने, “मायामा परी भागेर विवाह गरेको बालकलाई शरीर बन्धक‚ जबरजस्ती करणी, अपहरणजस्ता धेरै विषयमा मुद्दा लगाउन हुँदैन, जुन विषयमा अपराध गरेको हो, त्यो विषयमा मात्र मुद्दा लगाउनुपर्छ।” सर्वोच्च अदालतबाट २०७९ कात्तिक २८ मा बालविवाहको सन्दर्भमा उमेर मात्रको सीमाबद्ध गर्न सकिने अवस्था रहँदैन भनी व्याख्या भएको छ। अधिक अपराधीकरण गरी नाबालकलाई धेरै मुद्दा चलाउनेभन्दा सुधार गर्ने गरी अनुसन्धान र अभियोजन गर्नु उचित हुने बताउँदै निर्देशन दिइएको हो। बालविवाह बाहेक अन्य विषय बालविवाहको परिणामस्वरूप सृजना भएको परिस्थितिको कारण उत्पन्न भएको र अन्य कसूर गर्ने गराउने मनसाय राखी कार्य भएको रहेनछ भने अधिक अपराधिकरण नहुनेगरी बालविवाहको कसूरमा मात्र अनुसन्धान र अभियोजनको कारवाही अगाडि बढाउन निर्देशित गरिएको छ। महान्यायाधिवक्ताबाट सरकारी वकिलसम्बन्धी नियमावली, २०७७ को नियम ४२ (१) बमोजिम निर्देशन हुन आवश्यक देखिएको उक्त निर्णय गरी मातहतका निकायलाई निर्देशन दिने निर्णय भएको हो।

गण्डकीका मुख्यमन्त्रीले खोसे माओवादीतर्फका मन्त्रीको जिम्मेवारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) तर्फका मन्त्रीहरुको जिम्मेवारी खोसेका छन् । त्यसलाई उनले मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताएका छन् । मुख्यमन्त्री पाण्डेले मंगलबार आफ्नो सरकारबाट भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका हुन् । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा (एमाले) सहितको नयाँ गठबन्धनबाट सत्तायात्रा सुरु गरेका छन् । प्रदेशमा त्यसकै असर परेको हो । 

उत्तरी इजरायलमा भुलवस साइरन अलर्ट

काठमाडौं । इजरायली सेनाले उत्तरी इजरायलमा गल्तीबस अलर्ट साइरन सक्रिय बनाएको बताएको छ ।इजरायली आक्रमण लगत्तै उत्तरी इजरायलमा साइरन अलर्ट गरिएको थियो ।

मनाङमा हिमपहिरो : तल्लो र माथिल्लो मनाङ जोड्ने सडक अवरुद्ध

मनाङ। मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा हिमपहिरो गएको छ।आइतबार राति परेको हिमपातले सोमबार हिमपहिरो जाँदा तल्लो मनाङ र माथिल्लो मनाङ जाने सडक अवरुद्ध भएको छ । ठुलो हिमपहिरो गएकाले उपकरण अभावमा सोमबार हिमपहिरो पन्छाउन नसकिएको जिल्ला प्रशासन कार्यालयल मनाङले जनाएको छ । ७५ देखि १०० मिटरसम्म लामो हिमपहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ। हिमपहिरोले सडक अवरुद्ध भएपछि पर्यटक समस्यामा परेका छन् । 

खाडीमा भारी वर्षापछि बाढी : दुबई र ओमनमा २० जनाको मृत्यु

काठमाडौं । खाडी मुलुकहरुमा भारी वर्षा पछि बाढी आउँदा मानव जीवन प्रभावित बनेको छ । अचानक आएको घातक बाढीले विश्वको दोस्रो व्यस्त विमानस्थल दुबई विमानस्थल अस्तव्यस्त भएको छ । थुप्रै उडानहरु अवरुद्ध भएका छन् । भीषण बाढी र डुवानका कारण यात्रुहरुलाई नआउन भनिएको छ । असिना पानीसहितको भीषण वर्षाले आबुधावी विमानस्थलसहित केही शहरहरु डुबानमा परेका छन् । दुबई विमानस्थलले अकल्पनीय चुनौतीपूर्ण अवस्था सामना गरिरहेको छ। दुबईमा कार बाढीमा फसेपछि एक जनाको मृत्यु भएको छ । अर्को खाडी मुलुक ओमानमा भने आइतबारदेखि हालसम्म बाढीकै कारण १९ जनाको मृत्यु भइसकेको छ। बाढी र वर्षाका कारण हिजो मात्रै दुबई अन्तर्राष्ट्रिय विमानस्थलले २ सय ९० वटा उडान रद्द गरेको फ्लाइट अवोयर डाटाले जनाएको छ । साथै विपद्का कारण थप ४ सय ४० उडानहरु ढिलाई भएको तथ्यांकले देखाएको छ। प्रत्येक महाद्धिपमा उडानहरु संचालन गर्ने प्रमुख हबका रुपमा रहेको दुबई विमानस्थल पूर्ववत अवस्थामा संचालन हुन भने समय लाग्ने बताइएको छ।

फोटो पत्रकार वन्त सम्मानित

इटहरी, फागुन ७ ।राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त सम्मानित भएका छन्। वन्त प्रदेशखबर डटकमको प्रथम वार्षिकोत्सवको अवसरमा उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट नगद रु ११,१११   सहीत सम्मानित भएका हुन् । उनी राष्ट्रिय समाचार समितिका सिनियर फोटो पत्रकार हुन् ।  प्रजातन्त्र दिवस तथा प्रदेशखबर डटकमको प्रथम वार्षिकोत्सवमा उनलाई सम्मान गरिएको हो। काठमाडौंमा रहेर व्यावसायिक फोटो पत्रकारिता तथा फोटो पत्रकारिताको प्रशिक्षकको भूमिका निर्वाह गर्दै वन्तले पत्रकारितामा फोटोको माध्यमबाट पु¥याएको कामको उच्च मूल्याङ्कन गरी कोशी प्रदेशको उत्कृष्ट अनलाइन पत्रिकाको वार्षिक कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।  फोटो पत्रकार वन्तलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सम्मानपत्र र पुरस्कार प्रदान गरेको उक्त कार्यक्रम आयोजक नयन एड्भरटाइजिङ मिडियाका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । वन्त काठमाडौंमा रहेर राजनीतिलगायत विभिन्न विधामा फोटो पत्रकारिता गर्छन् । उनी गोरखा पत्रकार समाजका अध्यक्ष पनि हुन् ।

इजरायलमाथि लेबनानबाट सय बढी रकेट प्रहार

काडमाडौं । लेबननले इजरायलको उत्तरी क्षेत्रमा रातभरि दर्जनौं रकेट प्रहार गरेको छ। इजरायली सेनाका अनुसार, हिजबुल्लाहले औद्योगिक र सैन्य स्थानहरूलाई लक्षित गर्दै यी आक्रमणहरू गरेको हो। इजरायली रक्षा बलले १०५ मध्ये अधिकांश रकेटहरूलाई रोकिएको भए पनि केही घरमा आक्रमण भएको जनाएको छ। रातभरि हवाई आक्रमणको चेतावनी सुनिएको थियो, र इजरायली सेनाले दर्जनौं युद्धक विमानहरूले लेबननको दक्षिणी क्षेत्रमा व्यापक रूपमा आक्रमण गर्न थालेको जनाएको छ। क्ष्म्ँ का प्रवक्ताका अनुसार, हिजबुल्लाहले इजरायली भूमितर्फ प्रहार गर्ने तयारी गरिरहेको थाहा पाएपछि यो आक्रमण गरिएको हो।  पछिल्लो हप्ता लेबननमा पेजर र वाकीटकी विस्फोट भएपछि हिजबुल्लाहले बदला स्वरूप इजरायलको उत्तरतर्फ रकेट प्रहार गरेको जनाएको छ। इजरायलले भने यस आक्रमणको जिम्मा लिएको छैन। अमेरिकी राज्य विभागले पनि लेबननमा रहेका आफ्ना नागरिकहरूलाई देश छोड्न सल्लाह दिएको छ, किनकि उडानहरू कम क्षमतामा सञ्चालन भइरहेको जनाइएको छ।

बागलुङमा ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन

काठमाडौं । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ।  नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर नगरले कार्यक्रम शुभारम्भ गरेको हो । प्रभु बैंकसँग सम्झौता गरी २०८० असारपछि जन्मिएका छोरीको नाममा खोलिएको खातामा नगरपालिकाको तर्फबाट रु पाँच हजार २० वर्षसम्म मुद्दती खातामा जम्मा गरिने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। नगरप्रमुख श्रेष्ठले छोरीको जन्मपश्चात् उनको नाममा नगरपालिकाले पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा अभिभावकले पनि रकम थप गर्न पाउनेगरी नगरकी छोरी कार्यक्रम अगाडि बढाएको बताए ।  नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीय रूपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेको छ । नगरका छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुने र छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरित हुने उनको भनाई छ ।

१० वर्षपछि विश्वकपमा नेपाल : नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । नेपालले आफ्नो पहिलो खेल आज (मंगलबार) नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ ।  ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो। यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । नेपालले उक्त संस्करणमा समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध खेलेको थियो ।  अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ। विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन्।नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्दीसमेत हो । यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाले प्रतिस्पर्धा गर्दै छन् । दुवै टिम पहिलो पटक आईसीसीबाट मान्यताप्राप्त क्रिकेटमा आमने–सामने हुन लागेका हुन् । यो खेल बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ। आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।