घर फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकपको खेलेर नेपाली स्वदेश(घर) फर्किएको छ। समूह चरणबाटै आफ्नो यात्रा टुंग्याएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो। 

दुई समूह मध्ये पहिलो समूह आज बिहान बिहान १ बजे नेपाल अवतरण गरेको हो भने अर्को समूह आज बिहान १० बजे अवतरण हुने तालिका छ।

जारी विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशसँग सानो अन्तरले पराजित हुँदा नेपालले टेस्ट टोलीलाई पराजित गर्ने अवसर गुमाएको थियो।

अमेरिका लेग अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल, नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंककाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। 

त्यस पछि वेस्ट इन्डिज गएको नेपाल दक्षिण अफ्रिकासँग १ रन र बंगलादेश सँग २१ रनले पराजित भएको थियो। दुबै खेलको अधिकांश समय विपक्षीलाई दवाबमा राखे पनि फिनिसिङ गर्न नसक्दा नेपाल पराजित भएको थियो।

यस विश्वकपबाट विशेष अनुभव बटुलेको नेपाली टोली अब आईसीसी लिग–२ अन्तर्गतका सिरिजमा केन्द्रित हुने छ।लिग–२ मा नेपालको अर्को सिरिज सेप्टेम्बर हुँदैछ। 

जापानमा ७.१ म्याग्निच्युडको भूकम्पको सुनामी चेतावनी

टोकियो। जापानमा बिहीबार अपरान्ह शक्तिशाली भूकम्प गएको छ । अमेरिकन भौगर्भिक विभागका अनुसार दक्षिणी जापानमा शक्तिशाली भूकम्प गएको हो । जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता इलाकामा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पको केन्द्र जापानको क्यूशु द्वीपमा जमीनबाट करिब ८.८ किलोमिटर तल रहेको बताइएको छ। यसअघि १ जनवरीमा पनि त्यहाँ ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो । यसमा ३१८ जना मानिस मारिएका थिए भने १३ सय घाइते भएका थिए । इशिकावामा भूकम्पले कयौँ स्थानको जमिन फाटेको थियो । यसका कारण २०० घर जलेर ध्वस्त भएका थिए । यसअघि मार्च २०११ मा जापानमा अहिलेसम्मकै खतरनाक भूकम्प आएको थियो। जसकाकारण १६ हजार मानिस मारिएका थिए ।

ट्रम्पको चुनावी र्‍यालीमा गोली चल्यो

पेन्सिलभानिया । अमेरिकी राष्ट्रपति पदका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्‍यालीमा शनिबार (नेपाली समयअनुसार आइतबार बिहान० गोली चलेको छ । पेन्सीलभानियाको बटलरमा भएको र्‍यालीमा गोली चले पनि पूर्वराष्ट्रपति ट्रम्प सकुशल भएको बताइएको छ । उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ । उनको कान र अनुहारमा रगत देखिएको बताइए पनि रिपब्लिकन पार्टीको चुनावी अभियानले उनी सुरक्षित भएको जनाएको छ । घटनास्थलमा एकजनाको शव भेटिएको जनाइएको छ । सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारेमा थप जानकारी भइसकेको छैन । यद्यपि, अनुसन्धान भइरहेको बताइएको छ । राष्ट्रपति जो बाइडेनलाई घटनाको बारेमा तत्कालै ब्रिफिङ गरिएको थियो । उनी त्यसबेला डेलाभरमा थिए । बाइडेनले  अमेरिकामा यस खालको हिंसाका लागि कुनै स्थान नभएको  बताउँदै यस्ता घटनाको निन्दा गर्न सम्पूर्ण देश एकताबद्ध हुनुपर्ने बताएका छन् ।  उनले एक वक्तव्य जारी गरी ट्रम्प सुरक्षित भएकोमा सेक्रेट सर्भिसको कामप्रति आभार समेत व्यक्त गरेका छन् । यस्तै, पूर्वसभामुख नान्सी पेलोसीले पनि घटनाको निन्दा गर्दै ट्रम्प सकुशल रहेकोमा भगवानलाई धन्यवाद भनेकी छन् । अमेरिकाका विभिन्न राजनीतिक नेताबाट घटनाको निन्दा गर्ने क्रम जारी छ ।बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले पनि सो घटनाबाट आफू स्तब्ध भएको बताउँदै घटनाको निन्दा गरेका छन्।

खेल क्षेत्रको विकास राष्ट्र विकासको आधार : अध्यक्ष दाहाल

काभ्रे। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले खेलकुद क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार भएको बताएका छन् । शुक्रबार छैटौं इण्डो–नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप प्रतियोगिताको उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीण विकासको ढोका खोल्न सकिने बताए । अध्यक्ष दाहालले भने, ‘‘अहिलेको अवस्थामा खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कूटनीति, अर्थतन्त्र एवम् सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको छ । राज्यले खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, आवश्यक नीतिहरू निर्माण गर्न, संस्थागत एवम् संरचनागत विकास र खेलाडीहरूको वृत्तिविकासका साथै क्षमता अभिवृद्धि गर्न जरुरी छ । राष्ट्रिय सभाको अध्यक्ष हुनुको नाताले मैले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आवश्यक ऐन कानुन निर्माण र भएका कानुनहरुको कार्यान्वयनका लागि उपयुक्त पहल र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’’ यसैगरी, खेलकुदका विविध विधामध्ये सोतोकान कराँते पनि एक महत्त्वपूर्ण विधा भएको उनले बताए। 

सूनको मूल्य तीन दिनदेखि स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन दिनदेखि स्थिर छ। गएको आइतबारयता सुन एकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार र आइतबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो। तेजाबी सुन पनि सोमबारकै मूल्यमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भैइरहेको छ ।  यसअघि बिहिबार सुन तोलामा १ लाख ३८ हजार ७०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५०  रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पाँच दिनमा तोलामा करिब पाँच हजारले घट्यो सुनको मूल्य पछिल्लो पाँच दिनमा छापावाल सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले घटेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबारको तुलनामा यस दिन छापावाल सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, जेठ ८ गते छापावाल सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले घटेर एक लाख ४० हजार ६०० मा कारोबार भएको थियो । जेठ ९ गते तोलामा १०० रुपैयाँले घटेर एक लाख ४० हजार ५०० मा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार ८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

बागमती प्रदेशमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गर्ने कानुनी व्यवस्था छ । प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा रहेको छ । त्यसैले हिउँदे अधिवेशन अन्त्य गरेर जेठबाट प्रि–बजेट छलफल सुरु गर्ने तयारी रहेको मन्त्री श्रेष्ठले जानकारी दिए । वाग्मतीमा १५ फागुन २०८० बाट हिउँदे अधिवेशन सुरु भएको थियो ।

मर्यादा भित्र रहन हिराचनलाई एनआरएनए अध्यक्ष पन्तको चेतावनी

लण्डन । आफ्नो कार्यक्षेत्र नाघेर गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समिति बिगठन गर्ने पूर्वअध्यक्ष देवमान हिराचनलाई संस्थागत मर्यादामा रहन चेतावनी दिइएको छ । हिराचनलाई संघका अध्यक्ष कुमार पन्तले मंगलवार एक पत्र लेख्दै सो चेतावनि दिएका हुन् । पत्रमा सहमति र सहकार्यको वातावरण तयार गर्नुको सट्टा विधानलाई आफ्नो हातमा लिएर गरेका भ्रमपूर्ण गतिविधि आइसिसिलाई अस्वीकार्य हुने उल्लेख गरिएको छ । पन्तले राष्ट्रिय समन्वय परिषद भङ्ग गर्ने अधिकार उच्चस्तरीय समितिलाई नभएकोले शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको हालको राष्ट्रिय समन्वय परिषदलाई नियमित कामकारवाही अगाडि बढाउन निर्देशन दिएका छन् । पन्तले आइसिसिको तर्फबाट १० औ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिलाई पठाइ सकेको जनाएका छन् । उनले अहिले निर्वाचन समितिले प्रकृया अगाडि बढाई सकेको अवस्थामा निर्वाचनको वातावरण मिलाउनको लागि अनुरोध समेत गरेका छन् । हिराचनले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित विघठित उच्च्स्तरीय समितिको निर्णय भन्दै ८ बुँदे पत्र जारी गरेका थिए । सो समितिमा संघका पूर्वअध्यक्ष शेष घले थिए । विवाद मिलाउन जिम्मा लिएका घलेद्धारा गठित कार्यदलको प्रतिवेदन आफु अनुकुल नभएको र उच्चस्तरीय समितिको महाधिवेशन विवाद मिलाउन जारी गरिएको पत्रलाई ८ औं राष्ट्रिय समितिले अस्वीकार गरे पछि घले सो समितिबाट पछि हटेका थिए । पत्रको पूर्णपाठ श्री देवमान हिराचन, संरक्षक, गैरआवासीय नेपाली संघ बोधार्थः श्री शिव प्रसाद पौडेल, अध्यक्ष, राष्ट्रिय समन्वय परिषद् जापान श्री अम्बिका जोशी, कार्यबाहक राजदुत, नेपाली राजदुतावास, टोकियो बिषयः राष्ट्रिय समन्वय परिषद् जापान भङ्ग गर्ने कथित बक्तव्य बारे ध्यानाकर्षण । महोदय, उपर्युक्त सम्बन्धमा तपाईले मिति २०२२ फेब्रुअरी १५ तारिखमा उच्चस्तरीय समितिको नाममा राष्ट्रिय समन्वय परिषद् (एनसिसि) जापान भङ्ग गरिएको भनी जारी बक्तव्य प्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ । एनसिसि जापानका सम्बन्ध उचित निकास निकाल्नका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसि) को ८१ आंै बैठकले निवर्तमान अध्यक्ष भवन भट्टलाई जिम्मेबारी दिएको र उहाँले सबै पक्षसँग परामर्श गर्ने क्रममा रहनु भएको तपाईलाई जानकारी छ । उहाँले यथाशिघ्र समाधान निकाल्नु हुनेमा हामी विस्वस्त छौ । उच्चस्तरीय समितिलाई एनसिसि जापानका सम्बन्धमा काम गर्ने कार्यक्षेत्र तोकिएको छैन । बक्तव्यमा हबला दिए जस्तो उच्चस्तरीय समितिमा एनसिसि जापान भङ्ग गर्ने बारे कुनै पनि छलफल र निर्णय नभएको तपाई स्वयं जानकार हुँदा हुदै यस्तो भ्रमपूर्ण बक्तव्य जारी गर्नु भएकोमा म आश्चर्य चकित भएको छु । आइसिसिको तर्फबाट १० औ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिलाई पठाए सकेको छु र अहिले निर्वाचन समितिले प्रकृया अगाडि बढाई सकेको छ । अतः यस्ता गतिविधिहरु गरी निर्वाचनको वातावरण नधमिलाउनको लागि अनुरोध गर्दछु । उच्चस्तरीय समितिले आइसिसिलाई सुझाव दिन सक्छ तर यस समितिले परिषदको कार्यकारी अधिकार प्रयोग गर्न सक्दैन् । राष्ट्रिय समन्वय परिषद भङ्ग गर्ने अधिकार उच्च स्तरीय समितिलाई नभएकोले शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको हालको राष्ट्रिय समन्वय परिषदलाई नियमित कामकारवाही अगाडि बढाउनुको लागि म अनुरोध गर्दछु । संरक्षकको हैसियतले तपाईले सबै पक्ष बिच सहमती र सहकार्यको वातावरण तयार गर्नुको सट्टा विधानलाई आफ्नो हातमा लिएर गरेका भ्रमपूर्ण गतिविधि आइसिसिलाई अस्वीकार्य छ । संरक्षकको मर्यादा भित्र रहेर यस्ता गतिविधि तुरुन्त बन्द गर्न म तपाईलाई सचेत गराउँछु । कुमार पन्त अध्यक्ष, गैरआवासीय नेपाली संघ २०२२ फेब्रुअरी १५

नेशनल पेमेन्ट गेटवे प्रकरण : निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद, २३ करोड जरिवाना

काठमाडौं । नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय तोकिएको छ । विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार उनको सजाय निर्धारण गर्दै ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवाना असुल गर्ने फैसला सुनाएको हो । यस प्रकरणमा उनलाई गत वैशाख ७ गते विशेष अदालतले दोषी ठहर गरेको थियो । तर सजाय र जरिवाना निर्धारण गर्न भने बाँकी थियो । पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । यस प्रकरणमा नेपाल सरकारका सचिव मधुकुमार मरासिनीले भने सफाइ पाइसकेका छन् । विशेषले गत वैशाख १३ गते पौडेललाई थुनामा राख्न आदेश दिएको छ। अवैध सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेषले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । उनीसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । पौडेलले प्रमाण नष्ट गर्न सक्ने ठहरसित त्यसबेलै उनलाई अदालतले थुनामा पठाएको थियो । उनलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो ।राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलले घुसबापतको रकम सिंगापुरको बैंकमा राखेको अख्तियारले जनाएको थियो । अख्तियारले पौडेलविरुद्ध अदालतमा दायर गरेको अभियोगपत्रमा उनको खातामा १३ करोड ५३ लाख ८६ हजार २२६ जम्मा रहेको जनाएको थियो।

खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधारः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधार भएको बताउनुभएको छ । अखिल नेपाल चेस एसोसियशनको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उहाँले आफूले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई प्राथमिकता दिंदै आएको बताउनुभयो । ‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि अहिले सम्म राजनीति र विकास निर्माणपछि दुई वटा क्षेत्र खेल र संस्कृतिमा विशेष ध्यान दिंदै आएको छु’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘राष्ट्रियता प्रवर्धन गर्ने, देशको विकास र समृद्धिको यात्रा सुरु गर्ने, अनुशासन र मर्यादा कायम गर्दै समाजलाई रुपान्तरणको दिशामा लैजाने एउटा महत्वपूर्ण क्षेत्र खेलकुद हो ।’ यसकै आधारमा आफूले खेलकुदलाई प्राथमिकता दिंदै आएको उहाँले बताउनुभयो । त्यस्तै संस्कृति अर्को महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘संस्कृतिले देशका सबै जातजाति, भाषाभाषी, क्षेत्र समुदायलाई जोड्दै सबै नेपालीलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्न यसको विशेष महत्व छ ।’ आफूले संस्कृतिलाई राष्ट्रिय एकताको आधारको रुपमा लिएर नै पहिलो प्रधानमन्त्री हुँदा अक्षयकोष स्थापना गरिएको र त्यसमा सरकारको तर्फबाट दिल खोलेर सहयोग गरेको उहाँले स्मरण गराउनुभयो । खेल र संस्कृति यी दुबै क्षेत्र राष्ट्रियता प्रवर्धन, जनताको अनुसशासन र समाजको मर्यादा स्थापित गर्न महत्वपूर्ण क्षेत्र भएको उहाँले स्पष्ट गर्नुभयो । नेपालको खेल क्षेत्रमा अहिले पनि आफूले भरोसा गरेका व्यक्तिहरुले नेतृत्व गरेको र खेल क्षेत्रले ऐतिहासिक परिणाम हात पारिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ६० वर्षको इतिहासमा पहिलोपटक नेपालले ओलम्पिकमा पदक प्राप्त गरेकाले यो वर्ष नेपाली खेल क्षेत्रका लागि अविस्मरणीय वर्ष बन्ने पुगेको बताउनुभयो । त्यसका लागि खेलाडी र व्यवस्थापन पक्ष सबैलाई उहाँले बधाई र धन्यवाद पनि दिनुभयो । खेलका विभिन्न विधाअन्तर्गत चेस पनि स्थापित बन्दै गएको उल्लेख गर्दै उहाँले यसबाट समय व्यवस्थापन र मानसिक तन्दुरुस्तीमा सहयोग पुग्ने बताउनुभयो । हिजो जनयुद्धकालमा जनमुक्ति सेना र पेशेवर कार्यकर्ताले खाली समय व्यति गर्दै मानसिक तन्दुरुस्तीका लागि चेस खेललाई प्रयोग गर्ने गरेको स्मरण गर्दै उहाँले अहिले चेसको विकास गर्ने अभियानमा त्यही क्रान्तिमा सामेल भएका पूर्वजनुक्ति सेनाहरुको नेतृत्वदायी भूमिका रहेको देख्दा खुशी लागेको बताउनुभयो ।  

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

काठमाडौँ ।निर्वाचनमा होमिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ। बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना सङ्क्रमण भएको थियो । ८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा भागलिन पुगेका थिए। एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए।  गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा  खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ। फेरि उनलाई यही समयमा यो रोग आएको हो ।  राष्ट्रपति ट्रम्पलाई डेलावेयर स्थित आफ्नो निवासमा आइसोलेट गर्ने लागिएको ह्वाइट हाउसले जनाएको छ ।  त्यस्तै, ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट पनि सार्वजनिक गरेको छ । ह्वाइट हाउसले सार्वजनिक गरेको नोटमा बाइडेनलाई श्वासप्रश्वासका लक्षणहरू, नाकबाट सिगान बग्ने र खोकी लागेको बताएको छ । 

पृथ्वीले पाउँदैछ केही समयलाई दोस्रो चन्द्रमा

यस शरद ऋतुमा एक खगोलीय आश्चर्यको लागि तयार हुनुहोस् - वैज्ञानिकहरूका अनुसार पृथ्वीलाई दोस्रो चन्द्रमा प्राप्त हुन लागेको छ। सानो क्षुद्रग्रह पृथ्वीको गुरुत्वाकर्षण तानामा समातिनेछ र अस्थायी रूपमा "मिनी-चन्द्रमा" बन्नेछ। यो अन्तरिक्ष आगन्तुक २९ सेप्टेम्बरदेखि केही महिनासम्म पृथ्वीको गुरुत्वाकर्षणको प्रभावमा रहनेछ र फेरि छुट्टिनेछ। दुर्भाग्यवश, दोस्रो चन्द्रमा धेरै सानो र धमिलो हुने भएकाले यो देख्न सकिने छैन, जबसम्म तपाईंले व्यावसायिक दूरबीन प्रयोग गर्नुहुन्न। यो क्षुद्रग्रहलाई पहिलो पटक नासाको एस्ट्रोइड टेरिस्ट्रियल-इम्प्याक्ट लास्ट अलर्ट सिस्टम (ATLAS) ले ७ अगस्टमा देखेको थियो। वैज्ञानिकहरूले यस क्षुद्रग्रहको कक्षालाई अमेरिकी खगोल विज्ञान समाजको अनुसन्धान नोट्समा प्रकाशित एक अध्ययनमा पत्ता लगाए। वैज्ञानिकहरूले २०२४ PT5 भनेर चिनिएको यो क्षुद्रग्रह अर्जुना क्षुद्रग्रह बेल्टबाट आएको हो, जसमा पृथ्वीको कक्षासँग मिल्दोजुल्दो कक्षामा रहेको चट्टानहरू पाइन्छन्। कहिलेकाहीं, यी क्षुद्रग्रहहरू पृथ्वीबाट लगभग २.८ मिलियन माइल (४.५ मिलियन किलोमिटर) टाढासम्म पुग्छन्। अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार, यदि यस्तो क्षुद्रग्रह लगभग २२०० माइल प्रति घण्टा (३५४० किलोमिटर प्रति घण्टा) को तुलनात्मक रूपमा कम गतिमा चलिरहेको छ भने, पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रले यसलाई अस्थायी रूपमा समात्न सक्छ। र यो ठीक यही हुन लागेको छ - यसै सप्ताहन्तबाट सुरु भएर, यो सानो क्षुद्रग्रहले लगभग दुई महिना पृथ्वीको कक्षामा बिताउनेछ। "असम एस्ट्रोनोमी" पोडकास्टकी खगोलशास्त्री डा. जेनिफर मिलार्डले बीबीसीको टुडे कार्यक्रमलाई बताइन् कि यो क्षुद्रग्रह २९ सेप्टेम्बरमा पृथ्वीको कक्षामा प्रवेश गर्नेछ र २५ नोभेम्बरमा बाहिर निस्कने भविष्यवाणी गरिएको छ। "यसले हाम्रो ग्रहको पूर्ण परिक्रमा गर्ने छैन, यो केवल यसको कक्षालाई हल्का घुमाएर पृथ्वीबाट अगाडि बढ्नेछ," उनले भनिन्। यो क्षुद्रग्रह लगभग ३२ फिट (१० मिटर) लामो छ, जुन पृथ्वीको चन्द्रमाको तुलनामा सानो हो, जसको व्यास लगभग ३४७४ किलोमिटर छ। यो सानो र धमिलो चट्टानबाट बनेको भएकाले, यसलाई पृथ्वीबाट मानिसहरूले बाइनाकुलर वा घरको दूरबीनबाट पनि देख्न सक्ने छैनन्। "व्यावसायिक दूरबीनहरूले यसलाई टिप्न सक्षम हुनेछन्। त्यसैले तपाईले इन्टरनेटमा यस सानो बिन्दुले ताराहरूको छेउबाट ठूलो गतिमा हिँडिरहेको धेरै अद्भुत तस्बिरहरू हेर्न पाउनुहुनेछ," डा. मिलार्डले भनिन्। यसअघि पनि मिनी-चन्द्रमाहरू देखिएका छन्, र धेरै अरूहरू पनि देख्न नसकिएको हुनसक्छ। कतिपय फेरि फर्केर आउँछन्, २०२२ NX1 क्षुद्रग्रह सन् १९८१ मा मिनी-चन्द्रमा बनेको थियो र फेरि २०२२ मा फर्कियो। त्यसैले यदि तपाईंले यो क्षण छुटाउनु भयो भने चिन्ता नगर्नुहोस् - वैज्ञानिकहरूले भविष्यवाणी गरेका छन् कि २०२४ PT5 पनि २०५५ मा फेरि पृथ्वीको कक्षामा फर्कनेछ। "यस घटनाले हाम्रो सौर मण्डल कति व्यस्त छ भनेर देखाउँछ र त्यहाँ कति धेरै कुरा बाँकी छ जुन हामीले पत्ता लगाएका छैनौं, किनकि यो क्षुद्रग्रह यस वर्ष मात्र पत्ता लगाइएको थियो।" "त्यहाँ दसौं हजार, यदि लाखौं होइन भने, वस्तुहरू छन् जुन हामीले अझै पत्ता लगाएका छैनौं, त्यसैले यसले हामीलाई रातको आकाशलाई निरन्तर निगरानी गर्न र यी सबै वस्तुहरू फेला पार्न सक्षम हुनको महत्त्वलाई जोड दिन्छ," डा. मिलार्डले भनिन्। स्रोतः बिबिसी

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा सुन सोमबारकै मूल्यमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।  आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भएको छ। आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँ कारोबार भइरहेको छ। 

फिल्डिङ र ब्याटिङमा कमजोरी भयो, आगामी दिनमा सुधार्छौं : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन् ।  बिहीबार आईसीसी ट्वान्टी–२० विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको उनको भनाइ थियो।  उनले अमेरिका र वेस्ट इन्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताए।राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको उनको भनाइ छ। फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए। रोहितले भने, पहिलो गेममा पनि आत्मविश्वास थियो । तर, मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन । सम्पूर्ण खेलको कुरा गर्दा बलरले राम्रो गर्नुभयो । सबैको लागि ठाउँ खाली छ, राम्रो खेल्नेले अवसर पाउनुहुन्छ । हामीले वेस्ट १५ खेलाडी लिएर गएका थियौँ । ब्याट्सम्यानलाई च्यालेन्ज थियो । ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन । बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ । फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौँ । ब्याटिङमा पनि सुधार गर्न जरुरी छ । उनले नेपालले उत्कृष्ट १५ खेलाडी लिएर विश्वकपमा गएको बताए । 

गोरखाको वीरेन्द्र ताल फुटेपछि तल्लो क्षेत्रमा बाढी

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेपछि तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले पुर्याएको क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेर तालको पानी बाहिर आएको जानकारी दिदै थप विवरण आइनसकेको बताए । उनका अनुसार ताल भएको क्षेत्रतिर प्रहरी टोली परिचालन भइसकेको छ । बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको छ । चुमनुब्री गाँउपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले प्रारम्भिक जानकारी अनुसार तालमा हिमपहिरो खसेको र त्यसपछि तालको पानी छचल्किएर बाहिर आएको खबर आफूहरुले पाएको जानकारी दिइन् ।

क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न आह्वान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गर्नु भएको छ ।   एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले  समावेशी समृद्धि: एसियाली व्यापार अर्थतन्त्रमा एसएमईको सशक्तीकरणका मुद्दामा साझा आर्थिक दृष्टिकोणका लागि पनि आग्रह गर्नुभयो । नेपालमा, साना तथा मझौला उद्योगहरूले जिडिपीको लगभग २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्द्धनमा अन्तरक्षेत्रीय साझेदारीको महत्त्व रहेको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो । साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमी सँग ठिकसँग जोडेर विकास तथा प्रर्वद्धनमा जोड दिन थालिएकाले लगानी तथा बजारका सम्भावनाहरू बढेको तर्फ पनि अध्यक्ष ढकालले एसियाली लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनुभयो । नेपालको निर्यात व्यापारमा  हातले बुनेका गलैँचा, थाङ्का, चित्रकला र परम्परागत सङ्गीतका वाद्य यन्त्रहरूको उल्लेख्य हिस्सा रहेकाले सांस्कृतिक उद्योगहरूमा लगानी गरेर समावेशी समृद्धिमा योगदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गर्नुभयो । पर्यटन मार्फत पनि साना तथा मझौला उद्भमलाइ प्रवर्द्धन गर्न सकिने भएकाले नेपाल भ्रमण गरी लगानी गर्ने अवसर खोज्न पनि अध्यक्ष ढकालले लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । बढ्दो पर्यटन बजारलाई लक्षित गरी होटल, थिम पार्क, केबलकार लगायतका पर्यटन पूर्वाधारमा लगानी खोजिरहेकाले साझेदारीका लागि पनि अध्यक्ष ढकालले  लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनुभयो । भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने भएको र  बंगलादेशमा पनि थप बजार सुनिश्चित रहेकाले जलविद्युतमा लगानीका लागि पनि उपयुक्त अवसर सृजना भएको अध्यक्ष ढकालले बताउनुभयो । लगानीको वातावरण सुधार गर्ने उद्देश्यले व्यवसाय गर्न सम्बन्धी विभिन्न कानुनहरू परिमार्जन गरेको  विदेशी लगानीकर्ताहरूलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौता फ्रेम वर्क पारित भएकाले सहज अवसरको उपयोग गर्न पनि अध्यक्ष ढकालले बाह्य लगानीकर्ताहरुलाइ आग्रह गर्नुभयो । अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताहरूलाई सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ तयार रहेको र  हेल्प डेस्क मार्फत विदेशी लगानीकर्ताहरूलाई नीति र प्रक्रियाहरू बुझ्न मद्दत गरिरहेको जानकारी पनि गराउनुभयो ।