सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य बिहीबार एकै दिन ११ सय रुपैयाँ प्रतितोला वृद्धि भएको हो। 

यसअनुसार आज छापावाल सुन १ लाख २७ हजार ९ सय र तेजाबी सुन १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य पनि बढेर १ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार १ सय ९३ अमेरिकी डलर पुगेको छ।

श्रीलङ्काका राष्ट्रपतिले भने– नेता र राजनीतिक व्यवस्थाप्रतिको विश्वास फर्काउन सबै कदम चाल्ने छु

काठमाडौं ।  श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिशानायकेले शपथ लिनुभएको छ । शनिबार भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित हुनुभएको थियो । उहाँले नवौं राष्ट्रपतिका रुपमा उनले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कोलम्बोबाट करिब १७७ मिलोमिटर टाढा थम्बुथेगामा भन्ने स्थानमा ग्रामीण मध्यम वर्गीय परिवारमा जम्मिएका दिशानायकेले विज्ञान विषयमा डिग्री हासिल गर्नुभएको छ । उहाँ स्कुले जीवनबाट जेभीपी (जनता विमुक्ति पेरामुना) मा आबद्ध हुनुभएको थियो ।  शपथपछि देशबासीलाई सम्बोधन गर्दै राष्ट्रपति दिशानायकेले सत्ता हस्तान्तरणका क्रममा सराहनीय उदाहरण स्थापित गरेकोमा निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेप्रति अभार व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा लोकतान्त्रिक मूल्य मान्यता कायम राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । श्रीलंकाका राजनेता र राजनीतिबारे व्यापक नकारात्मक धारणा रहेको भन्दै उहाँले नेता र राजनीतिक व्यवस्थाप्रति सम्मान र विश्वास फर्काउन आवश्यक सबै कदम चाल्ने बताउनुभयो । ‘हाम्रोसामु जुन गहिरो संकट छ, यो कुनै एउटा सरकार, पार्टी वा व्यक्तिले अन्त्य गर्न सक्दैन’– उहाँले भन्नुभयो– ‘मैलै पहिले पनि भनेको छु, म कुनै जादुगर होइन । म यो देशमा जन्मिएको एक आम मानिस हुँ ।’ संकट समाधानका लागि समूहिक प्रयासमा जोड दिंदै उहाँले भन्नुभयो– ‘मेरो प्राथमिकता सबै प्रतिभाको आत्मसाथ गर्ने, ज्ञान एकीकृत गर्ने र राज्य सञ्चालनमा राम्रो निर्णय गर्ने हुनेछ ।’

चीनमा कथावाचन साझेदारी यात्राको आकर्षण

चीनको ग्वाङ्डोङ प्रान्तले चीन कथावाचन साझेदारी यात्रा कार्यक्रम आयोजना गरेको छ। बिभिन्न दशवटाच देशका मिडिया संवाददाताहरू र इन्टरनेट प्रभावशाली व्यक्तिहरूको उपस्थितमा यही सेप्टेम्बर २२ देखि झांझियाङमा सहरमा कार्यक्रम सुरु भएको हो । चाइना डेली वेबसाइट र झांझियाङ नगरपालिका सरकारको सूचना कार्यालयद्वारा "म्याङ्ग्रोभहरूको सहर" भनेर चिनिने सुन्दर झांझियाङ सहरमा संयुक्तरूपमा आयोजित कार्यक्रम सेप्टेम्बर २६ मा समापन हुनेछ । चाइनाडेलीले जनाए अनुसार कार्यक्रममा संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, स्विडेन, रूस र टर्कीबाट १० जना सहभागी रहेका छन् । चीन कथाकार साझेदारीका सदस्यहरूका रूपमा उनीहरुले झांझियाङको समुद्री सौन्दर्य र सांस्कृतिक धरोहरको अन्वेषण यात्रा सुरु गरेको डेलिले जनाएको छ।  वैश्विक दर्शकहरूलाई झांझियाङको विशिष्ट आकर्षण प्रस्तुत गर्ने मञ्चको रूपमा  यस कार्यक्रममा विदेशी मिडिया सहभागीहरूले आफ्नो शब्द र लेन्स मार्फत सहरको सारलाई समात्ने अवसर पाएका छन्। आधुनिक कथावाचनलाई व्यक्तिगत, अन्तर्राष्ट्रिय स्पर्शसँग सम्मिश्रण गर्दै यो कार्यक्रमले झांझियाङको उच्च गुणस्तरीय विकास र चीनको समग्र आधुनिकीकरण प्रयासहरूमा यसको भूमिकालाई उजागर गर्ने लक्ष्य राखेको थियो।  चिनियाँ मुख्य भूमिको सबैभन्दा दक्षिणी भागमा अवस्थित झांझियाङ, ग्वाङ्डोङ-हङकङ-मकाओ ग्रेटर बे एरिया, हेनान स्वतन्त्र व्यापार बन्दरगाह र ग्वाङ्शी बेइबु खाडी आर्थिक क्षेत्रलाई जोड्ने रणनीतिक केन्द्रको रूपमा चिनिन्छ। www.chinadaily..cn  बाट साभार

बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

विराटनगर, ४ फागुन । बोक्सीको आरोपमा मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई यातना दिएर मलमूत्र खुवाएका छन् । बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई छिमेकीले नै यातना दिदै बोक्सी आरोपमा मलमूत्र खुवाएको प्रहरीले जनाएको छ । बोक्सीको आरोपमा मलमूत्र खुवाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी छिन् । उनी गाउँकी धामी हुन् । मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । बिहीबार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले कुटपिट गरिन् । पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार पनि गरेको पीडितको भनाइ छ । पीडित महिला बिहीबार साँझ हरैचामा रहेको प्रहरी कार्यालय पुगेकी थिइन् । लगत्तै बोक्सीको आरोप लगाएर अमानवीय हर्कत गर्ने माझीलाई पक्राउ गरेको  दाहालले बताए । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनामा अरु व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।

सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छिन् । नेपाल उद्योग परिसंघको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीजका पदाधिकारीसँगको भेटमा उनले यस्तो आग्रह गरेकी हुन् । लगानी सम्मेलनमा अन्य क्षेत्रको जस्तै सूचना प्रविधि क्षेत्रको लगानी प्रस्तुत गर्न आवश्यक रहेकाले आवश्यक परियोजना भए लिएर आउन आग्रह गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा परियोजना बैंक बनाउनुपर्ने बताइन् । उनले सरकारको नीति तथा कार्यक्रम र बजेटका सवालमा पनि सूचना प्रविधिमा के गर्न सकिन्छ सरकारलाई लिखित सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरिन् । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरेदेखि नै डिजिटल रुपान्तरणलाई रणनीतिको रुपमा राखिए पनि नेपालमा सूचना प्रविधिलाई साझा दृष्टिकोण नै बन्न नसकेकाले यसमा आवश्यक लगानीको वातावरण नबनेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारी, निजी क्षेत्र र जनस्तर सबैतिर सूचना प्रविधि प्रतिको साझा बुझाई आवश्यक रहेको बताइन् । ‘अब सूचना प्रविधि क्षेत्रमा लगानीकर्ता र जनशक्तिको पहिचान गर्न ढिलाई गर्नुहुँदैन’– उनले भनिन्– ‘डिजिटल रुपान्तरणको माध्यमबाट मुलुकको समृद्धि कायम गर्न निजी क्षेत्रले सहयोग गर्न आवश्यक छ ।’ निजी क्षेत्रले लगानी गर्दा आफ्नो मुनाफा हेर्नु स्वभाविक भए पनि अर्थतन्त्र चलायमान बनाउने र रोजगारी सिर्जना गर्नेतिर बढी ध्यान केन्द्रित गर्न आवश्यक रहेको उनले स्पष्ट गरिन् । सरकार सूचना प्रविधि र साइबर सुरक्षालगायतका आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको पनि उनले जानकारी दिइन् ।  छलफलमा नेपाल उद्योग परिसंघको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीजका पदाधिकारीहरुले नेपालमा ठूला लगानीकर्ताले सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका थिए । नेपालमा सूचना प्रविधिको राम्रो संभावना भएकाले सरकारले कानुन र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनीहरुले निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताएका थिए । पछिल्लो समय सरकारले सूचना प्रविधि क्षेत्रमा राम्रो पहल अघि बढाए पनि सूचना प्रविधि, स्टार्टअप लगायतका क्षेत्रमा सरकारी निकायहरुबीच नै साझा बुझाई आवश्यक रहेको बताउनुभयो ।

श्रीलङ्कामा आम निर्वाचनका लागि संसद विघटन

काठमाडौं । श्रीलङ्काको नयाँ राष्ट्रपतिले आकस्मिक आमनिर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन गर्नुभएको छ ।  अनुरा कुमारा दिसानायकेले आफ्नो वामपन्थी राष्ट्रिय जनशक्तिगठबन्धनको संसदमा तीन सीट मात्रै रहेको २२५ सदस्यीय संसद विघटन गर्नुभएको हो ।  सरकारी गजेटमा प्रकाशित सूचनाका अनुसार निर्वाचन १४ नोभेम्बरमा हुने छ, जुन तालिकाअघि नै लगभग एक वर्षअघि हुनेछ। राष्ट्रपतिले आफ्नो सहयोगी हरिणी अमारासुरियालाई प्रधानमन्त्री चयन नियुक्त गर्नुभएको छ, जसले देशको इतिहासमा तेस्रो पटक एक महिलालाई प्रधानमन्त्री बनाइएको छ।  निर्वाचित भएलगत्तै संसद् विघटन गर्ने संकेत दिएका दिसानायके आफ्नो नीति कार्यान्वयनका लागि नयाँ जनादेशमा जान थाल्नुभएको हो ।  श्रीलङ्कामा सांसदहरू पाँच वर्षका लागि निर्वाचित हुने अन्तिम आम निर्वाचन अगस्ट २०२० मा भएको थियो। 

शिक्षामा राज्यले लगानी बढाउनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको जोड

काठमाडौं। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको १८औँ ‘नेशनल एजुकेसन अवार्ड’ कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाका भौतिक पूर्वाधार तथा प्रविधि विकास र सामयसापेक्ष पाठ्यक्रम तर्जुमाका लागि लाग्नुपर्ने बताए।  उनले गुणस्तरीय शिक्षाका लागि क्षमतावान्  शिक्षक राखिनुपर्ने र शिक्षकलाई मर्यादा, प्रतिष्ठाका साथै सुविधा दिनुपर्ने बताउँदै शिक्षालयमा शिक्षालयहरूमा योग,ध्यानको अभ्यास सँगसँगै गराउन सुझाव दिए । उनले भने, “शिक्षा बाँच्नका लागि होइन, जीवनका लागि हो भन्ने मान्यता विकास गर्न आवश्यक छ ।” कार्यक्रममा शिक्षा क्षेत्रका योगदानकर्ता, सेवी, विज्ञ, विद्यालय सञ्चालक, कर्मचारी र शिक्षा पत्रकारलाई सम्मान गरिएको थियो । मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा नन्दबहादुर सिंह, चितवनको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा कमल पोखरेल, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झा, ग्यालेक्सी पब्लिक स्कुलका संस्थापक गीता राणा, ज्ञानोदय बालबबाटिकाका संस्थापक इन्दिरा याक्थुङगा, सिन्धुपाल्चोकको मेलम्ची ध्याङ माविका प्रधानाध्यापक पूर्णबहहादुर गौतम, काठमाडौँको नीलबाराही माविका प्रधानाध्यापक डा जानुका नेपाल, तनहुँको महेश विद्याश्रम, पृथ्वी माविका सहयोगी राजेन्द्रप्रसाद धिमाललाई  सम्मान गरिएको थियो ।   यसैगरी, रु १० हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार ‘जुपिटर मिडिया’का सुनिल आचार्य र रेडियो कान्तिपुरका पार्वता चौधरीलाई प्रदान गरिएको थियोभने शिक्षालय मासिकका प्रधानसम्पादक श्याम तण्डुकारले शिक्षासेवीहरूको योगदानलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताए। सम्मान र पुरस्कार चयनका लागि शिक्षा सेवाका उपसचिव गेहनाथ गौतम, शिक्षा पत्रकार प्रकाश सिलवाल, अभियन्ता बिके श्रेष्ठ रहेको निर्णायक समिति र शिक्षाकर्मीहरू दिपीका थापा र रामहरि सिलवाल रहेको स्रोत व्यक्ति समूह गठन गरिएको थियो ।

मोदीलाई लगातार तेस्रो पटक जनताको विश्वास

काठमाडौँ। भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए)ले प्रस्ट बहुमत प्राप्त गरेको छ । बुधबार बिहान १ः३० बजेको मतगणना परिणाम अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्री बन्ने गरी जनअनुमोदन प्राप्त गरेका हुन्।  मत परिणाम अनुसार एनडिएले कुल ५४३ सिटमध्ये २९४ सिटमा जित हासिल गरेको छ। विपक्षी भारतीय राष्ट्रिय कङ्ग्रेस नेतृत्वको ‘भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन’ (इन्डिया) ले २२३ सिटमा जित हासिल गरेको छ। परिणाम घोषणा भएका मध्ये १७ सिटमा अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन्। केही प्रदेशमा अपेक्षाभन्दा राम्रो नतिजा प्राप्त नभएकाले भाजपालाई निर्वाचनपूर्व गरिएका ‘एक्जिट पोल’हरूले देखाए झैँ एकल बहुमत भने जुटेन। अब मात्र नौ सिटको परिणाम आउन बाँकी छ ।  भारतका प्रधानमन्त्री मोदीले वाराणासीबाट तेस्रो पटक जनताको विश्वास प्राप्त गरेका हुन् । उनी तेस्रो पटक प्रधानमन्त्री निर्वाचित भए भने भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको तीन कार्यकालसँग बराबरी हुनेछ ।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको सरुवा, को–कहाँ ?

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य माताहतका निकायमा कर्मचारीको सरुवा गरेका छन्। मन्त्रालयका उच्च कर्मचारीका अनुसार स्वास्थ्यमन्त्री यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) प्रमुख डा. रुद्र मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेका छन्। यसअघिका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नियुक्त गरेका डा.प्रमोद यादवलाई हटाउँदै मरासिनीलाई जिम्मेवारी दिइएको हो। तर, इपिडिमियोलोजी महाशाखामा भने हालका लागि कसैललाई पनि जिम्मेवारी दिइएको छैन । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. रोशन न्यौपानेलाई निर्देशकको जिम्मेवारी दिइएको छ। अस्पतालमा निर्देशक रहेका डा. युवानिधि बसौलालाई कान्ति अस्पतालमा फिर्ता पठाइएको उच्च अधिकारीले बताए ।

एकीकृत समाजवादी बाहिरिएसँगै सुदूरपश्चिम सरकारका मुख्यमन्त्री अल्पमतमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारबाट नेकपा (एकीकृत समाजवादी) पार्टी पनि बाहिरिएको छ । यसअगाडि नेकपा माओवादी पनि प्रदेश सरकारबाट बाहिरिएको थियो । एकीकृत समाजवादी पनि सरकारबाट बाहिर भएसँगै सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन् । संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हो । समाजवादीका तर्फबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् । शाहीले यस्तो जानकारी गराएपछि मुख्यमन्त्री शाहले शाहीले सम्हालिरहेको मन्त्रालय आफैसँग राखेका छन् । चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जनाएको छ । माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको हो । अब शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ । सरकार जोगाउन भने २७ जनाको समर्थन चाहिन्छ । नागरिक उन्मुक्ति पार्टीले भने प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय लिएको छैन् । संसदीय दलका नेता घनश्याम चौधरी पर्ख र हेरको अवस्थामा पार्टी रहेकाले अहिले नै सरकारको विषयमा कुनै निर्णय नभएको बताए ।

नेपाललाई बंगलादेशले दियो १०७ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको लक्ष्य दिएको छ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालले बंगलादेशलाई १९.३ ओभरमा १०६ रनमै अलआउट बनाएपछि १०७ रनको लक्ष्य पाएको हो । बंगलादेशका साकिब अल हसने सर्वाधिक १७ रन बनाए । नेपाली टिमका कप्तान रोहितकुमार पौडेलबाट एलबीडब्लूको धरापमा पर्नुअघि साकिबले २२ बलमा दुई चौका प्रहार गरे । महमदुल्लाह र रिसाद हुसैनले समान १३ रन थप्दा लिटोन दास र तक्षिन अहमेदले १२ र १० रन जोडे । यसबाहेक, बंगलादेशका अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन । बंगलादेशविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालबाट कुल ६ बलर प्रयोग भएका थिए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानले समान दुई विकेट लिए । रोहित र सन्दीपले पहिलो पटक ट्वान्टी–२० विश्वकपमा विकेट लिएका हुन् । बंगलादेशका जाकेर अली र तान्जिम हसन साकिबलाई बोल्ड गरेका सन्दीप यो खेलसँगै नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिने पहिलो बलरसमेत बने । सन्दीपले ५४औँ खेलमा यो कोशेढुंगा पार गरेका हुन् ।  सन्दीप अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा दोस्रो सबैभन्दा छिटो १०० विकेट लिने बलरसमेत बने । उनीभन्दा अघि अफगानिस्तानका राशिद खानल ५३ खेलमा १०० विकेट लिएका थिए । विश्वकपमा नेपाल र बंगलादेश दोस्रो पटक प्रतिस्पर्धामा आएका हुन् । यसअघि नेपालले बंगलादेशविरुद्ध पहिलोपटक सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । बंगलादेशमै भएको खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो ।  जारी प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बन्दा तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । समूह ‘डी’मा तीन खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । तीन खेलबाट चार अंक जोडेको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ ।  प्रतियोगिताबाट नेपाल बाहिरिसक्दा बंगलादेश भने जित निकाल्दै सुपर–८ मा प्रवेश गर्ने लक्ष्यमा हुनेमा । प्रतियोगिताको आगामी यात्रा निश्चित गर्न बंगलादेशमाथि जितको दबाब छ ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए सपथ

काठमाडौं, ८ फागुन । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारीले पद तथा गोपनीयताको सपथ लिएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नवनियुक्त अध्यक्ष भण्डारीलाई आज (मंगलवार) सपथ गराए । नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन ६ गतेको बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।  सो अवसरमा मन्त्री शर्माले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष भण्डारीलाई आग्रह गरे । अत्यन्त संवेदनशील क्षेत्रको रुपमा रहेको दूरसञ्चार क्षेत्रलाई गुणस्तरीय, सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिंदै उनले त्यसका लागि योजनाबद्ध पहल आवश्यक रहेको बताए। मुलुकको आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य रहेको र त्यसका लागि दूरसञ्चार आधारभूत डिजिटल पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री शर्माले चाँडोभन्दा चाँडो देशका सबै भूभागमा दूरसञ्चार सेवा पुर्याउने गरी काम गर्न सुझाव दिए ।  उनले  सुशासनलाई ध्यान दिन पनि आग्रह गरे । सूचना प्रविधि नयाँ क्षेत्र भएको र यसमा प्रयोग हुने उपकरण तथा प्रणालीको खरिद र जडान प्रक्रियामा अन्य क्षेत्रबाट बढी अनियमिताको गुनासो आउने गरेकाले आगामी दिनमा त्यस्तो स्थिति आउन नदिन प्राधिकरणले विशेष ध्यान दिनुपर्ने उनले स्पष्ट गरे । दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले नेपालको समग्र दूरसञ्चार र सूचना प्रविधि क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए ।  नवनियुक्त अध्यक्ष भण्डारीले राष्ट्रहित र नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दूरसञ्चार क्षेत्रको बदलिंदो आयाम र आफ्नो दुई दशक लामो सूचना प्रविधि क्षेत्रको अनुभवका आधारमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा योगदान दिने उनले बताए । कार्यक्रमको सहजीकरण मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गरेका थिए । भण्डारी खुला प्रतिष्पर्धाबाट पाँच वर्षका लागि अध्यक्षमा नियुक्त भएका हुन् । निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि अध्यक्ष पदमा खुला प्रतिष्पर्धाका लागि आव्हान गरिएको थियो । प्रतिष्पर्धाका लागि २५ जनाले आवेदन दिएकोमा सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित सिफारिस समितिले भण्डारी, शैलेन्द्र गिरी र नवीन जिसीको नाम मन्त्रिपरषदमा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले पहिलो नम्बर रहेका भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

भरतपुर महानगरद्धारा विपद् सामग्री हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनका लागि विपद् सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री आज भरतपुर महानगरपालिकामा एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहालले सम्बन्धित संस्थालाई हस्तान्तरण गरिन्। नेपाली सेना नयाँ सवुज गण, सशस्त्र प्रहरी बल आँपटारी, नवज्योती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, नारायणी नमुना मावि, गौरीगञ्ज लाइन स्कुल टोल विकास संस्था, वडा कार्यालय १, २४ र २७ लाई विपद् सामग्री हस्तान्तरण गरिएको हो । सम्बन्धित निकायहरुले विपद् व्यवस्थापनका सामग्री अत्यन्त जरुरी भएको भनि माग गरेपछि महानगरपालिको निर्णयपछि विपद् सामग्री वितरण गरिएको प्रमुख दाहालले जानकारी दिइन्। वन्यजन्तु, आगलागी, नदी डुबान र स्वास्थ्य सम्बन्धी विभिन्न २६ वटा विपद्का सामग्री प्रदान गरिएको हो । जसमा खोज तथा उद्दार सामग्रीहरु रहेका छन् । ९ लाख बराबरको समाग्री महानगरपालिकाले हस्तान्तरण गरेको हो ।यी सामग्रीको हस्तान्तरणले समुदायस्तरबाट पनि विपद् व्यवास्थापनमा सहयोग पुग्ने अपेक्षा महानगरको छ ।

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय ब्युरो निर्देशक कान्नी विङ्नाराजाले शिष्टाचार भेट गरेकी छिन् । सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच नेपाल र युएनडिपीसँगको सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिए।  सल्लाहकार सापकोटाअनुसार प्रधानमन्त्री प्रचण्डले नेपालको सामाजिक र आर्थिक विकासमा युएनडिपीले सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जलवायु परिवर्तनबाट नेपालमा परेको असर न्यूनीकरणमा  युएनडिपीको सहयोग रहने विश्वास व्यक्त गरे।  राष्ट्रसङ्घका सहायक महासचिव विङ्नाराजाले नेपालले आयोजना गरेको लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै नेपाल–युनडिपीबीचको सहकार्यलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

टर्कीमा केबलकार दुर्घटना हुँदा एकको मृत्यु, दश घाइते

एजेन्सी । टर्कीको दक्षिणी प्रान्त अन्टाल्यामा शुक्रबार एउटा केबलकारको केबिन भाँचिएर पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। त्यहाँको स्थानीय समय अनुसार शुक्रबार बेलुका ५ः२३ मा केबलकारका २४ वटा केबिन हावामा फसेका थिए। केबलकारको केबिनमा अड्किएका ११२ जनालाई उद्दार गरीएको छ भने । ६० भन्दा बढी व्यक्ति १६ घण्टा देखि  हावामै फसिरहेको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । हावामा अड्किएका नागरिकहरुको स्वास्थ्यमा कुनै समस्या नरहेको विपत व्यवस्थापन प्राधिकरणले जनाएको छ । अहिले उद्दारका लागि ७ वटा हेलिकप्टर र ५०० उद्दार कर्मी परिचालन गरिएको छ । शनिबार साँझसम्म उद्दार कार्य सक्ने गरी काम गरिरहेको अधिकारीहरुले बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको बताइएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । थप विवरण आउँन बाँकी छ ।