सिड्नीको सपिङ मलमा छुरा प्रहार गरी पाँच जनाको हत्या

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित एक सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहारबाट पाँच जनाको हत्या गरिएको छ।

चक्कु प्रहार गर्ने एक आक्रमणकारीलाई शनिबार सिड्नीको समुन्द्री किनारमा प्रहरीले गोली हानी मारेको प्रहरीले जनाएको छ ।

व्यस्त वेस्टफिल्ड बोन्डी जंक्शन शपिङ सेन्टरमा एक जना व्यक्तिले धमाधम नौ जनालाई आक्रमण गरेका थिए । आक्रमणकारीलाई एक प्रहरी अधिकारीले गोली हानेको प्रहरीले जनाएको छ।

‘त्यहाँ नौं जना पीडित मध्ये पाँच जना मरेका छन्,’ न्यू साउथ वेल्सका प्रहरी सहायक एन्थोनी कुकले पत्रकार सम्मेलनमा भनेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार, व्यस्त मलमा किनमेलमा मग्नरहेका मानिसहरुमाथि चक्कु आक्रमण गरिएको थियो । यसअघि कसैले धम्कि नदिएको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार आक्रमण किन गरियो भन्नेबारे अनुसन्धान जारी रहेको छ । आक्रमणबाट घाइते भएका एक बालकसहित अन्यलाई अस्पताल लागिएको  छ।

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन २४ गते बिहीबार सन् २०२४ अगष्ट ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढ्दा र कतारी रियालको विनिमय दर स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४६ रुपैयाँ ३९ पैसा र बिक्री दर १४७ रुपैयाँ ०५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६८ पैसा र बिक्री दर १७१ रुपैयाँ ४४ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

सेयर धितोकर्जाको संस्थागत २० करोडको सीमा हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जासम्बन्धी संस्थागत लगानीकर्ताको सीमा हटाएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन जारी गर्दै मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गरेको हो । संस्थागत लगानीकर्तालाई सेयरधितो कर्जामा कुनै सीमा लागु हुनेछैन । मार्जिन प्रकृतिको सेयर धितोकर्जाको एकल ग्राहक कर्जा सीमालाई भने निरन्तरता दिइएको छ । कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम छ ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

प्रधानमन्त्री ओली बनाउने सहमति, देउवा बन्ने संवैधानिक प्रावधान !

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार चलाउने सहमति जुटेको समाचार आएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका दोस्रो तहका नेताहरुले संविधान संसोधन सहितको गठबन्धनमा सहकार्यको निम्ति सहमति बनेको र सहमतिमा हस्ताक्षर गरेको बताएका छन् ।यद्यपी एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सरकार आफ्नो नेतृत्वमा बनाउने सहमति बनेको अन्य कुरा नभएको बताएका छन्। एमाले र कांग्रेसबीचको सहमतिको खबर बाहिरिएसँगै मंगलबार बिहानै बालुवाटारमा बसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा नदिन र संसदमा विश्वासको मतको सामना गर्न निर्देशन दिएको छ। पार्टीको सो निर्णय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर सुनाइसकेका छन्। सो विषयमा प्रधानमन्त्रीले मंगलबार नै बालुवाटारमा महान्यायाधिवक्ता लगायत केही कानूनविदहरुसँग पछिल्लो राजनीतिक परिस्थितिबारे परामर्श गरेका छन्। आज केही समय अगाडि एमालेले सरकारबाट आफ्ना मन्त्रिहरुलाई फिर्ता बोलाउने निर्णय गर्न बैठक बसिरहेको छ । एमालेले सरकारबाट मन्त्रि फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे भने निर्णय गरेको छैन् । सरकारमा सहभागी कुनैपनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सन्र्दभमा एक महिनाभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सकेनन् भने प्रधानमन्त्रीबाट प्रचण्डले बिदा लिनुपर्नेछ तर, प्रचण्डको ठाउँमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्छन् भन्नेचाहिँ संविधानले ग्यारेन्टी गरेको छैन। संविधानको धारा ७६ ले गरेको सरकार गठनसम्बन्धी प्रावधान र विगतमा ओलीले संसद विघटना गर्दा सर्वोच्च अदालतले गरेको व्याख्यालाई आधार मान्ने हो भने उपधारा (२) अनुसार गठन भएको सरकारले विश्वासको मत पाएन भने उपधारा (३)अनुसारको सरकार गठन हुन्छ, त्यो भनेको नेपाली कांग्रेस हो, एमाले होइन । त्यो अवस्थामा प्रधानमन्त्री बन्ने पालो शेरबहादुर देउवाको हुनेछ, ओलीको होइन । बरु शेरबहादुर देउवापछि भने ओली उपधारा(५) अनुसार प्रधानमन्त्री बन्न सक्छन् । हेर्नुहोस् संविधानको धारा ७६ को प्रावधान नेपाली कांग्रेस र एमालेवीच प्रचण्डलाई हटाएर केपी ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको चर्चा छ । त्यस्तो सहमति भएकै हो भने पनि प्रचण्ड हटेपछि उपधारा (२) अन्तरगतकै सरकार बनाउने कि उपधारा (३) मा जाने भन्नेबारे संवैधानिक विवाद उब्जने छ । राष्ट्रपतिले उपधारा (२) अनुसार प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत प्राप्त नगरेपछि सोही (उपधारा (२))अनुसार नै पुनः सरकार गठनको आह्वान गर्नू असंवैधानिक हुनेछ ।  त्यसमाथि सर्वोच्च अदालतमा प्रश्न उठ्छ र मुद्दा पर्न सक्छ। प्रचण्डपछि उपधारा (३)अनुसार ठूलो दलको हैसियतले शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । दुई दलबीच भएको सहमति अनुसार संसदमा बहुमत जुटाएर प्रधानमन्त्रीलाई हटाउन पाइन्छ, तर संविधानले निर्दिष्ट गरेको विधि र प्रक्रिया मिचेर होइन, त्यसलाई पालना गरेर सत्ता हस्तान्तरण हुनुपर्छ।त्यसो गर्दा ठुलो दलको नेताका हिसाबले प्रधानमन्त्रीमा ओली नभई देउवा आउनेछन्।

बेइजिङमा पुटिन र सीबिच भेटवार्ता

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीनमा छन्।  दुई दिने भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन् । पुटिन र सीबिच हुने भेटवार्तालाई पश्चिमा राष्ट्रहरूले महत्वका साथ नियाली रहेका छन् । रुस र चीनबिचको साझेदारी कसरी अगाडि बढ्छ भन्ने विषयमा पुटिन र जिनपिङबिचको भेटमा छलफल हुने बताइएको छ । रुस र युक्रेनबिच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ। यस युद्धका कारण अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै प्रकारका प्रतिबन्धहरू लगाएका छन् । तर, यस अवधिमा चीनले रुसको आर्थिक अवस्थालाई सम्हाल्न सहयोगी साबित भएको छ। चीनले रुसी सेनालाई प्रविधि र हतियार उपलब्ध गराएको आरोप पनि लागेको छ । जसका कारण चीनमाथि पनि दबाब बढिरहेको छ । चीनले यी आरोपहरू अस्वीकार गर्दै आएको छ र रुसलाई कुनै पनि प्रकारको सैन्य सहयोग नगरेको दाबी गर्दै आएको छ । तर, चीनले युक्रेनमा रुसको आक्रमणको आलोचना भने गरेको छैन ।

स्टार क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर, विश्वकप खेल्न पाउने

काठमाडौं । नेपाली टिमका पूर्व कप्तान तथा स्टार क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम)ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।   उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्‍यो । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो ।  उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी२० विश्वकपमा खेलाउने बाटो खुलेको छ । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो।  तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो। त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

प्राधिकरणको अध्यक्षमा नियुक्तिका लागि मन्त्रालयले २५ जनालाई अन्तर्वार्तामा बोलायो (समय तालिकासहित)

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि थप प्रक्रिया अघि बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदका लागि दरखास्त दिएका २५ जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि समय र स्थान तोकेको हो । मन्त्रालयका अनुसार फागुन २ गतेदेखि ५ गतेसम्म विभिन्न चरणमा सबै आवेदनकर्ताको प्रस्तुतीकरण र अन्तर्वार्ता लिइने छ । सो प्रस्तुतीकरण र अन्तर्वार्ता मन्त्रालयमा नै हुने जानकारी दिइएको छ । त्यसपछि अध्यक्ष पदका लागि सिफारिसको प्रक्रिया अघि बढ्ने मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रप्रसाद सुवेदीले बताएका छन् । गत माघ १४ गते मन्त्रालयले सूचना जारी गर्दै अध्यक्ष पदमा आवेदनका लागि आह्वान गरेको थियो । हाल प्राधिकरणको अध्यक्ष पद खाली छ । प्राधिकरणको कार्यवाहक अध्यक्षमा नवराज अधिकारी रहेका छन् ।

नेपाली व्याकरण लेखन परम्परा, पहिलो व्याकरणदेखि आजसम्म

पारसमणि शर्मा व्याकरण कुनै पनि भाषालाई नियमबद्ध गर्ने प्रणाली नै व्याकरण हो। भाषाका निम्ति व्याकरण महत्वपूर्ण पक्ष हो। यसले भाषिक व्यवस्थालाई निमयबद्ध गर्दछ। अर्को शब्दमा भन्नु हो भने भाषिक व्यवस्थाको अध्ययन नै व्याकरण हो। व्याकरण शब्दहरूको क्रम, क्रिया, काल, भाव, पक्ष, वाच्य, अकरण, कारण, विशेषण, पदावली, वाक्य आदिको नियम प्रस्तुत गरिएको हुन्छ। यसर्थ व्याकरण भन्नाले भाषाको नियम बुझिन्छ। भाषामा कुन ठीक अथवा कुन बेठीक, कुन शुद्ध कुन अशुद्ध आदि भन्नेबारे छुट्याउने आधार नै व्याकरण हो। जब कुनै पनि भाषाको लेख्य रूप अघि आउँछ, तब त्यस भाषालाई व्याकरणको आवश्यकता पर्छ। यसले भाषालाई स्तरीकरण अथवा मानकीकरण गर्दै भाषामा एकरूपताको नियम तय गर्दछ। कुनै पनि भाषा एकै स्थानमा सीमित नरहेर यसको क्षेत्रविस्तार भएको हुन्छ। यसरी क्षेत्र विस्तार हुँदा भाषामा भाषिकाहरूको जन्म हुँदैजान्छ। ठाउँ-ठाउँमा बोलिने एउटै भाषाका पनि विभिन्न रूपहरू बनिँदै जान्छन्‌। व्याकरणले यी विभिन्न रूपहरूमा सर्वमान्य रूपलाई मान्यात दिई त्यसैको आधारमा नियम तय गरेको हुन्छ। सिक्किममा बोलिने नेपाली भाषा र पश्चिम नेपालमा बोलिने नेपाली भाषाको स्वरूप, क्षेत्र विस्तार र छुट्टाछुट्टै भाषिककाको विकासका कारण भिन्न छन्‌। यस्ता विविध रूपलाई व्याकरणले मानक रूप प्रदान गरी नियम तय गरेकाले सिक्किम र पश्चिम नेपालका नेपालीले लेख्य रूपमा एकै किसिकमको भाषाको प्रयोग गर्दछन्‌। कथ्य रूपमा भाषाको रूप परिवर्तित हुँदैगए पनि लेख्य रूपले यसलाई समातेर राखेको हुन्छ। यसैले भाषाको स्तरीकरण र एकरूपताका लागि व्याकरणका नियमहरू महत्वपूर्ण हुन्छन्‌। नेपाली भषाको पहिलो व्याकरण आधुनिक आर्य भाषाका रूपमा विकसित नेपाली भाषाको लेख्य परम्पराको थालनी भएको एक हजारभन्दा धेरै वर्ष बितिसकेको छ। यस क्रममा नेपाली भाषामा शिलालेख, ताम्रपत्र, पत्र, औषधिग्रन्थ हुँदै साहित्यिक लेखनसमेतको विकास हुँदैआए पनि यस भाषाको अध्ययन भने 19औं शताब्दीमा आएर मात्र भएको पाइन्छ। यस भाषाको अध्ययनमा अनेपाली भाषी विद्वानहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्‌। सर्वप्रथम नेपाली भाषाको अध्ययन रोमबाट, कसियानो बेलिगत्तिको अल्फावेट्‌म बह्मनिकम सेव युनिभर्सिटाइटिस काशीमा सन्‌ 1771 -मा भएको पाइन्छ। उक्त पुस्तकको भूमिकामा जोन्स क्रिस्टोफर आमाडुटियसले भारतीय भाषाहरूको नामको चर्चा गर्दै नेपालेन्सिस्‌- को उल्लेख गरेको पाइन्छ। यसपछि सन्‌ 1811 -मा डब्लु जे कर्कप्याट्रिकले एन एकाउण्ट अव्‌ द किङडम अव्‌ नेपाल- मा नेपालका प्रमुख आठ भाषाहरूको चर्चा गर्दै पर्वते भाषाका लगभग 550 शब्दहरूलाई नेवारी पर्याय र अङ्‌ग्रेजी अर्थका साथ दिएको पाइन्छ। उनले नेपाली भाषालाई पर्वते नाम गरेका छन्‌। यसपछि 1816- मा पादरी क्यारे भारत आएका थिए र उनले यहॉं भारतीय भाषाहरूको अध्ययन गरी 33 भाषाका 34 नमूना दिए, जसमा नेपाली पनि सामेल थियो। सन्‌ 1820- मा सर्वप्रथम नेपाली भाषाको व्याकरण लेखियो। यो कार्य कलकत्ताको कोर्ट विलियम कलेजका प्रो. जेए एटनले गरे। उनल नेपाली भाषाको पहिलो व्याकरण देवनागरी लिपिको प्रयोगसहित लेखेर व्याकरण लेखन परम्पराको थालनी गरे। उनको ऐतिहासिक नेपाली भाषाको व्याकरण ए ग्रामर अव्‌ द नेपालिज्‌ ल्याङ्‌ग्वेज (A GRAMMAR OF THE NEPALIES LANGUAGE) -मा अङ्‌ग्रेजी भाषामा नेपाली भाषाको स्वरूपको वर्णन गरिएको छ भने नेपाली भाषाको पुरानो कथाको नमूना पनि राखिएको छ। एटनले दार्जीलिङ पहाडमा आउने अङ्‌ग्रेज साहेबहरूका लागि नेपाली भाषा सिक्न सजिलो होस्‌ भन्ने उद्देश्य राखेर व्याकरण तयार गरेका हुन्‌ भन्ने अनुमान गरिएको छ। 60 पृष्ठको यो व्याकरण किलिप परेरा हिन्दुस्तानी प्रेस, कलकत्तामा छापिएको थियो। नेपाली व्याकरण लेखनको इतिहासमा एटनको व्याकरण पथप्रर्शनको रूपमा अघि आएकोछ। नेपाली व्याकरण लेखन परम्परा 1820- मा जेए एटनको व्याकरण ए ग्रामर अव्‌ द नेपालिज्‌ ल्याङ्‌ग्वेज (A GRAMMAR OF THE NEPALIES LANGUAGE) -पछि सन्‌ 1872-मा लण्डनबाट जोन बिम्सले भारतीय भाषाहरूको तुलनात्मक व्याकरण कम्प्यारेटिभ ग्रामर अव्‌ द मोर्डन आर्यन ल्याङ्‌ग्वेजेस्‌ अव्‌ इण्डिया (COMPARATIVE GRAMMAR OF HE MODERN ARYAN LANGUAGES OF INDIA)-मा भारतका सात प्रमुख भाषाहरू-बङ्गाली, उडिया, हिन्दी, पञ्जाबी, सिन्धी, गुजराती र मराठीको तुलनात्मक अध्ययनका क्रममा नेपाली भाषाको पनि चर्चा गर्दै नेपालीलाई हिन्दीको भाषिका बताएका छन्‌। यसपछि सन्‌ 1875-मा एसएच केगलले हिन्दी भाषाको व्याकरण (THE GRAMMAR OF HINDI LANGUAGE)- मा नेपाली भाषाबारे चर्चा गरेका छन्‌। यसरी नै सन्‌ 1880-मा रूडोल्फ हर्नेलेको गौडीय भाषाहरूको तुलनात्मक व्याकरण (COMPARATIVE GRAMMAR OF THE GAUDIAN LANGUAGES)-मा भारतका आर्य भाषाहरूलाई पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी गरी चार थरिका गौडीय भाषामा विभाजन गरिएको छ अनि कुमाउनी, गढवाली र नेपालीलाई उत्तरी गौडीय भाषा वर्गमा राखिएको छ। कुमाउनी, गडवाली र नेपाली भाषाको एउटै मूलस्रोत देखाइएको छ। सन्‌ 1887-मा दार्जीलिङबाट प्रकाशित फादर टर्नबुलको नेपाली ग्रामर एण्ड इङ्‌ग्लिस नेपाली-नेपाली इङ्‌ग्लिस भोकाबुलेरी (NEPALI GRAMMAR & ENGLISH-NEPALI NEPALI-ENGLISH VOCABULARY) नेपाली भाषाको दोस्रो व्याकरण हो। यो व्याकरण उनले दार्जीलिङका चिया कमानका अङ्‌ग्रेज कर्मचारी र फौजका अधिकारीहरूलाई नेपाली भाषा सिक्न सहयोग पुगोस्‌ भन्ने उद्देश्यले प्रकाशित गरेका थिए। यसमा नेपाली भाषालाई राजपुताना र पञ्जाबको हिन्दी भाषासॅंग नजीकको सम्बन्ध रहेको देखाइएको छ। नेपालीद्वारा लेखिएको पहिलो व्याकरण बीसौं शताब्दीको थालनीसितै नेपाली भाषाका क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू भए। सन्‌ 1901-मा दार्जीलिङबाट गोर्खा खबर कागत्‌ र काठमाडौंबाट गोरखापत्र- को प्रकाशनसितै नेपाली भाषामा पत्र-पत्रिकाको प्रकाशन युग शुरू हुन्छ। पत्र-पत्रिकाको प्रकाशनले भाषाको अध्ययन र व्याकरण लेखनलाई ठूलो सहयोग पुग्छ। बनारसबाट सन्‌ 1906- मा माधवी, सन्‌ 1908-मा सुन्दरी-लगायत चन्द्रिका आदि पत्र-पत्रिकाको प्रकाशन व्याकरण निर्माणका लागि महत्वपूर्ण पूर्वाधार बन्नपुगे। नेपालका स्कूलहरूमा नेपालीमा पठन-पाठन शुरू भयो भऩे यता भारतमा पारसमणि प्रधानको विशेष योगदानमा स्कूलमा नेपाली शिक्षण पनि शुरू भयो। सन्‌ 1911-मा प्रयाग विश्विविद्यालयले नेपाली भाषालाई लोक भाषाका रूपमा मान्यात दिँदै प्रवेशिका परीक्षा तहमा यसको पठन-पाठन शुरू गऱ्यो। सन्‌ 1918- को 24 जुलाईको दिन कलकत्ता विश्विद्यालयले नेपाली भाषालाई म्याट्रिक, आइए र बीएस्तरसम्मको मान्यता दियो। यसका लागि पारसमणि प्रधानको योगदान अविस्मरणीय रहेको छ। शिक्षाका क्षेत्रमा पारसमणि प्रधानले पुऱ्याएको योगदानका कारण उनलाई पहाडका ईश्वरचन्द्र विद्यासागर पनि भनिन्छ। नेपाली पठन-पाठनको मान्यताले नेपाली विद्वानहरूलाई पनि भाषाको अध्ययनमा अभिप्रेरित हुने वातावरण तयार गरिदियो। नेपाली भाषामै सर्वप्रथम व्याकरणले लेख्ने वैयाकरण वीरेन्द्रकेशरी अर्याल हुन्‌ भनिन्छ। उनले सन्‌ 1903- मा नेपाली व्याकरण लेखेका थिए भनिए पनि उनको व्याकरण अप्राप्य रहेकोले यसका विषयमा विशेष जानकारी पाइएको छैन। यसर्थ नेपालमा लेखिएको अनि नेपालमै छापिएको पहिलो नेपाली व्याकरणको पुस्तक जय पृथ्वीबहादुर सिंहको प्राकृत व्याकरण हो। सिंहको प्राकृत व्याकरण सन्‌ 1912- मा प्रकाशित भएको हो। जय पृथ्वीबहादुर सिंह पाठ्यक्रममा नेपाली विषय हुनुपर्छ र शिक्षाको माध्यम नेपाील भाषा हुनुपर्छ भन्ने भाषाप्रेमी व्यक्ति थिए। उनको प्राकृत व्याकरणको विशेष महत्व रहेको छ। उनले प्रारम्भिक स्तरका नेपाली पाठ्य पुस्तकहरू यही व्याकरणका आधारमा तयार गरेका थिए।  नेपाली व्याकरण लेखनमा सक्रियता प्राकृत व्याकरणको प्रकासनपछि नेपाली व्याकरण लेखनमा सक्रियता आयो। सन्‌ 1912-मा नै पण्डित हेमराजको चन्द्रिका व्याकरण र विश्वमणिको दीक्षिताचार्यको गोर्खा व्याकरण बोध प्रकाशित भए। दीक्षिताचार्यको गोर्खा व्याकरण बोध प्राकृत व्याकरणभन्दा केही ठूलो छ। यसले हलन्त बहिष्कार आन्दोलनलाई समर्थन गरेको देखिन्छ। पण्डित हेमराजको चन्दिरका गोर्खा भाषा व्याकरण विस्तृत रूपमा लेखिएको महत्वपूर्ण पुस्तक हो। यस पुस्तकमा नेपाली भाषाको प्राचीन तथा आधुनिक भाषा शास्त्रका आधारमा चर्चा र व्याख्या गरिएको छ। यस व्याकरणलाई आज पनि स्तरीय तथा मानक व्याकरण मान्नेहरू धेरै छन्‌। चन्द्रिकाको प्रकाशनपछि नेपाली लेखन पद्धति र भाषाको स्तरीकरण र मानकीकरणका लागि यसैलाई आधार मानियो। यसलाई व्याकरणको गुरुग्रन्थ मानियो। चन्द्रिकालाई आधार मानी सोमनाथ सिग्द्यालको मध्य चन्द्रिका सन्‌ 1919-मा प्रकाशित भयो। यसलाई स्कूल स्तरमा चलाउन शुरू गरियो। यसपछि पारसमणि प्रधानको नेपाली व्याकरण सन्‌ 1920 -मा प्रकाशित भयो। यसपछि पारसमणिले पठन-पाठनका लागि व्याकरण पुस्तकहरू तथा कोश निर्माणमा महत्वपूर्ण योगदान दिए। पारसमणि प्रधानका प्रमुख व्याकरण पुस्तकहरू हुन्‌ नेपाली व्याकरण (1920), सजिलो नेपाली व्याकरण (1935), नेपाली व्याकरण भारती (1955), प्राथमिक नेपाली व्याकरण (1955), टीकाराम शर्मासितको सहलेकनमा प्रवेशिका व्याकरण र रचना (1955), नेपाली रचना भारती (1954), भाषा प्रवेश नेपाली व्याकरण (1960), नेपाली व्याकरण (पहिलो भाग) (1974), माध्यमिक नेपाली रचना (1982) आदि। यसका साथै पारसमणिले भाषासित सम्बन्धित अनेकौं पुस्तक र कोश लेखेका छन्‌। नेपाली भाषाको स्तरीकरण र मानकीकरणका साथसाथै पठऩ-पाठनमा पारसमणि प्रधानको योगदान विशिष्ट रहेको छ। यसरी नै नेपाली व्याकरण लेखनमा देखा परेका अन्य उपलब्धिहरू हुन्‌- सोमनाथ सिग्द्यालको लघु चन्द्रिका (1934), गोपाल पाण्डेको नेपाली रचना दर्पण (1937), र रचना केशर (1943), पुष्कर शमशेरको नेपाली सजिलो व्याकरण (1944),, ज्ञान प्रसाद शर्माको रचना सहायक (1946), श्रीप्रसाद घिमिरेको पद्म व्याकरण एन्द्रिय चॉंदनी (1954), नगेन्द्रमणि र अमरमणिको प्राथमिक नेपाली व्याकरण (1955), डिल्लीबहादुर श्रेष्ठ र मणिकुमार उपाध्यायको नयॉं नेपाली रचना (1957), देवीप्रदास काफ्लेको नेपाली रचना कुसुम (1957), हर्षनाथ शर्माको नेपाली व्याकरण बोध (1959), शेषराज रेग्मीको नेपाली रचना प्रकाश (1961), मणिकबहादुर चित्रकारको नेपाली व्याकरण (1964), कृष्णप्रसाद पराजुलीको राम्रो रचना मीठो नेपाली (1966), हर्षनाथ शर्माको अनिवार्य नेपाली रचना (1966), मोहनराज शर्माको नेपाली व्याकरण परिचय (1967), जनकलाल शर्माको नेपाली व्याकरण (1967), तुलसीप्रसाद ढुङ्‌गेलको नेपाली रचना शिल्प (1968), ऋषभदेव शास्त्रीको व्याकरणको दन्त्य कथा (1970), विष्णु गोपाल र शिव गोपाल रिसालको नेपाली भाषा र व्याकरण (1970), रामचन्द्र ढुङ्गानाको सरल नेपाली व्याकरण (1972), गोपालनिधि तिवारीको नेपाली भाषाको बनोट (1973), मोहनराज शर्माको शब्द रचना र वर्णविन्यास (1974), नरेन्द्र चापागाईंको व्याकरण निर्देशिका(1976), रोहिणीप्रासद भट्टराईको बृहत नेपाली व्याकरण (1976), महानन्द सापकोटाको नेपाली व्याकरणमा प्रस्तावना (1977), कृष्णप्रसाद पराजुलीको प्रयोगात्मक भाषातत्त्व (1978), शिवराज शर्माको माध्यमिक नेपाली व्याकरण (1980), राजेश्वर देवकोटाको नेपाली व्याकरण (1961), कृष्णप्रसाद पराजुलीको नेपाली व्यावहारिक व्याकरण (1966), सिद्धराज जोशीको नेपाली व्याकरण परिचय (1946), नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको भाषा व्याकरण समितिद्वारा तयार भाषा- व्याकरण-प्रश्नावली (1970), प्रकाश ए राजको नेपाली भाषा र चन्द्रिका व्याकरण (1972), भाइचन्द्र प्रधानको नव नेपाली व्याकरण (1976), भाइचन्द्र प्रधानको नव नेपाली व्याकरण भाग 1 (1974), शिवराज शर्माको माध्यमिक नेपाली व्याकरण र रचना (1976), पूर्वोत्तर नेपाली व्याकरण (2003), भाइचन्द प्रधानको शिशु नेपाली व्याकरण र रचना (1985), भाइचन्द प्रधानको आधुनिक नेपाली व्याकरण (1985), चूडामणि बन्धुको सम्पादनमा नेपापी व्याकरणका केही पक्ष (1997), भाइचन्द र मनबहादुर प्रधानको सुगम नेपाली व्याकरण र रचना (1985), हरि मञ्जुश्रीको प्रयोगात्कम व्याकरण (1986), हेमाङ्गराज अधिकारीको समसामयिक नेपाली व्याकरण (2002), चूडामणि रेग्मीको नेपाली भाषा र व्याकरणः केही विषय केही छलफल (1995), हेमाङ्गराज अधिकारीको नेपाली कारक व्याकरण (1994), डा. बासुदेव त्रिपाठी र अन्यको निम्नमाध्यमिक नेपाली व्याकरण र रचना (2000), माधवप्रसाद पोखरेलको नेपाली व्याकरण अभिवयक्ति र अभ्यास (2000), ईश्वरकुमार श्रेष्ठको नेपाली व्याकरणः केही पक्षहरूको चर्चा (2000), शिवराज शर्माको नौलो नेपाली व्याकरण (2005), नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको व्याकरण- समितिद्वारा प्रकाशित वृहद्‌ नेपाली व्याकरण (1976), माधवप्रसाद पोखरेलको नेपाली वाक्य-व्याकरण(1997), डा. घनश्याम नेपाल र डा. कविता लामाको उच्च माध्यमिक नेपाली व्याकरण (2005), डा. घनश्याम नेपाल र पुष्कर पराजुलीको नेपाली व्याकरण (2006), आदि। व्याकरण लेखनको नयॉं युगको थालनी नेपाली भाषाको मानकीकरण र स्तरीकरणमा नेपाली साथै अनेपाली विद्वानहरूको योगदान स्तुत्य रहेको छ। भाषाको प्रकृतिमा अनेकौं प्रभावका कारण निरन्तर परिवर्तन आइरहेको छ। आजको युगलाई कम्प्युुटर र विज्ञानले प्रभावित बनाएको छ। अझ नेपाली सफ्टवेयहरूको विकास, युनिकोडको विकास आदिले पारिरहेको प्रभावका कारण तक्निकी सुविधासम्पन्न व्याकरण निर्माण र नेपाली भाषाको मानकीकरण, स्तरीकरण तथा एकरूपताका लागि भारत र नेपाल दुवैतर्फ प्रायसहरू भइरहेका छन्‌। यस दिशामा नेपालबाट मदन पुरस्कार पुस्तकालय, काठमाडौं विश्वविद्यालय र भारतबाट भारतीय भाषा संस्थान, उत्तरबङ्ग विश्वविद्यालय र सिक्किम अकादमीजस्ता संस्थानहरू जुटेका छन्‌। अर्कोतिर व्याकरण लेखनका लागि भाषा विज्ञानलाई पनि बलियो आधार मानिएको पाइन्छ। यसले नेपाली व्याकरण लेखनको नयॉं युग शुरु भएको छ। व्याकरण लेखकहरूलाई पनि नयॉं परिवर्तन र तक्निकी सुविधा र अपठ्यारोलाई ध्यानमा राखेर व्याकरण निर्माण गर्न प्रेरित गरिरहेको छ। पछिल्ला चरणमा देखापरेका कतिपय वैयाकरणहरूले यिनै कम्प्युटरजनित तक्नीक पक्ष, नेपाली भाषामा देखापरेका परिवर्तन तथा भाषा वैज्ञानिक अध्ययनलाई आधार मानी व्याकरण लेखेको पाइन्छ। यस्ता व्याकरणहरूमा चूडामणि रेग्मीको नेपाली भाषा र व्याकरणः केही विषय र केही छलफल(1995), माधव प्रसाद पोखरेलको नेपाली वाक्य व्याकरण (1997), कृष्णहरि बराल र नेत्र एटमको निम्न माध्यमिक नेपाली व्याकरण अभिव्यक्ति र अभ्यास (2000), र माध्यमिक नेपाली व्याकरण अभिव्यक्ति र अभ्यास (2000), ईश्वरकुमार श्रेष्ठको नेपाली व्याकरणः केही पक्षहरूको चर्चा (2000), माधवप्रसाद पोखरेलको नेपाली वाक्य-व्याकरण(1997), डा. घनश्याम नेपाल र डा. कविता लामाको उच्च माध्यमिक नेपाली व्याकरण (2004), डा. घनश्याम नेपाल र पुष्कर पराजुलीको नेपाली व्याकरण (2006), सिक्किम अकादेमीद्वारा प्रकाशित एवं डा. कुमार प्रधान, डा. घनश्याम नेपाल र अन्यद्वारा लिखित एवं सम्पादित नेपाली लेखन शैली (2011 )आदि प्रमुख छन्‌। 000

महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। क्यानले बिहीबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।  एसियाली क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा क्यानले नेपाली टोली घोषणा गरेको हो । उक्त प्रतियोगिता आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलंकामा हुँदैछ।  उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स छन्। त्यस्तै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।  यस्तो छ नेपाली टिम   इन्दु बर्मा, सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, खुसी डंगोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार, लक्ष्मी साउद यशोदा विष्ट, कीर्तिका मरासिनी, सोनी पाख्रिन, राजमति ऐरी, हेलिशा गुरुङ, सम्झना खड्का, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, संगीता राई, आरती महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, करुणा भण्डारी, पुजा महतो, अस्मिना कर्माचार्य र डोली भट्ट 

इरानका राष्ट्रपति रइसीको निधनप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको घटनाले आफुलाई दुःखी बनाएको बताएका छन्।  आज प्रधानमन्त्री प्रचण्डले आफ्नो व्यक्तिगत एक्स हेन्डल मार्फत राष्ट्रपति इब्राहिम रइसी निधनप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै शोकको यस घडीमा दिवंगत राष्ट्रपति रइसीको परिवार र इरानको सरकार र मित्र राष्ट्र इरानका जनताप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । हिजो पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार थिए । I am deeply saddened by the tragic demise of H.E. Dr. Seyyed Ebrahim Raisi, President of the Islamic Republic of Iran. At this hour of grief, I extend my heartfelt condolences to the family of the late President Raisi, and to the government and friendly people of Iran. — ☭ Comrade Prachanda (@cmprachanda) May 20, 2024

नेप्से ६.७० अंकले बढ्दा २० अर्ब सात करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.७० अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ०.२४ प्रतिशतले बढेर २७६६.३८ को विन्दुमा पुगेको हो । यसदिन पाँच करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब सात करोड चार लाख ३४ हजार १०३ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा रहेका १३ उपसमूहमध्ये ६ वटाको समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले कमाएका छन् । यो क्षेत्रको समूहगत परिसूचक ५.८७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको समूहगत परिसूचक १.२७ प्रतिशतले घटेको छ । आज दश कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेपलपमेन्ट लिमिटेडको सेयर ८।०४ प्रतिशतले घटेको छ । यसदिन ७९ कम्पनीको सेयर मूल्य बढेको छ । १५९ कम्पनीको सेयर मूल्य घट्दा चारको स्थिर छ ।  

भारतमा आज अन्तिम चरणको मतदान

काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत शनिबार सातौँ तथा अन्तिम चरणको मतदान आज सम्पन्न हुँदैछ। अन्तिम चरणको मतदानलाई सत्तारुढ दल र प्रतिपक्षनेताहरूको शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ। ४२ विधान सभा क्षेत्रमा ५७ सिटका लागि मतदान हुन लागेको हो  अघिल्लो चुनावमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (बीजेपी)ले ३०३ सिट ल्याएको थियो।  यो पटक पनि मोदी लगातार तेस्रो कार्यकाल निर्वाचित हुने लक्ष्यमा छन्। प्रधानमन्त्री मोदी वाराणसीबाट चुनाव लडिरहेका बेला गोरखपुरमा यूपीका मुख्यमन्त्री योगी आदित्यनाथको शक्तिको परीक्षण पनि  यही मतदानबाट हुनेछ । अन्तिम चरणको निर्वाचनको मौन अवधि सुरु भएपछि प्रधानमन्त्री मोदी ४८ घण्टे ध्यानमा बसेका छन् । मोदीको विरुद्धमा कांग्रेस प्रदेश अध्यक्ष अजय राई प्रतिस्पर्धामा छन्। 

कोरियन विद्यालयहरूमा फैलिएको डीपफेक पोर्न संकट

गत शनिबार, हिजिनाको फोनमा एकजना अपरिचित व्यक्तिबाट टेलिग्राम सन्देश आयो। "तिम्रा तस्वीरहरू र व्यक्तिगत जानकारी मसँग छन् कुरा गरौं।" सन्देश पाउनिबित्तिकै विश्वविद्यालयको विद्यार्थी रहेकी हिजिना  जब च्याटरूममा प्रवेश गरिन्, उनले केही वर्ष अघि हुँदा खिचेको आफ्नो तस्बिर देखिन्। त्यसपछि, त्यही तस्बिरलाई प्रयोग गरेर बनाइएको अर्को तस्बिर प्राप्त गरिन्, जुन यौनजन्य, अश्लील र नक्कली थियो। डरले आतंकित भएकी हिजिनाले केही जवाफ फर्काइनन्, तर तस्बिरहरू आउने क्रम भने रोकिएन। सबै तस्बिरहरूमा उनको मुहारलाई यौन क्रियामा संलग्न रहेको कुनै अर्कै व्यक्तिको शरीरमा जोडिएको थियो, डीपफेक प्रविधिको प्रयोग गरेर। डीपफेक भनेको नयाँ विकसित प्रविधि हो, जसमा कृत्रिम बौद्धिकता प्रयोग गरेर वास्तविक व्यक्तिको अनुहारलाई नक्कली र यौनजन्य किसिमले अश्लील क्रियाकलाप गरिरहेको शरीरसँग जोडिन्छ। "म निकै डराएकी थिएँ,  आफूलाई एक्लो महसुस गरें," हिजिनले बीबीसीलाई बताइन्। तर उनी एक्लै थिइनन्। दुई दिन अघिमात्रै दक्षिण कोरियाली पत्रकार को नारिनले आफ्नो करियरको सबैभन्दा ठूलो समाचार प्रकाशित गरेकी थिइन्। हालैमात्र प्रहरीले देशका दुई प्रमुख विश्वविद्यालयहरूमा डीपफेक पोर्न कांडहरूको अनुसन्धान गरिरहेको खबर आएको थियो, र पत्रकार को नारिनले यस विषयमा थप खोजी समाचार बनाउने उल्लेख गरेकी थिइन । उनले सामाजिक सञ्जालमा खोजी गर्न थालिन् । टेलिग्राम म्यासेजिङ एपमा दर्जनौं यस्ता च्याट समूहहरू फेला परे, जहाँ प्रयोगकर्ताहरू आफूले चिनेका महिलाहरूको तस्बिरहरू साझा गर्दै थिए । यतिमात्रै नभएर ती तस्वीरहरुलाई नक्कली पोर्नोग्राफिक तस्बिरहरूमा परिणत गर्न एआई सफ्टवेयर प्रयोग गरिरहेका थिए। सुश्री कोले पत्ता लगाइन् कि यी समूहहरूले विश्वविद्यालयका विद्यार्थीहरूलाई मात्र लक्षित गरेका थिएनन्। कलेज र माध्यमिक विद्यालयहरूका लागि पनि च्याट रुमहरु थिए। यदि कसैले विशेष विद्यार्थीको तस्बिर प्रयोग गरेर धेरै सामग्री बनाइमा उसका लागि बेग्लै च्याट रुम दिने गरिन्थ्यो । ती रुमहरुलाई "साथीको साथी रुम" भनेर लेबल गरिएको थियो, जसमा प्रवेश गर्न कडा शर्तहरू हुन्थे। सुश्री कोको ह्याङ्क्योरेह अखबारमा प्रकाशित रिपोर्टले दक्षिण कोरियामा ठूलो आक्रोश फैलाएको छ। सोमबार, प्रहरीले फ्रान्सका अधिकारीहरूको नेतृत्वलाई पछ्याउँदै, टेलिग्रामको अनुसन्धान गर्ने घोषणा गरेको छ। सरकारले यसमा संलग्नहरूलाई कडा सजाय दिने प्रतिवद्धता जनाएको छ। डीपफेक पोर्न संकटले कोरियाली समाजमा ठूलो चर्चा र आक्रोश उत्पन्न गरेको छ, र यसले प्रविधिको दुरुपयोग र यौन दुर्व्यवहारको चुनौतीलाई झन् प्रष्ट पारेको छ। बीबीसीले टेलिग्रामसँग लागि यस विषयमा सम्पर्क गरेपनि टेलिग्रामले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि, यसअघि टेलिग्रामले बीबीसीलाई गैरकानूनी क्रियाकलापहरू, जस्तै बाल यौन दुरुपयोगको खोजीमा सक्रिय रहेको बताएको थियो। टेलिग्रामले अगस्ट महिनामा मात्रै ४५,००० समूहहरू विरुद्ध कारबाही गरेको दाबी गरेको छ। सङ्गठित र व्यवस्थित प्रक्रिया बीबीसीले यी च्याटरूमहरूमा रहेका विवरणहरू हेरेको छ। एउटा च्याटरुममा सदस्यहरूलाई कसैको चार वा सोभन्दा बढी तस्बिरहरू, साथै नाम, उमेर र उनीहरू बस्ने क्षेत्र पोस्ट गर्न भनिएको छ। "यो प्रक्रिया यतिविधि व्यवस्थित र सङ्गठित भएको देख्दा म चकित परें," पत्रकार कोले भनिन्। "मैले पत्ता लगाएको सबैभन्दा डरलाग्दो कुरा भनेको एक विद्यालयका किशोरहरूका लागि बनाइएको समूह थियो जसमा २ हजार भन्दा बढी सदस्यहरू थिए।" पत्रकार कोको लेख प्रकाशित भएको केही दिनमै महिला अधिकार कार्यकर्ताहरूले पनि टेलिग्राममा खोजी गर्न थाले र विभिन्न सुराकहरू पछ्याउन थाले। हप्पतादिनमैं ५ सय भन्दा बढी विद्यालय र विश्वविद्यालयहरूलाई लक्षित गरेका रुमहरु फेला परे । यद्यपी यी रुमहरुबाट कतिजना प्रभावित भए र कति पीडित छन् भन्ने अझै पुष्टि हुन बाँकी छ । तर धेरैजसो पीडितहरू १६ वर्षभन्दा कम उमेरका छन् । दक्षिण कोरियामा सहमतिजन्य यौनसम्बन्धका लागि १६ वर्ष पुगेको हुनुपर्दछ। धेरैजसो संदिग्ध अपराधीहरू आफैँ किशोर रहेको विश्वास गरिएको छ। हिजिनाले यो संकटको परिणामबारे थाहा पाउँदा आफ्नो चिन्ता झनै बढेको बताइन् । किनकि अब उनले आफ्नो डीपफेकहरू के कति मानिसहरूले हेरेका होलान् भनेर चिन्ता लाग्न थाल्यो। सुरुमा उनले आफैँलाई दोष दिइन्, "मैले नै आफ्नो तस्बिरहरू सामाजिक सञ्जालमा अपलोड गरेँ, के म बढी सतर्क हुनुपर्थ्यो? यस्ता कुरा बारम्बार दिमागमा घुमिरहेँ" यतिखेर देशभरका धेरै महिला र किशोरीहरू डराएर आफ्ना तस्बिरहरू सामाजिक सञ्जालबाट हटाएका छन् । कतिपयले त आफ्ना खाताहरू नै बन्द गरेका छन्, किनकि उनीहरू शोषणमा पर्न सक्ने डर छ। "हामीले केही गल्ती नगर्दा पनि आफ्नो व्यवहार र सामाजिक सञ्जालको प्रयोगलाई नियन्त्रण गर्नुपर्दा निराश र आक्रोशित भएका छौँ," हिजिनाको विश्वविद्यालयका एक विद्यार्थी  आ-उनले भनिन्, जसका सहपाठीहरूलाई लक्षित गरेर भिडियो बनाइएका थिए। यस संकटको केन्द्रमा टेलिग्राम म्यासेजिङ एप छ। सार्वजनिक वेबसाइटहरू भन्दा फरक, जसमा अधिकारीहरूले सजिलैसँग पहुँच गर्न सक्छन्, टेलिग्राम भने निजी इनक्रिप्टेड म्यासेजिङ एप हो। प्रयोगकर्ताहरू प्रायः अज्ञात हुन्छन्, कोठाहरूलाई "गोप्य" मोडमा सेट गर्न सकिन्छ, र तिनीहरूको सामग्री छिटै कुनै प्रमाणबिना मेटिन्छ। यसले आपराधिक क्रियाकलापहरू फस्टाउनका लागि उपयुक्त ठाउँ बनेको छ। गत हप्ता, राजनीतिज्ञहरू र प्रहरीले यी अपराधहरूको अनुसन्धान गर्ने र अपराधीहरूलाई न्यायमा ल्याउने वाचा गर्दै बलियो प्रतिक्रिया दिए। सोमबार, सियोल राष्ट्रिय प्रहरी एजेन्सीले बालबालिकाको नक्कली पोर्नोग्राफिक तस्बिरहरू वितरण गर्न टेलिग्रामको भूमिकामा अनुसन्धान गर्ने योजना बनाएको घोषणा गरेको छ। तर, महिला अधिकार कार्यकर्ताहरूले दक्षिण कोरियाली अधिकारीहरूलाई टेलिग्राममा यौन दुर्व्यवहारलाई लामो समयसम्म अनियन्त्रित राखेको आरोप लगाएका छन्, किनकि कोरियाले यस संकटको सामना पहिले नै गरेको थियो। २०१९ मा, टेलिग्राम प्रयोग गरेर महिलाहरू र बालबालिकाहरूलाई यौन हिसाबले अश्लील तस्बिरहरू बनाउन र बाँड्न बाध्य बनाउने सेक्स रिङको खुलासा भएको थियो। त्यतिबेला प्रहरीले टेलिग्रामसँग उनीहरूको अनुसन्धानमा मद्दतको लागि अनुरोध गरेको थियो, तर एपले तिनीहरूको सातवटा अनुरोधहरूलाई बेवास्ता गर्यो। यद्यपि, मुख्य आरोपीलाई ४० वर्षभन्दा बढीको जेल सजाय दिइयो, प्लेटफर्म विरुद्ध कुनै कारबाही गरिएन, किनकि सेन्सरशिपको डर थियो। "मुख्य अपराधीहरूलाई सजाय दिए, तर अन्यथा यो परिस्थितिलाई बेवास्ता गरियो, र मलाई लाग्छ कि यसले स्थितिलाई झन् बढाएको छ," सुश्री कोले भनिन्। सन् २०१९ मा Nth Room सेक्स रिङलाई उजागर गर्ने विद्यार्थी पत्रकार पर्क जिह्युनले डिजिटल यौन अपराधका पीडितहरूको लागि राजनीतिक वकालत गर्दै आएकी छन्। डीपफेक स्क्यान्डल सार्वजनिक भएपछि, विद्यार्थीहरू र अभिभावकहरूले उनलाई दिनमा धेरैपटक फोन गरेर रुँदै सहयोग मागिरहेको उनले बताइन। "उनीहरूले सामाजिक सञ्जालमा साझा गरिएको सूचीमा आफ्नो विद्यालय देखेका छन् र डराएका छन्।" सुश्री पर्कले दक्षिण कोरियामा एपलाई नियमन वा प्रतिबन्ध गर्न सरकारसँग आह्वान गर्दै आएकी छन्। "यदि यी प्राविधिक कम्पनीहरूले कानूनी प्रवर्तन एजेन्सीसँग सहयोग गर्न सक्दैनन् भने, राज्यले आफ्ना नागरिकहरूलाई जोगाउन तिनीहरूलाई नियमन गर्नुपर्छ," उनले भनिन्। यो संकट विस्फोट हुनुअघि नै, दक्षिण कोरियाको अनलाइन यौन दुर्व्यवहार पीडितहरूको पक्षमा काम गर्ने केन्द्र (ACOSAV) ले उमेर नपुगेका डीपफेक पोर्नोग्राफीका पीडितहरूको संख्यामा तीव्र वृद्धि देखिरहेको थियो। २०२३ मा, तिनीहरूले ८६ पीडितहरूलाई परामर्श दिएका थिए। यस वर्षको पहिलो आठ महिनामा त्यो संख्या २३८ भएको छ। केन्द्रकी एक नेतृ, पर्क सोंघ्येले हप्तादेखि उनका कर्मचारीहरू फोनमा लगातार व्यस्त रहेका र चौबीसै घण्टा काम गरिरहेको बताइन। "यो हाम्रो लागि पूर्ण आपतकालीन स्थिति भएको छ, जस्तो युद्धको अवस्था" उनले भनिन्। नयाँ डीपफेक प्रविधिसँगै पहिले भन्दा धेरै भिडियो सामग्रीहरू बनेको र अझै बढ्ने चिन्ता रहेको उनले बताइन्। पीडितहरूको परामर्श दिनुको साथै, केन्द्रले हानिकारक सामग्रीहरूको खोजी गर्छ र तिनीहरूलाई हटाउन अनलाइन प्लेटफर्महरूसँग काम गर्छ। पर्कले केही घटनामा टेलिग्रामले उनीहरूको अनुरोधमा सामग्री हटाएको बताइन "त्यसैले यो असम्भव छैन," उनले नोट गरिन्। महिला अधिकार संगठनहरूले नयाँ एआई प्रविधिले पीडितहरूको शोषण गर्न सजिलो बनाएको बताउँछन् । तर उनीहरू यो घटना दक्षिण कोरियामा अनलाइन मार्फत महिलाविरोधीको नयाँ रूप भएको तर्क गर्छन। यसअघि महिलाहरूलाई अनलाइन मौखिक दुरुपयोगको सामना गर्नुपर्यो। त्यसपछि सार्वजनिक शौचालय र लुगा फेर्ने कोठाहरूमा गुप्त रूपमा फिल्म बनाइएको स्पाई क्याम महामारी आयो। "यसको मूल कारण संरचनात्मक लैङ्गिक असमानता हो र समाधान लैङ्गिक समानता हो," ८४ महिला समूहहरूले हस्ताक्षर गरेको एक विज्ञप्तिमा भनिएको छ। यसैबीच, सरकारले डीपफेक तस्बिरहरू सिर्जना गर्ने र साझेदारी गर्नेहरूलाई आपराधिक सजाय बढाउने र पोर्नोग्राफी हेर्नेहरूलाई पनि सजाय दिने बताएको छ। अपराधीहरूलाई पर्याप्त सजाय नदिएको आलोचनापछि यो कदम चालिएको हो। अपराधीहरूको बहुमत किशोर वयका नागरिक छन् । जुन सामान्यतया युवा अदालतहरूमा सुनुवाइ हुन्छ, जहाँ उनीहरूले बढी सजाय पाउँछन्। च्याटरूमहरू सार्वजनिक भएपछि, धेरै च्याटरूमहरू बन्द गरिएका छन्, तर नयाँहरू पक्कै पनि तिनीहरूको स्थानमा देखा पर्नेछन्। पत्रकारहरूले यो कथा कभर गरेका पत्रकारहरूलाई लक्षित गर्न एउटा अपमान कोठा पहिले नै सिर्जना गरिएको छ। सुश्री को, जसले यो समाचार तोडे, यो देखेर रातमा सुत्न नसकेको बताइन्। "म तस्बिर अपलोड गरिएको छ कि छैन भनेर हेर्न बारम्बार कोठा जाँचिरहन्छु," उनले भनिन्। यस्तो चिन्ता लगभग हरेक किशोरी केटी र दक्षिण कोरियाका युवतीहरूमा फैलिएको छ। विश्वविद्यालयकी छात्रा आ-उनले भनेकी छिन् कि यसले उनका पुरुष साथीहरूप्रति उनलाई शङ्कालु बनाएको छ। "म अब कि मानिसहरूले मेरा पछाडि, मलाई थाहा नदिईकन यी अपराधहरू गर्लान किन नगर्लान भनेर निश्चित हुन सक्दिनँ" उनले भनिन्। "म सामाजिक सञ्जालमा सबैसँगको अन्तरक्रियामा अति सतर्क भएकी छु, जुन राम्रो कुरा होइन।" बिबिसीमा प्रकाशित जीन मेकेन्जी र लिह्युन केइको अनुवादित रिपोर्ट

महिला एसिया कपमा नेपालको ऐतिहासिक जित

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङसँगै नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् । सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भइन् । यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको यूएईलाई पाँचौं विकेटका लागि खुसी शर्मा र काविशा कुमारीले ४१ बलमा ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । काविशा २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन् । नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो । अब नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।

सचिवालय बैठकपछि देउवा भेट्न बूढानीलकण्ठमा ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी सचिवालय बैठक च्यासलमा सम्पन्न गरेका छन् । बैठकमा आफ्नै समर्थनमा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिएर ढाल्ने निर्णय गरेका उनी देउवा निवास पुगेका छन् । कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बन्ने भएपछि राखिएको पार्टी सचिवालय  बैठकले शक्ति बाडफाँडका विषयमा लिने भनेको निर्णय नलिई सत्ता ढलाउने निर्णय मात्रै गरेको थियो।  नयाँ सरकार निर्माण र शक्ति बाँडफाँडबारे पछि निर्णय लिने गरी उठेको सचिवालय बैठक पछि ओली देउवासँग छफल गर्न बहुमत सचिवालय सदस्य लिएर देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष के.पी.शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा झण्डै दुई घण्टा भेटवार्ता गरेका छन् । भेटमा केके सहमति बन्यो खुलेको छैन । बैठकमा नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, रमेश लेखकलगायत सहभागी सहभागी रहेका थिए।