झलनाथले छोडे पार्टी अध्यक्षको दाबी, घनश्यामलाई समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् ।

यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन्।

यता अध्यक्ष माधवकुमार नेपालले पनि पुनः नेतृत्वमा निरन्तर रहन प्रयत्न गरिरहेका छन्। अध्यक्ष नेपालले सर्वसम्मति नभएर चुनाव लडेर भएपनि नेतृत्वमा रहनेगरी तयारी गरिरहेका बेला खनालले महासचिव भूसाललाई अगाडि सारेपछि समाजवादीको नेतृत्व चयन रोचक हुने देखिएको छ ।

चार दिनपछि नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

चिनियाँ राष्ट्रपति सीद्वारा मध्यपूर्व शान्ति सम्मेलन गर्न आह्वान

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले इजरायल र हमासबीचको युद्धबारे बिहीबार एक शान्ति सम्मेलनका लागि आह्वान गरेका छन्। उनले यस क्षेत्रसँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले आयोजित एक भेलामा अरब नेताहरूलाई सम्बोधन गरेका हुन्।  राष्ट्रपति सीले यसै साता इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसी, इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान र अन्य केही अरब नेताहरूलाई स्वागत गर्न लागेका छन् । चीनले लामो समयदेखि मध्यपूर्वबाट कच्चा तेल आयात गर्दै आएको छ, र  हालैका वर्षहरूमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको छ। चीनले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा आफ्नो प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाभन्दा बढी तटस्थ भूमिका निर्वाह गरेको छ र इजरायलसँग राम्रो सम्बन्ध कायम राख्दै दुई राष्ट्र समाधानको वकालत गरिरहेको छ । चीनले आफ्नो ‘बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर इनिसियटिभ’मा मध्यपूर्वलाई एक प्रमुख विन्दुको रूपमा औंल्याएको छ। यो विदेशमा आफ्नो देशको प्रभाव विस्तार गर्ने सीको प्रयासको मुख्य आधार हो। प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै सीले इजरायल–हमास द्वन्द्व समाधानका लागि ‘व्यापक’ शान्ति सम्मेलनको प्रस्ताव गरेका छन्।

आज देवकोटा जयन्ती; यस्तो थियो महाकविको जीवन !

काठमाडौँ, कार्तिक २१ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जम जयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली साहित्यका विराट प्रतिभा देवकोटाको जन्म विसं. १९९६ कार्तिक कृष्ण औसी अर्थात् लक्ष्मीपूजाको दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका तेस्रा सन्तानको रूपमा काठमाडौँको डिल्लीबजारमा भएको थियो । न्वारानको नाम तीर्थमाधव देवकोटा भएपनि लक्ष्मीपूजाको दिन्न जन्मिएकाले उनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिन गएको हो । सानैदेखि लेख्थे कविता दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए र ती कृतिका माध्यमले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । विराट प्रतिभा भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका छन् । देवकोटा सर्जकका साथै अनुवादक पनि थिए । उनले विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका छन् । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चार्ल्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए । योगदान उनले विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्ने–गराउने कामसमेत गरेका थिए । उनले वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा समेत सक्रिय योगदान दिएका थिए । त्यस्तै त्रिभुवन विश्वविद्यालयको स्थापनामा समेत महत्वपूर्ण योगदान गरेका देवकोटाले केही समय त्रि-चन्द्र कलेजमा शिक्षण समेत गरेका थिए । तीन महीनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । संघर्षपूर्ण जीवन चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो । केही समय देशको शिक्षामन्त्री रहेपनि देवकोटाको जीवन आर्थिक चुनौतीहरूसँगै बित्यो । उनले ट्युसन पढाएर खर्चको जोहो गर्ने गरेका थिए । उनले बेलाबेला सत्ताको कोपभाजन समेत बन्नुपरेको थियो । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । उहाँले पाश्चात्य ग्रिसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।  

एकै पटक ५८७ इन्सपेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ।  प्रहरी प्रधान कार्यालयले यति धेरै इन्सपेक्टरहरुको सरुवा गरेको हो।  प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्णयअनुसार निरीक्षकहरुको सरुवा गरिएको छ। यस्तै सोमबार नै ३ जना डीआईजीहरुको सरुवा पनि गरिएको थियो। हेर्नुहोस् सूची

बुवाको हत्या गरेको अभियोगमा पक्राउ

तनहुँ । आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ७६ वर्षीय बुवा राप बहादुर बिकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा तनहुँको म्याग्दे गाउँपालिका ६ बस्ने २६ वर्षीय दिपक बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका ९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

मस्को आक्रमणमा संलग्न चार बन्दुकधारी पक्राउ, यस्तो छ पुटिनको प्रतिक्रिया

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको एक कन्सर्ट हलमा घातक हमला गर्ने चार जना बन्दुकधारीलाई पक्राउ गरिएको बताएका छन् । कन्सर्ट हलमा आक्रमणकारीहरूले अन्धाधुन्ध गोली चलाउँदा र त्यसपछि आगजनी गर्दा कम्तीमा १३३ जनाको मृत्यु हुनुका साथै १४० भन्दा बढी घाइते भएका थिए । सो घटनामा संलग्न ११ जनालाई हिरासतमा लिएको र चार बन्दुकधारीहरूलाई युक्रेनतर्फ जाँदै गर्दा पक्राउ गरिएको रुसी अधिकारीहरूले बताए। इस्लामिक स्टेट (आईएस) समूहले आक्रमणको पछाडि आफ्नो हात रहेको बताएको छ ।शनिवार अमाक, टेलिग्राम मार्फत आईएस च्यानलले मुखौटा लगाएका चार जना व्यक्तिहरूको तस्बिर पोस्ट गरेको थियो । उक्त च्यानलले आक्रमणमा उनीहरू संलग्न रहेको दाबी गरेको छ।तर रुसले अहिलेसम्म आईएसको दाबीमा कुनै प्रतिक्रिया दिएको छैन ।  शुक्रबार स्थानीय समय अनुसार करिब ८ बजे आक्रमण भएको थियो । सो समयमा रक कन्सर्टको लागि त्यहाँ ६,२०० जना जम्मा भएका थिए। घटनालाई लिएर रुसी पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भनाभन भएको छ ।रुसी पुटिनले रूसमा लगभग २० वर्षको सबैभन्दा ठुलो घातक एंव बर्बर आतंकवादी आक्रमण गरी आक्रमणकारीहरू युक्रेनमा भाग्ने प्रयास गरेको दोह्याएका छन् ।भने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति पुटिन आक्रमणका कारण पिडामा रहेका नागरिकको सेवामा भन्दा घटनामा कसरी युक्रेनलाई जोड्न सकिन्छ भनेर लागेको आरोप लगाएका छन् । आक्रमणबाट निधन हुनेहरुको शोकमा राष्ट्रपति पुटिनले आइतबारलाई राष्ट्रिय शोकको दिन घोषणा गरेका छन् र रसियाभर यस हप्ताका कार्यक्रमहरू रद्द गरिएको छ।

गुजरातमा आगलागी, नौजनाको मृत्यु, घाइतेको उपचार हुँदे

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा कम्तीमा नौजनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका इन्डिया टुडेले जनाएको छ । यो घटना गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अरू साहसिक खेलजस्ता मनोरञ्जन गतिविधिको हब ‘टीआरपी गेमिङ जोन’मा भएको बताइएको छ । उक्त घटनामा घाइते भएका सबैजनालाई आवश्यक उपचारका निम्ति स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । टीआरपी गेमिङ जोनभित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अरू केही व्यक्ति भग्नावशेषमा फसेका हुन सक्ने स्थानीय अधिकारीले बताए। घटनापछि राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल लगायतले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

लिटरमा ७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा

एजेन्सी । फ्रान्सेली प्रतिद्वन्द्वीलाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा पुगेको छ । एटलान्टाले बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी क्लब मार्सेलीलाई ३–० गोलले हरायो । यो नतिजापछि एटलान्टा ४–१ कुल गोल भिन्नताका आधारमा फाइनलमा प्रवेश गरेको हो । अघिल्लो साता खेलिएको सेमिफाइनलको पहिलो खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेग खेल एटलान्टाको घरेलु मैदानमा खेलिएको थियो ।  सेमिफाइनलको दोस्रो लेग खेलमा एटलान्टाले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेल सुरु भएको ३०औँ मिनेटमा एटलान्टाका लागि एडमोला लुकम्यानले पहिलो गोल गरे ।  सोही गोलका कारण पहिलो हाफमा अगाडि रहेको एटलाण्टाका लागि ५२औँ मिनेटमा माटियो रुगेरीले दोस्रो गोल थपे । टोलीका लागि तेस्रो गोल भने इन्जुरी समयको चौथो मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका अल बिलाल टुरेले गरे ।  एटलान्टाले अब फाइनलमा उपाधिका लागि जर्मन क्लब बायर लेभरकुजनसँग प्रतिस्पर्धा गर्नेछ । बायर लेभरकुजन क्लब बलियो मानिएको इटालियन प्रतिद्वन्द्वी रोमालाई हराउँदै युरोपा लिगको फाइनलमा पुगेको हो ।

३४ वटा मुद्दामा आरोपमा ट्रम्प दोषी ठहर, सजाय पछि तोकिने

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प फौजदारी सुनुवाइका क्रममा व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा आरोपमा दोषी ठहर भएका छन्। भूतपूर्व वा पदमा बहालमा रहेका अमेरिकी राष्ट्रपति अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो। बिबिसिले जनाए अनुसार उनी विरूद्ध ११ जुलाईमा सजाय सुनाइनेछ। ट्रम्पलाई जेल सजाय पनि हुन सक्छ तर कानुनविद्हरूले उनलाई सजाय हुने सम्भावना बढी रहेको बताएका छन्। ट्रम्पले यो आदेशलाई ‘कलङ्क’ भन्दै उक्त मुद्दा हेर्ने निकायको अध्यक्षता गरेका न्यायाधीश मर्चनको आलोचना गरेका छन्। राष्ट्रपति बाइडनलाई आगामी नोभेम्बरमा हुने चुनावमा पराजित गरेर व्हाइट हाउसमा फर्कन ट्रम्पले अभियान चलाइरहँदा यो आदेश आएको हो। अदालतले २२ जना प्रत्यक्षदर्शीसँग ६ हप्ता बयान लिएको थियो। बयान दिनेमा ट्रम्पले यौन सम्बन्ध राखेको भनिएकी र सन् २०१६ को चुनावअघि ‘चुप बस्न’ रकम दिइएको भनिएको पोर्नस्टार स्टोर्मी ड्यान्यल्स पनि थिइन्। ट्रम्पका एकजना उच्च तहका अधिवक्ताले फक्स न्यूजलाई बताए अनुसार पूर्वराष्ट्रपतिको कानूनी टीमले पुनरावेदनका लागि “सबै उपायमाथि छलफल” गरिरहेको छ।

गण्डकीको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकी प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।  कांग्रेस र राप्रपाका सांसदले सभा बैठक बहिस्कार गरेका थिए । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए । आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची थियो ।  कांग्रेसले औपचारिक रुपमै बैठकमा सहभागी नहुने जानकारी गराएको थियो भने राप्रपाले विना जानकारी अनुपस्थित भएको हो ।

उपत्यकाका १४२ वटा ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित १४२ वटा ड्राइभिङ्ग इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीले छापा मारेको छ । छापा मारेर ट्रायल सेन्टरमा प्रयोग गरिएका सवारी साधनका शंकास्पद कागजात बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। प्रशिक्षार्थीलाई सिकाउन प्रयोग गरिएका २१ वटा गाडी प्रहरीको अनुसन्धानको दायरामा आएको छ । ती गाडीहरूमध्ये १६ वटाको कागजात फेला परेको छ। ५ वटा गाडीको ब्लुबुक नवीकरण नभएको भेटिएको छ। ट्रायल सेन्टर र ड्राइभिङ्ग इन्स्टिच्युटमा भेटिएका २० वटा मोटरसाइकल र ७ वटा स्कुटर अनुसन्धानको दायरामा आएको छ । १५ वटा मोटरसाइकल नवीकरण फेला भएको र ५ वटाको कागजात नभएको अवस्थामा भेटिएको एसपी रेग्मीले जानकारी दिए । इन्स्टिच्युट सञ्चालकहरूले ३ वटा स्कुटरको कागजात देखाउन सकेका छैनन् । ४ वटा स्कुटर नवीकरण नगरेको अवस्थामा भेटिएको छ । शंकास्पद कागजातबारे अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए। 

नेपाली युवालाई पुनः लैजान कोरियाले थाल्यो पहल

सउल : कोभिड-१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः ल्याउन कोरियाले सकारात्मक पहल थालेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतका नेपालसहित विदेशी श्रमिकलाई ल्याउने सम्बन्धमा मानव संसाधन बोर्ड कोरियाले श्रम रोजगार मन्त्रालय, कानुन मन्त्रालयलगायत अन्य सरकारी कार्यालयहरुमा छलफल अघि बढाएको बताइएको छ । नेपाल सरकारले भिसा लागेर बसेका श्रमिकलाई लैजान बारम्बार अनुरोध गर्दै आए पनि मानव संसाधन विभाग (एचआरडी) ले छलफल र अध्ययन गरिरहेको बताउँदै आएको थियो तर कोरियाको सङ्क्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण यो प्रक्रिया रोकिएक थियो । पछिल्लो समय एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाएको हो । हाल प्रवेशाज्ञा प्रक्रियाका लागि कानून मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले सहजीकरण गर्दै आइरहेको छ । यो निकायले विदेश श्रमिक ल्याउँदा हुने जोखिम र अवसरका सम्बन्धमा रोग नियन्त्रण तथा रोकथाम एजेन्सीसँग छलफल गरिरहेको छ । कोरियाले पहिलो चरणको कोभिड नियन्त्रण गरेपछि कम्बोडिया र श्रीलङ्काबाट श्रमिक लैजान शुरु गरे पनि पछिल्लो समय पुनः रोकेको थियो । नेपाललगायत विदेशी श्रमिकलाई लैजानेबारे तयारी भइरहेका बेला कोरियामा कोभिड भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेपछि विदेशी श्रमिकलाई रोक्ने निर्णयलाई निरन्तरता दिएको थियो । कोरियाले गैरश्रमिक नागरिकलाई स्वास्थ्य मापदण्ड पालन गरेर आगमन र प्रस्थान अनुमति दिए पनि श्रमिकको सम्बन्धमा भने कडाइ गर्दै आएको छ । यसबाट कोरिया जाने तयारीमा रहेका हजारौँ नेपाली युवा स्वदेशमा छ्न् तर प्रवेशाज्ञा सकिएर नेपाल फर्कने युवाहरू भने हवाई यात्रा खुलेसँगै कोभिड-१९ को मापदण्ड पूरा गरी नेपाल फर्किरहेका छन् । गत चैतयता प्रतिबद्ध ६ हजार ५ सय नेपाली युवाले कोरिया प्रवेशमा अनुमति पाएका छैनन् । नेपालसहित १६ राष्ट्रबाट बर्सेनि ५० हजार युवा कोरिया प्रवेश गर्ने गरेको भए पनि १० महिनायता सो क्रम रोकिएको छ । कोभिड सङ्कट लम्बिएपछि भिसा पाएका प्रतिबद्ध श्रमिक, श्रम सम्झौता गरेका र बिदामा आएका ६ हजार ५ सय नेपालीमध्ये ७ सयको रद्द भएको शाखाले जनाएको छ । कोरियाबाट हालसम्म २ हजार ५ सय ३६ नेपाली उद्धार उडानमार्फत नेपाल फर्किसकेका छन् ।

युवतीको अश्लील भिडियो खिच्ने डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई निलम्बन गर्न सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । चार नम्बर बाहिनी पोखरामा कार्यरत केसी फागुन ५ मा स्वयभूस्थित न्यू इभन पोइन्ट रेष्टुरेन्टमा खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका थिए । उनीविरुद्धको मुद्दा सोमबार अदालतमा दर्ता भएको छ । तर, सशस्त्र मुख्यालयले सशस्त्र प्रहरी बलको आचरणविरुद्ध कार्य गरेको भन्दै निलम्बन गर्न सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार कारबाहीको माग गरिएको छ । उक्त ऐनअनुसार एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ । अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न नपाइने व्यवस्था छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला द्रुत गतिमा निर्माण हुन्छ  : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुर काम द्रुत गतिमा निर्माण हुने बताएका छन् । बिहिबारदेखि सुरु भएको ईन्डो नेपाल टि–२० च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले यू १९ महिला विश्वकप खेल यही रंगशालामा खेलाउने गरी  निर्माणको सम्पन्न गर्ने उल्लेख गरे। ‘फागुन १७ गते टेण्डर आह्वान भएको छ,उनले भनिन,‘रंगशाला निर्माण हुन्छ कि हुदैन भन्ने आशंका पनि हट्यो । महानगरले द्रुत गति रंगशला निर्माणको नेतृत्वदायी भूमिका निर्वाह गर्छ।’ यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गराउनका लागि नेपाल क्रिकेट संघ, खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई अनुरोध गरिएको उनको भनाई छ । रंगशाला निर्माणको लागि संघ, प्रदेश र भरतपुर महानगरको संयुक्त रुपमा सहकार्य गरी अगाडि बढेकाले निर्माणको कार्यले छिटोभन्दा छिटो पूर्णता पाउने प्रमुख दाहालले बताए। भरतपुर महानगरपालिका क्रिकेटमा मात्र नभई सबै प्रकारको खेलकुद गतिविधि गर्ने नेपालकै उत्कृष्ट पालिकाको रुपमा सम्मानित भएको स्मरण गरे । प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विगत ५ महिनादेखि निरन्तर रुपमा खेलकुद गतिविधि सञ्चालन हुँदै आइरहेको बताए। अगामी चैत २६ गतेदेखि वागमती प्रदेश सरकारको आयोजनामा अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगिता भरतपुरमै हुन लागेको सो अवसरमा जानकारी दिए। प्रतियोगितामान क्रिकेट, फुटबल, भलिबल, स्वीमिङ, तेक्वान्दोलगायतका विभिन्न विद्याको खेल हुँदैछ।महानगरपालिकाले यस अघि विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता गरिसकेको छ । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा यही चैत ८ (बिहीबार) देखि १८ गतेसम्म चल्ने छ । सिंगल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपालका ४ टिम बागमती प्रदेश, मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश, आयोजकको तर्फबाट भरतपुर मेयर्स ११ र भारतीय टोलीमा कलकत्ता र लखनउ ११ गरी ६ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । गएराति भएको खेलमा विनवाड्रस भोलक्यानोजसँग नेपाल पराजित भएको हो । सुरुमा ब्याटिङ गरेको भोलक्यानोजले दिएको २०६ रनको चुनौती नेपालले पूरा गर्न सकेन । तीन खेलको अभ्यासमा नेपालले पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा ४९ रनले विजयी भएको नेपाल तेस्रो खेलमा ६७ रनले पराजित भएको हो। पार्क हिल मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको भोलक्यानोजले नेपालविरुद्ध सबै विकेट गुमाएर २०५ रन बनाएको थियो । चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल भने १७।१ ओभरमा १३८ रन बनाएर अलआउट भयो । नेपालका ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै तेस्रो बलमै आउट भएका थिए । नेपालले मात्र १९ रन बनाउँदा अनिलकुमार शाह मात्र २ रन बनाएर आउट भए । तेस्रो विकेटको रुपमा नेपालका अर्का ओपनर आशिफ शेख २४ रनमा आउट हुँदा नेपालले मात्र ४० रन बनाएको थियो । सम्हालिएर खेलेका नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनी चौथो विकेटको रुपमा ५३ रन बनाएर क्याच आउट भए । पाचौं विकेटको रुपमा गुल्सन झा पहिलो बलमै क्याच हुँदा नेपालले १०७ रन मात्र बनाएको थियो । पहिलो बलमा दुई रन जोडेका सोमपाल कामी दोस्रो बलमा आउट हुँदा नेपाले १०९ रन बनाउँदा ६ विकेट गुमाएको थियो । सम्हालिएर खेलेका अर्का ब्याट्सम्यान सन्दीप जोरा भने सातौ विकेटको रुपमा २१ रनमा आउट भए । आठौं विकेटको रुपमा कमलसिंह ऐरी ४ रनमा आउट हुँदा नेपालले १६ ओभरको समाप्तिमा १३१ रन मात्र बनाएको थियो । प्रतिश जिसी नौ विकेटको रुपमा शून्यमा आउट हुँदा अन्तिम विकेटको रुपमा करण केसी १३ रनमा आउट भए । अन्तिम खेलमा नेपालको बलिङ र ब्याटिङ दुवै नचल्दा पराजित भएको हो । यो खेलमा दिपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई आराम दिइएको थियो । अन्तिम खेलमा पराजित भए पनि तीन खेलको अभ्यास नेपालले २/१ ले आफ्नो पक्षमा पारेको छ । यसअपछि नेपाल विश्वकप अगाडिको अभ्यास खेलका लागि अमेरिका जाँदैछ । त्यहाँ नेपालले क्यानडा र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।