सचिवालय बैठकपछि देउवा भेट्न बूढानीलकण्ठमा ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी सचिवालय बैठक च्यासलमा सम्पन्न गरेका छन् । बैठकमा आफ्नै समर्थनमा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिएर ढाल्ने निर्णय गरेका उनी देउवा निवास पुगेका छन् ।

कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बन्ने भएपछि राखिएको पार्टी सचिवालय  बैठकले शक्ति बाडफाँडका विषयमा लिने भनेको निर्णय नलिई सत्ता ढलाउने निर्णय मात्रै गरेको थियो। 

नयाँ सरकार निर्माण र शक्ति बाँडफाँडबारे पछि निर्णय लिने गरी उठेको सचिवालय बैठक पछि ओली देउवासँग छफल गर्न बहुमत सचिवालय सदस्य लिएर देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्  ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष के.पी.शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा झण्डै दुई घण्टा भेटवार्ता गरेका छन् । भेटमा केके सहमति बन्यो खुलेको छैन । बैठकमा नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, रमेश लेखकलगायत सहभागी सहभागी रहेका थिए।

स्याङ्जा किचनासमा निःशुल्क स्वास्थ्य शिविर गरिदै

स्याङ्जा । स्याङ्जा जिल्लाको किचनासमा निःशुल्क स्वास्थ्य शिविर गरिने भएको छ । स्याङ्जा किचनास कल्याणकारी समाज भरतपुर, चितवन र बिरुवा गाउँपालिका स्याङ्‌जाको संयुक्त आयोजनामा सो शिविर गर्न लागिएको माओवादी केन्द्रका नेता धु्रवराज वाग्लेले जानकारी दिए । स्वास्थ्य शिविर २०८० साल चैत्र ३० गते र २०८१ बैशाख १ गते श्री नवज्योति मा.वि. बिरुवा, स्याङ्जाको प्राङ्गणमा हुने छ । स्वास्थ्य शिविरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नीजि चिकित्सक प्रा.डा. युवराज शर्मा वाग्ले नेतृत्वका चिकित्सकहरुले सेवा गर्ने वाग्लेले जानकारी दिए ।

सुनचाँदीको भाउ फेरी बढ्यो

काठमाडौं ।  अघिल्लो दिन तोलामा १ हजार रुपैयाँ घटेको सुन बिहीबार फेरि बढेको छ । हिजो प्रतितोला १ लाख २५ हजारमा झरेको सुन आज भने ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । १ लाख २५ हजार ८ सय रुपैयाँमा बिहीबार सुनको कारोबार भइरहेको छ । बिहीबार एकै दिन चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १४६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५१५ रुपैयाँ पुगेको छ ।

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । 'यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भन्नुभयो, हामी थप लगानीकर्ताहरुलाई पनि प्रोत्साहित गर्नेछौ ।’  नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न वैठकमा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको हो ।  कतारका अमीर सेख तमीम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।  काउन्सिलको यस पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आआफ्नो नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राख्नुभयो । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि वैठकमा भयो ।  वैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरुमा गरिएको सुधारले लगानीको अवसर जुट्दै गएको वताउनुभयो । साथै उहाँले कतारका लगानीकर्ताहरुलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप बिकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आव्हान गर्नुभयो । यसैगरि, कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता पनि जनाउनुभयो ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थप

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को ६ महिना थप गरेको छ। बंगलादेशको गृह मनत्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थपिएको जनाएको छ । मन्त्रालयले थप गरिएको अवधिमा खालेदा जियाले आफ्नो मुलुक छाड्न पाउँदिनन्। मन्त्रालयले खालेदाले बंगलादेशमै स्वास्थ्योपचार गराउनुपर्ने पनि जनाएको छ । सन् २०२० यता पूर्वप्रधानमन्त्री खालेदाको जेल सजाय थप गरिएको यो छैटौँपटक हो। कोरोना महामारीको समयमा मानवीय कारण देखाउँदै बंगलादेश सरकारले २०२० मार्चमा अस्थायी प्रयोजनका निम्ति खालेदालाई जेलमुक्त गरिदिएको थियो। बंगलादेश नेसन्लिस्ट पार्टीका अध्यक्ष समेत रहेकी उनी २०१८ देखि जेलमा छिन्। बंगलादेशको एक अदालतले उनीमाथि विदेशबाट प्राप्त सहायता रकम हिनामिना गरेको आरोपमा सात वर्षको जेल सजाय तोकेको थियो । खालेदामाथिको जेल सजाय राजनीतिकप्रेरित रहेको विपक्षी दलले आरोप लगाउँदै आएको छ। रासस

भिजिट भिसामा कडाइ : महिलालाई पारिवारिक सहमति र वडाको सिफारिस अनिवार्य

काठमाडौं : अध्यागमन विभागले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनको प्रस्ताव मन्त्रालयमा पठाएको छ । अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले महिलाहरू एक्लै विदेश जाँदा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिनेलगायत केही नयाँ प्रावधान ल्याउन प्रस्ताव गृह मन्त्रालयमा पठाइएको जानकारी दिए । साथै, उक्त प्रस्तावमा विदेश जानेहरूको हकमा १५ लाखको बीमा र १ हजार डलर अनिवार्य लिएर जानुपर्ने प्रस्ताव गरिएको उनले जानकारी दिए । विभागका अनुसार जोखिममा देखिने ४० बर्ष मुनिका महिलाको लागि विदेशमा गएर समस्यामा नपरुन भनेर नयाँ केही नियम ल्याउन खोजिएको हो । यो नियम सवै देशमा लागू नभएर जोखिम मुलुकमा लागू गर्न खोजिएको विभागले जनाएको छ । साथै, पटकपटक विदेश जाने र आउने गरेका महिलाको हकमा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस आवश्क नपर्ने समेत महानिर्देशक केसीले स्पष्ट पारे । विभागले सरोकारवाला निकायसँग छलफल गरी उक्त केही नयाँ नियम संशोधनका लागि विभागले एक साताअघि मन्त्रालयमा प्रस्ताव पठाएको हो । भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढिरहेकोले यसलाई कसरी रोक्न सकिन्छ भनेर विभागले नयाँ नियम ल्याउन खोजिएको उनले बताए । भिजिट भिसामा जाने नेपालीको हकमा अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि बीमा, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार आवश्यक पर्नेछ । कुनै संघ, संस्था वा व्यक्तिले दुरुपयोग गरेर लैजानेलाई पनि निगरानी बढाएर भागीदार बनाउने विभाग भनाइ छ । घुम्न जाने व्यक्तिको बीमा अनिवार्य गरियो भने पनि कुनै प्रकोप आए वा अलपत्र परे बीमा बापत केही राहत मिल्ने अध्यागमन विभागको ठहर छ । गोरखापत्र अनलाइनबाट

प्रधानमन्त्री कप एनभीए लिगको तालिका सार्वजनिक

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने पीएम कप एनभीए महिला–पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ।  नेपाल भलिबल संघले बुधबार लिगको खेल तालिका सार्वजनिक गरेको हो । जेठ १९ गतेदेखि सुरु हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र बूढानिलकण्ठ भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । यस्तै, महिलातर्फ सोही दिन सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यु डायमन्ड भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता जेठ २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता छ ।  सिंगल राउन्ड रोविन पद्दतिमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै, तेस्रो र चौथो हुने टिम तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

हैदराबादलाई हराउँदै कोलकाता आईपीएल च्याम्पियन

काठमाडौं ।फाइनलमा सनराइजर्स हैदराबादविरुद्ध आठ विकेटको सहज जित निकाल्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ। आईपीएलको इतिहासमा कोलकाताको यो तेस्रो उपाधि हो। यसअघि कोलकाता सन् २०१२ र २०१४ को संस्करणमा च्याम्पियन बनेको थियो। आइतबार चेन्नाईमा जारी खेलमा हैदराबादले प्रस्तुत गरेको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। कोलकाताको जितमा वेन्कटेस ऐयरले सर्वाधिक अविजित ५२ रन बनाए। उनले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरे। ओपनर रहमनुल्लाह गुबर्जले ३९ रन थपे। हैदराबादका कप्तान प्याट कुमिन्स र सहबाज अहमेदले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले १८=३ ओभरका सबै विकेट गुमाएर ११३ रनमात्र बनाएको थियो । आईपीएलको इतिहासमा फाइनलमा बनेको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो । हैदराबादका कप्तान प्याट कुमिन्सले सर्वाधिक २४ रन बनाए । आइदेन मार्करमले २०, हेनरिक क्लासेनले १६ र नितिश कुमार रेड्डीले १३ रन थपे । हैदराबादलाई कमजोर योगफलमा रोक्न कोलकाताका आन्द्रे रसेलले तीन विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले समान दुई विकेट लिँदा वैभव अरोरा, सुनिल नारिन र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।

जेलेंस्की सरकारबाट मन्त्रीहरूको राजीनामा, जारी युद्धमा के पर्ला प्रभाव ?

एजेन्सी । युक्रेनमा सरकार फेरबदल हुने सम्भावना बढेको छ ।हतियार उत्पादनको जिम्मा लिने रणनीतिक उद्योग मन्त्रीसहित युक्रेनी सरकारका छ जना अधिकारीहरूले राजीनामा दिएका छन् । जसले सरकार परिर्वनको सम्भावनालाई बलियो बनाएको बताइएको छ ।  सत्तारूढ़ 'सर्भेन्ट अफ द पीपल्स' पार्टीका संसदीय दलका नेताले यस हप्ता मन्त्रीपरिषद्को हेरफेर हुने घोषणा गरेपछि  सरकारबाट मन्त्रीहरूको राजीनामा आएका हाे। लामो समयदेखि चलेको युक्रेन–रुस युद्धका कारण युक्रेनले आफ्नो शहरहरूमा दैनिकी रूसको बमबारीको सामना गर्दै आइरहेको बेला सरकार परिर्वतनको हल्ला र सरकार फेर बदलको घट्नाले युक्रेनको राष्ट्रिय राजनीतिमा नयाँ तर​​​​​​​ङ्ग पैदा भएको छ ।  मंगलबार राजीनामा दिनेहरूमध्ये रणनीतिक उद्योग मन्त्री अलेक्जान्डर कम्याशिन, न्याय मन्त्री डेनीस मलिउसका, पर्यावरण संरक्षण मन्त्री रूसलान स्ट्रिलेस्त, उपप्रधानमन्त्री ओल्हा स्टेफानिशिना र इरीना वेरेशचुक, र युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख विटाली कोवाल रहेका छन्। मन्त्रीहरूसँगै राष्ट्रपतिका वरिष्ठ सहयोगी रस्तिस्लाव शुर्मालाई पनि राष्ट्रपति आदेश अनुसार बर्खास्त गरिएको छ ।  युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेंस्कीले सरकारलाई मजबुत बनाउन र सरकारको संरचनागत परिवर्तन तयार गरिएको र सोही अनुसार मन्त्रीहरु फेरबदल गरिएको बताएका छन् ।  विपक्षी सांसद इरीना गेरेसचेनको सरकारले गरेको फेरबदलको आलोचना गरेका छन् उनले जेलेन्स्की सरकारलाई मन्त्रीविहीन सरकार भएको समेत आरोप लगाएकी छिन् ।उनले सरकारले बहुमत गुमाएको र  सरकारमा बौद्धिक जनशक्ति संकट रहेका कारण राष्ट्रिय एकताको सरकार बनाउनु पर्ने समेत बताएकी छिन् । 

हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रइसीको मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका बीबीसीले उल्लेख गरेको छ । ड्रोनबाट खिचिएको फुटेज भन्दै इरानी सञ्चारमाध्यमले दुर्घटनास्थलको तस्बिर सार्वजनिक गरेका छन् । पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार रहेका सीएनएनले जनाएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरण : २८ जना प्रतिवादी, यस्तो छ अभियोग पत्र (पूर्णपाठ)

काठमाडौँ । सरकारी वकिल कार्यालयले रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा २८ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।सहकारीका संरक्षक तथा पूर्व अध्यक्ष गितेन्द्रबावु (जीबी) राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेको अभियोग पत्रमा उल्लेख छ । भूपेन्द्र बाबु राईको नाममा कर्जा बनाएर ३ करोड ३० लाख सो मिडियाको नामको पेस्की सेटल गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। भूपेन्द्रभन्दा बाहेक थप १० लाख ९९ लाख ३६ हजार सहित कुल १४ करोड २९ लाख रकम सो मिडियामा लगानी गरेको देखिएको सोमबार रुपन्देही जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ । सरकारी वकिल कार्यालयले सहकारीका संरक्षक जिबी राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित २८ जनाविरूद्ध अभियोगपत्र दायर (मुद्दा दर्ता) गरेको छ। यस्तो छ अभियोग पत्र 

अमेरिकामा पानीजहाज पुलमा ठोक्किदा पुल भत्किएर गाडी र मान्छे खसे(भिडियोसहित)

काठमाडौं । अमेरिकाको बाल्टिमोरमा एक मालवाहक पानीजहाजले पुललाई ठक्कर दिएपछि कयौँ मान्छे तथा सवारीहरु खसेका छन् । बीबीसीका अनुसार अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरको पातास्प्को नदीको पुलमा मालवाहक पानीजहाजले ठक्कर दिएपछि उक्त दुर्घटना भएको हो । दुर्घटनामा २० मान्छे र कयौँ सवारीहरु खसेको बताइएको छ । तर, कतिको हताहती भएको भन्नेमा भने कुनै सार्वजनिक तथ्यांक आएको छैन । मेरिल्याण्ड राज्यले दुर्घटनापछि संकटकाल घोषणा गरेको छ । तीन किलोमिटर लम्बाइको उक्त पुल बाल्टिमोरको प्रमुख राजमार्गको हिस्सा हो। सीएनएनका अनुसार ज्यादै चिसो मौसमको कारणले उद्दारमा कठिनाइ भइरहेको छ ।

मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

लेखनाथ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर माग गर्दै मङ्गलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट रिट दर्ता भएको हो। पाण्डेका कानुनी सल्लाहकार चिरञ्जीवी शर्माले मङ्गलबार दिउँसो रिट दर्ता भएको जानकारी दिए। रिटमा सरकार गठनका लागि सभामुखलाई गणना गर्न नमिल्ने हुँदा अहिलेको सरकार गठनलाई बदर गर्न माग गर्दै कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीमा निरन्तरता दिनसमेत माग गरिएको छ।  गण्डकीमा एमाले संसदीय दलका नेता मुख्यमन्त्री खगराज अधिकारीले आइतबार दिउँसो मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री अधिकारीले एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहित ३१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी गरेका थिए । अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेलगत्तै प्रदेश प्रमुख डिल्लीराज भट्टलाई स्मरण पत्र बुझाएको कांग्रेसले सरकार बनाउन सभामुखको समेत संख्या गणना भएको भन्दै सरकार गठनको दुई दिनपछि रिट दर्ता गराएको हो।  ६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा (एमाले)का २२, माओवादी केन्द्रका सभामुखसहित आठ र स्वतन्त्र एक सांसद छन्। सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका दुई सांसद छन्। केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिएका थिए। प्रदेश प्रमुख भट्टले २१ गते नै संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र सरकारका लागि दाबी पेश गर्ने समय दिए।  सत्ता गठबन्धनलाई संसदीय दलको सङ्ख्या गन्दा बहुमत देखिए पनि सभामुखले मत दिन नपाउने हुँदा विश्वासको मतका लागि राप्रपाको समर्थन आवश्यक हुन्छ। राप्रपाले गण्डकीको सत्ता समीकरणबारे कुनै निर्णय गरेको छैन। त्यसअघि नै कांग्रेस अदालत गएकाले  सर्वोच्चको आदेशअनुसार गण्डकी सरकारको निर्णय हुने भएको छ। 

मेयर कप फुटबल : दुर्गा शेषकान्त मावि क्वाटरफाइनलमा

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलमा आजबाट नकआउट चरणको खेल सुरु भएको छ । प्रतियोगिताको प्रि क्वाटरफाइनलमा दुर्गा शेषकान्त माविले  जित हात पारेको छ। उसको जितमा असिम परियारले खेलको ३० औं मिनेटमा गोल गरे। महेन्द्र गहतराजले खेलको ३७ बादल घलानले ४० औं मिनेटमा गोल गरे। बादल म्यान अफ दि म्याच भए। प्रतियोगितामा सोमबार पनि एक खेल हुनेछ। सोमबार ग्रामोदय इङलिस स्कुल र जनज्योति मावि भिड्नेछन््। खेल कृष्णपुर मैदानमा दिउँसो ४स्३० बजे हुने खेल संयोजक तथा सह आयोजक चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलले जानकारी दिए।

बंगलादेशलाई लागातार पराजित गर्दै अमेरिकाले जित्यो श्रृंखला

काठमाडौं । अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ।  गएराती सम्पन्न टी–२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो। अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९ दशमलव ३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो।  बंगलादेशका कप्तान नजमूल होसेन शान्टोले ३४ बल खेल्दै सर्वाधिक ३६ रन बनाए। सकिब अल हसनले २३ बलमा ३० रन जोडे। टोवहिद हृडोयले २१ बलमा २५ रन बनाए। अमेरिकाका अलि खानले ३.३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। यस्तै सौरभ नेत्रभाल्कर र श्याडली भान शाल्कविकले समान २ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। अमेरिकाका लागि कप्तान मोनान्क पटेलले ३८ बल खेल्दै सर्वाधिक ४२ रन बनाएका थिए। एरन जोन्सले ३४ बलमा ३५ रन बनाउँदा अर्का ओपनर स्टेभन टेलरले ३१ रन जोडे। बंगलादेशका शोरीफूल इस्लाम, मुस्तफिजुर रहमान र ऋषाद होसेनले समान २ विकेट लिए। शृंखलाको पहिलो खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो। अन्तिम खेल शनिबार हुनेछ।

मणिपुरमा भारतीय विद्रोहीद्वारा ड्रोन आक्रमण, दुईको मृत्यु १० घाइते

नयाँदिल्ली । भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि आक्रमण गरेका छन् । आइतबार विद्रोहीहरूले गरेको ‘आक्रमण’ मा परी दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको प्रहरीले बताएको छ । विद्रोहीहरूले ड्रोन प्रयोग गरी रकेटबाट चल्ने ग्रेनेड प्रहार गरेका थिए । मृतक मध्ये एक जना महिलाको पहिचान भएको छ ।उनी ३५ वर्षीय नगनबम सुरबाला रहेकी छिन् । घाइते हुने मध्ये दूई जना प्रहरी छन् भने एक जना टेलिभिजनका रिर्पोटर रहेका छन् ।  सन् २०२३ मा मणिपुरमा मुख्य रूपमा हिन्दू मैतेई बहुसङ्ख्यक र मुख्य रूपमा ईसाई कुकी समुदायबीच द्वन्द्व सुरु भएको थियो । उक्त धार्मिक द्वन्द्वमा कम्तीमा दुई सय जनाको मृत्यु भएको थियो ।