आकर्षणको केन्द्र बन्दै सिन्धुलीगढी
काठमाडौँ, पुस ११ ।
नेपाली वीरताको सुनौलो इतिहास बोकेको एतिहासिक सिन्धुलीगढीमा यतिखेर आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा अवस्थित सिन्धुलीगढीमा सानो र ठूलो गरी दुई वटा बेग्लाबेग्लै गढी छन् । ठूलो गढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलो गढीमा तोप, गोलाबारुद, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सङ्कलन गरिन्थ्यो । सानो गढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास छ ।
मकवानपुरका सेन राजाको पालामा निर्माण गरिएका उक्त गढीमा कर सङ्कलन गर्ने प्रयोजनका लागि कार्यालयसमेत स्थापना गरिएको थियो । गढीमा शत्रुको निगरानी गर्न ११ वटा प्वाल भएको पर्खालसमेत निर्माण गरिएको थियो ।
नेपालकै अत्यन्त महत्वपूर्ण मानिएको यो एतिहासिक गढीलाई पर्यटकीय गन्तव्यका रुपमा विस्तार गर्न कमलामाई नगरपालिकाले ‘सिन्धुलीगढी निर्माण गुरुयोजना’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । आगामी तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ गुरुयोजना कार्यान्वयनमा ल्याएको कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले बताए । उक्त गुरुयोजना कार्यान्वयन गर्नका लागि रु १७ करोड बजेट लाग्ने अनुमान गरिएको उनले बताए ।
“प्राकृतिक, एतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुले भरिपूर्ण हुँदाहुँदै पनि यो क्षेत्र पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बन्न सकेको छैन्”, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य द्वारिका काफ्लेले भने, “यस क्षेत्रको पर्यटन विकासका लागि गुरुयोजना निर्माण भइसकेको छ । अब सोच्ने बेला होइन, त्यसको कार्यान्वयनमा अघि बढनु पर्दछ, यसका लागि प्रदेश सरकार, नगरपालिका, निजी क्षेत्र र नागरिक समाजका अगुवाहरुको साझा प्रतिवद्धता र सहकार्य आवश्यक छ ।”
पर्यावरणीय विविधताले भरिपूर्ण यो क्षेत्रको दिगो आर्थिक बिकासका लागि पर्यटनलाई मुख्य आधार मानेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । गढी पुगेका पर्यटकका लागि तस्बीर खिच्ने ठाउँको उचित व्यवस्थापन, विश्रामस्थल निर्माण र सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने आवश्यकता पनि त्यतिकै जरुरी छ । सानो तथा ठूलो दुबै गढीको उचित व्यवस्थापन र प्रचारप्रसार गर्न सके यो ठाउँ पर्यटकका लागि आकर्षणका केन्द्रबिन्दु बन्न सकिने धारणा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष राजन भट्टराईको छ ।
नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाइराख्न सिन्धुलीगढीमा भएको लडाईंमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई परास्त गरेको घटनाको सम्झनामा त्यहाँ हरेक वर्ष विजय दिवस मनाउने गरिन्छ ।
सिन्धुलीगढीका लडाइँमा बाँचेर फर्केका अङ्ग्रेज फौजले ‘नेपाली योद्धा मात्र होइन, त्यहाँका पातपतिङ्गर र कीरा फट्याङ्ग्रासमेतले एउटै मोर्चामा रही लडाइँमा भाग लिएको स्मरण आफन्त जानलाई सुनाउने गरेको इतिहास रहेको नेपाल उद्योग वाणिज्य सङ्घ सिन्धुलीका अध्यक्ष अमरेश चन्द्र वैदारले बताए ।
विसं १८२४ असोज १५ गते भएको उक्त युद्धमा एक हजार ६०० जति अत्याधुनिक बन्दुकधारी अङ्ग्रेज जवान ज्यान गएको थियो । अङ्ग्रेज फौजसँगको लडाइँ असोजमा भएपनि लडाइँ सकेर फर्केको दिनलाई आधार मानेर कात्तिक २४ गतेका दिन विजय दिवस मनाउने गरिन्छ ।
शिकारी सरदार वंशु गुरुङ, काजी श्रीहर्ष पन्त, काजी वंशराज पाण्डे, खजाञ्ची वीरभद्र उपाध्यायको फौजले चेपुवामा पारी अङ्ग्रेज फौजमाथि आक्रमण गरेको इतिहास रहेको अध्यक्ष वैदारले जानकारी दिए ।
नेपाल एकीकरणको समयमा काठमाडौँका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लको सहयोगका लागि कप्तान किनलकको नेतृत्वमा दुई हजार ४०० को सङ्ख्यामा सेना काठमाडौँतर्फ अघि बढिरहेको ‘इष्ट इण्डिया कम्पनी’का फौजसँग नेपाली फौजले घमासान युद्ध गरेको इतिहास छ ।
उक्त ऐतिहासिक लडाइँबाट अङ्ग्रेज फौजका ५०० थान बन्दुक र केही तोप हात पार्न गोर्खाली फौज सफल भएको थियो । सिन्धुलीगढी लडाइँमा वीर गोर्खाली सेनाले खुकुरी, खुँडा, धनुकाँड, ढुङ्गा, घुँयेत्रो, अल्लो र अरिङ्गालजस्ता घरेलु हतियार र प्राकृतिक चिजबीज प्रयोग गरेका थिए ।
गोर्खाली फौजले निकै सुझबुझ र बुद्धि खेलाइ रणनीतिक सफलता पाएको ‘सिन्धुलीगढीका लडाइँ’ आधुनिक नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ।
हालको कमलामाई नगरपालिका–३ मा पर्ने सिन्धुलीगढी विसं २०२२ अघि सिन्धुली जिल्लाको सदरमुकाम समेत रहेको थियो । सिन्धुलीगढीमा भग्नावशेषका रुपमा दरबार, जेलघर, टुँडिखेल रहिआएका छन् । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकका अतिरिक्त बाह्य पर्यटकको पनि बाक्लो उपस्थिति हुने गरेको छ । वार्षिकरुपमा यहाँ कति पर्यटक पुग्छन् भन्ने तथ्याङ्क कुनै निकायसँग छैन् ।
गढी क्षेत्रको महत्वलाई उजागर गर्ने सन्दर्भमा नगरपालिकाले त्यस युद्धमा लडेका सैनिक कमाण्डरको तस्वीरसहितको परिचय दिने बोर्ड राख्नुका साथै विभिन्न महत्वपूर्ण मठमन्दिर र भग्नावशेषको संरक्षण गर्ने कार्यको थालनी गरिसकेको छ ।
नेपाललाई जोगाउने धरोहरका रुपमा ख्याति कमाएको सिन्धुलीगढी स्थल संरक्षणका लागि नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने नगर प्रमुख खड्ग खत्रीले जानकारी दिए ।
प्राकृतिक रुपमा आनन्दको अनुभूति लिन यो गढीमा आउने पर्यटकलाई स्थानीयवासीले सुन्ताला र जुनारको जुस, मकैको रोटी, टिमुरको अचार, सिस्नोका परिकारजस्ता परिकारबाट स्वागत गर्ने गर्छन् ।
काठमाडौँ, जनकपुर, वीरगञ्जलगायत नेपालका प्रमुख शहरहरुबाट यातायातका साधन सहजै यहाँ पुग्ने भएपछि यतिखेर गढी आउने पर्यटक बढेका हुन् । अग्लो पहाड र हरियाली बन जङ्गलको बीचमा रहेको यो गढीमा पुगेपछि जो कोहीलाई पनि आनन्द र शान्तिको अनुभूति हुने गर्छ भने त्यहाँ पुग्ने पर्यटक अत्यन्त रमाउने गरेका छन् ।
“पर्यटनको विकास र विस्तार वाट नै आर्थिक रुपान्तरण गर्न सफल भएको छिमेकी मुलुक भारतका दार्जलिङ्ग, गोवा र सिक्किमवाट पनि हामीले धेरै सिक्नुपर्दछ, त्यस्तै भुटान, तिब्बत, थाइल्याण्डले गरेको पर्यटकीय आर्थिक क्रान्ति नै हाम्रा लागि उदाहरण हुन सकिन्छ”, स्थानीयवासी राजकुमार कार्कीले भने।
पर्यटन उद्योगको विकासका लागि सबैभन्दा ठूलो नजिकको बजार भारत हुन सक्दछ, भारतीय पर्यटकलाई मात्र भित्रियाउन सकियो भने यहाँको आर्थिक समृद्धि हासिल गर्नका लागि एक दशक पनि कुर्नु पर्दैन । रासस
राष्ट्रिय संकल्पसहित समृद्धिको यात्रामा समाहित हुन कांग्रेसलाई प्रचण्डको आग्रह
काठमाडौं, कार्तिक १६ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले देशमा शान्ति, स्थिरता र विकासले गति लिने आधार राष्ट्रिय एकताको आधार भएको बताएका छन् । नेपाली काँग्रेसद्वारा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भने, “राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हिजो जति थियो आज पनि त्यति नै छ । यो देशमा जतिपनि ठूला ठूला राजनीतिक परिवर्तनहरु भएका छन् राष्ट्रिय एकताका आधारमा मात्र भएका छन् ।” राजनीतिक दल, बुद्धिजीवि र नागरिकहरुका बीचमा एकता नभईकन राजनीतिक स्थिरता र विकास जनताको भावना र आवश्यकता परिपूर्ती नहुने उहाँको धारणा थियो । अध्यक्ष प्रचण्डले अगाडि भने, “हामीले मिलेरै शान्ति प्रक्रियालाई एउटा टुंगोमा पुर्यायौं भलै समापन गर्न काम अझै बाँकी छ । हामीले मिलेरै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । हामीले मिलेर नै निर्वाचन गर्याैं । अब पनि हामी मिलेर नै फेरि संविधानको मर्म भावना अनुसार जनताको चाहाना अनुसार विकास र समृद्धिको एउटा नयाँ यात्रातिर जानुछ ।” विश्वेश्वर प्रसाद कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिको सन्दर्भ स्मरण गर्दै अध्यक्ष प्रचण्डले सात दलको तर्फबाट गिरिजाप्रसाद कोइराला र तत्कालिन नेकपा (माओवादी)का तर्फबाट आफूले हस्ताक्षर गर्दा पनि राष्ट्रिय एकताकै आधार मानिएको बताए । उनले भने, “राष्ट्रिय एकताको आधार मानिएकै कारण यो परिवर्तन सम्भव भयो यद्दपी परिवर्तन अझै राम्रो संस्थागत भईसकेको छैन ।” जनताले छिटोभन्दा छिटो समृद्धि चाहेका बताउनुहुँदै अध्यक्ष प्रचण्डले यो पनि राष्ट्रिय एकताद्वारा मात्रै सम्भव हुने बताए । “त्यसकारण यी पर्वहरुका सन्दर्भमा र चियापान आदानप्रदानका सन्दर्भमा ठण्डा दिमागले सोचेर राष्ट्रिय एकताकै माहौल बनाउने र राष्ट्रिय संकल्पसहित समृद्धिको यात्रामा जान नेपाली काँग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक र सम्पूर्ण जनसमुदायमा अपील गर्दै शुभकामना दिन चाहन्छु ।”
राजधानीमा नक्कली नोटको बिगविगी, कारोबारमा संग्लन २ जना पक्राउ
काठमाडौं, कार्तिक ३ । दसैंको मौकामा काठमाडौंमा नक्कली नोटको विगविगी बढेको रहस्य खुलेको छ । प्रहरीले एक हजार दरका २९ वटा नक्कली नोटसहित दुर्इ युवकलाई पक्राउ गरेसँगै राजधानीमा नक्कली नोटको विगविगी बढेको रहस्य खुलेको हो । काठमाडौं प्रहरी परिसरका अनुसार नक्कली नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–७, चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथबाट नक्कली नोट बरामद भएको हो । घटनाको विषयमा महानगरीय प्रहरी वृत्त, गौशलाले विस्तृत अनुसन्धान गरिरहेको छ ।
मनमोहक मुस्ताङ, घुम्न जाने होइन ? [फोटो फिचर]
काठमाडौं, कार्तिक ३ । मुस्ताङ नेपालको उत्तरपश्चिमी क्षेत्रको ३ हजार ९ सय ८२ मिटरको उचाइमा छ। यस जिल्लाको उत्तरी भाग अन्नपूर्ण र निलगीरी हिमालले ढाकिएको छ । नेपालको हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङ गरी दुई भागमा विभाजित छ । माथिल्लो मुस्ताङ ट्रेकिङहरुका लागि एकदमै चर्चित छ भने तल्लो मुस्ताङ प्राकृतिक सुन्दरताका लागि उत्तिकै प्रख्यात छ । माथिल्लो मुस्ताङमा हिमाली हावापानी पाइन्छ । धौलागिरी र अन्नपूर्ण हिमालले ढाकिएका कारण यस जिल्लामा बंगालको खाडीबाट बहेको मनसुन वायुको प्रभावबाट वर्षा हुँदैन । पश्चिमी वायुको प्रभावबाट निकै कम पानी पर्ने यस जिल्लाको स्याउ एकदमै प्रख्यात छ । यसैबिच नेपालको हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङका सुन्दर तस्वीर प्रस्तुत गरेका छौं । यी सबै तस्वीर सन्तोषकुमार सिंहले खिचेका हुन्-
नागढुङगा-नौबिसे जाम खुलाउन विशेष फोर्स
काठमाडौं, असोज २१ । राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा-नौविसे सडकखण्डको बढ्दो ट्राफिक जामलाई कम गर्न प्रहरीले अस्थायी पोस्ट स्थापना गरेको छ । काठमाडौंको कलंकीदेखि धादिङको सिम्लेसम्म लामो जामका कारण यात्रुले सास्ती व्यहोर्नुपरेपछि प्रहरीले विशेष फोर्स खटाएर जाम कम गराएको छ । लामो जामले चाडपर्व मनाउन हिँडेकाहरु बाटोमा नै अलपत्र पर्न थालेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त लामा र धादिङ प्रहरी प्रमुख एसपी डम्बर विकले नागढुंगा सडकखण्डको निरीक्षण गरी विशेष योजना ल्याएको हो । नागरिक दैनिकमा समाचार छ ।
विवाहपञ्चमी भब्यरूपले मनाउने तयारीमा
जनकपुरधाम, असोज १४ । प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मंसिर २६ गते यहाँ हुने भगवान सीताराम विवाहपञ्चमी महोत्सव भब्य रूपले मनाउन योजना बनाउन आग्रह गरेका छन् । जानकी मन्दिरद्वारा आइतबार यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्री साहले सो आग्रह गर्दै उनले सीताराम विवाह पञ्चमी महोत्सव सम्पूर्ण मिथिलावासीको प्रतिष्ठा भएको धारणा राखे । मन्त्री साहले साताव्यापि महोत्सवलाई भब्यता दिन जनकपुरधाममा सार्कस्तरीय रामलीलाको आयोजना गर्ने अवधारणाबारे छलफल भई रहेको छ भने । उनले प्रदेश सरकारले महोत्सव भव्यरुपमा मनाउन रू ३० लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । गोश्वामी तुलसीदासले रामायणमा वर्णन गर्नु भएअनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएका शिव धनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्लपञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको शरीर नभए पनि अदृश्य रूपमा नै उपस्थितिको विश्वासले हर्ष र उल्लाससाथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुुने गरेका छन् । मिथिलामा दुलहा पक्षलाई अयोध्यावासी र दुलही पक्षलाई मिथिलावासी मान्ने चलन भएकाले सीताराम विवाह महोत्सवमा प्रतिकात्मक विवाह मैथिल संस्कृतिअनुसार गर्ने परम्परा छ । जानकी मन्दिरका सह–महन्त रामरोशन दासका अनुसार महोत्सवमा जनकपुर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवा मनाइन्छ । छलफल कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह र सुरिता साह , जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतले महोत्सवलाई मिथिलाको पहिचानअनुरूप मनाउनुपर्ने धारणा राखेका थिए। रासस
फोटो अफ द डे
ओखलढुंगा, असोज १२ । ओखलढुंगाको पलापुका स्थानीयले खानेपानीको हाहाकार भोगेको धेरै भयो । खानेपानी भर्न बिहान ३ बजेदेखि लाइन रहेका महिलाको पालो बिहानको झुल्केघामसम्म पनि नआउँदा कोही निन्द्रा पु-याउदै छन् भने कोही पालो कुरेर सबेका छन् । खानेपानी मन्त्रालयले खानेपानीको जटिल समस्या भोगिरहेका जनताका लागि अभियाकै रुपमा मन्त्रालयमा जानकारी गराउनका लागि हट लाईन (टोल फ्रि नम्बर) सन्चालन गरेको छ । आफ्नो समस्या टिपाउँन पैसा नलाग्ने नम्बर १६६००१४२१११ वा खानेपानी मन्त्रालयको वेभसाइट तथा खानेपानी मन्त्री बिना मगरको फेसबुक पेजमा व्यवस्था गरिएको छ । खानेपानीको यस्तै समस्या भोगेको वा देखेका जनताहरुले माथि उल्लेखित नम्बर तथा वेभपेजमा समस्या टिपाएर समस्याबाट मुक्त हुन सकिने भएको छ । तस्बिर : पूर्णप्रसाद न्यौपाने, ओखलढुंगा, रासस
भोजपुरमा बलात्कारी धामधम पक्राउ पर्दै
भोजपुर, असोज ११ । जिल्ला प्रहरी कार्यालय भोजपुरले बलात्कारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । बलात्कारका घटना बढ्न थालेपछि अनुसन्धान तथा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरमा प्रमुख प्रहरी नायब उपरीक्षक केशव थेवेले बताए । प्रहरीले भोजपुरका साल्पासिलिछो गाउँपालिका-४ मेम्पाङकी पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा १६ वर्षीय सन्देश भनिने सविन राईलाई पक्राउ गरेको छ । राईले असोज ६ गते बालिकालाई करणी गरेको प्रहरीको भनाइ छ । त्यस्तै १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भोजपुर नगरपालिका-१ डाँडा वोखिमका २५ वर्षीय मदन राईलाई पक्राउ गरेको छ । राईले असोज २ गते बालिकालाई पञ्चमाया राईको कोदोबारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । भोजपुरको हतुवागढी गाउँपालिका-६ माटोखानी टोलबाट एक ४७ वर्षीय अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा स्थानीय २५ वर्षीय छत्रमान राईलाई पक्राउ गरेको छ । राईले असोज २ गते करणी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए । -रासस
मलेसियामा बेपत्ता सुकमाया थेबेको खोजी गरिदिन परिवारको आग्रह
मलेसिया,असोज ११। रोजगारीका लागि मलेशिया पुगेकी मगुरमादि ४ झापाकि सुकमाया थेबे बेपत्ता भएकी छन। कम्जोर आर्थिक अवस्थाका कारण ८ बर्ष अघि काठमाडौको S V म्यानपावर बाट मलेसिया पुगेकि थेबे परिवारको सम्पर्कमा नआए पछी खोजी गरिदिन परिवारले अनुरोध गरेका छन। मलेसिया गएको केही समय सम्म परिवारको सम्पर्कमा रहेकी उनी आफ्नो काम मन्त्री को घरमा रहेको र काम अलिक धेरै गर्नुपर्ने, पारिश्रमिक समयमा नमिल्ने तथा सम्झौता अनुसार भनेको काम अनि नपाए नभएको भन्दै आफु अबैधानिक भएर काम गर्दै आएको बताएकी थिइन्। केहि दिन सम्पर्क बाहिर रहेर पुनः श्रीमान डम्बर बहादुर आदाङ्बे लाई आफू मन्त्री को घर बाट भागेर अबैधानिक रूपमा नेपाली होटल मा काम गर्न थालेको बताएकि उनी ७ बर्ष एता सम्पर्कमा नभएको पारिवारिक स्रोतले बताएको छ। श्रीमती बाट धन सम्पत्तिको कुनै आपेक्षा नरहेको भन्दै कहि फेला परेमा (9803812998)नम्बरमा खबर गरिदिन आदाङ्बेले अनुरोध गरेका छन्।
‘देश समृद्धि नभए कानूनका ठेलिले अधिकार पाउने ग्यारेन्टी हुन्न’
काठमाडौं, असोज ६ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले देश समृद्धि नभए कानूनका ठेलिले मात्र अधिकार पाउने ग्यारेन्टी नहुने बताएका छन् । समाज कल्याण परिषद को ३९ औं सामाजिक सेवा दिवसकाे उद्घाटन गर्दै अध्यक्ष लिमिल्सेनाले नेपालको संविधान र माताहतमा बनेका कानूनले अब अधिकारका लागि थप लड्न नपर्ने बताए । उनले संविधानमा भएका व्यवस्था र संविधान कार्यान्वयन गर्न बनेका नयाँ कानून नागरिकको हकका सम्बन्धमा संसारकै उत्कृष्ट भएको दावी गरे । उनले भने, ‘हामी अधिकार सम्पन्न भयौं तर, कानूनका ठेली र कागजमा मात्र अधिकार भएर हुँदैन । जे–जे अधिकार छ त्यो कुरा व्यवहार मा लागू नभए कागजका कुराले अर्थ राख्दैन ।’ अध्यक्ष तिमिल्सेनाले आजको आवश्यकता लिपिवद्द अधिकारको कार्यान्वयन हो। सबै लिपिवद्द अधिकार कार्यान्वयन गर्न राष्ट्र समृद्द हुनु जरूरी भएको बताए । उनले विकसित नेपालको निर्माणमा सबै लाग्न आग्रह गरे । समाज कल्याण परिषद नेपालमा काम गर्ने हजारौं राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुगमन गर्ने निकायले आफैंमा विवादमा पर्नु राम्रो नभएको बताए । उनले भने, ‘परिषद सक्षम र इमान्दार हुनु पर्छ । संस्थाको नाम नै समाज कल्याण भएकोले मन वचन र कर्मले काम गरेर उदाहरणीय बन्नु पर्छ ।’ महिला तथा बालबालिका मन्त्री थममाया थापाले परिषद को ३९ औं सामाजिक सेवा दिवसका अवसरमा अध्यक्ष लिमिल्सेनालार्इ मायाकाे चिनाे प्रदान गरेकी थिइन् ।
अमेरिकामा एक नेपालीसहित तीन जनाको हत्या
वाशिङ्टन, असाेज ६ । अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली महिलाको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन भएको शुक्रबार स्थानीय अधिकारीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका थिए । हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको जानकारी दिए । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये एक वृन्दाको गोली लागेर निधन भएको थियो भने अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएका थिए । सो घटनामा सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो । आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै अाएकी वृन्दाले तीन महीना अगाडि मात्र त्यहाँ काम गर्न थालेकाे उनीहरुको पारिवारिक स्रोतले जानकारी दिएको छ । अमेरिकामा हुने ‘मास सुटिङ’ त्रासदी पूर्ण हुने र यसमा नेपाली पनि पर्नु दुःखद् भएको प्रतिक्रिया दिदैं अमेरिकाको मूलधारको राजनीतिमा लागेका एचवी भण्डारीले शुक्रबार कानूनी प्रक्रिया पूरा गरेर आइतवार सद्गत गर्ने तयारी भएको राससलाई जानकारी दिए। पर्वतमा जन्मनुभएकी वृन्दाकी आमा तिलकुमारी, दुई दाजुभाइ सरोजकृष्ण र सुमनसमेत मेरिल्याण्डमा नै लामो समयदेखि बस्दै आएका छन् । -रासस
धनगढीमा बाल दिवस, उप-महानगर प्रमुखले भने यस्तो
धनगढी, भदौ २७ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बालबालिकाको संरक्षण घरबाट नै सुरु हुनुपर्ने बताएका छन् । धनगढीमा आयोजना गरिएको बालअधिकार र नेपालमा बालअधिकार सुनिश्चितताका लागि भएका प्रयासहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । बालबालिकाहरू माथि विभेद तथा हिंसा परिवारबाट सुरु भएर नै समुदायसम्म पुग्ने गरेको उल्लेख गर्दै नगरप्रमुख वडले भने, “‘यसकालागि सचेतना फैलाउनु अहिलेको आवश्यकता हो ।” राज्य एक्लैले चाहेर मात्रै बालअधिकारको संरक्षण हुन नसक्ने धारणा नगरप्रमुखको थियो । यसमा सबै लाग्नुपर्छ । धनगढी उप–महानगरपालिकामा निर्माण भैरहेका र अब निर्माण गरिने भौतिक संरचनाहरू बालमैत्री, अपाङ्ग मैत्री, महिला मैत्री बनाउन थालिएको नगरप्रमुख वडले बताए । उनले भने, “‘विद्यालयहरूमा निर्माण गरिने संरचनाहरू बाल मैत्री र छात्रा मैत्री बनाउने काम भैरहेको छ ।” कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बालकल्याण समितिका संयोजक बाबुराम श्रेष्ठले बालबालिकाको अवस्था सुधार गर्ने किसिमका नीति राज्यले लिएको बताए । उनले भने, “नेपालको संविधानले नै बालअधिकारका विषयमा बोलेको छ ।” बाल अधिकारको सवाल अन्तराष्ट्रिय सवाल भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । कार्यक्रममा धनगढी उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी पाण्डे, जिल्ला शिक्षा अधिकारी बिष्णु भट्ट लगायतको उपस्थिति थियो । कार्यक्रम बाल दिवस आयोजक मूल समारोह समितिले गरेको थियो ।
६७ लाख ब्लडमनी तिरेर रोल्पाका दिलबहादुर साउदी जेलबाट रिहा
रियाद,भदौ २५ ।ब्लडमनी तिर्न नसक्दा दुई बर्ष देखि साउदी जेलमा रहेका धवाङ -१० रोल्पाका दिलबहादुर घर्तीमगर जेलमुक्त भएका छन्। साउदी को रियाद स्थित मजिद अल डिएबिहि कन्ट्रेक्टिङ कम्पनीमा कार्यरत घर्तीले चलाएको सबारि दुर्घटना हुदा साउदीका एक स्थानीय नागरिक घाइते भइ उपचार को क्रममा मृत्यु भएपछी मृतकका आफन्तले घर्ती विरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए। घर्ती विरुद्ध दायर मुद्दामा अदालतले ६७ लाख रुपैयाँ ब्लडमनिको फैसला सुनाएपछी दुई बर्ष देखि साउदी जेलमा जेल जीवन बिताउदै आएका उनी शनिबार ब्लडमनि बुझाएपछी रिहा भएको साउदी स्थित नेपाली दूतावासले जानकारी दिएको छ। जेलबाट रिहा भएका घर्तिलाइ आबस्यक कानूनी र कागजी प्रक्रियाका लागि साउदी स्थित ट्राफिक प्रहरी कार्यलय लगिएको र केहि दिनमा सबै प्रक्रिया पूरा गरि नेपाल फर्काइने दूतावास स्रोतले बताएको छ।घर्ती साउदीस्थित नेपाली दुतावासका प्रतिनिधिको रोहबारमा रिहा भएका हुन् । घर्तीलाई बचाउन नेपाल सहित विभिन्न देशमा रहेका नेपालीहरुले ब्लडमनि सङ्कलन गरि बुझाएका थिय ।
नेपाललाई पहिलो भट्का, ओपनर मल्ल आउट
काठमाडौं, भदौ १४ । मलेसिया जारी एसिया कप छनोट खेल अन्तर्गत नेपालले युएईले दिएको २५५ रनको लक्ष्य पछयाइरहेको छ । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल आउट भएका छन् । उनी पहिलो ओभरमा आउट भएका हुन् । अहिले नेपालकातर्फबाट कप्तान परास खड्का र सुभाष खकुरेल क्रिजमा छन् । नेपालले ताजा अवस्थामा ४ अाेभरकाे समाप्तीमा १० रन बनाएकाे छ । यसअघि युएइका लागि चिराग सुरीले सर्वाधिक ६३ रन बनाए । यस्तै, अदान मुफ्टी ५७, आश्फिक अहेमद ४५, रामीज शाहजाद ३५, मउम्द उस्मानले १३ रन बनाए । अन्य ब्याट्सम्यानले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् । बलिङमा नेपालका लागि सन्दिपले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभर बलिङ गर्दै ४ विकेट लिए । यस्तै, बसन्त रेग्मी र सोमपाल कामीले समान २(२ विकेट लिन सफल भए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ । युएई नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी हो । २० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएकोमा १० पटक नेपाल पराजित भएको छ । ३ खेलमा विजयी हुँदा एक खेल बराबर भएको थियो । सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र युएई पहिलो पटक खेलेका हुन्, जहाँ नेपालले ९४ रनको पराजय ब्यहोरेको थियो । युएईसँगको सातौं भेटमा मात्र नेपालले जित निकाल्न सकेको थियो । सन् २०१२ को एसीसी एलिट ट्रफीको समूह चरणमा नेपालले यूएईलाई ४ विकेटले हराएको थियो भने फाइनल खेल रोमाञ्चक बराबरीमा सकिएको थियो । नेपाल र युएई पछिल्लो पटक सन् २०१८ को डिभिजन टू मा भिडेका थिए । जहाँ समूह चरणमा नेपालले ४ विकेटको जित निकालेको थियो भने फाइनलमा ७ रनले पराजित भएको थियो । त्यसअघि विश्व क्रिकेट लिग च्याम्पियसिपको दुवै खेलमा नेपाल पराजित भएको थियो ।
यसकारण घट्दैछ अधिकांश जलविद्युत् कम्पनीका शेयर
काठमाडौं, साउन १५ । सरकारले नेपालको पानी जनताको लगानी, घर घरमा बिजुली, जन जनमा शेयरको अवधारणा लागू गरेर सबै नेपाली नागरिकलाई शेयर उपलब्ध गराउने योजना अगाडि बढाएको छ । सबै नागरिकलाई शेयर दिने र जलविद्युत् आयोजनाको स्वामित्व महसुस गराउने योजना बनाए पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १९ जलविद्युत् कम्पनीमध्ये एकाध कम्पनीको मात्रै शेयर मूल्य रु ५०० भन्दा माथि छ । धेरैजसो कम्पनीको शेयर मूल्य न्यूनतम बिन्दुमा छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार चिलिमे जलविद्युत् कम्पनीको मात्रै शेयर मूल्य रु ७४० छ । यस्तै बुटवल पावर कम्पनीको मूल्य रु ४३६ छ । बाँकी रहेका १६ वटा कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ । गत फागुनमा थप शेयर निष्काशन गरेपछि बुटवल पावर कम्पनीको शेयरसमेत बजारमा निरन्तर ओरालो लागिरहेको छ । सरकारले सबै नागरिकलाई शेयर उपलब्ध गराउने बताइरहँदा शेयर बजारमा भने जलविद्युत् कम्पनीको उपस्थिति चिन्ता गर्नुपर्ने अवस्थामा पुगेको छ । नेशनल हाइड्रो पावर कम्पनीको शेयर त खरीद मूल्यभन्दा पनि तल झरेको छ । सो कम्पनीको प्रतिकित्ता शेयर रु ८६ मा खरीद बिक्री भइरहेको छ । गत वर्ष रु ६५६ मूल्यमा खरीद बिक्री भएको अपि पावर कम्पनीको शेयर हाल रु २७४ मा खरीद बिक्री भइरहेको छ । यस्तै अरुण कोबेलीको रु २५५, अरुण भ्यालीको रु १४०, बरुण हाइड्रोपावर कम्पनीको शेयर रु १४१ मूल्यमा खरीद बिक्री भइरहेको छ । निरन्तर ओरालो लागेको शेयर बजारमा अरु समूहजस्तै जलविद्युत् कम्पनीको शेयर मूल्य पनि ओरालो लागेको छ । यस्तो अवस्थाले ठूला लगानीकर्तालाई तत्काल बेफाइदा नभए पनि साना लगानीकर्तालाई भने समस्या पारेको छ । स्टकका अनुसार छ्याङ हाइड्रो पावरको शेयर रु १२८ मा खरीद बिक्री भइरहेको छ । हिमालयन पावर पार्टनरको रु २७४, खानीखोला हाइड्रो पावरको रु १०६ मा शेयर खरीद बिक्री भइरहेको छ । सो कम्पनीको शेयर गत वर्ष पनि रु २०५ बिक्री भएको थियो । यस्तै नेपाल हाइड्रो डेभलपमेन्टको रु १६५, न्यादी समूहको रु १६०, राधी विद्युत् कम्पनीको रु २३२, रैराङ हाइड्रोको रु १५५, रिडी हाइड्रो पावरको रु १२२, सानिम माइक्रोको रु ३१९, सिनर्जी पावरको रु ११८ र युनाइटेड मोदीको प्रतिकित्ता रु १६६ मा शेयर खरीद बिक्री भएको छ । शेयर बजारमा जलविद्युत् कम्पनीको शेयर नाजुक अवस्थामा नै छ । पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाले हकप्रद तथा बोनस शेयर वितरण गर्ने प्रक्रियालाई तीव्रता दिएका कारण पनि शेयर बजारमा दबाब परेको छ । शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर लगातार गिरावट भइरहँदा नेपाल धितोपत्र बोर्डले विभिन्न १० वटा जलविद्युुत् कम्पनीलाई गत आवमा साधारण शेयर बिक्रीका लागि अनुमति दियो । यस्तै शेयर बिक्रीको तयारीमा रहेका कम्पनीको संख्या ११ छन् । शेयर बजारको नियामक निकाय उक्त बोर्डले भने लगानीकर्ताले आफ्नै विवेक प्रयोग गरेर कुन कम्पनीको शेयरमा लगानी गर्ने भन्ने निक्र्योल गर्दा राम्रो हुने सुझाव दिएको छ । बजार घट्दैमा आत्तिने र बजार बढ्दैमा मात्तिने अवस्था नरहेको भन्दै विवेक प्रयोग गरेर शेयर खरीद गर्दा उपयुक्त हुने र बजारले नै मूल्य निर्धारण गर्ने भएकाले लगानीकर्ता नै जिम्मेवार बन्नुपर्ने बोर्डका प्रवक्ता नीरज गिरीको भनाइ छ । स्टकका अनुसार आज बजार २.९१ बिन्दुले घटेको छ । यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५४ बिन्दुले घटेर २५१.०८ बिन्दुमा पुगेको छ । आज कूल १६३ कम्पनीको पाँच लाख ७८ हजार ९३३ कित्ता शेयर रु १६ करोड ७७ लाख ३९ हजार ६९७ मा खरीद बिक्री भएको छ । आज तीन उपसमूहको शेयर बढ्दा सात उपसमूहको शेयर भने घटेको छ । बैंकिङ २.२६, होटल १७.१८, निर्जीवन बीमा २४.९५, उत्पादन ५.३६ अन्य २.४६, माइक्रोफाइनान्स ५.६१, बीमा २७.६१ बिन्दुले घटेको छ । यस्तै विकास बैंक ३.११, जलविद्युत् २.९८ र फाइनान्स समूहको शेयर ०.७८ बिन्दुले बढेको छ ।