प्रदेश ७ मा १० जनाको उम्मेदवारी, छ जना निर्विरोध
धनगढी, १० माघ (रासस) ः राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ७ मा १० जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालय डोटीका अनुसार अल्पसंख्यक वा अपाङ्गतर्फ नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा र नेपाली काँग्रेसका छत्रराज जोशी, दलिततर्फ नेकपा (एमाले)का चक्रबहादुर स्नेही र काँग्रेसका शेरीराम पार्कीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यसैगरी खुल्लातर्फ काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी, महिलातर्फ एमालेकी इन्दु कडरिया र कमलाकुमारी ओली, काँग्रेसकी तारादेवी भट्टले पनि आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख नन्दीराज ओझाले जानकारी दिनुभयो ।
खुल्ला र महिलातर्फ तीन÷तीन जनाको उम्मेदवारी परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुने देखिएको छ । यद्यपिको यसको आधिकारिक घोषणा हुन बाँकी रहेको छ ।
यसैगरी एक÷एक जना निर्वाचित हुने अल्पसंख्यक वा अपाङ्ग र दलिततर्फ दुई÷दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ सदस्य निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
डा. बाबुराम पोखरेल अब रहेनन्
काठमाडौं, पुस २३ । पूर्व सांसद डा बाबुराम पोखरेलको ६३ वर्षको उमेरमा निधन भएको छ । उनी भीएस निकेतन स्कुलको संस्थापक हुन । घरमै आराम गरिरहेका बेला बिहान श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लैजांदै गर्दा उनको निधन भएको हो । केही समय अघि सिंगापुरबाट उपचार गराएर फर्किएका पोखरेल लामो समयदेखि मधुमेह र मुटु रोगबाट पीडित थिए । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका पूर्वअध्यक्षसमेत रहेका पोखरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका मंगलबार बिहान ८ बजेदेखि भीएस निकेतन स्कूलमा राखिने प्याब्सनले जनाएको छ । तात्कालिन जनअधिकार फोरम लोकतान्त्रिकबाट समानुपातिक सांसद निर्वाचित पोखरेलका २ छोरा र एक श्रीमती छन् । पोखरेलको शव नर्भिक अस्पतालमा राखिएको छ । विस २०११ कात्तिक १० गते गोरखामा जन्मिएका पोखरेल चार दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा क्रियाशिल थिए ।
परिणाम सार्वजनिक नगर्न सरकारको अनुचित दवाव : वाम गठबन्धन
काठमाडौं, पुस २० । प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ । सो विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने काम आफ्नो ढंगले चाँडो गर्न आग्रह गरेको छ । यस्तै राष्ट्रियसभाको निर्वाचनका विषयमा पनि बैठकमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले आवश्यक गृहकार्य गरेर प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने बताउनुभयो । उहाँले राष्ट्रियसभाको निर्वाचनको मिति तोक्न सरकारले निर्वाचन आयोगसँग परामर्श गरी निर्णय गर्ने जानकारी दिनुभयो । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले नयाँ जनादेश आइसकेको अवस्थामा सत्ता हस्तान्तरणलाई ढिलाइ गर्ने तथा प्रतिनिधिसभाको समानुपातिकको परिणाम रोकाउने काम भएकामा आफूहरुले गम्भीर ध्यानाकर्षण गराएको जनाउनुभयो । उहाँले भन्नुभयो, “हामीले निर्वाचनअगावै प्रदेशको राजधानी र प्रमुखबारे निर्णय गर्न आग्रह गर्दा सरकारले सुनेन, अब सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने संवैधानिक र कानूनी काम सरकारले चाँडो पूरा गरोस्, अन्य दीर्घकालीन महत्वका निर्णय तथा सरुवा बढुवा नगरोस् भनेर स्पष्ट राखेका छौँ ।” उहाँले आयोगलाई सरकारले नै दबाब दिएर परिणाम रोकाएको आरोप लगाउनुभयो । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्दै सरकारले सत्ता हस्तान्तरणका लागि कुनै ढिलाइ आफूहरुलाई सैह्य नहुने अवगत गराएको जानकारी दिनुभयो । बैठकमा काँग्रेसका सभापति देउवा, बरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस नेताहरु विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौला, एमालेका उपाध्यक्ष रावल, नेताहरु सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र अग्नि खरेल, माओवादी नेताहरु श्रेष्ठ, रामबहादुर थापा बादल, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलगायत सहभागी हुनुहुन्थ्यो ।
पाँच वर्षमुनिका बच्चामा हुने रेटिनो ब्लाष्टोमा बारे जानौँ
काठमाडौँ, पुस १२ । के तपाईंले पाँच वर्षमुनिका बालबालिकाको आँखाको नानीमा अस्वाभाविक टल्कने थोप्लो, आँखा असामान्यरुपमा रातो भएको, बिस्तारै बाङ्गो अर्थात् डेडो हुँदै गएको देख्नुभएको छ ? कहिलेकाहीँ सामान्य समस्याले यस्ता लक्षण देखिएको भए पनि यो पाँचवर्षमुनिका बच्चालाई मात्र देखिने आँखाको पर्दामा हुने एक प्रकारको क्यान्सर रेष्टिनोब्लाष्टोमाको कारण पनि हुनसक्छ । पाँच वर्षमुनिका बालबालिकाका आँखामा हुने विभिन्न रोगमध्ये देखिने रेटिनोब्लास्टोमा पनि एक हो । तिलगंगा आँखा प्रतिष्ठानका आँखा क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णिकार स्थापितले यो रोग निकै कम मात्रा देखिए पनि यसबाट आँखाको ज्योति गुमेर आँखै फाल्नुपर्ने वा रोग पुरानो भएर ज्यानै जानसक्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “रेटिनोब्लास्टोमा जटिल रोग भए पनि समयमै पत्ता लगाउन सकेमा आँखाको ज्योति बचाउनाका साथै रोग निको पार्न पनि सकिन्छ ।” तिलगंगामा अघिल्लो वर्ष आएका ४० भन्दा बढी बच्चामा आँखाको क्यान्सर अर्थात् रेटिनोब्लाष्टोमा देखिएको थियो । बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र महाराजगञ्जका बाल नेत्र रोग विशेषज्ञ डा ज्योति श्रेष्ठका अनुसार सुरुवात्का दिनमा आँखामा यस्ता परिवर्तनहरु देखिन थाले पनि बच्चा स्वस्थ नै देखिन्छ, तर विस्तारै देख्नसक्ने क्षमतामा भने कमी आइरहेको हुन्छ । बच्चाको आँखा रातो हुँदा उनीहरुमा दुखाई हुने, चिडचिडावट हुने र झगडालु पनि हुनसक्छन तर त्यसबारे आमालाई वा परिवारका अरुलाई थाहा नै हुँदैन । त्यसै शुरुवाती दिनमा रोग पत्ता नलाग्दा उपचार गर्न ढिला भइसक्ने चिकित्सकको अनुभव छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका बाल नेत्रविशेषज्ञ डा सविना श्रेष्ठले फ्ल्यास क्यामेराले फोटो खिच्दा बच्चाको आँखाको नानीमा सेतो थोप्लो भए प्रष्ट देखिने भएकाले थाहा पाउन सजिलो हुने बताउनुभयो । उपचारमा ढिलाइ हुँदै जाँदा वा उपचार नभएमा नानीमा देखिएको सेतो भाग फैलिएर विस्तारै डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्यरुपमा ठूलो हुँदै जान्छ । यसरी आँखा बाहिर निस्किएपछि त्यसको असर (क्यान्सर) आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै मस्तिष्क, कलेजो, बोनम्यारो आदिमा फैलिएर अरु समस्या देखिन्छ । यसले बच्चाको ज्यान जोखिममा पर्ने डा श्रेष्ठले बताउनुभयो । अमेरिकामा हरेक २० हजार बच्चामध्ये एकजनामा यो रोग देखिन्छ । सबैभन्दा हाइटीका १० हजार बच्चामध्ये एकजनामा यस्तो समस्या देखिएको पाइएको छ । सबैभन्दा कम नेदरल्याण्डमा ३५ हजार बच्चामध्ये एकजनामा मात्र यस्तो समस्या देखिएको छ तर नेपालमा भने अहिलेसम्म यसबारे कुनै तथ्यांक राखिएको पाइएको छैन । चिकित्सकका अनुसार यो रोगको बाहिरी कारण नभएर वंशाणुगत कारणले देखिन्छ । परिवारका कुनै सदस्यलाई रेटिनोब्लाष्टोमा भएमा तीन पुस्तासम्मका बच्चालाई यो रोगको जोखिम रहन्छ । परिवारमा पहिले नै यो रोग देखिए गर्भावस्थामा पनि जाँच गर्न चिकित्सकले सुझाव दिने गरेका छन् । आँखाको भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआईजस्ता जाँचबाट यो रोग पत्ता लगाउन सकिन्छ । बच्चामा रेटिनोब्लाष्टामा शुरुकै अवस्थामा पत्ता लागेमा भने औषधि, लेजरप्रविधि वा केमो दिएर पनि निको पार्न सकिने डा स्थापितले बताउनुभयो । “रोग देखिएपछि केमोथेरापी दिएर उपचार गरिन्छ तर निकै ढिला भएमा वा आँखा बाहिर निस्केको अवस्थामा भने शल्यक्रिया गर्नुपर्छ”, उहाँले भन्नुभयो । आखाँको ट्युमर सानो वा पहिल्यै थाहा भएमा ठूलो हानि नहुने गरी लेजरजस्ता साधारण प्रक्रियाद्वारा उपचार गर्ने गरिन्छ । डा स्थापितका अनुसार रोग ढिला भइसकेपछि भने आँखाको डल्लो निकाल्ने तथा आँखा वरिपरिका भाग र जटिल हड्डी निकाल्न शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आँखाका ज्योति गुम्छ । काठमाडाँैका आँखाका प्रमुख अस्पताल जस्तोः बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र, तिलगंगा आँखा अस्पताल र नेपाल आँखा अस्पतालमा रेटिनोब्लाष्टोमाको उपचार हुन्छ । नेपालमा आँखाका सबै प्रकारको रोगका लागि राम्रो र सुलभ उपचार सेवा पाइने बताइन्छ । त्यसैले आफ्नो र आफ्ना साना नानीहरुको आँखाको जाँच हरेक छ महिनामा गर्ने बानी बसाल्न सके राम्रो हुन्छ । वर्षमा एकपटक भने अवश्य चिकित्सकलाई देखाउन बाल नेत्रविशेषज्ञ डा सविना श्रेष्ठको सुझाव छ ।
प्रदेशको राजधानी तोक्ने गृहकार्य अन्तिम चरणमा, यी हुन सिफारिस नाम
काठमाडौं, मंसिर २७ । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य अन्तिम चरणमा पुगेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले अस्थायी राजधानीको नामसमेत प्रस्ताव गरीसकेकाले सम्भवत बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने बताइएको छ । शहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्रकुमार पौडेल नेतृत्वको विज्ञ टोलीको प्रतिवेदनका आधारमा सातवटै प्रदेशको कार्यालय रहने स्थान, प्रदेशसभा सचिवालय, प्रदेशसभा हल, प्रदेश प्रमुखको कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रदेश मुख्यमन्त्रीको निवास एवं प्रदेश मन्त्रालयको कार्यालय रहने स्थानको पहिचान गरिसकेको बताइएको छ । अस्थायी राजधानीको रुपमा प्रस्ताव गरिएका नाम प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को काठमाडौं उपत्यका, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को वुटवल वा दाङको लमही, प्रदेश नं ६ को सुर्खेत प्रदेश नं ७ को कैलाली वा डोटी
लगातार तीनपटक विजयी मन्त्री प्रभुु साहलाई ५१ किलोकोे माला
रौतहट, मंसिर २६ । निर्वाचन क्षेत्र नं. ३ बाट लगातार तेस्रो पटक जित हात पार्न सफल नेकपा माओवादी केन्द्रका मन्त्री प्रभुु साहलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको छ । वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतअन्तरले विजयी हुुनुुभएका उहाँलाई कटहरियाका बसिन्दाले ५१ किलो बराबरको माला लगाएर स्वागत गरेका हुन् । नेपाली काँग्रेसका उम्मेदवार सुुनिलकुुमार यादवलाई प्रतिनिधिसभाको निर्वाचनमा झण्डै १० हजारको फराकिलो मतअन्तरले पराजित गरी मन्त्री साह विजयी हुनुभएपछि स्थानीय वाम गठबन्धनका युुवा संगठनले उहाँको स्वागतमा सांंस्कृतिक कार्यक्रम समेत गरेका थिए । नवनिर्वाचित सांसद एवं बिनाविभागीय मन्त्री साहले यो ऐतिहासिक जित पूरै क्षेत्र, जिल्ला र समग्र देशकै जित भएको बताउनुुभयो । राजनीतिक स्थिरता, स्थायी सरकार र विकासको निमित्त वाम गठबन्धनलाई मत दिएका सबै मतदाताप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुुभएको थियो । सो अवसरमा प्रदेशसभास सदस्यका लागि ‘क’ बाट निर्वाचित वाम गठबन्धनकै नागेन्द्र यादव, ‘ख’ बाट निर्वाचित कुुन्दन कुुशवाहालाई समेत स्वागत गरिएको थियो । मन्त्री साहले दुुईपटक संसदीय समितिका सभापति, कानून मन्त्री, भूमिसुुधार मन्त्री, शहरी विकास मन्त्रीको नेतृत्व समेत सम्भालिसक्नुभएको छ ।
नेपाल युएइसँग ७ विकेटले पराजित
काठमाडौं, मंसिर २० । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सार्तौ चरणको पहिलो खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको छ । आबुधावीको शेख जायेद रंगशालामा बुधबार भएको खेलमा नेपालले दिएको २ सय २२ रनको लक्ष्य युएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। युएईको जितमा गुलाम सब्बिरले नटआउट ८१ रनको योगदान गरे। उनले १ सय १६ बलमा ८ चौका प्रहार गरे। मोहमद उस्मानले नटआउट १७ रन जोडे। त्यसअघि ओपनर रोहन मुस्ताफाले ६२ रन बनाए। उनले ७१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र शरद भेषावकरले १–१ विकेट लिए। युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन जोड्यो।नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ८१ रन जोडे। उनले ९५ बलमा ५ चौका प्रहार गरेका थिए।
शिवपुजनको रिटमा सर्वोच्चद्वारा आयोगको निर्णय सदर, उम्मेदवारी खारेज
काठमाडौं, मंसिर २० । सर्वोच्च अदालतले शिवपुजन राय यादवले उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुछ दायर गरेको रिटमा आयोगको निर्णयलाई सदर गरेको छ । न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको इजलासले नेकपा माओवादी केन्द्रबाट सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय बुधबार सदर गरेको छ। मतदानको अघिल्लो दिन यस्तो आदेश दिएको हो। आयोगमा परेको उजुरीका आधारमा आफ्नो उम्मेदवारी खारेजी भएपछि रायले सर्वोच्चमा मंसिर १२ गते रिट दर्ता गरेका थिए। उक्त रिटमा मंगलबार सुनुवाई गर्दै सर्वोच्चले बुधबारका लागि निर्वाचन आयोगलाई छलफलमा बोलाएको थियो। आयोगसँग छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि राय उम्मेदवार हुन नपाउने भएका हुन्। कूटनीतिक राहदानी दुरुपयोग गरेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका रायको उम्मेदवारी निर्वाचन आयोगले मंसिर ९ गते खारेज गरेको थियो। राय विरुद्ध सर्लाही क्षेत्र नम्बर ४ कै स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंह र अर्का स्वतन्त्र उम्मेदवार अनिलकुमार सिंहले आयोगमा गत कात्तिक १९ गते उजुरी दिएका थिए।
गुल्मीमा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ घाइते
गुल्मी, कात्तिक ३० । गुल्मीमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । अरु १३ जना घाइते भएका छन् । बुधबार राति मलामी गएर तम्घास फर्किँदै गरेका मानिस चढेको लु १ ज १५२१ नम्बरको जिप रेसुङ्गा नगरपालिका–४ अर्खलेमा दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुको वाडगंगा नगरपालिकाका ५५ वर्षका रुद्रबहादुर डेगाको ज्यान गएको जिल्ला प्रहरी ट्राफिक कार्यालय गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेको पाल्पामा उपचार भइरहेको छ । अरु ७ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उकालोमा ब्रेक फेलभई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि गम्भीर घाइते छन् ।
मेरा शैक्षिक र राजनीतिक गुरु महरा सरसँग कुनै द्वन्द्व छैन : पुन
दाङ, कात्तिक २२ । नेकपा माओवादी केन्द्रका प्रभावशाली दुई नेताले आफूहरुबीच कुनै किसिमको द्वन्द्व नभएको प्रष्ट पारेका छन । केही सञ्चारमाध्यमले माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र वर्षमान पुनबीच पछिल्लो समयमा द्वन्द्व चर्किएको खबरहरु प्रकाशन प्रचारण गरेपछि दुबै नेताले त्यसको खण्डन गरेका छन् । नेता महराले यो बामपन्थीहरुको मेलमिलाप देख्न नसक्नेहरुले फैलाएको हल्ला भएको टिप्पणी । ‘केही मिडियाले वर्षमान जी र म बीच अन्तरद्धन्द्ध भएको प्रचारबाजी गरेका छन् तर त्यो अत्यन्त कपोकल्पित र भ्रमात्मक हो’, महराले भने, ‘अझ यसो भनौं कि पार्टीभित्रको आपसी मेलमिलाप तथा समग्र बामपन्थी मिलेर बसेको देख्न नचाहानेहरुको हल्ला मात्रै हो ।’ केही मिडियाहरुले वर्षमानसँगको द्धन्द्धका कारण रोल्पा छोडेर महरा दाङबाट चुनाव लड्न लागेको प्रचार गरिरहेका छन । दाङ क्षेत्र नं. २ बाट वाम गठबन्धनको सहमतिमा आफूले उम्मेदवारी दिएको महराले बताए । पुर्खेउली घर रोल्पा भए पनि आफू एक प्रकारले दाङवासी पनि भएको बताउदै नेता महराले यो पटकको प्रतिनिधि सभाका लागि आफू दाङलाई केन्द्रविन्दु बनाएर राजनीति गरिरहेको र सोही अनुसार दाङबाट उम्मेदवारी दिएको दावी गरे । दाङको विकासको सन्दर्भलाई जोड्दै उनले दाङलाइ केन्द्रविन्दु बनाएर दाङदेखि ढोरपाटन र दाङदेखि रारा जोडेर पर्यटनको माध्यामबाट पाँच नम्बर प्रदेशलाई समृद्ध बनाउने आफ्नो मुख्य कार्यभार भएको बताए । त्यसैगरी, नेता वर्षमान पुनले पनि आफ्ना गुरु र सहकर्मी महरासंग आफ्नो कुनै किसिमको द्वन्द्व नरहेको बताएका छन । पुनले आफू र महरालाई जोडेर आएका सबै समाचारहरु कपोकल्पित र भ्रामक भएको बताए । पुनले भने, ‘नेता महरा मेरा शैक्षिक र राजनीतिक गुरु हुनुहुन्सछ । उहाँसँग मेराे कुनैपनि किसिमकाे द्वन्द्व छैन ।केही मिडियाहरुले मिलेर बसेका नेताहरुबीच द्वन्द्व गराउने षड्यान्त्र गरेका छन। त्यस्ता भ्रममा नलाग्न सबैलाई अनुरोध गर्रेदछु ।’ केही अनलाइनले मंगलबार महरा रोल्पाको प्राविधिक शिक्षालय उद्घाटन गर्न गएको तर सो कार्यक्रम गृहजिल्लामै रहेका पुन दुई नेताबीचको पछिल्लो समय बढेको द्वन्द्वका कारण उपस्थित नभएको दावी गरेका थिए । (फाइल फोटो)
निर्वाचन लोकतन्त्र र कम्युनिष्ट शासनबीचको जनमत संग्रह : खाँड
काठमाडौं, कात्तिक २२ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पूर्ण बहुमत ल्याउने दाबी गरेको छ । आसन्न निर्वाचनका लागि काँग्रेसको मिडिया सेन्टर उद्घाटन कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दुवै तहका प्रत्यक्ष निर्वाचनमा मुलुकभर सबैभन्दा बढी काँग्रेसले मात्र उम्मेदवारी दिएकाले बहुमत ल्याउने बताए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा १५४ र प्रदेश सभाको प्रत्यक्षतर्फ ३३० सिटमा ३१० स्थानमा उम्मेदवारी दिएको अवगत गराउँदै पार्टीका नेता खाँडले भने, “तसर्थ काँग्रेसले प्रत्यक्षतर्फको निर्वाचनमा ५५ प्रतिशत र समानुपातिक निर्वाचनतर्फ ४५ प्रतिशत मत ल्याउने निश्चित छ ।” पार्टी केन्द्रीय सदस्य एवं काँग्रेस प्रचारप्रसार समन्वय उपसमितिका संयोजक समेत रहेका नेता खाँडले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ६०÷४० प्रतिशतको भागबण्डा गरेर उम्मेदवारी दिई दुईतिहाई बहुमत ल्याउछु भन्नु हास्यास्पद भएको बताए । निर्वाचन लोकतन्त्रलाई स्थायित्व गर्ने र कम्युनिष्ट शासन स्थापना गर्नेबीचको जनमत संग्रह भएको धारणा व्यक्त गर्दै नेता खाँले भने, “स्वतन्त्र पत्रकारिताका लागि पनि मुलकमा लोकतन्त्र अपरिहार्य छ ।” पार्टीले निर्वाचनको तयारीका लागि केन्द्रमा बुधबार आधुनिक मिडिया सेन्टर स्थापना गरेको छ । साथै एक दुई दिनमै प्रदेश नं १ को इटहरीमा, प्रदेश नं दुईको जनकपुर र विरगंजमा, प्रदेश नं ३ को चितवनमा, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को वुटवल र नेपालगञ्जमा, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढीमा स्थापना गर्ने जनाएको छ । कार्यक्रममा प्रचार प्रसार उपसमितिका सहसंयोजक बद्री पाण्डेले संविधानले व्यवस्था गरेको बहुलवाद र लोकतान्त्रिक व्यवस्था उल्ट्याउन आसन्न निर्वाचनमा कम्युनिष्ट दलहरुले गठबन्धन गरेको टिप्पणी गर्दै काँग्रेसले ढृढताका साथ संविधानको रक्षा गर्ने बताए । निर्वाचनमा पार्टीको प्रचार प्रसारका लागि काँग्रेसले ताप्लेजुङ, पाँचथर र सोलुखुम्बुबाट चुनावी आमसभा यही कात्तिक २५ गतेदेखि थालनी गर्ने र आमसभामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ । कार्यक्रममा पार्टी नेता एवं वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा नेताहरु सुरेन्द्र पाण्डे, मानबहादुुर विश्वकर्मा, डा डिला संग्रौलालगायत उपस्थित थिए । रासस
अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा
बेइजिङ, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुगेको छ । उनी बुधबार अपरान्ह चीनको राजधानी बेइजिङ पुगेको जनाएको छ । चीनको राजकीय भ्रमणका क्रममा उनी आज बुधबार दक्षिण कोरियाबाट चीन पुगेको हो । एसिया भ्रमणका क्रममा उनी गत आइतबार जापान पुगेको थियो । गत जनवरीमा उनी अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक चीन भ्रमणमा आएको हो । दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति भएको हो । उनको यो तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा रहेको छ ।
ड्युटीमा बसेका हवल्दारको मृत्यु
भक्तपुर, कात्तिक १७। भक्तपुरको मध्यपुर थिमि प्रहरी वृत्तमा कार्यरत एक प्रहरी हवल्दारको गएराति ११ बजे मृत्यु भएको छ । कार्यालयमै ड्युटीका क्रममा एक्कासि ढलेका ४३ वर्षीय लालबाबु राउतको मृत्यु भएको वृत्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । ढलेलगत्तै गठ्ठाघरस्थित नागरिक अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । वीरगञ्ज पर्सा निवासी राउतको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । रासस
दोस्रो चरणको चुनाबमा यी क्षेत्र विशेष
काठमाडौं, कात्तिक १७ । चुनाब भन्ने वित्तिकै त्यो आफै विशेष हुने गर्छ । तर कहीले कहीँ उम्मेदवारको लोकप्रीयता,आचरण र व्यवहारले त्यो अझै विशेष हुने गर्छ । दोस्रो चरणमा मंसिर २१ गते प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ क्षेत्रमा निर्वाचन हुँदैछ । यीमध्ये केही क्षेत्र धेरै चर्चामा छन् । शीर्ष र केही चर्चित नेताहरुको उम्मेदवारीका कारण । दोस्रो चरणका प्रतिनिधिसभा निर्वाचनमा चर्चामा रहेका क्षेत्र: चितवन ३ यति बेला नेपाली राजनीतिको चर्चाको शिखरमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन । उनको उम्मेदवारीका कारण चितवन चर्चित छ । उनी वाम गठबन्धनका साझा उम्मेदवार हुन । उनीका प्रतिस्पर्धी कांग्रेसको समर्थनमा राप्रपाका विक्रम पाण्डे छन । झापा ३ यस क्षेत्रमा कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङदेनले उम्मेदवारी दिनुभएको छ । लिङदेनलाई वाम गठबन्धनको समर्थन छ । अरु ठाउँमा कांग्रेसले राप्रपासँग तालमेल गरेपनि यहाँ सिटौला र लिङदेनले छाड्न नमानेपछि राप्रपा र वाम गठबन्धनको तालमेल भएको हो । मोरङ ६ एमालेका चर्चित नेता लालबाबु पण्डित र कांग्रेसका डा शेखर कोइराला दुवैले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन । धनुषा ३ यस क्षेत्रमा कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले प्रतिस्पर्धा गर्दै छन । काठमाडौं १ यहाँ विवेकशील साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्र, कांग्रेसबाट प्रकाशमान सिंह र वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवार छन । यो क्षेत्रलाई कांग्रेसको प्रभाव भएको मानिन्छ । काठमाडौं २ यस क्षेत्रमा वाम गठबन्धनबाट एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेसबाट दीपक कुईंकेल र विवेकशील साझा पार्टीबाट डा. सूर्यराज आचार्य उम्मेदवार छा । काठमाडौं ४ यस क्षेत्रबाट कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले उम्मेदवारी दिए छन । उनसँग वाम गठबन्धनबाट एमालेका युवा नेता राजन भट्टराई प्रतिस्पर्धा गर्दै छन । काठमाडौं ५ यहाँ वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसबाट डा प्रकाशशरण महत र विवेकशील साझा पार्टीबाट उज्जवल थापा उम्मेदवार छन । सप्तरी २ यहाँ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनबाट माओवादीका उमेश यादव प्रतिस्पर्धामा छन । झापा १ वाम गठबन्धनबाट माओवादीका राम कार्की र कांग्रेसबाट युवा नेता विश्वप्रकाश शर्माले यो क्षेत्रबाट उम्मेदवारी दिएका छन । गुल्मी २ यस क्षेत्रमा वाम गठबन्धनबाट एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबिच प्रतिस्पर्धा हुँदैछ ।
अर्का धर्मगुरुको कर्तूत : अभिनेत्रीसँगकाे आपत्तिजनक अवस्थाको भिडियो सार्वजनिक
काठमाडौं, कात्तिक ११ । धर्मगुरुको भेष धरी कामलीला गर्ने स्वामीहरूको कर्तूत आजकल भटाभट सार्वनजिक भइरहेका छन् । भारतको कर्नाटकमा एक कथित स्वामीको आपत्तिजनक अवस्थाको भिडियो सार्वजनिक भएको छ । समाचारहरूमा आएअनुसार, स्वामीले मठभित्रै एक महिलासँग सम्बन्ध बनाइरहेका थिए । त्यहाँ उपस्थित कुनै एक मानिसले यसको भिडियो बनाएर लीक गरिदिएको थियो । स्वामीको नाम नन्जेश्वर हो र उससँग भएकी महिला एक अभिनेत्री हुन् । भिडियो कहिले खिचिएको थाहा हुन सकेको छैन तर यस मामिलामा आरोपित स्वामीलाई प्रहरीले पक्राउ गरेको छ । दयानन्द उर्फ नन्जेश्वर स्वामीले मठलाई दिइएको जमीनको दुरुपयोग गरेको समेत आरोप छ । यी स्वामीको नाम यसअघि पनि महिलाहरूसँग जोडिएकाृ बताइएको छ । नन्जेश्वर स्वामी पर्वतराज शिवाचार्यका छोरा हुन् । शिवाचार्य चाहिँ कर्नाटकको मदेवनपुरा मठका अध्यक्ष हुन् । सन् २०११ मा नन्जेश्वर स्वामी दयानन्द मठका अध्यक्ष बन्न चाहन्थे तर यसका लागि समर्थन पाएनन् ।
नेपाल दुई ढुंगाबीचको तरुल हैन, समृद्ध देशबीचको हीरा हो- महरा
काठमाडौँ, १९ असोज(रासस)ः व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको परराष्ट्र नीतिमा समयानुकूल परिमार्जन तथा सुधारका लागि विशेष छलफल सुरु गरेको छ । छलफलमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले नेपालमा ती मुलुकको स्वार्थ र नेपालको स्वार्थ विषयमा प्रष्ट पार्नुभएको थियो । सबै राजदूतले ती मुलुकले नेपालमा शान्ति र स्थायित्व होस् तथा नेपालका कारण आफूहरूलाई सुरक्षा धम्की नरहोस् भन्ने चाहेको जानकारी दिए । छलफलमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल विगतमा भनिए जस्तो दुई ढुंगाको तरुल नभई अब दुई समृद्ध ठूला देशको बीचमा रहेको एउटा हीरा भएको विचार व्यक्त गर्दै आर्थिक समृद्धि नै अहिलेको मुख्य विषय भएको बताउनुभयो । परराष्ट्रमन्त्री महराले भन्नुभयो, “हामी सबै छिमेकीलाई मित्र बनाउन चाहन्छौँ, कसैको दुश्मन बन्न चाहँदैनौँ, हामी राष्ट्रिय स्वार्थका लागि सबैसँग सहयोग लिएर समृद्ध मुलुक बनाउन चाहन्छौँ ।” प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराईले राष्ट्रिय स्वार्थका लागि विश्वसनीय तरिकाले परराष्ट्र नीति अबलम्वन गर्नुपर्ने बताउनुभयो । उहाँले सत्तामा हुँदा एउटा र बाहिर हुँदा अर्को नीति अवलम्वन गर्न नहुने बताउनुभयो । बैठकमा उहाँले प्रधानमन्त्रीको सन्देशसमेत पढेर सुनाउनुभएको थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको परराष्ट्र नीति राष्ट्रिय स्वार्थका लागि हुनुपर्छ, दलीय स्वार्थका लागि होइन भन्नुभयो । पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, डा रामशरण महत, सुजाता कोइराला र महेन्द्रबहादुर पाण्डेले मुलुकको आर्थिक समृद्धि नभएसम्म अन्तर्राष्ट्रिय रुपमा प्रभाव र विश्वास बढाउन नसकिने बताउँदै आर्थिक समृद्धिमा लाग्न आग्रह गर्नुभयो । उहाँहरूले दुवै छिमेकीलाई उत्तिकै महत्व दिएर राष्ट्रिय स्वार्थका साथ परराष्ट्र नीति अबलम्वन गर्नुपर्ने बताउनुभयो । भारतका लागि नेपाली राजदूत उपाध्यायले विभिन्न विषयमा नकारात्मक टिप्पणी गर्नुभन्दा पनि यथार्थ, वस्तुपरक र आपसी हितका विषयलाई प्राथमिकता दिएर दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन जरुरी रहेको बताउँदै परराष्ट्र मामिलामा सबै राजनीतिक दल एकमत हुनुपर्ने बताउनुभयो । चीनका लागि नेपाली राजदूत पौड्यालले नेपालले चीनको प्रगतिबाट पाठ सिकेर आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउँदै आन्तरिक विषयलाई समाधान गर्दै चीनलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अमेरिकाका लागि नेपाली राजदूत डा कार्कीले अमेरिका नेपालको प्रजातन्त्र र समृद्धिका पक्षमा निरन्तर सहयोग गर्न तयार रहेको आफूले पाएको बताउनुभयो । समितिका सभापति जुठबहादुर खड्गीले चरणबद्ध छलफलपछि आएको निष्कर्षलाई सरकारसमक्ष पेश गरिने जानकारी दिनुभयो । छलफलमा समितिका सदस्य, परराष्ट्र विज्ञलगायतको सहभागिता रहेको परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले बताउनुभयो । –––