ललितपुर महानगरपालिकामा माओवादी उम्मेदवारका प्रतिबद्धताः जेष्ठ नागरिक आवास गृह, एक वडा एक सुपथ मूल्यदेखि नि:शुल्क वाईफाईसम्म
ललितपुर, वैशाख २४ । नेकपा माओवादी केन्द्रका तर्फबाट ललितपुर महानगरपालिकामा दिनेश महर्जन र हसिना शाक्य मेयर र उपमेयरका उम्मेदवार बनेका छन् । जिल्लाका दक्षिणी क्षेत्रमा बलियो पकड भएको दावी गरेको माओवादी केन्द्रले आफ्ना उम्मेदवारले विजय हासिल गर्ने दावी समेत गरेको छ ।
निर्वाचनमा खटिएका उम्मेदवारहरु संघर्शशील र महानगरपालिको समग्र विकासका लागि लामो समयदेखि योगदान दिँदै आएकोले जीत सुनिश्चित भएको माओवादी केन्द्र ललितपुरका जिल्ला इन्चार्ज हरि दाहालले बताए ।
“एकातिर पार्टीको जनाधार राम्रो छ, अर्कोतर्फ हाम्रा उम्मेदवार समेत इमान्दार र संघर्षशील छन्” उनले भने ।
अर्को कुरा माओवादी केन्द्रले नेवार समुदायबाट महर्जन थरका उम्मेदवार अगाडि सारेकोले पनि जित सुनिश्चित हुने उनीहरुको दावी छ । ललितपुर महानगरपालिकामा ६५ प्रतिशत नेवार समुदायको बसोबास रहेकोमा अधिभन्दा बढी महर्जन थरको बसोबास रहेकोले मओवादीको जित सुनिश्चित छ भएको माओवादी जिल्ला अध्यक्ष राजकाजी महर्जनले बताए ।
को हुन त उम्मेदवारहरु ?
दिनेश महर्जन, मेयरका उम्मेदवार, ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जन ’दिपेश’ जनयुद्धका शुरुवाती दिनबाटै माओवादी आन्दोलनमा जोडिएका हुन् । हाल पार्टीको पोलिटव्यूरो सदस्य रहेका उनी ललितपुर महानगरपालिका इन्चार्जको भूमिकामा छन् । युद्धकालमा माओवादी जनसेनाको व्रिगेड सह कमाण्डर रहेका उनी उपत्यकामा खटिएको एसटिएफ अर्थात स्पेशल टास्क फोर्सका सहकमाण्डर भएका थिए । ललितपुर महानगरपालिका २७ सुनाकोठीका बासिन्दा महर्जन मानसिक अस्पतालका पूर्व अध्यक्ष हुन् । त्यसैगरी शान्ति समिति ललितपुरका पूर्व संयोजक उनी नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।
हसिना शाक्य, उपमेयरका उम्मेदवार, ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिका उपप्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार हसिना शाक्य राजनीतिमा भन्दा धेरै सामाजिक काममा सक्रिय छिन् । दर्जन बढी सामाजिक संघ संस्थाहरुमा क्रियाशील उनी २०६४ सालदेखि माओवादी राजनीतिमा सक्रिय भएकी हुन् । ललितपुर महानगरपालिका १६ कि वासिन्दा हसिना माओवादी केन्द्रको साधारण सदस्य मात्र हुन् । उनी वौद्ध बिहार संघकी अध्यक्ष,ललितपुर व्लड डोनर एशोसिएसनको उपाध्यक्ष, जय भीमसेन सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष, पटक पटक टोल सुधार समितिको अध्यक्ष, १६ नं. वडा स्वास्थ्य कार्यान्वयन समितिको टोल परिचालक रहेर सामाजिक काममा क्रियाशील रहेकी छिन्। त्यसैगरी ललितपुर महानगरपालिकाकै १६ नं. वडा नागरिक मञ्चको संयोजक रहेकी उनी अर्थशास्त्रमा स्नातकोत्तर हुन् ।
के छन् प्रतिबद्धता ?
माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको समग्र विकासका लागि ८ वटा क्षेत्रमा प्रतिबद्धता सार्वजनिक गरेको छ । वातावरणीय सुधार, पूर्वधार विकास, शिक्षा, स्वस्थ्य, सूचना प्रविधि तथा सार्वजनिक सेवा, सामाजिक सुरक्षा, सांस्कृतिक तथा पर्यन विकास, युवा विकास तथा रोजगार र विपत व्यवस्थापनलगायतका क्षेत्रमा माओवादी उम्मेदवारहरुले प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
हेर्नुस् प्रतिबद्धता बिस्तृतमा
तोकिएको समयमै चुनाव हुनुपर्ने– नागरिक समाज
बिर्तामोड, वैशाख १८ । निर्धारित मितिमै स्थानीय तहको चुनावको सुनिश्चितताको लागि देशव्यापीरुपमा दवाब सिर्जना गर्न आमनागरिक समाजमा झापाका नागरिकले अपिल गरेका छन् । झापाका विभिन्न सामाजिक संस्था तथा नागरिक अगुवाहरुले सोमबार सबै राजनीतिक दल, नेपाल सरकार र निर्वाचन आयोग समक्ष तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न माग गरेका छन् । संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको झापाली नागरिक समाजसँगको छलफलमा सहभागीले निर्धारित मितिमै चुनाव गर्न माग गर्दै त्यसका लागि नागरिक तहबाट सशक्त दवाबको आवश्यकता औल्याएका हुन् । छलफलको निष्कर्ष अनुसार झापाली नागरिक समाजको तर्फबाट उनीहरुले सार्वजनिक अपिल जारी गर्दै मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नरहेको भन्दै त्यस्तो माग गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमले स्थानीय निर्वाचनबारे अन्यौलसँगै नागरिकमा निराशा बढाएको उनीहरुले ठहर गरेका छन् । ‘चुनाव सार्ने र नगर्ने बाटोमा देशलाई लगियो भने गम्भीर राजनीतिक दुर्घटना निम्त्याउँछ’– अपिलमा भनिएको छ – ‘जनतालाई भोट हाल्ने अवसर दिनुको सट्टा अवसर खोस्नलाई प्रयास भएको देखिनु दुःखद् हो ।’ वर्तमान परिस्थितिमा मुलुकका सबै दलहरुले सहमति र सहकार्य गरी उचित वातावरण बनाएर राजनीतिक संस्कार र असल लोकतान्त्रिक अभ्यासका माध्यमबाट जनताको मताधिकारको सुनिश्चितता र सम्मान गर्न झापाली नागरिकले आग्रह गरेका छन् । नेपाल बार एसोसिएसन झापाका उपाध्यक्ष पदम डाँगी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष तारामणि सापकोटा, पूर्वाञ्चल मानव अधिकार रक्षक परिषद्का सहसंयोजक विष्णु खरेल, मानव अधिकार सञ्जाल झापाका संयोजक लालराज सुवेदी, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य रुपक खनाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का केन्द्रीय उपाध्यक्ष कुमार भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष तेजप्रसाद चम्लागाई, राष्ट्रिय उपभोक्ता मञ्च का जिल्ला अध्यक्ष मदनगोपाल सुब्बा, मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख उमानाथ ओलीले उक्त सार्वजनिक अपिलमा हस्ताक्षरसहित सबै नागरिकलाई समयमा नै चुनाव गराउन दवावका लागि जुट्न आह्वान गरेका छन् । त्यस्तै अन्तरपार्टी महिला सञ्जालकी जिल्ला उपाध्यक्ष गोमा भट्टराई, वीरता जेसीजका अध्यक्ष सञ्जु भारती, वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराई, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, महिला उद्यमी संघकी जिल्ला अध्यक्ष गोमा भट्टराई, अधिवक्ता नारायणप्रसाद पौडेल, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, सहसचिव केशव भट्टराई लगायतले समेत अपिलमा हस्ताक्षरसहित अधिकार रक्षाका लागि देशव्यापीरुपमा नागरिक समाजले दवाब सिर्जना गर्नुपर्नेमा जोड दिए । दवाबका लागि सार्वजनिक अपिल, हस्ताक्षर संकलन, कतिपय क्षेत्रमा सांकेतिक मतदान, धर्ना, जुलुस लगायतका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त हुने नागरिक समाजका प्रतिनिधिहरुले औल्याएको संवाद समूह सचिवालयका संयोजक अभिवक्ता दीपेन्द्र भट्टराईले बताए । मुलुकमा निर्वाचनको विकल्प नरहेको जनाउँदै उनीहरुले निर्वाचन नचाहने दल र नेतालाई नागरिकले खबरदारी गर्नुपर्ने कुरामा जोड दिएको संवाद समूह सचिवालयका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिए । मुलुकको ठूला परिवर्तनमा झापाको भूमिका निर्णायक रहेको तथा राष्ट्रिय राजनीतिमा निर्णायक तहमा पनि झापाकै नेताहरु रहेको हुनाले झापाबाटै नागरिक समाजले सशक्त दवाब सिर्जना गर्न सके राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउन सकिने सहभागीको निष्कर्ष थियो ।
एसइई परीक्षार्थीका लागि ‘हवाइट हाउस एसएलसी प्रिन्सेस २०१७’
काठमाडौं, वैशाख १६ । एसइइ परीक्षा दिएर बसेका युवतीहरुको लागि ‘ह्वाट हाउस एसएलसी प्रिन्सेस २०१७’ मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस्, मिस टिन कलेज कार्यक्रमको निरन्तरतासँगै सिजन मिडिया प्रा.लि.ले विगत ८ वर्षदेखि निरन्तररुपमा गर्दै कार्यक्रमको पहिलो अडिसन शनिबार काठमाडौंको कमलादीस्थित सिजन मिडियाको कार्यालयमा ४० जना प्रतियोगीहरु छनौट गरिएको छ । यसैवर्ष एसइइ परिक्षा दिएर बसेका छात्राहरुको सहभागिता रहने छ उक्त प्रतियोगितामा काठमाडौं र नेपाल भरवाट एसइइ परिक्षा दिएका छात्राहरुको लागि मध्यनजर गरी उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोहीअनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले साथै यसले उनीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग र उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रमको निरन्तरता दिन लागिएको बताउँछन्, सस्थाका प्रबन्ध निर्देशक प्रदीपराज वन्त । उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई २०७४ वैशाख १७ गते आइतबारबाट डेढ महिनासम्मको लामो अवधिको प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा पौडी, शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइने छ । साथै उच्च शिक्षाको लागि कलेजले लिने इनट्रान्स परिक्षाको लागि तयारी कक्षाहरु पनि अध्यापन गराइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, बाल आश्रम, वृद्धाश्रम आदि मिडिया भिजीट ,चन्द्रागिरि भ्रमण, काठमाडौं फन भ्याली भ्रमण, कल्चरल भिजिट, कलेज भिजिट र हस्पितालिटी सम्बन्धि जानकारी प्रदानको लागि एकदिनको नगरकोट वा दामन भ्रमण पनि गराइने छ । साथै विभिन्न कलाकारहरुसँगको अन्तरक्रियाको पनि कार्यक्रमहरु रहने छ । समाजसेवा अन्तर्गत रक्तदान कार्यक्रम, बागमति सरसफाई कार्यक्रम, फुटसल प्रतियोगितालगायत विभिन्न अनय विधाहरुमा पनि आन्तरिक प्रतिष्पर्धा हुनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्ने भएको छ । असारको पहिलोे साता उत्तm प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले ‘एसएलसी प्रिन्सेस २०१७’ को ताज उपाधि सहित नगद रु ५० हजार र उच्च शिक्षामा २ लाखबराबरको छात्रावृत्तिका साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः ३० हजार र २० हजार नगद तथा उच्च शिक्षामा १ लाखबराबरको छात्रावृत्ति अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यसबाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिने छ ।
१ वर्षसम्म लोकसेवामा पदपूर्ति रोकिने व्यवस्था निश्चित
काठमाडौँ, वैशाख १४ । सरकारले ८३ हजार कर्मचारीलाई लक्षित गरी स्वेच्छिक अवकाशको प्याकेज ल्याउने भएको छ । निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नुपूर्व सरकारले स्वेच्छिक अवकाशको प्याकेज ल्याउने तयारी गरेको हो । पुराना र उमेर बढी भएका कर्मचारीलाई विदाइ गरी नयाँ र फ्रेस जनशक्ति प्रवेश गराउने उद्देश्यका साथ स्वेच्छिक अवकाशको प्याकेज ल्याउन लागिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । कर्मचारी समायोजन गर्ने उद्देश्यले तयार पारिएको कर्मचारी समायोजनसम्बन्धी विधेयकमा स्वेच्छिक अवकाशको व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को विधेयक समितिले केही दिनअघि मात्रै स्वीकृत गरेको सो विधेयकलाई सामान्य प्रशासन मन्त्रालयले मंगलबार व्यवस्थापिका संसदमा दर्ता गरेको छ । समायोजन विधेयकमा कर्मचारी भर्ना एक वर्ष रोकिने व्यवस्था गरिएको छ । संविधानको धारा ३०२ ले सरकारी सेवाका कर्मचारीलाई संक्रमणकालीन अवस्थामा राखेको छ । ऐन लागू भएपछि एक वर्षसम्म सरकारी सेवाका सबै पदमा खुला र बढुवाद्वारा गरिने सबै प्रकारका पदपूर्ति रोक्ने व्यवस्था गरिएको छ । यसअघि लोकसेवा आयोगले भर्ना प्रक्रिया नरोक्न सरकारलाई सुझाएको थियो । यद्यपि, लोकसेवा आयोगको सुझाव संविधानको धारा ३०२ को मर्मविपरीत रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले भर्ना प्रक्रिया एक वर्षलाई रोक्ने गरी कानुनी व्यवस्था गर्न लागेको हो ।
कैलालीका १० तहमा एमाले उम्मेदवारकाे टुंंगो
लोकेश धामी कैलाली, बैशाख ११ । नेकपा एमालले कैलालीका १३ मध्ये १० वटा स्थानीय तहमा स्थानीय तहको लागि प्रमुख र उपप्रमुखको उम्मेदवार तय गरेको छ । एमाले प्रदेश नम्बर सातको बैठकले स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो । धनगढी उपमहानगरपालिका तथा गोदावरी नगरपालिका र लम्की–चुहा नगरपालिकामा उम्मेदवारको टुड्डो लाग्न बाँकी रहेको एमाले प्रदेश समितिका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए । धनगढी उपमहानगरपालिकामा उम्मेदवार एमाले स्थानीय समितिले छान्ने छ । कैलालीका बाँकी दुई नगरपालिकामा केही प्राविधिक कुरा मिल्न बाँकी रहेको उनले बताए । एमालेले टीकापुर नगरपालिकामा प्रमुखमा तपेन्द्र रावल तथा उपप्रमुखमा कमला केसीलाई उम्मेदवार बनाएको छ । भजनी नगरपालिकामा प्रमुखमा प्रदिप मल्ल र उपप्रमुखमा मधुमती चौधरी, घोडाघोडी नगरपालिकाको प्रमुखमा अमर साउँद र उपप्रमुखमा लक्षमी चौधरी तथा गौरीगड्डा नगरपालिकाको प्रमुखमा भीम देउवा र उपप्रमुखमा अञ्चला चौधरीलाई उम्मेदवार बनाउने निर्णय एमालले गरेको छ । यस्तै मोहन्याल गाउँपालिकाको प्रमुख नवलसिंह रावल, उपप्रमुख पुजा बुढा, चुरे गाउँपालिकाको प्रमुखमा धनबहादुर रोक्कामगर र उपप्रमुखमा दीपा साउँद, बर्दगोरिया गाउँपालिकाको प्रमुखमा कर्ण कुँवर र उपप्रमुखमा सावित्रा सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको सचिव सुवेदीले जानकारी दिए । यस्तै कैलारी गाउँपालिकाको प्रमुखमा रामप्रसाद चौधरी र उपप्रमुखमा झुमादेवी चौधरी, जानकी गाउँपालिकाको प्रमुखमा जगत चौधरी र उपप्रमुखमा गड्डा थापा तथा जोशीपुर गाउँपालिकाको प्रमुखमा प्रेमलाल चौधरी र उपप्रमुखमा गोमा आचार्यलाई एमालेले उम्मेदवार बनाएको छ । गोदावरी नगरपालिकाको प्रमुखका लागि हरिसिंह साउँद, कृष्णप्रसाद सुवेदी र खम्ब बुढा तथा लम्की–चुहा नगरपालिकाको प्रमुखका लागि महादेव बजगाई, रतन थापा र कर्ण जैसीको नाम सिफारिस भएर आएको सुवेदीले जानकारी दिए । प्रदेश समितिको बैठकले प्रदेश नम्बर ७ का ८८ वटा स्थानीय तहमध्ये ८२ तहमा उम्मेदवार टुड्डो लगाएको सचिव सुवेदीले जानकारी दिए । दार्चुला, बैतडी र बझाङका धेरै तहबाट निर्विरोध सिफारिस भएर आएका उनले बताए । उनले अधिकांश वडाहरुमा पनि जिल्ला समितिहरुले उम्मेदवार छनौट गरिसकेको बताए ।
प्रचण्ड क्रान्तिकारी र अनेरास्ववियुबीच झडप, आधा दर्जन घाइते
चितवन, वैशाख ८ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच झडप भएको छ । नयाँ विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुँदा शुक्रवार दुई संगठनबीच भएको झडपमा आधा दर्जन घाइते भएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियुबीच झडप हुँदा दुवै पक्षका तीन÷तीन जनागरी छ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा अनेरास्ववियुका पोषण साह, रोहित ढकाल सुदीप भुजेल रहेका छन् भने क्रान्तिकारीका निरज सिंह, सुवज अधिकारी र नोवेल आचार्य रहेका छन् । घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बताइएकाे छ ।
प्रधानमन्त्री प्रचण्डका ज्वाँई नेपाली कांग्रेसको उम्मेदवार
चितवन, बैसाख ८ । प्रधानमन्त्री प्रचण्डका ज्वाँई भत्तिराम अधिकारी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर १० बाट प्रचण्डका ज्वाँई अधिकारीलाई नेपाली कांग्रेसले वडा अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको हो । प्रधानमन्त्री प्रचण्डका साईली बहिनीसंग भक्तिराम अधिकारीको विवाह भएको हो । अधिकारी बाल्यकाल देखिनै नेपाल विद्यार्थी संघको राजनीति गर्दै आएका थिए । उनी भरतपुरमा धेरै संस्थासंग आबद्ध भएर राजनीतिमा सकृृय भएर लागेका छन् । प्रचण्ड परिवारमा फरक राजनीतिक दलमा लागेका एकमात्र सदस्य अधिकारी हुन् । उनले आफूँ फरक पार्टीमा भएपनि वडा अध्यक्षको लागि सबैको मत पाउनेमा विस्वस्त भएको बताएका छन् ।
शाैचालयकाे ट्यांकीमा बालकको शव फेला
धनुषा, वैशाख २ । धनुषा जिल्लाकाे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा शनिबार आफ्नै घरको शौचालयको ट्याङ्कीमा आठ वर्षीय केशव राउतको शव फेला परेको प्रहरी सहायक निरीक्षक टीकप्रसाद बरालले जानकारी दिएका छन् । प्रहरीले शव भेटेलगत्तै बालकका बुबा देवनारायण र सौतेनी आमा रीनादेवीलाई नियन्त्रणमा लिएको छ । बालकको हत्या गरेको आशङ्का प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । छोरा हराएको भन्दै सौतेनी आमा रीनादेवीले बिहीबार वडा प्रहरी कार्यालय मुजेलियामा निवेदन दिएकी थिइन् । खोजतलासको क्रममा बालकको शव शौचालयको ट्याङ्कीमा फेला परेको हो ।
चार महिनापछि नेप्सेमा भारी बृद्धि, १६ सय बिन्दूमा पुग्यो
काठमाडौँ, चैत १५ । चार महिनापछि नेप्सेमा भारी बृद्धि भएर निर्धारित समय अगावै बजार बन्द भएको छ । नेप्सेले १६ सय बिन्दुको उचाईमा पुगेको छ । मंगलबार तीन घण्टा नबित्दै बजार ५ प्रतिशतले बढेपछि कारोबार स्थगित गरिएको छ । बजार एकै दिन ७६ अंकले बढेको छ । यसदिन १ सय ४४ कम्पनीको सेयर किनबेच भएर १ अर्ब ३८ करोडको कारोबार भएको छ । बजार खुलेको आधा घण्टा नबित्दै ३ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेको बजार १५ मिनेट बन्द भएर खुल्दा केही सम्हालिएको थियो । बजारमा दिनानुदिन सेयर आपुर्ती बढ्दा पनि लगानीकर्ताहरु हौसिएका हुन् । बजार ४ प्रतिशत बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो भने त्यसपछि आधार घण्टा कारोबार बन्द भएर शुरु भएको केही समयमै बजार ५ प्रतिशतले बढेर दिनभरको लागि कारोबार रोक्का भएको हो । साविक चार घण्टा कारोबार हुने गरेकोमा तेस्रो पटक सर्किट ब्रेक लागेपछि ३ घण्टामा नै बजार बन्द भएको छ । मंगलबार मात्रै बजारमा ४२ करोड ९४२ लाख कित्ता० भन्दा बढि सेयर थपिएका छन् । बैंक तथा वित्तीय संस्थाले आगामी असारमा नै प्रस्ताव गर्न सकिने बोनस जोडेर चुक्ता पुँजी पुर्याउन सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ । बजारमा सबैभन्दा धेरै सेयर कारोबार हुनेमा पनि वाणिज्य बैंक र बीमा कम्पनीहरु रहेका छन् ।
विराटनगरमा कञ्चनजङ्घा सेक्युरिटिजको नयाँ शाखा विस्तार, सेयरको कारोबार सुरु
मोरङ, चैत १४ । क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ५०) ले विराटनगरमा शाखा विस्तार गरेको छ । प्रालिको शाखा विस्तारसँगै अब विराटनगरबाटै सेयरको खरिद बिक्री आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ । विराटनगर मेनरोडस्थित अतिथि सदन नजिक कार्यालय स्थापना गरी कारोबार सुरु गरेको अध्यक्ष प्रियराज रेग्मीले बताउनुभयो । पुँजी बजारसँग सम्बन्धित ग्राहकलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउनु शाखाको उद्देश्य रहेको उहाँको भनाइ थियो । “पूर्वका लगानीकर्ताले शाखाबाट धितोपत्रको दोस्रो बजारमा सहजै प्रवेश पाउनेछन्,” रेग्मीले भन्नुभयो, “स्थानीय ग्राहकलाई स्थानीयस्तरबाटै सेवा गर्न शाखा विस्तार गरिएको हो ।” त्यस्तै प्रालिले नेपालगन्ज, बुटवल, नारायणगढ, बनेपा र विर्तामोडबाट पनि काराबोर सुरु गरेको जनाएको छ । यसभन्दा पहिले कम्पनीका नौ वटा शाखा उपत्यकाभन्दा बाहिरका सहरमा सञ्चालनमा थिए । आशयपत्र प्राप्त गरिसकेका अन्य व्यवसायीले यहाँ शाखा सञ्चालनका लागि पूर्वाधार तयार गर्ने कार्य गरिरहेका छन् । उहाँका अनुसार नेपालमा हाल ५० वटा धितोपत्र ब्रोकर व्यवसायी कार्यरत छन् ।
सिंहदरबारकाे फोहाेर भित्रैबाट प्रशाेधन गर्न पहल गर्नुपर्ने: सचिव उपाध्याय
काठमाडौँ, चैत १३ । सरकारले आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा सिंहदरबारको फोहाेर बाहिर नपठाइने कार्यक्रम ल्याउने भएको छ । देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारबाट निस्कने ढललगायत फोहाेर सिधै वाग्मतीमा गई प्रदूषण बढेकाले नमुनाका रुपमा सिंहदरबारलाई फोहाेरमुक्त स्थल बनाउन सोसम्बन्धी नीति तथा कार्यक्रम र बजेटमा ल्याउन लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिंहदरबारबाट निस्कने ढललगायत फोहर भित्रै प्रशोधन गर्ने गरी विसं २०७४ को अन्त्यसम्म प्रशोधन केन्द्र निर्माण गरिने मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो । “सिंहदरबारबाट निस्कने ढललाई स्वास्थ्यका दृष्टिले खान सकिने पानीमा बदल्न ‘ओम्नी प्रोसेसर’ नामक यन्त्र ल्याउने तयारी सुरु भएको छ, सो यन्त्रका लागि रु २८ करोड पर्छ, यो कार्यक्रमका लागि बिल गेट्स फाउन्डेसनले पनि सहयोग गर्ने वचन दिएको छ”, उहाँले भन्नुभयो । सबै मन्त्रालयलगायत महत्वपूर्ण प्रशासनिक भवन रहेको सिंहदरबारमा विदेशी निकायको पनि आँखा पर्ने भएकाले शून्य फोहरमुक्त स्थल बनाउन लागिएको हो । नमुना प्रविधि देखाउनकै लागि पनि कार्यक्रम सुरु गर्न लागिएको सचिव उपाध्यायले बताउनुभयो । कार्यक्रम लागू भएपछि सिंहदरबारबाट शून्य फोहर बाहिर निस्कने ‘जिरो वेस्ट’(शून्य फोहर) नीति लिइने छ । सिंहदरबारमा सो नीति लागू भएपछि अन्य ठूला होटल, व्यापारिक केन्द्र, हाउजिङलगायतलाई यसतर्फ प्रोत्साहन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । कार्यक्रमका लागि दातृ निकायले प्राविधिक सहयोग उपलब्ध गराउने वचन दिएका छन् । मेलम्चीको पानी काठमाडौँमा आएपछि प्रशोधन गर्नुपर्ने फोहर पानी पनि वृद्धि हुने भएकाले सन् २०३०(विसं २०८६ । ०८७) सम्म ५० करोड लि फोहर पानी प्रशोधन गर्ने गरी क्षमता बढाइने सरकारको योजना छ । यसका लागि गुह्येश्वरी, गोकर्ण, कोड्कु, खोकना र भक्तपुरको सल्लाघारी गरी पाँच स्थानमा प्रशोधन केन्द्र निर्माण हुँदैछ । पाँच प्रशोधन केन्द्र निर्माणको काम काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ । रासस
भरतपुर अस्पतालमा एनआइसियु सेवा सबै निःशुल्क
चितवन, चैत १२ । भरतपुर अस्पतालले अस्पतालमा सञ्चालन भएको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) को सेवा निःशुल्क गर्ने भएको छ । अस्पतालको ५४ औँ वार्षिकोत्सवका अवसरमा आइतबारदेखि यो सेवालाई निःशुल्क गर्न लागिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । नवजात शिशु सघन उपचार कक्षमा १२ वटा शैया सञ्चालनमा छन् भने आठ शैया थप गर्न लागिएको छ । एनआइसियुमा अत्यन्त संवेदनशील भएका शिशुको उपचार गरिन्छ । अस्पतालले आफैँ खर्च व्यहोरेर भएपनि सेवा निःशुल्क गरेको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो । एक वर्षअघि सुरु गरिएको सो सेवामा यसअघि श्ययाको मात्र निःशुल्क गरिएको थियो । निजी अस्पतालमा पाँच हजारदेखि सात हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ । यस्तै, नवजात शिशुको उपचारका लागि छुट्टै कक्षमा सेवा सुरु गरिने भएको छ । सोह्र श्यया क्षमतासहितको नवजात शिशुका लागि सेवा सुरु गर्न लागिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले जानकारी दिएका छन् । भरतपुर अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्सेनी बढ्न थालेका हुन् ।
नयाँ शक्त्ति नवलपुरका १७० नेता तथा कार्यकर्ता माअोवादी केन्द्र प्रवेश
काठमाडौं, चैत १२ । नयाँ शक्ति नेपाल नवलपुरका १७० जना नेता तथा कार्यकर्ताहरु माअोवादी केन्द्र प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रमबीच नयाँ शक्त्ति नवलपुरका नेता तारा भुसाल को नेतृत्वमा इस्वोरी महत्तो , रामराज पण्डित, हरिश चन्द्र पोख्रेल, भोज बहादुर भुजेल बिबस, रोहित सारु सहित १७०जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । ती सबै नेता तथा कार्यकर्तालाइ नवलपुरका माअोवादी केन्द्रका स्थानिय नेताहरुले पार्टीमा स्वागत गरेका थिए । पछिल्लो समय नयाँ शक्त्ति तथा अन्य पार्टीबाट माअोवादी केन्द्र प्रवेश गर्नेहरुको लहर चलेको छ । सरकारले स्थानिय तहको चुनाव अागामी बैसाख ३१ गते गर्ने घोषणा गरेपछि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु माअोवादी केन्द्र प्रवेश गर्ने लहर चलेको हाे । बिहिबारमात्र बैद्य माअोवादीका एक दर्जन केन्द्रिय नेताहरु माअोवादी केन्द्र प्रवेश गरेका थिए ।
उज्यालो नेपाल अभियानबाट प्रवासी नेपालीहरुले देखेको सपना
नेपाल सरकारले मुलुकभर लोडशेडिङ अन्त्य भएको घोषणा गरेको छ । उच्च माध्यमिक बिद्यालयको परिक्षालाई ध्यानमा राख्दै १५ दिनको लागि गरिएको यो घोषणाले देश बिदेश सबैतिर एउटा उत्साह थपेको छ । सरकारले छिट्टै नै अधिराज्यभर सदाको लागि लोडशेडिङ अन्त्य गर्दै उज्यालो नेपाल निर्माणको घोषणा गर्नुले अब मुलुकले बिकासको गती लिन्छ भन्ने विश्वाश र उत्साह जनतामा छाएको छ । कतिपयले यस् कार्यको लागि खुलेर सरकारको प्रशँसा गरे भने कतिपयले राजनैतीक संकिर्णताका कारणले बिरोधका आवाज पनि निकाले । कतिपयले यसको जस सरकारलाई नदिएर बिद्दुत प्राधिकरणका प्रमुख निर्देशक कुलमान घिसिङलाई मात्र दिएको पनि देखियो । समग्रमा यसको जस नेपाल सरकार र उर्जामन्त्री जनार्दन शर्मा जसले कुलमानको बिद्दुत लोड ब्यवस्थापकिय क्षतमालाई चिनेका थिए उनिहरुलाई जानेनै छ । कुलमान घिसिङ आँफैको ज्ञान र क्षमताको प्रयोग, लोड ब्यवस्थापनमा उनले देखाएको कार्यकुशलतालाई झन धेरै जस दिनु पर्दछ । देश बाहिर र देश भित्र रहेका सारा नेपाली जनता कुलमान प्रती नतमस्तक छन । वार्षिक १३ अर्बसम्म बिद्दुत चुहावाट हुने गरेकोमा अबको बर्ष त्यो पनि कम हुने संकेत देखिएको छ । उर्जामन्त्री जनार्दन शर्माका अनुसार हाल सम्म राज्यले बिजुलीबाट मात्रै ६० अर्ब पैसा बचत गरेको छ । २० लाख भन्दा बढी नेपालीहरु गल्फ र मलेसियामा रहेको तथ्याँक छ । यी नेपालीहरु प्रत्येकका घर परिवारहरु अब उज्यालोमा रमाउने कुरामा उनिहरु खुशी नहुने कुरै भएन । बिद्दुत प्राधिकरणकै कर्मचारीहरुको मिलेमतोमा हुनेगरेको लोडशेडिङको अन्त्यले देशले बिकासको गती लिनेमा प्रबासमा रहेका जनताहरु ढुक्क छन । यसले उनिहरुलाई अब आफ्नै देशमा लगानीका आधारहरु खडा हुनेछन र आफ्नै देशमा फर्कन पाइनेछ भन्ने आशाको उज्यालो किरण उनिहरुको मुहारमा छचल्किन थालेको छ । लोडसेडिङ मुक्त देश बर्तमान सरकारले गरेको एउटा राम्रो काम हो भने र देशको प्रगती र उन्नतीमा एउटा सकारात्मक संकेत पनि हो । बिदेशमा रहेर देश बिकासमा के के कुराहरु आवश्यक रहेछन भन्ने कुरा धेरै नेपालीहरुले देखेका छन । विश्वमा तीब्र आर्थिक उन्नती गरिरहेका दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरु देखे पछी हामी प्रबासी नेपालीहरुले सपनामा देख्ने गरेको नेपाल कस्तो होला ? हामी नेपाललाई कसरी बिकाशित देश बनाउन सकौला ? भनेर हरेक नेपालीहरु सपना देख्छन । ती सपना कस्ता होलान ? उज्यालो नेपाल, चिल्ला र सफा बाटो, स्वास्थ्य र शिक्षामा सरकारको लगानी, भ्रस्टाचारमुक्त समाज, कलकारखाना र रोजगार । यिनै हुन हामीले बिदेशमा बसेर देख्ने गरेको सपना । राजनैतीक स्थिरता: नेपालीहरुका प्रत्येक् पुष्ताले आन्दोलन गरे । लामो आन्दोलन पस्चात गणतन्त्रको स्थापना भएको छ । विश्व राजनीतिमा प्रयोग भएको सबैभन्दा उन्नत लोकतान्त्रिक ब्यवस्था हामीले उपभोग गर्न पाएका छौ । अब यसको संस्थागत बिकास भएको हेर्न प्रबासी नेपालीहरु आतुर छन । सँगसङै पुरानै शैलीमा शुरु भएको सत्ता प्राप्तीको राजनैतीक खिचातानीको खेल देखी उनिहरु दिक्क पनि बन्दैछन । उनिहरु स्थाई सरकारको आशामा छन । जसको लागि बर्तमानमा देखिएको मधेशको मुद्दालाई छिटो भन्दा छिटो सम्बोधन गरी चुनाव होस् र सो चुनावले एक स्थाई सरकार बनोस भन्ने अपेक्षा गरेका छन । स्थाई सरकारले स्थाई बिकासको ढोका खोलिदिनेछ भन्ने विश्वाश उनिहरुले गरेका छन । उनिहरुको यो विश्वाशमा तुषरापात हुन नदिन सबै राजनैतीक दलहरु जिम्मेवार ढंगले अघी बढ्न जरुरी छ । भबिस्वमा जुनसुकै दलको सरकार आए पनि उज्यालो नेपाल अभियान रोकिनु हुन्न । राजनैतीक परिवर्तनले बिकासलाई छेकिनु हुन्न । बिजुलीबत्ती र पानी: नेपाल लोडशेडिङ मुक्त घोषणा भईसकेको छ । वार्षिक १३ अर्बको चुहावाट रोक्न बिजुली चोरहरुलाई कठाघरामा उभ्याइसकिएको छ । अर्को एक बर्षमा ५०० देखी १००० मेगावट सम्म बिजुली थपिने भएकोले लोडशेडिङ नहुने कुरामा ढुक्क हुनसकिन्छ । सिमित श्रोत र साधनको सही ब्यवस्थापन गरेर बर्तमान सरकार र बिद्दुत प्राधिकरणका प्रमुख निर्देशक कुलमान घिसिङले देशलाई ठुलो गुण लगाएका छन । इन्भर्टर र सोलारका राजनैतीक ब्यापारीहरुको ब्यापार चौपट भएको खबरले हामी खुशी छौ । छिट्टै नै मेलन्चीको पानी काठमाडौ आउनेछ । यसले केही बर्ष सम्म काठमाडौको काकाकुल अवस्था शान्त हुनेछ । स्वस्थ र सफा खानेपानीमा गाउँगाउँका गरीब जनताको पहुँच पुर्याउन आवश्यक छ । अहिले पनि पहाडी धेरै गाउँहरुमा घण्टौ हिंडेर पिउने पानी बोक्नु पर्ने अवस्थाको अन्त्यको लागि बिशेष कार्यक्रम घोषणा गरियोस । हामीले अब पानीको दुख भएको सपना देख्न छोडिसकेका छौ । सम्रिद्द नेपालको सपनामा स्वस्थ पानीको सपना पनि देखेका छौ । बाटोघाटो: फराकिला चिल्ला सडक, ट्राफिक नियमको पालना र अनुशासन । नेपालको सन्दर्भमा यातायातको पहुँच गाउँगाउँ सम्म पुग्न जरुरी छ । बिगत १० बर्षमा धेरै गाउँगाउँमा बाटो पुगेको छ, पुग्ने क्रम जारी छ । अब यसलाई अन्तरराष्ट्रिय स्तरको निर्माण गर्न बजेट बिनियोजन गरियोस । हामीले बिदेशको जस्तै चिल्ला सडकहरु नेपालमा पनि हुनसक्छन भनेर सपना देख्ने गरेका छौ । सरकारले लगानीको सुरक्षाको प्रत्याभुती गर्ने हो भने धेरै नेपालीहरु आँफै पनि लगानी गर्न तयार हुनेछन । मात्र चाहियो अब सरकारको ईच्छाशक्ती । शिक्षा र स्वास्थ्यः शिक्षा देश बिकासको मेरुदण्ड हो । एउटा उदाहरण हेरौ । सन १९७० मा पाकिस्तानको कुल ग्राहास्थ उत्पादन १३.१ बिलियन डलर थियो । सोही समयमा बिशाल देश भारतको कुल ग्राहास्थ उत्पादन ५९.६ बिलियन डलर थियो । १९७० मा पाकिस्तानको भन्दा मात्र ४५ गुणा ठुलो कुल ग्राहास्थ उत्पादन भएको भारतको २०१५ मा आईपुग्दा २,११६.२ बिलियन पुगेको छ भने पाकिस्तानको जम्मा २७१.५ बिलियन रहेको छ । (२०१५ मा नेपालको कुल ग्राहास्थ उत्पादन २०.८८ रहेको छ भने १९७० मा १ बिलियन डलर थियो) यो अवधीमा भारतले सबैभन्दा बढी लगानी गरेको क्षेत्र शिक्षा हो । विश्वका ठुला ठुला कम्पनीहरुमा आज भारतीयहरु हाकिम भएर बसेका छन । नासाका आधा भन्दा बढी बैज्ञानीकहरु भारतीय छन । एप्पल कम्पनीमा सबैभन्दा बढी कामदारहरु (आईटी बिशेषज्ञ) भारतीय छन । विश्वमा धेरै इन्टेरनेट टेक्नोलोजी निर्यात गर्ने देश भारत बनेको छ । पाकिस्तानको हालत देखेकै हो । भारतले २०१६ मा आफ्नो बजेटमा २.२५ प्रतिशत सुरक्षा तथा मिलिटरी खर्चमा छुट्याएको छ भने पाकिस्तानले २.३० प्रतिशत । आर्थिक बृदिदरको हिसाबले पाकिस्तानको लागि यो खर्च धेरै हो । २०१६ मा भारतको आर्थिक बृदिदर ७ प्रतिशत रहेको थियो भने पाकिस्तानको जम्मा ४ प्रतिशत छ । नेपालको भने जम्मा २.५ प्रतिशत । यसरी भारतले यो अवधीमा गरेको शिक्षाको लगानीले भारतलाई आज विश्वको सातौ ठुलो कुल ग्राहास्थ उत्पादन भएको मुलुकको रुपमा उभ्याएको छ । तर भारत सरकार आँफैले भने बजेटको जम्मा साढे ३ प्रतिशत मात्र शिक्षामा खर्च गरेको छ । बाँकी सबै प्राइभेट सेक्टरबाट लगानी भएका हुन । ताकी नेपालले वार्षिक १३।१४ सम्म शिक्षालाई बजेट छुट्याउने गरेको छ । पाकिस्तानमा पनि १३ प्रतिशत हाराहारीमा शिक्षामा खर्च गर्ने गरेको भए पनि बालुवामा पानी हाले सरह नै भएको छ । हामीले सोच्नु र खोज्नु पर्ने कुरा यहीँ छ । कयौ बालबालिकाहरु अहिले पनि कुपोषणको सिकार भएका छन । नाजुक स्वास्थ्य स्थिती छ । सरकारले श्वास्थ्यमा धेरै लगानी गरे पनि कुनै प्रतिफल प्राप्त हुन सकेको छैन । शिक्षा र स्वास्थ्य एक आपसमा जोडीएका बिषय हुन । शिक्षाको लगानी सही ढंगले भए स्वास्थ्यको फजुल खर्च कम हुनेछ । प्रत्येक् ब्यक्ति शिक्षित भए देश बन्ने छ । हामी यस्तै देशको सपना बुनेर प्रबासमा रात कटाउँछौ । भ्रस्टाचारमुक्त देश: सन २०१६ ट्रान्स्पेरेन्सी इन्टर्नेसनलले जारी गरेको सुचीमा नेपाल १३१ औ भ्रस्ट देशमा सुचिकृत छ । विश्वमा कुनै पनि मुलुक भ्रस्टाचारमुक्त छ भनेर कल्पना गरिन्न । तर कती कम हुन्छ भनेर खोजिन्छ । भरखरै नयाँशक्ती छोडेका रामेश्वर खनालले भनेको एउटा कुरा निकै नै सोचनीय र गम्भीर छ । हामी नेपालमा नेता भ्रस्ट भए भन्छौ । त्यो भन्दा भ्रस्ट त जनता छन । उनले जसरी भने पनि आशय चाँही यही हो । जनताहरु भोट् बेच्छन । गाउँ गाउँमा कार्यकर्ताहरु छन, उनिहरु चुनावको बेला भोटको ब्यापार गर्छन् । कसलाई बेच्छन ? भ्रस्ट पार्टी र भ्रस्ट नेतालाई । अनी देश कसरी बन्छ ? जबसम्म जनताको बुद्दीको बिर्को उघ्रिदैन तबसम्म नेपालमा हुनेवाला केही रहेनछ भनेर रामेश्वर खनालले बुझेछन । उनी जुनसुकै पार्टीमा आस्था राखुन तर रामेश्वर जस्ता ब्यक्तिहरु निराश हुनु देशको लागि निकै दुस्खद हो । जनताको बुद्दी उघार्न त शिक्षामा लगानी गर्नु र्पयो । जनतालाई शिक्षित पार्नु र्पयो । अहिले नेपालमा बिद्यालय बिद्यालयमा भ्रस्टचार छ । सरस्वती मन्दिरमा भ्रस्टाचार छ । एक बोरा सिमेन्ट किन्ने देखी बिद्यालयमा चाहिने चक र डस्टर किन्ने पैसामा भ्रस्टाचार छ । स्कुलको हेडमास्टर र संचालक समितीका जिम्मेवार ब्यक्तिहरु मिलेर भ्रस्टाचार गर्छन् । अनी नेपाल कहिले बन्छ ? कलकारखाना र रोजगारी: देशमा बिजुली भएपछी धेरै बिदेशी लगानी भित्रिनेछ । कलकारखाना खुल्नेछन । ती कलकारखनाहरुमा नेपालीहरुले रोजगारी पाउनेछन । बैदेशिक रोजगारीले जोगाइदिएको ईज्जत अब आफ्नै देश भित्र खुलेका कलकारखानले जोगाइदिनेछन । नेपालको परम्परागत कृषि पेशा र बैदेशिक रोजगारीकै कारणले अहिले नेपालमा बेरोजगारी बृदिदर ३ प्रतिशतको हाराहारीमा छ । अब यो झरेर शुन्यमा पुग्ने आशा प्रबासी नेपालीहरुले लिएका छन । आफ्नै देशमा आफ्नै घरपरिवारसङै बसेर काम गर्न पाइने आशा बिजुलीले पलाइदिएको छ । यी सबैको सम्भावनाका आधार भनेको उज्यालो नेपाल नै हो । प्रबासी नेपालीहरुले कुलमान घिसिङ नेपाल र नेपालीको लागि बरदान साबित हुने छन भन्ने विश्वाश गरेका छन ।
नयाँ वर्ष २०७४ को अवसरमा ‘गुराँस उत्सव’
बागलुङ, चैत ६ । नयाँ वर्ष २०७४ को अवसरमा यहाँ ‘गुराँस उत्सव’ हुने भएको छ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ । जिल्लाको पर्यटकीय लेक घुम्टेको प्रवद्र्धन र लालीगुराँस संरक्षणका लागि उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा जैविक दृष्टिकोणले महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवद्र्धनका लागि गुराँस उत्सवले टेवा पुग्ने ठानिएको छ । “घुम्टेमा गुराँस फुल्ने याममा पर्यटकको आकर्षण बढाउन गुराँस उत्सव गर्ने गरिएको छ”– अध्यक्ष बस्नेतले भन्नुभयो । उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झन्डोत्तोलन, ‘क्याम्प फायर’, मुख्य समारोह लगायतका कार्यक्रमको आयोजना गरिने भएको छ ।
परीक्षाको लागि केन्द्राध्यक्ष तोक्न जिल्ला शिक्षा कार्यालयलाई सकस
विराटनगर, चैत्र २ । राजनीतिक भागबण्डा नमिलेपछि भोलि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षाका लागि बुधबार मध्यान्हसम्म मोरङमा केन्द्राध्यक्ष तोक्न सकेको छैन । यसकारण परीक्षाको आवश्यक तयारी प्रभावित हुँदै गएको छ । मोरङमा हरेक वर्ष राजनीतिक भागबण्डाकै आधारमा परीक्षा केन्द्राध्यक्ष नियुक्त गर्ने परम्परा छ । मोरङमा ६७ परीक्षा केन्द्र तोकिएको छ । त्यसका लागि नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दल निकट शिक्षक संघ संगठन र निजी विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले भागबण्डामा केन्द्राध्यक्ष माग गरेपछि जिल्ला शिक्षा कार्यालयले परीक्षाको अघिल्लो दिनसम्म केन्द्राध्यक्ष तोक्न नसकेको हो । जिल्ला शिक्षा कार्यालय स्रोतका अनुसार एमाले निकट शिक्षक संगठनले २४, कांग्रेस निकटले १९, माओवादी केन्द्र निकटले १४, मधेसी दल निकटले १० र प्याब्सन, एनप्याब्सनले ७ वटा केन्द्राध्यक्ष आफ्नो भागमा पर्नुपर्ने माग गरेपछि समस्या चुलिएको हो । स्रोतका अनुसार ६७ परीक्षा केन्द्रका लागि शिक्षक संघ संगठनले ७४ केन्द्राध्यक्ष माग गरेपछि समयमा नियुक्त गर्न नसकिएको हो । केन्द्राध्यक्ष तोक्नका लागि अहिले बैठक भइरहेको जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले बताए । ‘म अहिले केही बोल्दिनँ’ उनले भने, ‘केहीबेरमै केन्द्राध्यक्षको टुङ्गो लगाएर सम्बन्धित केन्द्रमा आजै पठाउने तयारी भइरहेको छ ।’ प्रत्यके केन्द्राध्यक्षले परीक्षा अवधीभरिमा करिब ९ हजार भत्ता पाउने व्यवस्था छ । आफूले भनेअनुसारको केन्द्राध्यक्ष भए उक्त परीक्षा केन्द्रमा आफू अनुकूल परीक्षा सञ्चालन गर्न सकिने भएका कारण केन्द्राध्यक्षमा भागबण्डाको लडाइँ हुने गरेको सम्बद्ध स्रोतको भनाइ छ । मोरङमा यसपाली कूल २० हजार ७ सय ६ जना परीक्षार्थी सहभागी हुँदैछन् । त्यसमध्ये नियमिततर्फ १७ हजार ९ सय ८३, ग्रेड वृद्धितर्फ १ हजार ९ सय ५७ र एक्जामटेडतर्फ ७ सय ६६ परीक्षार्थी सहभागी हुँदैछन् ।