वैशाखभित्रै चुनाव हुन्छ : प्रधानमन्त्री
पाँचथर, फागुन ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो बेलुका र आज बिहान मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भइसकेको छ, अब चाँडै असमझदारीका विषयमा सहमति गरेर वैशाखभित्रमा स्थानीय तहको निर्वाचन गर्नेछौँ ।’
उनले अब संविधान आइसकेकाले मुलक समृद्धितिर लम्किने बेला आएको बताए । उनले मुलुकलाई समृद्धितर्फ अघि बढाउन ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै यो क्षेत्रमा लाग्न सबै सरोकारवालालाई आग्रह गरे ।
अब सरकारले साना लघुजलविद्युत् परियोजना मात्रै नभएर अब जलाशययुक्त ठाउँ पहिचान गरी त्यस्ता नदीबाट बिजुली उत्पादन गरी मुलुकलाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै ऊर्जामन्त्री जनार्दन शर्माले काम गर्ने शैली परिवर्तन गर्दै नयाँ तौरतरिकाबाट मुलकलाई समृद्धितर्फ अघि बढाउन सकिने धारणा व्यक्र गरे ।
मन्त्री शर्माले नीति निर्माण गर्ने बेलामा आफू तार काट्दै हिँड्नु पर्ने बेला आएको भन्दै उनले झिनामसिना काम नगरी ठूला काम गर्न नसकिने बताए । उनले तमोर जलाशयलाई अघि बढाउन सके यस प्रदेशका जनताका जीवनस्तर उकासिने मात्रै नभएर मुलक नै समृद्ध बन्ने भएकाले यसका लागि सरकारले ऋण लिएर भए पनि तमोर जलाशयलाई अघि बढाउने बताएका छन् ।
उज्यालो नेपाल अभियानलाई सहयोग गर्न उर्जामन्त्रीको आह्वान
पाँचथर, माघ २२। ऊर्जामन्त्री जनार्दन शर्माले ऊर्जा क्षेत्रले नागरिकमा नयाँ उत्साह थपेको बताएका छन् । सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले अहिले मन्त्रालयले सञ्चालन गरेको उज्यालो नेपाल अभियानलाई सबै क्षेत्रबाट सहयोग गर्न आह्वान गरे । मन्त्री शर्माले अब काम गर्ने कर्मचारीलाई प्रशंसा र गल्ती गर्नेलाई दण्ड गर्दै जाने पनि स्पष्ट गरे । अर्काे प्रसङ्गमा उनले सरकार निर्वाचनमा लागिपरेकाले जसरी पनि चाँडै स्थानीय तहको निर्वाचन हुने बताउँदै निर्वाचन आयोग समेत तयारीका लागि जुटिसकेकाले चाँडै मिति घोषणा गरिने विश्वास दिलाए । काबेली कोरिडोर क्षेत्रको निरीक्षणमा आएका मन्त्री शर्माका साथमा ऊर्जा मन्त्रालयका सचिव अनुप उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसमेत सहभागी छन्। रासस
बच्चाले ब्रेक लगाएर रोके बस, जोगियो ठूलो दुर्घटना
ग्वालियर, मध्यप्रदेशको ग्वालियरमा एकजना बच्चाको सतर्ककता र फूर्तिका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ । स्कूलबाट फर्किरहेको नीजि स्कूल बस अर्को बससँग ठोक्किन पुगेपछि बसका चालक बाहिर खसेका थिए । बस अनियन्त्रित हुन पुग्दा त्यसमा रहेका एकजना बालकले ब्रेक लगाएर बसलाई नियन्त्रणबाहिर जानबाट रोकेपछि दुर्घटना टरेको हो । दुबै बस एक आपसमा ठोक्किँदा आधा दर्जन बच्चा, बस ड्राइभर र क्लिनर घाइते भएका छन् । घाइतेहरुको जयारोग्य अस्पतालमा उपचार भइरहेको छ। ड्राइभरले मोबाइलमा कुराकानी गर्दै बस चलाएका कारण दुर्घटना भएको बताइन्छ । मोबाइलमा कुराकानी गरिरहेको बेला बस गलत साइडमा मोडिएर अर्को बससँग जुध्न पुगेपछि ड्राइभर तल खसेका थिए । ड्राइभरबिहिन भएको बस अनियन्त्रित हुन पुगेपछि एकजना बालकले बसको ब्रेक लगाएका कारण बस अरु सवारी साधनसँग ठोक्किन पाएन ।
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता काठमाडौमा हुने
काठमाडौँ, २० माघ । नेपाल तेक्वान्दो सङ्घमा आबद्ध युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा प्रथम काठमाडौँ अन्तर्राष्ट्रिय क्योरुगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप यसै महिनामा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने उक्त प्रतियोगिता यही माघ २७ देखि २९ गतेसम्म सञ्चालन गरिने भएकाे छ । अाज आयोजित एक पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नोर्बु लामाले साे जानकारी दिएका हुन् । उनका अनुसार प्रतियोगितामा नेपालसहित कोरिया, भारत, बङ्गलादेश, भुटान, मलेसिया, इन्डोनेसिया र सिङ्गापुर गरी करिब पाँचसय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १२ देखि १४ वर्षको क्याडेट महिला तथा पुरुष, १५ देखि १७ वर्षको जुनियर महिला तथा पुरुष र १७ वर्ष माथिको सिनियर महिला तथा पुरुषको स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा फाईट (क्योरुगी) तर्फ ४० तथा पुम्सेतर्फ ३८ स्वर्ण गरी कुल ७८ स्वर्ण पदकका लागि भिड्न्त हुनेछ ।
कुलमानले ८६ करोड माग्दै पत्र लेखेपछि झस्किए रुद्रसिंह तामाङ
काठमाडौं १७ माघ । सडक बत्ती बालेबापत काठमाण्डु महानगरपालिकाले विद्युत् प्राधिकरणलाई ८६ करोड रुपैयाँ पुरानो बक्यौता तिर्न बाँकी रहेको छ । यो रकम कहिलेदेखिको हो भनेर महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले फाइल पल्टाउन थालेका छन् । प्राधिकरणमा कुलमान घिसिङ आएपछि उनले महानगरपालिकामा बिल भुक्तानीका लागि पत्र पठाएपछि यो रहस्य खुलेको हो । सडक बत्ती बालेकै बिजुली बक्यौता ८६ करोड रुपैयाँको बिल महानगरपालिकामा पुगेपछि कार्मचारी आश्चर्यचकित परेका छन् अन्नपुर्ण पोष्टले लेखेको छ।
सोलुखोला जलविद्युत् आयोजनामा छ बैंकको लगानी
काठमाडौँ, माघ १८ । माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । यहाँ आज आयोजित कार्यक्रममा आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र प्रवद्र्धकका तर्फबाट प्रोजेक्टका अध्यक्ष पिबी शेर्पाले हस्ताक्षर गर्नुभयो । कुल १८ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा रु दुई अर्ब २८ करोड लगानी हुने बताइएको छ । आयोजनाको लागत रु तीन अर्ब २६ करोड रहने छ, जसमा रु ९८ करोड प्रवद्र्धको लगानी रहेको छ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिइएको हो । आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, विभोर विकास बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता बलबहादुर केसी, नेकपा (एमाले) का सचिव योगेश भट्टराई, नेकपा (माओवादी केन्द)का पोलिटब्युरो सदस्य लक्की शेर्पा, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सोलुखुम्बु जिल्लाको बेनी गाविसमा आयोजनास्थल छ । नदी प्रवाहमा आधारित उक्त आयोजनाबाट वार्षिक १२ करोड ८० लाख युनिट विद्युत् उत्पादन हुने छ । आयोजना २०७६ माघ १ गते सम्पन्न गर्ने गरी प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएको छ । रासस
मलेशियामा रिया र इकुको अश्लील नाचप्रति बिप्लव माओवादीको आपत्ति
काठमाडौँ- नेपाली कलाकार रिया श्रेष्ठ र सुलेमान शंकर ( इकु) ले मलेशियामा गरेको अश्लिल नाचप्रति बिप्लव माओवादीले आपत्ति जनाएको छ । बिप्लव माओवादी निकट अखिल नेपाल जन सांस्कृतिक महासंघको अन्तराष्ट्रिय विभागले ‘नेपालीको मौलिक सुन्दर संस्कृतीमा नै आच आउने गरेर नाच प्रस्तुत गरिएको’ बताएको छ । ‘अखिल नेपाल जन सांस्कृतिक महासंघ अन्तराष्ट्रिय विभागको गम्भीर आपत्ति रहेको छ ‘विभागका विवश कुमार सेजुवालले बताए । मलेशियाको पेनाङ्ग राज्यमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा रिया श्रेष्ठ र इकुले नाङ्गो डान्स प्रस्तुति गरेका थिए । उक्त कार्यक्रममा रिया श्रेष्ठले आफूले लगाएको कपडा नाच्दा नाच्दै खोलेर दर्शक सामु फालेकी थिइन् । ‘कला संस्कृतिलाई अन्तराष्ट्रिय गर्नुपर्छ तर त्यो अश्लिल तरिकाले होइन, सेजुवाल भन्छन्, विदेशमा आएर नेपालीको पहिचान चिनाउनुको सट्टा यस्तो कुसंस्कार को छाप छोडेर जाने कलाकारलाई कुनै पनि हालतमा कार्बाही गरिनु पर्छ ।
दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगितामा निङ्गलाशैनी विजयी
बैतडी, माघ १७ । सहिद दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसी)ले जितेको छ । बुढाबाजे क्रिकेट मैदान रातामाटामा आज भएको फाइनल खेलमा योङ्गस्टार क्रिकेट क्लब, मेलौलीलाई ४८ रनले हराउँदै निङ्गलाशैनीले उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित ४० ओभरमा खडक बोहराको अविजित ११४ रनको मद्दतमा तीन विकेट गुमाउँदै २७५ रन बनायो । दुई सय ७६ रनको विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको योङ्गस्टार क्लबले ३५ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै २२७ रन मात्र बनायो । उसका लागि प्रकाश साउदले ६९ रन बनाए । उपाधिसँगै निङ्गलाशैनीले रु ५० हजार तथा उपविजेता योङ्गस्टारले रु २५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताभर ३२७ रन तथा १२ विकेट लिएका योङ्गस्टार क्लबका प्रकाश सिंह म्यान अफ द सिरिज घोषित भई रु पाँच हजार पुरस्कार प्राप्त गरे । विजयी टोलीलाई आयोजक सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष शेरसिंह रावल, जिल्ला क्रिकेट सङ्घ बैतडीका अध्यक्ष रमेश बोहरालगायतले पुरस्कार प्रदान गरेका थिए । सहिद दशरथ चन्दको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । रासस
अमेरिका र क्यानडाको सम्बन्ध बिग्रिने संकेत, ट्रम्पले रोकेका शरणार्थीको क्यानडाद्वारा स्वागत
ओट्टावा, १६ माघ । क्यानाडाका प्रधानमन्त्री जस्टीन त्रुदेउले अमेरिकाले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीहरुलाई क्यानाडाले स्वागत गर्ने बताएका छन् । ट्विटरमार्फत् उनले भनेका छन् “जसले हिंसा, आतङ्क र युद्ध भोगीरहेको छ, ती सवैलाई क्यानाडाले स्वागत गर्न चहान्छ ।” त्रुदेउले उनीहरुको धर्मको आधारमा कुनै पक्षपात नगर्ने पनि स्पष्ट पारे । “विविधता हाम्रो शक्ती हो, क्यानाडामा स्वागत छ,” उनले ट्विटमा लेखेका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम समुदायका आप्रवासी तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि क्यानाडाका प्रधानमन्त्री त्रुदेउले यस्तो सन्देश ट्विटरमा लेखेका हुन । ट्रम्पले इरान, इराक, लिविया, सोमालिया, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न आदेश दिएका छन् । सो आदेश कतिपय ठाउँमा कार्यान्वयन भइसकेको छ । सो आदेशका विरुद्धमा विमानस्थलहरुमा प्रदर्शन पनि भइरहेको छ ।रासस÷एएफपी
बारको आकस्मिक बैठक, देशव्यापी आन्दोलन गर्ने
काठमाडौं, १६ माघ । उच्च अदालतका न्यायाधीश सिफारिसमा तीनजना पदाधिकारीको मिलोमतोमा एकतर्फी निर्णय गरेको भन्दै सरकारी वकिलले गरेको इजलास बहिष्कार कार्यक्रम सेलाउन नपाउँदै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आन्दोलन घोषणा गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– बारको शनिबार बसेको आकस्मिक बैठकले उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिको सिफारिसले समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई बेवास्ता गरेको आरोप प्रधानन्यायाधीश कार्कीविरुद्ध लगाएको छ । आगामी नियुक्तिमा संविधान र न्यायपरिषद् ऐनका प्रावधानलाई ध्यानमा राखिने प्रतिबद्धता र सहमतिपछि सरकारी वकिलले बिहीबार मात्रै आफ्नो आन्दोलन फिर्ता लिएका थिए तर त्यो आश्वासनकै आधारमा आश्वस्त हुन नसक्ने निष्कर्षमा बार पुगेको छ । पुस २८ मा परिषद् सदस्य रहेका आफ्ना प्रतिनिधि र वरिष्ठ न्यायाधीशको उपस्थितिबिनै मध्यरातमा संविधानविपरीत उच्च अदालतमा ८० न्यायाधीश सिफारिस गरिएको भन्दै स्मरणपत्र बुझाउन पुगेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीलाई प्रधानन्यायाधीश कार्कीले भेट्न अस्वीकार गरेपछि बार अपमानित र थप क्रुद्ध बनेको हो । नेपाल बारले शनिबार सर्वोच्च बारको समेत सहमतिमा आन्दोलनमा उत्रने निर्णय लिएको हो । उक्त निर्णय लिनुपूर्व न्यायाधीश सिफारिसमा भएका गतिविधि र भूमिकाबारे बारबाट परिषद् सदस्य रहेका वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलासँग पनि बारले छलफल गरेको थियो । छलफलमा सहभागी एक सदस्यका अनुसार सिटौलाले आफूले प्रस्ताव गरेका नाम प्रधानन्यायाधीशद्वारा काटिन थालेपछि बैठकमा सामेल हुनुको औचित्य नदेखेर बहिष्कार गरेको प्रस्टीकरण दिएका थिए । उनले न्यायाधीश नियुक्ति सिफारिसमा आफ्नो कुनै सल्लाह र सम्मति नरहेको पनि प्रस्ट्याएका थिए । बार बैठकले उच्च अदालतमा गरिएको न्यायाधीश सिफारिसको आधार तथा मापदण्ड पारदर्शी नरहेको, परिषद्का दुई सदस्यको अनुपस्थितिमा मध्यरातमा अस्वाभाविक ढंगले संविधानको मर्म र न्यायपरिषद् ऐनको दफा ५ ९१० विपरीत निर्णय भएको, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, पिछडिएको क्षेत्रको उचित प्रतिनिधित्व नभएको एवं प्रक्रिया र पद्धतिको ठाडै उल्लंघन भएको ठहर गरेको छ । परिषद्को निर्णय हुनुमा प्रधानन्यायाधीश कार्कीको ‘गैरजिम्मेवारपूर्ण’ कार्य जिम्मेवार रहेको भन्दै स्तब्ध भएको बारले जनाएको छ । स्वतन्त्र र सक्षम न्यायपालिकाको जबाफदेही र न्यायप्रति आम नागरिकको अपेक्षाभन्दा बाहिर गई न्यायाधीश नियुक्त भएको निष्कर्षसहित बार आन्दोलनमा उत्रेको हो । गत माघ ११ मा प्रधानन्यायाधीश कार्कीले बार र सर्वोच्च अदालत बार पदाधिकारीलाई भेट्न अस्वीकार गरेपछि उनीहरू तीनदिने अल्मिेटमसहितको ज्ञापनपत्र परिषद् सचिवालय र वरिष्ठ न्यायाधीश एवं परिषद् सदस्य गोपाल पराजुलीलाई बुझाएर फर्केका थिए । ‘सम्माननीय प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्ष श्री सुशीला कार्कीबाट बार र कानुन व्यवसायीको अस्तित्वलाई स्वीकार नगरी निषेधको मानसिकताबाट अग्रसर भई संविधानले निर्धारण गरेका कतिपय व्यवस्थाको पालना गर्न वर्तमान प्रधानन्यायाधीशको नेतृत्वदायी भूमिकाबाट पन्छिएर स्वतन्त्र, सक्षम उत्तरदायी न्यायपालिकामा प्रत्यक्ष रूपमा असर पर्ने गरी निर्देशित न्यायपालिका बनाउन खोजेको नेपाल बारको ठहर छ’, बार केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ । वार्ता, संवाद र सहमतिबाट मात्र न्यायिक स्वाभिमानको रक्षा हुनसक्ने बारले जनाएको छ । बारले आफ्ना मुलुकभरका बार एकाइमा विरोधका कार्यक्रम अघि बढाउन शनिबार नै सर्कुलरसमेत गरेको छ । बारले माघ १७ गते दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म बारपरिसरमा कानुन व्यवसायीको भेला गरी विरोध कार्यक्रममा सहभागिताका लागि आह्वान गर्ने भएको छ । यस्तै १८ गते १० बजेदेखि १२ बजेसम्म कानुन व्यवसायीले हातमा कालोपट्टी बाँधेर विरोध गर्ने र १९ गते दस बजेदेखि १ बजेसम्म मुलुकभरका अदालतमा बहसपैरवी बहिष्कार गर्ने निर्णय बारले लिएको छ । यस्तै प्रधानन्यायाधीश र सर्वोच्च अदालतले आयोजना गर्ने कुनै पनि कार्यक्रमसमेत बहिष्कार गर्ने र बारले पनि प्रधानन्यायाधीशलाई कुनै कार्यक्रममा नबोलाउने निर्णयसमेत लिइएको छ । न्यायपरिषद्बाट संवैधानिक इजलास गठन नहुन्जेलसम्म संवैधानिक मुद्दामा इजलासको सहयोगका लागि नेपाल बार र सर्वोच्च अदालत बारबाट खटिएका ‘एमिकस क्युरी’ बहसपैरवीमा उपस्थित नहुने निर्णयसमेत लिइएको छ । हाल एमिकस क्युरीका लागि नेपाल बार र सर्वोच्च बारबाट बाह्रजना कानुनविद्लाई सर्वोच्चमा खटाइएको छ । नेपाल बारले हाल न्यायाधीश सिफारिसविरुद्ध विभिन्न बार एकाइमा चलिरहेको विरोध कार्यक्रमलाई समर्थन जनाएको छ । बार अध्यक्ष शेरबहादुर केसीले न्यायाधीश नियुक्तिमा बारलाई उपेक्षा गर्दै न्यायपालिका नेतृत्वबाट भेट नदिएर अपमानसमेत गरिएको बताए । निर्णय सच्याउन तयार नभएसम्म आन्दोलन नरोकिने भनाइ उनले राखे । ‘उल्लिखित कार्यक्रमप्रति सम्माननीय प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्षको गम्भीर ध्यानाकर्षण गराउँदै यथासमयमा यसतर्फ ध्यान नदिएमा आगामी दिनमा योभन्दा कडा कार्यक्रम नेपाल बारले सार्वजनिक गर्ने र यसको सम्पूर्ण जबाफदेही न्यायपरिषद्का अध्यक्ष तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुने बेहोरासमेत अनुरोध गर्दछु’, बैठकपछि चेतावनीको भाषामा बार महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बारले उच्च अदालतमा भएको न्यायाधीश सिफारिसलाई लिएर अघिल्लो साता वरिष्ठ अधिवक्ता, बारका पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिवलगायतसँग रायसुझावसमेत लिएको थियो ।
व्यवस्थापिका संसद बैठक: कुन सांसदको कस्तो चिन्ता !
काठमाडौँ, माघ १४ । व्यवस्थापिका– संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद दुलारी हरिजनले पूर्व –पश्चिम राजमार्गको नवलपरासी खण्डमा रहेका पुल जीर्ण भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै मुलुकभरका अस्पतालका चिकित्सक र अन्य कर्मचारीको बोली व्यवहार मिठो हुनुपर्ने बताए । सांसद धनबहादुर रायमाझीले भूकम्पपीडित जनतालाई प्रतिबद्धता गरेअनुसारको राहत हालसम्म उपलब्ध गराउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद नरबहादुर थापामगरले गत साउनमा बागलुङमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको जानकारी सरकारलाई भए पनि हालसम्म प्रभावकारी रुपमा राहतका कुनै काम नभएको गुनासो गरे । सांसद पुरुषोत्तम पौडेलले मुलुकको सीमामा भएको हस्तक्षेप र जनताले दुःख पाएको समाचार दिनहुँ आए पनि सरकार मौन रहेको टिप्पणी गरे । सांसद पाँचकर्ण राईले खोटाङमा स्थानीय तह पुनःसंरचना सम्बन्धमा सर्वसम्मतिले पठाएको निर्णयलाई आयोगले गाउँपालिकालाई छिन्नभिन्न हुने गरी प्रतिवेदन गरेकोमा आपत्ति जनाउँदै यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रतिक्षा तिवारीले भूकम्प गएको लामो समय बितेपनि विशेष रुपमा महिला वर्ग अझै असुरक्षित भएर बस्न बाध्य हुनुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद प्रेमबहादुर आले डोटीमा रहेका विमानस्थल निर्माण र सञ्चालनमा सरकारले तदारुकताका साथ काम गर्नुपर्ने धारणा राखे ।
छड्के गरेर भएपनि जनतालाई सेवा दिन प्रधानमन्त्रीको निर्देशन
कुश्मा, माघ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी कार्यालय र कर्मचारीहरुको छड्के जाँच गरेर भए पनि जनतालाई राम्रो सेवा दिन पर्वत जिल्लास्थित सरकारी कार्यालयका प्रमूखहरुलाई निर्देशन दिएका छन् । बिहीबार जिल्ला सदरमुकाम कुश्मा सरकारी कार्यालयका प्रमूखहरुलाई प्रधानमन्त्रीले उक्त निर्देशन दिएका ह’न् । प्रधानमन्त्री भने, ‘हुने र मिल्ने काममा पनि सरकारी कर्मचारीले जनतालाई दुःख दिने गरेको गुनासा आएका छन् । जनताको सेवालाई केन्द्रमा राखेर काम गर्नुस् । प्रमूख जिल्ला अधिकारी यहीँ हुनुहुन्छ, सरकारी कार्यालय र कर्मचारीको छड्के जाँच गरेर भएपनि जनतालाई राम्रो सेवा दिनुहोस् ।’ कार्यालय प्रमूखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले थपे, ‘पूँजीगत खर्च बढाउने सरकारको लक्ष्य छ । त्यसमा तपाईहरुले विशेष रुपमा ध्यान दिनुहोस् । जिल्लास्थित विकास आयोजनाहरुको निरन्तर निरीक्षण र अनुगमन गरेर नजितामूखी काम गर्नुस् । सरकारी बजेट अनावश्यक शीर्षकमा खर्च हुने गरेको बेथिति रोक्नुस् र सुशाासनको प्रत्याभूति गराउनुस् । पर्वत जिल्ला पनि भूकम्प प्रभावित जिल्ला हो, पूनर्निर्माणको कामलाई प्राथमिकता दिनुस् र मोडेल जिल्ला बनाउनुस् ।’ सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘निर्वाचन नगरी संविधान कार्यान्वयन हुँदैन । सरकार स्थानीय तहको निर्वाचनको तयारीमा छ । तपाईहरुले त्यसको राम्रो तयारी गर्नुस् । अब देश निर्वाचनको दिशामा अघि बढ्छ ।’
प्रधानमन्त्रीले भने-‘मधेस र पहाड एकीकृत गरेर मात्र पहिचानका मुद्दा स्थापित हुन्छ’
सिरहा, माघ ९ । प्रधानमन्त्री पुष्पकमल दाहालं‘प्रचण्ड’ले देशलाई विभाजित गरेर नभई एकीकृत पारेर मात्र विकास र पहिचानका मुद्दा स्थापित गर्न सकिने बताएका छन् । सिरहाको गोलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने ‘मधेस बिनाको पहाड र पहाड बिनाको मधेसको अस्तित्व कल्पना पनि गर्न सकिन्न । एक अर्कासंग गाँसिएका नेपालका सँस्कृति, भुगोल, परम्परा र रहनसहनका कारण मधेस, पहाड र हिमाललाई छुट्टयाएर सबैको स्वामित्व स्थापित हुनै सक्दैन ।’ मधेसलाई पहिचान विहीन बनाएर मुलुकलाई विखण्डन गर्न खोज्ने बिरुद्ध लड्न उनले सबैसँग अपिल गरे । देशलाई विखण्डित गर्ने स्वरहरु मधेशमा सुनिन थालेको उल्लेख गर्दै उनले त्यस्ता कार्यका लागि भड्काउनेलाई जनताले नै तह लगाउनुपर्ने बताए । ‘मधेसबिना पहाडको कल्पना र पहाडबिना मधेसको अस्तित्व स्वीकारसम्म गर्न सकिदैन’, उनले भने– ‘नेपालको संस्कृती, भुगोल, परम्परा र रहनसहन यसरी एकअर्कासँग गाँजिएको छ कि मधेस, पहाड र हिमाललाई छुट्टयाएर सबैको स्वामित्व स्थापित हुनै सक्दैन ।’ संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन सबैसँग समझदारी भइरहेको बताउदै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनले दलित, मधेसी, थारु, आदिवासी जनजाति सहित मधेस, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने दावी गरे ।
औषधि पसलको टेन्डरमा मापदण्ड पुगेन
विराटनगर, माघ ६ । कोसी अञ्चल अस्पताल विराटनगरमा सरकारको निर्देशनअनुरुप फार्मेसी सञ्चालनमा समस्या देखिएको छ । फार्मेसी सञ्चालनका लागि औषधि खरिद गर्न अस्पतालले दोस्रोपटक टेन्डर आह्वान गर्दा समेत पर्याप्त औषधिका लागि आवेदन नपरेपछि फार्मेसी सञ्चालनमा ढिलाइ भएको हो । सरकारले सरकारी अस्पताललाई आफै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि अस्पतालले टेन्डर खोलेको थियो । एक महिना समय दिई आह्वान गरिएको पहिलो टेन्डरमा मापदण्डअनुरुप आवेदन नपरेपछि पुनः टेन्डर खोलिएको थियो । दोस्रो पटक खोलिएको टेन्डरमा मापदण्डअनुरुप कम्तीमा ४०० प्रकारका औषधि हुनुपर्नेमा त्यसको २५ प्रतिशत औषधिका लागि मात्र आवेदन परेको अस्पतालका सुपरिटेन्डेन्ट डा.रोशन पोखरेलले बताए । “मापदण्डअनुरुप टेन्डरबाट औषधि नआउने देखिएकाले दोस्रो चरणबाट हामीले सय थरीका औषधिको टेन्डर बुझिसक्यौ, बाँकी ३०० प्रकारका औषधि आर्थिक नियमावली बमोजिम रु.पाँच लाख बराबरको आफै व्यवस्था गर्छौं”– डा.पोखरेलले बताए । सरकारको निर्देशनअनुरुप अस्पतालले आफ्नो भवनमा सञ्चालन भइरहेको औषधि पसललाई बन्द गराई आफै फार्मेसी सञ्चालन गर्नुपर्ने छ । यसअघि सर्वोच्च अदालतले समेत देशका सबै सरकारी अस्पताललाई आफै फार्मेसी खोल्न निर्देशन दिइसकेको छ ।
अन्ततः गठन भयो किसान आयोग
काठमाडौं, माघ ६ । सरकारले किसान आयोग गठन गरेको छ । किसान आयोग गठन गर्नेसम्बन्धी तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादीका तर्फबाट कृषि मन्त्री रहेका हरिबोल गजुरेलले प्रस्ताव गरेपनि त्यो गठन हुन सकेको थिएन । आज बसेको मन्त्रीपरिषदको बैठकले किसानहरुको अधिकारको रक्षा गर्न तथा कृषि क्षेत्रको समग्र विकासमा योगदान दिने उद्देश्यले किसान आयोग गठन गर्ने निर्णय गरेको हो । कृषि प्रधान देशमा किसानहरुको अधिकारको ग्यारेण्टी र किसान परिचयपत्रलगायत किसानको हक हितका क्षेत्रमा काम गर्ने जिम्मेवारी आयोगको रहने समेत निर्णय गरेको छ ।
सैनिककाे गलत हवाई अाक्रमणकाे शिकार बने १०० सर्वसाधारण
माघ ५ । नाइजेरियाको उत्तर पूर्वी रान क्षेत्रमा विस्थापितहरु बसेको क्याम्पमा सेनाले गरेको हवाई आक्रमणमा एक सय जना सर्वसाधारणको ज्यान गएको छ । गलत सूचनाका आधारमा सेनाले गरेको भूलवश आक्रमणका कारण निर्दाेष नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यम एमएसएफ़ले जनाएको छ । क्यामरुनसंग सीमा जोडिएको उक्त क्षेत्रमा गरिएको बम आक्रमणमा दुई सयभन्दा बढी घाईते भएका छन् । घाइते हुनेमा सरकार र इस्लामिक लडाकु समुह बोको हरामबीचको संघर्षबाट विस्थापित भएकालाई सघाउन पुगेका दर्जनौं स्वयंसेवक पनि छन् । छिमेकी चाड र क्यामरुनले घाइतेको उपचारमा सहयोग गर्ने जनाएका छन् । ठूलो संख्यामा लडाकुहरु भेला भएको सूचनाका आधारमा आक्रमण गर्दा उक्त त्रूटी भएको सेनाले जनाएको छ । नाइजेरियाली सेनाले इस्लामिक लडाकु समूह बोकोहरामलाई धपाउन त्यस क्षेत्रमा अन्तिम कारवाही गरिरहेको छ । राष्ट्रपति मोहम्मद बुहारीले घटनाप्रति दुःख व्यक्त गर्दै शान्त रहन अपील गरेका छन् ।