चार महिनापछि नेप्सेमा भारी बृद्धि, १६ सय बिन्दूमा पुग्यो
काठमाडौँ, चैत १५ । चार महिनापछि नेप्सेमा भारी बृद्धि भएर निर्धारित समय अगावै बजार बन्द भएको छ । नेप्सेले १६ सय बिन्दुको उचाईमा पुगेको छ । मंगलबार तीन घण्टा नबित्दै बजार ५ प्रतिशतले बढेपछि कारोबार स्थगित गरिएको छ ।
बजार एकै दिन ७६ अंकले बढेको छ । यसदिन १ सय ४४ कम्पनीको सेयर किनबेच भएर १ अर्ब ३८ करोडको कारोबार भएको छ । बजार खुलेको आधा घण्टा नबित्दै ३ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेको बजार १५ मिनेट बन्द भएर खुल्दा केही सम्हालिएको थियो ।
बजारमा दिनानुदिन सेयर आपुर्ती बढ्दा पनि लगानीकर्ताहरु हौसिएका हुन् । बजार ४ प्रतिशत बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो भने त्यसपछि आधार घण्टा कारोबार बन्द भएर शुरु भएको केही समयमै बजार ५ प्रतिशतले बढेर दिनभरको लागि कारोबार रोक्का भएको हो । साविक चार घण्टा कारोबार हुने गरेकोमा तेस्रो पटक सर्किट ब्रेक लागेपछि ३ घण्टामा नै बजार बन्द भएको छ ।
मंगलबार मात्रै बजारमा ४२ करोड ९४२ लाख कित्ता० भन्दा बढि सेयर थपिएका छन् ।
बैंक तथा वित्तीय संस्थाले आगामी असारमा नै प्रस्ताव गर्न सकिने बोनस जोडेर चुक्ता पुँजी पुर्याउन सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ । बजारमा सबैभन्दा धेरै सेयर कारोबार हुनेमा पनि वाणिज्य बैंक र बीमा कम्पनीहरु रहेका छन् ।
नयाँ शक्त्ति नवलपुरका १७० नेता तथा कार्यकर्ता माअोवादी केन्द्र प्रवेश
काठमाडौं, चैत १२ । नयाँ शक्ति नेपाल नवलपुरका १७० जना नेता तथा कार्यकर्ताहरु माअोवादी केन्द्र प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रमबीच नयाँ शक्त्ति नवलपुरका नेता तारा भुसाल को नेतृत्वमा इस्वोरी महत्तो , रामराज पण्डित, हरिश चन्द्र पोख्रेल, भोज बहादुर भुजेल बिबस, रोहित सारु सहित १७०जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । ती सबै नेता तथा कार्यकर्तालाइ नवलपुरका माअोवादी केन्द्रका स्थानिय नेताहरुले पार्टीमा स्वागत गरेका थिए । पछिल्लो समय नयाँ शक्त्ति तथा अन्य पार्टीबाट माअोवादी केन्द्र प्रवेश गर्नेहरुको लहर चलेको छ । सरकारले स्थानिय तहको चुनाव अागामी बैसाख ३१ गते गर्ने घोषणा गरेपछि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु माअोवादी केन्द्र प्रवेश गर्ने लहर चलेको हाे । बिहिबारमात्र बैद्य माअोवादीका एक दर्जन केन्द्रिय नेताहरु माअोवादी केन्द्र प्रवेश गरेका थिए ।
नयाँ वर्ष २०७४ को अवसरमा ‘गुराँस उत्सव’
बागलुङ, चैत ६ । नयाँ वर्ष २०७४ को अवसरमा यहाँ ‘गुराँस उत्सव’ हुने भएको छ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ । जिल्लाको पर्यटकीय लेक घुम्टेको प्रवद्र्धन र लालीगुराँस संरक्षणका लागि उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा जैविक दृष्टिकोणले महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवद्र्धनका लागि गुराँस उत्सवले टेवा पुग्ने ठानिएको छ । “घुम्टेमा गुराँस फुल्ने याममा पर्यटकको आकर्षण बढाउन गुराँस उत्सव गर्ने गरिएको छ”– अध्यक्ष बस्नेतले भन्नुभयो । उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झन्डोत्तोलन, ‘क्याम्प फायर’, मुख्य समारोह लगायतका कार्यक्रमको आयोजना गरिने भएको छ ।
शेयर बजारमा पुनः गिरावट
काठमाडौं, चैत २ । मंगलबार सेयर बजारमा पुनः गिरावट आएको छ । बजार परिसूचक ओरालो लागे पनि कारोबार परिमाणमा भने सुधार आयो । उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंक बढीले ओरालो लागेर १३ सय ४७ मा आएर थामियो । उत्पादनमूलकबाहेक कारोबार भएका अरु सबै समूह ऋणात्मक रहे । होटल समूहमा सबैभन्दा उच्च २७ अंकको गिरावट आएको छ । वाणिज्य बैंक र जलविद्युत् समूह दोहोरो अंकले ओरालो लागे भने अरु समूह सामान्य अंकले ऋणात्मक रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको ९ लाख ४५ हजार कित्ता सेयर ५३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
बिमाले किसान पशुपालनतर्फ आकर्षित
पाल्पा, फागुन ३० । गाउँ गाउँमा बिमा कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालनमा किसानको आकर्षण बढेको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामार्फत सञ्चालित पशुधन सुरक्षण समितिले किसानको घर घरमा पुगेर पशुको बिमा गर्न थालेपछि उनीहरु पशुपालनमा आकर्षित भएका हुन् । समितिले किसानले पालेको पशु क्षति भइहालेमा लगानी नडुबोस् भन्ने उद्देश्यले २०६३ सालदेखि पशुबिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सहकारीले पाँच प्रतिशत प्रिमियम छुटमा घरदैलोमा नै गएर पशुबिमा गर्ने सेवा किसानलाई दिँदै आएको छ । पशुपालन क्षेत्रमा अभिप्रेरित गराउने उद्देश्यले सञ्चालन गरेको पशुबिमा कार्यक्रमले पशुपालक किसानलाई ठूलो फाइदा पुगेको समितिका संयोजक नगीलाल पौडेलले बताए । संस्थामा एक पशुबिमा गर्ने किसानलाई सहकारीले एक सेयर थप गरिदिने भएको छ । अहिलेसम्म एक हजार ५४६ पशुको बिमा गरिएको छ । गाई ३९३, भैँसी एक हजार ९३, बाख्रा ३८ र बङ्गुर २२ को बिमा गरिएको उक्त संस्थाका व्यवस्थापक भविनारायण मरासिनीले बताए । सहकारीले रामपुर नगरपालिकासहित जिल्लाका विभिन्न गाविस तथा नवलपरासी, तनहुँ, स्याङ्जाका विभिन्न स्थानका किसानको घरदैलोमा गई पशुबिमा गर्दै आइरहेको छ । समितिले बिमा गरेका पशुका लागि समय समयमा जुका, माटेका औषधि तथा विभिन्न रोगका भ्याक्सिङ पनि निःशुल्क रुपमा किसानलाई सेवा दिँदै आएको छ । सरकारले पशु बिमाका लागि जिल्ला पशु सेवा कार्यालय, सेवा केन्द्र तथा सम्पर्क केन्द्रमार्फत बिमा कार्यक्रम सञ्चालनमा ल्याए पनि यस क्षेत्रमा भने खासै प्रभाव नपरेको किसान बताउँछन् । समयमा नै बिना झन्झट घरमै क्षतिपूर्ति रकम उपलब्ध गराएपछि सरकारी कार्यक्रमका सट्टा सहकारीमा बिमाको आकर्षण बढेको पाइएको छ । “सरकारी प्रक्रियाले काममा ढिला हुने हुँदा सहकारीमै पशुबिमा गरेँ, बिमा गरेपछि भैँसी मर्यो, सहकारीले घरमै क्षतिपूर्ति रकम उपलब्ध गरायो,” रामपुरका वासुदेव ढुङ्गानाले भने ।
देशभर ग्यास अभाव
काठमाडौ, फागुन २९ । कुल मागको ६५ प्रतिशत मात्रै ग्यास आपूर्ति हुँदा राजधानीसहित देशभर खाना पकाउने ग्यास अभाव सुरु भएको छ। नेपालमा मासिक ३५ हजार मेट्रिक टन ग्यासको माग भए पनि पछिल्लो समय करिब २१ हजार मेट्रिक टनको हाराहारीमा आयात भएको छ। मागअनुसार भारतबाट ग्यास आपूर्ति हुन नसक्दा उपभोक्ता बजारमा अहिले ग्यासको अभाव बेहोर्न बाध्य भएका छन्। खाली हुनेबित्तिकै सिलिन्डर साट्दै आएका उपभोक्ताले अहिले भरिएको सिलिन्डर लिन तीनदेखि पाँच दिनसम्म कुर्नुपर्ने भएको छ। भारतको बरौनीस्थित ग्यास रिफाइनरी केन्द्र इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मेन्टिनेन्स गर्ने नाममा १० दिनदेखि पूर्ण रूपमा बन्द गरेको छ । उक्त केन्द्र बन्द हुँदा त्यहाँबाट आउने ग्यास बुलेट आउन बन्द भएको छ। कुल ग्यासको मागमध्ये करिब ३५ प्रतिशत बरौनी रिफाइनरीबाट र बाँकी हल्दिया, पारादिप, मथुरा र कर्णालस्थित रिफाइनरीबाट आपूर्ति हुन्छ। सामान्य समयमा बरौनीबाट मासिक १४ हजार मेट्रिक टन ग्यास आपूर्ति हुन्थ्यो। ‘मेन्टिनेन्स भनेर बरौनी रिफाइनरी डिपोले १० दिनदेखि पूर्ण रूपमा ग्यासको लोड दिन बन्द गरेको छु, नेपाल एलपी ग्यास उद्योग संघका उपाध्यक्ष गोकुल भण्डारीले भने, ‘यही बीचमा तराई मधेसको बन्द र हडतालका कारण लोड भएका बुलेट पनि विभिन्न स्थानमा रोकिएका छन्। बरौनीबाट पूर्ण रूपमा आउन बन्द र लोड भएका बुलेट पनि विभिन्न स्थानमा अलपत्र परेका कारण खाना पकाउने ग्यास उत्पादनमा निकै कमी आएको छ। यसले गर्दा बजारमा ग्यासको अभाव सुरु भएको हो।’ नेपाल ग्यास उद्योगका कार्यकारी निर्देशकसमेत रहेका भण्डारीका अनुसार तराई मधेसमा सुरु भएको आन्दोलनका कारण उपभोक्ताले सामान्य दिनभन्दा झन्डै दोब्बर संख्यामा सिलिन्डर सञ्चय गर्न थालेपछि बजारमा ग्यास अभाव भएको हो। संघका अर्का उपाध्यक्ष कुशप्रसाद मल्लीका अनुसार सामान्य समयमा मासिक नौ हजार मेट्रिक टन ग्यास लोड दिने हल्दिया रिफाइनरीले पछिल्लो एक महिनादेखि ५० प्रतिशतको हाराहारीमा मात्रै लोड दिन थालेको छ। उक्त स्थानबाट मासिक नौ हजार मेट्रिक टन कोटा छुट्ट्याए पनि हाल करिब चार हजार मेट्रिक टन ग्यासको लोड मात्रै दिँदै आएको छ। नेपालमा ५३ वटा उद्योगको ब्रान्डमा ७८ लाख सिलिन्डर उत्पादन हुन्छ। त्यसमध्ये ३५ लाख उपत्यकामा र बाँकी उपत्यकाबाहिर खपत हुन्छ। एक मेट्रिक टनबाट ७० वटा सिलिन्डर उत्पादन हुन्छ। अन्नपूर्णपोष्टबाट
ट्रक र बस ठोक्किदाँ ११ घाइते
चितवन, फागुन २८ । दारेचोक गाविस–३ कुरिनटारस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रक र बस ठोक्किँदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको लु १ ख ८११८ नम्बरको ट्रक र मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना.६.ख २४७८ नम्बरको बस एकआपसमा ठोक्किँदा बसमा सवार ११ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि काठमाडौं र भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
चिडियाघरमा बर्डफ्लु भेटियाे
इटहरी, फागुन २५ । पर्यटकीय क्षेत्र तालतलैयाको बाल उद्यान क्षेत्रभित्र रहेको चिडियाघरमा राखिएका पक्षीमा बर्डफ्लुको सङ्क्रमण भेटिएको छ । क्षेत्रीय प्रयोगशाला विराटनगर र केन्द्रीय प्रयोगशालामा मरेका पक्षीको परीक्षणबाट बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको जिल्ला पशु कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रमुख शिवनारायण महतोले यही फागुन २३ केन्द्रीय प्रयोगशालाले बर्डफ्लु भएको प्रमाणित गरेपछि सतर्कता अपनाइएको बताए । सङ्क्रमण मानिसमा सर्नबाट रोक्न कम्तिमा एक महिनाका लागि चिडियाघर बन्द गरिएको छ । मरेका पक्षीलाई सुरक्षित रुपमा गाड्ने काम पनि भइरहेको उनले जानकारी दिएका छन् । एक सातादेखि लगातार चरा मर्न थालेपछि बर्डफ्लुको आशङ्कामा बालउद्यान बन्द गरिएको थियो । संरक्षण समितिले चरा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयमार्फत मरेका पक्षी परीक्षणका लागि यही फागुन १९ गते क्षेत्रीय र केन्द्रीय प्रयोगशाला पठाएको थियो । तालतलैया विकास तथा संरक्षण समितिका महासचिव रमेश अधिकारीका अनुसार एक साताभित्र संरक्षित टर्की, मयुर, हुँचिल, राजहाँस, चरी बाघ, वन बिरालो र गिनी पिङ मरेका छन् । उक्त चिडियाघरमा दुर्लभ पक्षीसहित २२ प्रजातिका पक्षी संरक्षण गरेर राखिएको छ । तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले भने आफूहरुलाई पशु कार्यालयले बर्डफ्लु प्रमाणित भएको जानकारी नदिएको बताएका छन् ।
सर्वसाधारणलाई इन्फुलएन्जाबाट सर्तक रहन अपिल
तनहुँ, फागुन २५ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले इन्फुल्एन्जाबाट सर्तक रहन सर्वसाधारणलाई अपिल गरेको छ । जलवायु परिवर्तनका समयमा इन्फुलएन्जाको सम्भावना बढी हुने हुँदा जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सो अपिल गरेको हो । स्वास्थ्य कार्यालयले पत्रपकार सम्मेलन आयोजना गरी सो अपिल गरेको हो । यतिखेर बर्डफ्लु र स्वाइर्नफ्लु सर्ने सम्भावना रहेकाले ती रोगबाट बच्न सबै सजग हुनुपर्छ जिल्ला जनस्वास्थ्य अधिकृत गौरव ढकालले पत्रकार सम्मेलनमा भने । त्यस्तै पत्रकार सम्मेलनमा डा पवनजङ्ग रायमाझीले समेत इन्फुलएन्जाबाट सर्तक रहनुपर्नेमा जोड दिए ।
चुनावी खर्चलाई स्वच्छ र पारदर्शी बनाउन उद्योगी–व्यवसायीहरुको आह्वान
काठमाडौं, फागुन १६ । आगामी वैशाख ३१ मा हुने भनिएको स्थानीय तहको निर्वाचनमा लाग्ने चुनावी खर्चलाई स्वच्छ एवं पारदर्शी बनाउन उद्योगी–व्यवसायीहरुले आह्वान गरेका छन् । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)का अध्यक्ष पद्य ज्योतिको नेतृत्वमा गएको टोलीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग भेट गरी आगामी स्थानीय तहको निर्वाचनका बेला हुने खर्चलाई स्वच्छ एवं पारिदशी बनाउन आग्रह गरेका हुन् । अध्यक्ष ज्योतिले व्यवसायीहरुले व्यक्तिगत उम्मेदवार वा राजनीतिक दलहरुलाई पटक–पटक चन्दा दिनुको सट्टा सामूहिकरुपमा कुनै कोषमा एकैपटकमा सहयोग जम्मा गर्ने वातावरण भएमा निर्वाचनको चन्दा व्यवस्थापनका लागि अझ सहज हुने सुझाव दिएका थिए । भेटमा प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन एवं आर्थिक चलखेल हुन नदिन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको एनबीआईले जनाएको छ ।
‘लुट–२’को आक्रामक व्यापार ! दुई दिनमा कमायो तीन करोड, ‘छक्का पञ्जा’ को रेकर्ड ब्रेक
काठमाडौं, फागुन १५ । नेपाली चलचित्र उद्योगमा सबैभन्दा छिटो धेरै कमाउने चलचित्र बनाएर ‘लुट–२’ रेकर्ड बनाएको छ । प्रदर्शनमा आएको दुई दिनमा ३ करोड ग्रस कलेक्सन गरेर चलचित्रले यसअघि छक्कापञ्जाले राखेको रेकर्ड पनि तोडेको छ । फागुन १३ गते शुक्रबार रिलिज भएको ‘लुट–२’ ले सुरुवाति दुई दिनमै तीन करोडको कारोबार गर्दै दुई दिनमा अहिलेसम्मकै धेरै कमाउने सिनेमा बनेको हो । काठमाडौंका सबै हलहरु र काठमाडौं बाहिरका ८० वटा हलमा चलिरहेको फिल्मले काठमाडौंबाट शनिबार मात्रै एक करोड ५० लाखभन्दा माथिको व्यापार गरेको यसका निर्माता नरेन्द्र महर्जनले बताए । निश्चल बस्नेतको निर्देशन अनि नरेन्द्र महर्जन र माधव वाग्लेको निर्माण रहेको ‘लुट–२’ मा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, विपिन कार्की, सिर्जना सुब्बा, प्रतिकराज न्यौपाने लगायत कलाकारको मुख्य भूमिका छ यसअघि छक्का पञ्जाले दुई दिनमा एक करोड ७५ लाखको ग्रस कलेक्शन गर्दै सुरुवाति दुई दिनमा सबैभन्दा धेरै कमाउने सिनेमा बनेको थियो । तर ‘लुट–२’ ले दुई दिनमा तीन करोड भन्दामाथिको ग्रस कलेक्सन गरेपछि नयाँ रेकर्ड राखेको हो ।
बम निष्क्रिय
रौतहट, फागुन १५ । नेपाली सेनाले पेट्रोल पम्पमा राखिएको सुतली बम आज बिहान ९:३० बजे निष्क्रिय गरेको छ । सरमुज्वा गाविस–८ बङ्कुल बजारस्थित रहेको ओम आयल ट्रेड कन्र्सनमा गए राति अज्ञात व्यक्तिले राखेको सुतली बम आज बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अमर दल गुल्म पुरेनवाबाट आएको सेनाको टोलीले बम निष्क्रिय गरेको प्रहरी चौकी बङ्कुलका प्रहरी सहायक निरीक्षक रामेश्वर ठाकुरले बताए । बम किन कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको छ । बजारको पेट्रोल पम्पमा बम राखिएको खबरले स्थानीय व्यापारी त्रसित भएको स्थानीयवासी राजन जैसवालले बताए ।
सैनिक पोशाकमा विप्लवको उद्घोष: अब रोल्पामा होइन काठमाडौंमै हतियार उठाइन्छ
रोल्पा, फागुन १५ । विप्लव माओवादीले राजधानीबाटै एकीकृत क्रान्ति शुरु गर्ने घोषणा गरेका छन् । पार्टीको महाधिवेशनपछि आयोजित आमसभामा बोल्दै नेता विप्लवले अबको लडाई रोल्पामा मात्र नभएर राजधानीमा नै हुने बताएका हुन । पार्टी महाधिवेशनपछि आयोजित कार्यक्रममा नेता विप्लवले माओवादी केन्द्रले क्रान्तिसँग गद्दारी गरेको आरोप समेत लगाए । ‘माओवादी’ पदावली थबाङमै छोडेर हिडेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले फेरि हतियार उठ्ने बताएका छन् । हिजोको जनयुद्ध सामान्य उक्साहटमा नभएको दावी गर्दै विप्लवले प्रचण्डको भासन र महराको अनुहार हेरेर जनयुद्ध नगरिएको बताए । कि बलिदान, कि मुक्ति गर्ने भनेर हिडेको जनयुद्धको माओवादीले अपमान गरे पनि नेपाल कम्युनिष्ट पार्टीले अधिकारको लडाई कहिल्यै नरोक्ने बताए । ‘अधिकारको लडाई गर्दा कसैले दमन गर्छ भने हतियार उठ्नसक्छ’ विप्लवले भने ‘अबको लडाई रोल्पामा मात्र होइन काठमाडौंमै हुन्छ ।’ दलालहरुविरुद्ध अब काठमाडौंका मजदुर तथा विद्यार्थीहरुले लड्ने दावी गरे । माओवादी नेता कार्यकर्तालाई मुद्धा लगाउने षड्यन्त्र भइरहेको भन्दै उनले यदि त्यसो गरिए जनता आफैले बन्दुक उठाउने दावी गरे । थबाङबाट फेरि क्रान्तिको झन्डा उठाएको भन्दै विप्लवले जनताले भनेमा चुप लागेर बस्ने तर दलालहरुले दबाउन खोजेमा तरबारजस्तो भएर उभिने बताए । नेपाली जनता सन्तुष्ट नहुँदासम्म क्रान्ति नरोकिने उनले दावी समेत गरेका छन् । महरालाई प्रश्नः गुरु सपना भनेको के हो ? अधिकांश समय माओबादी केन्द्रलाई गालि गर्नमै खर्चेका विप्लबले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा आफ्नो गुरु भएको बताउँदै महराले एकसाता अघि बोलेका कुराको प्रतिवाद गरे । गत ६ फागुनमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले विप्लवको सपना ‘दिवासपना’ भएको बताएका थिए । महराको टिप्पणीको प्रतिवाद गर्दै विप्लवले भने ‘महरा सर, हाम्रो सपना दिवासपना भए, रात्री सपना कस्तो हुन्छ ?’ रात्री सपना पैसा कमाउने, मुर्ती चोर्ने, रक्तचन्दन ओसार्ने भएको आरोप लगाए । क्रान्ति गर्ने कुरा कसरी दिवासपना भयो भन्दै उनले प्रश्न गरे । उनले एकातिर दिएजस्तो गर्ने अर्कोतिर पुरै ह्याम्मर हान्ने कार्य गरिरहेको भन्दै प्रचण्ड र महराको कडा आलोचना गरे । उनले क्रान्ति सम्भव नभए राजिनामा दिएर बालकल्याणमा साइन्स पढाउन महरालाई आग्रह गरे । साथै प्रचण्डलाई समेत चितवनमा गएर कृषि गर्न चुनौती दिए । प्रचण्डको बोली लिबाङ नजिकैको धाङ्सी खोलाकैजस्तो भएको भन्दै उनले भने ‘साउन भदौको धाङ्सीखोला साँझ सुत्दा एकातिर बग्छ, बिहान उठेर हेर्दा अर्कैतिर बग्छ, त्यस्तै हो प्रचण्डको भासण ।’ प्रचण्ड, बाबुरामले माओवादीलाई विक्रि गरेको आरोप लगाए । विप्लवले नेपालका कुनै पनि दलहरु नेपाल कम्युनिष्ट पार्टीको दुस्मन नरहेको बताएका बिप्लबले ‘कुनै पनि दल हाम्रो दुस्मन होइनन्े ‘हरेक दलमा दलालहरु छन् ती हाम्रा दुस्मन हुन् उनले भने ।’ कुनै दलप्रति द्वैत भाव नभएको भन्दै उनले मुख्य दुस्मन दलाल पुजिपति भएको बताए । थबाङलाई सुन्दर बनाउने परिकल्पना प्रचण्ड बाबुरामले डाँडो काटेर गएपछि सबै हराएको आरोपनि लगाएका छन् । विपीलाई पढ्न सुझाव विप्लवले नेपालमा रहेका सबै दलले विपीलाई पढ्न सुझाव दिए । देशै बेचेर आफ्नो स्वार्थका लागि लम्पसार पर्ने नेताहरुका लागि विपी एउटा उदाहरण भएको पनि बताए । स्वार्थका लागि सिक्किम बेचेका लेन्दोप दोर्जे नेपालमा थुप्रै रहेको भन्दै तिनीहरुनै मुख्य दुस्मन रहेको बताए । अबको लडाई दलालसंगका पर्ने बताउदै उनले रोल्पाबाट होईन काठमाण्डौबाट लडिने बताए । कम्युनिष्ट ध्रुवीकरण आवश्यक विप्लवले नेपालमा विशाल धु्रविकरण आवश्यक रहेको बताए । कम्युनिष्टहरुको एकीकरण जरुरी रहेको भन्दै विप्लवले त्यसैका लागि नाम परिवर्तन गरिएको बताए । सबै दलमा देशभक्त रहेको भन्दै उनले कम्युनिष्ट र देशभक्तहरु नेपाल कम्युनिष्ट पार्टीमा समाहित हुने विश्वास व्यक्त गरे । पुच्छर झुन्ड्याएर नेपालका कम्युनिष्टहरु विशाक्त भएको भन्दै उनले अब हरेक पार्टीबाट सच्चा कम्युनिष्टहरु गोलबन्द हुनुपर्ने बताए । उनले हिजो माओवादीलाई एक बनाएर लुटेको अहिले फुटाएर लुटेको आरोप लगाए । विप्लवले विस्तृत शान्ति सम्झौताको पुनरावलोकन गर्नेपर्ने तर्क गरे । माओवादीसँग गरिएको विस्तृत शान्ति सम्झौता माओवादी बेगर लागुनहुने दावी गरे । ‘शान्ति सम्झौता जोसँग भएको हो उसलाई बाहिर राखेर कसरी प्रक्रिया चल्न सक्छ ?’ विप्लवले भने ‘विस्तृत शान्ति सम्झौता लागु भएकै छैन ।’ तपाई चुनाव गर्नुस्, हामी अर्को सत्ता चलाउँछौं । थबाङमा शहीद स्मृति भवन निर्माण गरिएको भन्दै उनले अब शहीद स्मृति संग्रहालय बनाउने जानकारी दिए । उनले नेपालमा आर्थिक सम्मेलन गर्ने तयारी भइरहेको समेत बताएका छन् । थबाङमा सम्पन्न भएको महाधिवेशनको घोषणा सभामा बोल्दै बिप्लबले माओबादी केन्द्रलाई खुब गालि गरेका थिए । यसकारण फेरियो नाम विप्लवले चार कारणले पार्टीको नाम फेरिएको बताए । आठौं महाधिवेशनले नेकपा माओवादीबाट ‘माओवादी’ हटाई नेपाल कम्युनिष्ट पार्टीमात्र बनाएको छ । १. विश्व कम्युनिष्ट शक्तिहरुलाई नयाँ भाव दिन, २. नेपालका सबै कम्युनिष्ट पार्टीलाई तीब्र धु्रविकरण गर्दै एकतावद्ध गर्न, ३. माओवादी बाहेकका सबै देशभक्त शक्तिहरुलाई विभिन्न समूहभन्दा माथि उठाएर गोलबन्द गर्न , ४. माओवादी भनेको फाइदाका लागि जे पनि गर्छ भन्ने भ्रम तोड्न । राजधानीको खुल्ला मञ्चमा फागुन १ गते उद्घाटन भइ रोल्पाको थबाङमा १० फागुनसम्म आयोजित बन्दसत्रले विभिन्न ११ बुँदे घोषणापत्र सार्वजनिक गर्दै महाधिवेशन समापन गरेको छ । महाधिवेशनले संसदीय व्यवस्था नभई बैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्ने भन्दै त्यसका लागि दवाव दिने समेत बताएको छ । महाधिवेशनले दुइपटकभन्दा बढि पदमा रहन नपाउने नीति समेत पास गरेको छ । त्यस्तै नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमा ६१ जना पूर्ण र २० जना बैकल्पिक सदस्य रहेको बताइएको छ । शनिबार लिबाङमा आयोजित सभामा पार्टी प्रवक्ता खड्गप्रसाद विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उमा भूजेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । शहीद सप्ताहको अवसर पारी आयोजना गरिएको कार्यक्रममा शहीद परिवारलाई सम्मान समेत गरिएको थियो ।
तेल चोरे पनि कारबाही हुनुहुँदैन भन्दै आन्दोलनको चेतावनी
काठमाडौं, फागुन ११ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने करिब सात सय चालक ट्यांकर मालिक भएका छन्। तिनै चाकलले तेल चुहावट रोक्न नेपाल आयल निगमले संशोधन गरेको ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३’ प्रति असहमति जनाएका छन् । ट्यांकर चालकले घुमाउरो पाराले तेल चोरे पनि कारबाही हुनुहुँदैन भन्ने माग अघि सारेका हुन्। शुक्रबार ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए फागुन १५ देखि ढुवानी रोक्ने धम्की दिएका छन्। ट्यांकर चालकले अव्यावहारिक माघ तेस्र्याएर निगमलाई घुँडा टेकाउने दाउमा छन्। शुक्रबार ढुवानी नहुँदा उपत्यकाका उपभोक्ताले तेलका लागि लाम बस्नुपरेको छ। संशोधित विनियमावलीमा पेट्रोलियम पदार्थको परिमाणमा ट्यांकरले लोड भएको भन्दा परिमाणको ०.२५ प्रतिशतभन्दा बढी फरक भए प्रचलित खुद्रा मूल्यको दुई गुणा मूल्य ढुवानीकर्ताबाट असुल गरी चालकलाई ढुवानी कार्यमा बन्देज लगाउन सकिने व्यवस्था छ । यो व्यवस्था कार्यान्वयन गर्न नदिने उनीहरूको योजना छ । पेट्रोलियम पदार्थ चुहावट नियन्त्रण गर्न निगमले कडाइ गरेपछि ट्यांकर चालकले तेल चोरे पनि कारबाही गर्न हुँदैन भन्ने माग अघि सारेको आयल निगमका एक अधिकारीले बताए। ‘चालकले बीच बाटोमा तेल बिक्री गरेर कमाउँदै आएका छन्,’ ती अधिकारीले भने, ‘चोरी नियन्त्रण गर्न निगमले गरेको विनियमावली संशोधनप्रति असहमति जनाउनु भनेको सधैं तेल चोर्न पाउँ भन्ने नै हो।’ निगमले अहिले ल्याएको विनियमावलीमा एक लिटर तेल कम भए दुई लिटरको मूल्य तिर्नुपर्छ भन्ने व्यवस्था छ। भारतको नाकाबन्दीका बेला पेट्रोलियम पदार्थ बीच बाटोबाटै कालोबजारीमा बिक्री भएपछि आगामी दिनमा यस्तो समस्या आए कारबाही गर्न निगमले यस्तो व्यवस्था गरेको हो। भारत र नेपालमा पेट्रोलियम पदार्थको मूल्य धेरै अन्तर छ। अहिले भारतमा भन्दा नेपालमा डिजेल प्रतिलिटर २४ रुपैयाँ ३३ पैसा र पेट्रोल १७ रुपैयाँ ७४ पैसा सस्तो छ। १२ हजार लिटरमा २ सय लिटर मात्र बेच्यो भने पनि नेपालको मूल्य कटाएर करिब ४८ सय रुपैयाँ एक ट्रिपमै कमाउन सकिन्छ। चालकले सर्ट चुवावट भएको भन्दै परेको मूल्य तिरेर उन्मुक्ति पाउँछ । यो खबर आजको नागरिक दैनिकमा छ ।
अस्कलमा क्रान्तिकारीबाट चौधरीले पाए अध्यक्षको टिकट
काठमाडौँ, फागुन ७ । अस्कलका नामले चर्चित राजधानीको अमृत साइन्स क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले घनश्याम चौधरीलाई स्ववियु सभापतिको उम्मेदवार घोषणा गरेको छ। क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका चौधरी अस्कलका नियमित विद्यार्थी हुन्। सिरहाको गोविन्दपुर स्थायी घर भएका चौधरी यस अघि क्रान्तिकारीको अस्कल क्याम्पस समितिका अध्यक्ष थिए। उम्मेदवार वनेसंगै चौधरीले आफ्नो प्रचार अभियानलाई तिब्र पारेका छन्।आफू क्याम्पसमा अहोरात्र खटेको र संगठनको ऐजेण्डा सहि भएकाले आफ्नो जीत सुनिश्चित रहेको चौधरीले दावी गरे।अस्कल क्याम्पसमा गत चुनावमा क्रान्तिकारीले झिनो मतले सभापति गुमाएपनि वमुमत सिट जितेको थियो। नेपालको राजनीतिक र शैक्षिक इतिहासमा अतुलनीय योगदान रहेको अस्कल क्याम्पसलाई नमुना र आधुनिक वनाउन लाग्ने चौधरीले वताए।फागुन १४ गते हुने स्ववियु निर्वाचन चार दिन सरेर फागुन १८ गते हुँदैछ।
वैशाखभित्रै चुनाव हुन्छ : प्रधानमन्त्री
पाँचथर, फागुन ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो बेलुका र आज बिहान मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भइसकेको छ, अब चाँडै असमझदारीका विषयमा सहमति गरेर वैशाखभित्रमा स्थानीय तहको निर्वाचन गर्नेछौँ ।’ उनले अब संविधान आइसकेकाले मुलक समृद्धितिर लम्किने बेला आएको बताए । उनले मुलुकलाई समृद्धितर्फ अघि बढाउन ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै यो क्षेत्रमा लाग्न सबै सरोकारवालालाई आग्रह गरे । अब सरकारले साना लघुजलविद्युत् परियोजना मात्रै नभएर अब जलाशययुक्त ठाउँ पहिचान गरी त्यस्ता नदीबाट बिजुली उत्पादन गरी मुलुकलाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको बताए । यस्तै कार्यक्रममा बोल्दै ऊर्जामन्त्री जनार्दन शर्माले काम गर्ने शैली परिवर्तन गर्दै नयाँ तौरतरिकाबाट मुलकलाई समृद्धितर्फ अघि बढाउन सकिने धारणा व्यक्र गरे । मन्त्री शर्माले नीति निर्माण गर्ने बेलामा आफू तार काट्दै हिँड्नु पर्ने बेला आएको भन्दै उनले झिनामसिना काम नगरी ठूला काम गर्न नसकिने बताए । उनले तमोर जलाशयलाई अघि बढाउन सके यस प्रदेशका जनताका जीवनस्तर उकासिने मात्रै नभएर मुलक नै समृद्ध बन्ने भएकाले यसका लागि सरकारले ऋण लिएर भए पनि तमोर जलाशयलाई अघि बढाउने बताएका छन् ।