मलेसियामा एक नेपालीको मृत्यु
बैतडी । सडक दुर्घटनामा परी मलेसियामा शुक्रबार एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् ।
कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा शुक्रबार बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए ।
बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा)कम्पनीमा कार्यरत रहेका थिए । मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउनु परेको छ । रासस
३२ हजार कर्मचारीको जागिर जोखिममा
काठमाडौं, साउन १ । करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका छन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरिसकेका छन् । सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित हुने भएका छन् । त्यस्ता कर्मचारीको संख्या काठमाडौंमा मात्र करिब १३ हजार छ । संघ (केन्द्र) देखि जिल्ला र स्थानीय तहसम्मका कार्यालय खारेज र मर्ज भएपछि फाजिलमा परेका करार र ज्यालादारी कर्मचारीलाई हाजिर गराउन नसकिने जानकारी यसअघि नै दिइसकिएको छ । करार र ज्यालादारी कर्मचारीको छाता संगठन अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले हाजिर नगराए आन्दोलन गर्ने घोषणा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले भने सम्बन्धित कार्यालयले नै नाम काटेर पठाएकाले थप्न नमिल्ने जिकिर गर्ने गरेको छ । कान्तिपुरमा खबर छ ।
रोजगार कम्पनीले नाजायज फाइदा उठाएः श्रममन्त्री विष्ट
काठमाडौँ, असार ३० । जापानका लागि नेपाली प्रशिक्षार्थी पठाउने कुराको बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन् । विगतका समयमा जापानी अन्तर्राष्ट्रिय तालीम सहयोग संगठन अन्तर्गत प्रशिक्षार्थी पठाउने गर्दा नेपाली प्रशिक्षार्थी मारमा परेको र यसका कारण बैदेशिक रोजगार कम्पनीले फाइदा उठाउने गरेको बताउँदै मन्त्री विष्टले नयाँ प्रणालीको भद्र सम्झौता अन्तर्गत कम्पनीबाट प्रशिक्षार्थी नठगिने बताए । नेपालका लागि जापानका नयाँ राजदूत मासामिची साइगोसँग शुक्रबार मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री विष्टले भने, “जापानमा वृद्धवृद्धाको संख्या बढिरहँदा नेपालबाट केयरगिभर (सेविका) पठाउन सकिने ठूलो सम्भावना रहेको छ ।” श्रम र रोजगारीसम्बन्धी पारस्परिक हित र सहकार्यका हरेक प्रयासमा जापान सरकारको सकारात्मक सहयोग परिचालन गर्न आफूले हरसम्भव प्रयास गर्ने राजदूत साइगोले बताए । -रासस
नेटका कर्मचारी नियन्त्रणमा
काठमाडौं, असार २८ । जथाभावी तार टाँगेर शहरलाई कुरुप बनाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई काठमाडौं महानगरपालिकाले नियन्त्रणमा लिई सचेत गराएको छ । तार जडान गर्ने क्रममा अरूको तार काट्ने र आफ्नो तार जडान गरेको, जथाभावी तार टाँगेर शहरलाई कुरुप र जोखिमपूर्ण बनाएको भन्दै कामपा–१६ ले तीन वटा इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई नियन्त्रणमा लिई आगामी दिनमा यसो नगर्न निर्देशन दिएको छ । बालाजु बाइपास क्षेत्रमा तारको काम गरिरहेको बेला कामपा–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निर्देशनमा प्रतिनिधिमूलक तीन जना कर्मचारीलाई नियन्त्रणमा लिई आफ्नो काम गर्ने क्रममा अरूलाई असर नपु¥याई सुन्दर शहरलाई जोगाउन सचेत गरिएको छ । यसरी नियन्त्रणमा लिइएका कर्मचारी वल्र्ड लिंक, भायोनेट र नेट म्याक्सका थिए । आज बिहान ११ बजे, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएशन अफ नेपालका कोअर्डिनेटर विनोद जोशीको नेतृत्वमा कम्पनीका प्रतिनिधि वडा कार्यालय पुगेर वडाध्यक्षसँग आफ्ना समस्या बुझिदिन आग्रह गर्दै आगामी दिनमा शहरको सन्दरतालाई जोगाउने कार्यमा आफूहरु लागिपर्ने बताएका थिए । आफू कहाँ आएका इन्टरनेट सेवा प्रदायकको कुरा सुनेपछि वडाध्यक्ष रिजालले शहरी सुरक्षाका लागि हामीले राखेको सिसिटिभी क्यामराको तार छुटेकाले यी सबै व्यवस्थापन गरेर मात्र काम अघि बढाउनुपर्छ भन्नुभयो । रासस
बुधबार बौद्ध–टुसाल सडक क्षेत्र डुबानमा
बुधबारदेखि लगातार भएकाे वर्षाका कारण काठमाडौंको विश्वसूचीमा परेको बौद्धनाथ क्षेत्रको सडक डुबान ग्रस्त भएको छ । सडक डुबानका कारण सवारी साधन, युवायुवती, बुढाबुढी, विद्यार्थीहरुलाई आवतजावत गर्न निकै कठिनाई भएको छ । तस्वीरः इभा राजवाहक
भोलिसम्म भारी वर्षा हुने
काठमाडौं, असार २८ । देशका विभिन्न ठाउँमा भोलिसम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मध्य र पश्चिमी भू-भागहरुमा मध्यम देखी भारी वर्षा भइरहेको छ । बिहिबार दिउँसोको समयमा देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साँझ र राती पनि देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । अविरल वर्षाका कारण देशका पहाडी क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
प्रदेश नं ७ काे बजेटमा सत्तापक्षकै सांसदद्वारा असन्तुष्टि व्यक्त
धनगढी, १५ असार (रासस) ः प्रदेश नं ७ को आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिने अधिकांश सदस्यले आआफ्नो निर्वाचन क्षेत्रका योजना बजेटमा नसमेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बैठकमा सत्ता पक्षका सदस्यले आव २०७५÷०७६ को बजेटको स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । सत्ता र प्रतिपक्ष कतिपय सदस्यले भने बजेटले आआफ्नो निर्वाचन क्षेत्रका योजनालाई सम्बोधन नगरेको तथा सम्बोधन भएका योजनामा पनि न्यून बजेट विनियोजन गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । प्रतिपक्षका सदस्यले बजेटका विषयमा प्रतिपक्षीसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्नुभयो । प्रतिपक्षी सदस्यहरुले संघीय संसद्मा सत्तापक्षकै सांसदद्वारा दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संघीयताको मर्म र भावना विपरीत रहेको भन्दै आपत्ति जनाउनुभयो । आजको बैठकमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कृष्णराज सुवेदी, माया तामाङ, नन्दबहादुर साउद, कुलवीर चौधरी, हर्कबहादुर कुँवर, चुनकुमारी चौधरी, मानबहादुर धामी, प्रकाश रावल र दुर्गाकुमारी विक तथा प्रतिपक्षका डा रणबहादुर रावल, नन्दा बम, कर्णबहादुर मल्ल, देवराज पाठक, गोविन्दराज बोहरा र उमाकुमारी बादीले भाग लिनुभएको थियो । प्रदेश सभाको अर्काे बैठक यही असार १६ गते बिहान ८ बजे बस्नेछ । File Photo
क्यानडा टी-२०ः आज सन्दिपले खेल्न पाउँलान्, सम्भावना कति ?
काठमाडौं, असार १४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम मोन्ट्रेयल टाइगर्सले आज क्यानेडियन टी-२० लिगको पहिलो खेल खेल्दै छ । टाइगर्सले पहिलो खेल विनिपेग हक्ससँग खेल्न लागेको हो । खेल क्यानेडाको किङ रंगशालामा नेपाली समयअनुसार राती १ बजे हुने छ । नेपाली स्पिनर लामिछानेलाई गत जेठमा टाइगर्सले आफ्नो टिममा अनुबन्ध गरेको थियो । सन्दिपले आज खेल्न भने पाउने हुन् या होइन् अहिले नै टुंगो लागेको छैन । उनीसहित अन्य उत्कृष्ट बलर रहेकाले आजको खेलको पेलिइङ-११ मा पर्न मुस्कील छ । तर आइपीएलमा सन्दिपले उत्कृष्ट प्रर्दशन गरेकाले टिमले उनलाई खेलाउने सम्भावना पनि बढि छ । सन्दिप आवद्ध टिममा विभिन्न देशका उत्कृष्ट खेलाडी आवद्ध छन् । उनीसँगै वेस्ट इन्डिजका दिनेश रामदिन, पाकिस्तानका मोमहद हफिज, श्रीलंकाका थिसारा परेरा, वेस्ट इन्डिजका सुनील नारिन, श्रीलंकाका अर्का खेलाडी लासिथ मालिङगा, जिम्बावेका सिकन्दर राजा र अफगानिस्तानका नाजिबुल्लाह जार्डान पनि टाइगर्समा आवद्ध भएका छन्। यस्तै, हक्सको टिममा डेबिड वार्नर, डिजे ब्राबो, डेबिड मिलर, अलि खानलगायत खेलाडी छन् ।
छात्राको संख्या बढी भएपनि एसर्इर्इ परीक्षाको नतिजामा छात्र नै अगाडि
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन् । परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थीमध्ये दुई लाख २७ हजार ९३१ जना छात्रा र दुई लाख २३ हजार ६०१ जना छात्र रहेकामा ग्रेड पोइन्ट एभरेज (जिपिए) ३ दशमलव ६५ देखि ४ दशमलव शून्यसम्म ल्याउने छात्राको प्रतिशत २ दशमलव ७ मात्र देखिएको छ भने सोही जिपिएमा छात्रको प्रतिशत ६ दशमलव ६ देखिएको छ । जिपिए २ भन्दा तल धेरै छात्रा देखिएका छन् । शनिबार सार्वजनिक नतिजाअनुसार ३ दशमलव २५ देखि ३ दशमलव ६ सम्म हासिल गर्नेमा करीब ९ प्रतिशत छात्रा छन् भने छात्राको प्रतिशत ११ दशमलव ६ प्रतिशत छ । शिक्षाविद् डा मनप्रसाद वाग्ले भन्नुहुन्छ, “परीक्षामा संख्यात्मकरूपमा छात्राको संख्या बढी देखिए तापनि गुणात्मकरूपमा छात्रको उपलब्धि बढी देखिएको छ, यो सकारात्मक संकेत होइन । झण्डै ५० प्रतिशत छात्राका जिपिए २ भन्दा तल हुनुले शिक्षामा समानता ल्याउनु चुनौतीपूर्ण देखाएको छ ।” उहाँले आगामी दिनमा छात्राको उपलब्धि बढाउन र शिक्षाको लगानीअनुसारको प्रतिफल ल्याउन प्रत्येक विद्यालयले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले सहभागीमा छात्राको संख्या बढी भए पनि परिणामअनुसार छात्राहरु केही पछाडि परेको पाइएको बताउनुभयो । प्राविधिक त्रुटि सच्चाइयो शनिबार सार्वजनिक भएको संवत् २०७४ को परीक्षाफलमा केही विद्यार्थीको नतिजाको ग्रेडमा भोलिपल्ट वृद्धि भएको विषयमा परीक्षा नियन्त्रण कार्यालयले गल्ती स्वीकार्दै प्राविधिकरुपमा सुधार गरेको छ । नतिजा वेभसाइटमा राख्दा इनपुट र आउटपुटको सूत्र प्रोसेसिङको प्राविधिक पक्षमा केही विषयको मार्जिनल केसमा जिपिए सुधार भएको हो । उपनियन्त्रक गौतमले प्राक्टिकल नम्बर जोड्न भूल भएको नभई प्राविधिक त्रुटि भएको दाबी गर्दै केही विद्यार्थीको अन्तिम ग्रेडसिटमा ग्रेड सामान्य वृद्धि भएको बताउनुभयो । प्राविधिक त्रुटिको विषयमा छानविनको माग भइरहेका बेला कार्यालयको पछिल्लो ग्रेडसिटलाई आधिकारिक मान्न आग्रह गरेको छ । सरकारी र निजीको तुलना हुँदै परीक्षाफल सार्वजनिक भएको भोलिपल्ट प्राविधिक गडबडी पत्ता लागेपछि ग्रेडसिटलाई सुधार्न प्राविधिक टोली व्यस्त भए पनि पनिकाले परीक्षाफलका विविध पक्षहरुको विश्लेषण गर्न भ्याएको छैन । सहभागीमध्ये सामुदायिक र निजी विद्यालय तथा प्रदेशगत तुलनाको आँकडा तयार भइनसकेको उपनियन्त्रक गौतमले बताउनुभयो । उहाँले जिपिएलाई ‘ए’, ‘बि’, ‘सी’ जस्ता ग्रेड र प्रतिशतमा रुपान्तरण गर्न नसकिने पनि स्पष्ट गर्नुभयो । नेपाल शिक्षक युनियनका अध्यक्ष बाबुराम थापाले विगतको तुलनामा सामुदायिक विद्यालयको नतिजामा क्रमशः सुधार आएको जनाउँदै शिक्षक नेता प्रधानाध्यापक रहेका विद्यालयमा पनि नतिजा राम्रो रहेको दाबी गर्नुभयो । ललितपुरको रुद्रायणी मावि, खोकनाका प्रअ थापाले आफ्नो विद्यालयमा ‘ए’ प्लससहित सबै विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य हुने गरी सफल भएको जानकारी दिनुभयो । “शिक्षक नेताहरुले राजनीतिमात्र गर्छन्, पढाउँदैनन् भन्ने आरोपलाई नतिजाले खण्डन गरिदिएको छ”, थापाले भन्नुभयो । रासस
आठ वर्षीय बालकको पेटमा ७ सय ग्राम जुका !
ओखलढुंगा, असार ९ । चिसंखुगढी गाउँपालिका-६ भदौरेका आठ वर्षीय बालकको पेटबाट चिकित्सकले ७ सय ग्रामभन्दा बढी जुका निकालेका छन् । चिसंखुगढी गाउँपालिका– ६ भदौरेका झनमाया मगरका ८ वर्षीय छोरा मदन मगरको पेटबाट शल्यक्रिया गरेर चिकित्सकले जुका निकालेका हुन् । लामो समयदेखि बिरामी परेका मगरलाई ओखलढुंगा सामुदायिक अस्पताल ल्याइएको थियो । चिकित्सकले दुई घन्टा लगाएर शल्यक्रिया गरी सो परिणामको जुका निकालेका हुन् । पेटमा भएको जुकाकै कारण बालकको श्वासप्रश्वनस बढ्ने, हिँड्न नसक्ने, खाना खान मन नगर्ने र बान्ता गर्नेलगायत लक्षण देखाएका थिए । यस्ता लक्षण देखाएपछि गाउँघरमै धामीझाँक्री लगाउँदै आएका परिवारले रोग निको नभएपछि अस्पताल ल्याइएको मदनकी आमा झनमाया राना मगरले बताइन् । समयमै अस्पताल आइपुगेकाले बालकलाई बचाउन सफल भएको ओखलढुंगा सामुदायिक अस्पतालका डाक्टर रवीन्द्र मेहताले बताए । पहिले बालकलाई औषधि चलाएको भए पनि निको नभएपछि आन्द्रा काटेर जुका निकालेको उनले सुनाए । नयाँ पत्रिकामा खबर छ ।
भूमिहीनको लगत संकलन गरिँदै
दमक । झापाको दमक नगरपालिकाले गठन गरेको भूमि व्यवस्थापन आयोगले नगरका दुईवटा वडाका भूमिहीनको लगत संकलन थालेको छ । दमक–९ र १० बाट आयोगमा एक हजार २५ भूमिहीनले निवेदन दिएका छन् । दमकमा अव्यवस्थित बसोबास तथा भूमि समस्या समाधानका लागि गठित आयोगले ती दुईवटा वडामा लगत लिने काम सिकिएको जनाएको छ । दमक– ३ र ८ बाट लगत संकलनको माग थाल्ने निर्णय भएको आयोगका अध्यक्ष अम्बिका खनालले जानकारी दिनुभयो । अध्यक्ष खनालका अनुसार आयोगमा दमक–९ का ४०० तथा दमक–१० का ६२५ जनाले निवेदन दिएका छन् । उहाँले नगरका १० वटै वडामा भूमिहीनको लगत लिइने बताउनुभयो । “सबै निवेदनको अध्ययन गरी छानविन शुरु गछौँ,” खनालले भन्नुभयो । आयोगमा नगरपालिकासहित राजनीतिक दल, मालपोत र नापी कार्यालयका प्रतिनिधि समावेश गरिएको छ । दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओली दुई वर्षभित्रमा आयोगले नगरभित्रको भूमि समस्या समाधान गर्ने लक्ष्य लिएको बताउनुभयो । रासस
हानिकारक सोडा मिसाउने २५ डेरीलाई कारबाहि नहुने !
काठमाडौं, असार ८ । कृषिमन्त्रीको नेतृत्वमा ११ दिनअघि गरिएको प्रशोधित दूधको अनुगमनमा मानव स्वास्थ्यका लागि हानिकारक सोडा मिसाउने २५ वटा डेरी उद्योगलाई कानुनी कारबाही नहुने भएको छ । खाद्यवस्तुको गुणस्तर नियमन गर्ने बबरमहलस्थित ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग’ ले यी उद्योगलाई कारबाही गर्ने कानुनी आधार नभएको जनाएको छ । कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वको अनुगमनले खाद्य ऐनअनुसार दूधको नमुना संकलन नगरेकाले विभागले सोडा मिसावट गर्ने उद्योगीहरूलाई कारबाही गर्ने आधार नभएको हो । ‘खाद्य ऐनमा नमुना संकलन गरिँदा अनुसूची फारम भरेर नमुना संकलन लिनुपर्छ । त्यसो गर्ने अधिकार खाद्य निरीक्षकलाई मात्रै तोकिएको छ,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, ‘त्यो ऐनले नमुना संकलन गरिँदा अनुसूचीमा रोहबरमा पनि हस्ताक्षर गराउनुपर्छ भनेको छ ।’ मन्त्री खनालको टोलीले अनुसूची फारम भरेर डेरी उद्योगको दूध संकलन गरेको थिएन । ‘डेरी उद्योगका उत्पादनको स्वच्छताबारे जानकारी लिनका लागि मन्त्रालयले गरेको अनुगमन थियो,’ विभागका महानिर्देशक संजीव कर्णले भने, ‘मन्त्रीज्यूको त्यो अनुगमन हाम्रो विभागको कार्यक्षमतामाथिको पनि अनुगमन थियो ।’ महानिर्देशक कर्णले लगत्तै खाद्य ऐनअनुसार काठमाडौंका दर्जनौं डेरीका नमुना संकलन गरी खाद्य ऐनअनुसार जाँच भइरहेको बताए । -कान्तिपुरमा खबर छ ।
परीक्षाफल सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७४ मौका समेत) को मैथली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । उक्त परीक्षाफल www.educationsansat.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्ने सकिनेछ । साथै नेपाल टेलिकमको १६०२ मा डायर गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै एमए सिम्बोल नं. टाइप गरी २४९४९ मा एसएमएस गरेर थाहा पाउने सकिनेछ
भारतीय राष्ट्रपति कोविन्द ग्रीस, सुरिनेम र क्युबाको भ्रमणमा
नयाँ दिल्ली, असार २ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले तीन वटा देशको सात दिने भ्रमण सुरु गर्नुृ भएको छ । उहाँले शनिबारबाट ग्रीस, सुरिनेम र क्युबाको भ्रमण सुरु गर्न लाग्नु भएको हो । उहाँले राष्ट्र प्रमुखको हैसियतबाट युरोप र ल्याटिन अमेरिकाको भ्रमण गर्न लाग्नु भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिका जनाइएको छ । पहिलो चरण ग्रीसबाट सुरु हुन लागेको यस भ्रमणहरु जुन १६ बाट १९ सम्म हुने जनाइएको छ । ग्रीसमा उहाँले भारतीय समूदायसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । हाल ग्रीसमा १२ हजार भारतीय मूलका नागरिकको बसोवास रहेको छ । क्युबामा राष्ट्रपति कोविन्दले क्युबाका पूर्व राष्ट्रपति फिडल क्यास्ट्रोको समाधि स्थलमा गई फूलको माला चढाउने कार्यक्रम रहेको छ ।
अनुसन्धान गर्न ‘बडी क्यामेरा’ प्रयोग गर्दै प्रहरी
झापा, जेठ ३१ । जिल्लाको इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । इप्रकाको कार्यप्रगति विवरणबारे जानकारी दिन बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रनानि कोइरालाले भन्नुभयो, “यो प्रविधिले अपराधीमात्र होइन प्रहरीको चालचलन र गतिविधिबारे जानकारी लिन पनि सहज हुन्छ, कतिपय घटनामा प्रहरी पनि दोषी भएको आरोप लाग्ने गरेको छ ।” इप्रकाबाट क्यूआटी मोटरसाइकलमा परिचालन हुने र गस्तीमा जाने प्रहरीका लागि ‘बडी क्यामरा’ जडान गरिएको हो । मोटरसाइकलमा हिँड्नेको हेलमेट र गस्तीमा हिँड्नेको शरीरमा साना क्यामरा फिट गरिएको प्रहरीले जनाएको छ । प्रविधिको प्रयोगबाट अनुसन्धान छिटो सम्पन्न हुने र पीडितले चाँडै न्याय पाउने प्रहरीको अपेक्षा छ । इप्रकाले यसअघि नै नगरका विभिन्न क्षेत्रमा सिसी क्यामेरा जडान गरिसकेको छ । -रासस
काठमाडौं–ताप्लेजुङ हवाई भाडा वृद्धि
ताप्लेजुङ, जेठ १९ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । यसअघि पाँच हजार ३३० रुपैयाँ भाडादर रहेकामा अहिले एक हजार ८६५ बढाएर सात हजार १९५ पु¥याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिनुभयो । एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएको छ । निगमको केन्द्रीय कार्यालयबाट नै नयाँ भाडादरसहितको परिपत्र आएको राईले बताउनुभयो । ताप्लेजुङको सुकेटार विमानस्थलबाट हरेक साता बुधबार र शुक्रबार काठमाडौँ उडान भर्दै आएको निगमको उडान भने यही जेठ ८ गतेदेखि स्थगित छ । प्राविधिक कारण देखाउँदै स्थगित उडान जेठ २३ गतेदेखि नियमित गरिने बताइएको छ । यस वर्ष भने बर्खामा उडान स्थगन नहुने बताइएको छ । यसअघि असारदेखि तीन महिनासम्म वर्षायामले समस्या हुने जनाउँदै उडान स्थगन हुँदै आएको थियो । अहिले विमानस्थल कालोपत्रे भएकाले पनि वर्षायाममा नरोकिने राईको भनाइ छ । रासस