वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र

लहान । राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान– चतरा, गाईघाट– कटारी, सिन्धुली–हेटाँैडा सडक आयोजनाको पूर्वी खण्ड निर्माणको काम तीव्र रुपमा अघि बढेको छ ।

भित्री मधेसलाई राजधानीसँग जोड्ने सबै भन्दा छोटो उक्त राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम अघि बढ्ेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वीरेन्द्र चोकदेखि सिन्धुलीको भिमानसम्मका विभिन्न भागमा कलभर्ट, कज्वे र पुलपुलेसा निर्माण भइरहेको छ । डेढवर्ष अघि निर्माण कार्य शुरु भएको वैकल्पिक उक्त राजमार्गको करिब ३५ प्रतिशत भन्दा बढी काम पूरा भइसकेको आयोजना कार्यालय गाईघाट उदयपुरले जनाएको छ ।

धरान चतरा गाईघाट कटारी सिन्धुली हेटाँैडा सडक आयोजना पूर्वी खण्डमा १३४ किलो मिटर सडक पर्दछ । सडक ११ मिटर फर्मेशन चौडाइ भएको कालोपत्रेयुक्त हुने आयोजना कार्यालयले जनाएको छ ।

घरटहराको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निमार्ण हुने स्थानमा हुने विवाद मिलान भएसँगै सडक निमार्णको कार्यले गति लिएको निमार्णाधिन धरान चतरा गाईघाट कटारी सिन्धुली हेटाँैडा सडक आयोजना पूर्वी खण्ड गाईघाटका आयोजना प्रमुख उमेश विन्दु श्रेष्ठले जानकारी दिनुभयो ।

आर्थिक प्रगति लक्ष्यअनुसार भएका कारण आयोजनाको कामले तीव्रता लिएको आयोजना प्रमुख श्रेष्ठको कथन छ ।

मुआब्जाको निवेदन दिन छुटेकाको लागि निवेदन दिन र लगत कट्टा गर्न शुरु भइसकेको छ र केही दिनभित्रै मुआब्जाको विषय टुंगिने उहाँले बताउनुभयो ।

उदयपुर तर्फ निर्माण कार्यमा खासै अवरोध नभए पनि सिन्धुली तर्फ भने विद्युत् प्राधिकरणले विद्युत्का पोल हटाउन ढिला भएको छ । सडक योजना तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण गरिसक्ने लक्ष्य राखी २०७३ साल कात्तिक २२ गते निर्माण व्यवसायी जेडआइईसी शर्मा लामा जोइन्ट भेञ्चरले रु सात अर्ब ३६ करोड ९९ लाख ८४ हजारमा ठेक्का सम्झौता भएको थियो ।

राजमार्गले उदयपुरको बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुर गढीगाउँपालिका र कटारी नगरपालिका स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने जनाएको छ भने सिन्धुली तर्फ दूधौली नगरपालिका र कमलामाई नगरपालिका हुँदै हेटौडासम्म पुग्ने छ ।

वैकल्पिक मार्गको निर्माण कार्यमा कुनै अवरोध नआए निर्धारित समयमै निर्माण सम्पन्न हुने स्थानयवासीको कथन छ । आफ्नै घर आगनमा राजमार्ग निर्माण शुरु भएसगै स्थानीयवासी हर्षित भएका छन् । रासस

प्रधानमन्त्री ओलीले गरे समकक्षी मोदीलाई जनकपुरमा स्वागत

काठमाडौं, वैशाख २८ । नेपालको दुई दिने राजकीय भ्रमण जनकपुर आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समकक्षी केपी शर्मा ओलीले रामजानकी मन्दिरमा स्वागत गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा पूजा सुरु गरेका छन्। भारतको एयर इण्डियाको विमानबाट जनकपुर विमानस्थलमा आइपुगेका मोदी त्यहाँबाट उच्च सुरक्षाकासाथ जानकी मन्दिरमा पुगेका हुन्।

प्रदेश नं ७ लाई देशकै नमूना बनाउँछु : सभामुख थापा

बझाङ । भेटघाटका लागि गृहजिल्ला बझाङ पुग्नुभएका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सभामुख थापाले जनतामुखी बजेट ल्याइने बताउनुभयो । “गाउँको विकास भए मात्र देशको विकास हुन्छ । हिजो सिहंदरबारको मुख ताकेर बसेका जनतालाई अहिले गाउँगाउँमा अधिकार दिइएको छ । विकास अल्पकालीन हैन दीर्घकालीन हुनुपर्छ,” उहाँले भन्नुभयो । सभामुख थापाले भन्नुभयो, “जेठको पहिलो साता बजेट अधिवेशन हुँदैछ, पश्चिम सेती, अपर सेतीलगायत युवालाई आत्मानिर्भर हुने खालका योजना ल्याउन पहल गर्नेछु ।” बझाङको विकासका लागि ग्रामीण भेगमा बनेका सडकको स्तरोन्नति, केन्द्रीय प्रसारणलाइन जोड्ने चैनपुर ताक्लोकोट सडकखण्डको सुरुङमार्ग हिउँ जम्ने ठाउँमा निर्माण गर्ने र सदरमुकाम चैनपुरलाई नमूना सदरमुकाम बनाउन बजेट विनियोजन गर्ने उहाँको भनाइ छ । साइपाल गाउँपालिकाबाट हुने जडीबुटीको अवैध चोरी–निकासी रोक्न स्थानीय सरकारले पहल गर्नुपर्ने थापाले बताउनुभयो । विकासका लागि तेरो मेरो हैन हामी सबैको हो भन्ने भावना सबैमा जाग्नु आवश्यक रहेको उहाँको भनाइ थियो । रासस

बिर विश्वासको ‘आकाशैमा तीन तारा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, वैशाख २३ । आकाशैमा तीन तारा यति बेलाका लोकप्रिय गायक बिर विश्वासको आफ्नै शब्द, संगीत र स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा बिक्रम चौहान, टिका जैसी, क्रीपा पौडेल र बिर बिस्वासको अभिनय रहेको छ । गीतमा बिक्रम चौहान कै कोरियोग्राफी रहेको छ । प्रकास खड्काको सिनेमाटोग्राफी रहेको गीतलाई मिलन बिकले सम्पादन गरेका छन । भारतको गुजरातमा बस्दै आएका बिर संगीतका विद्यार्थी पनि हुन् । उनले आफ्नो कर्मसंगै गीत र संगीतलाई पनि साथ् साथै लाँदै आएका छन् । उनले भारतका बिभिन्न कार्यक्रममा नेपाली कलाकारहरुलाई प्रस्तुतिको लागी पनि लैजाने गरेका छन् । नेपाली कलाकारिता र संगीतलाई मायाँ गर्ने बिर को गीतले सफलता हात पार्नेमा उनि बिस्वोस्त रहेका छन् ।

प्रेमविवाह गरेको पाँच महिना नबित्दै अदालतभित्रै श्रीमतीको हत्या

भारतको ओडिशास्थित संबलपुरमा एक व्यक्तिले अदालतको प्रतिक्षालयमा आफ्नी श्रीमतीमाथि तरबार प्रहार गरी हत्या गरेका छन् । स्रोतका अनुसार श्रीमती आमा बुवासहित श्रीमानसँगको झगडा मिलाउन फ्यामिली कोर्ट पुगेकी थिइन् । अदालत पुगेको केही समय पछि नै श्रीमान् तरबार लिएर पुगेको र उनीमाथि हमला गरेको बताइएको छ । आरोपीले सासु र भतिजीलाई पनि घाइते बनाएको बताइएको छ । दुवैले गरेका थिए प्रेम विवाह भारतीय संचारमाध्यमका अनुसार मृतक संजिता र आरोपी रमेश दुबै एक अर्कालाई प्रेम गर्दथे । परिवारको मर्जीबिना विवाह पनि गरे । तर पाँच महिना सँगै बसेपछि दुबैको झगडा सुरु हुन थाल्यो । जसका कारण संजिता माइती फर्किइन् । मिडिया रिपोर्टका अनुसार संजिता धेरैसम्म एक्लै बसेकाले उनका आमाबुवाले उनको विवाह अन्तैतिर निश्चित गरे । यसबारे उनका श्रीमान रमेशलाई थाहा भएपछि श्रीमतीलाई फिर्ता ल्याउनका लागि उनले फ्यामिली कोर्टमा मुद्दा दर्ता गरे । संजिता आमा–बुवासँगै फ्यामिली कोर्ट पुगिन् । उनी प्रतिक्षालयमा रमेशलाई कुर्दै थिइन् । केहीबेरमा रमेश तरबारसहित पुगे र अचानक उनीमाथि हमला गर्न थाले । प्रत्यक्षदर्शीका अनुसार संजिताले आफूलाई बचाउन निकै कोसिस गरिन् । उनी बच्नका लागि अदालतको भवन पछाडि पनि लुकिन् तर रमेशले उनको पिछा छोडेनन् । उनले संजितालाई त्यहाँबाट घिसारेर बाहिर ल्याए र तरबार प्रहार गर्न थाले । त्यसपछि उनले आफ्ना ससुरामाथि पनि हमला गरे तर उनी भने बच्न सफल भए । त्यसैबेला त्यहाँका मानिसहरुले रमेशलाई पक्राउ गरेर कुट्न थाले । पछि उनलाई पुलिसले पक्राउ गर्यो । एजेन्सी  

साउदीमा मृत्युदण्डको फैसला सुनाइएका यादवलाई मृतकका परिवारद्वारा माफी, माफिपत्रमा भयो हस्ताक्षर

साउदी,बैशाख १३ । पाकिस्तानी नागरिकको हत्या अभियोगमा अदालत बाट मृत्युदण्डको फैसला सुनाइएका धनुषाका उमेश यादव लाई मृतका परिवारले मृत्युदण्डको सजाय माफ गरेका छन । बिगत लामो समय देखि साउदी अरबको केन्द्रिय कारागारमा रहेका यादवलाइ जुबेलस्थित अदालतले मृत्यु दण्डको फैसला सुनाएको थियो । सुरुमा अदालत बाट ११ बर्ष जेल सजायको फैसला भएको भए पनि पछी पुन जनरल कोर्टले यादवलाई मृत्युदण्डको फैसला सुनाएको थियोे । यादव लाई सजाय थप गरेपछि नेपाल बाट गएका सामाजिक अभियान्त सरोज रायले मृतक पाकिस्तानी नागरिकका परिवार सङ हारगुहार गरेपछी मृत्युदण्ड माफ गरिएको रायले जानकारी दिएका छन् । जेलमा रहेका यादवको जीवन रक्षाको लागि मृतका परिवार लाइ भेट्न पाकिस्तान पुगेका रायले परिवार बाट मृत्युदण्ड माफ भएको जानकारी दिएका हुन । साउदी अदालतले मृतकका परिवार बाट सजाय माफ गरेको मन्जुरी पत्रमा हस्ताक्षर गरे मृत्युदण्डको सजाय माफ हुने निति रहेको बताएपछी राय यादवलाई सजाय मुक्त गराउन पाकिस्तान पुगेका थिए । मृतकका परिवारबाट सजाय माफ भए पनि कानुनी प्रक्रिया भने पूरा गर्न बाकी रहेको बताउदै दूतावासको पहलमा छिट्टै सबै प्रक्रिया पूरा गर्न राएले जानकारी दिएका छन । यता साउदी स्थित नेपाली दूतावासले भने अदालतले माफिपत्र लाइ स्विकार नगरे फैसला प्रति असन्तुष्टि जनाउदै पुनराबेदनमा जाने जानकारी दिएको छ ।

मलेसियामा नेपालीको छुरा प्रहार गरि हत्या

मलेसिया, वैशाख १२ । रोजगारीका लागि मलेसिया पुगेका झापाका मोहनकुमार राजवंशीको हत्या भएको छ । झापा कन्काई नगरपालिका वडा नं ६ स्थायी घर भएका ३२ वर्षीय राजवंशी बिगत दुई वर्षदेखि मलेसियाको राजधानी क्वललाम्पुरस्थित एक क्लवमा कार्यरत थिए । सोमवार राति करीव दुई वजेतिर अज्ञात समुहले उनको हत्या गरेको स्थानीय प्रसासनले जानकारी दिएको छ । राती बाटोमा हिडिरहेका राजवंशीलाई कोतारायमा अज्ञात समुहले छुरा प्रहार गरेका थिए । मृतकको शव पोसमार्टमको लागि क्वालालम्पुरस्थित सरकारी अस्पतालमा राखिएको छ । घटनाबारे दूतावासलाई जानकारी गराइसकेको हुँदा पोस्टमार्टमपछि आवश्यक प्रकृया पुर्याएर शव नेपाल पठाईने उनका साथी लोचन विमलीले जानकारी दिएका छन ।

औषधि हाहाकार, २५ भन्दा धेरै जिल्लाका स्वास्थ्य सस्था रित्तै !

काठमाडौं, वैशाख १० । टेकुस्थित स्वास्थ्य सेवा विभागको पुनर्जागरण महाशाखामा विभिन्न जिल्लाबाट यस्ता मागपत्र आइरहेका छन् । अभावको सन्देश बोकेर तल्लो तहबाट आएको पत्र देखेपछि शाखाका कर्मचारी मन अमिलो पार्दै पत्र दर्ता गर्छन् र त्यसलाई उपल्लो तहमा पठाउँछन् । ‘औषधि अभावको खबर थाहा हुँदा हामीलाई पनि नरमाइलो लाग्छ’, योजना तथा अनुगमन अधिकृत सूर्यबहादुर खड्काले टेबलको फाइल देखाउँदै सुनाए, ‘सबैतिरबाट बजेट मागेका पत्र ओइरिन थालेका छन् । चाङ नै लागिसक्यो ।’ स्वास्थ्य विभाग र मन्त्रालयको प्रांगणमा फरफराइरहेको तुलमा लेखिएको छ, ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ । नयाँ वर्षको छेकोमा यस्तो तुल टाँगिएसँगै सरोकारवाला यी दुई निकायमा औषधि हारगुहारका सन्देशात्मक चिठी भित्रिन थालेका हुन् । दुर्गम जिल्लाको त कुरै नगरौं, सुगम भनिएका काठमाडौं उपत्यकाका कतिपय स्थानबाट पनि औषधिको मौज्दात सकिएको भन्दै बजेट माग गरिएको छ । २५ जिल्लाका भन्दा धेरै अस्पताल तथा स्थानीय तहअन्तर्गतका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाइबाट औषधिको प्रबन्ध मिलाइदिन अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाले निःशुल्क औषधि वितरण गर्न समस्या भइरहेको उल्लेख गर्दै ८ लाख, बाग्मती गाउँपालिकाले १५ लाख र महांकाल गाउँपालिकाले ८ लाख ५० हजार थप बजेट निकासा गर्न अनुरोध गरेका छन् । भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नपाले तीन लाख ५० हजारभन्दा धेरै रकम चाहिएको भन्दै गुनासो पठाएका छन् ।’यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

यौन व्यवसायमा संलग्न ३४ पक्राउ

काठमाडौँ, ९ वैशाख (रासस) ः महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गाेंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो । जसमा १९ पुरुष र १५ महिला रहेका छन् । प्रभागका प्रमुख प्रताप पौडेलले वैशाख महिना नयाँ बसपार्क क्षेत्रलाई मानव बेचबिखन तथा ओसारपसार र यौन दुव्र्यसन नियन्त्रण क्षेत्र बनाउने कार्ययोजनाअनुसार गरिएको अपरेशनमा उनीहरुलाई नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले पक्राउ परेकाको अनुसन्धान भइरहेको र जसमध्ये १२ जनालाई मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

रविनलाई स्वर्ण, फुपुल्हामु फाइनलमा पराजित

काठमाडौं, वैशाख ९ । नेपालका रविन श्रेष्ठले आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । शनिबार भएको खेलमा पुरुष १०० केजी मुनि रविनले स्वर्ण जितेका हुन् । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा रविनले नेपालकै सूर्यमान लामा, श्रीलंकाका बन्दुला बजाला र बंगलादेशका मोहम्मद कलम अजादलाई पराजित गरे । प्रतियोगिताको पहिलो दिन स्वर्ण जित्ने रविन एक्लो नेपाली खेलाडी हुन् । नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन नेपालले एक स्वर्णसहित ३ रजत र ६ कांस्य हात पारेको छ । महिला ६३ केजीमुनि १२ औं सागकी स्वर्ण विजेता फुपुल्हामु खत्री रजतमा सीमित भइन् । फाइनलमा फुपुलाई भारतकी सुनिबालादेवी हुइड्रोमले हराइन् । १२ औं सागको फाइनलमा फुपुले सुनिबालालाई नै हराउदै स्वर्ण जितेकी थिइन् । पुरुष ९० केजीमुनि श्रीराम मकाजु र महिला ५७ केजीमुनि लीला अधिकारीले नेपाललाई रजत दिलाए । यस्तै पुरुष ९० केजीमुनि रमेशबहादुर चन्द, पुरुष १०० केजीमाथि राजन जोशी, महिला ४८ केजीमुनि सुमित्रा राई, महिला ५२ केजीमुनि देवीका खड्का र अन्जु पाण्डे तथा महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपालका लागि कांस्य हात पारे । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा टिमसहित विभिन्न १६ स्पर्धामा समावेश छन् । नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी ६ राष्ट्रका १ सय २ खेलाडी प्रतियोगितामा सहभागी छन् ।

सिन्डिकेट पक्षधर यातायात व्यवसायीको आन्दोलनलाई मजदूरले साथ नदिने

काठमाडौं, वैशाख ६ । यातायात व्यवसायीले सार्वजनिक सवारीको सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको विरोध गर्ने धम्की दिएका छन् । गैरनाफामुलक र गैरराजनीतिक संस्थाका नाममा दर्ता भएका यातायात समितिले सरकारी निर्णयको विरोधमा सवारी ग्यारेजमा थन्क्याउनेदेखि अनिश्चितकाल सवारी नचलाउने निर्णय गर्दै सरकारलाई धम्क्याएका हुन् । व्यवसायीको आन्दोलनमा नेपाल स्वतन्त्र यातायात मजदूर संगठनले सहयोग नगर्ने भएको छ । संगठनका अध्यक्ष भीमज्वाला राईले व्यवसायीले सारेको माग मजदुरसँग कुनै सम्बन्ध नरहेको बताए । यातायात मजदुरले २०५१ देखि उठाउँदै आएको नियुक्तिपत्रदेखि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीले बेवास्ता गरेको र हालै यातायात व्यवस्था विभागले ल्याएको संशोधित कार्यविधि निर्देशिकामा कार्यान्वयन गरेको उनको भनाइ छ । अन्नपूर्ण पोस्ट दैनिकबाट

अन्तराष्ट्रिय स्वर्ण पदक विजेता पूनममाथि भारतमा आक्रमण

बाराणसी, वैशाख १ । आस्‍ट्रेलियाको गोल्ड कोस्टमा आयोजित कमनवेल्थ खेलमा भारतलाई स्वर्ण पदक दिलाएकी पूनम यादव र उनकी सानीमाकी छोरी बहिनीमाथि भारतको वाराणसीमा शनिबार आक्रमण भएको छ । शनिबार पूनम आफ्नी सानीमाको घरमा गएकी थिइन । त्यही समयमा छिमेकीसँग सानीमाका घरका मानिसहरुको झगडा भयो । अनि कुटपीट पनि । पूनमलाई पनि छिमेकीका मानिसले ईट्टा र ढुंगा हानेर कुटपीट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुबीच शनिबार बिहान विवाद भएको थियो । दिउसो जब पूनम त्यहाँ पुगिन अनि मारपिट शुरु भएको बताइएको छ । घटनाबारे बहिनीले पूनमलाई गाउँका प्रधान र छिमेकी मिलेर ईट्टा, ढुंगा र लठ्ठीले उनी माथि अक्रामण गरेका भएको थियो । दिउँसो पूनम पुगेपछि फेरि विवाद भयो र आक्रमण पनि । बचाउन जादा पूनमलाई पनि ईट्टा र ढुंगाले हानेर घाइते बनाइएको बताइएको छ । पूरानो विवादका कारण उनीहरुबीच मारपिट भएको बताइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताएको छ । अस्ट्रेलियाको गोल्डकोस्टमा जारी २१ औं राष्टमण्डल खेलमा पूनमले वेटलिफ्टिंग में ६७ किलोग्राम तौल समूहमा स्वर्ण पदक जितेकी थिइन । पूनमले कुल २२२ किलोग्राम (स्नैचमा १०० किलोग्राम, क्लीन एण्ड जर्कमा १२२ किलोग्राम ) किलोको तौल उठाएकी थिइन । यो जारी खेलमा यो भारतको पाँचौं र कूलमा सातौं स्वर्ण पदक हो । स्वर्ण पदक जितेर फर्किएका पूनमको शुक्रवार वाराणसीमा भव्य स्वागत भएको थियो । सो अवसरमा पूनम भनेकी थिइन, ‘देशका लागि स्वर्ण पदक जित्दा गर्वको अनुभूति भएको छ । यो पदक देश र वाराणसीप्रति समर्पित छ । पवाराणसी शहरबाट करीब सात किलोमीटर टाढा बसे दादूपुर गाउँमा पूनमको घर छ । त्यही गाउँमा जन्‍िमइन र हुर्किबढेकी पूनमले उत्कृष्ट प्रदर्शन गर्दै २२२ किलोग्राम तौल उठाएर देशका लागि स्वर्ण पदक जितिन् ।

जनसम्पर्क समिति कतारद्वारा स्व‌ खड्काको शोक सभा सम्पन्न

दोहा । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको १३ औं पुण्यतिथिका दिन नेपाली जनसम्पर्क समिति कतारले शोक सभाको आयोजना गरि श्रद्धाञ्जली अर्पण गरेको छ । उपचारका क्रममा गत ३० मार्च का दिन दिल्लीको एपोलो अस्पतालमा निधन भएका स्व खड्काको सोक सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनसम्पर्क समिति कतारका संस्थापक सभापति एवं कांग्रेस महासमिति सदस्य नरेन्द्र भाटले खुमबहादुर खड्का निडर हक्की र कांग्रेसका लागि मात्र नभई देश र जनताका लागि समर्पित लोकप्रिय नेता थिए । इतिहास फर्केर हेरौ राष्ट्रवादी र विकास प्रेमी नेता भएकै कारण वहालाई फसाउने काम गरियो भ्रष्टचारमा लिप्त भएर देशको अरबौ रुपैया लुटेर हिनामिना गर्नेहरुले नै वहाको देहान्त पछी पनि सामाजिक संजालहरुमा नकारात्मक टिप्पणीहरु गरिरहेको प्रति आक्रोस पोखेका थिए । कार्यवाहक सभापति शंकर न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महामन्त्री अजिज अलिले गरेका थिए । कार्यक्रममा बोल्दै एनआरएनका आइसीसी सदस्य एवं जनसम्पर्क समितिका निवर्तमान सभापति बिमल सुवेदीले कम उमेरमै स्व खड्काले राजनीतिमा होमिएर देशको परिवर्तनका लागि आफ्नो ज्यानको समेत प्रवाह नगरी प्रवासबाट बिपीसंगै मेलमिलापको नीति लिएर नेपाल फर्केर जेलजीवन बिताए । तत्कालिन अवस्थामा निरङ्कुश राजतन्त्रका बिरुद्ध बोल्न पनि नसकिने अवस्थामा हजारौ बिद्यार्थी र युवाहरुलाई आन्दोलनका लागि सडकमा उतार्ने नेता भएको स्मरण गराउदै संगठन भित्र र बाहिर सबैको नजरमा बस्न सफल स्व खड्काको राजनैतिक ब्यबहारिक गुणलाई सबैले अनुशरण गर्नु पर्ने बताए । स्व खड्काकै गृह जिल्लावासी जनसम्पर्क समितिका पुर्ब सल्लाह्कार एवम १२ औ महाधिवेशन प्रतिनिधि अर्जुन खड्काले स्व खड्का नेपाली कांग्रेसका मात्र नभई कम्युनिष्टहरुका पनि लोकप्रिय अनि बिश्वाशिला नेता भएको बताए । आफ्नो अनुभव सुनाउदै उनको घरमा दैनिक कांग्रेस र कम्युनिष्ट कार्यकर्ताहरुको भिड नै लाग्ने गर्थ्यो बिकासका लागि सबैका प्रिय नेता थिए उनको भनाइ थियो । कार्यक्रममा महामन्त्रीले तयार पारेको स्व खड्काको जीवनी पत्र सहमहामन्त्री केदार भुषालले बाचन गरेर सुनाएका थिए । कार्यक्रममा संस्थापक कोसाध्यक्ष भूपति भट्टराइ, संस्थापक सल्लाहकार एवं १३ औ महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह निवर्तमान महामन्त्री एवं १३ औ महाधिवेशन प्रतिनिधि धिरज चामलिंग राइ सल्लाहकार मो. शाकिर अलि केशब ढकाल लगायतले सोक मन्तब्य राखेका थिए । राष्ट्रिय गान मौन धारण र स्व खड्काको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर श्रदान्जली व्यक्त गरिएको थियो ।

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा.शर्मा

काठमाडौं । प्रतिनिधि सभा सांसद एवम् माओवादी केन्द स्वास्थ्य विभागकी ईन्चार्ज अन्जना बिशंखेले अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ विचारसहितको संगठन भएको दाबी गरेकी छन् । रिपोर्टर्स क्लब नेपालमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बिशंखेले यस्तो दाबी गरेकी हुन । उनले भनिन्,‘जनताको जनजिवीका र औषधी उपलब्ध गराउनको लागि होस्, स्वास्थ्य बिमाको लागि होस्, यस संगठनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ, नयाँ कार्यसमिति चलयन भएको छ, अबका दिनमा समृद्ध मुलुकको जनपक्षीय स्वास्थ्य नीति निर्माण गर्नमा समेत सहयोग गर्नेछ ।’ त्यस्तै कार्यक्रममा महासंघका नव–निर्वाचित अध्यक्ष कृष्णसागर शर्मा पौडेलले संविधानमा स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारका रुपमा समावेश गरेको भएपनि कार्यान्वयमा गतिशिलता नभएको टिप्पणी गरेका छन् । उनले भने,‘स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारको रुपमा समावेश गरिएपनि सबै नागरिकले उचित किसिमको स्वास्थ्य सेवा पाउन सकेका छैनन्, निःशुल्क औषधि वितरण, स्वास्थ्य बिमा सबै जनतासामु पुर्याउनको लागि विगतमा हामीले संगठनको तर्फबाट महत्वपूर्ण भूमिका खेलेका थियौ, अब उक्त अधिकारलाई कार्यान्वयन गर्नको लागि महासंघले काम गर्नेछ ।’ अध्यक्ष शर्माले अघि थपे,‘जनस्वास्थ्यका सबै क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा तथा अधिकारलाई संरक्षण गर्दै उनीहरुको व्यवसायीक सिप क्षमता तथा दक्षतालाई अध्ययन अनुसन्धान सहित थप समृद्ध बनाउँदै जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने, स्वास्थ्य क्षेत्रमा देखिए विकृति, विसंगतीको अन्त्य गर्न र ठेक्काप्रथाको अन्त्य गर्न, वीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा कर्मचारीको हकहित विरोधी नियमावली संशोधन सहित पद पूर्तिमा देखिएको व्यापक अनियमिता बिरुद्ध हाम्रो महासंघ लागि पर्नेछ र तत्काल यस्ता विकृतिको अन्त्य नगरिए आवश्यकता अनुसार कडा आन्दोलनमा उत्रिने जानकारी गराउँद छु।’ कार्यक्रममा महासंघका महासचिव दलबहादुर जिसीले प्रेश विज्ञप्ती वाचन गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको विशिष्ट आतिथ्यमा चैत २४ गते राजधानीमा सम्पन्न राष्ट्रिय एकता भेलाले डा.कृष्ण सागर शर्मा पौडेलको अध्यक्षतामा ४५ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

आतंककारी गतिविधि सुरक्षाकाे प्रमुख चुनौति : प्रधानमन्त्री

काठमाडौं, चैत्र २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताएका छन्। नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक–हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई बिहीबार नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताए। ‘देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशिल अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौती साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्व अहिलेका वास्तविक खतरा हुन्’ प्रधानमन्त्री ओलीले भने, ‘यस प्रकारका खतराविरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ।’ २१ औँ शताब्दीको चुनौती साइबर सुरक्षा प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताए। ‘यो प्रत्यक्ष हमलाभन्दा पनि खतरनाक हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजनासहित सुरक्षा निकायबीच समन्य गर्नु जरुरी छ।’ त्यस्तै प्रधानमन्त्री ओलीले स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको बताएका छन् । ‘हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तिपूर्ण अवस्थामा छौं’, प्रधानमन्त्री ओलीले भने, ‘तर, हामी सधैं विश्वमा उत्पन्न हुन सक्ने खतराबारेमा सतर्क हुनु जरुरी छ ।’ प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमाकाँध मिलाउदै आएकोमा प्रशंशा गरे । नेपाली सैनिकले विश्वका द्वन्द्वग्रस्त मुलुकमा पु¥याएको योगदानलाई नेपाललाई शान्ति सैनिकको देशको रुपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, ‘नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न सक्षम बहुआयामिक संगठनको रुपमा विकशित भएको छ ।’ अन्रपूर्ण पाेष्टबाट

आगामी चैत २९ गतेदेखि सुपरडान्स १८ बुगीवुगी आउँदै

यही चैत २९ गतेदेखि एपी वान च्यानलबाट सुपरडान्सर १८ बुगीवुगी शो कार्यक्रम राति ८ बजेबाट प्रसारणमा आउने भएको छ । हेर्नुहोस् भिडियो-