जथाभावी फुटपाथ र पार्किङका कारण कुरुप बन्दै महानगर
ललितपुर, चैत १३ । ललितपुर महानगरपालिकाले पाटनको मंगलबजारदेखि लगनखेल बसपार्कसम्मका सडकमा फुटपाथ पसल हटाउन गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन ।
मंगलबजार चोकदेखि लगनखेलसम्मका सडक, सार्वजनिक पाटीपौवा तथा फुटपाथ अतिक्रमण गरी सञ्चालित व्यापार तथा जथाभावी पार्किङले सो क्षेत्र अस्तव्यस्त बनेको छ । फुटपाथ पसल र जथाभावी पार्किङले यात्रुलाई आवगमनमा असहज भएकाले महानगरले ट्राफिक प्रहरी, नगर प्रहरी र स्थानीय टोल सुधार समितिको सहयोगमा यही चैत ७ गतेबाट लागू हुने गरी सो क्षेत्रमा फुटपाथ पसल तथा पार्किङ गर्न प्रतिबन्ध लगाएको थियो ।
महानगरको निर्णयप्रति व्यापारीहरुले विरोध समेत जनाएका थिए । अव्यवस्थित बजार र जथाभावी पार्किङकले महानगरका साथै पाटन दरबार स्क्वायर क्षेत्रसमेत कुरुप बन्दै गएको छ । यसले विदेशी तथा आन्तरिक पर्यटकको आवागमनमा समेत समस्या भएको छ । महानगरले चैत ७ गतेबाट लागू हुनेगरी सो क्षेत्रमा फुटपाथ पसल र पार्किङमा रोक लगाउने निर्णय गरेपनि कार्यान्वयन भने हुन सकेको छैन ।
महानगरपालिकाका फ्रवक्ता राजु महर्जनले जनशक्तिको अभावका निर्णय कार्यान्वयनमा कठिनाई भएको बताए । नगर प्रहरीको संख्या न्यून भएका कारण अनुगमनमा समेत समस्या भएको उनले बताए । महानगरमा अहिले जम्म १३ जनामात्र नगर प्रहरी छन् । नगर प्रहरीको रिक्त दरबन्दीमा पद पूर्तिको तयारी भइरहेको महानगरका प्रवक्ता महर्जनले जानकारी दिए । सार्वजनिक सूचना जारी गर्दा समेत अटेर गरे कारबाही गरिने समेत उनले बताए । कान्तिपुरदैनिकबाट
पूर्वमन्त्री शर्मा भन्छन्, ‘जनमत संग्रहको सहमति कासी जानू कुतीको यात्रा हो’
काठमाडौं, फागुन २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्णाली प्रदेश प्रदेश ईञ्जार्च एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारले सिके राउतसँग जनमत संग्रह गर्ने भनी गरेको सहमतिप्रति असन्तुष्टि जनाएका छन् । सरकारले शुक्रबार दिउँसो मधेशलाई नेपालबाट अलग गर्ने अभियान चलाइरहेका सिके राउतसँग ११ बुंदे सहमति गरेको थियो। सहमतिपत्रमा सिके राउत र सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हस्ताक्ष गरेका छन्। सहमतिको २ नम्वर बुंदालाई लिएर नेपाली राजनीति तरङ्गित भइरहेको छ। सहमतिको २ नम्वर बुंदामा ‘राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढ्नुपर्छ भन्नेमा हामी दृढ छौं। नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेश लगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिहरुलाई जन अभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ भन्ने उल्लेख छ। उक्त सहमतिलाई सरकारले सिके राउत आवधिक निर्वाचनमा आउन तयार भएको अर्थ लगाइरहेका छन्। तर, सिके राउत स्वयमले सरकारले मधेशलाई नेपालबाट अलग गर्ने वा नगर्ने भन्ने विषयमा जनमत संग्रह गर्न तयार भएको दावी गरेका छन्। ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ भन्ने शब्दावलीको स्पष्ट राजनीतिक अर्थ नहुँदा यसले थप अन्यौल निम्त्याएको छ। नेकपाका नेता शर्माले उक्त बुंदालाई लक्षित गर्दै जनमत संग्रहको विरोध गरेका हुन्। शर्माले लेखेका छन्, ‘संविधान कार्यान्वयन गर्नुको सट्टा जनमत संग्रहको कुरा गर्नु ‘कासी जान कुतिको यात्रा तय गर्नु’जस्तै हो।’
जब पूर्व प्रेमीकाले नै अश्लिल तस्बिर पठाइन्…..
काठमाडौं, फागुन २५ । गएको महिना अर्को घटना महाशाखामा आयो। कीर्तिपुरमा डेरा बस्ने २२ बर्से युवक पूर्वप्रेमिकाबाट पीडित थिए। एक युवतीसँग फेसबुकमै उनको चिनजान भयो। युवती राजधानीको एउटा एजुकेसन कन्सल्टेन्सीमा काम गर्थिन्। दुवै कहिले गोदावरी त कहिले थानकोट पार्क घुम्न गए। उनको डेरामा शारीरिक सम्पर्क पनि भयो। दुवैले सहमतिमै यौन क्रियाकलापका फोटो खिचेका थिए। युवकले अर्कैसँग विवाह गरे। त्यसको एक सातापछि प्रेमिकाले उनीसहित पत्नीको फेसबुकमा पहिलेका नग्न तस्बिर पठाइन्। दम्पती प्रहरीमा पुगे। प्रहरीले ती युवतीलाई पक्राउ गर्यो। उनको एउट मात्र गुनासो थियो। बिहेपछि पनि युवकले उनलाई बिहे गर्छु भन्दै डाँकर बारम्बार यौन सम्पर्क राखेपछि तस्बिर पठाएको बताइन्। गोपनीयताका लागि मुद्दामामिला नगर्ने बताएपछि प्रहरीले उनीहरूलाई सम्झाइबुझाइ गरेर छाड्यो। यस्तै, राजधानीको एउटा कलेजमा स्नातक तह अध्ययनरत एक युवती शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा छट्पटाउँदै थिइन्। फेसबुक म्यासेन्जरमा उनका पूर्व ब्वाइफ्रेन्डले पठाएको सन्देश ज्यादै उच्छृंखल थियो। सुरुमा दुवैबीच राजीखुसीमा शारीरिक सम्पर्क भयो। युवकको आर्थिक स्थिति बुझेपछि उनले परिवारकै सल्लाहमा अर्को युवकसँग बिहे गरिन्। बिहे भएको केही दिनमै उनका पतिको फेसबुक म्यासेन्जरमा पूर्वप्रेमीले पहिलेका शारीरिक सम्पर्कका तस्बिर पठाए। दैनिकजसो म्यासेन्जरमा उत्छृंखल फोटो आउन थालेपछि पतिसहित उनले प्रहरी गुहारे। प्रहरीले पूर्वप्रेमीलाई पक्राउ गर्यो। उनी प्रहरीसँग भन्दै थिए, ‘मलाई छाडेर अर्कैसँग बिहे गरेपछि रिस थाम्न नसकेर फोटो पठाएको हुँ।’ प्रहरीले ती युवकलाई विद्युतीय अपराधमा मुद्दा दर्ता गर्न परिसर पठाएको छ। सीआईबी र महाशाखामा यस वर्ष माघसम्म परेका उजुरीमध्ये फेसबुकका २५३, यूट्युबका १९, अनलाइन वेबपेजका १०, इमोका ९, इन्स्टाग्रामका १० र ट्विटरका ३ छन्। महाशाखामा परेका उजुरीमध्ये यी दुई घटना फेसबुक दुरूपयोगका प्रतिनिधि मात्र हुन्। कलेज ड्रेसमै दैनिक ७–१० युवायुवती फेसबुक दुरूपयोगका उजुरी गर्न महाशाखा पुग्छन्। महाशाखामा दर्ता भएकामध्ये अधिकांश उजुरीमा १६ देखि २५ वर्ष उमेर समूहका युवा संलग्न छन्। फेसबुक र म्यासेन्जरमार्फत नग्न र अर्धनग्न तस्बिर साटासाट गर्ने, उत्छृंखल सन्देश पठाउने घटना पछिल्ला दिन बढेका छन्। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
नेकपा नेता अधिकारीको स्वास्थ्य गम्भीर
काठमाडौ, फागुन १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाइएको छ । ह्याम्स अस्पतालमा उपचार गराई रहनु भएका अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको र हाल उनलाई भेन्टिेलेटरमा राखेर उपचार भइरहेको उहाँको स्वकीय सचिव महेश विष्टले जानकारी दिए । स्वास्थ्यमा खराबी देखिएपछि पुस २३ गते उनलाई नख्खुस्थित मेडिसिटीमा अस्पतालमा भर्ना गरिएको थियो तर त्यहाँ उनको स्वास्थ्यमा सुधार नदेखिएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विगत १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको स्वकीय सचिव विष्टले जानकारी दिए । उनको स्वास्थ्य जटिल हुँदै गएपछि दुवईमा रहेकी कान्छी छोरी नेपाल आइपुगेका छन् । भने सिक्किममा रहेकी जेठी छोरी शनिवार आउन लागेकी छन् ।
जान्नुहोस्, यौन चाहना बढाउने तत्व
काठमाडौं । निश्चित समय निश्चित परिस्थितिमा महिला वा पुरुष दुवैमा यौइच्छा हुनु स्वभाविक हो कहिलेकाहीँ विभिन्न कारणले योनइच्छा हुनु स्वभाविक हो । कहिलेकाहीँ विभिन्न कारणले योनइच्छा नहुन सक्छ । अझ हाम्रो जस्तो पुरुषप्रधान समाजमा महिलाहरु दबाइएको अबस्थामा हुन्छन् । यी सबै कुराले गर्दा पुरुषको तुलनामा महिलामा कम योनइच्छा देखा पर्न थालेको छ तर विभिन्न अध्ययनले के देखाउँछन् भने यौनइच्छा कम भएका महिलाले आवश्यक मात्रामा केही पोषक तत्व खाए सामान्य अवस्थामा फर्कन सक्छन् । म्याग्नेसियम म्याग्नेसियमले शरीरको मासुलाई दह्रो बनाउन र आनन्द प्रदान गर्न मद्दत गर्छ प्रत्यक दिन ३ सय २० किलोग्राम म्याग्नेुयमयुक्त खाना खाँदा थकानको कारण यौनसम्पर्क गर्न मन नलाग्ने समस्याबाट पार पाईने डाइटिसियन सिडी क्लिंगर बताउँछन् । भिटामीन डी भिटामीन डीको कमीले शरीरका हड्डी कम्जोर हुन्छन् । यसले महिलामा युटी आईमा पनि इन्फेक्सन हुन सक्छ । युटी आई इन्फेक्सन हुँदा तल्लो पेट दुख्ने तथा यौनइच्छा नहुने स्त्रीरोग विशेषज्ञहरु बताउँछन् । सुखमय योनसम्पर्क चाहनेहरुले उचित मात्रामा भिटामीन डी सेवन गर्नुपर्छ । फाइबर फाइबरले शरीरमा एस्ट्रोजोनको श्रावमा मद्दत पर्याउछ । एस्ट्रोजोन हार्मोनले महिनावारी हुनु अघिको पीडा कम गर्न मद्दत गर्छ । यसका साथै फाइबरले महिलाको पिसाबमा हुने खराबीलाई समेत कम गर्छ । क्याल्सियम म्याग्नेसियम तथा भिटामीन सी यी तीनवटा तत्वले मानिसमा हुने मानसिक तनाव कम गर्न हार्मोन उत्पादन तत्वयुक्त खाद्य पदार्थ नियमित सेवन गर्दा पनि तनाव कमी हुन्छ । बिहान उठ्नासाथ यी तिनै चिज मिसाएर एक चम्चा सेवन गर्नु उपयुक्त हुन्छ । कान्तिपुर साप्ताहिकबाट साभार
मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना
काठमाडौं, फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो। मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। ताप्लेजुङका डिएसपी सञ्जयसिंह थापासहितको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । थप विवरण आउन बाँकी छ।
धनगढीमा हेलिकोप्टर उडाउँदा भारतले बढायो निगरानी
कैलाली, माघ २४ । कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा दर्शकलाई हेलिकप्टरबाट धनगढी घुमाउने कार्यप्रति भारतले निगरानी वढाएको छ । नेपाली आकाशमा उडिरहेको हेलिकप्टरद्वारा जासुसी हुन सक्ने भन्दै भारतीय सुरक्षा निकाय हाई अलर्ट रहेको भारतीय पत्रिका हिन्दुस्तानले समाचार लेखेको छ । यसका साथै, भारतले अन्तराष्ट्रिय कानुन र मर्यादाको प्रश्न समेत उठाएको छ। भारतले सिमा क्षेत्रभन्दा ५ कि.मी. दूरीसम्मको आकाशमा वायुयान उडाउन नागरीक उड्डयनका महानिर्देशकबाट अनुमति लिनुपर्ने समेत उल्लेख गरेको छ।
नयाँ शैक्षिक योग्यताः अब प्रहरी जवान बन्न एसइई पास गरेको हुनुपर्ने
काठमाडौं, माघ १८ । नेपाल प्रहरीको जवानमा जागिर खानका लागि शैक्षिक योग्यता तोकिएको छ। प्रहरी नियमावली २०७१ लाई संशोधन गरेर प्रहरी जवानका लागि एसइई पास गरेका नेपाली नागरिकले आवेदन दिन प्रवाधान ल्याइएको हो। यसअघि ८ कक्षा पास गरेका नेपाली नागरिक प्रहरी जवानका लागि योग्य हुने व्यवस्था थियो। प्रहरी नियमावली संशोधन गरेर पुरानो व्यवस्था हटाएको हो। संशोधित नियमावलीको भाग तीनको उपखण्ड १ को ‘क’ मा प्रहरी जवानका लागि शैक्षिक योग्यता ‘एसइई’ वा सो सहर उत्तीर्ण गरेको हुन पर्नेु भन्ने उल्लेख गरिएको छ। प्रस्तावित नयाँ व्यवस्था राजपत्रमा समेत प्रकाशित भइसकेकोछ ।
बेलायती राजकुमारी केट ३७औं वर्षमा प्रवेश
पुस २६ । बेलायती राजकुमारी केट मिडल्टन ९ जनवरीमा ३७ वर्ष पुुगेकी छिन् । फेसन शैलीका कारण चर्चामा आइरहने केटले बेलायती राजकुमार विलियमसँग विवाह गरेकी हुन् । उनले ३६ वर्षकी हुँदा सन् २०१८ मा तेस्रो सन्तान जन्माएकी थिइन् । उनको राजकुमार विलियमसँग विश्वविद्यालय अध्ययनताका सन् २००१ मा भेट भएको थियो । उनले आर्ट हिस्ट्री बेलायतको सेन्ट एन्ड्रिउ विश्वविद्यालयमा पढेकी हुन् । राजकुमार विलियमसँग २०१० मा विवाह गरेकी उनले २०१३ मा पहिलो सन्तान जन्माएकी थिइन् । त्यस्तै, २०१४ मा दोस्रो सन्तान जन्माएकी थिइन् । उनी मानसिकरूपमा स्वास्थ्य रहनका लागि अभियान पनि चलाउँछिन् । उनलाई सन् २९१३ मा टाइम्स म्यागजिनले सर्वाधिक प्रभावशाली संसारका सयजनाको सूचीमा राखेको थियो । एजेन्सी
छोरी जन्मिए गाउँपालिकाले दिने भयो यस्तो उपहार
चितवन, पुस २६ । यहाँको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुणहत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ । अभिभावकको अवस्था कमजोर रहेमा दातासमेत खोजी रकम जम्मा गराउने गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख गीता गुरुङकाअनुसार गाउँपालिका भित्रका बच्चा जन्माउने चार वटा केन्द्रमा जन्मिएका छोरीका नाममा खाता खोल्न लागिएको हो । इच्छाकामना–१ को हात्तिवाङ–४ को कुरीनटार, ६ को चण्डीभञ्ज्याङ र ७ को माथिल्लो दाहाखानीमा बर्थिङ सेन्टर रहेको छ । सो गाउँपालिकाको चारवटा बर्थिङ सेन्टरमा गत वर्ष जन्मिएका शिशुमध्ये २७ छोरी र १०० छोरा भएपछि आफूले बाल बचत कार्यक्रम शुरु गरेको उनले बताइन् । सो गाउँपालिकामा जनसङ्ख्या २५ हजार १२ रहेको छ । जसमध्ये १३ हजारभन्दा बढी महिला छन् । गाउँपालिकाले स्थानीयस्तरमा रहेका सहकारी र ठूला संस्थासँग समेत छोरीको खातामा रकम राखी सहयोग गरिदिन अनुरोध गरेको अध्यक्ष गुरुङले बताइन् । ती खातामा कम्तीमा रु १० हजार र त्यो भन्दामाथि निक्षेप राखी उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको छ । छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक हुने छन् । हालका लागि गाउँपालिकाभित्रका बर्थिङ सेन्टरमा मात्रै जन्मिएका छोरीको नाममा खाता खोले पनि पछि सो गाउँपालिकाबाट अन्यत्र गएर छोरी जन्मिएमा पनि खाता खोलिदिने योजना रहेको उनले बताइन् । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि रु ३० लाख बजेट महिला र बालबालिकाका लागि विनियोजन गरी महिलाको चेतना अभिवृद्धिसँगै सीपमुलक तालीमसमेत दिँदै आएको छ । रासस
औपचारिकरुपमै चलचित्र ‘हृदयभरि’ निर्माण हुने घोषणा
काठमाडौं, पुस २४ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र ‘हृदयभरि’ निर्माण हुने औपचारिकरुपमा घोषणा गरिएको छ । सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार हुने फिल्ममा पल शाह, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवंर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुष्मान घिमिर, सुमन श्रीलगायतको अभिनय रहने छ । यसै फिल्ममार्फत श्रद्धा क्षेत्री नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् । चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोनत्मल प्रेमकथामा निर्माण हुने फिल्ममा सौरभ विश्वास र रुचि विश्वास सहनिर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । चलचित्र घोषणा समारोहमा चलचित्र बिकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले फिल्मलाई सफलताको शुभकामना दिएका थिए । राजकुमार, आकाश सहित फिल्म युनिटले पोस्टर अनावरण गर्दै फिल्मको फस्ट लुक्स सार्वजनिक गरेका थिए । फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी, केदार भुषालको लेखन, बिपिन मल्लको सम्पादन रहेको छ । फिल्ममा प्रोडक्शन डिजाइनर अरुण रेग्मी र प्रोडक्शन म्यानेजर अर्जुन पोखरेल रहेका छन् भने यसलाई उपत्यकामा सुनिल मानन्धर र मोफसलमा केदार पराजुलीले वितरण गर्नेछन । फिल्मको छायाँकन फागुनको तेस्रो साताबाट सुरु हुने फिल्मको फस्ट लुक्सलाई टौवा क्रिएसनका विजय बश्याल र शान थापाले तयार गरेका हुन् भने यसमा श्रीधर पौडेलको फोटोग्राफी छ । पल शाहः फिल्मको कथा वस्तु राम्रो लागेर नै मैले यसमा अभिनय गर्न लागेको हु । फिल्मले दर्शकलाई बाँध्छ, विषयवस्तु राम्रो छ । फिल्ममा मलाई चकलेटी ब्वाईकै रुपमा पाउनु हुने छ, तर अघिल्ला फिल्मभन्दा फरक रुपमा । मेरो लागि फिल्म संख्याभन्दा पनि गुणस्तर सधैं नै आवश्यक रहयो र यसमा पनि त्यही छ । फिल्मको टिम राम्रो छ, त्यसैले दर्शकले खोजेअनुसारको फिल्म दिने तयारीमा छौं । श्रद्धा क्षेत्रीः मलाइ फिल्ममा अभिनय गर्ने रहर थियो । त्यसैअनुरुप मोडलिङ हुदै फिल्ममा आइपुगेकी छु । मैले कोलकत्तामा रहेर काम गरिरहेको भए तापनि मलाई नेपाली फिल्ममै आउनु मन थियो । मलाइ पहिला त कास्टले नै इम्प्रेस गरेको हो तर जब कथा सुने झनै इम्प्रेस भए । मेरो लागि राम्रो प्रवेश टाइम भएको आभास भएकोले यसै फिल्म मार्फत आउदैछु , आश छ दर्शकको माया पाउने छु । सुरज सुब्बा नाल्बोः फिल्मले अहिलेको समयको युवापुस्ताको कथा भन्छ, त्यहि अनुरुप नै हामीले कास्ट लिएका छौ । हामीलाई चकलेटी हिरो र फ्रेश अनुहार चाहिएको थियो, त्यसैले श्रद्धालाई प्रस्ताव राख्यौ । उ, कोलकत्तामा रहेता पनि नेपाली फिल्म र नेपाललाई धेरै नै माया गर्ने । पलसँग जोडी पनि सुहाउने भएकोले उसलाई डेब्यु गराउन लागेका हौ । मेरो पछिल्लो फिल्मले पनि मनोरंजनसँगै कहिँ कतै संदेश दिएकै छ, यसमा पनि छ । राम्रो टिम पाएको छु, राम्रो फिल्म बनाउने आत्मविश्वास छ । निकेश लिम्बुः म विदेशमा रहेता पनि नेपाली फिल्ममा जोडिएकै छु । मैले निर्माण गरेको फिल्मले मनोरंजन पनि दिएका छन् भने केही सन्देश पनि । हसियाँ, रातो घर, ब्लाइन्ड रक्सपछि अब हृदयभरि लिएर आउँदै छु । कथावस्तु राम्रो छ, त्यसैले टिममा म पनि छु । यस फिल्मले पनि एउटा राम्रो फिल्मको रुपमा आफुलाई दर्शकसंगै फिल्म नगरीमा पनि परिचित गराउनेमा विश्वस्त छु ।
नेपाल आइडलका ‘टप फाइभ’ लाई जापानमा भव्य सम्मान (फोटोफिचर)
काठमाडौं, पुष २३ । नेपाल आइडल सिजन-२ का विजेता रवि ओडसहित आइडलका अन्य प्रतिस्पर्धीलाई जापानको टोकियोमा भव्य विदाई तथा सम्मान गरिएको छ । उनीहरुलाई टोकियोको सिनओकुबोमा अछाम सरोकार मन्च जापान र सुदूरपश्चिमेली समाज जापानले विदार्ई एवं सम्मान गरेको हो । अछाम सरोकार मन्च जापानका तर्फबाट मन्चका गैरआवासीय संघ जापानका केन्द्रीय सदस्य आशिस रावल, अध्यक्ष लोकेन्द्र जंग कुँवर ‘लोचन’ र सुदूरपश्चिमेली समाजका पूर्व अध्यक्ष तथा संचारकर्मी पूर्ण चलाउनेले आइडलका प्रतिस्पर्धीलाई खादा तथा सम्मानपत्र प्रदान गरेका थिए । साथै, सुदूरपश्चिमेली समाजका तर्फबाट समाजका अध्यक्ष एकेन्द्र थापा र महासचिब दिनेश अधिकारीले खादासहिद सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा सिजन २ का विजेता रवि ओड, उपविजेता बिक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी र ‘टप फाइभ’ मा पुग्न सुफल अमित बराललाई मायाको चिनो स्वरुप उपहार पनि प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा ब्यक्तिहरुबाट पनि सम्मानका साथै बिभिन्न उपहारहरु प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि, बिक्रम, अस्मिता अधिकारी, सुमित पाठकका साथै अमित बरालले कार्यक्रममा आफ्ना सांगीतिक प्रस्तुति दिएर दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा बोल्दै उनीहरुले सबै नेपालीको माया र साथ पाएर आफुहरु बिजेता बनेकाले सबैको साथ लिएर अझै सांगितिक क्षेत्रमा केही योगदान दिने प्रतिबद्धता ब्यक्त गरे ।
विद्यालयमा पढाउन छाडेर राजनीति गर्ने शिक्षक पक्राउ
रोल्पा, पुष २३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठन रोल्पाका सचिव भुपबहादुर केसी पक्राउ परेका छन् । सल्लीबोट आधारभुत विद्यालय रोल्पा नपा–१ मा अध्यापन गराइरहेका शिक्षक केसी आइतबार विद्यालयबाटै पक्राउ परेका हुन् । प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काका अनुसार शिक्षक भएर पढाउने भन्दा राजनीति बढी गरेको र अरुलाई धम्क्याउँदै हिँडेको गुनासोका आधारमा सोधपुछका लागि गिरफ्तार गरिएको हो । विद्यालयका प्रधानाध्यापक उदय महराले विद्यालयमा पढाइरहेका शिक्षक केसीलाई सादा पोसाकमा आएका प्रहरीले सोधपुछ गर्नु छ भन्दै पक्राउ गरेको बताए । महराका अनुसार विद्यालय पोसाकमै शिक्षक केसीलाई गिरफ्तार गरिएको थियो । विप्लव निकट अखिल नेपाल शिक्षक सठन रोल्पाका अध्यक्ष प्रेम केसीले विद्यालयमा पढाउँदै गरेका शिक्षकलाई प्रहरीले पक्राउ गर्नु दुःखद भएको भन्दै बिना सर्त रिहाई नगरे आन्दोलन गर्ने चेतावनी दिए ।
सपथ ग्रहण नगराउने भएपछि मनाङेले भने, ‘यिनीहरुलाई कानुन नसिकाई भएन’
पोखरा, पुष २२ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल पश्चात सभामुखले सपथ ग्रहण नगराउने निर्णय लिएपछि राजीव गुरुङ उर्फ दीपक मनाङेले आफै आएर कानुन सिकाउने प्रतिक्रिया दिएका छन्। तपाईलाई सपथ ग्रहण नगराउने निर्णय सभामुखले गर्नुभएको छ, यसमा तपाईको प्रतिक्रिया के छ भनेर फोनमार्फत प्रश्न गर्दा उनले भने, ‘उनीहरुलाई कानुन थाहा नभएर हो, उनीहरुलाई कानुन नै थाहा छैन्, भोलि आएर म बुझाउँछु, म सिकाउँछु, अलिकति नसिकाई पनि भएन।’ उनले अगाडि थपे, ‘उनीहरु हावाहावा कुरा सोच्छन, उनीहरुले बैठक बस्ने कुरा नै होईन, मुख्य न्यायधीवक्तासँग सल्लाह गरेर सभामुखले निर्णय गर्नुपर्ने विषय हो, उनीहरु सर्वदलीय बैठक राख्छन्।’ तर, आजको निर्णय त सभामुखले मुख्य न्यायधीवक्तासहित परामर्श समितिका सदस्यहरुको छलफलबाट लिनुभएको हो, तपाईले भनेजस्तो सर्वदलीय बैठकबाट निर्णय भएको होईन नि भन्ने प्रश्नमा उनले भने, ‘उस (मुख्य न्यायधीवक्ता) लाई भेटेर मैले सल्लाह दिएको हो, सल्लाह उनीहरुले होईन मैले दिने हो, विदेशमा पढेको मान्छे रहेछ, यहाँ आएर राजनीतिक नियुक्ती भएको मान्छे हो ऊ, उनीहरुलाई थाहा रहेनछ, सपथ ग्रहण गर्न मिल्दैन भनेर लिखित रुपमा दिनुपर्यो, सर्वदलीय बैठक बोलाउनै नपर्ने विषय हो।’ सोमबार पोखरा आउने र थप सल्लाह गर्ने उनले बताए। नागरि न्युजबाट
कांग्रेसद्वारा रोष्ट्रम घेराउ, होहल्लाका बीच सदन स्थगित
काठमाडौँ, पुस २२ । प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिनिधिसभामा प्रश्न गर्न नदिइएपछि प्रतिनिधिसभामा भएको हङ्गाबीच निवृत्तिभरण विधेयक २०७५ र भुक्तानी तथा फर्स्यौटसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत भएको छ । प्रधानमन्त्रीको सम्बोधनपछि सांसदहरूले प्रश्न सोध्नपाउनुपर्ने माग गरेपछि सभामुख कृष्णबहादुर महराले सीमित सदस्यहरूलाई एक मिनेटभित्र विषयवस्तुमा केन्द्रित प्रश्न राख्न दिँदै कांग्रेस सांसद डा. मीनेन्द्र रिजाललाई अनुमति दिएपछि रिजाललगायतका सांसदहरूले सङ्ख्या तोक्न नमिल्ने जिकिर गरेका थिए । त्यसपछि सभामुख महराले आह्ज्को बैठकबाट शून्य समय हटाइएको घोषणा गर्दै अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाललाई उक्त प्रतिवेदन पेश गर्न लगाएका थिए । यसैबीच रोष्ट्रम घेराउ गर्न अघि बढेका प्रतिपक्षी सांसदहरूलाई मर्यादापालकहरूले रोकेका थिए । कृष्णप्रसाद दाहालले प्रतिवेदन प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरूले चर्को नाराबाजी गरेका थिए । त्यसपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
७ एल्बम लोकार्पण, साहित्यिक तथा सांगीतिक विमर्श अभियान सम्पन्न
काठमाडौं, पुस २२ । ७ एल्बम लोकार्पण, साहित्यिक तथा सांगीतिक विमर्श अभियान सम्पन्न भएको छ । पद्मदीप स्मृति प्रतिष्ठान काठमाडौंको मुख्य आयोजना र जिल्लास्तरमा भएका साहित्यिक तथा साङ्गीतिक सङ्घ–संस्थासँगको सहकार्यमा अभियान सञ्चालन गरिएको थियो । आइतबार राजधानीमा पत्रकार भेटघाट गर्दै विमर्श अभियानका बारेमा गीतकार डा.डीआर उपाध्याय, प्रतिष्ठानका अध्यक्ष वरिष्ठ गायक तथा गीतकार सुरेश घिमिरे, सङ्गीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘सरद’ले समापन भएको र अभियानका बारेमा विस्तृत जानकारी गराए । एकै दिनमा एकै गीतकारका सातवटा गीति एल्बम साङ्गीतिक इतिहासमा पहिलो पटक रेकर्ड भएका कारण गीतको प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको प्रतिष्ठानका अध्यक्ष घिमिरेले बताए । मंसिर १९ देखि २४ गतेसम्म पूर्वी नेपालमा अभियान चलाइएको थियो । जसअन्तर्गत सिन्धुली, धनकुटा, इटहरी, विराटनगर, इलाम, विर्तामोड, दमक, बर्दिबास र हेटौँडामा कार्यक्रम भएको थियो । दोस्रो चरणको साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान पुस १० देखि १६ गतेसम्म पश्चिम नेपालमा चलेको थियो । चितवनबाट सुरु भएको अभियान बुटवल, दाङको घोराही, तुलसीपुर, बाँकेको कोहलपुर, सुर्खेत, धनगढी, कञ्चनपुर, पोखरा हुँदै गोरखामा पुगेर सकिएको थियो । देशका विभिन्न ठाउँहरुमा आफूहरु पुग्दा त्यस क्षेत्रको साहित्य कला र संस्कृतिका बारेमा अझ बढी प्रष्ट हुन सकेको र धेरै बुझ्ने र जान्ने अवसर मिलेको डा. गीतकारले आजको पत्रकार भेटघाटमा बताए । मोफसलमा पनि राम्रा राम्रा प्रतिभा लुकेर बसेको आफूले ति ति स्थानहरुमा पुग्दा पाएको शुरेश घिमिरेल बताए । उनले भने– ‘झन्डै एक हजार साहित्यकार, सरोकारवाला निकायका प्रतिनिधि र साहित्य, सङ्गीत प्रेमीसँग अभियानका क्रममा साक्षात्कार गरियो ।’ पश्चिम नेपालमा चलेको अभियानको संयोजन तथा सञ्चालन सञ्चारकर्मी लिलप्रकाश चन्दले गरेका थिए । गीतकार डा. डीआर उपाध्यायले लेखेका गीतहरू छुट्टाछुट्टै सातवटा एल्बलमा सङ्गीतकार बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘सरद’ ले सङ्गीत भरेका छन् भने देशका थुप्रै वरिष्ठ गायक÷गायिकाहरुले स्वर दिएका छन् । साहित्यकार तथा गीतकार डी.आर. उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका हुन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गरिएको थियो । उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो । उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् भने गीत एल्बम ‘प्रणय’ उनको पहिलो एल्बम हो । केही सामाजिक उपन्यास सहित थप गीति एल्बम एक वर्ष भित्र पाठक, स्रोता र दर्शकमाझ ल्याउन लागेको पनि उनले आइतबारको पत्रकार भेट घाटमा जानकारी गराए ।