पुनःनिर्माणको कार्यप्रगति प्रशंसा गर्न लायकः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः निर्माणको कार्यप्रगति प्रशंसा गर्न लायक रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको राष्ट्रिय पुनःनिर्माण परामर्श परिषद्को पाँचौ बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्मको काम सन्तोषजक भएको भन्दै बाँकी काम छिटो गर्न निर्देशन दिए ।

प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले निजी आवास निर्माण ६२ प्रतिशत सम्पन्न भएको जानकारी गराउँदै वैशाखसम्म रानीपोखरी तयार हुने र धरहरा पुनःनिर्माणले गति लिएको बताए ।

विदेशीले पुर्ननिर्माणमा भएको प्रगतिको प्रशंसा गरेको बताउँदै कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत वस्ती निर्माणमा जागरण ल्याउनुपर्नेमा जोड दिए ।

बैठकले पनः निमार्णको काम सन्तोषजनक रहेको र बाँकी काम छिटो सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

माल्दिभ्सविरुद्ध नेपालले एक ओभरमा गुमायो २ विकेट!

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा नेपालले सस्तैमा ३ विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई १९ रनमा गुमाएको छ । यसअघि आरिफ शेख १९, आरिफ शेख १७, पारस खड्का ११ रनमा आउट भइसकेका छन् । आरिफ ५.२ र मल्ल ५.६ ओभरमा आउट भएका हुन् । यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा ३ विकेट गुमाएर ४८ रन बनाएको छ । नेपाल र माल्दिभ्सबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ । दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले हराएको नेपालले आज पनि त्यही लय राख्न चाहन्छ । जारी प्रतियोगितामा माल्दिभ्सले २ खेलेको छ । र, दुवै खेलमा पराजित भएको छ । नेपालले २ खेलमा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको हारको सामना गर्नु परेको थियो ।

द्वन्द्व पीडितको समस्या चाँडै समाधान हुन्छः प्रचण्ड

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले द्वन्द्व पीडितहरुको समस्या चाँडै नै समाधान हुने बताएका छन । द्वन्द्व पीडित साझा चौतारीले आज काठमाडौंका आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले मुलुकमा धेरै ठूलो जोखिम र आँटले शान्ति सम्झौताका बाँकी काम टुङग्याउँदै द्वन्द्व पीडितहरुको समस्या पनि चाँडै समाधान गरिने बताए । द्वन्द्व पीडितहरुको समस्याका विषयमा सवैको समान चिन्ता रहेको र यसलाई टुङ्ग्याउने विषयमा पनि अन्तर हृदयदेखि नै सबैको सहमति रहेको अध्यक्ष प्रचण्डले बताए । अध्यक्ष प्रचण्डले समाधानका लागि सकारात्मक वातावरण बन्दै गएको भन्दै यससँग सम्बन्धित ऐन संशोधन, निर्माण र आयोग गठनका लागि समान रुपमा अघि बढाउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग दुवैलाई प्रभावकारी बनाइने जानकारी दिए । उनले शान्ति सम्झौता र त्यसपछि भएका राम्रा कामको चर्चा र राजनीतिक नेतृत्वले खेलेको भूमिकाको समिक्षा गर्नसमेत आग्रह गरे । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले द्वन्द्व पीडितहरुको समस्या समाधान गरेर विश्वमा नमुना प्रस्तुत गर्नु पर्ने बताए ।

कस्तो छ आज तपाइको भाग्य? यस्तो भन्छ राशिफल

वि.सं.२०७६ साल असोज २० गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर ०७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि नवमी,२२ घडी ४६ पला,दिउसो ०३ बजेर ०६ मिनेट उप्रान्त दशमी । नक्षत्र उत्तरषाढा,३६ घडी ४४ पला,बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त श्रवण । योग सुकर्मा,५४ घडी ३९ पला,रातको ०३ बजेर ५१ मिनेट उप्रान्त कृति । करण कौलव,दिउसो ०३ बजेर ०६ मिनेट उप्रान्त तैतिल,रातको ०३ बजेर ३९ मिनेट उप्रान्त गर । आनन्दादिमा मृत्यु योग । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)– व्यवसायमा नयाँ प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कामको खाेजिमा हुनेहरूले नयाँ काम पाउने तथा गरिरहनेहरू बढुवा हुन सक्ने योग रहेको छ । प्रेममा नजिक हुने समय रहेको छ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रसन्न रहनेछ । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)– समाजमा तारिफ योग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरीको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)– समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)– लामो दुरीको रमाइलो व्यावसायिक यात्रा हुने भए खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथीसँग आत्मीयताको कमी हुनेछ भने एक्लो पनको महसुस हुनेछ । साझेदारी व्यवसायमा अविश्वास सिर्जना हुनेछ भने आजको दिन व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेको छ । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)– व्यापार फस्टाएर जाने हुनाले अर्थ सङ्ग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । मामा तथा मावली पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरू स्वतः समाधान हुने योग रहेको छ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) – राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्‍याउला । अध्ययनमा उच्चता हँसिला होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)– समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाइनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ भने सवारी साधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरू भन्दा पछि परिने चिन्ताले सताउनेछ । वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु)– विवादित विषयहरू तपाईँकै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेको छ भने लामो समयदेखि भेट नभएका मित्रहरू भेटिने हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा प्रतिस्पर्धात्मक पछि पार्दै तपाईँको नाम अग्र स्थानमा आउनेछ । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाई लेखाइमा अरूभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)– पढाई लेखाइमा मन जाने छैन भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायमा मन्दी आउनेछ । लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ । प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेको छ । मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)– सन्तानबाट सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पुर्ख्यौली सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । पढाई लेखाई उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

‘विकासको अभियानमा मिलेर अगाडि बढौं’

बुटवलः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले विकासको अभियानमा मिलेर अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । बुटवल उपमहानगरपालिका–१३ मा निर्मित जितेश्वरी मन्दिर तथा सभाहलको आज उद्घाटन गर्दै उहाँले सामाजिक कार्यमा जस्तै विकासका काममा समेत सहकार्य गर्न आग्रह गरे । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले स्थानीयको साथ र सहकार्यले विकासलाई अगाडि बढाउन सहयोग मिल्ने धारणा राखे । महासचिव पौडेलले बुटवलको सामाजिक, आर्थिक, भौतिक तथा सबै प्रकारका विकासमा साथ र समर्थन रहने प्रतिबद्धतासमेत जनाए । उनले तीनाउपारीका क्षेत्रको विकासका लागि तिनाउ–दानव करिडोर निर्माणको योजना बनाएको बताउँदै यो योजना समयमै सम्पन्न गर्न स्थानीयको सक्रियता हुनुपर्ने बताए । ‘यो करिडोर तिनाउ र दानव नदीको दोभानबाट शुरु भएर लुम्बिनी जाने सडकसम्म जोडिन्छ ।’ उनले भने । आफ्नो क्षेत्रको विकासमा चासो र सक्रियता बढाउँदै गए योजना प्नि समयमै सकिने उनको भनाइ थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरेले स्थानीयको सक्रियतामा मन्दिर निर्माण गरेको बताए । उनले मन्दिर र सभाहलको निर्माणपछि वडाका धार्मिक गतिविधि सञ्चालनका लागि सहज हुने बताए । जितेश्वरी आमा समूहका अध्यक्ष मन्दिरा गौडेलले धर्मले मानिसलाई सही आचरणमा रहन सिकाउने हुँदा वडामा धार्मिक गतिविधिलाई बढावा दिएको बताए ।

एकल पुरुषलाई पनि भत्ता

मेलम्ची– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता पाउँने भएका छन् । एकल महिलाले झैँ एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउँने भएका हुन् । पालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट भत्ता दिने निर्णय गरेको हेलम्बु गाउँपालिकका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । एकलल पुरुषले अब मासिक ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो । एकल पुरुष भत्ताका लागि चालु आर्थिक वर्षमा पालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । ‘राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिक रूपमा नै पनि कार्यान्वयनमा ल्याउनका लागि सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हौँ’ अध्यक्ष शेर्पाले भने । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये हेलम्बु कम आन्तरिक आय भएको गाउँपालिकामा भएको समेत उहाँको भनाइ छ । गत आर्थिक वर्षमा ४० लाख आन्तरिक आम्दानी गरेको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए । हेलम्बुले यस आर्थिक वर्षमा ६१ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको समेत बताए । वृद्धभत्ता लिइरहेका एकल पुरुषको हकमा भने एकल भत्ता लिन नपाउँने व्यवस्था गरेको छ । सरकारी तर्फबाट दोहोरो सुविधा नपाउने भएकाले यस्तो व्यवस्था पालिकाले गरेको हो । हाल पालिका भित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भइरहेको पालिकाले जनाएको छ । करिब ३ सय ५० एकल पुरुष रहेको अनुमान गरिएको पालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।

एसिड पीडित मुस्कानलाई अमिताभ बच्चनले पठाए भिडियो सन्देश

काठमाडौंः एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले शीघ्र स्वास्थ्यको कामना गर्दै भिडिओ सन्देश पठाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा पठाएको भिडियो सन्देशमा अमिताभले भनेका छन्, ‘मुस्कान, तिमीमाथि जे भयो त्यो कुनै पनि बच्चालाई हुनु हुँदैन । तिम्रो देशको कानुनले अभियुक्तहरूलाई पक्राउ गरी सजाय दिनेछ।’ मुस्कान को लागि श्री अमिताभ बच्चन को सन्देश। pic.twitter.com/bgTnLb7MRc — Ujjwal Bikram Thapa (@UjjwalBikram) October 2, 2019 यसअघि बलिउड अभिनेता वरूण धवनले पनि मुस्कानलाई भिडिओ सन्देश पठाएका थिए भने गायक राजु लामा उनलाई भेट्न अस्पतालमै पुगेका थिए। भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो। मुस्कानलाई एसिड हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो।

काठमाडौंमा जर्मन–नेपाल व्यापारिक मञ्चको सम्मेलन सुरु

काठमाडौंः नेपालमा जर्मनीको लगानी अभिवृद्धि गराउन पहिलो पटक काठमाडौँमा जर्मन–नेपाल व्यापारिक मञ्चको सम्मेलन शुरु भएको छ । लगानी बोर्ड, जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको संयुक्त आयोजनामा भएको सो सम्मेलनमा जर्मनको कोलोन नगरका उपप्रमुख हान्स वेयरनर ब्रार्चको नेतृत्वमा आएको १५ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलसहित जर्मनीको सहयोगमा नेपालमा सञ्चालित विभिन्न परियोजना तथा उद्योगी व्यवसायीको सहभागिता रहेको छ । सम्मेलनमा नेपालका लागि जर्मनी राजदूत रोलाल्ड सेफरले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको बाटोमा हिँड्न थालेकाले यहाँ लगानी र व्यापारको प्रसस्त सम्भावना रहेको बताए । उनले भने, “विकास पूर्वधार, सांस्कृतिक आदानप्रदान र पर्यटनका क्षेत्रमा साझेदारी बढाउन सकिनेछ । यसमा निजी व्यवसायले आयाम थप्नेछ ।” उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सरकारले वैदेशिक लगानी आकर्षित गर्न मौजुदा कानून परिमार्जन, नयाँ कानूनको तर्जुमा गर्नुका साथै संस्थागत व्यवस्था गरेकाले लगानीको अवसर प्रशस्त रहेको बताए । उनले नेपाली वस्तु निर्यातको हिसाबले जर्मनी तेस्रो ठूलो देश रहेको उल्लेख गर्दै सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा जर्मनीबाट ठूलो सख्यामा पर्यटक आगमन हुने अपेक्षा गरे । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न ठूलो लगानीको आवश्यकता पर्ने भएकाले वैदेशिक लगानी आकर्षित गर्न सरकारले उपयुक्त वातावरण निर्माण गरेको बताए । लगानी सम्मेलनले पहिचान गरेका १५ वटा आयोजनालाई कार्यान्वयन गर्न सकिएमा मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनको भनाइ छ । नेपाल–जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका अध्यक्ष अनुप मल्लले स्मार्ट र हरित अर्थतन्त्र निर्माण गर्न व्यापार र लगानी अभिवृद्धिमा जोड दिए । पछिल्लो समय लगानीमैत्री वातावरण बनेकाले जर्मनीका उद्योगी व्यवसायीलाई लगानी गर्न आग्रह गर्दै उहाँले प्राविधिक एवं दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । नेपाल आर्थिक मञ्चका संस्थापक सञ्जीव शाक्यले भूगोल, जनसङ्ख्या र परिवेशले गर्दा नेपालमा समृद्धिको प्रशस्त सम्भावना रहेको उल्लेख गरे । सो सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ ।

४ किलो अफिमसहित तीन जना पक्राउ

नेपालगञ्जः नेपालगञ्जमा ४ किलो अफिमसहित तीन जना पक्राउ परेका छन् । नेपालगञ्ज–४ स्थित एक होटलबाट प्रहरीले चार किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको हो । होटलमा लागु औषध अफिमको कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्दा दाङका ढुकु रोका, बर्दियाका बालकृष्ण थापा र डम्बर थापालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । बाँकेका प्रहरी प्रवक्ता शिव सिंहले अफिम कहाँबाट कसरी आयो भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

भारतमा ७ दिनसम्म बैंक बन्द हुने, यस्तो छ कारण

नयाँ दिल्ली । चाडपर्वको मौसम शुरु भएको छ । यस्तो बेला स्वभाविकरुपमा पैसा बढी खर्च हुने गर्छ । बैंकहरुको सेवाको आवश्यकता पर्छ । तर भारतमा भने यही बेला बैंकहरु एक हप्ताका लागि बन्द हुने भएका छन् । त्यसैले बन्द हुनु अगाडि नै आफूलाई चाहिने नगदको व्यवस्था गरेर राख्न अपील गरिएको छ । किन हुँदैछन् त बैंक बन्द? भारतमा अहिले बैंकहरु मर्जर या विलयको निर्देशनपछि प्रक्रिया अघि बढेको छ । तर बैंक यूनियनले भने बैंक मर्जरको बिरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् । यूनियनले आगामी २६ र २७ सेप्टेम्बरका दिन बैंक हडतालको घोषणा गरेका छन् । त्यस लगत्तै २८ सेप्टेम्बरमा महिनाको अन्तिम शनिवार भएको हुँदा बैंक बन्द हुनेछन् । अर्को आइतबार भने स्वभाविकरुपमा विदा हुने छ । नेपालमा शनिवार विदा भएजस्तै भारतमा भने आइतबार कामकाज हुँदैन । यसपछि दिल्ली प्रदेश बैंक वर्कस अर्गनाइजेसनले ३० सेप्टेम्बर र १ अक्टुबरका दिन बैंक हडतालको घोषणा गरेका छन् । २ अक्टुबरका दिन भने गान्धी जयन्तीका कारण सार्वजनिक विदा परेको छ । यसरी सात दिनसम्म बैंक बन्द हुने भएकोले यो भन्दा अगाडि नै पैसा जम्मा गर्ने या झिक्ने काम गर्न अनुरोध गरिएको छ ।

श्रीलंका विरुद्धको ‘वानडे सिरिज’का लागि पाकिस्तानद्वारा टिम घोषणा

काठमाडौंः श्रीलंका विरुद्धको वान डे क्रिकेट सिरिजका लागि पाकिस्तानले टोली घोषणा गरेको छ । पाकिस्तान क्रिकेट टिमका मुख्य प्रशिक्षक एवं चयनकर्ता मिश्बाह उलहकले शनिबार टोलीको घोषणा गरेका हुन् । यो पटक पनि सरफराज अहमदले नै टिमको नेतृत्व गर्ने छन् । श्रीलंकाको सिरिजका लागि घोषयाा गरिएको १५ सदस्यीय टोलीका तिव्र गतिका बलर हसन अलि अटाउन असफल भएका छन् । उनी चोटका कारण टिममा पर्न नसकेका बताइएको छ । श्रीलंका–पाकिस्तानबीचको वान डे सिरिज २७ सेप्टेम्बरदेखि पाकिस्तानमा हुँदैछ । श्रीलंकासँग खेल्ने पाकिस्तानी टिमः सरफराज अहमद (कप्तान), बाबर आजम (उप कप्तान), आबिद अली, आसिफ अली, फखर जमान, हरिस सोहेल, मोहम्मद हसनैन, इमाद वसिम, इमाम उल हक, मोहम्मद आमिर, मोहम्मद नवाज, मोहम्मद रिजवान, शादाब खान, उस्मान शेनवाली र वहाव रियाज ।

चर्चका ७० वर्षीय पादरीले गरे ३ नाबालिकसँग बलात्कार

काठमाडौं । मानिसका लागि मन्दिर, मस्जिद, चर्चजस्ता स्थानहरु निकै पवित्र मानिन्छन् । अझ पुजारी, मौलवी या फादर अर्थात् पुजारीलाई निकै आस्थाका रुपमा लिने गरिन्छ । तर यो मान्यतामा कलंक लगाउने काम गरेका छन् एकजना ७० वर्षीय पादरीले । घटना भारतको केरल प्रदेशको हो । इसाईहरु उल्लेख्य संख्यामा रहेको केरलमा एकजना ७० वर्षीय पादरीले तीनजना नाबालिकामाथि बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार, यो घटना ढिलोगरी प्रकाशमा आएको हो । एर्नाकुलमको चेन्दामंगलममा पादरीको चर्चमा रहेको कार्यालयमा आशीर्वाद लिन गएका तीन बालिकामाथि उनले कुकर्म ग रेका हुन । प्रहरीमा जाहेरीपछि पादरीको खोजी तीब्र पारिएको छ । तर पादरी भने वेपत्ता छन् । सिरियन क्याथोलिक चर्चका पादरी जर्ज पदयट्टीमाथि आरोप लागेको हो । बडक्केरा प्रहरी स्टेशनका अधिकारीका अनुसार, पादरीमाथि पाक्सो ऐन अन्तर्गत मुद्दा दर्ता हुने भएको छ ।

दुईजनालाई पक्राउ, एक उद्योगमा सिलबन्दी

परासी, असोज १ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्नेगरी सामग्री बिक्री गरेको आरोपमा जिल्लास्तरीय संयुक्त बजार अनुगमन समिति पश्चिम नवलपरासीले बुधबार दुईजनालाई पक्राउ गरेको छ । एक उद्योगमा सिलबन्दी गरेको छ । पक्राउ पर्नेमा पानी उद्योग र मिष्ठान पसलका व्यवस्थापक छन् । रामग्राम नगरपालिका–१५, हकुईमा सन्चालित साई वाटर इन्डस्ट्रिजले विभिन्न ‘ब्रान्ड’का जारमा खाद्य ऐनविपरीत पानी भरेर बिक्री गर्ने गरेको पाइएको बजार अनुगमन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले बताए । उक्त उद्योगले आधुनिक स्वचालित प्रविधिबाट पानी उत्पादन गर्नुपर्ने भएपनि प्लास्टिकको कालो ट्यांकीमा जम्मा गरेर राखिएको पानी सामान्य फिल्टरबाट भरेर बिक्री गर्ने गरेको पाइएको हो । उद्योगका सन्चालक सुशीला गुप्ता र किरण बनियाँ हुन् । अनुगमनकाक्रममा सन्चालकहरु फेला नपरेपछि उद्योगमा सिलबन्दी गरेर व्यवस्थापक सुनिलकुमार गुप्तालाई पक्राउ गरिएको छ । पक्राउ परेका गुप्तालाई बयानका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवामा पठाइएको छ । फोहोर पानी बग्ने ढलमाथि भान्छा त्यसैगरी, फोहोर पानी बग्ने ढलमाथि भान्छा बनाएर मिठाइ तथा नास्ता बनाउँदै आएको सदरमुकाम परासीस्थित ऋद्धिसिद्धि मिष्ठान भन्डारका व्यवस्थापक राजन हलुवाईलाई पक्राउ गरिएको छ । उक्त मिष्ठान भन्डारले सेतो मटरलाई हरियो बनाउन केमिकल प्रयोग गरेर राखेको पाइएको छ । पक्राउ परेका हलुवाईलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ गरिएको छ । उनीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने संयुक्त बजार अनुगमन समितिले जनाएको छ । अनुगमनकाक्रममा सबैभन्दा बढी म्याद नाघेका पेयपदार्थहरु बरामद गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले बताए ।

भारत र दक्षिण अफ्रिकाबीच मोहाली टी–२० मा गजबको संयोग, दुईमध्ये एउटा रेकर्ड पक्का

काठमाडौँ, भारत र दक्षिण अफ्रिकाबीच हुने जारी टी–२० शृंखलाको दोस्रोमा एउटा नया रेकर्ड बन्ने निश्चित भएको छ। बुधबार साँझ सवा सात बजेदेखि सुरु हुने उक्त खेलमा जुनसुकै टीमले जिते पनि नयाँ रेकर्ड बन्ने संयोग जुरेको छ। पन्जाबको मोहालीस्थित पीसीए आइएस बिन्द्रा स्टेडियममा खेलिने उक्त खेल दुवै टीमका लागि महत्वपूर्ण समेत रहेको छ। दुवै देशबीच खेलिने भनिएका तीन खेलमध्ये पहिलो खेल धर्मशालामा खेलिनुपर्ने थियो तर अत्यधिक वर्षाका कारण उक्त दिन टस समेत हुन सकेन। आजको खेल जित्ने टीमसँग मात्र शृंखला जित्ने सम्भावना जीवित रहनेछ। यस्तो बन्न गइरहेको छ रेकर्ड अन्तर्राष्ट्रिय टी-२० मा भारत र दक्षिण अफ्रिका बीच प्रतिद्वन्द्विताको कुनै लामो इतिहास छैन। दुवै देशबीच हालसम्म जम्मा १३ टी-२० खेल खेलिएका छन् जसमध्ये ८ मा भारतले र ५ मा दक्षिण अफ्रिकाले जीत हात परेको छ। दुवैबीच निर्धारित दुई खेल (कोलकाता र धर्मशालामा निर्धारित) रद्द भएका छन्। तर भारतले घरेलु मैदानमा आजसम्म दक्षिण अफ्रिकालाई हराउन सकेको छैन। दुवै देशबीच हालसम्म दुई टी-२० खेल खेलिएका छन्। दुबैमा भारतले क्रमशः सात र छ विकेटले हार व्यहोरेको छ। दक्षिण अफ्रिकाले भारतलाई २ अक्टुबर २०१५ मा धर्मशालामा ७ विकेटले र ५ अक्टोबर २०१५ मा कटकमा ६ विकेटए पराजित गरेको थियो। दुवै देश बीच २०१५ मा कोलकातामा र २०१९ मा धर्मशालामा हुने भनिएका खेल रद्द भएका छन्। यदि आजको खेलमा भारतले दक्षिण अफ्रिकालाई हराएको खण्डमा यो नयाँ रेकर्ड बन्नेछ। त्यस्तै मोहालीको मैदानमा हालसम्म भारतले एउटा पनि टी-२० अन्तर्राष्ट्रिय खेल हारेको छैन। भारतले हालसम्म यस मैदानमा जम्मा दुई टी-२० अन्तर्राष्ट्रिय खेलेको छ। उसले यस मैदानमा १२ डिसेम्बर २००९ मा पहिलो टी-२० श्रीलंकाविरुद्ध खेलेको थियो। यस खेलमा भारतले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो। यस मैदानमा भारतले अर्को टी-२० खेल अस्ट्रेलियाविरुद्ध २७ मार्च २०१६ मा खेलेको थियो जसमा उसले अस्ट्रेलियालाई पनि ६ विकेटले हराएको थियो।

आज विश्वकर्मा पूजा, मेसिनरी र प्राविधिक सामाग्रीको पूजा गरिँदै

काठमाडौंः आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ। कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ। भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा समेत मानिन्छ। यो नेपालसहित पूर्वोत्तर भारत र बङ्गाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ। महादेवबाट पाएको सृष्टिको सृजना गर्ने जिम्मेवारी निभाउने क्रममा ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएका धार्मिक विश्वास छ। हिन्दु धर्मावलम्बीहरुले विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकारको रुपमा लिने गर्दछन्। शास्त्रमा उल्लेख भएअनुसार उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेका थिए। उनले सत्य युगमा स्वर्गलोक, त्रेता युगमा लंका, द्वापर युगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति बनाएको मानिन्छ।

वैदेशिक रोजगार विभाग द्धारा खारेजीमा परेका मेनपावरलाई राहदानी फिर्ता गर्न निर्देशन

काठमाडौं । राहदानीले खारेज भएका मेनपावर कम्पनीलाई कामदारको राजधानी र रकम फिर्ता गर्न निर्देशन दिएको छ । केही महिनाअघि सरकारले बढाएको धरौटी रकम पूरा गर्न नसकेका ३०३ वटा मेनपावर कम्पनी खारेज भएका छन् । खारेजीमा परेका ती मेनपावर कम्पनीमा कामदारको धेरै राहदानी रहेको हुन सक्ने अनुमान गर्दै विभागले यस्तो निर्देशन दिएको हो । यसअघि केही मेनपावर कम्पनीले बिनाकारण पनि कामदारको राहदानी ‘होल्ड’ गरेर राख्ने र अग्रिम रूपमा नै कामदारसँग मेनपावरले रकम लिने गरेका छन् । सरकारले खारेज भएका मेनपावरबाट राहदानी फिर्ता माग्न कामदारलाई पनि आग्रह गरेको छ । यस्तै, विभागले कामदारसँग कुनै रकम कारोबार गरेको भए सो पनि फिर्ता गर्न खारेज भएका मेनपावरलाई निर्देशन दिएको छ । अब खारेजीमा गएका संस्था सञ्चालन गर्न पाइँदैन तिनको सबै कारोबार सरकारले बन्द गराएको जानकारी गराउँदै विभागका महानिर्देशक भीष्मकुमार भुसालले भने, ‘अब यस्ता कम्पनीमार्फत हुने काम सबै गैरकानुनी हुने भएकाले उनीहरूलाई वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि कार्य नगर्न निर्देशन जारी गरेका हौं ।’ अहिलेसम्म सरकारले कुल १ हजार ५२७ वटा मेनपावर कम्पनी दर्ता गरेको थियो । त्यसमध्ये २११ वटा कम्पनी यसअघि नै खारेज भइसकेका थिए । सरकारले धरौटीको रकम उच्च रूपमा बढाएर नसक्ने साना कम्पनीहरूका लागि पनि मर्जरको विकल्प दिएको थियो । तर, मर्जरको प्रक्रियामा आउनका लागि निर्धारण गरिएको सो अवधिमा जम्मा ३०३ वटा मेनपावरहरू मात्र मर्जरमा आएका थिए । बाँकी अन्य ३०३ वटा कम्पनीले धरौटी रकम नबढाएकाले स्वतः खारेज भएका हुन् । सरकारको यस्तो नयाँ कदमपछि अब बाँकी रहेका करिब ८५० मेनपावरले मात्र कारोबार गर्न पाउनेछन् । अब खारेज भइसकेका मेनपावरले पनि विदेश पठाउने नाममा कारोबार गरे वा कामदारको राहदानी होल्ड गरे कारबाही गर्ने विभागको चेतावनी छ । विभागले त्यस्ता मेनपावरहरूलाई आफ्नो नामसहितको साइनबोर्ड हटाउन पनि निर्देशन दिएको छ । त्यसैगरी, खारेजीमा परेका कम्पनीमा काम गरेका कर्मचारीलाई दिएको परिचय पत्रसमेत रद्द गर्न निर्देशन दिएको विभागले जनाएको छ । त्यसैगरी, विभागले आफ्नो निर्देशनमा यसअघि विदेशबाट कुनै रोजगारदाता कम्पनीमार्फत मागपत्र ल्याएको भए कामदार आपूर्ति गर्न नसकिने जानकारी गराउन पनि निर्देशन दिएको छ । यसैगरी, खारेजीमा परेका मेनपावर कम्पनीविरुद्ध कामदारले दिएका उजुरी पनि तत्काल फरफारक गर्न पनि विभागले निर्देशन दिएको छ । यस्तो नयाँ व्यवस्थासँगै विभागबाट लिइएको दर्ताको प्रमाणपत्र र हालसम्म मेनपावर कम्पनीमार्फत संस्थागत रूपमा श्रम स्वीकृति लिएर विदेश पठाइएका कामदारको सबै विवरणसमेत विभागलाई दिएर फरफारक गर्न पनि निर्देशन दिएको विभागले जनाएको छ । राजधानी दैनिकबाट साभार