नेपाली फुटबलर अभिषेकले आइजोलबाट आइलीग खेल्ने
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अभिषेक रिजालले आइजोल फुटबल क्लबबाट भारतको आइलिग फुटबल खेल्ने भएका छन्।
पोखरामा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका अभिषेकले आफू आइजोल फुटबल क्लबमा अनुबन्धित भएको बताए। २०२० को अक्टोबरमा भएको आइलिग फुटबल छनोटको फाइनल राउण्डमा अभिषेकले मोहमेदन स्पोर्टिङ क्लबबाट खेलेका थिए।
अभिषेकको महत्वपूर्ण प्रदर्शनमा आइलिगको दोस्रो डिभिजन च्याम्पियन हुँदै मोहमेदन आइलिगमा बढुवा भएको थियो। तर, अभिषेकले भने मोहमेदनबाट आइलिग खेल्न पाएनन्।
आइजोल क्लबमा अनुबन्धित भएसँगै अभिषेक अबका बाँकी खेल भने खेल्न पाउनेमा आशावादी छन्। अभिषेकले भने, ‘आइलिगका लागि आइजोलमा अनुबन्धित भएको छु। अब राम्रो गर्ने छु।’
पाण्डे र पहाडी भन्छन्– ओलीको कृत्य प्रतिगमनको औजार (विज्ञप्तिसहित)
काठमाडौंः नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले संसद् विघटन प्रतिगमनको औजार भएको टिप्पणी गरेका छन् । पाण्डे र पहाडीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको बताएका हुन् । संसद् विघटन गैरराजनीतिक, गैरसवैधानिक, जनआकांक्षा विरोधी कदम भएको भन्दै विज्ञप्तिमा निएको छ, ‘अमुक पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षा विरोधी र मुलुकको हित विपरीत छ । प्रतिगमनकै अंशसमेत देखिएको यो कार्य अमान्य छ । यो गलत कदम सच्याउँदै प्रतिनिधिसभा पुनः सुचारु हुने व्यवस्था गर्न आहृवान गर्दछौं ।’ उनीहरूले आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।
नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य
काठमाडौंः नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एशियाली फुटबल महासङ्घको आधिकारिक प्रतियोगिता खेल्न नपाउने भएका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली क्लबलाई लाइसेन्स दिनका लागि एएफसीलाई अनुरोध गरेको थियो । एएफसीले मापदण्ड नपुगेको भन्दै नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स दिन अस्वीकार गरेको एन्फाले जनाएको छ । एएफसीका प्रतियोगिता खेल्न एएफसी क्लब लाइसेन्स अनिवार्य मानिन्छ । सन् २०२१ का लागि नेपालका १३ ए डिभिजन क्लबले निवेदन दिएका थिए । एएफसीले नेपाली क्लबमध्ये त्रिभुवन आर्मी क्लबको निवेदनबारे सकारात्मक प्रतिक्रिया दिएको एन्फाले जनाएको छ । लाइसेन्सका लागि एन्फाले पुनः एएफसीसँग अनुरोध गर्ने भएको छ । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । गत सिजन बी डिभिजन लिगमा घटुवा भएको सरस्वती युथ क्लबले भने क्लब लाइसेन्स आवदेन प्रक्रियामा थिएन । क्लब लाइसेन्सका लागि क्लबको आफ्नै खेल मैदान, युवा टोली, एकेडेमी, खेलाडी बसोबासको व्यवस्था, प्रशिक्षण गर्ने स्थान, खेलाडी, प्रशिक्षक र पदाधिकारी हुनुपर्नेलगायत मापदण्डको व्यवस्था गरिएको छ । लाइसेन्सका लागि मच्छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सङ्कटा क्लब, न्यूरोड टिम एनआरटी क्लब, च्यासल युथ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्डस् क्लब, एपीएफ क्लब र ब्रिगेड ब्वाइज क्लबले निवेदन दिएका थिए ।
फेरि बढ्यो सुनको मूल्य
काठमाडौंः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन आज रु ५०० ले वृद्धि भई रु ९० हजार ५०० पुगेको छ । त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला रु ५०० ले वृद्धि भएको हो । यस्तै चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला रु एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा रु ३५ ले वृद्धि भएको हो ।
थप १९८० जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २ लाख नाघ्यो
काठमाडौंः नेपालमा सोमबार थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जना कोरोना संक्रमित फेला परेका छन् । उपत्यकाको काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये २ लाख बढी निको भएका छन् । सोमबार ३०४३ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । नेपालमा पछिल्लो समय संक्रमितको तुलनामा निको हुनेको संख्या बढ्दै गएको छ । हाल १८ हजार ८८४ जना मात्रै सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार सोमबार १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३३७ पुगेको छ । नेपालमा गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए ।
फेसबुकमार्फत १० लाख ठग्ने युवक पक्राउ
काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमार्फत १० लाखभन्दा बढी ठगी गर्ने एक जना पक्राउ परेका छन् । आफूलाई ठूलो समस्या परेको, विदेश (ब्राजिल) मा रहेको परिवार गम्भीर बिरामी रहेको भन्दै महिलालाई फेसबुकमार्फत साथी बनाई विश्वास दिलाई तत्काल फिर्ता गर्नु भनि पटकपटक गरी १० लाख २८ हजार ७ सय ठगी गरेको आरोपमा रूपचन्द्र पाण्डे पक्राउ परेका हुन् । उनी बाजुराको हिमाली गाउँपालिका-४ निवासी २७ वर्षका युवक रहेको प्रहरीले जनाएको छ । ठगीको आरोप लागेका पाण्डेलाई प्रहरीले मङ्सिर ५ गते पक्राउ गरेको थियो । उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर मुद्दा लगाइएको छ । जिल्ला अदालत स्याङ्जाबाट दिन ७ को म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कमेडियन भारती सिंह गिरफ्तार, नार्कोटिक्स ब्यूरोले छापा हान्दा भेटियो लागुपदार्थ
मुम्बई, भारतीय मनोरञ्जन उद्योगमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भारती सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ । सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउड कलाकारहरुको लागु औषधसँगको सम्बन्धमाथि आक्रामक अनुसन्धान गरिरहेको नार्कोटिक्स ब्यूरोले भारती र उनका पति हर्षलाई गिरफ्तार गरेको हो । सुशान्त सिंहकी पूर्व प्रेमिका रिया चक्रवर्तीले सिंहलाई लागुपदार्थ दिने गरेको आरोप लागेपछि ब्यूरो सक्रिय बनेको थियो । ब्यूरोले बलिउड ड्रग कनेक्सनमा महत्वपूर्ण अप्रेसन गर्दै अहिलेसम्म दर्जनौं कलाकारलाई निशानमा पारेको छ । लागु औषध बेच्ने एकजना व्यक्तिसँगको सोधपुछमा हास्य कलाकार भारतीको समेत नाम आएपछि प्रहरीले आज बिहान उनको अँधेरी, लोखण्डवाला र बर्सोवास्थित घरहरुमा रेड हानेको थियो । ब्यूरोले ती स्थानबाट नशालु पदार्थ बरामद भएको जनाएको छ । यसअघि प्रहरीले अर्जुन रामपाललाई लागुऔषधकै मुद्दामा घण्टौं बयान लिएको थियो । भारती सिंहले लेखक हर्ष लिम्बचियासँग २०१७ मा बिहे गरेकी थिइन । भारती सिंहका बुवा नेपाली हुन भने आमा पञ्जाबी हुन । बाल्यकालमा नै उनले बुवा गुमाएकी थिइन ।
अमेरिकी राष्ट्रपति चुनाव : बाइडेनको अग्रता कायमै
वासिङटन : अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्नु भएको देखाएका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ । पछिल्ला अधिकांश मत सर्वेक्षणहरूले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले अग्रता बनाइरहेको देखाएका छन् । एनबिसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिनअघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने जनाएको छ । एनबिसीका अनुसार चुनावी मत सर्वेक्षणमा सहभागी बिल म्याकइन्टर्फले राष्ट्रव्यापी मत सर्वेक्षणमा १० प्रतिशत अग्रता बनाएपनि चुनावी परिणामका बारेमा यसै भन्न नसकिने अवस्था रहेको बताएका छन् । चुनाव अघिको मत सर्वेक्षणमा बाइडेनले ट्रम्पभन्दा ६ प्रतिशत विन्दुले मात्र अग्रता बनाइराखेको देखाएका थिए । चुनावी नतिजालाई फेरबदल गर्न सक्ने मुख्य राज्यहरुमा एरिजोना, फ्लोरिडा, जर्जिया, आयोवा, मेन, मिसिगन, मिनेसोटा, नर्थ क्यारोलिना, न्यू ह्याम्पसायर, नेभाडा, पेन्सिलभेनिया र विस्कन्सिन रहेका छन् । गत अक्टोबर २९ देखि ३१ तारिखसम्मको मतसर्वेक्षणले ५७ प्रतिशत मतदाताले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई नरुचाएको देखाएका छन् । तर अर्थतन्त्रका सन्दर्भमा राष्ट्रपति ट्रम्पलाई झण्डै ५५ प्रतिशतले समर्थन जनाएका छन् । चुनावी नतिजा उलटफेर गर्न सक्ने “ब्याटलग्राउन्ड” नाम दिइएका केही राज्यहरुमा मतदातालाई आफूतिर तान्न राष्ट्रपतिका दुबै आकाँक्षीले अन्तिम चुनावी सभाहरु गरिरहेका छन् । अमेरिकी चुनाव परियोजनाका अनुसार आइतबार दिउँसोसम्म ९ करोड ३० लाखभन्दा बढी अमेरिकीले मतदान गरिसकेका छन् । यो संख्या सन् २०१६ मा गणना गरिएको कूल मतको झण्डै ६८ प्रतिशत हो ।
आरसीबीको सामना गर्दै दिल्ली, सन्दीपले मौका पाउने सम्भावना कति?
काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सले आज लिग चरणको अन्तिम म्याच खेल्दै छ । उसले आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)सँग खेल्न लागेको हो । यी दुई टिमबीचको खेल नपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि अबुधाबीमा सुरु हुनेछ । दुबै टिमका लागि यो खेल निकै महत्वपूर्ण छ । जुन टिमले यो म्याच जित्छ ऊ टोली ‘प्लेअफ’मा स्थान पक्का गर्नेछ । पछिल्ला खेलमा दुबै टिम लयमा देखिएका छैनन् । आरसीबीले पछिल्ला तीन म्याचमा लगातार हार ब्यहोरेको छ । त्यस्तै, सुरुवातमा राम्रो प्रदर्शन गरेको दिल्लीले पछिल्ला चार खेलमा लगातार हारको सामना गरेको छ । अहिलेसम्म दिल्ली आईपीएलको फाइनलसम्म पनि पुग्न सकेको छैन । आरसीबीले धेरै पटक फाइनलमा स्थान बनाए पनि उपाधि भने अहिलेसम्म हात पार्न सकेको छैन । जारी सिजनमा दिल्लीले १३ खेलमा ७ मा जित र ६ खेलमा हारको सामना गरेको छ । आरसीबीले पनि १४ मध्ये ७ मा जित र बाँकी खेलमा पराजय ब्यहोरेको छ । सन्दीपको सम्भावना कति? लिग चरणको अन्तिम म्याचमा पनि दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेको सम्भावना न्यून छ । विदेशी कोटाबाट खेलिरहेका खेलाडीले पछिल्लो म्याचमा प्रदर्शन सन्तोषजनक नगरे पनि आज पनि उनीहरूलाई नै दिल्लीले दोहोर्याउने सम्भावना छ । अघिल्लो म्याचमा अक्क्षर पटेलको स्थानमा मौका पाएका प्रवीण दुबेले आज पनि खेल्ने सम्भावना छ । डेब्यू म्याचमा विकेटविहीन रहे पनि दुबे बलिङका साथै ब्याटिङ पनि गर्न सक्छन् । आजको खेल जित्नैपर्ने दबाबमा रहेको दिल्ली बलियो प्लेइङ-११ का साथ मैदान उत्रिने छ । यसो हुँदा लगातार बेन्चमा बसिरहेका सन्दीपलाई आज पनि दिल्लीले मौका दिने सम्भावना कमजोर छ । यदि आज सन्दीपले मौका नपाए उनी यो सिजभर बेन्चमै सीमित हुनेछन् । दिल्लीले १३ म्याच खेल्दा उनी कुनै पनि खेलमा अन्तिम ११ को हिस्सा बन्न सकेका छैनन् । दिल्लीले आज निकै परिर्वतन गरेको अवस्थामा चाहिँ सन्दीपले मौका पाउन सक्छन् । एनरिक नोर्टजले यही सिजनमा सर्वाधिक तीव्र गतिमा बलिङ गर्दै इतिहास रचेका थिए । तर, उनको प्रदर्शन पनि पछिल्लो म्याचमा सन्तोषजनक छैन । कागिसो रबाडा र नोर्टजे नचल्दा दिल्ली निरन्तर पराजित भइरहेको छ । प्रदर्शन खराब भए पनि दिल्लीले नोर्टजे र रबाडाको विकल्प खोज्ने सम्भावना निकै कम छ । यद्यपि शिमरोन हेटमायर र मार्कस स्टोइनिसमध्ये एकलाई चाहिँ आज दिल्लीले विश्राम दिन सक्छ । यी दुबै खेलाडीको पछिल्लो खेलमा खास प्रदर्शन रहन सकेको छैन । स्टोइनिस र हेटमायरमध्ये एकलाई विश्राम दिएर दिल्लीले बेन्चमा बसिरहेका एलेक्स क्यारी, सन्दीप लामिछाने, किमो पउल र डानियल साम्समध्ये एक खेलाडीलाई प्रयोग पनि गर्न सक्छ । दिल्लीको सम्भावित प्लेइङ-११ : शिखर धवन, पृथ्वी शा, श्रेयस अय्यरर (कप्तान), ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्क्षर पटेल, रविचन्द्रन आश्विन, एनरिक नोर्टजे, शिमरोन हेटमायर/सन्दीप लामिछाने, कागिसो रबाडा र प्रवीण दुबे । आरसीबीको सम्भावित प्लेइङ-११ : देवदत्त पाडिक्कल, जोश फिलिप्पी, विराट कोहली (कप्तान), एबी डिलियर्स, इशरु उडाना, क्रिस मोरिस, गुरकितमान सिंह, वासिङ्टन सुन्दर, नवदीप सैनी, मोहम्मद सिराज र युजवेन्द्र चहल ।
सर्वोच्चकाे आदेशविपरीत फाेन रेकर्ड गर्न सक्ने प्रावधानसहित विधेयक आउँदै
काठमाडौँ — अदालतको अनुमतिबिनै जुनसुकै व्यक्तिको फोन रेकर्ड मिल्ने प्रावधानसहित सरकारले नयाँ दूरसञ्चार विधेयकको मस्यौदा तयार पारेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको विधेयकको मस्यौदामा दूरसञ्चार सेवा प्रदायकको प्रणालीमा सोझै पहुँच हुने व्यवस्था राखिएको छ । ‘नेपालको सार्वभौमसत्ता, अखण्डता एवं राष्ट्रिय हितविपरीत तथा राज्यद्रोह अपराध वा संगठित अपराध वा फौजदारी अपराधलगायत क्रियाकलाप गरेको विषयमा सरकारको अधिकार प्राप्त अनुसन्धान गर्ने निकायले जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्नेलगायतका पहिचान खुल्ने तथा सेवासम्बन्धी अन्य विवरणहरू अनुसन्धानका लागि सेवा प्रदायकबाट संकलन प्राप्त गर्न सक्नेछ,’ विधेयकको दफा ८१ मा भनिएको छ, ‘यो कार्यका लागि उपयुक्त प्रविधिको प्रयोग गरी सेवा प्रदायकहरूको प्रणालीमा सोझै पहुँच पाउने गरी संयन्त्र जडान गर्न र सूचनामा पहुँच पाउने व्यवस्था तोकिएबमोजिम हुनेछ ।’ सेवा प्रदायकको प्रणालीमा सोझै पहुँचबाहेक सरकारी अधिकारीले जोकोहीको टेलिफोन र सञ्चारको विवरण माग गर्न सक्ने प्रावधान पनि विधेयकमा छ । विधेयकको दफा ८६ मा यस्तो व्यवस्था गरिएको छ । ‘कुनै व्यक्तिले कुनै अपराध गर्न टेलिफोन, मोबाइल फोन वा अन्य कुनै प्रकारको दूरसञ्चार माध्यमको प्रयोग गरेको वा सूचना आदानप्रदान गरेको पाइए मुद्दा हेर्ने अधिकारको अनुमति लिई त्यस्तो अपराधको अनुसन्धान गर्ने अधिकारीले टेलिफोन, मोबाइल फोन वा दूरसञ्चार माध्यम वा सोबाट भएको दूरसञ्चारसम्बन्धी विवरण वा सूचना उपलब्ध गराइदिन सम्बन्धित अधिकारी, निकाय वा सेवा प्रदायकलाई आदेश दिन सक्नेछ,’ विधेयकमा भनिएको छ, ‘त्यस्ता अधिकारी, निकाय वा सेवा प्रदायकले टेलिफोन, मोबाइल फोन वा दूरसञ्चार माध्यमबाट वा सोबाट भएको सञ्चारसम्बन्धी विवरण वा सूचना उपलब्ध गराउनुपर्नेछ ।’ विधेयकमा सरकारी अधिकारीले चाहेमा जुनसुकै व्यक्तिले प्रयोग गरिरहेको टेलिफोन, मोबाइल फोन वा सञ्चारमाध्यम निष्क्रिय गर्न आदेश दिन सक्ने व्यवस्था पनि राखिएको छ । विधेयकमा भएको यी प्रावधान आपत्तिजनक भएको सूचना प्रविधिसम्बन्धी जानकार अधिवक्ता बाबुराम अर्यालको टिप्पणी छ । ‘प्रशासनिक निकायलाई यस्तो विवरण प्राप्त गर्न सक्ने कानुनी प्रावधान राख्नु संविधानले दिएको गोपनीयताको हकविपरीत हो,’ उनी भन्छन्, ‘अदालतको आदेशबिना यस्ता विवरण प्राप्त हुने व्यवस्था गर्नु अधिकारको दुरुपयोग हो ।’ यस्ता प्रावधानले सरकारी अधिकारीलाई नागरिकको निगरानी गर्ने असीमित अधिकार दिने उनको टिप्पणी छ । विधेयकको मस्यौदामा उल्लेख भएको प्रावधान सर्वोच्च अदालतले केही वर्षअघि जारी गरेको परमादेशविपरीत पनि छ । सर्वोच्चले २०७३ माघ २१ गते गरेको परमादेशमा अदालतको अनुमतिबिना कुनै पनि व्यक्तिको कल डिटेल लिन नपाइने भनिएको छ । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको इजलासले अदालतको आदेशबिना कल डिटेल माग्ने र दिने दुवैलाई कारबाही गर्नुपर्ने आदेश दिएको थियो । ‘कार्यपालिका स्वयं पनि कानुनको अधीनमा मात्रै कार्य गर्न सक्ने हुनाले सूचनामा अनियन्त्रित पहुँच कार्यपालिकाको विशेषाधिकार हुन सक्दैन,’ फैसलामा भनिएको छ, ‘सूचनाहरू संगृहीत रहेको र त्यसको जिम्मा लिएका संस्था वा विभागले त्यसलाई आफ्नो तजबिजको विषय बनाउन सक्दैन ।’ कान्तिपुर दैनिकबाट
ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार
एजेन्सीः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थानीय समय अनुसार शनिबार रातिसम्ममा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ । कोरोना संक्रमणको दरमा केही दिनदेखि कमी आए पनि कूल मृत्यु भएका व्यक्तिको संख्याका आधारमा ब्राजिल संयुक्तराज्य अमेरिकापछि विश्वमै दोस्रो स्थानमा रहेको छ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सेनारोले कोरोना भाइरसले गर्न सक्ने क्षतिलाई बेवास्ता गरेको आरोप लागिरहेका बेला कोरोना संक्रमितको मृत्यु उच्च गतिमा बढेको थियो । राष्ट्रपति बोल्सेनारोले सामाजिक दूरीका नियमहरुलाई बेवास्ता गर्दै ठुल्ठूला सभाहरु गरेका थिए । उनले गभर्नर र मेयरहरुले लकडाउन गर्न र कडा नियमहरु अगाडि सारे पनि त्यसलाई अस्वीकार गरेका थिए । यहीबीच गत जुलाईमा उनी स्वयंलाई कोरोना संक्रमण भएको थियो । तर पछिल्ला केही दिनदेखि ब्राजिलमा कोरोना संक्रमण दरमा कमी आउन थालेको छ । विगत एक डेढ महिनाको अवधिमा भाइरसको वृद्धिदरमा कमी देखिएको छ । विगत सात दिनमा दैनिक ५९८ जनाको मृत्यु भइरहे पनि यो गत मे महिनाको तुलनामा निकै कम हो ।
हतियार प्रदर्शन गर्दै भव्यतापूर्वक राष्ट्रिय दिवस मनायो उत्तर कोरियाले (फोटो फिचर)
काठमाडौं । उत्तर कोरियाले भव्यतापूर्वक राष्ट्रिय दिवस मनाएको छ । विश्वभरी नै कोरोना कहर चुलिएको बेला कोरियाले भने ठूलो तामझामसहित उत्सव मनाएको हो । राष्ट्रिय दिवस समारोहमा कोरियाले हतियार प्रदर्शन गर्नुका साथै सैन्य परेड समेत गरेको थियो । समारोहलाई कोरियाका राष्ट्रपति किमले सम्बोधन गरेका थिए । उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना व्यक्त गरेका थिए । अमेरिका–उत्तर कोरियाबीचको भएका शिखर सम्मेलनका एक सदस्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भर्खरै भाइरसको साथ अस्पतालमा भर्ना भई उपचारपछि निवासमा फर्किएका समय नेता किमले विश्वव्यापी महामारी निम्त्याएको भाइरसको समस्यासँग जुधिरहेका विश्वभरका सबैको सुस्वास्थ्यको कामना समेत गरेका छन ।” उत्तर कोरियाको सरकारी टेलिभिजनले सत्तारुढ मजदुर पार्टीको ७५ औं वार्षिकोत्सव मनाउन प्योङयाङमा शनिबार भएको घण्टौं लामो सैन्य परेडको प्रत्यक्ष प्रसारण गरेको हो । कार्यक्रमको उद्घाटनको एक प्रचार पोस्टरको चित्रसाथ खोलिएको थियो, जसमा तीन उत्तरी कोरियालीहरूले यसको हथौड़ा, हँसिया र ब्रशको प्रतीकहरू राखेका थिए । पोस्टरमा ‘हाम्रो महान पार्टीको लागि सबैभन्दा ठूलो जीत’ भन्ने नारा लेखिएको थियो । तस्वीरः केसिएनए
साल्ट ट्रेडिङले ल्यायो १७ हजार मे.टन युरिया मल
काठमाडौं, कृषि मन्त्रालयले सार्वजनिक खरिदमार्फत मल भित्र्याउन नसकेपछि साल्ट ट्रेडिङले भने युरिया मल आयात गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले तीन सातायता वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट साढे १७ हजार मेट्रिक टन युरिया मल भित्र्याएको हो । कर्पोरेसनले ३२ हजार मेट्रिक टन युरिया आयात गरिरहेको छ । यसमध्ये २७ हजार मेट्रिक टन सुक्खा बन्दरगाह र बाँकी विराटनगर नाकाबाट आउन लागेको कर्पोरेसनका वीरगन्ज कार्यालय प्रमुख अमोज लामिछानेले जानकारी दिए । वीरगन्ज आउने २७ हजारमध्ये १७ हजार ५ सय मेट्रिक टन भित्रिइसकेको र बाँकी पनि आगामी साताभित्रै वीरगन्ज आउन सक्ने उनले बताए । २ हजार ५ सय मेट्रिक टन युरिया मल भारतको कोलकाता बन्दरगाहमा रेलवे र्याकमा लोड भइसकेको सूचना आएको लामिछानेको भनाइ छ । त्यसपछि बाँकी मल पनि निरन्तर आउनेछ । विराटनर आउने मल पनि सीमापारि भारतीय रेलवे स्टेसनमा क्रमशः आइरहेको छ । वीरगन्ज शाखामा आइसकेको युरिया मलमध्ये माग भएका झन्डै ६० जिल्लामा परिचालन भइसकेको उनले जानकारी दिए । ‘माग भएका जिल्लामा निरन्तर मल परिचालन गरिरहेका छौं,’ उनले भने, ‘विराटनगर कार्यालयले हेर्ने प्रदेश २ का सप्तरी र सिरहाबाहेक प्रायः जिल्लामा वीरगन्जबाटै मल पठाएका छौं ।’ यो मलले लामो समय माग नधाने पनि तत्कालका लागि किसानको माग धेरै हदसम्म पूर्ति गर्ने उनले बताए । कर्पोरेसनले ग्लोबल टेन्डरबाट आयात गरेको यो मल भारतको गुजरातस्थित कान्डला बन्दरगाहमा करिब ३ महिना अड्किएको थियो । तेस्रो मुलुकबाट आयातित मल बोकेका जहाज ठेकेदारले भूलवश कान्डला बन्दरगाहमा लगेपछि मल त्यहाँ थन्किएको थियो ।
सीपीएल सेमिफाइनल : जमैकाद्वारा पोलार्डको टिमलाई सामान्य लक्ष्य
काठमाडौं : वेष्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) को सेमिफाइनल खेलमा जमैका तल्लावाजले ट्रीनबागो नाइट राइडर्सलाई १ सय ८ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो । उसका लागि नकरुम्हा बोन्नरले ४१, कार्लोस ब्रार्थवेटले १३, कप्तान रोभम्यान पावेलले ३३ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा नाइट राइडर्सका अकिल होसेनले ३, खरी पिर्रेले २, सुनिल नारायण र पवाद अहमदले १/१ विकेट लिए ।
सिपिएल टी२० मा सन्दीप आबद्ध टीमको चौथो हार
क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गतनेपाली बलर सन्दीप लामिछानेले खेलिरहेकाे जमैका तलावाज सातौँ खेलमा पराजित भएकाे छ । मंगलबार राति भएकाे खेलमा ट्रिन्बागो नाइट राइडर्ससँग १९ रनले पराजित भएकाे हाे । जमैकाकाे याे चाैथाे हार हाे । ट्रिन्बागो नाइट राइडर्सले भने प्रतियोगितामा अपराजित यात्रा कामय राखेकाे छ । नाइट राइडर्सबाट पाएकाे एक सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ उत्रेकाे जमैकाकाले २० ओभरमा ६ विकेट गुमाउँदा १ सय ६५ रन मात्र बनाउन सक्यो । जमैकाका आन्द्रे रसेलले नटआउट ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि जितका लागि पर्याप्त भएन । यस्तै ग्लेन फिलिप्सले ४१, कार्लाेस ब्रेथवेटले नटआउट २१, एनक्रुमा बोनेरले २६ रन जाेडे । नाइट राइडर्सका फावद अमहेदले दुई विकेट लिए । ब्रायन लारा स्टेडियममा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो ।
सीपीएल : सन्दीपको उत्कृष्ट बलिङ, लिए महत्वपूर्ण विकेट
काठमाडौं : वेष्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सेन्ट लुसिया जुक्सविरुद्ध जमैका तल्लावाजमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् । उनले आफ्नो चौथो ओभरको दोस्रो बलमा विस्फोटक ब्याट्सम्यान नजिबुल्लाह जर्दान (२५) विकेट लिएका हुन् । सन्दीपले आफ्नो ४ ओभको स्पेलमा २३ रन दिएर महत्वपूर्ण १ विकेट लिए । आफ्नो पहिलो खेलमा जमैकाले टस जितेर बलिङ रोजेको हो । आज सन्दीपसँगै विदेश खेलाडीको कोटामा स्पिनर मुजीउर रहमान, आशिफ अलि र ग्लेन फिलिप्सले पनि प्लेइङ ११ मा स्थान बनाएका छन् । जमैकामा रोभमेन पावेल र जुक्समा डारेन स्यामी कप्तान छन् । सीपीएलको ८ औँ सिजन १० सेप्टेम्बरमा सकिने छ । दुबै सिजनमा पूरा प्रतियोगिता खेल्न नपाएका सन्दीपले यस सिजन भने पूरा खेल्न पाउने छन् । उनी सीपीएल खेलेर वेष्ट इन्डिजबाट आइपीएल खेल्न यूएई प्रस्थान गर्ने छन् । यो वर्ष भारतमा कोरोना महामारी तीव्र गतिमा फैलिएकाले १३ औँ सिजनको आइपीएल यूएईमा हुन लागेको हो ।