संसद विघटनविरुद्धको प्रदर्शन र कोरोनालाई मध्यनजर गर्दै आजदेखि देशभरि कडाई, अटेर गरे १ वर्ष जेल हुनसक्ने

काठमाडौं । सरकारले देशमा विकशित राजनीतिक घटनाक्रम र काेराेना महामारीलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि कडा निर्देशन दिएको छ ।

गृहसचिव महेश्वर न्यौपानेले कोरोना कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको कडाइसाथ कार्यान्वयन गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

गृहस्थित सुरक्षा महाशाखाका अनुसार भीडभाडलाई पूर्ण निष्तेज गरिएकाले प्रशासन त्यसमा सक्रिय रहने छ । अहिले आइपरेको राजनीतिक घटनाक्रम अनुसार बाहिर हुन सक्ने जुलुश, प्रदर्शन पनि यही अध्यादेश अन्तर्गत पर्नेछन् ।

निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई १ वर्षसम्म कैद र ५ लाख वा दुबै सजाय गर्नसक्ने व्यवस्था गरिएको छ । सोही अनुसार कार्यान्वयन गर्न मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

अध्यादेश बमोजिम दिइएको आदेश उल्लंघन गरे प्रमुख जिल्ला अधिकारीले तत्काल जरिवाना गर्न सक्नेछन् । व्यक्तिले उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना, संस्थाले उल्लंघन गरेमा पाँच लाखसम्म जरिवाना गर्न गरिने व्यवस्था गरिएको छ ।

मास्क नलगाएको व्यक्तिलाई प्रहरीले पटकैपिच्छे एक सय, आवतजावत बन्द उल्लंघन गर्दा दुई सय रुपैयाँ, अनुमतिबिना सवारी चलाए दुई पाङ्ग्रे सवारीलाई दुई हजार, अन्य सवारीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्न प्रहरीले सक्नेछन् ।

अध्यादेशविपरीत काम गर्ने संस्था वा व्यवसायलाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले छ महिनासम्म बन्द गरिदिन पनि सक्ने छन् ।

जसपाको भट्टराई–यादव पक्षले बोलायो कार्यकारिणी समिति बैठक

काठमाडौं जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्यकारीणी समितिको बैठक बोलाएको छ । राष्ट्रिय राजनीतिमा देखिएको पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जसपाका कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तिहाक राइले जानकारी दिए । यसअघि बिहिबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेका थिए । जसपाको कार्यकारिणी समितिमा ५१ जना छन् । ती मध्ये रेशम चौधरी जेलमा छन् । कार्यकारिणी समितिमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग बहुमत छ ।

संवेदनशील विषयमा सरकारबाट सकारात्मक पहलको आशा गर्न नसकिने पीडादायी स्थिति छः श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारको समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति कावु बाहिर जान लागेको बताएका छन् । नेपालमा कोरोनाको महामारी भयावह भएको, संक्रमण र मृत्यु दर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थालेको भन्दै सबै मिलेर आम नागरिकलाई कोरोना संक्रमणबाट बचाउनुपर्ने बताएका छन् । ‘६० भन्दा बढी जिल्लामा निषेधाज्ञा लागिसकेको स्थितिमा गरिब, बिपन्न र श्रमजीवी परिवार रोगले मात्र होइन ,भोकले समेत बाँच्न नसक्ने स्थितिमा पुग्दैछन्’, उनले भनेका छन्, ‘अर्थतन्त्र ध्वस्त हुने खतरा देखिँदैछ। तसर्थ श्रमजीवी वर्गलाई तत्काल राहात प्याकेज अपरिहार्य छ भने अर्थतन्त्रको रक्षा र पुनर्स्थापनाको लागि पनि बिषेश योजना आवश्यक छ ।’ सरकार र राजनीतिक पार्टीहरुले यसलाई पहिलो र मुख्य कार्यभार बनाउनुपर्ने भए पनि यो सरकारबाट यस्तो संवेदनशील बिषयमा पनि कुनै सकारात्मक पहलको आशा गर्न नसकिने पीडादायी स्थिति रहेको उनले गुनासो गरेका छन् । राजनीतिक नेता, कार्यकर्ता, संगठन र समाजसेवीहरुले आफुलाई बचाउने मात्रमा सीमित नरही जोखिम मोलेर समाजको लागि स्वयसेवा गर्न तयार हुनुपर्नेमा उनले जोड दिएका छन् । कोरोनाको पहिलो लहरको समयमा कृयाशील रहेको आफ्नो सचिवालयअन्तर्गतको कोभिड स्वयंसेवा समुह पुनः कृयाशील रहेको उनले जानकारी दिएका छन् ।

माओवादीबाट निर्वाचित कर्णालीका सांसदको आधा महिनाको पारिश्रमिक विपद् कोषमा

सुर्खेत । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार साँझ बसेको संसदीय दलको बैठकले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि आधा महिनाको पारिश्रमिक कर्णाली सरकारको विपद् कोषमा सहयोग गर्ने निर्णय भएको केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपालीले जानकारी दिइन् । त्यस्तै बैठकमा दलसँग आबद्ध प्रदेशसभा सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारका निकायहरु, स्थानीय तह, अन्य राजनैतिक दल, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी, पत्रकार सञ्चारकर्मी, नागरिक समाजसँग समन्वय गरी कोभिड–१९ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि कामलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण, समन्वय एवं अनुगमन गर्ने निर्णय भएको छ । बैठकमा दल नेता एवं मुख्यमन्त्रीले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यको काममा सरकारले गरिरहेको पहल र विकास निर्माण तथा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाका साथै समसामयिक राजनीतिक परिस्थिति र दलले खेल्नुपर्ने भूमिकाबारे जानकारी दिनुभएको प्रमुख सचेतक नेपालीले बताए । त्यसैगरी बैठकमा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणका कारण मृत्युवरण गर्नभएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि एवं मृतकका आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै कोभिड सङ्क्रमणका कारण बिरामी भएका दल सदस्य विन्दमान बिष्टलगायत सबै बिरामीको स्वास्थ्य लाभको कामना गरिएको छ । उनका अनुसार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले लिनुपर्ने नीति एवं प्राथमिकताका बारेमा बैठकमा सहभागी प्रदेशसभा सदस्यहरुले आवश्यक सुझाव दिएका थिए ।

घट्यो सुनचाँदीकोे मूल्य

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । बिहीबार सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि २० रुपैयाँ घटेको छ । बिहीबार तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ ।

नवनियुक्त खेलकुदमन्त्री मनाङेले लिए सपथ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद विस्तार गरेका छन् । गण्डकी प्रदेशमा हाल रहेका मन्त्रालयलाई छुट्टाएर युवा तथा खेलकुद मन्त्रीमा मनाङबाट निर्वाचित राजिव गुरुङ (दीपक मनाङे)लाई नियुक्त गरेका हुन् । गत प्रदेशसभाको निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र उमेदवारको रुपमा विजयी गुरुङ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेपनि सर्वोच्चको निर्णयले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आएपछि स्वतन्त्र हैसितमा रहेका थिए । प्रदेशसभा आफूलाई स्वतन्त्र सदस्यको हैसित दिन माग सहित निवेदन दिनुभएका गुरुङले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा दर्ता गरेको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने अनुमान गरिएको थियो । अविश्वासको प्रस्तावमा मतदान हुने दिन प्रदेशसभामा अनुपस्थित गुरुङले मनाङका जनताको आग्रहमा अविश्वासको प्रस्तावको पक्षमा जान नसकिएको बताएका थिए । नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराए । मन्त्रीमा नियुक्तीपछि गुरुङले युवा तथा खेलकुद क्षेत्रमा केही नयाँ काम गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने दिन राष्ट्रिय जनमोर्चाका एक सदस्य सम्पर्कमा नआएपछि प्रदेशसभाको विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । छ वटा मन्त्रालय रहेको गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्तिसँगै मन्त्रालयको सङ्ख्या सात पुगेको छ ।

खोटाङमा बस दुर्घटना : एकको मृत्यु, २२ जना घाइते

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ कदुवास्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना हुँदा एकको मृत्यु र २२ जना घाइते भएका छन् । शनिबार बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालकसहित ३९ जना यात्रु बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ जना घाइते र १६ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । बा ३ ख ९२८५ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसेर दुर्घटना हुँदा सो बसका सहचालक सिन्धुली घ्याङलेक गाउँपालिका-१ का २५ वर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायब उपरिक्षकको कमाण्डमा प्रहरी टोली खटिई घाइतेलाई उपचारको लागि पठाइएको छ प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाइने बताउनुभएको छ । सरकारले सार्वजनिक गरेको परराष्ट्र नीति, २०७७ का विषयमा प्रतिनिधिसभा अन्तरराष्ट्रिय सम्बन्ध समितिद्वारा आज गरिएको छलफलमा सहभागी हुँदै परराष्ट्रमन्त्री ज्ञवालीले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताउनुभयो । “राष्ट्र हितलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति तयार गरेका छौँ, यसबारे सबै पार्टी र पक्षसित गहन छलफल गरिएको हो”, उहाँले भन्नुभयो । गौतम बुद्ध जन्मेको देशमा शान्तिका लागि विश्व समुदायसँग ऐक्यबद्धता गर्ने उद्देश्यले परराष्ट्र नीति अघि बढाइएको ज्ञवालीले सुनाउनुभयो । “शान्ति हाम्रो परराष्ट्र नीतिको अभिन्न अङ्ग हो, हामीले संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर विश्वका अन्य देशमा समेत शान्ति कायम गर्न चाहेका छौँ”, मन्त्री ज्ञवालीले भन्नुभयो । नेपालले सधैँ हातहतियार निशस्त्रीकरणका लागि जोड दिँदै आएको र यसमै नेपालको विदेश नीति केन्द्रित रहेको उहाँको भनाइ थियो । परराष्ट्र नीतिमा जलवायु परिवर्तनलाई विषेश प्राथमिकतामा राखेको मन्त्री ज्ञवालीले सुनाउनुभयो । आन्तरिक नीतिको विस्तारित नीति नै परराष्ट्र नीति भएको मन्त्री ज्ञवालीको भनाइ थियो । “आर्थिक कूटनीतिमा जोड दिएका छौँ, लगानी र पर्यटन प्रवद्र्धन मुख्यरुपमा अघि बढाएका छौँ”, उहाँले भन्नुभयो । झण्डै ५० लाख नेपाली विदेशमा रहेको सुनाउँदै मन्त्री ज्ञवालीले दक्ष र बौद्धिक जनशक्ति रहेकाले त्यसलाई नेपालको हितमा उपयोग गरिने स्पष्ट पार्नुभयो । परराष्ट्र सम्बन्ध राम्रो बनाउनमा सबै तह र तप्काको भूमिका आवश्यक हुने उहाँले उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री एवं समितिका सदस्य माधवकुमार नेपालले विदेश नीतिका मामिलामा सत्ता पक्ष र प्रतिपक्ष एउटै ठाउँमा उभिनुपर्ने बताउनुभयो । “सत्तामा छँदा होस् वा बाहिर रहँदा होस् विदेश नीति सबैको एउटै हुनुपर्छ”, उहाँले भन्नुभयो । परराष्ट्र नीति सार्वजनिक गरे पनि सरकारले सबै निकायसित आवश्यक छलफल र परामर्श नगरेकामा उहाँले परराष्ट्रमन्त्री ज्ञवाली समक्ष आपत्ति प्रकट गर्नुभयो । “परराष्ट्र नीतिबारे सबैसित गहनरूपमा छलफल गरिनु पर्छ”, नेपालले भन्नुभयो । समितिका सदस्य सुरेन्द्रकुमार कार्कीले नेपालको परराष्ट्र नीति बेलाबेलामा परिवर्तन हुँदै आएको र अबका दिनमा त्यस्तो हुन नहुने बताउनुभयो । उहाँले सन्तुलनको कूटनीति आवश्यक भएको उल्लेख गर्नुभयो । राणाकालीन अघिको सन्तुलित नीतिबारे सरकारद्वारा जारी परराष्ट्र नीतिमा उल्लेख नगरिएकामा कार्कीले आपत्ति प्रकट गर्नुभयो । “सरकारले जारी गरेको परराष्ट्र नीति परिस्कृत र परिमार्जन गरिनु आवश्यक छ”, उहाँले भन्नुभयो । समितिका अर्का सदस्य दिव्यमणि राजभण्डारीले बाह्य सम्बन्धबारे सबै पार्टीको धारणा एउटै हुनुपर्ने बताउनुभयो । सबैको अनुभव समेटेर परराष्ट्र नीति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै समतिका सदस्य मोहन बानियाँले सरकारैपिच्छे फरकफरक परराष्ट्र नीति हुन नहुनेमा जोड दिनुभयो । समितिका अर्का सदस्य डा दीपकप्रकाश भट्टले परराष्ट्र नीतिबारे विस्तृतरूपमा छलफल आवश्यक भएको बताउनुभयो । “विभिन्न कालखण्डमा विभिन्न काम भए, व्यवस्था फेरिए त्यो फरक कुरा हो, कोहीलाई कुनै व्यवस्था मन प¥यो, कोहीलाई मन परेन, तर त्यसबेला अपनाइएको उचित परराष्ट्र नीति अबका दिनमा पनि अवलम्बन गरिनुपर्छ”, उहाँले भन्नुभयो । सरकारले जारी गरेपनि परराष्ट्र नीतिबारे सांसदहरु नै अनविज्ञ रहेको उहाँको भनाइ थियो । उक्त छलफलमा समितिका सदस्यहरू प्रेमलाल तुलाचन र रेनुका गुरुङलेसमेत छलफलमा भाग लिनुभएको थियो । बैठकको अध्यक्षता समितिका सभापति पवित्रा निरौला खरेलले गर्नुभएको थियो । रासस 

माथिल्लो तामाकोसीले वैशाखभित्र ७६ मेगावाट विद्युत् दिने

नयाँ वर्ष २०७८ का अवसरमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले देशवासीलाई उपहारस्वरूप ७६ मेगावाट विद्युत् दिने भएको छ । १० वर्षदेखि दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले वैशाखभित्र पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन थाल्ने बताइएको छ । हाल आयोजनाको मुख्य निर्माणअन्तर्गत बाँध, इन्टेक, मुख्य सुरुङ, टेलरेस सुरुङ, विद्युत् गृहलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रो मेकानिकल उपकरणको समेत प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । त्यस्तै बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायत संरचनाका सिभिल र मेकानिकलतर्फका सानासाना काम भइरहेको र माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङ बीच भागमा राखिएको अन्तिम पेनस्टक पाइपको जडान कार्य भइरहेको छ । पाइपको ज्वाइन्टमा वेल्डिङ, त्यसको परीक्षण र पेन्टिङको काम आगामी वैशाखको १० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको जनाइएको छ । हाल हाइड्रो मेकानिकलतर्फका केही गेट र पेनस्टक पाइपसँग सम्बन्धित केही कङ्क्रिटिङको काम मात्रै बाँकी रहेको र सो काम भइरहेको छ । यी सबै काम वैशाख १५ गतेसम्म सम्पन्न गरेपछि मुख्य सुरुङमा पानी हाली प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो । पानी भर्ने क्रममा सिभिल र हाइड्रो मेकानिकल संरचनामा कुनै जटिल समस्या नआएमा सातदेखि नौ दिनभित्र परीक्षण कार्य सम्पन्न गरिने बताउँदै उहाँले भन्नुभयो, मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युत्गृहमा जडान गरिएका छवटा टर्वाइन र छवटा जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ प्रारम्भ हुनेछ । यसक्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्रै विद्युत् उत्पादन सुरु हुने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । आयोजनामा ७६÷७६ मेगावाटका छवटा युनिट छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमशः विद्युत् उत्पादन हुने उल्लेख गर्दै उहाँले चालू आर्थिक वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन हुनेमा आशावादी रहेको बताउनुभयो । २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रो मेकानिकल लट–२ ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले आयोजना निर्माणमा ढिलाइ भएको थियो । भूकम्पले गर्दा झन्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेरलगायतले आयोजना निर्माणमा केही ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताउनुभयो । ८२२ मिटर हेड र दैनिक पिकिङ रन अफ द रिभर प्रकृतिको यो आयोजना सबैभन्दा सुक्खा मौसममा समेत साढे चार घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्छ । २०६७ भदौबाट मुख्य सिभिल निर्माण कार्यको सुरुवात गरिएको यस आयोजना ठेकेदार कम्पनीको ढिलाइ, भूकम्प, नाकाबन्दी र अमेरिकी डलरको मूल्य वृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने ब्याज, प्रशासनिक खर्चलगायतका कारण ब्याजसहित ४९ अर्ब रुपियाँको अनुमानित लागत रहेको आयोजनाको लागत बढेर ब्याजसहित ८४ अर्ब रुपियाँ पुग्ने अनुमान छ । -गोर्खापत्र दैनिकबाट

कोलकाताविरुद्ध टस हारेर ब्याटिङ गर्दै मुम्बई

काठमाडौं  : भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर)ले टस जितेर बलिङ रोजेको छ । यी दुई टोलीबीचको म्याच नेपाली समयअनुसार साँझ ७:४५ बजे चेन्नईमा सुरू हुँदैछ । केकेआरले आज पनि अघिल्लो खेलकै प्लेइङ-११ लाई निरन्तरता दिएको छ । मुम्बईले भने प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले क्रिस लिनको स्थानमा क्विन्टन डिककलाई मौका दिएको छ । जारी सिजनमा केकेआरले सनराइजर्स हैदराबादलाई हराउँदै विजयी सुरुवात गरिसकेको छ । यता मुम्बई इण्डियन्स भने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध पराजित भएको थियो । पछिल्लो पाँच खेलमा मुम्बईविरुद्ध केकेआरले एक खेलमा मात्र जित हासिल गरेको छ । केकेआरको प्लेइङ-११ : शुभमन गिल, राहुल त्रिपाठी, नीतिश राणा, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेटकीपर), आन्द्रे रसेल, शाकिब अल हसन, प्याट कमिन्स, हरभजन सिंह, प्रसिद्ध कृष्ण र वरुण चक्रवर्ती । मुम्बईको प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्विन्टन डीकक, इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, मार्को जनसेन, क्रुणाल पाण्ड्या, किरण पोलार्ड, हार्दिक पाण्ड्या, जसप्रीत बुमराह, ट्रेन्ट बोल्ट र राहुल चहर ।

रेसुङ्गा वनमा भीषण आगलागी

गुल्मी : गत ३ दिनदेखि गुल्मीको सदरमुकाम तम्घासको रेसुङ्गा वन क्षेत्रमा लागेको नियन्त्रण बाहिर गएको छ । दक्षिण उर्लेनी र देउराली वन क्षेत्रबाट लागेको आगो शनिबार साझ उर्लेनीबाट उत्तर र तम्घासबाट पूर्वमा पर्ने बुढिचौर टोल बस्ती माथि फैलिएको छ । आगो नियन्त्रणमा सेना प्रहरी र सशस्त्र प्रहरी खटिए पनि जिल्लाका अधिकांश स्थानमा आगलागीमा स्थानीयबासी नै बढी सकृय हुनुपर्ने देखिएको छ ।

चेन्नईविरुद्ध टस जितेर बलिङ गर्दै दिल्ली

काठमाडौं : १४औँ सिजनको आईपीएलको दोस्रो खेलमा न्नई सुपर किंग्स (सीएसके)विरुद्ध दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि मुम्बईमा हुँदैछ । हालसम्म दिल्लीलले आईपीएल उपाधि हात पार्न सकेको छैन । चेन्नईले भने तीन पटक आईपीएल ट्रफी जितिसकेको छ । दिल्ली गत सिजनमा पहिलो पटक फाइनलमा पुगेको थियो । यो पटक दिल्लीमा ऋषभ पन्त कप्तान छन् । नियमित कप्तान श्रेयस अय्यर घाइते भएपछि दिल्लीको कप्तानी पन्तलाई दिइएको हो । पहिलो खेलमा दिल्ली टिमका महत्वपूर्ण बलर कागिसो रबाडा र एनरिक नोर्टजे उपलब्ध हुने छैनन् । उनीहरू पाकिस्तानसँगको वानडे सिरिजका कारण ढिला भारत पुगेकाले पहिलो खेल गुमाउने भएका हुन् । यता चेन्नईका बलर लुंगी एनगिडीले पनि पहिलो म्याच गुमाउने छन् । पछिल्लो पाँच म्याचमा चेन्नईले दिल्लीलाई तीन खेलमा पराजित गरेको छ । गत सिजनमा भने दिल्लीविरुद्ध चेन्नई दुवै खेलमा पराजित भएको थियो । दिल्लीको प्लेइङ-११ : पृथ्वी शा, शिखर धवन, ऋषभ पन्त (कप्तान/विकेटकीपर), मार्कस स्टोइनिस, शिमरोन हेटमायर, क्रिस वोक्स, रविचन्द्रन अश्विन, टम करन, उमेश यादव, अमित मिश्रा र इशान्त शर्मा । चेन्नईको प्लेइङ-११ : मोइन अली, फाफ डु प्लेसिस, सुरेश रैना, अम्बाती रायडू, महेन्द्रसिंह धोनी (कप्तान/विकेटकीपर), रवीन्द्र जडेजा, साम कुरन, ड्वेन ब्रावो, कृष्णप्पा गौतम, शार्दुल ठाकुर र दीपक चाहर ।

म्यान्मारमा सुरक्षा फौजद्वारा बिना चेतावनी गोली प्रहार, ३८ जनाको मृत्यु

म्यान्मारमा बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन्। जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ। म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताइन्। बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ। सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ। गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्। म्यान्मारका छिमेकीहरूले संयम अपनाउन आग्रह गरेको एक दिनपछि त्यस्तो घटना भएको छ। राष्ट्रसङ्घीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते तुल्याइएको बताइन्। उनका अनुसार एउटा भिडिओ क्लिपमा प्रहरीले निसशस्त्र स्वास्थ्य स्वयमसेवकको टोलीलाई पिटिरहेको देखिन्छ। त्यस्तै अर्कोमा सडकमा प्रदर्शनकारीमाथि गोली चलाइएको र सम्भवत: मारिएको देखिन्छ। “म केही हतियारविज्ञहरूलाई आग्रह गर्छु र उनीहरूले पुष्टि गर्नसक्छन्, स्पष्ट छैन तर प्रहरीको हतियार नौ एमएमको सबमेशिनगन जस्तो देखिन्छ,” उनले भनिन्। सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर छन्। एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ। कूपछि नेत्री आङ सान सू ची सहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ। प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन्। सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ। उक्त चुनावमा सू चीको दल न्याश्नल डेमोक्र्याटिक पार्टीले ठूलो जित हासिल गरेको थियो। सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन। उसले निर्वाचन आयोगमा हेरफेर गरेको छ र यही वर्ष ताजा चुनाव गराउने वाचा गरेको छ। अन्तर्राष्ट्रिय रूपमा बढ्दो निन्दाकाबीच सेनाले सडक प्रदर्शनविरुद्धको कदम बढाएको छ र बुधवार थुप्रै ठाउँहरूमा हिंसात्मक झडपहरू भएका छन्। सेनाले बाह्य प्रतिबन्धहरूको सामना गर्न तयार रहेको बताएको छ। राष्ट्रसङ्घीय दूत बूर्गनरले सैनिक जर्नेलहरूविरुद्ध कडा कदम उठाउन राष्ट्रसङ्घलाई आग्रह गरिन्। उनले म्यान्मार सेनाका उपप्रमुखसँगको कुराकानीमा दण्डनीय कदम उठाउने चेतावनी दिएकी थिइन्। न्यूयोर्कमा संवाददाताहरूसँग उनले भनिन्, “हामी थौरै साथीहरूसँग हिड्न सक्नुपर्छ भन्ने जबाफ थियो।” प्रत्यक्षदर्शीहरूले समाचार संस्था रोयटर्सलाई बताएका अनुसार सुरक्षा फौजले कैयौँ नगर र सहरहरूमा छोटो चेतावनीमै गोली चलाएको छ। मध्य म्यान्मारको मोनयूआको प्रदर्शनमा कम्तीमा चारजना गोली लागेर मारिएका छन्। स्थानीय पत्रकारले बताए अनुसार कम्तीमा ३० जना घाइते भएका छन्। थप मृत्यु याङ्गुन, मान्डले र मिइनजानमा भएको समाचारमा जनाइएको छ। मिइनजानस्थित एकजना स्वास्थ्य स्वयमेवकले समाचार संस्था एएफपीलाई बताएका अनुसार कम्तीमा १० जना घाइते भएका छन्। उनले भने, “सुरक्षा फौजले अश्रुग्यास, रबरको गोली र गोली चलाएको थियो।” “उनीहरूले हामीमाथि पानीको फोहरा प्रहार गरेनन्, भिड तितरबितर पार्न कुनै चेतावनी पनि दिइएन, उनीहरूले एकैपटक बन्दुकबाट गोली चलाए,” एकजना प्रदर्शनकारीले रोयटर्सलाई भने। मान्डलेमा एकजना विद्यार्थी प्रदर्शनकारीले बीबीसीलाई बताएका अनुसार उनको घर नजिकै प्रदर्शनकारीहरू मारिएका छन्। “त्यस्तै बिहान १० देखि साढे १० को बीचमा प्रहरी र सेना त्यस क्षेत्रमा आए र सर्वसाधारणमाथि गोली चलाउन सुरु गरे, उनीहरूले कुनै चेतावनी दिएनन्,” उनले भनिन्। “रबरको गोली पनि चलाए तर हिंसात्मक ढङ्गले नागरिकको हत्या गर्न गोली पनि चलाए।” सेनाले प्रदर्शनकारीहरू मारिएको भनिएको घटनाबारे टिप्पणी गरेको छैन। पछिल्लो हिंसा दक्षिण पूर्वी एशियाका छिमेकी देशहरूका विदेशमन्त्रीहरूसँगको बैठक लगत्तै भएको छ। उक्त समूहले संयम अपनाउन आग्रह गरेको थियो तर केही मन्त्रीहरूले मात्र नेत्री सू चीलाई रिहा गर्न सैनिक सरकारलाई दबाव दिएका थिए। आइतवारको हिंसामा १८ जना मारिएका थिए। निर्वाचित सरकार अपदस्थ गर्दै शक्ति हातमा लिएको म्यान्मारको सेनाले सङ्कटकाल घोषणा गरेको छ। पछिल्ला दिनहरूमा सुरक्षाकर्मी र प्रदर्शनकारीहरूबीच हिंसा बढ्दै गएको देखिन्छ। बिबिसी नेपालीबाट

आज देशभरिका अदालत बन्द, नेकपाको नाम–विवादको फैसला पनि सर्‍यो

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा सर्वोच्च अदालतले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो । आज सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ । पूर्वप्रधानन्यायाधीश सिंहको फागुन १८ गते साँझ निधन भएको थियो । सर्लाही जिल्लामा वि सं. १९८८ साल फागुन ३ गते जन्मनुभएका सिंह २०५२ साल असोज १० गते प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो । यसैबीच सर्वोच्च अदालतले नेकपाको नामको विवादमा निर्णय सुनाउने मिति फेरि सरको छ । सर्वोच्चले गत विहिबार सो विवादबारेका फैसला सुनाउन आजको मिति तय गरेको थियो । तर आज शोक बिदा परेकाले नाको विवादबारे फैसला गर्ने मिति पछि धकेलिएको हो । तत्कालीने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको थियो । कट्टेललले आफ्नो पार्टीको नामसँग मिल्नेन नाम राखेको भन्दै निर्वाचन आयोगविरुद्ध २०७५ मंसिर ५ गर्ते सर्वोच्चमा रिट निवेदनदर्ता गराउनुभएको थियो ।

भोलि सांसद र मन्त्रीले कोराना खोप लगाउने

काठमाडौंः भोलि सभामुख,मन्त्री र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ । कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताए ।

एकाएक किन घट्यो शेयरबजार, अब के होला ?

साताको पहिलो दिन आइतबार ७९.७४ अकंले ओरालो लागेर नेप्से २४७४.३९ अंकमा आइपुगेको छ । किन यस्तो भयो त ? लगानीकर्ता पनि आश्चर्यचकित छन् । धेरैजसो लगानीकर्ताले अस्थिर राजनीतिका कारण शेयर बजार ओरालो लाग्न पुग्दै आएको बताएका छन् । निरन्तर उकालो लाग्दै गएको शेयर बजार घटने हो कि भन्ने त्रास पनि छ । त्यस्तो त्रासका कारण बजारबाट नाफा बुक गर्न थाल्दा शेयर बजार ओरालो लागेको भन्ने लगानीकर्ता पनि कमी छैनन् । अर्कोतिर लगानीयोग्य रकम (तरलता)को अभाव हुन थालेको र बैंकबाट शेयर धिताेमा लिएको ऋणको ब्याज बढ्ने हल्ला फैलिएकाले पनि शेयर बजार घटन पुगेको तर्क पनि गरिदै आएको छ । यी र यस्तो हल्लाका कारण शेयर बजार ओरालो लाग्न पुगेको बिश्लेषकको भनाइ छ । तर बैंकका प्रमुख कार्यकारी अधिकृतहरु भने असोजभन्दा यता तरलताको अभाव नहुने बताउँदै आएका छन् । तर लगानीकर्ता भने तरलतको अभाव हुने र ऋणको ब्याज बढ्ने भन्दै अतालिएर शेयर बिक्री गर्न थालेका छन् । यसले पनि शेयर बजार ओरोलो लाग्न पुगेको ठूला लगानीकर्ताहरु बताउँछन् । शेयर बजार घटनु पर्ने कारण नै नभएको शेयर बिश्लेषकहरुको भनाइ छ । कोरोना भाइरसको खोप आइसकेको, नेपाल राष्ट्र बैंकले शेयर धितोमा जाने कर्जालाई नियन्त्रण नगरेको, केन्द्रीय बैंकको शेयर बजारमैत्री नीतिले लगानीकर्तामा उत्साह थपिनु पर्ने हो । त्यति हुँदा पनि शेयर बजारमा सुधार हुन सकेन् अखिर किन त ? नेपाली शेयरबजारका लगानीकर्ता कति बेला खुसीले उफ्रन्छन, कतिबेला तनाबले थचारिन्छन, पत्तै हुँदैन । कारण हो- शेयरबजारको प्रवृत्ति । शेयर विश्लेषक भन्छन- यहाँको शेयरबजार प्रवृत्ति अन्य मुलुकको भन्दा ठिक उल्टो छ, कतिखेर घट्छ, कतिखेर बढ्छ आँकलनै गर्न सकिन्न । सबैभन्दा खतरनाक त हल्लैहल्लामा आकाशबाट पाताल झर्छ,पातालबाट आकाश उक्लन्छ, नेपाली शेयरबजारमूल्य । राजनीतिक स्थिति, देशको अर्थतन्त्र र नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण विश्लेषणका भरमा आफ्नो लगानीबारे निश्चिन्त रहनु पर्ने र समयमा सही निणर्य लिनुपर्ने लगानीकर्ता हुन्डरीजस्तो प्रवृत्तिले हैरान छन् । शेयरबजारमा अनावश्यक हल्ला फिँजाइएकाले ‘अस्वाभाविक’ गिरावट आउने गरेको विज्ञले बताएका छन् । शेयरबजार वास्तविकतामा भन्दा ज्यादा हल्लाको भरमा चलिरहेको पनि शेयर बिश्लेषकहरुको भनाइ छ । खासगरी नयाँ र साना लगानीकर्ता हल्लाका भरमा लगानी गर्ने र निकाल्ने प्रवृत्ति छ । हल्लासँगै बजार नियमन गर्ने नेपाल धितोपत्र बोर्डको कमजोरीका कारण पनि शेयर बजारमा उच्च उतारचढाव आउने गरेको छ । नेपाली शेयरबजारको चरित्रै नै फरक भएको बिश्लेषकहरु बताउँछन् । विदेशी मुलुकमा भन्दा विपरीत ढंगले नेपालको शेयरबजार चल्ने उनीहरुको भनाइ छ । ‘संसारले नपत्याउने किसिमले शेयरबजार चल्छ,’ ती बिश्लेषकले भने, ‘विदेशमा त्यो देशको अर्थतन्त्रको सूचक अनुसार बढ्ने र घट्ने गर्छ तर नेपालमा अर्थतन्त्रसँग सम्बन्ध नै हुँदैन ।’ अर्थतन्त्र तथा शेयरबजारको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । तर, अर्थतन्त्र उकालो लाग्ने संकेत देखिदा पनि शेयरबजार ओरालो लाग्नुको पछाडि नकारात्मक हल्ला नै हो । साना लगानीकर्तालाई हतोत्साहित पार्ने र ठूला लगानीकर्ताले यही मौकामा शेयर खरिद गर्दाको परिणाम हो यो । यस्तो अवस्थामा अतालियर शेयर फ्याक्नु पर्ने कुनै कारण नभएको बिश्लेषकहरु बताउँछन् । नेपाल उद्योग बाणिज्य महासंघ पुँजी बजार फोरमका सभापति तथा ठूला लगानीकर्ता अम्बिका प्रसाद पौडेलले आफ्नो फेसबुक पेजमा ‘पूँजी बजारमा धैर्यता गुमायौं भने सँगै ठूलो धनपनि गुमाउँछौं । गन्तब्य धेरै माथि छ । धैर्य लगानीकर्ता बनौं,’ भन्दै साना लगानीकर्तालाई ढाडस दिन पुगेका छन् । मेरोलगानीबाट