चौतर्फी दबाबपछि भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हट्यो

काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको छ। शुक्रबार बसेको समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९  लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सरकारले ल्याएको पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको हो।

बैठकमा गृहमन्त्री रमेश लेखकले  सरकार पाँच वर्षे हदम्याद हटाउन तयार रहेको बताए। सरकारले सो सहमति जनाएपछि समितिका सभापति रामहरि खतिवडाले विधेयकको दफा १६ मा राखिएकोहदम्यादको प्रावधान हटाउने प्रस्ताव समितिमा गर्नुभएको हो ।

लगत्तै समितिका सम्पूर्ण सदस्यहरूले सो हदम्याद हटाउन सर्वसहमति जनाउनुभएको हो। सरकारले भ्रष्टाचारका कसुरमा पाँच वर्षे हदम्याद राख्दै विधेयक दर्ता गरेपछि यसबारे चौतर्फी दबाब बढेको थियो।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका सांसद हितराज पाण्डेले आफूहरूले सत्तापक्षमै हुँदा हदम्याद हटाउने संशोधन हालेको भन्दै हटाउन सरकार सहमत भएपछि प्रस्तावको स्वागत गर्नुभएको छ ।

यसअघिको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएर भ्रष्टाचारसम्बन्धी कसुरमा हदम्याद राख्न नहुने बताउनुभएको थियो ।
 

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

बाग्लुङ । जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन्। हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन्। सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु सात करोड बढी रकम गाउँ भित्र्याएका थिए। जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर एक वर्षमै रु सात करोड ४८ लाख १७ हजारको कारोबार गरेपछि स्थानीयसमेत उत्साहित भएका छन्। यी दुई पालिकामा मात्रै १४ वटा दुग्ध सहकारी संस्था छन्। तिनमा आबद्ध भएर किसानले आफ्नो उत्पादनलाई बजारीकरण गर्दा आम्दानी गर्न सफल भएका हुन्। काठेखोला गाउँपालिका–५ का केशवप्रसाद कँडेलले दूध उत्पादन गर्न सके जुनसुकै समयमा सहकारीले बजारीकरणको जिम्मा लिने भनेर आश्वस्त पारेपछि आफूजस्ता किसानलाई निकै सहज भएको बताए। सोही गाउँपालिका–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरूले मात्रै दैनिक तीन सय ५० लिटर दूध बजारमा पठाउने गरेका छन्। दुग्ध किसान मणिभद्र कँडेलले आफूहरूले उत्पादन गरेको दूध सङ्कलन, प्रशोधन र बजारीकरणको ग्यारेण्टी भएपछि जोडतोडका साथ उत्पादन वृद्धिमा लागेको बताए। ‘विगतमा दूध धेरै उत्पादन भएपछि त्यसै खेर गएको अनुभव हामीसँगै छ । दूधलाई प्रशोधन नगरे टिक्दैन, बजारसम्म पु¥याउन समय लाग्छ, बजार टाढा छ, फेरि दुई–चार लिटर दूध बजार पुर्‍याउन पनि गाह्रो। त्यसैले सहकारीमार्फत व्यवस्थापनको काम भएपछि हामी ढुक्क भएका छौँ’, उनले भने, ‘अब किसानले दूध उत्पादन बढाउने र सहकारीले बजारीकरण गर्ने भएपछि सदाको चिन्ता अन्त्य भएको छ। त्यसैमा दूध ढुवानी तथा घाँस ढुवानीमा अनुदान र पशु बीमा कार्यक्रम लागू भएपछि व्यवसाय पनि सुरक्षित भएको छ।’ चौध सहकारीका शेयर सदस्य किसानले गाउँ–गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ। सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट रु सात करोेड ४८ लाख १७ हजारको दूध खरिद गरेको अध्यक्ष दीपक गौतमले बताए। यी सहकारीमा आबद्ध करिब एक हजार चार सय किसानले एक वर्षमै उक्त रकम पाएको उनले बताए। त्यस्तै निःशुल्क दूध ढुवानी, पशुधन सुरक्षण कार्यक्रम, घाँस ढुवानी, बीमा र पशु औषधि वितरणले किसानलाई थप लाभ मिलेको र यसले दूधमा आत्मनिर्भर जिल्ला बनाउन ठूलो सहयोग पुगिरहेको अध्यक्ष गौतमको भनाइ छ। ‘किसानहरूले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो। दूध भण्डारण, प्रशोधनमा ध्यान नदिँदा दूध बिग्रेर जाने समस्या थियो, जसले गर्दा किसानले यस क्षेत्रमा लगानी गर्न सकिरहेका थिएनन्। हामीले बजारको ग्यारेण्टी गरेपछि समस्या समाधान भएको छ’, उनले भने, ‘किसान बिचौलियाको मारमा पर्ने समस्या पनि हटेको छ। हाल किसानबाट सङ्कलन गरेको तीनदेखि चार हजार लिटर दूध दैनिक बजारीकरण हुने गरेको छ।’ वि.सं. २०५७ मा स्थापना भएको सहकारी सङ्घमा हाल १६ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन्। दूधलाई सङ्कलन, बिक्री, बचेको दूधको दुग्धजन्य पदार्थ घ्यू, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम पनि भइरहेको सङ्घका सचिव गोविन्दप्रसाद सापकोटाले जानकारी दिए। सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको उनले बताए। ‘यो एक अभियान पनि हो। यसबाट किसानको घरमा सोझै रकम पुग्ने गरेको छ। केहीले गाउँमै रोजगारी पाएका छन्। गत आर्थिक वर्षमा सङ्घले रु ८० लाख ६१ हजार खुद बचत गर्न सफल भएको थियो। सो रकमबाट किसानको पशु बीमा, दूध तथा घाँस ढुवानी र पशु प्रवर्द्धनात्मक काममा लगानी गरिरहेका छौँ’, सचिव सापकोटाले भने।

घण्टी बजाउँदै र लौरो ठटाउँदै आए भनेर छेक्न दुई ठुला पार्टी मिले : रबि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव निर्वतमान गृहमन्त्री रबि लामिछानेले देशमा राम्रो गर्न भन्दा पनि राम्रो गर्नेहरु आउँछन् कि भन्ने डरले देशका दुई ठुला पार्टी एक ठाउँमा आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज मौद्रिक नीति लक्षित नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । देशमा सुधारका काम गर्न धेरै रहेको बताउँदै उनले राम्रो गर्नेहरु आए भनेर छेक्न र घेराबन्दी गर्न लागिएको बताए । रास्वपाले नेतृत्व गरेका मन्त्रालयले गरेका राम्रा काम उल्टाउन थालिएको उनले बताए ।उनले देश कसरी र कस्ले चलाएको सिक्नका लागि आफुहरु सरकारमा सहभागी भएको बताए । ‘पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदा खेरी गल्ती खानेबाहेक केही काम भएको रहेनछ । हामीलाई त केही सिक्नु थियो, केही गर्नु थियो, हेर्नु थियो । सिंहदरबार कसरी चलाउने भन्ने जान्नका लागि सिंहदरबार कसरी चल्छै छ भन्नै हेर्नैपर्छ । त्यही हेर्न जति गाली खाएर भएपनि जसरी पनि सरकारमा जानु नै थियो ।’, लामिछानेले भने, ‘पहिलो पटक पर्याप्त थिएन । ३४ दिन म मन्त्री भएँ अरु साथीहरु २२/२४ दिन मन्त्री बन्नुभयो । अहिले जुन ४ महिनाको अवधि हामीले सरकारमा बस्यौँ । यो अवधिले अब चाहीँ हामीलाई धेरैकुरा बुझ्न सहयोग मिलेको छ । अब पद र गोपनियताको सपथ खाएका छौँ । सबैकुरा सार्वजनिक गर्न त मिल्दैन । तर देश कसले चलाएको रहेछ भन्ने राम्रो हिन्ट हामीले पाएका छौँ ।' त्यस्तै उनले आफूहरुले ४ महिना सरकार चलाएर देशलाई केही घाटा नलगाएको बरु ४ जना भष्ट्रहरुलाई रोक्यौँ कि भन्ने लागेको बताएका छन् । ‘हामीले यो समय लिएर अनुभव लिँदा राज्य घाटा लगाएका छैनौँ है ।’, उनले थपेका छन्, ‘...बरु ४ वटा मन्त्रालय लिएर ४ वटा भ्रष्टहरुलाई रोक्यौँ कि भन्ने लागेको छ हामीलाई ।’

नेप्से र सीडीएससीको पुनर्संरचना गरिने

काठमाडौं । सरकारले आगामी वर्ष नेपाल स्टक एक्सचेन्ज -नेप्से_ र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गर्ने भएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण -बजेट_ प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्। त्यस्तै, निश्चित पुँजी भएका कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत हुने व्यवस्था मिलाइने पनि मन्त्री पुनले बताए। पुँजी बजारका लगानीकर्ताको हित संरक्षण गर्न नेपाल धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने पनि उनले बताए। बस्तु विनिमय बजारको सञ्चालन गर्न आवश्यक कानुनी व्यवस्था गरिने पनि उनले बताए।

घटेर बन्द भयो नेप्से, कारोबार कति ?

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ९.५४ अंक घटेर २०१७.९७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक, फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ५५ हजार ८६२ पटकको कारोबारमा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँबराबरको ८४ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन माण्डु हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २३७ रुपयाँ ७० पैसा घटेर २ हजार १३९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन पिपुल्स पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको करिब ११ करोडको शेयर किनबेच भएको छ भने सांग्रिला डेभलपमेन्ट बैंकको करिब ८ करोडको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.४० प्रतिशत, व्यापार उपसमूहको परिसूचक १.१६ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१७ प्रतिशत बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख ९ गते आइतबार सन् २०२४ अप्रिल २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

इन्स्पेक्टरको डीएसपीमा १९ जना बढुवा सिफारिस, को–को परे ? यस्तो छ सूची

काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ ।  बुधबार राती बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो ।  बढुवा हुनेहरूमा २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । सो समूहमा ९८ जना प्रतिस्पर्धामा थिए ।  

प्रधानमन्त्रीलाई बालेनको प्रश्न -'नाबालिकलाई बन्दक बनाइ हिंसा गर्ने सांसदलाई कहिले समात्नु हुन्छ ?'

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आएकी एमाले सांसद रेखा शर्मालाई कारबाही गर्न माग गरेका छन् ।  मेयर बालेनले सामाजिक सञ्जाल फेस्बुकमा स्टाटस लेख्दै अदालतले पनि मुद्दा  चलाउन भनिसकेको विषयमा प्रधानमन्त्रीले  २ महिनासम्म पनि केही नगरेर वेवास्ता गरेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्माननिय प्रधानमन्त्री खड्ग  प्रसाद ओली ज्यू भनेर सम्बोन गर्दै बाल शोषण  गरेको मुद्दामा एमाले सांसद रेखा शर्मालाई कहिले समाउने ? कि नसमाउने ?हो भन्दै प्रश्न गरेका छन् । मेयर बालेनले लेखेका छन् -'वहाँ  हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नाबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा  चलाउ भनेर भनी सकेको छ । सम्माननिय प्रधानमन्त्री खड्ग  प्रसाद ओली ज्यु , सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण  गरेको मुद्दा छ समाउन लाई भन्दछ ।  सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना  दिदै  एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?'

सहकारी पीडित र सरकारबीचको ८ बुँदे सहमतिमा के छ ?

काठमाडौं । सहकारी पीडित र सरकारबीच ८ बुँदे सहमति भएको छ। बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र आन्दोलनरत सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिबीच माग सम्बोधन गर्ने विषयमा ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा समस्या देखिएका सहकारी संस्थाहरूको निरीक्षण अनुगमन एवं हिसाबजाँच गरिने छ। त्यसका लागि समिति गठन समेत गरिने उल्लेख छ।  सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम कसुर गर्ने सहकारीका संचालक, व्यवस्थापक र संलग्न कर्मचारीहरूलाई कानून बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने समेत सम्झौतामा उल्लेख छ। यस्तै, सहकारी क्षेष सुधार सुझाव कार्यदल, २०८० ले दिएका सुझावहरू तत्काल कार्यान्वयनमा लैजान बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण संरचनाहरू स्थापना गरी तत्काल काम अघि बढाउने उल्लेख छ। सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले आन्दोलनका कार्यक्रमहरू स्थगित गर्ने समेत बताइएको छ।  यस्तो छ ८ बुँदे सहमति 

‘बदाम खाको सुन्तला छोडाको, कुरा मिल्यो पुरानो जोडाको’

नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै यो तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ

बाबुराम नेतृत्वको नेसपाले तोक्यो २५ विभाग प्रमुख (सूचीसहित)

काठमाडौँ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ। साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागीय प्रमुख तोक्नुका साथै जनवर्गीय सङ्गठनहरू गठनपुनर्गठन गरेको प्रवक्ता कृष्ण शर्माले जनाएका छन् । सो पार्टीको सङ्गठन विभाग प्रमुखमा सोनामसिं स्याङ्तान तोकिएका छन् भने अन्तर्राष्ट्रिय विभाग प्रमुखमा दुर्गा सोव र आर्थिक विभाग प्रमुखमा हिसिला यमि तोकिएकी छन् ।   त्यसैगरी,१२ वटा जनवर्गीय सङ्गठनका इन्चार्ज र सहइन्चार्ज, विज्ञ परिषद्‌मा सदस्य थप र आयोगका पदाधिकारीको जिम्मेवारी समेत तोकिएको सो पार्टीले जनाएको छ ।

तटीय क्षेत्रको २० मिटर भित्र भौतिक संरचना बनाउने अनुमति छैन : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नरहेको बताएका छन् ।  मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई महानगरले कार्यान्वयन गर्दै आएको भन्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘तटीय क्षेत्रको थप २० मीटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्न अनुमति मिल्ने छैन ।’ काठमाडौंमा बाढीले तटीय क्षेत्रमा ठुलो क्षति पुर्याएपछि उनले काठमाडौंका नदी–खोलाका तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई अब थप प्रभावकारी बनाइने बुधबार सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् ।  बालेनले मापदण्डलाई पालना नगरे महानगरले उचित कदम चाल्ने चेतावनी समेत दिएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यकाभित्र बग्ने वाग्मती, विष्णुमती, मनाेहरा नदी किनाराकाे कम्तिमा २० मीटर भित्रकाे जग्गालाई र अन्य खाेला किनाराकाे कम्तीमा ४ देखि १२ मीटर भित्रकाे जग्गालाई नेपाल सरकार, मन्त्रिपरिषदकाे २०६५/८/१ काे निर्णयले निर्माण निषेधित क्षेत्र (No Construction Zone) घाेषणा गरेकाे थियाे । त्यसैगरी,सर्वाेच्च अदालतबाट मिति २०८०/९/३ मा जारी परमादेशकाे पूर्णपाठले सरकारी मापदण्डकाे साथै थप २० मीटर जग्गालाई पनि निर्माण निषेधित क्षेत्र घाेषणा गरेकाे छ । यस्तो छ मेयर बालेनको स्टाटस

प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट, नेपालको आर्थिक विकासका विषयमा छलफल

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गको शिष्टाचार भेटवार्ता भएको छ ।बालुवाटारमा आज साँझ भएको भेटमा उहाँहरूबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्‍याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा बढी समयदेखि नेपालको विकास र वित्तपोषणमा  भरपर्दो स्रोत उपलब्ध गराउँदै आएको बताए। आफू नेतृत्वको सरकारले आगामी आर्थिक नीति र बजेटमार्फत आर्थिक  सुधारको थालनी गरेको बताउँदै उनले वैदेशिक लगानी र विवेकपूर्ण वित्तीय व्यवस्थापनका लागि नेपालमा अनुकूल वातावरण सिर्जना गर्ने विश्वास दिलाए ।  प्रधानमन्त्रीले ऊर्जा, पर्यटन, कृषि व्यवसाय, र सूचनाप्रविधिजस्ता क्षेत्रहरूमा लगानी गर्दा तुलनात्मकरूपमा फाइदा लिन सकिने बताए।नेपाल जलवायु परिवर्तनबाट नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु न्यायका लागि नेपालले निरन्तर विभिन्न अन्तरराष्ट्रिय मञ्चमार्फत वकालत गर्दै आएको र त्यसमा विश्व बैंकको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे । सो अवसरमा विश्व बैंकका निर्देशक ट्रोस्टसेन्बर्गले नेपालको आर्थिक विकासमा विश्व बैंकबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए ।यही असार ४ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकका विषयमा पनि सो अवसरमा छलफल भएको छ ।  बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्वर्गलगायत उच्च पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ ।बैठकको उद्घाटन समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकले आगामी ३ वर्षसम्म नेपाललाई प्रदान गर्ने अनुदान, सहुलियतपूर्ण ऋण एवं अन्य सहयोगका प्राथमिकताबारे छलफल हुनेछ ।

घट्यो नेप्सेसँगै कारोबार पनि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १७.०४ अंकले घटेको छ। यस दिन नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। नेप्से परिसूचक ०.८० प्रतिशतले घटेर २०९५.२५ विन्दुमा बन्द भएको छ। गएको बिहीबारको तुलनामा कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो दिनको तुलनामा एक अर्ब रुपैयाँ कमको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। आइतबार पाँच अर्ब ४७ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बिहीबार ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको थियो। नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यो कम्पनीको सेयर मूल्य ६० रुपैयाँ १० पैसाले वृद्धि भएर ६६१ रुपैयाँ १० पैसा कायम भएको छ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ।६४ कम्पनीको सेयर मूल्य बढेको छ । १७७ कम्पनीको सेयर मूल्य घटेको छ। ६ कम्पनीको सेयर मूल्य स्थिर छ। कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ। बाँकी समूहको परिसूचक घटेको छ।

सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयोः मन्त्री अधिकारी

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताएका हुन् ।  जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको खिलाप गर्दै काम भइरहेको धारणा उनको छ । ‘सहकारीहरु बैंकभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरित काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आवद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन’, उनले भने । सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने उनको धारणा छ । ‘शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन्, सर्वप्रथम मेरो कर्तव्य के हो बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन’, मन्त्री अधिकारीले भने । लेखा सुपरिवेक्षण समितिमा पनि खोट रहेको उनको भनाइ छ । अहिलेको समस्या समाधान गर्नका लागि अहिलेदेखि नै लाग्न आवश्यक रहेको उनले बताए ।  त्यस्तै कार्यक्रममा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमण्ी दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राखे । उनले सहकारी अभियान भूमरीमा परेको बताए । ‘सहकारीहरुले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्म समीक्षा गनेए बेला भएको छ, अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको क्षेत्र अहिले आफैं ठूलो समस्यामा छ, यसले अर्थतन्त्रमै ठूलो असर पुर्याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ,’ उनले भने ।  सदस्यहरुले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ छ। सहकारी क्षेत्रमा लामो समयदेखि समस्या रहेको बताउँदै विगतका अभ्यासहरुबाट पाठ सिकेर पनि अगाडि बढ्नु पर्ने उनको भनाइ छ। ‘अहिले सबैलाई समस्या छैन, आफूले आफूप्रति विश्वास गरौं, यो गम्भीर सवाल हो, अर्थतन्त्रको उतारचढावले पनि असलमा पनि खराब मनसाय सिर्जना हुन सक्छ, संस्थाले राम्रो भनेको कर्जा पनि खराब निस्कन सक्छ, त्यसैले हरेक विषयममा गम्भीर भएर निर्णय लिनुपर्छ, धेरै आन्तरिक समस्या छन्’, सचिव दुवाडीले भने । ‘सहकारीमा मुद्दती निक्षेप राख्ने छैन, तर हामीले डबल पैसा दिन्छौं भनेर पैसा ल्याऔं, ब्याजको लोभमा फसाउँदै गयौं, तीन वर्षमा पैसा डबल दिने संस्था संसारमै कतै भेटिन्छन्?’, उनले प्रश्न गर्दै भने, ‘यो अवस्था आउनुमा दोष कस्को?’ यस्तै, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेर छाड्ने बताए । उनले सहकारीको प्रभावकारी नियमनका लागि  बैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताउँदै अब सहकारी देखाएर गलत गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका हुन् ।  उनले यस्ता कार्यक्रमले सहकारीको वर्तमान सकसलाई समाधान गर्न भूमिका खेल्ने उनको भनाइ छ । ‘जनताको बचत जे सर्तमा राखेका थियौं, सोही शर्त बमोजिम फिर्ता गर्नु पर्ने हाम्रो दायित्व हो, त्यो दायित्व राज्यको पनि हो, बचत फिर्ता गर्न सकेनौं भने ठूलो समस्या सिर्जना हुन्छ, सहकारीप्रतिको विश्वास टुट्छ, त्यसैले बचत फिर्ताका लागि पहल गर्नुपर्छ,’ उनले भने ।  अहिले सहकारीमा प्रणालीगत समस्या र अर्को गैर प्रणाली समस्या रहेको बताउँदै सहकारी ऐन र मूल्य मान्यताका अनुसार सहकारीमा समस्या नआउनु पर्ने भएपनि कसरी यो समस्या आयो भन्ने तर्फ केन्द्रित भएर अगाडि बढ्नु पर्ने बताए ।  ‘सबैले मम गर्नु पर्ने हुन्छ, नियामक निकायको कमजोरीले पनि भन्ने गरिन्छ, त्यसमा केही सत्यता भए पनि समस्या सिर्जना कसरी भयो भन्ने विषयको मनन् गर्नुपर्छ,’ उनले भने ।  त्यसैगरी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यले पनि आफ्नो भूमिका निर्वाह नगर्दा पनि सस्या सिर्जना हुनुको एउटा कारण रहेको बताइन् । उनले सहकारीसँगै सहकारीका सदस्यले पनि सहकारप्रति अनरसिप महसुस गर्नु पर्ने धारणा राखिन् । त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरे । उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र सहकारीको समस्या समाधानका लागि काम गरिरहने धारणा राख्दै आफूमाथि राजनीति भएको पनि जानकारी गराए ।  कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले यो गोष्ठीले सहकारीको स्वनियमनका लागि प्रभावकारी प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे । उनले सहकारी लोकन्तत्रको पाठशाला भएको र लेखासुपरिवेक्षण समिति सहकारीको आँखा रुपमा हेरिएको चित्रण गरे । ‘सहकारीका सदस्यको बचतको सुरक्षाको प्रत्याभूति गराउनका लागि सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुन्छ, त्यसका लागि पनि यो गोष्ठी आयोजना गरिएको हो, यो गोष्ठीले सहकारीको लेखा सुपरिवेक्षण समितिलाई थप बलियो बनाउन भूमिका खेल्नेछ’, उनले भने ।  अहिले सहकारी क्षेत्रले समस्या भोगिरहेको बताउँदै यो अवस्थामा सबैले हातेमालो गरेर जुझारुपनका साथ अगाडि बढ्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको हो उनको भनाइ छ । सीप सिकाइलाई खर्चको रुपमा लिन नहुने पनि उनको भनाइ छ। ‘म उपचारका लागि भारत गएको थिएँ । तर, मलाई भागेको भनेर चर्चा भयो, जुन दुखद हो, आफू आवद्ध राजनीतिक दलबाट पनि असहयोग हुने, आफ्नै साथीहरुले गलत अभ्यास गरेर राजनीति गर्ने रहेछन्,’ उनले गुनासो गर्दै भने । उनले वर्तमान सहकारी समस्या समाधानका लागि सबैले पहल गर्नु पर्ने धारणा राखे ।  यस्तै, उद्घाटन सत्रको समापन कार्यक्रममा बोल्दै नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले पृथक ढंगले यो कार्यक्रमको आयोजना गरेको बताए । उनले यो गोष्ठीले सहकारीको वर्तमान समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । यो वर्ष सहकारी अभियानका लागि सुखद् वर्षका रुपमा चिनाउने किसिमले काम गर्ने धारणा राखे ।  

इलाम २ का लागि एकीकृत समाजवादीका ३ उम्मेदवार सिफारिस

काठमाडौं । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र २ को लागि एकीकृत समाजवादीले तीन जना उमेदवारको नाम सिफारिस गरेको छ। जिल्ला सचिवालयले जिल्ला सचिव हरिबाला राई, सचिवालय सदस्य जितबहादुर राई र केन्द्रीय परिषद् सदस्य पूर्णबहादुर बस्नेतको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला सदस्य चेतन अधिकारीले जानकारी दिए। संघीय सत्ता गठबन्धनभित्र एमालेले सुवासचन्द्र नेम्वाङपुत्र सुहाङलाई अगाडि सारिसकेको छ। माओवादीले पनि आफ्ना चार जनाको नाम उमेदवारका लागि सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार सम्म उमेदवार चयन गर्ने बताएको छ ।  भदौ २६ गते संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि रिक्त रहेको इलाम २ मा उपनिर्वाचन हुन लागेको हो। गत वर्षको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काविरुद्ध एक सय १४ मतको अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए ।