नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

हङकङमा भएको त्रिकोणात्मक टी २० क्रिकेट खेलेर नेपाली टोली शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।

हङकङ, पपुवा न्युगिनी र नेपाल सम्मिलित त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो।

समूह चरणमा जित निकाले पनि फाइनलमा पीएनजीसँग स्तब्ध हुँदै उपाधि जित्न असफल भएको थियो।

काठमाडौं आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका छन्।

आईसीसी टी २० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी २० खेल्नेछ।

आयरल्याण्डको ए टिमसँग सिनियर टिमले २ वटा खेल खेल्दा अरू नेपालकै ‘ए’ टिमले ६ वटा म्याच खेल्ने कार्यतालिका छ।

हिमाल र प्रकृति बचाउन हिमाली देशहरुबीच सहकार्य जरुरी छ : अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गरेका छन्। राजदूत सोङले आज (बुधबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्। भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको थियो। भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए। दुई देशबीचका राष्ट्रपतिज्यूकै तहबाट भ्रमण भएको र विभिन्न समयमा संसदीय टोली, राजनीतिक टोली लगायतको नियमित भ्रमण भइरहेको चर्चा गर्दै उनले यस्ता भ्रमणहरूले सांस्कृतिक विविधताबारे जानकारी हुने, विकासका नयाँ आयामहरूको विस्तार हुने र पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने बताए। चीनले नेपालको हितका लागि आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै उनले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गरे। बिआरआई लगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा आफ्नो गहिरो विश्वास रहेको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुने बताए। नेपालको पर्यटन प्रवर्द्धनमा चिनियाँ पर्यटकहरूको ठूलो भूमिका रहेको चर्चा गर्दै उनले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडान सुचारु गर्न सके नेपालको पर्यटन उद्योगको वृद्धि हुनेमा विश्वास व्यक्त गरे। जलवायु परिवर्तनबाट हिमाली देशहरू निकै प्रभावित भएको भन्दै अध्यक्ष दाहालले हिमाल र प्रकृति बचाउन पनि हिमाली देशहरुबीच सहकार्य, सहयोग र साझा समझदारी जरुरी रहेको बताए। टिआरसी (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक) प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएर राष्ट्रिय सभामा आइसकेको जानकारी दिँदै उनले राष्ट्रिय सभाबाट पनि सर्वसम्मत पारित हुने विश्वास व्यक्त गरे। नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन विश्व समुदायको महत्त्वपूर्ण सहयोग रहेको र त्यसमा चीनको विशिष्ट भूमिका रहेको भन्दै उनले धन्यवाद व्यक्त गरे। सो अवसरमा राजदूत सोङले राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको भन्दै उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उँचाइमा उठेको बताए। शान्ति प्रक्रियाको बाँकी कामको रुपमा रहेको टिआरसी विधेयक संसदबाट पारित हुन लागेकोमा निकै खुसी लागेको भन्दै उनले यसले नेपालको शान्ति, स्थिरता र विकासमा नयाँ फड्को हुने बताए। नेपालमा हालै निर्माण सम्पन्न भएका पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा उडान गर्न चीन इच्छुक रहेको भन्दै राजदूत सोङले त्यसले नेपालमा चिनियाँ पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने बताए।

घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं ।नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा बन्द भएको छ । घटेको बजारमा चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज इष्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आइतबार पाँच अर्ब १८ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ। सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटल तथा पर्यटन समूह छ । यो समूहको परिसूचक २.९२ प्रतिशतले घटेको छ। सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूह छ।व्यापार समूहको परिसूचक १.५४ प्रतिशतले घटेको छ ।  

अमेरिकमा टिकटक प्रतिबन्ध लगाउने विधेयक पास

काठमाडौं ।अमेरिकन हाउस अफ रिप्रेजेन्टेटिभले टिकटक प्रतिबन्ध लगाउने विधेयक पास गरेको छ। चिनियाँ नागरिकको स्वामित्वमा रहेको टिकटक एप अमेरिकालाई नबेचे देशभर प्रतिबन्ध लगाउने सो विधयेकमा उल्लेख छ । चिनियाँको स्वामित्वमा रहेको टिकटक अमेरिकाका लागि सुरक्षा चुनौती भएको भन्दै बुधबार अमेरिकी हाउसले यस्तो विधेयक पास गरेको हो।द न्यूयोर्क टाइम्सका अनुसार सो विधेयक अब सिनेटमा जानेछ।उक्त विधेयक सिनेटले पास गर्ने नगर्ने निर्णय लिनेछ । अमेरिकामा विधयेक कानुन बनेर कार्यान्वयनमा जान पहिले दुबै सदन हाउस र सिनेटले पास भएर विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने हुन्छ। राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो विधेयक कानुन बन्नेछ। राष्ट्रपति जो बाइडेनले कंग्रेस (दुबै सदन) ले यो विधेयक पास गरेमा आफूले हस्ताक्षर गर्ने बताएका छन्। चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा अहिले १५ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू रहेका छन्।

किन अनुहारमा डन्डीफोर आउँछ ?

माघ १९ । आधुनिक समयकालसँगै अनुहारको सुन्दरता प्रतिष्पर्धा हुने गर्दछ । अनुहारमा सुन्दरतामा विशेष प्रतिष्पर्धा हुने व्यक्तिहरु भनेकै धेरैजसो महिलाहरु नै पर्दछन् । उनीहरु अनुहारमा साना खटिराहरु पनि देखा पर्दा आत्तिने गरिरहेको हुन्छन् । के कारण अनुहारमा यस्तो खटिरा आयो भन्दै चिन्ता व्यक्त गर्न थालेका हुन्छन्, अब के गर्ने ? कसो गर्ने ? भन्दै चिन्तित हुन्छन् । डण्डीफोर, साना खटिराहरु, पिम्पल्स अनुहार भनेको त्यो पनि एकप्रकारको रोग नै हो भन्ने कुरा कमैमात्र बुझेका हुन्छन् । छालामा डण्डीफोर, मसिना खटिराहरु एक प्रकारको रोग हो । यसलाई निको पार्न वा हटाउनलाई मानिसहरु घरेलु औषधी वा कस्मेटिक सामानहरु प्रयोग गर्ने गर्दछन् । जसले गर्दा अनुहारलाई झन् धेरै कुरुप बनाउन पुगिरहेको हुन्छ । यसरी पनि युवायुवतीहरुले आफ्नो सुन्दरतामा गुमाइरहेको हुन्छ । मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन् । रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ । यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ । जुन बेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन । यो छालाभित्रै जम्छ । यसरी जमेको अवस्था नै डन्डीफोर अर्थात् पिम्पल्सको अवस्था हो । डन्डीफोरका चार वटा तह हुन्छन्। स्वास्थ्य विज्ञानले ग्रेड एकदेखि चारसम्म यसको वर्गीकरण गरेको छ । डन्डीफोरको पहिलो चरण ‘ब्ल्याक हेड’ हो । काला स–साना गिर्खा अनुहारमा भएको अवस्थालाई नै ब्ल्याक हेड मानिन्छ । चौथो चरणमा पुगेको डन्डीफोरमा पीप र रगत नै जमेको हुन्छ । डन्डीफोर आइसकेपछि त्यसमा ब्याक्टेरियाको इन्फेक्सन हुने भएकाले यसले छालालाई थप हानि पुर्याउँछ । अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डीफोर आउँछन् । कपडाले ढाक्ने भागमा डन्डीफोर आउँदा खासै फरक पर्दैन । तर, अनुहारमा डन्डीफोरले दाग, धब्बा र स–साना खोपिल्टा छोडेर जाने भएकाले यो धेरैको पिरलो बन्ने गरेको छ । डन्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो । यसबाट जोगिन छालालाई ड्राई राख्ने कुरामा ध्यान दिनुपर्छ । जीवनशैलीमा ध्यान दिनुपर्छ । धेरै चिल्लो खानु हुँदैन । चकलेट धेरै खानेहरूलाई पनि डन्डीफोरको समस्या देखिन सक्छ । डन्डीफोर आएकाले तेलबाट जोगिनुपर्छ । कपालमा तेल हालेर बस्ने गर्नु हुँदैन । अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ । दिनमा तीन–चारपटक मुख धुनुपर्छ । छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ । डन्डीफोरले निकै नै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम लगाउने र औषधि खानुपर्ने पनि हुन्छ । डन्डीफोरले बिगारिसकेको अनुहारको छालालाई सफा बनाउन औषधि र क्रिमले मात्र काम गर्दैनन् । यसका लागि लेजर थेरापी गर्नुपर्छ। डन्डीफोरका कारण दाग बसेको छालालाई मेसिनको सहायताबाट हटाउने विधि प्रयोग गरी उपचार गर्नुपर्छ । यो विधिमा दाग बसेको छालाको बाहिरी तहलाई हटाउने र नयाँ छाला पलाउने अवस्था सिर्जना गरिन्छ । यसो गर्दा समेत अनुहारको शतप्रतिशत दाग भने जाँदैन । केही कम गर्न सकिन्छ । डन्डीफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने नगरी विशेषज्ञ चिकित्सकलाई देखाएर थोरै सावधानी अपनाउँदा अनुहारमा आउने समस्याबाट बच्न सकिन्छ ।

सहकारी सञ्चालकको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले समस्याग्रस्त घोषित सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले समस्याग्रस्त सहकारीमा पैसा राख्नेहरुको बचत फिर्ता गर्ने घोषणा गरेका हुन् । ती सहकारीको सञ्चालकको सम्पत्ति बेचेर भए पनि ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने अर्थमन्त्री वर्षमान पुनले बताए । उनले कानूनमा आवश्यक संशोधन गरी सहकारी सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरिने बताए । यस्तै बचत तथा ऋण सहकारीको नियमन गर्न नियामक निकाय स्थापना गरिने पनि उनले बताए ।

रुखमा बाँधेर जलाएको अवस्थामा शव फेला

पाँचखाल। काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ । वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा रहेको एक रुखमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनले तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको बताए । शवको अझै पनि पहिचान हुन सकेको छैन । शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको डिएसपी श्रेष्ठले अनुमान गरे । शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा तालिमप्राप्त कुकुर सहित प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।

पश्चिमी वायु सक्रीय हुँदा देशभर घट्यो गर्मी

काठमाडौं । पश्चिमि वायु सक्रीय भएपछि शनिबार देखि देशभर तापक्रम घटेको छ । तापक्रम घटेपछि गर्मीमा राहत भएको मौसमविद्ले बताएका छन्।   मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले हिजोअस्तिको भन्दा पश्चिमी वायु सक्रिय भएकाले देशभर मौसम बदली भएको बताए ।  पश्चिमी वायुको सक्रियताले हिजो रातिदेखि नै नेपालको पश्चिमी क्षेत्रबाट बादल आइरहेको भन्दै उनले अहिले देशभरजसो नै गर्मी केही कम भएको बताए । उनले अब दिनभर चर्को घाम लाग्ने क्रम कम भई तापक्रम घट्ने र केही शीतल महसुस हुने जानकारी दिए ।  ‘लुम्बिनी र मधेस प्रदेशका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको थियो, अहिले ४० पुगेको छैन ’उनले भने । मौसमविद् पुडासैनीका अनुसार यो क्रम कम्तीमा ३ दिन जारी रहनेछ। मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।   मौसम बदली देशभरजसो भए पनि पानी पर्ने सम्भावना भने केही ठाउँमा मात्र छ।  ‘आज दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ’, मौसमविद् पुडासैनीले भने।  तर काठमाडौँ उपत्यकामा भने आज वर्षाको सम्भावना नदेखिएको उनले बताए। ‘आज काठमाडौँ उपत्यकामा आंशिक बदलीको सम्भावना छ’, उनले भने। बादल लागेका कारण काठमाडौँ उपत्यकामा पनि हिजोअस्तिको तुलनामा आज केही शीतल महसुस भएको छ।  मौसम महाशाखाका अनुसार राति पनि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

नेप्से परिसूचक १७.०१ अंकले घट्यो

काठमाडौं । यो साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक १७.०१ अंकले घटेको छ । आइतबार सार्वजनिक बिदाका कारण बजार बन्द थियो । नेप्से सोमबार ०.८३ प्रतिशतले घटेर २०३१.५५ को विन्दुमा झरेको छ । यस दिन ३०४ धितोपत्रका ७० लाख ६१ हजार १२ कित्ता सेयर दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँमा किनेबेच भयो । १३ उपसमूहमध्ये चारवटाको समूहगत सूचक बढेको छ । नौवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

धरहराको पार्किङ आम्दानीको स्रोत हो, महानगरको होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको नभएको बताएका छन् । उनले भनेका छन्, “धरहराको पार्किङ कुनै पालिका विशेषको होइन । त्यसलाई आम्दानीको स्रोत बनाउन सकिन्छ ।” काठमाडौं महानगर पालिकाका प्रमुख वानेल शाहले धरहराको पार्किङलाई निःशुल्क रुपमा प्रयोग गर्न दिने गरी योजना बनाएपछि प्रधामन्त्री ओली सो कुरा बताएका हुन् ।  मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् । उनले सय दिनका लागि हरेक मन्त्रालयलाई योजना बनाउन निर्देशन दिएका छन्।

किन आत्महत्या गर्छन बिद्यार्थी ?

काठमाडौं, माघ २५ ।  भिन्दा भिन्दै घटनामा राजधानीका दुई स्कुलका बिद्यार्थीले हालै आत्महत्या गरे । धापाखेलस्थित जेम्स स्कुलका प्रज्ज्वल शर्मा र सेन्टमेरिज स्कुल जावलाखेलकी कृतिका थापाले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । एकै प्रकृतिका भए पनि दुबै घटना फरक हुन् । यी घटना एक अर्कामा तालमेल खाँदैनन् । एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा दिने तयारीमा रहेका दुवै विद्यार्थी पढाईमा राम्रै थिए । किन झुन्डिएर आत्महत्या गरे त ? कारण प्रहरीले खोज्दै होला । उद्दपी पछिल्लो समय स्कुले विद्यार्थीहरु विभिन्न कारणबाट आत्महत्या गर्ने प्रचलन बढ्न थालेको छ । विशेष गरी १० देखि १६ बर्षका स्कुले विद्यार्थीले आत्महत्या गरेको समाचार धेरै आइरहेका छन् । अभिभावक संघ नेपालका अध्यक्ष सुभप्रभात भण्डारी भन्नुहुन्छ । आखिर किन यस्तो भइरहेको छ त ? यसको केही मनोवैज्ञानिक कारण हुन सक्ने भण्डारी बताउनुहुन्छ । उहाँले ‘विद्यालयमा काउन्सिलर राख्ने नाममा डीआई राखेका कारण पनि कलिला विद्यार्थीमा यस्तो समस्या भएको हुनुपर्छ । जुनबेला पनि घोकन्ते विद्या र विद्यार्थीलाई बढी प्रेसर दिइने कारण यस्ता घटना बढ्दै गएको’ उहाँको बुझाई छ । अहिले स साना कक्षाका विद्यार्थीले आत्महत्या गरेको खबरले नेपाली समाजलाई अचम्मित पार्न थालेको छ । ”टिनएजर स्कुले विद्यार्थीलाई सोसल एबिलिटीको बारेमा ज्ञान नभएका कारण यस्ता घटना बढ्न थालेको हो । स्कुले विद्यार्थीलाई एक्लो महसुस भएपछि आत्महत्या गर्ने घटना बढ्न थालेका छन् । उनीहरु चाडै रिसाउछन्, धैर्यताको विकास भएको हुदैन र परिवारमा एक्लो भएको महसुस गर्दै सानै उमेरमा आत्महत्या गर्ने गरेका छन् । अहिले त थोरै बच्चा हुन्छन्, आमाबुबासँग धेरै डिमान्ड गर्छन् । डिमान्ड पूरा गरिदिएनन् कि आत्महत्या गर्छन् । उनीहरुमा यौनजन्य द्वन्द बढी हुन्छ जे कुरा माग गर्यो कि त्यो कुरा तत्काल पुर्याएदिनुपर्छ सोसल नेटवर्क र फिजिकल कन्ट्याक्ट बढी भएको कारणले पनि स्कुले उमेरमा आत्महत्याको घटना बढेको हुनसक्छ ।” – प्राध्यापक डा. शान्ता निरौला, बाल मनोविज्ञान विशेषज्ञ यो  खबर आजको नेपाल समाचारपत्रमा  छ ।

सरकार मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणमा केन्द्रित : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकार मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणमा केन्द्रित भएको बताए। मुलुक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछि विभिन्न क्षेत्रमा आधारभूत उपलब्धि हासिल भएको जनाउँदै उनले अब ती उपलब्धिको गुणात्मक विकास गरिने बताए। गणतन्त्रपछि मुलुकमा केही भएन भन्ने नकारात्मक भाष्य चिर्दे सरकार अघि बढिरहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले भने, “ बजेटमार्फत जनतामा आशा जगाउँदै देशभित्र वा बाहिर जहाँ भए पनि राष्ट्र निर्माण योगदान दिन सक्छौँ भन्ने सोच विकास गर्न खोजिएको छ ।” आगामी आर्थिक वर्षमा एक लाख रिटर्नीलाई पुनः स्थापना गर्ने योजना अघि सारिएको जानकारी दिँदै उनले विदेशबाट फर्केका युवाको श्रम, सीप र पुँजीलाई स्वदेशमै प्रयोग गर्ने वातावरण बनाइएको बताए। मन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन र उद्यमशीलता प्रवर्द्धनलाई प्रमुख पाँच रूपान्तरणकारी क्षेत्र घोषणा गरी विशेष योजना अघि सारिएको बताए। “कृषिको रूपान्तरणलाई पहिलो प्राथमिकता दिइएको छ। विद्युत उत्पादन गरी आन्तरिक खपत बढाउने तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने योजना राखिएको छ”, उनले भने, “विदेशी पर्यटक भित्राएर आर्थिक समृद्धिमा फड्को मार्न सकिन्छ ।” आगामी दशकलाई सूचना प्रविधि दशक घोषणा गरिएको जानकारी दिँदै मन्त्री पुनले १० वर्षमा ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र १५ लाख रोजगारी सिर्जना गरिने दाबी गरे। राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमै उद्यमशील बनाउने उद्देश्यले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका विभिन्न कार्यक्रमबाट लाभ लिन आग्रह गरे। परिषद्ले रिटर्नी युवालाई लक्षित गरी उद्यमशीलता सम्बन्धी तथा वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए। सेन्टरका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले वैदेशिक रोजगारबाट श्रम, सीप र पुँजीसहित स्वदेश फर्केका युवालाई एकताबद्ध गर्दै स्वदेशमै उद्यमशीलता विकासमा सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।  उनले रिटर्नी युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए। रिटर्नी माइग्रेन्ट नेपालका महासचिव कृष्णप्रसाद न्यौपानेले विदेशबाट फर्केका युवाको श्रम, सीप र पुँजीको सदुपयोग गर्ने वातावरण बनाइनुपर्नेमा जोड दिँदै वैदेशिक रोजगारबाट स्वदेश फर्केका सम्पूर्ण युवा एकजुट हुनुपर्ने बताए। नेपाल रिटर्नी एसोसिएसन समाजवादीका अध्यक्ष प्रवीण पौडेलले मुलुकको राष्ट्रिय अर्थतन्त्रको विकासमा आप्रवासी कामदारले पठाएको विप्रेषणको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउने नीति ल्याउन आग्रह गरे।

निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी बजेट ल्याउँछौं : अर्थमन्त्री पुन

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताएका छन्। बिहीबार आर्थिक पत्रकार समाजले काठमाडौँमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रम बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्। उनले सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन  प्रशासनिक, आर्थिक नीति नियम र व्यवसायीक वातावरण बनाउने गरी फरक–फरक छलफल गरेर असहज भएको ठाउँमा सहज बनाउने काम गरिरहेको जानकारी दिए। मन्त्री पुनले लगानी सम्मेलनअघि कानुनी अप्ठ्यारो हटाउन ८ वटा कानुन संशोधन गरेको भन्दै त्यसबाट केही सहज वातावरण बनेको बताए। सरकारले एकल निर्णय गर्ने अधिकार भए पनि निजी क्षेत्रलाई सहभागिता गराएर नीतिगत व्यवस्था गर्ने गरेको उनको भनाइ छ । मन्त्री पुनले निजी क्षेत्रको सहभागिता बिना कानुनहरु नबनाएको बताए। उनले औद्योगिक क्षेत्रका अन्य विषयलाई सरकारले बजेटमार्फत सहजिकरण गर्ने बताए। उनले सरकारको सोच लगानी र व्यवसायी मैत्री वातावरण बनाउने भएको उल्लेख गरे। उनले वित्त नीति र मौद्रिक नीतिमा एकरुपता ल्याउन प्रतिबद्ध रहेको बताए। मन्त्री पुनले स्वायत्त निकाय राष्ट्र बैंकलाई अर्थमन्त्रीले दैनिक कार्यमा चासो दिनुपर्छ भन्ने पक्षमा आफू नभएको बताए। उनले सरकारको नीतिभन्दा बाहिर राष्ट्र बैंक नभएको भन्दै सरकारको नीतिअनुसार अगाडि बढ्नुपर्ने धारणा राखे। उनले राष्ट्र बैंकसँग अर्थ मन्त्रालयले सहकार्य गरेर नीतिहरु ल्याउने काम गरिरहेको बताए। अर्थमन्त्री पुनले नीति कार्यक्रम एकातिर लाग्ने, बजेट अर्कोतिर लाग्ने र मौद्रिक नीति तेस्रो बाटोमा लाग्ने कुराको अन्त्य गर्ने बताए। उनले सरकारको नीति तथा कार्यक्रम निबन्ध नहोस् भनेर अर्थ मन्त्रालयले सहभागिता जनाएर काम गरिरहेको बताए। उनले सरकारले पुँजीगत खर्च बढाउने कोशिस गरिरहेको बताए। स्रोतमा सिमितता भएकाले सरकार र निजी क्षेत्रले खर्च गरेको आधारमा ४.५ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा सरकारको रहेको उनको भनाइ छ । ‘‘सरकारले पुँजीगत खर्च बढाउने कोशिस गर्छ । खर्च बढाउँदा पनि सरकारको योगदान पुँजीगत खर्चमा २५ प्रतिशत हो । बाँकी पुँजीगत खर्च निजी क्षेत्रकै छ। निजी क्षेत्रका लागि राम्रो स्पेस बनाइदिन्छौँ । सरकारसँग स्रोतमा सिमितता छ । सरकार र निजी क्षेत्रले खर्च गरेको आधारमा ४.५ प्रतिशत आर्थिक वृद्धि हुने हो । तीन वर्ष सात प्रतिशत कसरी बढ्योभन्दा भूकम्प आउँदा वैदेशिक ऋण बढी नै लियौं ।,’’ मन्त्री पुनले भने, ‘‘पुँजीगत खर्च बढ्यो । तीन वर्ष लगातार सात प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि भएको छ । त्योभन्दा बाहेक ४.२ भन्दा बढी भएको छैन । हाम्रो अपेक्षा दोहोर अङ्कको आर्थिक वृद्धि हो । सात प्रतिशतको आर्थिक वृद्धि हुन आवश्यक छ । वैदेशिक लगानी बढाउन र आन्तरिक लगानी पनि बढाउन सक्दा सात प्रतिशतको आर्थिक वृद्धिदर भएर अर्थतन्त्र चलायमान हुन्छ । आशा जगाउन सकिने सरकारको विश्वास छ ।’’ अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक लगानी र आन्तरिक लगानीलाई प्रोत्साहन गरी आर्थिक वृद्धिदरलाई बढाउने वातावरण बनाउने गरी ल्याउने बताए। उनले बैंक, घरजग्गा, कृषि र निर्माण क्षेत्रमा सकारात्मक नभए पनि जलविद्युत् र होटल पर्यटनमा राम्रो भएको भन्दै राम्रोलाई अझ राम्रो बनाइराख्ने योजना रहेको बताए।

यी हुन् मन्त्रिपरिषद्को आजका बैठकका निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले विविध निर्णय गरेको छ । यस्ता छन् संवत् २०८१ साल वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने ।  २. विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने । ३. कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्ने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने । ४. अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने ।

केपी ओली गणतन्त्र पक्षधर कि विरोधी ?

आज गणतन्त्र दिवस । एउटा वंशले देशमा निरन्तर शासन गर्ने चलनको अन्त्य गर्दै जनताका छोराछोरीले शासन गर्ने गरी विधिवत घोषणा भएको दिन । राजनीतिक दलमाथी प्रतिवन्ध लगाउँदै नेताहरुलाई नजरबन्दमा राखेर, सञ्चारमाध्यमलाई नियन्त्रणमा लिएर जनतालाई स्वतन्त्रतापूर्वक हिँडडुल र बिचार अभिव्यक्तिमा प्रतिवन्ध लगाउने निरंकुश राजतन्त्रको अन्त्य भएको दिन । गणतन्त्रका लागि धेरै नेपालीले ज्यानको बाजी लगाएर आन्दोलनमा होमिए । हतियार उठाए । आफ्नो रगत बगाए । जेल नेल भोगे । तर चुप लागेनन् । भलै त्यसताकाका शहिद परिवार र घाइतेको अहिलेपनि बिचल्ली छ । राजनीतिक दलहरुले शहिदको रगतको अपमान गरे, घाइतेको उपचारमा केही वास्ता गरेनन् भनेर चर्को आलोचना पनि हुन्छ । नेताहरुले शहिद परिवार र घाइते अपांगहरुको योगदानको अवमूल्यन गरेकै हुन पनि । यतिमात्र होइन, २०६३ सालमा स्थापना भएको गणतन्त्रले नेपालमा धेरै लामो यात्रा तय गर्न पाएको छैन । तर शासन सत्ता सञ्चालन गर्ने नेताहरुको कार्यकलापले गर्दा १५ वर्षको किशोर गणतन्त्र नै आलोचनाको विषय समेत बनाउन थालेका छन् । यसमा कुन दलको कुन नेता कति भागिदार छन्, कुन नेताको प्राथमिकतामा कुन कुरा प¥यो भन्ने धेरथोर जनतामा जानकारी नै छ । तर बाहिर देखिएको जस्तो छर्लगैं नभएर शहिद घाइतेको सम्मानका साथै उनका परिवारलाई राहत, उपचार एवं गणतन्त्र संस्थागत हुनबाट रोक्न कसले कुटिल चाल चालिरहेको छ र सबैलाई गोलमटोल पारेको छ भन्ने कुरा छलंङ्गै भने हुन सकेको छैन । त्यतिबेला गणतन्त्रको नारा लगाउने धेरै नेता एकाएक हिरो बने । राज्यसत्ताको माथिल्लो तहमा पुगे । त्यसताका तेता कार्यकर्ताका कृयाकलाप र अभिव्यक्ति अहिलेपनि बेला बेला भाइरल हुन्छन् । कोही लोकप्रीय बन्छन त कोही आलोचनाको पात्र । गणतन्त्रको कुरा गर्ने वित्तिकै बर्तमान प्रधानमन्त्री केपी ओलीको बेला बेला भाइरल हुने एउटा भिडीयोको सम्झना आउँछ धेरै लोकतत्र प्रेमीलाई जसमा ओलीले भनेका छन् ‘…गणतन्त्रमा पुगिन्छ भन्ने कुरा बयलगाडा चढेर अमेरिकका पुग्नु जस्तै हो, यो संभव छैन…।’ यो भिडियोलाई देखाएर धेरैले ओलीलाई गणतन्त्र बिरोधी थिए भन्छन् । तर के ओली साँच्चै गणतन्त्र विरोधी हुन वा उक्त भनाई अरु कुनै प्रसंगका थियो र काटकुट पारेर यसरी भाइरल बनाइएको हो ? धेरैलाई शंका छ । २०७३ सालको निर्वाचनमा जनताले लगभग दुईतिहाई बहुमत दिएर प्रधानमन्त्री बन्न पठाएको सबैभन्दा ठूलो दलको नेता । देशको प्रधानमन्त्री, सबैभन्दा ठूलो राजनीतिक दलको नेता र गणतन्त्रपछि सबैभन्दा धेरैपटक केपी ओली गणतन्त्र बिरोधी हुन वा होइन, यसबारेमा प्रष्ट हुनु अहिलेको जरुर आवस्यकता हो । लेखक चन्द्र पाण्डेय (मिसन)त्यसका लागि पहिला नेपालमा गणतन्त्र स्थापनाको पृष्ठभूमि लाई सरसर्ती स्मरण गरौँ । देशमा गणतन्त्र, संविधानसभामार्फत नयाँ संविधान बनाउनुपर्ने लगायतका माग राख्दै २०५२ फागुन ७ देखि शसस्त्र शुरु गरको तत्कालिन नेकपा माओवादीले जनयुद्ध उत्कर्षमा पुग्दै थियो । राज्यका आधिकारीक शक्तिबीच जनयुद्धलाई दवाउने वा सम्बोधन गर्ने भन्ने विषयमा चर्को विवाद थियो । बाह्या शक्तिकेन्द्र पनि आ अफनै स्वार्थ अनुकुल दलहरुलाई प्रयोग गरिरहेका थिए । २०५८ सालमा राजदरबार हत्याकाण्ड भयो । माओवादी जनयुद्धलाई सम्बोधन गर्नुपर्ने पक्षमा रहेका भनिएका राजा विरेन्द्रको वंशनास भयो । माओवादी र राजाबीच वार्ताको तयारी भैरहेको कुराहरु पनि सार्वजनिक भएपछि घटना झन् रहस्यपूर्ण बन्यो । बीरेन्द्रको वंशनासपछि राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर निरंकुश बन्न खोजेपछि देशको राजनीति अझ तरल हुँदै गयो । यत्तिकैमा कांग्रेसभित्र सत्ताको झगडाले २०५६ मा निर्वाचित प्रतिनिधि सभा तत्कालित प्रधानमन्त्री शेर बहादुर देउवाले ८ असोज २०५९ मा भंग गरिदिए । संसद विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृंखला चल्यो । यस्तैमा सात दलको आन्दोलनको नाममा काठमाडौंको खुलामञ्चमा राजको विरुद्धमा दिनहुँ केही मानिस सम्मा भएर भाषण गर्ने क्रम चलिरहेको थियो । तर त्यहाँ केही राजनीतिक कार्यकर्ता बाहेक जनताको उत्साहजनक सहभागिता थिएन । यसपछि देउवालाई कठपुतली बनाएर विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिए। राजा निरंशुक बनेर दलहरुलाई प्रतिवन्ध लगाएपछि लोकतान्त्रिक शक्तिहरु विशेष गरी सात दल माओवादीको शरणमा पुगे । गणतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच विसं २०६२ मंसिरमा १२ बुँदे समझदारी भयो । माओवादीसँगको समझदारीपछि तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आए र आन्दोलनले गति लियो । २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो र विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले घुँडा टेके । राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठक समेत आह्वान गरे । यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो । विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । माओवादीको माग बमोजिम विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो । विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधान बमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जस अनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले राजालाई विन्तिपत्र चढाएर प्रधानमन्त्री बन्दै राजाकै ईशारामा संसद समेत विघटन गरेर देशलाई राजनीतिक अस्थिरताको भूमरीमा पु¥याएका थिए । पछि राजाले उनैलाई असक्षम घोषणा गरेर सत्ताच्यूत गरे । देउवा राजाले सत्ताच्यूत नगर्दासम्म गणतन्त्र चाहेका थिएनन् । राजाको छत्रछायाँमा बसेर सत्तालिप्सामा टाँसिन चाहन्थे । त्यतबेला माओवादीसँग वार्ता र समझदारीका लागि नेपाली काँग्रेसका सभापति गिरीजाप्रसाद कोइराला र एमाले महासचिव माधव कुमार नेपाल निकै सक्रियताका साथ लागे । जनयुद्धमा भूमिगत रहेका माओवादीका अध्यक्ष प्रचण्डलाई उनीहरुले भूमिगत रुपमै भेटे र एक प्रकारको समझदारी कायम गरे । जसको फलस्वरुप भएको थियो १२ बुँदे सम्झौता र संयुक्त आन्दोलनमार्फत आएको थियो गणतन्त्र । अव विषयवस्तु तर्फ प्रवेश गरौं, वर्तमान प्रधानमन्त्री केपी ओलीले गणतन्त्र स्थापना र संस्थापनको लागि खेलेको भुमिका तर्फ । आफ्नै पार्टी नेकपा एमालेका नेताहरु भन्छन् ‘केपी शर्मा ओली जनआन्दोलनभरी लुकेर बसे ।’ त्यसमाथी गणतन्त्र स्थापनाका लागि जनता आन्दोलनमा रहँदा ओलीले आन्दोलनबाट गणतन्त्रमा पुगिन्छ भन्ने कुरा बयलगाडा चढेर अमेरिकका पुग्नु जस्तै हो, यो संभव छैन भनेर व्यक्त गरेको अभिव्यक्तिले उनी गण्नतन्त्रका विरोधी नै हुन कि भन्ने पनि लाग्छ । अहिले गणतन्त्र स्थापना र संविधान जारी भएपछि सबैभन्दा धेरै समय शासन सत्तामा प्रधानमन्त्री केपी ओली छन् । गणतन्त्रकै लागि बन्दुक बोकेर १० वर्ष जनयुद्ध गर्ने प्रचण्डले समेत गणतन्त्र पछि ओलीसँग घाँटी जोडेर उनीलाई अध्यक्ष मान्दै एउटै पार्टी बनाए । उनैलाई प्रधानमन्त्री बनाउन भोट मागे । आलो पालो चलाउने भनिएको प्रधानमन्त्री पद ५ वर्ष तपाइँले एक्लै चलाउनुस भनेर दिए । एक कार्यकाल चलाइसकेकी विद्या भण्डारीलाई ओलीकै प्रस्ताव अनुसार दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा थमौती गरे । गणतन्त्र स्थापनाका एक अभियन्ताले यसरी सम्मान गरेका, मानेका र सर्वस्व सुम्पेका ओली कसरी गणतन्त्र विरोधी हुन सक्छन् ? धेरैको मनमा प्रश्न उठ्छ, गणतन्त्र बिरोधीहरुलाई हेर्नै नचाहने प्रचण्डले ओली गणतन्त्र बिरोधी हुन्थे यदी भने यसरी सवथोक सुम्पेर उनलाई गणतन्त्रमा सर्वेसर्वा बनाउने थिएनन् । तर अर्कोतरी भन्छन्, ओलीले हजारौँको बलिदानीपछि आएको संविधानको प्रावधानलाई कुल्चँदै प्रतिनिसभा २÷२ पटकसम्म विघटन गरे । त्यसैले उनी यो व्यवस्था बिरोधी हुन् । यी दुई तर्कको पछि लाग्नुभन्दा अगाडि केपी ओलीले जनआन्दोलनमा बयलगाडाको नारादेखि यता के के सम्म गरे एकपटक स्मरण गरौँ । १– जनताले गणतन्त्र स्थापनका लागि गरेको आन्दोलनलाई बयलगाडा चढेर अमेरिका पुग्ने भन्दै व्यंग्य गरे । आन्दोनभर कहिँ कतै देखिएनन, लुकेर बसे । यसले गणतन्त्र प्रतिको उनको प्रष्ट चित्र देखाउँछ । २– भर्खर शान्ति प्रकृयामा आएको एक शक्ति माओवादीलाई आउनेवित्तिकै देखि चर्को आलोचना गरे । आफनै मेहनेतले भूमिपति बनेका शनिश्चरेका जमिन्दार धर्मप्रसाद ढकाललाई २०२९ साल पुस १० गते बिनाकारण घाँटी रेटेर १४ वर्ष जेल बसेका ओलीले आफूलाई ठूलो क्रान्तिकारी सावित गर्न खोजे । तर १० वर्ष बन्दुक बोकेर १४ हजारको बलिदानी गरेर आएको शक्तिलाई हत्यारा, आतंककारी भन्दै उपेक्षा गरे । राज्यसत्तामा कुनै स्थान दिन नहुने भन्दै भरमग्दुर प्रयत्न गरे । ३–पहिलो संविधानसभाबाट संविधान बनाउने क्रममा हरेक विषयमा निहुँ मात्र खोजे । संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रको साटो लोकतन्त्र मात्र राख्नका लागि धेरै प्रयत्न गरे । पछि २०७७ मा देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नराखेर नेपाल मात्र राख्ने मन्त्रीपरिषदबाट निर्णय गरे । ४– युद्धबाट शान्ति प्रकृयामा आएको शक्ति माओवादीका मागहरु सम्बोधन गर्दै शान्ति प्रकृया र गणतन्त्रलाई संस्थागत गर्नुपर्छ भन्ने मान्यता विपरित माओवादीलाई सँधै उपेक्षा गर्ने, दपेट्ने, आक्रोशित बनाउने र युद्धमै फर्काउन सकेसम्मको प्रयत्न गरे । ५– माओवादीले शान्तिप्रकृयामा आउनेवित्तिकै लोकतान्त्रिक राष्ट्रवादी शक्तिहरुलाई एकतावद्ध हुन पटक पटक गरेको आह्वानलाई सँधै उपेक्षा गरे । पार्टी एकता नभएपनि चुनावमा तालमेल गर्ने कुरालाई समेत सँधै इन्कारमात्र गरे । ६– संविधानको मस्यौदामा हरेक विषयमा बखेडा निकालेर पहिलो संविधानसभाबाट संविधान बन्न नै दिएनन् । अन्तिम समयमा संविधन सभाको बैठक नै नराखेर लाखौँ जनताको त्याग र हजारौँको बलिदानीको अबमूल्यन गर्दै संविधानसभा नै भंग गर्ने अबस्थामा पु¥याए । यसका लागि उनका विश्वासपात्र तत्कालिन सभामुख सुवास नेम्बाङ्गले ठूलो भूमिका निर्वाह गरे । ७ – ओली र नेम्बाङ्गका कारण विना कुनै उपलब्धि पहिलो संविधानसभा स्वतः विघटन हुनै लाग्दा रातको करिब १२ बजे ठूलो जोखिम मोलेर तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्को संविधानसभाको मिति घोषणा गरेर संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको चाहनालाई जिवित राखे । गणतन्त्रलाई धरापबाट जोगाए । ८– दोश्रो संविधानसभाबाट संविधान बनाउने क्रममा पनि निकै व्यवधान खडा गरे । संविधानमा मस्यौदामा देखिएका विवाद समाधान गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति डा. बाबुराम भट्टराईले बोलाएको बैठकमा उपस्थित हुनुको साटो धरहराको टुप्पोमा पुगेर आनन्द लिए । ९– उनको अनेक हत्कण्डा र उल्झनका बाबजुद पनि देशमा नयाँ संविधान जारी भयो २०७२ जेठ ३ गते । त्यसपछि माओवादीको बैशाखी टेकेर २०७२ असोज २५ मा ओली प्रधानमन्त्री भए । गणतन्त्र विरोधीलाई पुरस्कृत गर्ने, गणतन्त्र धरापमा पार्ने अनेक षड्यन्त्र गरे । प्रचण्डसँगको सहमतिमा बनेको सरकार छाड्नुपर्नेमा अनेक बखेडा झिकेर सत्तामै रही गणतन्त्र बिरोधी अभियान चलाउन प्रयास गरे । तर सकेनन, सरकार ढल्यो । १०– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बृहद कम्युनिष्ट एकताका लागि प्रयास गरे । नेकपा एमालैकै माधव नेपाल, वामदेव गौतम समूहले एमाले माओवादी एकताका लागि ठूलो प्रयास गरे । तर केपी ओलीले दर्जनौं पटक प्रचण्ड र माओवादीका नेताहरुलाई भाषण सुनाएर एकताको प्रयासप्रति वितृष्णा जगाउने काम गरेर निराश बनाएर फर्काए । ११– माओवादीले चुनावी तालमेल र पछि पार्टी एकताको प्रस्ताव राख्यो, जसमा उनलाई भावि प्रधानमन्त्रीको समेत प्रस्ताव गरियो । चुनावी तालमेल गरेर करिब २ तिहाई बहुमतको सरकार आफ्नै नेतृत्वमा गठन गरे । तर पार्टी एकताका लागि कुनै प्रयास गरेनन । पार्टी एकताका लागि प्रयास गर्न पुगेका प्रचण्ड लगायतका माओवादी नेतालाई रुष्ट बनाएर फर्काए । तर पनि पार्टीभित्रकै अन्य नेताको दवावमा एमाले माओवादी एकता भयो । १२– माओवादीसँगको एकताले संविधान मिच्दै गणतन्त्र धरापमा पार्ने निर्णय गर्न नपाएपछि अनेक जालझेल र षड्यन्त्र गरे । संसद बैठक नबोलाई पार्टी फुटाउने अध्यादेश ल्याए । संवैधानिक निकायमा एकलौटी नियुक्तिका लागि अध्यादेशबाटै संविधानको हुर्मत लिए। र अन्ततः २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन सिफारिस गरे । यसमा राष्ट्रपतिलाई आफ्नो खल्तिको व्यक्तिको रुपमा प्रयोग गर्दे विघटनको घोषणा गराए । १३– सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनस्र्थापना गराएपछि दुई तिहाइ नजिकको बहुमत सहितको नेपाल कम्प्युनिष्ट पार्टी फुटाए । गणतन्त्र पक्षधरलाई आफूबाट अलग्याए । १४– अध्यादेशबाट देशमा शासन चलाए । लोकतान्त्रिक मान्यता विपरित सबै निकायलाई पार्टीको भर्तिकेन्द्र बनाए । आफ्नो मनोमानीमा शासन चलाए । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको चरम दुरुपायोग गर्दै तरलतामा रहेका जनतालाई गणतन्त्र प्रति नै वितृष्णा जगाउने काम गरे । १५– आफ्नो पार्टीका नेताहरुलाई कारबाही गरे, पार्टी एकताका लागि प्रयास गरेनन् तर सत्ता टिकाउनका लागि राष्ट्रियता बिरोधी र भारत परस्त व्यक्तिका रुपमा परिचित भएका जसपाका केही नेतालाई प्रलोभन र केहीलाई बन्धक समेत बनाएर सत्ता टिकाउने खेल खेले । १६– ाफ्नो सरकार ढल्ने निश्चित भएपछि षड्यन्त्रपूर्वक प्रतिनिधिसभा दोश्रो पटक विघटन गरे । विवाद र छलफलमा रहेको नागरिकता विधेयक संसदमा अड्काएर विदेशी नागरिकलाई राज्यको माथिल्लो पदमा पु¥याउने बाटो खोल्ने गरी राष्ट्रघाति नागरिकता समबन्धी अध्यादेश जारी गरे । यी मुख्य मुख्य विषयमात्र हुन् । जसले केपी ओली गणतन्त्र पक्षधर वा विपक्षी के हुन भन्ने चित्र देखाउँछ । भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाध प्रवेश दिएर घण्टौँसम्मको गोप्य छलफल, त्यपछिका षड्यन्त्र र कार्यान्वयन जस्तै अन्य अदृष्य कुराहरु त धेरै छन् । विश्वभर कोरोना भाइरसको महामारीले डरलाग्दो रुप लिँदा सुरक्षा र रोकथामका प्रयास गर्नुको साटो अम्बाको पात, बेसार पानी खान निर्देशन दिने, नेपालीको इम्युनिटी पावर धेरै भएको भन्दै जनतालाई जोखिमतर्फ धकेल्ने काम गरे । महामारीमा सुरक्षा नपाएर, उपचार नपाएर, अस्पतालमा बेड नपाएर, अक्सिजन नपाएर जनता मर्दा आफू विदेशी मिडियालाई अन्तरवार्ता दिँदै महामारी नियन्त्रणमै रहेको प्रचार गरे । जनताको ज्युज्यानको सुरक्षा गर्नुको साटो उखान टुक्का र कथा भनिरहे । पदीय दुरुपायोग गदै हप्ता हप्तामा सरकारी सञ्चारमाध्यम बोलाएर देशबासीलाई सम्बोधनका नाममा आत्म प्रशंसा गरे । तर जनताको मृत्युप्रति न कुनै चिन्ता व्यक्त गरे न मृत्यु रोक्न प्रयास नै गरे । जनतालाई यो व्यवस्थाप्रति नकारात्मक भावना बढाएर आक्रोशित पारे । त्यसमाथी राज्यको प्रमुख व्यक्तिलार्इ नै मुठ्ठीभर राखेर संबिधान र कानूनको सिमा मिचेर कार्यकारीको रबर स्टाम्प भई संस्थाको मर्यादा कायम गर्न नसक्दा आज गणतन्त्र प्रति नै नकारात्मक धारणा बढेको छ। एउटा क्रुर र तानाशाही शासकको कृयाकलापले मात्र नेपाली जनताले समग्र व्यवस्थाप्रति अन्याथा सोँच्ने छैनन् । गणतन्त्र स्थापनाका लागि कुनै भूमिका नगरेका, ध्वंसका लागि प्रयत्नमा रहेका ओलीलाई संविधानका कुनै पनि प्रावधानमा टेकेर पनि हटाएर गणतन्त्रको रक्षा गर्न अहिलेको अनिवार्य आवस्यकता बनेको छ । यो हामीले लडेर ल्याएको ब्यवस्था बिरोधी पात्रहरुलाई बिदा गरौँ । ब्यवस्था बचाउँ ।

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब २८० को संख्यामा खासगरी बिस्केक र वरपर रहेका नेपाली हाल सकुशल रहेको र स्थिति सामान्य नहुञ्जेलसम्म निवासरघर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ । तावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +९२५१२६१०३२१ (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ । बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ । रासस