बझाङमा जीप दुर्घटना, चालकसहित पाँच जनाको मृत्यु
बझाङ । बझाङमा भएका दुई वटा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको से १ ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–२ सुकगाडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जीप चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीको छोरी पाँच वर्षीया आकृती धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले जानकारी दिए ।
दुर्घटना भएको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । चालक सहित तीन जनाको घटना स्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
यस्तै, शुक्रबार राति नै करिब नौ बजे तिर मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ आउदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जीप चालक धर्म थापाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चालक मात्रै सवार रहेको उक्त जीप सडकबाट एक सय मिटर तल खसेको प्रहरी सहायक निरिक्षक जय बहादुर डाँगाले बताए ।
यस वर्षको बजेट असार ७ गते पारित हुने
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट असार ७ गते पारित गर्ने तयारी गरेको छ। संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ। अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए।
श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाए : मेयर बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएको दाबी गरेका छन्।आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ३२९ जनालाई विभिन्न निजी कम्पनी तथ ५८३ जनालाई महानगरका विभिन्न विभागहरूमा रोजगारी उपलब्ध गराइएको उल्लेख गरेका छन्। महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको छ । मेयर बालेनले यसको सुरुवात भएको आर्थिक वर्ष २०८०–८१ मा सीप मेला २०८१ मार्फत २ हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १ हजार ४६७ जना र अनलाइनमार्फत २ हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको जनाएका छन्। जसमध्ये श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएको उनको भनाइ छ।महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगाररस्वरोजगार भएका छन्। मेयर बालेनले आर्थिक वर्ष २०८१–८२ मा दुवै योजनाहरूलाई थप परिष्कृत गरि लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरि बजेट तथा कार्यक्रमहरू तयार गरेको उल्लेख गरेका छन्।उनले सीप मेलामा फारम भरेका सम्पूर्णलाई तालिका अनुसार तालिम उपलब्ध गराउने बताएका छन्। समय र स्थान एसएमएस मार्फत जानकारी गराइने उनको भनाइ छ ।
ऋणलाई उत्पादनशील क्षेत्रमा परिचालन गरिनेछ : अर्थमन्त्री पुन(सम्बोधनको पूर्णपाठ)
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वैदेशिक ऋण लिएर उत्पादनशील क्षेत्रमा लगानी गरिने बताएका छन् । आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नहरूको बुधबरको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै यस्तो बताएका हुन् । उनले वैदेशिक ऋण रोजगारी सृजना र अर्थिक वृद्धिमा टेवा पुग्ने क्षेत्रमा मात्र लगानी गरिने बताए । ऋण लिएर त्यसको प्रभावकारी रूपमा लगानी नभएको सांसदहरूले आवाज उठाउँदै आएका थिए । सम्बोधनको पूर्णपाठ
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए। पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए । सिरोहियाले आफू अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको प्रस्ट पारेका छन् । तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ । सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हुने सिरोहियाले जनाका छन् । यी सब बिचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने उनको दाबी छ । यसैबीच सिरोहिया आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् ।जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उक्त निर्णयविरुद्ध सिरोहियाले रिट निवेदन पेश गरेको र दर्ता प्रक्रियामा रहेको सर्वोच्चका सह प्रवक्ता गोविन्द घिमिरेले बताए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । उक्त नागरिकता प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । प्रहरीको अनुरोधपछि जिल्ला अदालतले पुर्जी जारी गरेपछि उनी त्यसलाई रोक्न सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले सर्वोच्चमा रिट दायर गरि कारण देखाऊ आदेश समेत गरेर अवस्थामा पक्राउ पुर्जी जारी गरिएको र पक्राउ पुर्जी जारी हुनुपर्ने कारण नै नभएको दाबी रिटमा गरिएको छ।
कुराँश च्याम्पियनसिपमा २ स्वर्ण, ३ रजतसहित नेपाल दोस्रो
काठमाडौं । भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो हुन सफल भएको छ । हिजो वैशाख ८ गते भएको प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते । यस्तै, परी घर्तीमगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथि दीपिका अछाजुले रजत पदक प्राप्त गरे । दिक्षाले ४४ केजी मुनिको तौल समूह र योगेन्द्रले सिनियर ८१ केजी मुनिको तौल समूहमा पहिलो स्थान हासिल गरेका हुन् । दिक्षा र योगेन्द्र दुवैले फाइनलमा भारतीय खेलाडीलाई हराएको बताइएको छ । अर्जुनले ६० केजी मुनि तथा परीले महिला जुनियर ६३ केजी मुनि तौल समूह तथा दीपिकाले सिनियर ८७ केजी तौल समूहमा दोस्रो स्थान हासिल गरे । दिक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भइन् । च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । २ दिने प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडीको सहभागिता रहेको थियो।
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ
काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
यस्ता छन् आजको लगानी बोर्ड बैठकका निर्णय
काठमाडौं । लगानी बोर्डको कार्यालयले चार जलविद्युत् आयोजनाको ९९ अर्ब २० करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको लगानी बोर्डको ५७ औं बैठकले चार जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । जसमा १६६ मेगावाटको सुपर तमोर (३४ अर्ब ५९ करोड रुपैयाँ), ४२ मेगावाटको अप्पर मोदी ‘ए’ (१० अर्ब ८ करोड रुपैयाँ) , २५० मेगावाटको सोलार राइजन इनर्जी (२१ अर्ब १० करोड रुपैयाँ) र १३९.२ मेगावाटको लोवर मर्स्याङदी (३३ अर्ब ४१ करोड रुपैयाँ) रहेको छ । राइजन इनर्जी र लोवर मनाङ मर्स्याङदी विदेशी लगानी भएका आयोजना हुन् । राइजनमा सिंगापुर र लोवर मनाङ मर्स्याङदीमा चिनियाँ लगानी रहेको छ । लोवर मनाङ मर्स्याङदी बुटवल पावर कम्पनीसहित तीनवटा चिनियाँ कम्पनी छन । सिचुवान प्रोभिन्सियल इन्भेष्टमेन्ट ग्रुप, छेन्दु सिनचेङ इन्भेष्टमेन्ट ग्रुप र कुइङ युआन इन्जिनियरिङ कन्सल्टेन्सीको ८० प्रतिशत सेयर छ । लोवर मनाङ मर्स्याङदी पिकिङ रन अफ दी रिभर (अर्ध जलाशय) प्रकृतिको आयोजना हो । गण्डकीमा निर्माण हुने यो आयोजना अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्छ। त्यसै गरी बोर्डको बैठकले ६ अर्ब ६३ करोड रुपैयाँ हुवासीन सिमेन्टको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले लगानी सम्मेलनको प्रभावकारी तयारी गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।
आजदेखि नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ
काठमाडौं । आजदेखि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ गरिएको छ । नेकपा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बंगलामुखी, कुम्भेश्वरमा रहेको कर्माचार्यको शालिकमा माल्यार्पण गरेपछि यो कार्यक्रम आरम्भ भएको हो । कर्माचार्यको जन्म भएको एक सय वर्ष पुगेकोको अवसर पारेर वर्षभरि नै कार्यक्रम गरिदैछ । माओवादी केन्द्रले कर्माचार्यको जन्दशताब्दीको अवसरमा देशैभरि कार्यक्रम गर्न पार्टी पंक्तिलाई निर्देशन दिइसकेको छ । आजै माओवादी केन्द्रले कर्माचार्यको जन्मशताब्दी आरम्भको अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक विचारगोष्ठी गर्दैछ । अपरान्ह साढे १२ बजेदेखि सुरु हुने गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट नेताहरु मोहन बैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ । विसं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मिएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो । विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य हुनुहुन्थ्यो । उहाँ विसं २००५ देखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो । पार्टी स्थापनापश्चात कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष बन्नुभएको थियो भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै विसं २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । पार्टी टुटफुट र विभाजनपश्चात विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत बनाउन उहाँले निरन्तर पहल गरिरहनुभएको थियो । यही क्रममा कर्माचार्य २०३१ सालमा नेकपा चौमको केन्द्रीय सदस्य, २०४८ मा विभिन्न चार पार्टीको एकतापश्चात एकता केन्द्र निर्माण र केन्द्रीय सदस्य तथा जीवनको अन्तिम समयसम्म नेपाल कम्युनिष्ट पार्टीको संरक्षक र सक्रिय भूमिका निर्वाह गरिरहनुभयो । संस्थापक नेता कर्माचार्यलाई चरित्रवान, सामाजिक र लोकप्रिय व्यक्तित्व, विवादरहित, सादा जीवन र उच्च विचारका पर्यायका रूपमा लिइँदै आइएको छ । यसैबीच नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरी वर्षभरि गरिने कार्यक्रम सार्वजनिक गरेको छ। कर्माचार्यको व्यक्तित्व, सपनाहरु र सपना पार्ने आगामी योजनामा केन्द्रित रहेर कार्यक्रम गर्ने प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोख्रेलले जानकारी दिनुभयो।
अपडेटः दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन
नवलपरासी । सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक दुईतर्फी सञ्चालनमा आएको छ । बर्दघाट-४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । रातभर डाइभर्सन बनाइएर यातायात सञ्चालन गरिएको हो । बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक केही केहीबेर अगाडिदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक खुलेपछि हिजोदेखि अलपत्र परेका सवारी गन्तव्यतर्फ लागेका छ्न् । (अद्यावधिक गरिएको)
मिटरब्याज पीडित र सरकारबीच ४ बुँदे सहमति (सहमतिसहित)
काठमाडौँ । मिटरब्याज तथा ठगीबिरुद्ध आन्दोलनरत पक्ष र सरकारबीच आज भएको बार्तामा ४ बुँदे सहमति भएको छ । मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारका बिचमा ३ महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । ९ विषयको कार्यादेश हुनेगरी जाँचबुझ आयोग गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सहमति भएको छ । यससम्बन्धी जाँचबुझ गर्न गतवर्ष चैतमा मात्रै सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगले जाँचबुझ गरी सरकारलाई प्रतिवेदन समेत दिएको छ । पीडितहरुसँग सोमबार गृह मन्त्रालयले सोही प्रकृतिको अर्को आयोग गठन गर्ने सहमति गरेको हो ।यद्यपी अहिलेको सहमतिमा अघिल्लो आयोगले गरेका कामबारे भने केही उल्लेख छैन । उत्पीडित वर्गलाई राहत र क्षतिपूर्तिका लागी आगामी बजेटमा व्यवस्था गर्नेगरी अर्थ मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ । सहमतिसँगै अहिले चलिरहेको आन्दोलन रोक्न पीडितहरु सहमत भएका छन् । सहमतिपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेको उपस्थितिमा मन्त्रालयका सहसचिव एवम् वार्ता समितिका संयोजक रुद्रप्रसाद पण्डित र संघर्ष समितिका अध्यक्ष अवधेशप्रसाद कुशवाहाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसँगै माघ १६ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन सकिएको छ। झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिंडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याज पीडित निरन्तर आन्दोलनमा थिए।उनीहरुसँग वार्ताका लागि तात्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठेले सहसचिव रुद्रप्रसाद पण्डित संयोजक रहेको सरकारी वार्ता टोली गठन गरेर वार्ता भैरहेको थियो ।
विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् : देउवा
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन्। आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनीले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न सहयोग र साझेदारीले नेपालमा थप लगानी प्रवाहका लागि मार्ग प्रशस्त हुने धारणा व्यक्त गरे । ‘नेपाल अझै पनि कम विकसित मुलुकमा पर्छ । हामीले विकासका ठूला चुनौतीहरूको सामना गरिरहेका छौँ । हाम्रो देशमा विकासको प्रचुर सम्भावना छ, तर हामीसँग विकासका फाइदाहरू प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ’, सभापति देउवाले भने, ‘यस सन्दर्भमा यो उच्चस्तरीय कार्यक्रमको आयोजनाले विशेष महत्त्व राख्दछ ।’ काँग्रेसले नेपालमा आर्थिक सुधारको थालनी गरेको र सन् १९९० मा काँग्रेसकै सरकारले अर्थतन्त्रलाई उदारीकरण, निजी क्षेत्रलाई आमन्त्रण र विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना गरेको उनले उल्लेख गरे । ‘त्यो छोटो अवधिमा हाम्रो सरकारले नीतिहरू पुनसंरचना गर्यो, पुराना कानुनहरू परिमार्जन गर्यो र नयाँ कानुन ल्यायो, सार्वजनिक खर्चलाई तर्कसङ्गत बनायो र उदार कर प्रणालीको थालनी गर्यो’, उनले भने । सभापति देउवाले विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार रहेको जानकारी दिए । विदेशी लगानी नेपाल कानुन र हाम्रो देश पक्ष भएको विभिन्न अन्तर्राष्ट्रिय सन्धीद्वारा सुरक्षित रहेको अवगत गराउँदै उनले नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सरकारले विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न इच्छुक रहेको थाहा पाएको उल्लेख गरे । ‘लचिलो श्रम कानुन, युवा र ऊर्जावान् जनसङ्ख्याको पर्याप्त हिस्सा भएको जनसाङ्ख्यिक लाभांश, बिजुलीको भरपर्दो आपूर्ति, स्थानीय कच्चा पदार्थको उपलब्धताले पनि यस क्षेत्रका अन्य उच्च ज्याला दिने देशहरूको तुलनामा उत्पादन लागत कम बनाउन योगदान पुर्याउँछ’, सभापति देउवाले भने, ‘हामीले सार्वजनिक–निजी साझेदारीअन्तर्गतका ठूला परियोजना र अन्य साना तथा मझौला आकारका लगानीका आयोजनाका लागि उद्योग विभागअन्तर्गतको लगानी बोर्ड समावेश गर्ने एकद्वार प्रणाली स्थापना गरेका छौँ ।’ उनले नेपालले कम्पनी दर्ताका लागि समय र ऊर्जा बचत गर्न र तुलनात्मक रूपमा छोटो अवधिमा सञ्चालनमा राख्न प्रक्रियालाई सुव्यवस्थित गरेको जानकारी गराए । उनले सबै प्रमुख राजनीतिक दलहरू नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न एकजुट हुन प्रतिबद्ध रहेको स्पष्ट पारे । ‘प्रधानमन्त्रीका रूपमा मेरो कार्यकालमा हामीले महत्त्वपूर्ण सुधार लागू गर्यौँ । विदेशी लगानी प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, जलविद्युतको सम्भाव्यता, उद्योग र कृषिको पुनरुत्थान गर्ने उद्देश्य राखेको थिएँ’, उनले भने, ‘सुधारको काम पूरा हुन नसकेकाले वर्तमान सरकारले सुधारका पहलहरूलाई निरन्तरता दिँदै निजी क्षेत्रका लागि थप अनुकूल वातावरण सिर्जना गर्ने विश्वास लिएको छु ।’ मानिसको आम्दानीमा वृद्धिसँगै आन्तरिक बजार विस्तार हुँदै गएको र भौगोलिक निकटता र छिमेकी तथा अन्य साझेदारहरूबाट प्राप्त हुने सहुलियतपूर्ण व्यापारिक सुविधाका कारण बाह्य बजार पहुँचयोग्य रहेको उनको भनाइ छ । ‘हाम्रा दुई छिमेकी भारत र चीनले नेपालका लागि ठूलो बजार अवसर प्रदान गर्छन् । हामीसँग संयुक्त राज्य अमेरिका र युरोपेली युनियनसँग पनि सहायक व्यापारिक सम्बन्ध छ’, उनले भने । उनले आफू पूर्वप्रधानमन्त्री एवं सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी काँग्रेसका सभापतिको हैसियतमा लोकतान्त्रिक ढाँचाअन्तर्गत आर्थिक विकासलाई अगाडि बढाउन बजार र निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उदार आर्थिक नीतिलाई पछ्याउने प्रतिबद्धता व्यक्त गरे । सरकारले सामाजिक न्याय र नेपाली समाजका सबै खण्डको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो जिम्मेवारी नगुमाई लगानी र व्यवसायका लागि अनुकूल वातावरण सिर्जना गर्ने उनको भनाइ छ । ‘हामी लगानीका लागि तीव्र प्रतिस्पर्धाका युगमा बाँचिरहेका छौँ । यसको अर्थ हामीले प्रोत्साहन र लगानी संरक्षण गर्न थप आकर्षक र प्रतिस्पर्धी हुन आवश्यक छ । पैसा त्यहाँ जान्छ जहाँ राम्रो व्यवहार गरिन्छ’, उनले भने, ‘आन्तरिक र बाह्य आर्थिक वातावरणमा आएको परिवर्तनको प्रकाशमा हाम्रो लगानी व्यवस्थालाई समायोजन गर्न सुसङ्गत र व्यावहारिक रूपमा सुधारको प्रयास जारी राख्छौँ ।’ उनले नेपालले विदेशी लगानीकर्ताप्रति भेदभावपूर्ण नीति नअपनाउने स्पष्ट पार्दै उनीहरूलाई राष्ट्रिय लगानीकर्तासँग समान व्यवहार गरिने र विदेशी लगानीकर्तालाई अतिथिको रूपमा स्वागत गर्ने उल्लेख गरे । नेपालमा वैदेशिक लगानी नाफामुखी रहेको भन्दै सभापति देउवाले यसका लागि प्रमाणित गर्ने भरपर्दो उदाहरण रहेको जानकारी गराए । नेपालमा काम गर्ने केही बहुराष्ट्रिय कम्पनीले वर्षौँदेखि राम्रो लाभांश फिर्ता गर्न सक्षम भएको उनको भनाइ छ । ‘कृपया नेपाल आउनुहोस् र हाम्रो अर्थतन्त्रमा लगानी गर्नुहोस् जुन तपाईँ र हाम्रा जनताका लागि फाइदाजनक हुनेछ । हामी तपाईँलाई पूर्ण सुरक्षा प्रदान गर्नेछौँ र सुरुदेखि अन्त्यसम्म हाम्रो निरन्तर सहयोगको आश्वासन दिन्छौँ’, उनले भने, ‘विकास र समृद्धिका लागि हाम्रो साझेदारीको कदर गर्नेछौँ । नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने प्रयासमा सहयोग गर्न तपाईँको योगदान उच्च मूल्यवान् हुनेछ । समय सार हो । नेपालमा अपार सम्भावना छ । मलाई विश्वास छ कि हाम्रो साझा प्रयासले हामी फरक पार्न सक्छौँ ।’
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
'योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित शुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ'- प्रधानमन्त्री
रास्वपाबाट रमेश खरेलले दिए राजीनामा
काठमाडौं । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन्। गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट रास्वपामा आबद्ध भएका खरेलले बुधबारबाट लागू हुनेगरी राजीनामा बुझाएका हुन्। खरेलले रास्वपा सभापति रवि लामिछाने नयाँ सत्ता गठबन्धनबाट उपप्रधान तथा गृहमन्त्री बन्न नहुने तर्क गरेका थिए। केही समयअघि उनले सहकारी ठगीको आरोप लागेका सभापति लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिनु नहुने भन्दै आलोचना गरेका थिए। लगत्तै यसबारेमा उनलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको महामन्त्री डाक्टर मुकुल ढकालले बताए। महामन्त्री ढकालले भने, ‘उहाँले अंग्रेजीमा राजीनामा पत्र लेखेर पठाउनुभएको छ।’ गहन विचारपछि आफू राजीनामाको निष्कर्षमा पुगेको खरेलले राजीनामा पत्रमा लेखेका छन् । राजीनामा पत्रमा खरेलले भनेका छन्, ‘तुरून्तै लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैले आधिकारिक रूपमा राजीनामा लेखिरहेको छु। गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने समय आइपुगेको निर्णयमा पुगेँ। अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दछु ।’ पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग आफ्नो विचार र प्राथमिकता मिल्न नसकेको उनले राजिनामापत्रमा उल्लेख गरेका छन् । गत उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका खरेल जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।
आयरल्यान्डसँग नेपालले टस हार्यो, पहिला बलिङ गर्ने
काठमाडौं । नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ए (वल्भ्सविवरुद्ध) टस गरेर पहिला बलिङ गर्ने भएको छ। टीयू क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा प्रतिश जि.सी, विवेक यादव, अनिल कुमार शाह र आकाश चन्दलाई बेन्चमा राखेको छ।नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् । सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् । नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा आयरल्यान्ड ए प्लेइङ ११ : निल रक (कप्तान), रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, फिन हृयान्ड, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, मोर्गन टोप्पिङ र बेन हृवाइट ।
राज्य व्यवस्था समितिका सत्तारूढ सांसदलाई प्रधानमन्त्रीले बालुवाटार किन बोलाए ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई आफुलाई भेट्न भोलि बिहान १० बजे आफ्नो सरकारी निवास बालुवाटार बोलाएका छन् । समितिमा आज हृदयराम थानी संयोजकत्वको उपसमितिले भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयक र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयक सम्बन्धी प्रतिवेदन बुझाएको छ। त्यसैगरी समितिमा निजामती कर्मचारी सम्बन्धी विधेयकमाथि छलफल चलिरहेको छ। प्रधानमन्त्री ओलीले सांसदहरुलाई बालुवाटारमा निम्त्याएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा रहेका सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरू उपसमितिले टुंगो लगाएको विधेयकको विषयमा दबाब दिन बोलाइएको त होइन भन्ने अलमलमा परेका छन्। उपसमितिले राष्ट्रिय सभाले गरेको नीतिगत निर्णय सम्बन्धी संशोधन स्वीकार गर्दै सबैलाई समान रूपमा लागु हुने नीतिगत निर्णय बाहेकका विषयमा अख्तियारले भ्रष्टाचारको मुद्दा चलाउन सक्नेु व्यवस्था गरेको छ। त्यस्तै भ्रष्टाचारको मुद्दामा उजुरीको ५ वर्षे हदम्याद र अनुसन्धानका लागि हदम्याद हटाउने निर्णय गरेको थियो। जसको विरोधमा प्रधानमन्त्री ओलीले सांसदहरुले पाँच वर्षे हदम्याद राख्न असहयोग गरेको बताएका थिए । उपसमितिले भ्रष्टाचार निवारण र अख्तियारको विधेयक सर्वसम्मत रूपमा टुंगो लगाएको थियो। सत्तारुढ एक सांसद्ले अहिले मन्त्रिपरिषद्ले गरेको निर्णयमा समेत अख्तियारले मुद्धा चलाउन सक्ने र हदम्यादको विषयमा प्रधानमन्त्रीको विमति थियो सोही विषयमा कुरा गर्न बोलाएको हुनसक्ने बताए ।