परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा पाँचदिने भारत भ्रमणको सिलसिलामा आइतबार नयाँ दिल्ली पुगेकी छन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणालाई नेपाली दूतावासका चार्ज डी अफेयर्स सुरेन्द्र थापाले स्वागत गरे।

परराष्ट्रमन्त्री राणा आइतबार बिहान काठमाडौंबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेकी थिइन् । भारत भ्रमणका समयमा उनले त्यहाँका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछिन् । साथै, उनी नेपाल–भारत द्विपक्षीय बैठकमा सहभागी हुनेछिन् । 
 

गृह सचिवसँगै महानिरीक्षकद्वय कुँवर र अर्याल अमेरिका प्रस्थान

काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसहित पाँच सदस्य टोली अमेरिका प्रस्थान गरेको छ ।  गृह सचिव अर्यालत, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालसहित पाँचजना सोमबार अमेरिका प्रस्थान गरेका हुन् । टोलीमा नेपाल प्रहरीका डीआईजी दानबहादुर कार्की र सशस्त्र प्रहरीका एसएसपी छन् । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्युयोर्कमा असार १२ देखि १३ गतेसम्म सञ्चालन हुने चौथो युनाइटेड नेसन चिफअफ पुलिस समिटमा भाग लिन उनीहरू अमेरिका प्रस्थान गरेका हुन् । नेपाल प्रहरीमा आईजीपीको अनुपस्थितिमा निमित्त आईजीपीको जिम्मा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दिपक थापालाई दिइएको छ । सशस्त्र प्रहरीको निमित्त आईजीपीमा एआईजी नारायणदत्त पौडेललाई जिम्मेवारी दिइएको छ ।  सभामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता एवं साझा सुरक्षाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।सभामा संयुक्त राष्ट्रसंघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्रसंघका उच्च पदस्थ अधिकृतहरू एवम् टर्की, फ्रान्स, युके, क्यानडा, युएसए, साउथ कोरिया, नाइजेरियाका प्रहरी अधिकारी सहभागी हुनेछन् ।

हेर्नुहोस् सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ २१ गते सोमबार सन् २०२४ जुन ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर र कतारी रियालको मूल्य तीन दिनदेखि स्थिर छ । युरो र बेलायती पाउण्डको मूल्य भने बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ४८ पैसा र बिक्री दर १४५ रुपैयाँ १३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

गर्मीयाममा ठेउलाको बढी समस्या

काठमाडौं । गर्मीयाममा धेरै मानिसहरुमा ठेउला देखिने गर्दछन् । ठेउला एकप्रकार खतिरा जस्तै हो । यो रोग विशेषगरी स–साना केटाकेटी वा बालबच्चाहरुमा देखिने गर्दछ । यो रोग लाग्दा बिरामीहरु जहाँ पायो त्यहीँ हिँड्ने, बोल्ने, हावामा बस्ने गर्नुहुँदैन । यो हावाको माध्यमबाट अरु व्यक्तिहरुलाई सर्ने रोग हो । के हो ठेउला ? ठेउला भेरिसेला जेस्टोर भाइरस नामको सूक्ष्म जीवाणुका कारण हुने गर्दछ । बिरामीले खोक्दा, बोल्दा तथा बिरामीको पानीफोका छुँदा अन्य व्यक्तिलाई सर्न सक्छ । ठेउला शरीरमा बिबिरा देखिएको एकदेखि दुई दिनअगाडिदेखि संसर्गमा भएका व्यक्तिहरूमा पनि सर्न सक्दछ । साथै, पानी फुटेर सुकुन्जेलसम्मको अवस्थामा पनि सर्ने सम्भावना उच्च रहन्छ । यो संक्रमणपछि बिबिरा बिरामीको अनुहारदेखि घाँटी हुँदै छाती तथा शरीरका सबै अंगमा देखापर्दै जान्छ । ज्वरो आउनु, थकान महसुस हुनु, टाउको दुख्नु यसका प्रमुख लक्षण हुन् । बिबिरा आउने–जाने क्रम झन्डै १० देखि २१ दिनभित्रमा देखापर्ने गर्दछ । जोखिम समूह एक वर्षमुनिका बालबालिका तथा पहिला कहिल्यै पनि संक्रमण नभएका वयस्कहरूलाई उच्च जोखिम हुने गर्छ । त्यस्तै, गर्भवती महिला तथा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई पनि जोखिम बढी हुन्छ । संक्रमण भएका नवजात शिशुमा ३० प्रतिशत मृत्युदर देखिएको छ । छालामा ब्याक्टेरियाको फैलावट तथा अति जलवियोजन ठेउलाका प्रमुख कारण हुन् । यो एकपटक संक्रमण भएको व्यक्तिको शरीरमा सुस्त अवस्थामा रहेको हुन्छ । जब कुनै कारणवश यसको सक्रियता बढ्छ, तब यसका लक्षण देखापर्दछन् । यसलाई नेपालीमा जनै खटिरा पनि भन्ने गरिन्छ । यसको निदान यसको पहिचान सामान्यतया बिरामीको लक्षण तथा शरीरमा देखिएको बिबिराको प्रकृतिका आधारमा गर्ने गरिन्छ । प्रयोगशाला निदान पनि गर्न सकिन्छ । ठेउला निदान गर्न एलिजा तथा पिसिआर विधि प्रयोग गर्न सकिन्छ । यद्यपि, नेपालमा यी दुवै प्रयोगशाला विधि प्रयोग गर्ने गरेको पाइँदैन । के गर्ने ? ठेउलाका लागि विशेष औषधि प्रयोग गरिँदैन । बिरामीलाई अन्य व्यक्तिको सीधा संसर्ग नहुने गरी राख्नुपर्छ । त्यो अवस्थामा झोलीय पदार्थ सेवन गरी लक्षणका आधारमा औषधि प्रयोग गर्न सकिन्छ । त्यस्तै, चिकित्सकको सल्लाहबमोजिम ठेउलाबाट हुने जोखिम न्यूनीकरणका लागि एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको समयमा नै निदान तथा उपचार नहुँदा  बिरामीको ज्यानै जान सक्ने भएकाले खोप नै यसको उपयुक्त विकल्प हुन सक्छ । यसको खोप दुईपटक दिने गरिन्छ । पहिलो खोप १२ देखि १५ महिनासम्म दिने गरिन्छ भने अर्को स्कुल जाने उमेर अर्थात् चारदेखि ६ वर्षको उमेरमा दिने गरिन्छ। खोप लगाउँदा ठेउला कहिल्यै नआउने भन्ने नभए तापनि दोस्रोपटक संक्रमण भएमा कडा रूप लिन पाउँदैन ।

सरकारी निकायका बैठक होटलमा नराख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी निकायका बैठक तथा कार्यक्रम होटेलहरुमा नराख्न निर्देशन दिएका छन् । राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास परिषद्को बैठक होटलमा राखेकोमा राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड’ले असन्तुष्टि जनाएका छन् । बिहीबार आयोगले १६औँ योजनाको मस्यौदामाथि छलफल गर्न राजधानीको एक होटलमा बैठक राखेको थियो ।बैठकलाई सम्बोधन गर्ने क्रममा होटलमा कार्यक्रम आयोजना गरिएकोमा प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘म कार्यक्रममा आउँदै गर्दा योजना आयोगका उपाध्यक्षलाई मैले सोधेँ, किन होटलमा कार्यक्रम राखेको, सिंहदरवारमा हाम्रो छँदैछ नि, ४१३ पनि छ, अर्को ठूलो हल पनि छ ।’ बैठकमा सामूहिक छलफलको समेत कार्यक्रम राखिएका कारण स्थान अपुग हुने भएर होटलमा कार्यक्रम राखिएको जवाफ उपाध्यक्षले दिएको प्रधानमन्त्री ‘प्रचण्ड’ले जानकारी दिए ।प्रधानमन्त्री प्रचण्डले भने, ‘यस पटक त भयो, आगामी दिनमा यस्ता सबै कार्यक्रम सिंहदरवारमै गरौँ, त्यहाँ जति पनि ठाउँ छ ।’

२८.६२ अंकले बढ्यो नेप्से

काठमडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २८.६२ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक १.४३ प्रतिशत बढेर २०२७.५१ विन्दुमा बन्द भएको छ । यसदिन चार अर्ब आठ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका कुल कम्पनीमध्ये २१९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ। तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । समाज लघुवित्त, उपकार लघुवित्त र यूनिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ। आज सर्वाधिक परिसूचक वृद्धि लघुवित्त समूहको भएको छ । यो समूहको परिसूचक ३४४ प्रतिशतले वृद्धि भएको छ।

यस्ता छन् चैत ३० गतेको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा संवत् २०८० चैत ३० गते बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय लिएको छ । नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले बैठक पछि आज पाँच वटा निर्णय सार्वजनिक गरेकी छिन् । यस्ता छन् २०८० चैत ३० गतेको मन्त्रीपरिषद बैठकका निर्णयहरू  १. कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऎन, २०७१ को दफा ३ बमोजिम दुबै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न देहायको सिफारिस समिति गठन गर्ने :  क. सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्र - अध्यक्ष  ख. राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य- सदस्य  ग. मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद, विधि बिज्ञानवेत्ता, द्वन्द्वविद, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संग्लन व्यक्तिहरु मध्येबाट देहाय बमोजिमका सदस्यहरु -   सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री जगदीशप्रसाद शर्मा पौडेल - सदस्य   डा. अर्जुनकुमार कार्की - सदस्य    श्री स्टेला तामाङ - सदस्य  २. कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने ।  ३. परराष्ट्र मन्त्रालयको प्रस्तावमा सयुक्त राज्य अमेरिकाको ओहोयो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदुत पदमा नियुक्त गर्ने ।  ४. संसदको चालू अधिवेशन २०८० वैशाख २ गते रातको १२ बजेदेखि अन्त्य गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने ।  ५. राष्ट्रियसभामा रिक्त रहेको सदस्यमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने ।

विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । १ सय ८५ औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले आज ललितपुरको पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसंग सम्बन्धित रहेर 'When Mountain Smiles' विशेष फोटो प्रदर्शनीको आयोजना गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला अधिकारी श्रेष्ठले विश्व फोटोग्राफी दिवसको शुभकामना दिँदै फोटो प्रदर्शनीमा देशभरको हिमालको फोटो समेटेर जलवायु परिवर्तनले हिमालमा पारेको असरका विषयमा फोटो माध्यमबाट उजागर गर्न खोज्नु भएको छ यो धेरै राम्रो काम भएको बताए । ´आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम गर्दै सम्बधित निकायलाई झकझकाउने काम गर्दै गर्नु होला ।` उनले भने ।  प्रदर्शनीमा ४० भन्दा बढी  फोटो पत्रकारहरूले खिचेका ६० वटा हिमालसंग सम्बधित तस्वीरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए । एनएफपिजे नेपालले विश्व फोटोग्राफी दिवस निरन्तर रूपमा  मनाउँदै आइरहेको छ। अघिल्लो वर्ष पनि दिवस मनाउने क्रममा बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्वीरहरू  प्रदर्शनीमा राखिएको थियो।  पछिल्लो समय जलवायु परिवर्तन कारण हिमालहरू पग्लिने र हिमतालहरू विस्फोटका कारण त्यहाँका जनतालाई परेको असरलाई फोटो मार्फत देखाउनको लागि सो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए। उनले १ सय ८५ औँ विश्व फोटोग्राफी दिवस अवसरमा सम्पूर्ण फोटो पत्रकारलाई शुभकामना दिँदै   “हिमाली क्षेत्रमा जलवायु परिवर्तनले नराम्रो असर गरिरहेको छ। वन डढेलो, हिउँ पग्लने, हिमताल विस्फोट हुने जस्ता समस्या बढिरहेका छन्,” वन्तले भने, “जलवायु परिवर्तनको असरका कारण हिमाल र हिमाली क्षेत्र जोखिममा परेको छ। पर्वतीय क्षेत्रलाई जलवायुको संकटबाट बचाउन समयमा नै सबैले ध्यान दिन जरुरी छ।”

नेप्से २३.८१ अंकले घट्यो

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषणपछिको पहिलो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा रोकिएको हो । बुधबार चार अर्ब ५७ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ ।आज युनिलिभर नेपाल, कालिन्चोक दर्शन, अपर लाहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । युनिलिभरको सेयर मूल्य एकै दिन तीन हजार ९३५ रुपैयाँ बढेको छ भने कालिन्चोक दर्शनको सेयर मूल्य प्रतिकित्ता ११२ रुपैयाँले बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक घट्नेमा वाणिज्य बैंकिङ समूह छ । 

धादिङ अस्पतामा कार्यरत सर्जन डा.प्रतिभा काठमाडौँको छाउनीमा मृत फेला

काठमाडौँ । काठमाडौँको छाउनीमा एकजना चिकित्सक मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा.प्रतिभा धौभडेल मृत भेटिएकी हुन् ।  उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।  असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौँ आएकी हुन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

नेप्से परिसूचक २३ दशमलव २५ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ। आज नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो। आज तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता शेयर ७२ हजार सात सय १४ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार बराबरको कारोबार भएको छ । विकास बैंक समूह शून्य दशमलव २९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैकिङ समूह एक दशमलव ६९ प्रतिशतले बढेको छ । आजको कारोबारमा १० दशमलव २५ प्रतिशत एसबिएल डिबेञ्चर–२०८३ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको रु १५ करोड आठ लाख ९९ हजार आठ सय ५९ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी उन्नती कोषको दश लाख सात हजार तीन सय ५० कित्ता शेयर किनबेच भएको छ ।

रिटर्नी नेपालको अध्यक्षमा सम्वाहाङ्फे, महासचिवमा भट्टराई

काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपालको प्रथम महाधिवेशनबाट अध्यक्षमा देवेन्द्र सम्वाहाङ्फे र महासचिवमा घनश्याम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी मेजरकुमार राईलाई १८ मतले पछि पार्दै सम्वाहाङ्फे अध्यक्ष चुनिएका हुन् । पाँचथरका सम्वाहाङ्फेले ४७ र उदयपुरका राईले २९ भोट पाए। चितवनमा आयोजित प्रथम महाधिवेशन माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले गत चैत ८ गते उद्घाटन गरेका थिए।महाधिवेशनबाट ९० सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिएको थियो।तर पदाधिकारीमा सहमति नजुटेपछि वैशाख ८ गते (शनिबार)काठमाडौंको कोटेश्वर पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो। ७८ जना उपस्थित निर्वाचनबाट अध्यक्षमा सम्वाहाङ्फेसहित १७ सदस्यीय पदाधिकारी चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की तथा ४ जना उपाध्यक्षहरुमा भिम रोकाय (मुस्कान), कृष्णकुमार सिंह (अस्मित), चेतना श्रेंग र नविराज खान चुनिएका छन्। यसैगरी, महासचिवमा घनश्याम भट्टराई तथा दुई जना उपमहासचिवमा विशाल भण्डारी र निमेषकुमार ओली चयन भएका छन् । एकमात्र कोषाध्यक्ष पदमा धनध्वज मल्ल ठकुरी चयन भएका छन् । यसैगरी सातै प्रदेशबाट एक–एक जना गरी ७ सचिवहरुमध्ये चार सचिव चुनिएका छन् । बाँकी ३ सचिवको भने टुंगो लागेको छैन । कोशी प्रदेश सचिवमा राम सन्जेल, मधेश प्रदेश सचिवमा बुद्ध स्याङ्गबो लामा, लुम्बिनी प्रदेश सचिवमा दिनेश भुषाल र कर्णाली प्रदेश सचिवमा जनक परियार चुनिएका छन् । बागमती, गण्डकी र सुदूरपश्चिम सचिवमा भने निर्णय हुन बाँकी छ । अध्यक्ष सम्वाहाङ्फले बागमती, गण्डकी र सुदूरपश्चिम सचिवबारे पछि प्रदेश कमिटीले निर्णय गर्ने बताए । ‘प्रदेश कमिटीले सिफारिस गर्ने र चुनाव गर्ने भन्ने हो तर बागमती, गण्डकी र सुदूरपश्चिममा सचिवका आकांक्षीहरु धेरै भएपछि प्रदेश कमिटीले सिफारिस नै गरेन,’ अध्यक्ष सम्वाहाङ्फेले भने, ‘अब प्रदेशले आवश्यक निर्णय गर्छ ।’ वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई संगठित गर्ने उद्देश्यले माओवादी केन्द्रले रिटर्नी सेन्टर नेपाल संगठन बनाएको हो । यसको पहिलो राष्ट्रिय भेला २०८० साल जेठ २६ गते काठमाडौंमा भएको थियो। आफूहरुले ६० भन्दा बढी जिल्लामा संगठन विस्तार गरेको र १० महिनाको बीचमा पहिलो महाधिवेशन गरिएको अध्यक्ष सम्वाहाङ्फेले बताए।

राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

बुधबार सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीले उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

दुई वर्षमा चौध हिमाल चढेर दुर्लभ कीर्तिमान बनाउने १८ वर्षे निमा रिञ्जी शेर्पा

काठमाडौं । नेपालका निमा रिन्जी शेर्पाले पर्वतारोहणको क्षेत्रमा एउटा दुर्लभ कीर्तिमान बनाएका छन्। विश्वका ८,००० मिटरभन्दा अग्ला सबै हिमाल चढिसक्दा उनको उमेर १८ वर्ष पाँच महिना मात्र भएको छ। चौधौं हिमालको रुपमा उनले ८,०२७ मिटर अग्लो शिशापाङ्मा हिमाल आरोहण सम्पन्न गरेका छन् । उनी पासाङ नोर्बुसँग यो चुचुरो पुगेका हुन् । उनको जन्म सङ्खुवासभाको मकालु क्षेत्रमा पर्ने शेर्पागाउँमा भएको थियो। तर उनको अधिकांश बाल्यकाल काठमाडौंमा बित्यो। उनको दिनचर्यामा विकट हिमाली भेगको उकालीओराली थिएन। उनी सुविधासम्पन्न विद्यालय गए र आमाबुवाको मायाले उनले कहिल्यै केही कुराको अभाव महसुस गर्नुपरेन। “म आफैँ पनि हिमालतर्फ आकर्षित भएँ। मानसिक हिसाबले बलियो भएका कारणले बाबाले पनि पूर्ण समर्थन गर्नुभयो। मेरो स्वयंको चेतनाबाट निर्णय लिएको हुँ। बच्चैदेखि मैले मेरो बलियो पक्ष थाहा पाइसकेको थिएँ,” उनले मिडियालाई भनेका छन् । पर्यटन क्षेत्रका विज्ञहरुले उनले राखेको कीर्तिमान असाधारण भएको भन्दै विश्व पर्वतारोहण जगत् र नेपाल दुवै यसबाट गौरवान्वित हुने बताएका छन् । 

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ २४ गते बिहीबार सन् २०२४ जुन ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार बढेको अमेरिकी डलर , युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बिहीबार सामान्य अंकले घटेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ शून्य पैसा र बिक्री दर १७० रुपैयाँ ७६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

भारत र चीनबीचको पुल नेपाल लगानीकर्तालाई आकर्षक गन्तव्य : मन्त्री पुन

  काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् ।अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीसँग वासिङटन डीसीमा भएको अन्तरक्रियामा मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको बताएका हुन्। भू–परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र पुल नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो । नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले बताए । निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको स्पष्ट नीति रहेको चर्चा गर्दै उनले निर्यातमा प्रोत्साहन, लचिलो कर नीति तथा सजिलै मुनाफा लैजान सकिने नीतिगत व्यवस्थाका कारण अनतर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल बलियो गन्तव्य हुन सक्ने उनले उल्लेख गरे । पछिल्लो समय नेपालको वैदेशिक मुद्रा सञ्चितिले उच्च विन्दु कायम गरेको भन्दै उनले समग्रमा आर्थिक अवस्था राम्रो रहेको तथा आर्थिक गतिविधिहरु बढ्न थालेकाले अर्थतन्त्र दबाबमुक्त रहेको बताए । मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा ‘उदीयमान नेपाल’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरेको स्मरण गराउँदै त्यसअघि नै सरकारले अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका करिब एक दर्जन कानुनमा संशोधन गर्न लागेको जानकारी दिए । सो अवसरमा कम्पनी दर्ता र लगानीको सुरुवात तथा नाफा बाहिर लैजान पाउने गरी व्यवहारिक प्रक्रिया तय गरिने, लगानीको वातावरण बनाउने गरी कानुन परिर्माजन गरिने प्रतिबद्धता उनले जनाए।नेपाल कानुनको शासन भएको लोकतान्त्रिक मुलुक भएकाले उद्योग–व्यवसाय मैत्री कानुन र संरचनाको राम्रो विकास गरिएको मन्त्री पुनले जानकारी दिए। सरकारका तर्फबाट लगानीकर्ताहरूलाई सहजीकरण गर्न तथा लगानीमैत्री र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्न सरकार तयार रहेको बताए । लगानी सम्मेलनका क्रममा लगानी बोर्डले जलविद्युत् उत्पादन, प्रसारणलाइन विस्तार, पर्यटन, कृषि उत्पादन र सूचना प्रविधिसहित १ सय ३३ वटा आयोजना प्रदर्शनीमा राख्ने जानकारी दिँदै मन्त्री पुनले अमेरिकाबाट निजी क्षेत्रका प्रतिष्ठित घरानाहरुको सहभागिता हुने विश्वास गरिएको बताए । अमेरिकाले लामो समयदेखि ऋण र अनुदान सहायतामार्फत नेपालको विकासमा हातेमालो गर्दै आएको भए पनि निजी क्षेत्रको लगानी भने न्यून रहेको उनले उल्लेख गरे । अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुन सक्ने मन्त्री पुनको भनाइ थियो । कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कस्यप लगायत सहभागी थिए।