४७ अंकले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४७ अंक बढेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा बन्द भएको हो ।

यसदिन चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो। त्यसपछि पुनः पाँच प्रतिशत बजार बढेर ४० मिनेट बन्द भएको थियो । 

११ बजेर २१ मिनेट जाँदासम्म बजार १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुसम्म पुगेको थियो । त्यसपछि मध्याह्न १२ बजे खुलेको बजार निरन्तर ओरालो लागेको थियो ।   

आज नेप्से परिसूचक २.२९ प्रतिशतले बढेको छ । २२७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ । हिमालयन डिष्टिलरीको सेयर मूल्य प्रतिकित्ता ८.५४ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहको परिसूचक नै बढेको छ । परिसूचक सर्वाधिक वृद्धि उत्पादन तथा प्रशोधन समूहको ३।३ प्रतिशतले वृद्धि भएको छ ।
 

एआईजीपी ज्ञवालीमाथि छानबिन, सीआईबी प्रमुख फेर्ने प्रपञ्च

काठमाडौँ ।प्रहरी महानिरीक्षक मातहत रहेका विभिन्न निकायमध्ये एक निकाय हो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) । तर सरकार बदलिएको केहि समयमै सीआईबी प्रमुख भएका श्याम ज्ञवालीमाथि नै अनुसन्धानको गर्न लागिएको छ । उनले आफ्नो पद मात्र होइन, प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै संगठनभित्रैबाट छानबिन सुरु गरिएको हाे । केही समय अघि श्यामलाल ज्ञवालीलाई सीआईबी प्रमुखको साँचो सुम्पेका प्रहरी महानिरीक्षक (आईजीपी)बसन्तबहादुर कुँवरको निर्देशनमा सरकार परिर्वतन हुनासाथ प्रशासन विभागमा कार्यरत एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन गर्न समिति गठन गरेका हुन् ।   प्रहरी प्रधान कार्यालयको यो कदमलाई आम जनता र सुरक्षा मामला सम्बन्धि जानकारहरुले गम्भिरतापूर्वक लिएका छन् ।एआईजीपी राईको नेतृत्वमा ५ जनाको छानबिन समिति बनाइएको स्रोतको भनाई छ। एआईजी ज्ञवालीमाथि प्रहरीको उजुरी छानबिन निर्देशनालयमा उजुरी परेकाले छानबिनका लागि समिति गठन गरिएको बताइएकाे छ । उनी माथिको अनुसन्धान अघिल्लो सरकारले जिम्मा दिएका प्रहरी अधिकारीमाथि नयाँ सरकारको टार्गेट हो कि ज्ञावाली दोषी नै हुन् खुल्दै जाला तर सरकार परिर्वतन हुनासाथ अघिल्लो सरकारका समयमा जिम्मेवारी पाएका प्रशासकमाथि अनुसन्धान अघि बढाइनुलाई अधिकांश जनताले संकाको नजरले हेरेका छन् ।यसलाई धेरैले सीआईबी प्रमुख फेर्ने प्रपञ्चको रुपमा पुझेका छन् ।

धौलागिरी हिमालमा पाँच रसियाली पर्वतारोहीको मृत्यु

पोखरा । म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको यकिन भएको आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक फुनुरु शर्पाले जानकारी दिनुभयो ।  पाँच पर्वतारोही सात हजार सात सय मिटरबाट खसेर सात हजार एक सय मिटरमा पुगेको उहाँले उल्लेख गर्नुभयो । “पाँच जनाको मृत्यु भएको यकिन भएको छ, एक जनालाई क्याम्प एकबाट उद्धार गरेका छौं," शेर्पाले भन्नुभयो ।  अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको मृत्यु भएको हो । हेली एभरेष्टको हेलिकोप्टरबाट भालेरी सामालोलाई उद्धार गरी काठमाडौं लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले जानकारी दिनुभयो । चौथो क्याम्पमा पुगेपछि माथि जान नसकेपछि भालेरी तल झर्नुभएको थियो । यो पर्वतारोहीको टोली तीन हप्ताअघि धौलागिरीतर्फ गएको थियो । अब मृतकका परिवारका सदस्य र रसियाली दूतावासलाई खबर गरी शवहरु ल्याउने व्यवस्था गरिने आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक शेर्पाले जानकारी दिनुभयो । 

वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण, कारोबार रकम कति ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरुको आकर्षण वाणिज्य बैंकतर्फ देखिएको छ। नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंकहरुको शेयरमूल्य बढेसँगै यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढेको छ। १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ६।२८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीव्न बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। बिहीबार नेप्से परिसूचक ५९.६८ अंक बढेर २४२४.३२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १६.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.५१ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो काारेबार दिन १२ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३१२ स्टकको १ लाख ८४ हजार ७१२ पटकको कारोबारमा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४२ करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन अप्पर तामाकोशी हाइड्रोपावरको करिब ३९ करोडको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३० करोड नाघेको छ। बिहीबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कुमारी बैंक र प्रभु बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ४.५७ प्रतिशत घटेको छ।

फ्रेन्डसिप कपको च्याम्पियन बन्यो नेपाल

काठमाडौं। एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितानमा नेपाल च्याम्पियन बनेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा आइतबार भएको फाइनल खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई १८ रनले हरायो ।  जितका लागि एक सय ७७ रनको लक्ष्य पछ्याएको घरेलु टोली गुजरात निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५८ रनमा समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७४ रन बनाए। यस्तै आशिफ शेखले ३४, कुशल मल्लले अविजित ३१, कुशल भुर्तेलले २१ र दीपेन्द्रसिंह ऐरीले सात रन बनाए। बलिङमा गुजरातका जयमति पटेल, सेन पटेल, तेजास पटेल र जाला युजराजसिंहले एक एक विकेट लिए।  नेपाल गुजरातमाथि ह्याट्रिक जित निकालेको हो । लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले हराएको थियो । नेपालले बरोडा क्रिकेट सङ्घलाई २७ रन हराएको नेपाल लिग चरणको अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो । गुजरात बरोडालाई पाँच विकेट र ५७ रनले पराजित हराएर फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको हो । 

दसैंमा टीका र दक्षिणाको के छ महत्व ?

काठमाडौं । धर्मशास्त्रीहरूले दसैंमा विभिन्न समुदाय र क्षेत्रका मानिसले लगाउने विभिन्न रङका टीकाको विशेष महत्त्व भएको बताएका छन्। त्यसबाहेक टीका लगाउने साइत र टीका लगाएपछि दिइने दक्षिणाको पनि आ(आफ्नै महत्त्व रहेको उनीहरू बताउँछन् ।  घटस्थापनाबाट सुरु हुने दसैंमा दशौँ दिन अर्थात् दशमीको दिन मान्यजनको हातबाट टीका थापेर दक्षिणा लिने वा दिने गरिन्छ। त्यसपछि आशीर्वाद लिने वा दिने काम गरिन्छ। ठाउँअनुसार दसैंमा कुनै समुदायले रातो, कुनैले सेतो, कुनैले पहेँलो र कुनैले कालो रङको समेत टीका लगाउने गर्छन्। दसैंमा धेरै मानिसहरूले खासगरी हिन्दू समुदायका धेरैले रातो टीका लगाउने गरेको पाइन्छ। राई, लिम्बु, मगर, थारु, तामाङ र गुरुङ समुदायका कैयौँले भने दशैँमा अबिर वा केशरी नमिसाइएको सेतो टीका लगाउने गरेको पाइन्छ। कसै कसैले दशैँमा देवीका लागि बालिएको दियोमा जम्मा हुने ध्वाँसो चामलमा मिसाएर मुछेर कालो टीका बनाएर लगाएको पनि देखिन्छ। त्यस्तै पश्चिम नेपालको दैलेखको दुल्लुमा पहेँलो टीका लगाउने चलन रहे पनि पछिल्लो समय त्यो चलन हट्दै गएको त्यहाँका संस्कृतिविद्‌हरू बताउँछन्य सरी ठाउँ अनुसार फरक फरक टीका लगाउनुको पनि आफ्नो महत्त्व रहेको संस्कृतिविद् डाक्टर कान्ता भट्टराईको भनाई छ । विजया दशमी भनेको शक्तिको उपासना गरिने पर्व हो। रातो शक्तिको प्रतीक हो, सेतो सात्त्विकको प्रतीक हो भने कालो महाकालीको स्वरूप भएका कारण शक्तिकै प्रतीक हो। पहेँलो भनेको पनि सात्त्विकको प्रतीक हो। दशैँमा लगाइने टीकामा अक्षता, दही, रङका लागि अबीर वा केशरी अनि केरा मिसाउने गरिन्छ। यी सबै सामग्रीको पनि आफ्नै महत्त्व भएको संस्कृतिविद्हरु बताउँछन् ।  नेपालीहरुले मान्ने प्रायः सबै चाडपर्व कृषिसँग सम्बन्धित छन् । कृषि र प्रकृतिसँग जोडिएका पर्व भएकाले टीकामा अक्षता, दही, केरा र रङको प्रयोग गरिन्छ भने अनाज उमारेर जमरा लगाउने प्रचलन छ । 

‘ब्याड लोन’ उठाउने कम्पनी खोल्न ऐन बनाउँदै राष्ट्र बैंक

काठमाडौं ।नेपाल राष्ट्र बैंकले ‘ब्याड लोन’ उठाउने छुट्टै कम्पनी सञ्चालनमा ल्याउन ऐन बनाउने तयारीमा जुटेको छ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा उठाउन नयाँ कम्पनी आवश्यक पर्ने भएकाले त्यसका लागि ऐनको ड्राफ्ट भइरहेको बताए। आइतबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले ब्याड लोन उठाउन कम्पनी आवश्यक महसुस भएको बताएका हुन्। कम्पनी ऐनले स्थापना भएको कम्पनीले यो काम गर्न सहज नहुने भन्दै यसका लागि विशेष किसिमको ऐनको आवश्यकता महसुस गरिएको उनले बताए। तर, यसको मोडालिटी कस्तो हुने भन्ने विषयमा थप छलफल गर्ने गभर्नर अधिकारीले बताए। 

आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल  ६ विकेटको क्षतिमा १७४ रन

काठमाडौं। आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।  जारी खेलमा १७ ओभरमा ६ विकेटको क्षतिमा १७४ रन बनाएको छ । मल्लले १२ बलमा ३४ रन बनाएका आउट भएका छन् । अहिले क्रिजमा सन्दीप जोरा र विवेक यादव  क्रिजमा छन् ।

आज ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

काठमाडौं ।आज ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउँदै आइएको छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन सुरु गरिएको हो । यस वर्षको महिला दिवसको नारा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ। नेपालमा पनि आज यो दिवसका अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्। विशेषगरी महिला संघसंस्थाले आज विविध कार्यक्रम गर्दैछन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको लागि संयुक्त राष्ट्र संघबाट "Invest in Women: Accelerate Progress" भन्‍ने अन्तर्राष्ट्रिय नारा र “महिलामा लगानी : सभ्य र समुन्‍नत समाजको थालनी” भन्‍ने राष्ट्रिय नारा तय  गरिएको छ। 

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले नेपाल न्याय सेवा कानुन समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत आलोकचन्द्र श्रेष्ठ, परासर ढुंगानालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा र ढुंगानालाई नेपाल कानुन आयोगमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यस्तै, सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपद प्रहरीतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । नेपाल प्रहरीतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरोमा, श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा, किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेको छ । एआईजीमा बढुवा भएका रामदत्त जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालमा सरुवा गरेको छ ।

वेस्ट इन्डिज एसँग खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी–२० खेलको सिरिजका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा समाबेश गरिएको छ । आकाश तीव्र गतिका बलर र आरिफ मध्यक्रमका ब्याटर हुन् ।  नेपालले अन्य टोलीमा भने परिवर्तन गरेको छैन । पर्सी शनिबार नेपाल र वेस्टइन्डिज ए बीचको पहिलो खेल हुनेछ । नेपालले जेठमा हुने आईसीसी टी–२० विश्वकपअघि यस सिरिजलाई तयारीको रुपमा लिएको छ । नेपालको टोलीः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द ।

जापानी ‘ओके बाजे’लाई पाल्पामा सम्मान

पाल्पा । तीन दशकदेखि पाल्पाको पूर्वीभेगमा रहेर सामाजिक सेवा गर्दै आएका जापानी नागरिक काजुमासा काकिमीलाई रामपुर किसानबारीमा शनिबार सांस्कृतिक झाँकीसहित अभिनन्दन गरिएको छ । पाल्पा, नवलपुर र नवलपरासीका विभिन्न शैक्षिक संस्था, स्थानीय तह, सामाजिक विकास संघसंस्था, क्लबलगायतले उनलाई र्‍यालीसहित रामपुर नगरक्षेत्रमा रथारोहण सहित परिक्रमा गराइएको थियो । काकिमीको बालबालिकासहितको पूर्ण कदको प्रतिमासमेत स्थापना गरिएको छ । मितेरी पार्कमा प्रतिमा राखिएको छ । पदयात्रीका रूपमा ३० वर्षअघि नेपाल आएका काकिमी सामाजिक सेवामार्फत पाल्पालीको उन्नतिका लागि निरन्तर सक्रिय छन् । काकिमीले गरिबी, अशिक्षा र पछौटेपन देखेर पूर्वखोला गाउँपालिका–२ जल्पाको ढोलीमाराबाट सामाजिक काम थालेका थिए । काकिमी त्यसताका नेपाली भाषा नबुझे पनि कुरा गर्दा ‘ओके ओके’ भन्ने गरेकाले स्थानीयले उनको उपनाम नै ‘ओके बाजे’ दिएका थिए । यहाँका २ सय ५० भन्दा बढी संघसंस्थाले उनको सम्मान गरेका हुन् । यातायातको सुविधा नपुगेको, ग्रामीण विकट बस्ती, हिँडेर जानुपर्ने स्थानमा पुगेर जनताको सेवा गर्ने गरेको आफूले पाएको अभिनन्दन समितिका संयोजक भीमविश्व भट्टराईले बताए । जापानका विभिन्न संस्थासँग सहयोग मागेर उनले यहाँ खर्चिंदै आएका छन् । जापानमा आफूले पाएको सम्मानको रकमबाट यहाँ अक्षयकोष खोलेका छन् । जसबाट दुर्गम, मगरबस्ती, खसभाषा नबुझ्ने गाउँका विद्यार्थी पढ्न सक्ने भएका छन् । उनले विद्यालय भवन निर्माण गर्नुका साथै विद्यालय जान नसक्नेलाई घरमै पढ्न बालकक्षा पनि सञ्चालन गरेका छन् । सिलुवा, ज्यामिरे, मित्याल, बांकामलांग, ख्याहालगायतका स्थानमा झोलुंगे पुल निर्माणमा समेत सहयोग गरेका छन् । काकिमीले तानसेनको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा खाता खोलेर गरिब र औषधि उपचार गर्न नसक्नेका लागि निःशुल्क सेवा पुर्‍याएका छन् । यातायात, कृषि, सिँचाइ, पुललगायतका विकास निर्माणका काम गरेका छन् । उनले ७ सय बढी शौचालय बनाउन पनि सहयोग गरेका छन् ।

सिमलताल पहिरो: भेटिएका दुबै मृतक भारतीय नागरिक

चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनार तथा चितवनको भरतपुर–२८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले गैंडाकोटमा भेटिएको शव भारत बेतिया मझेलिया थाना, गुठिया ईन्दु घर भएका ३० वर्षका सजाद अन्सारीको भएको जनाएको छ । प्रहरीका अनुसार उनका दाजु मेराज हुसेनले शवको सनाखत गरेका हुन् । उनी कलंकीमा ब्यवसाय गरेर बस्ने गरेका थिए । उनी वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसका यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । उनको शव मुचुल्का गरेपछि पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । यस्तै पश्चिम चितवनको भरतपुर–२८ गोलाघाटमा आइतवार बिहान भेटिएको अर्को शव पनि भारतीय नागरिककै भएको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मृतक व्यक्ति ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर रहेको जानकारी दिएको छ । भारत बिहार पश्चिम चम्पारण बेतियाथाना बस्ने ठाकुरको शव उनका दाइ ओमप्रकाश ठाकुरले सनाखत गरेको प्रहरीको भनाई छ । ठाकुर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु थिए । यही असार २८ गते बिहान भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा आएको पहिरोले दुईवटा बस बगाएको थियो । काठमाडौंबाट गौर जाँदै गरेको बसमा ३८ र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा २७ यात्रु रहेको अनुमान रहेको छ । तीमध्ये काठमाडौंबाट रौतहट जाँदै गरेको बसका ३ यात्रुले मात्रै पौडिएर ज्यान बचाएका थिए । वेपत्ता भएकाहरुमध्ये अहिलेसम्म ५ जनाको मात्र शव भेटिएको छ । पाँचै जनाको सनाखतसमेत भैसकेको छ । शनिवार ३ जनाको र आज २ जनाको मात्रै शव भेटिएको हो । यसअघि शनिवार दिउँसो भरतपुर–२८ गोलाघाटमा भारतीय नागरिक ऋषि पल साह र पूर्वी नवलपरासीको गैंडाकोटमा चितवनको माडी नगरपालिका–१ का विकास परियार र सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझीको भएको पुष्टि भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले अन्य बेपत्ता भएकाहरुको खोजी जारी राखेको छ । 

एन्फा उपाध्यक्ष दावा लामा रिहा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए  पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा रिहा भएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई आज बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनलाई रिहा गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो । उनी सजाय भुक्तान नगरी फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उच्चको फैसलाविरुद्ध लामा सर्वोच्च गएको र सर्वोच्चले तत्काल पक्राउ नगरी तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि उनी रिहा भएका हुन् ।

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक पहुँच हो : प्रधानमन्त्री प्रचण्ड

महिला सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ । त्यसैले आजको दुनियामा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ ।

कोटेश्वरको रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन्। रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए।  गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।