राधिका अर्याल बनिन् पहिलो महिला सञ्चार सचिव

काठमाडौं । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको रूपमा राधिका अर्यालले पदभार ग्रहण गरेकी छिन्।योसँगै मन्त्रालयको इतिहासमा अर्याल पहिलो महिला सचिव बनेकी छन्।

बुधवार पदभार सम्हाल्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिइन्। उनले सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन, सूचना प्रवाह, र विकासतर्फ उन्मुख गराउन मद्दत पुग्ने बताइन्।

मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयका गतिविधिबारे सचिव अर्याललाई जानकारी गराएका थिए।सरकारले उपराष्ट्रपति कार्यालयमा कार्यरत अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको हो । उनले लुम्बिनी प्रदेशको पहिलो महिला प्रमुख सचिवका रूपमा समेत काम गरिसकेकी छन् ।

सहसचिव रहँदा उनले सञ्चार मन्त्रालयमा नै प्रशासन तथा योजना महाशाखा प्रमुखको रूपमा जिम्मेवारी सम्हालेकी थिइन् ।

सत्ता हारेर राजनीति जितेका प्रचण्ड

विश्वासको मत माग्दै संसद्मा प्रचण्डले भने– कुनै ओम्नी र गिरीबन्धुहरूको बोझ र कलंक नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेस गर्‍यौँ सरकारले राज्यबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहको सरलीकरणको प्रयास गर्‍यो । सरकारले विश्वविद्यालयमा मेरिटोक्रेसीको प्रयास गर्‍यो । सरकारले जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गर्‍यो । देशको एउटा विशेष वर्ग कानुनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गर्‍यो । कुनै यती, कुनै ओम्नी र कुनै गिरीबन्धुहरूको बोझ र कलंक नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेस गर्‍यो । एउटा वर्गले सरकारी जग्गा लुटे पनि हुने भयो । तस्करी गरे पनि हुने भयो । कानुन मिचे पनि हुने भयो । यसले आमजनतामा घृणा र आक्रोश बढायो र लोकतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था पैदा भयो । त्यो वर्ग यति शक्तिशाली भइसकेको थियो कि त्यसलाई दण्डित गर्ने त परको कुरा, प्रश्न गर्ने हैसियत पनि धेरै राजनीतिज्ञहरूले गुमाइसकेका थिए । तर, मैले त्यो वर्गसँग सम्झौता गरिनँ । म जनतालाई बुझिने गरी भन्न चाहन्छु, सरकार नै ढल्ने जुन परिस्थिति आज बन्यो, त्यो सरकारले कानुनको पालना गराउने, विधिको शासन सुरु गर्ने र सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण बन्यो । सरकार परिवर्तनमा संलग्न पात्रहरूलाई हेर्नोस्, परिवर्तनको कारण त्यसै थाहा हुन्छ ।  नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो बन्द कोठा चाहिन्छ ?  अत्यन्त रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा पनि गर्दै हुनुहुन्छ । लामो संघर्ष र ठूलो बलिदानबाट जनताले प्राप्त गरेका अधिकार खोस्ने जमर्को गर्दै हुनुहुन्छ । तपाईंहरूको यात्रा प्रतिगमनतिर हो भन्ने कुरा तपाईंहरूको सहमतिको तरिका, सहमति गरेको ठाउँ र सहमतिको समयबाट आमजनताले बोध गरिसकेका छन् । तपाईंहरू यति धेरै अपारदर्शी हुनुहुन्छ कि जनताको त कुरै छोडौँ आफ्नै पार्टी पंक्तिलाई समेत अन्धकारमा राखिरहनुभएको छ । नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो बन्द कोठा चाहिन्छ ? झुटमुट र कुतर्कको सहारा र मध्यरात चाहिन्छ ?  तपाईंहरूलाई कसले किन मिलायो, घामजत्तिकै छर्लंग छ प्रधानमन्त्रीका रूपमा मैले लोकतन्त्रको सर्भिसिङ सुरु गरेँ, लोकतन्त्रको गोडमेल सुरु गरेँ । कसैका प्रोफाइल हेरिनँ, विधिको शासन सुरु गरेँ । राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुधेँ । कांग्रेस–एमालेका सीमित नेताको दाबी होला– हामी आफैँ मिलेका हौँ । त्यो सत्य होइन । तपाईंहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लंग छ । सीधै कांग्रेस–एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ ।  जनताले आफ्नो शक्ति देखाउनुभएन भने देशको पूरै शासन फेरि माफियाहरूकै अधीनमा हुनेछ त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो, एउटा समूह डरायो । ललितानिवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरु भयो, अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरु भयो, अर्को समूह डरायो । बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि यो देशको शक्तिसन्तुलन नै खलबलिएजस्तो भयो । त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो । जनतालाई मेरो अपिल छ, जाग्नुस् र तपाईंहरूले पनि अब आफ्नो शक्ति देखाउनुस् । जनताले आफ्नो शक्ति देखाउनुभएन भने देशको पूूरै शासन फेरि माफियाहरूकै अधीनमा हुनेछ । संविधान मध्यरातमा च्यात्न खोज्दा सडकमा पलेटी कसेर बचाएको हो मैले दश दिनभित्रै विश्वासको मत लिने जानकारी सदनलाई गराएँ । तैपनि केही साथीहरू डराइरहनुभयो र राजीनामा मागिरहनुभयो । साथीहरूको आपसी विश्वास कमजोर भएर हो वा षड्यन्त्र आफैँ सधैँ कमजोर हुने भएर हो, तर्सिरहनुभयो । आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गर्नुभयो । ती साथीहरूलाई म यत्ति भन्छु, यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन । उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूका जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।  कांग्रेस–एमालेले साना दललाई गर्भमै मार्न चाहेका छन् कताकता तपाईंहरूले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त गर्न खोज्नुभएको षड्यन्त्रको गन्ध आउँछ । तपाईंहरूको इच्छा ०४७ सालकै संविधानको वरिपरि फर्किने होला ।  अस्थिरताको कारण देखाएर तपाईंहरूले समावेशी र समानुपातिक प्रतिनिधित्व अनि साना दलहरूको अस्तित्व समाप्त पार्न खोज्नुभएको स्पष्ट देखिन्छ । केही पश्चिमी देशहरूको नक्कल गरेर नेपाललाई पनि दुईदलीय बनाउने कसरत गर्दै हुनुहुन्छ । ०४७ देखि ०६३ सालसम्म त त्यही प्रावधान थियो । स्थिरता थियो त त्यतिखेर ? ०४७ देखि ०६३ सालसम्म १६ वर्षमा १५ सरकार परिवर्तन गर्ने तपाईंहरू नै होइन ? आफ्ना अक्षमता र कमजोरीको दोष अब समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशितालाई दिन मिल्छ ? नयाँ–पुराना जातीय, क्षेत्रीय दलहरूलाई मेरा केही प्रश्न छन् । जनमत, नागरिक उन्मुक्तिलगायत पार्टीलाई गर्भमै मार्न चाहेका छन् कांग्रेस–एमालेले । त्यो मञ्जुर छ तपाईंहरूलाई ? थारूले पनि पार्टी बनाउने भन्ने परेको छ उहाँहरूलाई । मधेशीले पनि पार्टी बनाउने भन्ने परेको छ उहाँहरूलाई । यो स्वीकार छ तपाईंलाई ? मेरा लागि तपाईंहरू लोकतन्त्रका सुन्दर फूल हुनुहुन्छ, कांग्रेस–एमालेका लागि अस्थिरताका कारक । यो हो सिद्धान्तको फरक । मलाई विश्वासको मत दिनोस्–नदिनोस्, केही छैन । तर, यत्ति भनिदिनोस्, तपाईंहरू कुन सिद्धान्तको पक्षमा उभिनुुहुन्छ ? तपाईं अस्थिरताको कारक हो कि लोकतन्त्रको फूल ?  प्रचण्डसँग रिस फेर्ने कुण्ठामा सीमान्त वर्ग र समुदायलाई जिस्क्याउने गल्ती नगर्नुस्  तपाईंहरू मिल्नुस्, केही छैन । पहिलोपटक मिल्नुभएको पनि होइन, अन्तिमपटक मिल्नुहुने पनि होइन । तर, जनताका अधिकार खोस्ने विषय दिमागबाट निकाल्नुस् । अधिकार उपभोग गरिसकेको जनताका उपलब्धि खोस्न सजिलो हुँदैन । हिजो निदाएको सीमान्त वर्गमाथि जति शासन गर्नुभयो, त्यो गर्नुभयो । अब युद्ध, विद्रोह र आन्दोलनको भट्टीले त्यो वर्गलाई जगाएको मात्र छैन, राप र तापसहित इस्पात बनाइसकेको छ । उत्पीडित वर्ग, जाति र समुदायका हजारौँ जनताको ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिलाई तपाईंहरू सजिलै खोस्न सक्नुहुने छैन । त्यो प्रयास भयो भने संसद् र सडकमा ठूलो प्रतिरोध हुनेछ । प्रचण्डसँग रिस फेर्ने कुण्ठामा सीमान्त वर्ग र समुदायलाई जिस्क्याउने गल्ती नगर्नुहोस् । भुइँ मान्छेहरूको प्रतिरोध र विद्रोहको तागत आफ्नै जीवनकालमा आफ्नै आँखाले देखिसक्नुभएको छ । त्यही अवस्था फेरि ननिम्त्याउनुहोस् । क्रान्तिको शक्ति लिएर शान्तिको ढोका खोल्ने प्रचण्ड छिट्टै फेरि नजन्मिन पनि सक्छ । तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महँगो पर्न सक्छ । आफ्ना अक्षमता र कमजोरीको दोष समानुपातिक प्रणाली र समावेशितालाई दिन मिल्छ ?  राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादीलाई किनारा लगाएर सम्भव छ संविधान संशोधन ? ०४७ देखि ०६३ सालसम्म १६ वर्षमा १५ सरकार परिवर्तन गर्ने तपाईंहरू नै होइन ? आफ्ना अक्षमता र कमजोरीको दोष अब समानुपातिक प्रणाली र समावेशितालाई दिन मिल्छ ? प्रत्यक्ष निर्वाचित कार्यकारी, उत्पीडित वर्गको प्रतिनिधित्व बढाउने गरी संविधान संशोधनको एजेन्डामा बरु छलफल गर्न सकिन्छ ।  धोकामा परेँ जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र रहेछ । केही मान्छेहरू कुण्ठा र प्रतिशोधबाट कहिल्यै निस्किन सक्दैनन् भनेर मैले हिसाब गरिनँ । म लामा मीठा र भरोसापूर्ण संवादहरूबाट अलमल्याइएँ । स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ । अनौठो त के भयो भने दुई दलको बीचमा १७ गते राति सहमति र हस्ताक्षर भइसकेपछि १८ गते बिहान आएर एमाले अध्यक्षले ‘भएकै छैन’ भन्नुभयो । मैले पत्रिका देखाउँदै ‘तपाईं र शेरबहादुरजीले हस्ताक्षर गरेको फोटो आइसकेको छ, के कुरा गरेको’ भन्दा ‘पहिलेको फोटो रहेछ’ भन्नुभयो । ढाँट–छलको पनि एउटा सीमा हुन्छ नि ! अनि शेरबहादुरजीलाई फोन गरेर ‘एमाले अध्यक्षले त सहमति भएको छैन, तिनटा नेता बसेर टुंग्याउने हो भन्दै हुनुहुन्छ’ भनेर सोधेको त उहाँले ‘होइन, सहमति भइसक्यो, हस्ताक्षर भइसक्यो, म ढाँट्न जान्दिनँ, सरी । अब तिनटा बसेर के गर्ने ?’ भन्नुभयो । यस्तो तरिका अपनाउने ? मैले धोका पाए पनि नयाँ सत्तासमीकरणका साझेदारको आपसी अनुभव अप्रिय नहोस् र कसैमाथि धोका नहोस्, मेरो शुभकामना छ । खुला छलफल गरौँ, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔँ  संविधान संशोधन नै गर्ने हो भने आउनुस्, खुला छलफल गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं । दलित र महिलाको प्रतिनिधित्व अझै बढाएर जाउँ । उत्पीडित जाति, वर्ग र समुदायका अधिकारलाई अझ सुरक्षित गरौं । विपन्न वर्गको राज्यसंरचनामा प्रतिनिधित्व बढाऔं । महिला, उत्पीडित वर्ग, जाति र क्षेत्रको सम्मानजनक प्रतिनिधित्व यो संविधानको आत्मा हो । यसलाई खोसेर फेरी महिला, दलित आदिवासी जनजाति, मधेसी थारु र मुस्लिमलगायत धार्मिक अल्पसंख्यकलाई पहिले जस्तै राज्यका निकायमा प्रतिनिधित्वविहिन बनाउने षड्यन्त्र किमार्थ सफल हुनेछैन । हिजो जसको प्रतिनिधित्व केवल प्रतीकात्मक र निरंकुश शासकहरूको दयामा निर्भर थियो, आज त्यो सुनिश्चित र अधिकारपूर्ण छ । हिजो महिला प्रतिनिधित्व राज्य र दलहरूको विमर्शको विषयसम्म थिएन, आज केन्द्र र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व संविधानबाटै सुनिश्चित भएको छ  ।  यसरी बढेको हो दलित र महिलाको प्रतिनिधित्व  तपाईंहरूलाई अहिले बाडुल्की लागिरहेको २०४७ सालको संविधानपछिका संसद्हरूको समावेशिता सम्झाऊँ म तपाईंहरूलाई ? २०४८ सालको आमनिर्वाचनपछिको संसद्मा दलितको प्रतिनिधित्व कति थियो ? ०.४८ प्रतिशत । जम्मा एकजना । २०५१ सालमा ? शून्य  । २०५६ को आम निर्वाचनमा ? त्यहाँ पनि शून्य । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेका दलित समुदायका माननीयहरूलाई म सोध्छु, त्यहीँ फर्कने हो अब हामी ? तयार हो तपाईंहरू ? साथीहरूलाई हेक्का रहोस्, ०६३ सालमा माओवादी अन्तरिम व्यवस्थापिकामा आएपछि दलितको प्रतिनिधित्व शून्यबाट सीधै ४.८६ प्रतिशत र १६ जनामा पुगेको हो । २०६४ को पहिलो संविधानसभामा जहाँ माओवादी सबैभन्दा ठूलो राजनीतिक दल थियो, दलित प्रतिनिधित्व इतिहासमै अहिलेसम्मको सबैभन्दा धेरै ८.४८ प्रतिशत अर्थात् ५१ जना पुग्यो । २०४८ सालको तपाईंहरूको पवित्र संसद्मा महिलाको प्रतिनिधित्व कति थियो ? जम्मा ३.९ प्रतिशत । २०५१ को आमनिर्वाचनमा त अझ घटेर ३.४९ प्रतिशत पुग्यो ।  सबैभन्दा सुधारिएको २०५६ को प्रतिनिधिसभामा पनि महिलाको प्रतिनिधित्व जम्मा ५.८५ प्रतिशत थियो । आधा आकाश ओगट्ने महिलाको राज्य संरचनामा त्यत्ति मात्रै हुनुपर्ने हो हिस्सेदारी ? २०६३ सालको अन्तरिम व्यवस्थापिकामा जब माओवादीको प्रवेश भयो, महिलाको प्रतिनिधित्व ५.८५ प्रतिशतको दयनीय रेकर्ड तोडेर २८.९५ प्रतिशत पुग्यो । २०६४ को पहिलो संविधानसभामा महिलाको प्रतिनिधित्व ३३.७८ थियो, दोस्रो संविधानसभामा २९.२८ प्रतिशत । नयाँ संविधानले संघ र प्रदेशमा एकतिहाइ र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित ग¥यो । त्यसपछि २०७४ सालको प्रतिनिधिसभामा ३२.७ र अहिले ३३.१० प्रतिशत महिला प्रतिनिधित्व छ । प्रदेश सभामा महिला हिस्सेदारी ३६.३६ प्रतिशत छ । राज्यका हरेक तहमा महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुने गरी संविधान संशोधन गर्ने आँट गरौँ । नयाँ पत्रिकाबाट 

११.६० अंकले घट्यो नेप्से, फाइनान्स समूह वृद्धि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११.६० अंकले घटेको छ । घटेको बजारमा बुधबार फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १३ समूहमध्ये फाइनान्स, म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक बढेको छ। बाँकी समूहगत परिसूचक घट्दा फाइनान्स समूहको परिसूचक ११.३३ अंकले बढेको छ। यस दिन सेन्टर फाइनान्स, गुडविल फाइनान्स, गुहेश्वरी मचेन्ट बैंक एन्ड फाइनान्स, जनकपुर फाइनान्स, नेपाल फाइनान्स र प्रोग्रेशिभ फाइनान्सको सेयर मूल्य बढेको छ। नेपाल फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले वृद्धि भएको छ। ५७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज चार अर्ब पाँच करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ।   

यो समय गिरिबन्धु चियाको हो,काले काले मिलेर खाऊ भाले : मेयर बालेन

काठमाडौं । कांग्रेस र एमालेबीच सरकार गठन गर्ने सहमति भएपछि विभिन्न टिप्पणी आएका छन् । यसैबीच काठमाडौं महानगरपालिकाका मेयर वालेन शाहले यो समय गिरिबन्धु चियाको भएको बताएका छन् ।उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चिया खाएको तस्बिर राख्दै उक्त टिप्पणी गरेका हुन् । साथै उनले काले काले मिलेर भाले खान खोजेको समेत टिप्पणी गरेका छन् ।उनले सामाजिक संजालमा भनेका छन् -'यो समय गिरिबन्धु चियाको हो ।काले काले मिलेर खाऊ भाले ।'

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो

काठमाडौं। मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरुभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।  लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे। मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा ४० करोड बराबर लगानी गरिने शाहले जानकारी दिए । डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोत साधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताए। रासस   

साउन १ देखि ड्राइभिङ लाइसेन्स लिएकाले राष्ट्रिय परिचयपत्र देखाए हुने

काठमाडौं । ड्राइभिङ लाइसेन्स लिएकाले साउन १ देखि राष्ट्रिय परिचयपत्र देखाए हुने भएको छ । ड्राइभिङ लाइसेन्सको विवरणलाई राष्ट्रिय परिचयपत्रमा समावेश गरी कार्यान्वयनमा ल्याउने र छुट्टै ड्राइभिङ लाइसेन्स नचाहिने गरी काम भइरहेको यातायात व्यवस्था विभागले जानकारी दिएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अहिले सवारीचालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा जोड्ने प्राविधिक काम भइरहेको र १/२ दिनमा नै टुङ्गिने बताए । राज्यको खर्च कटौती र सवारी चालकलाई सहज हिसाबले अनुमतिपत्र वितरण गर्न सो कार्यको थालनी गरिएको रिजालले बताए । उनका अनुसार सरकारले आउँदो साउन १ देखि सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नै छापिने छैन । ‘हामीले अहिले ३/४ हजार लाइसेन्स प्रिन्ट गर्छौं, अर्को पाटो खोजिरहेका छौं, अब हामी सवारी लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गर्छौं, राष्ट्रिय परिचयपत्र या नम्बर साथमा राखेका नागरिकहरूले लाइसेन्सको मान्यता पाउँछन्’, महानिर्देशक रिजालले भने । उनले लाइसेन्स छापिरहन खर्च गर्नुभन्दा राष्ट्रिय परिचयपत्रलाई नै उचित विकल्पको रूपमा प्रयोग गर्ने तयारी भएको बताए । ‘हामीसँग राष्ट्रिय परिचयपत्र छँदैछ, त्यसमा क्यूआर कोड छँदैछ, त्यसमा भएको फोटोपनि उस्तै हो, जन्म मिति सबै मिलिहाल्छ’, रिजालले भने, ‘नमिल्ने भनेको ड्राइभिङ लाइसेन्स कहिले लिएको हो र त्यसको म्याद कहिलेसम्म हो, त्यो विषय क्यूआर कोडमार्फत् ट्राफिक प्रहरीले हेर्न सक्ने प्रणाली विकास गरिएको छ ।’ महानिर्देशक रिजालले राष्ट्रिय परिचयपत्रमा सवारीचालक अनुमतिपत्रलाई जोड्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको र साउन १ गतेबाट व्यवहारिक रूपमै कार्यान्वयनमा ल्याउनेगरी काम भइरहेको बताए । राष्ट्रिय परिचयपत्रमा सवारीचालक अनुमतिपत्रको विवरण जोडेपछि स्मार्ट लाइसेन्स प्रिन्ट गर्नुनपर्ने मान्यताका साथ काम भइरहेको महानिर्देशक रिजालले खबरहबलाई बताए । ‘अहिले हामीले ५५ लाख व्यक्तिहरुलाई स्मार्ट लाइसेन्स दिनुपर्नेमा नयाँ र नवीकरण समेत गरी २० लाख जतिलाई दिन सकेका छैनौं, यो विषय सहज हुनुपर्छ भनेर राष्ट्रिय परिचयपत्रमा जोडिएको हो’, रिजालले भने ।

हत्या अभियोगमा दम्पत्ती पक्राउ

नुवाकोट, १९ फागुन । नुवाकोटको किस्पाङ गाउँपालिका बस्ने रसुवा उत्तरगया गाउँपालिका ३ डाँडागाउँ घर भएका ७१ वर्षीय भुन्टे भन्ने टेकप्रसाद भट्टको हत्या गरेको आरोपमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रसुवाको कालिका गाउँपालिका २ धैबुङका ४१ वर्षीय अनिल भुषाल र उनकै श्रीमती ३१ वर्षीया दिपा भट्ट भुषाल रहेका छन्। किस्पाङ गाउँपालिका ५ खत्रीकुना जंगलमा टेकप्रसाद भट्ट मंगलबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानमा घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका अनुसार भुषाल दम्पत्ती काठमाडौं महानगरपालिका १६ बालाजु, बाइपासमा भएकाले उनीहरूलाई त्यहिँबाट पक्राउ गरेर नुवाकोट ल्याइएको हो। उनीहरूले विगतको रिसईवीको कारणले भट्टलाई किस्पाङ गाउँपालिकाको खत्रिकुना जंगलमा लगेर दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरू माथि जिल्ला अदालत नुवाकोटबाट सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

लगानी सम्मेलनले नेपालमा लगानीको वातावरण छ भन्ने प्रष्ट पार्यो : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनले नेपालमा लगानीको वातावरण रहेको प्रष्ट पारेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको प्रश्नोत्तरमा अर्थमन्त्री पुनले लगानी सम्मेलनका कारण निजी क्षेत्रको मनोबल बृद्धि भएको र सम्भावित विदेशी लगानीकर्ताहरूसँग प्रत्यक्ष भेटघाट भएको भन्दै यसले लगानीको लागि उपयुक्त आधार रहेको सन्देश गएको बताएका हुन्। लगानी सम्मेलनको सन्दर्भमा लगानी सहजीकरणका लागि कानून संशोधन भएको, इनभेष्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइलहरु तयार भएको उनले बताए ।उनले संविधानमा भएका व्यवस्था अनुसार नै संसदको सुझावलाइ समेटेर बजेट तयार गरिएको जानकारी दिए। मन्त्रालयगत बजेट बिनियोजनको आधार पनि प्रचलित व्यवस्था र मापदण्डलाई टेकेर नै निर्धारण गरिएको उनले बताए।

भ्रामक समाचार लेखेपछि प्रधानमन्त्री सचिवालयको खण्डन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बिहीबार ‘‘बिजमाण्डु’’ नामक एक अनलाइनमा प्रकाशित ‘‘राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीचको त्यो भेट, गोप्य प्लान सुनेपछि झस्किए राष्ट्रपति’’ शीर्षकको समाचारको खण्डन गरेको छ । सो समाचारको खण्डन गर्दै राष्ट्रपति पौडेलसँगको भेटमा प्रधानमन्त्रीले विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउने तयारी भइरहेकाले आफूलाई साथ दिन राष्ट्रपतिसमक्ष आग्रह गरेको भन्ने समाचार बिल्कुल झुठो, भ्रामक भएको भन्दै खण्डन गरेको हो । यस्तो छ सचिवालयको खण्डन  भ्रामक समाचारको खण्डन आज बिहीबार ‘‘बिजमाण्डु’’ नामक एक अनलाइनमा प्रकाशित ‘‘राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीचको त्यो भेट, गोप्य प्लान सुनेपछि झस्किए राष्ट्रपति’’ शीर्षकको समाचारप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा भनिएजस्तो सम्माननीय राष्ट्रपतिज्यूसँगको भेटपछि सम्माननीय प्रधानमन्त्रीले राजीनामा नदिने मनस्थिति बनाएको भन्ने समाचार अत्यन्तै भ्रामक र तथ्यहीन हो । बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न सम्माननीय राष्ट्रपतिज्यूसँगको भेटअघि नै २०८१ असार १८ गते मंगलबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को कार्यालयको बैठकले प्रधानमन्त्रीले राजीनामा नदिई संसदसमक्ष प्रस्तुत हुनुपर्ने निर्णय लिएको थियो। पार्टी पदाधिकारीको सोही निर्णयअनुरूप भेटमा प्रधानमन्त्रीले सम्माननीय राष्ट्रपतिज्यूलाई आफू संवैधानिक प्रक्रियाअनुरूप नै अगाडि बढ्ने जानकारी गराउनुभएको थियो । बिजमाण्डुको उक्त समाचारमा सम्माननीय राष्ट्रपतिज्यूसँगको भेटमा प्रधानमन्त्रीले विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउने तयारी भइरहेकाले आफूलाई साथ दिन राष्ट्रपतिसमक्ष आग्रह गरेको भन्ने समाचार बिल्कुल झुठो, भ्रामक र निन्दनीय छ। भेटमा यस प्रकारको कुनै छलफल नभएको स्पष्ट पार्दै प्रायोजित र भ्रामक समाचारको खण्डन गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गर्दछौँ। मितिः२० असार २०८१ सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय

सितल निवास पुग्यो आज सपथ खाने मन्त्रीहरुको नामावलि, सपथ पाँच बजे

काठमाडौं । सत्तागठबन्धनमा भागबन्डा टुंग्गिएको छ । भागबन्डा टुंग्गिए मन्त्रीहरुको नामावलि राष्ट्रपति निवास पुगेको छ । माओवादीबाट यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्ति बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयमा पठाइने भएको छ । नेकपा एमालेले रघुवीरलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाएको छ ।नेकपा एमालेले पदम गरी कानुन मन्त्री,राजेन्द्र राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, ज्वालाकुमारी शाह कृषि तथा पशुपन्छी विकास, दामोदार भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, भगवती चौधरी  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र  र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेतीलाई पठाएको छ । त्यसैगरी रास्वपाबाट रबि लामिछाने गृहमन्त्री डीपी अर्याल श्रममन्त्री, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री बन्दा सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षामन्त्रीमा नाम पठाइएको छ । नयाँ मन्त्रिहरुले ५ बजे सितल निवास जाँदैछन् । नवनियुक्त मन्त्रीहरूको शपथ साँझ ६ बजेसम्म सम्पन्न हुनेछ । बाँकि रहेका मन्त्रालयहरु समाजवादी लोसपा लगायतका दललाई दिइनेछ ।

यी हुन् सर्वसम्मत भएका एकीकृत समाजवादीका ९३ सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति सदस्यमा ९३ जना सर्वसम्मत भएका छन्। एकीकृत समाजवादीले १८ पदाधिकारी चयन गर्न बाँकी छ। केन्द्रीय समितिको बैठक भोलि केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।  २९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । बाँकी केन्द्रीय सदस्य बढीमा १० दिनभित्र टुंगो लगाइने उनले समाजवादीले जनाएको छ।

समग्र अर्थतन्त्र विकास गर्ने मुद्दा उठाउन व्यवसायीलाई अर्थमन्त्री पुनको आग्रह

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समग्र अर्थतन्त्रको विकास हुने मुद्दा लिएर आएमा त्यसअनुसार काम गर्न अर्थमन्त्रालय तयार रहेको बताएका छन् । उनले हालसम्म भएका कमजोरीको समाधान खोज्दै अघि बढ्नु पर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा बुधबार उनले भने, “मेरो बिजनेस भनेर व्यक्तिगत रूपमा नआइदिनुस् । समग्र अर्थतन्त्रको विकास हुनेगरी आउनुस्, हामीले के गर्नु पर्छ तयार छौँ ।”  उनले व्यवसायीलाई हेरेर बनेका नीति करेक्सन गरिने बताए । उनले कुनै निश्चित व्यवसायीको हितमा बनेका नीति तथा नियम फेरिने स्पष्ट पारे ।  “व्यवसायीलाई हेरेर पनि नीति बनेका छन्, अब त्यो करेक्सन हुन्छ,” अर्थमन्त्री पुनले अगाडि भने, “गल्ती केही भएका होलान्, व्यवसायिक घरानाबाट पनि भएका होलान्, तर समाधान खोज्नु पर्छ ।”  

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मिति २०८० चैत २८ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ५६ पैसा र बिक्रीमा १४५ रुपैयाँ २१ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५० पैसा तोकिएको छ।  यस्तो छ विनिमय दर

आयरल्यान्ड ए माथि नेपाल ए को जित

काठमाडौं । तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको २ सय  १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ए ले पूरा ओभर खेल्दै  ७ विकेट गुमाएर २ सय १० रन मात्र बनायो। यससँगै नेपालले तीन खेलको टी-२० सिरिज  २-१ ले गुमाएको छ । नेपाल सुरुवाती दुई खेलमा  २१ रन र ४० रनले पराजित भएको थियो ।अब आयरल्याण्ड ए र नेपाल ए बीच  एकदिवसीय सिरिज पनि हुनेछ ।  

नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रुको भएको पुष्टि

चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ स्थित नारायणी नदी किनारमा फेलापरेको शव सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए । “नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ,” प्रहरी नायब उपरीक्षक रिजालले भने । शव परीक्षणका निम्ति भरतपुर अस्पतालको शवगृहमा राखिएको उनले बताए । ऋषिपलले नेपालमा बसेर काम गर्दै आएका उनका दाइ सत्यपाल साहले बताए । सत्यपालले शनिबार बिहान फेलापरेको शव भाइ ऋषिपलको भएको पुष्टि गरे । भारतको मोतिहारी, राजमुनुवा घर भएका २८ वर्षीय ऋषिपल काठमाडौंको जोरपाटीबाट रौतहटको गौर जान गणपति डिलक्स चढेका थिए । काठमाडौंबाट आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो । वाग्मती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हामफालेर ज्यान जोगाउन सफल भएका छन् । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी दुई यात्रुवाहक बस त्रिशूलीमा खसेका थिए । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट वाग्मती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रुको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । एन्जल वीरगन्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए । दुवै बसमा गरी करिब ६५ यात्रु रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए । बेपत्ता बस तथा यात्रुको शनिबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ । रासस

यस्तो छ बिहीबारको विनिमय दर कति

काठमाडौं । आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४ मे २ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २२ पैसा र बिक्री दर १६६ रुपैयाँ ९५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विनिमय दर