गण्डकी सरकार विरुद्धको मुद्दामा आज अन्तिम बहस हुँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा अन्तिम बहस हुँदैछ। सो मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा हेर्दाहेर्दैमा रहेको छ। 

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो सातादेखि बहस भइरहेको छ। सो मुद्दामा रिट निवेदक र सरकारी पक्षले बहस गरिसकेका छन् भने विपक्षी र जवाफी बहस मात्र बाँकी छ। 

जवाफी बहस सकेपछि सर्वोच्चले आजै निर्णय दिने छ।  मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएकाले बदर हुनुपर्ने माग रिटमा गरिएको छ। ६० सदस्य प्रदेशसभामा ३० जनाले मत दिएको तर सभामुखले बहुमत भएको भनी व्याख्या गरेकाले उक्त निर्णय बदर हुनुपर्ने माग रिटमा गरिएको छ। 

रिटमा मुख्यमन्त्री अधिकारीको विश्वासको मत मत बदर भएपछि अर्को उपधारा अनुसार आफू मुख्यमन्त्री हुने भएकाले त्यस्तो आदेश पनि जारी हुनुपर्ने जिकिर रिटमा गरिएको छ ।  सो मुद्दामा जेठ ८ गतेदेखि बहस सुरु भएको थियो भने जेठ ९ गते सरकारका तर्फबाट बहस भएको थियो।

विद्युत महशुल वृद्धि फिर्ता लिन माओवादीको केन्द्रको आग्रह

गल्याङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुटवल पावर कम्पनीको सिफारिसमा विद्युत नियमन आयोगले अन्यायपूर्ण ढंगले आँधिखोला वितरण केन्द्रका ग्राहकहरुका लागि विद्युत महशुल बढाएको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज माओवादी केन्द्रका जिल्ला अध्यक्ष लोकेन्द्र तारामु मगरले प्रेस विज्ञप्ति जारी गर्दै आम जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने गरि गरिएको शूल्क बृद्विको निर्णय तत्काल फिर्ता लिन विद्युत नियमन आयोगलाई आग्रह गरेका छन्।  साथै, उनले शुल्क बृद्धि विरुद्व संयुक्त संघर्ष समिति गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सक्रीय सहभागीता जनाउने जानकारी गराउँदै आन्दोलनबाट हुन सक्ने क्षतिको जिम्मेवारी बुटवल पावर कम्पनी र विद्युत नियमन आयोगले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।  

भारतसँगका पर्साका सीमानाका बन्द

वीरगन्ज । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो ।  वीरगन्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने उनले जानकारी दिए ।  “दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो”, उनले भने । पर्साको १०७ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । रासस

कर्णालीका नवनियुक्त कृषिमन्त्री शाहले लिए शपथ

काँर्केविहार। कर्णाली प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ गराएका हुन् । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको शपथ लिएका थिएनन् । रासस

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा आज सुनुवाइ  हुँदै

काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतबहादुर कार्की नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ । निर्वतमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि पेशी तोकिएको हो । उक्त रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुनेछ । यसअघि सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २५ गतेसम्म विश्वासको मत नदिएको भन्दै कार्कीको स्थानमा एमालेका कार्की मुख्यमन्त्री बनेका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर, सत्ता गठबन्धनमा आएको परिवर्तनसँगै एमालेले उनलाई समर्थन नदिने निर्णय गरेको थियो । २७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पमतमा परेका थिए । प्रदेशसभाले विश्वासको मत लिनुपर्ने भन्दै सङ्कल्प प्रस्ताव पास गरेको थियो । तर, कार्कीले त्यसलाई अटेर गरेर मुख्यमन्त्रीको पदमा बसेको भन्दै प्रदेश प्रमुख खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ वैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए । हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुने भएको छ । २८ जेठमा कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो । २७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतमा अल्पमतमा परेका थिए । २५ वैशाख २०८१ सम्म उनले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ बैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए । २७ वैशाखमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । ३१ वैशाखमा विश्वासको मत लिएका कार्कीले सरकार पनि विस्तार गरिसकेका छन् । हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । महानगरले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रकम बढी सङ्कलन गरेको हो। महानगरले गत आवको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो। वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म ४० करोडको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको जानकारी दिए। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले चालु आर्थिक वर्षमा मालपोत कर ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए। महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ। महानगरले यस वर्ष घरबहाल कर बापत चार करोड ९६ लाख ७५ हजार आम्दानी गरेको छ भने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने दुई करोड सात लाख ९२ हजार सङ्कलन गरेको छ।

किसानलाई उन्नत बीउमा अनुदान

चितवन । भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ । महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए । करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुई–दुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो एक सय र तोरीको बीउमा प्रतिकिलो ३० रुपैयाँ अनुदान दिइएको महानगरले जनाएको छ ।

विपिसीको महशुल बृद्धि विरुद्धको आन्दोलन चर्किदै

गल्याङ । बुटवल पावर कम्पनी (विपिसी) आँधिखोला वितरण केन्द्रबाट वितरित विद्युत महसुलमा भारी बृद्धि भएपछि आन्दोलन चर्किन थालेको छ । बुटवल पावर कम्पनीको सिफारिसमा विद्युत नियमन आयोगले विद्युत महसुल बढाएकोमा प्रभावित क्षेत्रका राजनीतिक दलहरु तथा सरोकारवाला पक्ष एकजुट भएर आन्दोलन गर्ने निर्णय गरेका छन् ।  आँधिखोला वितरण केन्द्रका उपभोक्ता रहेका स्याङ्जाका चार पालिका र पाल्पाका दुई पालिकाका सरोकारवालाहरु एकजुट भएर आन्दोलन गर्ने घोषणा गरेका हुन् ।    यसअघिको मुल्यमा झण्डै ५० प्रतिशत बढाइएपछि छलफल गर्न आँधिखोला वितरण केन्द्रबाट प्रभावित गल्याङ नगरपालिका, वालिङ नगरपालिका, भिरकोट नगरपालिका, चापाकोट नगरपालिका, रामपुर नगरपालिका र रम्भा गाउँपालिकाका राजनीतिक दलहरुबीच गल्याङबजारमा छलफल भएको छ । नेपाली काङग्रेस गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्यालको अध्यक्षतामा बसेको बैठकले शूल्क बृद्धिको निर्णय तत्काल फिर्ता गर्न माग गर्दै आ–आफ्नो पालिकामा संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले मुल्य बृद्धि फिर्ता लिन माग गर्दै बुटवल पावर कम्पनीका आफ्नो पालिका रहेका कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा विद्युत नियमन आयोगमा निर्णय फिर्ता लिन माग गर्दै उजुरी दिने निर्णय पनि गरेको छ । यस्तै भेलाले बुटवल पावर कम्पनीलाई मिटर रिडिङ गर्न नदिने निर्णय पनि गरेको छ । यसैगरी भेलाले शुल्क बृद्धिको निर्णयप्रति गम्भीर भई फिर्ताका लागि पहलकदमी लिन सांसद तथा पालिकाका प्रमुख एवम अध्यक्षहरुलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै, पार्टीका जिल्ला नेतृत्वलाई पनि बढाइएको शूल्क खारेजीका लागि आवश्यक निर्णय गर्न आह्वान गर्ने निर्णय भेलाले गरेको छ । भेलामा सहभागीहरुले विद्युत नियमन आयोगले पदाधीकारी विहीन हुने बेलामा गरेको निर्णय आर्थिक चलखेलका आधारमा हुन सक्ने शंका व्यक्त गरेका छन् । कतिपय सहभागीहरुले भने केही पालिका प्रमुखहरु पनि मौन रहनुलाई आर्थिक चलखेलमा जोडिएको हुन सक्ने शंका व्यक्त गर्दै जनताका मुद्धामा एकीकृत हुन नसकेको भन्दै चिन्ता प्रकट गरेका छन् । भेलामा नेपाली काङ्ग्रेस वालिङ नगर समिति सभापति नेत्रप्रसाद पाण्डे, भिरकोट नगर समिति उपसभापति जगदिश कोइराला, रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, रम्भाका प्रतिनिधि सुमन पछाई, नेकपा एमाले गल्याङ नगर कमिटि अध्यक्ष दानबहादुर थापा, वालिङ नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य अर्जुन श्रेष्ठ, वालिङका सचिव भक्त गोतामे, रम्भा गाउँकमिटि अध्यक्ष विनोद अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समिति सभापति टिकाराम भण्डारी, वालिङ नगर सभापति सुरेन्द्र काफ्ले, रामपुर नगर सभापति अर्जुन प्रसाद श्रेष्ठ, नेकपा समाजवादी केन्द्रीय परिषद सदस्य जगदिश गैह्रे, राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह्रे, पत्रकार महासंघ स्याङ्जाका सभापति श्रीकृष्ण सिग्देल लगायतको उपस्थिति रहेको थियो ।   यसैवीच, गल्याङको संघर्ष समितिले सोमबार बुटवल पावर कम्पनीको गल्याङ शाखामा गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा हुने धर्ना कार्यक्रममा सहभागी हुने निर्णय गरेको छ । सोही धर्नामा थप कार्यक्रम तय हुने नेपाली काङग्रेसका नगर सभापति श्यामप्रसाद बस्यालले जानकारी दिनुभयो । चरणबद्ध आन्दोलन सुरु गरेको चेम्बर अफ कमर्सले सोमबार मध्यान्ह १२ बजे बुटवल पावर कम्पनीको गल्याङ शाखामा धर्ना दिने कार्यक्रम राखेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

दमौली । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो ।  आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।   तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चारवटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगो  निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए ।  आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो ।  विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए । रासस

प्रहरी थुनामा बेहोस भएका युवकको मृत्यु

धनगढी । कैलालीमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा बेहोस भएका एक युवकको मृत्युु भएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले थुनुवा कक्षमा बेहोस भएर ढलेका बुद्धिराम चौधरीको मृत्यु भएको पुष्टी गरे ।  प्रहरीका अनुसार ढलेपछि धनगढी उपमहानगरपालिका– ८ का बुद्धिराम चौधरीलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो । भन्सार छलीको आरोपमा सामानसहित पक्राउ परेका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले अवैध सामानसहित पक्राउ परेका चौधरीलाई भन्सार कार्यालयको जिम्मा लगाएको थियो । भन्सार कार्यालयले अनुसन्धान नसकिएकोले थुनामा राखिदिन आग्रह गरेपछि उनी हिरासतमै रहेका थिए । चौधरीको मृत्युको कारण नखुलेको बताउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

बागमती प्रदेश प्रिबजेटमाथि आजबाट छलफल

हेटौँडा । बागमती प्रदेश सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि आज आइतबारबाट छलफल सुरु हुने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले गत मङ्गलबार प्रदेश सभाको बैठकमा विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक प्रस्तुत गरेका थिए ।   प्रदेश सरकारको सिद्धान्त र प्राथमिकता (प्रिबजेट)माथि छलफल गर्न बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । मन्त्री थपलियाले यसअघि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेश सभाको बैठकमा पेस गर्दै प्रदेश सरकारको सीमित साधन र स्रोतको अधिकतम उपयोग हुने गरी सन्तुलित बजेट निर्माणलाई प्राथमिकता दिने बताएका थिए। यसै अधिवेशनमा अवधिमा प्रिबजेटको छलफलपछि प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याइने भएको छ ।

स्याङ्जामा  हावाहुरीसहित वर्षा, उडायो घरको छानो

गल्याङ । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा व्यापक हावाहुरी सहितको वर्षा भएको छ । आज अपरान्हमा आएको हावाहुरी असिनासहितको वर्षाले विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।  जोडले चलेको हावाहुरीले गल्याङ नगरपालिका-९ का स्थानीय इन्द्रदेव भण्डारीको घरको छानोको रुपमा प्रयोग गरीएको टिन उडाएको छ। साथै, सोहि वडाको सिमल गैरा भन्ने ठाउँमा देविलाल जिटिको घर भत्काएको  र टेक्रे भन्ने ठाउँका निलकण्ठ भण्डारीको घरको टिन उडाएको एक स्थानीयले जानकारी दिए । त्यसैगरी, हावाहुरीले श्री ज्ञानोदय माध्यामिक विद्यालय, कृषक कुशुम भण्डारीको कृषि र्फम, उमाकान्त भण्डारीको घर र अन्य विभिन्न नागरिका घरमा क्षति पुगेको छ ।त्यसआसपासका विभिन्न क्षेत्रमा क्षति पुगेको छ । हावाहुरी असिनासहितको वर्षाले आँप र लिचि जस्ता फलफुलका चिचिलामा समेत क्षति पुर्याएको छ भने विद्युत अवरुद्ध रहेको छ । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन्।

चितवनको देवनगर सबस्टेसनको उद्घाटन

काठमाडौं । भरतपुर ६ देवनगरमा निर्माण भएको ३३/११ केभी २०/२४ एमभीए क्षमताको सबस्टेसनको उद्घाटन गरिएको छ । शनिबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सबस्टेसनको उद्घाटन गरिएको हो ।  भरतपुर महानगर प्रमुख दाहालले भरतपुरमा भइरहेको तीब्र सहरीकरणसँगै विद्युत् आपूर्तीमा देखिएको समस्या समधान गर्न देवनगर सबस्टेसन सञ्चालनमा ल्याइएको बताइन् । पश्चिम चितवनको मेघौलीमा पनि चार विघा क्षेत्रफलमा सबस्टेसन निर्माण गर्न लागिएको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरलगायत देशका प्रमुख सहरहरूको ५० वर्षिय गुरुयोजना तयार भई त्यहीअनुसार काम अगाडि बढाइएको जानकारी दिए । भरतपुरमा भइरहको तीव्र सहरीकरणका कारण गुरुयोजनालाई थप परिस्कृत र परिमार्जित गरिएकाले ५० वर्षका लागि विद्युत् आपूर्तिको समस्या नहुने उनको भनाइ छ ।

भरतपुर महानगरद्धारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

चितवन। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८/०८२ को नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेको छ ।बिहीबार महानगर सभाहलमा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल तथा अन्तरक्रिया गरी समृद्ध महानगर निर्माण गर्ने नीतिहरु संकलन गरिएको थियो। भरतपुर महानगरपालिकाले १५ औ नगरसभाका लागि तयारी तीब्र पारेको हो । छलफलका क्रममा आएका मागहरुलाई लिपिवद्ध गरेको छ ।छलफल कार्यक्रममा अधिकांश वक्ताहरुले आगामी आर्थिक वर्षमा उत्पादन, रोजगारी र बजारीकरणलाई जोड दिएका छन् । अबको नीति तथा कार्यक्रमले धेरै उत्पादन भएर दूध, गोलभेडा सडकमा फाग्ने अवस्था अन्त्य गर्नुपर्ने नीति ल्याउनुपर्ने धाराणा राखेका थिए। यस्तै शिक्षालाई प्रयोगात्मक बनाउनुपर्ने, आईटी शिक्षालाई विद्यालयस्तरबाटै लागु गर्नुपर्ने, आयमुलक सीपमूलक तालिम, युवा व्यवसायीलाई प्रोत्सहान गर्ने कार्यक्रम, स्थानीय उत्पादनलाई प्रोत्सहान, वडागत शिक्षाको बजेटमा १० प्रतिशतभन्दा वृद्धि गर्नुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथामिकता, घरको फोहर घरमै व्यवस्थापन गर्ने नीति ल्याउनुपर्ने सुझाव आएका थियो । कार्यक्रममा भरतपुर महानगरका राजनैतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, बुद्धिजीवी, विषय विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारीले अब समेट्नु पर्ने नीतिबारे जोड दिएका थिए । सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक ईमेलमा पठाउन अनुरोध पनि गरेको छ । महानगरको आधिकारिक ईमेल  info@bharatpurmun.gov.np  मा राय सुझाव पठाउन सकिने छ । महानगरले यस अघि सडक पूर्वाधारलाई प्राथमिकता दिएपनि यस पटक भने उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेको जनाएको छ ।

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा ३७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो।   पक्राउ पर्नेमध्ये २५ महिला समेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। लागुऔषध कारोबारमा संलग्नमध्ये  स्वदेशी ३२५ पुरुष र २५ महिला तथा  १८ विदेशी पुरुष र चार विदेशी महिला रहेका छन्।  लागुऔषध नियन्त्रणका लागि प्रहरीले दिनहुँजसो सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि भारतको पश्चिम बंगाल र विहारसँग झण्डै १४४ किलोमिटर क्षेत्र खुला सीमा भएका कारण लागुऔषध नियन्त्रणमा प्रहरीलाई चुनौती थपिएको हो। दिनानुदिन लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको पाइएपछि जिल्ला प्रहरी कार्यालय झापाले अहिले लागुऔषध नियन्त्रणमा आमाहरू नामक कार्यक्रम सञ्चालन गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।  अहिले जिल्लाका १५ वटै पालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ। स्थानीय तहसँग साझेदारी गर्दै प्रहरीले टोल टोलमा पुगेर लागुऔषध नियन्त्रणमा आमाहरू नामक कार्यक्रम सञ्चालन गरिरहेको छ। रासस