हैदराबादलाई हराउँदै कोलकाता आईपीएल च्याम्पियन
काठमाडौं ।फाइनलमा सनराइजर्स हैदराबादविरुद्ध आठ विकेटको सहज जित निकाल्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ।
आईपीएलको इतिहासमा कोलकाताको यो तेस्रो उपाधि हो। यसअघि कोलकाता सन् २०१२ र २०१४ को संस्करणमा च्याम्पियन बनेको थियो।
आइतबार चेन्नाईमा जारी खेलमा हैदराबादले प्रस्तुत गरेको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो।
कोलकाताको जितमा वेन्कटेस ऐयरले सर्वाधिक अविजित ५२ रन बनाए। उनले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरे। ओपनर रहमनुल्लाह गुबर्जले ३९ रन थपे।
हैदराबादका कप्तान प्याट कुमिन्स र सहबाज अहमेदले समान एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले १८=३ ओभरका सबै विकेट गुमाएर ११३ रनमात्र बनाएको थियो । आईपीएलको इतिहासमा फाइनलमा बनेको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो ।
हैदराबादका कप्तान प्याट कुमिन्सले सर्वाधिक २४ रन बनाए । आइदेन मार्करमले २०, हेनरिक क्लासेनले १६ र नितिश कुमार रेड्डीले १३ रन थपे ।
हैदराबादलाई कमजोर योगफलमा रोक्न कोलकाताका आन्द्रे रसेलले तीन विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले समान दुई विकेट लिँदा वैभव अरोरा, सुनिल नारिन र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।
महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। क्यानले बिहीबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो। एसियाली क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा क्यानले नेपाली टोली घोषणा गरेको हो । उक्त प्रतियोगिता आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलंकामा हुँदैछ। उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स छन्। त्यस्तै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। यस्तो छ नेपाली टिम इन्दु बर्मा, सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, खुसी डंगोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार, लक्ष्मी साउद यशोदा विष्ट, कीर्तिका मरासिनी, सोनी पाख्रिन, राजमति ऐरी, हेलिशा गुरुङ, सम्झना खड्का, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, संगीता राई, आरती महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, करुणा भण्डारी, पुजा महतो, अस्मिना कर्माचार्य र डोली भट्ट
बलिउड अभिनेता शाहरुख अस्पताल भर्ना
काठमाडौं । बलिउडका बादशाह भनिने शाहरुख खान अस्पताल भर्ना भएका छन् । शाहरुख खान अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । शाहरुख खान आफ्नो आईपीएल टीमलाई समर्थन गर्न अहमदाबाद गएका थिए । त्यहाँ उनको स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको एनडीटीभीले जनाएको छ । शाहरुखलाई गर्मिका कारण डिहाइड्रेसन भएको समाचारमा उल्लेख छ ।
प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीलाई
काठमाडौं । प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले लगातार चौथो पटक जित्दै कीर्तिमान बनाएको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा सिटीले वेष्ट हम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा रहेका थिए । उपाधि जित्न सिटीलाई स्पष्ट जितको आवश्यकता थियो भने आर्सनलको हकमा उपाधि जित्न सिटीले अंक गुमाउनुपर्ने थियो । अन्तिम दिन भने सिटी र आर्सनल दुवै विजयी हुँदा उपाधि सिटीको पक्षमा गयो । सिटीले ३८ खेलबाट ९१ अंक जोड्यो । एभरटन विरुद्ध २–१ को पुनरागमन जित हात पारेको आर्सनलले ८९ अंक जोड्यो । सिटी लगातार चौथो पटक प्रिमियर लिग जित्न पहिलो टोली बनेको छ । सिटीलाई च्याम्पियन बनाउन फिल फोडेनले दुई तथा रोड्रीले एक गोल गरे । सिटी र आर्सनलसँगै लिभरपुल र एस्टन भिल्ला यस सिजन शीर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि पनि छनोट भएका छन् ।
विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित
काठमाडौं । विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । गएराति भएको खेलमा विनवाड्रस भोलक्यानोजसँग नेपाल पराजित भएको हो । सुरुमा ब्याटिङ गरेको भोलक्यानोजले दिएको २०६ रनको चुनौती नेपालले पूरा गर्न सकेन । तीन खेलको अभ्यासमा नेपालले पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा ४९ रनले विजयी भएको नेपाल तेस्रो खेलमा ६७ रनले पराजित भएको हो। पार्क हिल मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको भोलक्यानोजले नेपालविरुद्ध सबै विकेट गुमाएर २०५ रन बनाएको थियो । चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल भने १७।१ ओभरमा १३८ रन बनाएर अलआउट भयो । नेपालका ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै तेस्रो बलमै आउट भएका थिए । नेपालले मात्र १९ रन बनाउँदा अनिलकुमार शाह मात्र २ रन बनाएर आउट भए । तेस्रो विकेटको रुपमा नेपालका अर्का ओपनर आशिफ शेख २४ रनमा आउट हुँदा नेपालले मात्र ४० रन बनाएको थियो । सम्हालिएर खेलेका नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनी चौथो विकेटको रुपमा ५३ रन बनाएर क्याच आउट भए । पाचौं विकेटको रुपमा गुल्सन झा पहिलो बलमै क्याच हुँदा नेपालले १०७ रन मात्र बनाएको थियो । पहिलो बलमा दुई रन जोडेका सोमपाल कामी दोस्रो बलमा आउट हुँदा नेपाले १०९ रन बनाउँदा ६ विकेट गुमाएको थियो । सम्हालिएर खेलेका अर्का ब्याट्सम्यान सन्दीप जोरा भने सातौ विकेटको रुपमा २१ रनमा आउट भए । आठौं विकेटको रुपमा कमलसिंह ऐरी ४ रनमा आउट हुँदा नेपालले १६ ओभरको समाप्तिमा १३१ रन मात्र बनाएको थियो । प्रतिश जिसी नौ विकेटको रुपमा शून्यमा आउट हुँदा अन्तिम विकेटको रुपमा करण केसी १३ रनमा आउट भए । अन्तिम खेलमा नेपालको बलिङ र ब्याटिङ दुवै नचल्दा पराजित भएको हो । यो खेलमा दिपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई आराम दिइएको थियो । अन्तिम खेलमा पराजित भए पनि तीन खेलको अभ्यास नेपालले २/१ ले आफ्नो पक्षमा पारेको छ । यसअपछि नेपाल विश्वकप अगाडिको अभ्यास खेलका लागि अमेरिका जाँदैछ । त्यहाँ नेपालले क्यानडा र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
सफाइ पाएपछि अभ्यासमा व्यस्त सन्दीप
काठमाडौं। बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने सक्रिय क्रिकेटमा फर्किन प्रयासरत छन्। नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने तयारी गरिरहेका हुन्। सन्दीप भने यति बेला अभ्यासमा व्यस्त छन्। शनिबार त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा रहेको प्रशिक्षण स्थलमा लामिछाने अभ्यास गरिरहेको भेटिए। सन्दीपको अभ्यास हेर्न संघका सचिव पारस खड्का पनि पुगेका थिए ।
सन्दीपको निलम्बन फुकुवा
काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेको छ। बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरेसँगै उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने बाटो खुला गरेको हो। यसअघि बुधबार नै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको छ। ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ,’ क्यानले निर्णयमा भनेको छ ।
स्टार क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर, विश्वकप खेल्न पाउने
काठमाडौं । नेपाली टिमका पूर्व कप्तान तथा स्टार क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम)ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्यो । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी२० विश्वकपमा खेलाउने बाटो खुलेको छ । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो। त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।
मेयर कप फुटबल : वाल्मिकी र दुर्रगा शेषकान्तले अंक बाँड्दा जनज्योति र किरण अमरजङ्गको जीत
भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ । कृष्णपुरको मैदानमा भएको समूह डी को खेलमा जनज्योति माविले सनराईज ईंग्लिश बोर्डिङ स्कुललाई २-१ ले हरायो । जनज्योतिका विशाल गुरुङ म्यान अफ दि म्याच भए । यस्तै पटिहानीमा भएको समूह ई को खेलमा वाल्मिकी शिक्षा सदन र दुर्गा शेषकान्त माविले १-१ को बराबरी खेलेका छ । वाल्मिकीका सुदर्शन पन्तले दोस्रो हाफको १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफको अतिरिक्त समयमा सजन कार्कीले बराबरी गोल फर्काए । सजन म्यान अफ दि म्याच भए । बराबरीपछि दुबै टिमले एक(एक अंंक बाँँडेका छन् । उता शारदानगरमा भएको समूह एफ को खेलमा किरण अमरजङ्ग मावि विजयी भयो । किरण अमरजङ्गले अंकुरम एकेडमीविरुद्ध ४-० को सहज जित निकाल्यो । उसको जितमा समीर परियारले ह्याट्रिक गरे। यस्तै अभिषेक गुरुङले एक गोल थपे । समीरले खेलको १३, ४९ र ५२ औं मिनेटमा गोल गरे । अभिषेकले ६९ औं मिनेटमा गोल गरे । किरण अमरजङ्गका समीर म्यान अफ दि म्याच भए। लिगमा बुधबार पहिलो चरणका अन्तिम तीन खेल हुनेछ । कृष्णपुरमा समूह डी का होलिभिजन ईङ्लिश स्कुल र नारायणी नमूना उच्च मावि तथा पटिहानीमा समूह ई का ब्राइटस्टार ईङ्लिश स्कुल र अमर मावि भिड्नेछन् । यस्तै शारदानगरमा समूह एफ का ग्रामोदय ईङ्लिश बोर्डिङ र हिमालय दण्डपाणि न्यौपाने मावि भिड्नेछन् ।
ट्वान्टी–२० विश्वकप : पहिलो अभ्यास खेलमा नेपाल चार विकेटले विजयी
काठमाडौं । ट्वान्टी–२० विश्वकपका निम्ति हाल वेस्ट इन्डिजमा तयारी गरिरहेको नेपाल पहिलो अभ्यास खेमा विन्डवार्ड्स भोल्कानोजविरुद्ध चार विकेटको विजयी भएको छ । मंगलबार भएको खेलमा भोल्कानोजले प्रस्तुत गरेको १९७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । भुर्तेलले ४२ बलमा ७१ रन बनाए । यस्तै, दीपेन्द्रसिंह ऐरी २५ बलमा ५२ रन बनाएर अविजित रहे । भोल्कानोजका ल्री एडवार्डले तीन विकेट लिए । यस्तै, निक्लउस रेडहेडले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङमा आएको भोल्कानोजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९६ रनको योगफल खडा गरेको थियो ।भोल्कानोजका डालोन डगलासले ५० र ए अगस्टेले ४१ रन बनाएका थिए । नेपालका रोहितकुमार पौडेलले तीन र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आउनसक्ने सम्भावना
काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा आजलाई पेसी तोकेको छ । मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । मुद्दा हेर्दाहेर्दैमा राखिएपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ । अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्नेछ। गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।
साझेदारीमा बनाइने, कीर्तिपुरलाई स्तरोन्नति गरिने
काठमाडौं । सरकारले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाउने भएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्ध रंगशाला तीनवटै तहका सरकारको साझेदारीमा अघि बढाइने बताएका हुन् । “चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निमार्ण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ । कीर्तिपुर रंगशालाको स्तरोन्नतिसहित थप निमार्ण कार्य प्राथमिकताका साथ अघि बढाइनेछ,” राष्ट्रपति पौडेलले भने ।
आफ्ना सहयोगीसहित उच्च अदालत पुगे सन्दीप लामिछाने
काठमाडौं । आफ्नो मुद्दामा फैसला सुनवाइ जारी रहँदा क्रिकेटर सन्दीप लामिछाने पनि उच्च अदालत पुगेका छन् । उनी आफ्ना सहयोगीसहित अदालत गएका हुन् । सन्दीपमाथि मुद्दा दायर गर्ने ‘गौशाला २६’ पनि इजलासभित्र देखिएकी छन् । उच्च अदालत पाटन बाहिर भिडभाड बढ्न थालेको छ । सन्दीपका समर्थकहरू जम्मा भएका छन् । अदालतबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
क्रिकेटर लामिछानेको मुद्दाको पेसी आज
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ। जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदनमा आज सुनुवाइका लागि पेसी तोकिएको हो। पछिल्लो पटक गत वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेपछि स्थगित भएको थियो।यसअघि पनि सुनुवाइका लागि पटक पटक पेसी तोकिएको यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको थियो। जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो।उक्त फैसलाविरुद्ध लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
भरतपुर मेयर कप फुटबल : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात
भरतपुर मेयर कप फुटबल : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज दुई खेल सम्पन्न भएको छ। कृष्णपुरको मैदानमा भएको समूह ए को खेलमा गौरीगन्ज माविले ढड्डाघारी माविलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलमा गौरीगन्ज १-० ले विजयी भएको हो। गौरीगन्जको जितमा रोहन गुरुङले निर्णायक गोल गरे । उनी नै म्यान अफ दि म्याच भए । यो जितपछि गौरीगन्ज तालिकामा ३ अंंकसहित शिर्ष स्थानमा छ।लिग अन्तर्गत शारदानगर माविको मैदानमा भएको समूह सी को खेलमा विश्वप्रकाश माविले जित हात पारेको छ। विश्वप्रकाशले ईडेन गार्डेनलाई २-० ले हरायो। विश्वप्रकाशको जितमा कप्तान साहिल परियार र आदित्य बरामले एक-एक गोल गरे। साहिलले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाए। २५ औं मिनेटमा आदित्यले गोल गरेपछि विश्वप्रकाशले २-० को जित हात पार्यो। विश्वप्रकाशका अभय कुमाल म्यान अफ दि म्याच घोषित भए। यो जितपछि समूह सी मा रहेको विश्वप्रकाशले स्पष्ट ३ अंंक बटुलेको छ। उता वर्षाका कारण समूह बी को ग्रीनल्याण्ड पब्लिक स्कुल र सिद्धार्थ माविबीचको खेल भने स्थगित भएको छ। अमर मावि पटिहानीमा हुने भनिएको खेल वर्षाले मैदान हिलाम्य भएपछि स्थगित गरिएको सह आयोजक चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए। यो खेल सोमबार दिउँसो ४ः३० बजे कृष्णपुरमा हुनेछ। सोमबार नै अन्य दुई खेल पनि हुनेछ। समूह बी पारिजात इङलिस बोर्डिङ र आदिकवि भानु मावि भिड्नेछन्। यो खेल दिउँसो ४ः३० बजे अमर मावि पटिहानीमा हुनेछ। यस्तै सोही समयमा शारदानगरमा जनप्रिय इङलिस बोर्डिङ र लक्ष्मी माविबीच खेल हुनेछ।लिग जेष्ठ १९ गतेसम्म चल्नेछ। प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन्। सहभागी २४ विद्यालयलाई छ समूहमा विभाजन गरिएको छ।
इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा
एजेन्सी । फ्रान्सेली प्रतिद्वन्द्वीलाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा पुगेको छ । एटलान्टाले बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी क्लब मार्सेलीलाई ३–० गोलले हरायो । यो नतिजापछि एटलान्टा ४–१ कुल गोल भिन्नताका आधारमा फाइनलमा प्रवेश गरेको हो । अघिल्लो साता खेलिएको सेमिफाइनलको पहिलो खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेग खेल एटलान्टाको घरेलु मैदानमा खेलिएको थियो । सेमिफाइनलको दोस्रो लेग खेलमा एटलान्टाले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेल सुरु भएको ३०औँ मिनेटमा एटलान्टाका लागि एडमोला लुकम्यानले पहिलो गोल गरे । सोही गोलका कारण पहिलो हाफमा अगाडि रहेको एटलाण्टाका लागि ५२औँ मिनेटमा माटियो रुगेरीले दोस्रो गोल थपे । टोलीका लागि तेस्रो गोल भने इन्जुरी समयको चौथो मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका अल बिलाल टुरेले गरे । एटलान्टाले अब फाइनलमा उपाधिका लागि जर्मन क्लब बायर लेभरकुजनसँग प्रतिस्पर्धा गर्नेछ । बायर लेभरकुजन क्लब बलियो मानिएको इटालियन प्रतिद्वन्द्वी रोमालाई हराउँदै युरोपा लिगको फाइनलमा पुगेको हो ।

