कर्मचारीदेखि गाउँपालिका प्रमुखसम्म एउटै कोठामा

कर्मचारीदेखि गाउँपालिका प्रमुखसम्म एउटै कोठामा

खोटाङ, पुस १७ । एउटा लामो टहरोभित्र प्रवेश गरेपछि शुरु हुन्छ स्थानीय सरकारको दैनिक कामकाज । कर्मचारीदेखि जनप्रतिनिधिहरू जनतालाई सेवा प्रत्येक दिन त्यही टहरोमै लहरै बसेका हुन्छन् । स्थानीय तह गठन भएको डेढ वर्ष पार भइसक्दा पनि यहाँ यो क्रम यथावत छ ।

देशभरका ७५३ स्थानीय तहमध्ये अधिकांशका कार्यालय व्यवस्थापकीय हिसाबले मजबुत भएपनि जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलदेखि सुदूर दक्षिण क्षेत्रमा अवस्थित बराहपोखरी गाउँपालिकाका भने अझैसम्म टहरोमै गुजारा गर्दै आएको छ, त्यो टहरो पनि पनि एक स्थानीय विद्यालयको स्वामित्वको हो ।

स्थानीय बालकन्या आधारभूत विद्यालयले उपलब्ध गराएको एउटा टहरोभित्र स्थानीय सरकारको सम्पूर्ण काम हुन्छ । एउटै कोठा भएको उक्त टहरोभित्र दर्ता चलानी शाखादेखि प्रमुख बस्नेसम्मको ठाउँ लहरै छ ।

टहरोभित्र लहरै राखिएका टेबलकुर्सीको पछाडिपट्टि कागजमा लेखिएको छ, दर्ता चलानी, योजना तथा अनुगमन शाखा, सूचना तथा प्रविधि शाखा, कृषि, पशु, महिला तथा बालबालिका शाखा, शिक्षा एकाइ, स्वास्थ्य, प्रशासन, प्राविधिक फाँट, लेखा शाखा, प्रमुख प्रशासकीय अधिकृत आदि ।

यसैगरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिकाका सदस्य बस्ने ठाउँ पनि छुट्याइएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलगायत कार्यसमितिका पदाधिकारी बस्ने ठाउँ त अन्य कर्मचारी बसिसकेपछि बाँकी रहेको कुर्सी हो । बस्नै मन लागे लहरै राखिएको बेञ्चमा बस्नुपर्ने बाध्यता छ ।

यस्तो स्थितिका सम्बन्धमा गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले भन्नुभयो, “तत्कालका लागि अस्थायी रुपमा विद्यालयले दिएको टहरोबाट सेवा प्रवाह गरिरहेका छौँ । अब चाँडै नै आफ्नो व्यवस्थित भवन बनाउन लागिरहेका छौँ ।” उपाध्यक्ष गोमा मगरका अनुसार गाउँपालिकाको आफ्नै भवन बनाउनका लागि बजेट विनियोजन गरिएको र यही आर्थिक वर्षभित्र निर्माण गर्ने तयारी गरिएको छ । भवन निर्माणका लागि गाउँपालिकाले रु ८० लाख विनियोजन गरिसकेको छ । भवन निर्माणका लागि स्थानीयवासीले ३७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले एउटै टहरोबाट सबै प्रकारका सेवा प्रवाह गर्दा सेवाग्राहीलाई समेत असहज भएको बताए । संस्थागत, भौगोलिक, भौतिक तथा कानूनी हिसाबले पनि यस गाउँपालिका अन्यभन्दा पछाडि रहेको उहाँको भनाइ थियो । सेवाग्राहीका लागि एउटै कोठाबाट गाउँपालिकाको सबै सेवा लिन सहज भएपनि कर्मचारीका लागि भने असहज भएको छ । कार्यालयको कतिपय सूचना गोप्य राख्नुपर्ने भएकाले एउटै कोठामा काम गर्दा असहज भएको सम्बद्ध कर्मचारीले बताए ।

भवन निर्माणका लागि बजेट विनियोजन गरिएको र जग्गा पनि निःशुल्क प्राप्त भएकाले यसै वर्षभित्र १६ कोठे व्यवस्थित भवन निर्माण गरिने गाउँपालिकाले जनाएको छ । भवनका लागि सर्वेक्षण र नक्सानको काम भइसकेको छ । रासस

नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।

अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।

यस वर्षको  एसइई चैत पहिलो सातादेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ ।  सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति

चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

लोकप्रिय