कसरी बनाउने नानीबाबुलाई प्रतिभावान? जान्नुहोस् ५ टिप्स
काठमाडौं, चैत ४ । प्रायजसो सबै अभिभावक आफ्ना नानीबाबुहरुको भविष्यबारे चिन्तित हुन्छन्। आफ्ना नानीबाबुहरुलाई सही बाटो देखाउन उनीहरु हर प्रयासमा तल्लिन हुन्छन्।
नानीबाबुहरुलाई पढाइमा सबल बनाउन वा चनाखो बनाउन अनावश्य दबाब दिनेगर्छन्। तर यसो गर्नु राम्रो होइन। इच्छाविरुद्ध दबाब दिँदा उनीहरुमा पढाइप्रति अरुचि बढेर आउँछ।
उनीहरुलाई चनाखो वा जिम्मेवारी बनाउन सानै उमेरदेखि कोशिश गर्नुपर्छ। किनकी सानो उमेरका नानीबाबुहरुको दिमाग छिटो विकसित हुन्छ। सम्झाएको छिटो बुझ्ने गर्छन्।
अभिभावकले नानीबाबुहरुसँग बस्दा होस् वा कुरा गर्दा उनीहरुजस्तै बनिदिनुपर्छ। उनीहरुसँग रमाउने, उनीहरुले सोधेको प्रश्नको जवाफ झर्को नमानी बताइ दिनुपर्छ। यसो गर्दा छिटो बुझ्ने र आमाबाबुप्रति सकारात्मक हुन्छन्। र कामप्रति जिम्मेवार बन्ने बानीको विकास हुँदै जान्छ। तल पाँच टिप्स दिइएका छन् जुन तपाईका नानीबाबुहरुलाई प्रतिभावान बनाउनमा केही सहयोग पुग्नेछ।
१- नानीबाबुहरुसँग नियमित कुराकानी गर्नुहोस् : नानीबाबुहरुलाई प्रतिभावान बनाउनमा कुराकानीले विशेष भूमिका खेलेको हुन्छ। नियमित कुराकानीले नानीबाबुहरुसँग नजिक बनाउनुका साथै नानीबाबुहरुमा आत्मविश्वास बढ्छ। नानीबाबुहरु बोल्न थालेदेखि उनीहरुसँग रमाइला कुराकानी गर्ने बानीको विकास गर्नुपर्छ। उनीहरुसँग अंग्रेजी हिन्दी,नेपालीलगायत भाषामा कुराकानी गर्नेहोस्। ताकी उनीहरु बढ्दै गएपछि कुनै पनि भाषाको समस्या नआओस्।
२- घरमा खुशियाली वातावरण बनाउनुहोस : घरमा नानीबाबुहरुलाई राम्रो वातावरणा दिनुपर्छ। सुन्दर वातावरणमा हुर्केका नानीबाबुहरु पछि गएर एक जिम्मेवार मात्र नभइ बुद्धिमानी हुन्छन्। नानीबाबुहरुलाई सानैदेखि जिम्मेवारी बन्न दिनुपर्छ। अभिभावकले नियमित उनीहरुसँग खेल्ने, रमाउने गर्नुपर्छ।उनीहरुमा परेको समस्या बुझ्ने कोशिस गर्नुपर्छ। यसो गर्दा उनीहरुमा कामप्रति जिम्मेवारी हुन्छन्।
३- नानीबाबुहरुको उमेरअनुसार खेलौना किन्नुहोस- : नानीबाबुहरुका खेलौना किन्दा उनीहरुको उमेरमा ध्यान दिनु आवश्यक हुन्छ। किनकी उमेर अनुसारका खेलौना भएनन् भने यसले नानीबाबुहरुको मानसिक विकासमा असर गर्छ। खेलौनाले बच्चालाई खुसी र दु:खी बनाउने भएकाले उमेरअनुसारका खेलौना दिनुहोस्।यस्तो खेलौना दिनुहोस्, जसले बच्चालाई ज्ञानसम्बन्धि जानकारी देओस्।
४- नानीबाबुलाई नियमित पढाउने गर्नुहोस् : जब नानीबाबुहरु स्कुल जान थाल्छन् उनीहरुलाई किताब पढ,लेख भनेर मात्र दबाब दिनुहुँदैन। उनीहरुसँग बसेर किताब ओल्टाइ पल्ट्याइ गर्ने। उनीहरुलाई नै यो केहो भनेर सोध्ने गर्नुपर्छ। यसो गर्दा उनीहरु हाँसेर उत्तर दिने गर्छन् र पछि प्रश्न सोध्ने गर्छन्। आफूले उत्तर दिँदा कहिले काहीँ गलत भनि दिनुपर्छ। यादहोस् त्यो उक्त प्रश्नको उत्तर नानीहरुलाई थाहा होस्। उनीहरुले त्यसो होइन, यसको उत्तर त यस्तो पो हो भन्दै जिस्काउने गर्छन्। आफूलाई बढी जान्ने भन्ठान्छन्। यसो गर्दा नानीबाबुहरुको नजादिँदो तरिकाले पठाइ अगाडि बढ्छ।
कापी किताबका साथसाथै उनीहरुलाई अंग्रजी/नेपाली वर्णमाला पढ्न लगाउने,औंला भाँचेर गन्ती गर्न सिकाउने,फलफूल दिँदा सम्बन्धित फलफूलको नाम बताइ दिने, चराचुरुंगी देखाउँदा नाम भनिदिने, घरमा आएका पाहुनाको नाम/नाता बताइने दिने, घुम्न जाँदा जाँदै गरेको स्थानको नाम र पुगिसकेपछि पुगेको स्थानको नाम बताइदिनुपर्छ। यसो गर्दा नानीबाबुहरुले सबै कुराको जानकारी पाउनुका साथै नयाँ-नयाँ कुरा सिक्ने मौका पाउँछन्।
५- नकारात्मक सन्देश दिने उपहार नदिनुहोस्: नानीबाबुहरुको जन्मदिनमा हतियार बुझाउने खालका खेलौना भुलेर पनि दिनुहुँदैन। यसले नानीबाबुहरुमा क्रोधको भावना पैदा गर्छ। हतियार बुझाउने खेलौनामा रमाउने बालबालिकापछि गएर रिसाहाखालका हुनेगर्छ। यस्ता नानीहरुमा सकारात्मकभन्दा पनि नकारात्मक सोचाइ बढ्नेगर्छ।
नानीबाबुहरुमा नकारात्मक सोचको विकास हुनेगर्छ। त्यसैले बालबालिकालाई उपहार दिँदा उमेरमा ध्यान दिनुपर्छ। भर्खर स्कुल जान थालेका नानीबाबुहरुलाई ठूला अक्षर भएका किताब,कलम,पेन्सिल,इरेजर,कटर,झोला,कुनै पर्यटकीयस्थल बुझाउने फोटो, कुनै विशेष जनावरको फोटो आदि उपहारको रुपमा दिँदा राम्रो हुन्छ। सम्बन्धित नानीबाबुहरुको फोटो फ्रेममा राखेर उपहारका रुपमा दिँदा उनीहरु धेरै खुसी हुन्छन्। यो सामग्री अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।
अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।
यस वर्षको एसइई चैत पहिलो सातादेखि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ । सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति
चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

