कोरोनाविरुद्ध सतर्कताः ५ चैतभित्र कक्षा ९ सम्मको परीक्षा सक्न सरकारको आग्रह

कोरोनाविरुद्ध सतर्कताः ५ चैतभित्र कक्षा ९ सम्मको परीक्षा सक्न सरकारको आग्रह

काठमाडौंः शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी ५ चैतभित्र सक्ने गरी सञ्चालन गर्न आग्रह गरेको छ । विश्वभर कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन आवश्यक भएकाले मन्त्रालयले वार्षिक परीक्षा ५ चैतभित्र सम्पन्न गर्न आग्रह गरेको हो ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी शैक्षिक सत्र ०७६ को कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र सक्न सबै विद्यालयलाई भनेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना संक्रमणमा सतर्कता अपनाउनुपर्ने भएकाले सरकारले यस्तो निर्णय गरेको बताए । अहिले संक्रमण नदेखिए पनि जोखिम भएकाले त्यसबाट जोगिन, विद्यालयको भिडभाड कम गराउन मन्त्रालयले आग्रह गरेको हो ।

विद्यालयमा सभा, समारोह, वार्षिकोत्सवमा भेला हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न–नगराउन पनि सरकारले आग्रह गरेको छ । आगामी ६ चैतदेखि एसइई सञ्चालन हुँदै छ ।

कोरोना प्रभावित देशमा अध्ययन अनुमति बन्द

मन्त्रालयले मंगलबारदेखि कोरोना भाइरसबाट अति प्रभावित र जोखिम भएका देशमा अध्ययन अनुमति दिनसमेत बन्द गरेको छ । चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटाली, इरानलगायतका कोरोना भाइरसबाट अति प्रभावित र अति जोखिममा भएका देशहरूमा अध्ययनका लागि अनुमतिपत्र नदिने भएको हो ।

एक महिना सार्वजनिक बिदा दिन आग्रह

चिकित्सकहरूले एक महिना सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेका छन् । विद्यालय, कलेज, सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएमा धेरै मानिस आ–आफ्नो गाउँ जाने भएकाले काठमाडौं सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ । डा। अनुप बाँस्तोला संकटका वेला एक महिना बिदा दिएमा धेरै समस्या समाधान हुने बताउँछन् ।

टेकु भर्ना भएका आठजनामा कोरोना देखिएन

कोरोना भएको आशंकामा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका आठजनामा कोरोना नेगेटिभ आएको छ । टेकुको आइसोलेसन वार्डमा पाँच र जनरल वार्डमा तीनजना भर्ना भएका थिए । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा इन्फ्लुएन्जा ए देखिएको निर्देशक डा। रुणा झाले बताइन् । एकजनाको परीक्षण रिपिट गर्नुपर्ने देखिएको छ भने अन्य पाँचजनामा कुनै संक्रमण देखिएन ।

रुघाखोकी लागेका र ज्वरो आएका बिरामीलाई हवाई यात्रामा रोक

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोराना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको भन्दै वायुसेवा सञ्चालक संघले रुघाखोकी र ज्वरो आएका यात्रुलाई जहाज नचढाउने निर्णय गरेको छ ।

संघले कोराना भाइरसको संवेदनशीलतालाई ध्यानमा राखी यात्रु तथा हवाईजहाजका चालक तथा अन्य क्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको बताएको छ । त्यस्तै, बुद्ध एयरले पनि छुट्टै विज्ञप्तिमार्फत रुघाखोकी र ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउन आग्रह गरेको छ । टिकट रद्द गरेबापत नियमअनुसार भाडा फिर्ता गरिने कम्पनीको भनाइ छ ।

कोरोनाको प्रत्यक्ष प्रभाव ट्राफिक प्रहरीको मापसे परीक्षणमा

कोरोना त्रासकै कारण ट्राफिक प्रहरीले सवारीचालकमा गर्दै आएको मापसे परीक्षण पुनर्विचार गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विनाब्रेथ लाइजर गरिने मापसे परीक्षण त स्थगित गरिसकिएको छ । ब्रेथ लाइजरबाट नियमित हुँदै आएको मापसे परीक्षण पनि स्थगित वा नियमित गर्ने भनेर ट्राफिक प्रहरी द्विविधामा छ । यसलाई टुंगो लगाउन ट्राफिक प्रहरीले विज्ञसँग परामर्शसमेत सुरु गरिसकेको छ । नयाँँ पत्रिकामा खबर छ ।

नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।

अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।

यस वर्षको  एसइई चैत पहिलो सातादेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ ।  सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति

चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

लोकप्रिय