को हुन् कार्ल मार्क्स, के हो मार्क्सवाद?

को हुन् कार्ल मार्क्स, के हो मार्क्सवाद?

कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधीनस्थ थियो र त्यसबेलासम्म पनि १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्तिको सम्झना बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए जुनबेला सारा युरोपमा नयाँ खालको जागरण आइरहेको थियो । बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको विस्तार पश्चिम युरोप हुँदै पूर्वी युरोपतिर फैलिरहेको थियो । बेलायत, स्पेन, फ्रान्स, पोर्चुगल आदि आफ्ना-आफ्ना साम्राज्यहरू विस्तार गर्न जोरसोरले लागिपरेका थिए र एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका थिए ।

पर्याप्त मात्रामा उत्पादन गर्ने र बेच्ने अनि नाफा आर्जन गर्ने धन्दा चलिरहेको थियो । यो कमाउधन्दा बढिरहँदा फ्रान्सेली क्रान्तिताका लागेका नारा ‘मुक्त’, ‘समानता’ र ‘ऐक्यबद्धता’ क्रमशः ओझेलमा पर्दै गइरहेका थिए । कृषिबाट उद्योगमा रूपान्तरण गर्ने प्रक्रिया तीव्र हुँदै जाँदा बहुसंख्यक मानिसको जीवन कठिन बन्दै गएको थियो । त्यो विषम परिस्थितिले मार्क्सलाई आमूल परिवर्तनकारी लोकतान्त्रिक व्यवस्था हुँदै साम्यवादतर्फ आकर्षित हुने वातावरण बन्यो ।

मार्क्स राम्रै आर्थिक अवस्था भएको यहुदी परिवारमा जन्मिएका थिए । उनका पिताजी वकिल थिए । उनी स्थानीय तहको शिक्षा सकेपछि सर्वप्रथम बोन विश्वविद्यालयमा कानुनको विद्यार्थी बने, त्यसपछि सांस्कृतिक केन्द्रका रूपमा रहेको बर्लिन विश्वविद्यालय गएपछि दार्शनिक जर्ग विल्हिम फ्रेडरिक हेगलका युवा अनुयायीहरूको संगतमा परेपछि इतिहास र दर्शन पढे ।

सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर ‘रेन्चे जाइतुङ’ नामक पत्रिका निकाले । पत्रिकामा किसानमाथि गरिएको विभेदविरूद्ध लेखिएपछि सरकारले प्रतिबन्ध लगायो र उनलाई देश निकाला गरियो । त्यसपछि उनले राजनीतिक अर्थशास्त्र पढ्न थाले । खासगरी फ्रेडरिक एंगेल्स लिखित तथा जर्मन-फ्रेन्च एनल्समा प्रकाशित ‘आउटलाइन्स अफ द क्रिटिक अफ पोलिटिकल इकोनोमी’ पढे । त्यो एनल्समा मार्क्सका दुई निबन्ध छापिएका थिए ।

पहिलो ‘कन्ट्रिब्युसन टु दी क्रिटिक अफ हेगल्स फिलोसोफी अफ ल’ र ‘अन दी जिउइस क्वेस्चन’ । सन् १८४४ मा मार्क्स र एंगेल्सले १० दिनसंगै बसेर ब्रुनो बुयरको ‘सेपरेसन अफ फिलोसोफिकल क्रिटिक’ को विपक्षमा ‘दी होली फामेली’ लेखे । त्यहीँदेखि दुईजनाबीच जीवनपर्यन्त सहकार्य सुरु भयो ।

पर्सियन सरकार (हालको जर्मन) सरकारले बबाब दिएपछि मार्क्सलाई पेरिस बस्न पनि प्रतिबन्ध लाग्यो र उनी ब्रसेल्समा पुगे । त्यही वर्ष एंगेल्सको ‘कन्डिसन्स अफ दी वर्किङ क्लास इन इंग्लैन्ड’ छापियो जुन बृहत अध्ययन तथा वस्तुगत अनुसन्धानका आधारमा आधारित थियो । त्यसपछि एंगेल्ससँगै मार्क्स इंग्लेन्ड पुगे र राजनीतिक अर्थशास्त्र, इंग्लिस समाजवाद पढ्न थाले, श्रमजीवि संगठनका नेताकार्यकर्तासंग उठबस गर्न थाले । दुईजना मिलेर १८४५ मै ‘जर्मन आइडोलोजी’ नामक पुस्तक लेखे, तर त्यो पुस्तक भने १९३२ मा मात्र प्रकाशित भयो ।

१८४८ मा प्रुधाँको आलोचना गर्दै लेखिएको पुस्तक ‘दी पोभर्टी अफ फिलोसोफी’ प्रकशित भयो । ब्रसेल्समा बस्दा मार्क्स संगठन निर्माणको काममा पनि संलग्न भए । त्यही विचार आदानप्रदानका लागि आदा अन्तराष्ट्रिय सञ्जाल निर्माण गरे । त्यही सञ्जाल पछि गएर श्रमजीवी जनताको पहिलो अन्तर्राष्ट्रिय आन्दोलनका रूपमा स्थापित भयो । ९ जुन अफ १८४७ मा पहिलो सम्मेलन गरेर ‘वर्किङ म्यान आफ दी अल कन्ट्रिज युनाइट’ घोषणा गरियो । त्यही वर्ष गरिएको दोस्रो सम्मेलनले मार्क्स र एंगेल्सलाई राजनीतिक तथा सैद्धान्तिक कार्यक्रम तयार पार्ने जिम्मा दियो । उनीहरूले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र तयार पारे ।

घोषणापत्र प्रकाशित भएपछि युरोपमा ठूलो हल्लीखल्ली हुन पुग्यो । ब्रसेल्सबाट निस्कासनमा परेपछि मार्क्स पुन: पेरिस फर्किए । त्यसपछि कोलोन पुगे । त्यहाँ उनले ‘क्लास स्ट्रगल इन फ्रान्स’, ‘दी एटिन्थ ब्रुमेअर अफ लुइ बोनापार्ट’, ‘रिभ्योलुसन एण्ड काउन्टर रिभ्योलुसन इन फ्रान्स’ लेखे । जर्मनी र फ्रान्सबाट पुनः लखेटिएपछि १८४९ मा लन्डनमा बस्न थाले र जीवनभर त्यहीं रहे ।

इतिहास र सिद्धान्त

मार्क्सवाद अन्य सैद्धान्तिक अवधारणाभन्दा ऐतिहासिक उत्खननका कारण भिन्न छ । जसलाई हामी मार्क्सवाद भन्छौं , त्यो कल्पनामा होइन , ऐतिहासिक सत्यतथ्यमा आधारित छ । मार्क्स भन्छन् , “मान्छेले आफनो इतिहास आफै बनाउँछ कसैलाई खुसी पार्न कसैले पनि इतिहास बनाउँदैन ( हेर्नुहोस् , ‘दी एटिन्थ व्रुमेएर अफ लुई बोनापार्ट’ को पहिलो अध्याय ) त्यो ‘इतिहास बर्गीय शोषण कुन चरणबाट गुज्रिने छ भन्ने कुरामा भर पर्छ । साधारणतया ‘उत्पादन पद्धति ‘ , आर्थिक शक्ति र सम्बन्ध तथा उनीहरूबीचको अन्तरविरोध आदिले निर्माण गर्ने बर्ग र समाजमा कसको कस्तो निर्णायक भूमिका रहन्छ भन्ने निर्धारण गर्छ । ऐतिहासिक निर्धारण आर्थिक तथा प्राविधिक बिषयले ऐतिहासिक रूपान्तरण गर्नमा तिनको भूमिका , राजनीतिले निर्धारण गर्ने आर्थिक नीति र संस्थागत परिचालनले शोषणका ऐतिहासिकता कस्तो भन्ने तय गर्छ । इतिहासका सबै मोडहरूलाई हेरेर नै मार्क्स र , एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा ‘ अहिले अस्तित्वमा रहेको समाज इतिहासमा भएका अनेक वर्गसंघर्षको उपज भने ।

यो वाक्यले नै मार्क्सले खिचेको क्रान्तिकारी राजनीतिक कार्यक्रमको बिचारको खाका प्रस्तुत हुन्छ । यही सोचले श्रमजीवी मानिसहरूको आत्म स्वाभिमान जगाउने संघर्ष मात्र होइन, सबै प्रकारका शोषण र उत्पीडनबाट मुक्त हुनका लागि संघर्ष गर्न उक्साउँछ । पूंजीवादी आर्थिक तथा सामाजिक विकासमा उत्पादन सम्बन्ध र उत्पादन प्रकृयाको ऐतिहासिकताका आधारमा समाजलाई हेर्ने बुझ्ने क्रममा मार्क्सले शास्त्रीय अर्थशास्त्रको चिरफार गरे । त्यो चिरफार र आलोचनाको ऐतिहासिक विवेचनाको सैद्धान्तिक जग मार्क्सकै ‘ ग्रुन्डरिसे ‘ मा उल्लेख गरिएको पाइन्छ, जो सन् १९७० को दशकममा मात्र अंग्रेजीमा प्रकाशित भयो । मार्क्सले एउटा बुद्धिजीवीले गर्ने विश्व व्यवस्थाको ऐतिहासिकताको व्याख्या मात्र पस्किएनन् यसलाई कसरी बदल्न सकिन्छ भन्ने कुरामा आफ्नो ध्यान बढी केन्द्रित गरे ।

बुर्जुवा क्रान्तिका पक्षधरले यो ऐतिहासिकताका आधारमा हेर्ने दृष्टिकोणको ठूलो विरोध गरेका छन् । उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादन प्रक्रिया तथा उत्पादन सम्बन्धको आधारको समाजको व्याख्याको विकल्पमा म्याक्स वैबरले ‘ पुंजीवादी समाज र त्यसका क्रियाकलाप बुझ्न सीमान्त उपयोगिताको सिद्धान्त’लाई प्रारम्भिक औजारका रूपमा प्रयोग गरे । बर्गको व्याख्यालाई उनले राजनीतिक मुद्दाबाट बिशुद्ध ‘आर्थिक श्रेणी’मा ओराले । अहिलेसम्मका पूंजीवादी समाजशास्त्रीहरू वैबरकै धरातलमा उभिएर मार्क्सवादको विरोध गर्ने गर्छन् ।

मार्क्सको ‘हिस्टोरिकल म्याटेरियालिज्म ‘ मार्क्सवाद मान्ने र नमान्ने दुवैथरी गम्भीर अध्येयताहरूले राम्ररी बुझेका छन् र समर्थन र विरोधमा व्याख्या पस्किएका छन् । जस्तो लेनिन, रोजा , ग्राम्सी र चे ग्वेभारा आदि तीमध्ये प्रमुख हुन् । तर, कतिपय व्याख्या अधुरा र अपुरा रहेका भनाइहरू पनि आइरहेका छन् । क्यापिटलको पहिलो भोलुम छापिएपछि मार्क्सको देहान्त हुन पुग्यो । उनका नोटबुक र तत्काल उपलब्ध सामग्रीका आधारमा एंगेल्सले ‘ क्यापिटल ‘ को भाग २ र ३ प्रकाशमा ल्याए ।यतिबेलासम्म पूंजीका ६ वटा भाग खासगरी जमिन ( ल्यान्डेड प्रोपर्टी , ज्यालादारी मजदुरी , बैदेशिक व्यापार , विश्व बजार र संकटमा आधारित ६ भाग प्रकाशित छन् ।

पछिल्लो एक दशकयता मार्क्स – एंगेल्स संकलनमाला ( मेगा ) ‘ गठन गरेर सबै सामग्री खोज्दा राजनीतिक अर्थशास्त्रका १५ वटा भोलुम तयार हुने कुरा प्रकाशमा आएको छ । मेगाले विश्व इतिहासको क्रोनोलोजी मात्रै १५ सय पृष्ठ भेटिएको जनाइएको त्यतिबेलाका मार्क्सका साथीभाइ इष्टमित्र र सामग्रीको तीव्रतासाथ खोजी भइरहेको छ । झन्डै २ सयको हाराहारीमा रहेका डायरी जुन समाज विज्ञान, इतिहास मानवशास्त्र, प्रकृति विज्ञान र म्याथम्याटिक्ससँग जोडिएका भेटिएको दाबी गरिएको छ । यिनले विगतमा अधुराअपुरा रहेका कृति पुरा गर्न, कम व्याख्या भएका र अस्पष्टतालाई प्रस्ट बनाउन र व्यवस्थित गर्न सजिलो हुने जनाइएको छ । (हेर्नुहोस् , जोन वेलामी फोस्टरद्वारा लिखित ‘मार्क्स ओपेन इन्डिड क्रिटिक’ मन्थ्ली रिभ्यू , १ मे २०१८) यसको अर्थ मार्क्सवाद अपूरो थियो, अब पूरा हुने भन्ने अर्थ कदापि होइन । मार्क्सले आफ्नो जमानाको आर्थिक सामाजिक धरातलमा उभिएर गरेका खोज तथा अनुसन्धानले उनका त्यसवेला गरेका तर्कहरूलाई पुष्टि गर्न थप मद्दत पुग्नेछ ।

मार्क्सवादीमा आएको उतार चढाव

मार्क्सवाद ऐतिहासिक वर्ग संघर्षलाई अध्ययन गर्ने विधि हो । विज्ञानप्रविधिको विकासले ल्याउने परिवर्तन अकों अर्थमा हरेक औद्योगिक क्रान्तिले ल्याउने परिवर्तन , हरेक परिवर्तनभित्र विकसित हुने कामदार शक्ति कसरी निर्माण हुन्छ, त्यो कामदार शक्ति कसरी प्रशिक्षित हुन्छ र कस्ता वाहक वा सङ्गठकले तिनलाई डोर्याउँछन् भन्ने कुराले कस्तो वर्ग बन्छ र कस्तो संघर्ष हुन्छ वा हुने सम्भावना रहन्छ भन्ने निर्धारण गर्छ । आर्थिक – सामाजिक परिस्थिति, श्रमजीवि शक्तिको प्रशिक्षण, राज्यको नीतिले निर्धारण गर्ने वर्ग संघर्ष र क्रान्तिपछिको रूपान्तरण प्रक्रिया यो अध्ययनसँग जोडिने महत्त्वपूर्ण कडी हुन् । त्यसैले सिद्धान्ततः मार्क्सवाद वादविवाद वा बहस ( डाइलेक्टिक), भौतिकवाद (म्याटेरियालिज्म), र इतिहास ( हिस्ट्री )को सम्मिश्रण हो । त्यसैले ठीकठीक विश्लेषण गर्न र एक्सनमा उत्रन त्यति सजिलो छैन । त्यसैले मार्क्सको एउटा प्रसिद्ध भनाइ छ, ‘विज्ञानसम्म पुग्न बनिबनाउ राजमार्ग हुँदैन’ ।

‘मार्क्सवाद, बाइबल, कुरान, वा गीता होइन, जसलाई कण्ठस्थ गरेर कथित ‘ मुक्ति प्राप्त होस् । आजसम्म जेजति समाजवादी क्रान्ति सम्पन्न भए मार्क्सवादी विधिअनुरूप आफ्नो वर्गसंघर्षको इतिहास , तत्कालीन समाजको आर्थिक सामाजिक संरचना, तत्कालीन राज्यको प्रकृति र प्रवृत्ति , समाजमा विद्यमान वर्गसंघर्ष आदिलाई गहिरोसँग केलाएर बहुमत मानिसलाई संगठित संघर्षमा होम्दै सफलता चुमे । मार्क्सवादी अध्ययन विधिकै कारण पछिल्ला मार्क्सवादीहरू ठोस परिस्थितिको ठोस विश्लेषण गरेर क्रान्तिलाई डोर्याए । रुसको अक्टोबर क्रान्ति, चिनियाँ जनक्रान्ति वा क्युबाली क्रान्ति सबै आ – आफ्ना परिवेशमा आ – आफ्ना व्याख्या विश्लेषणका आधारमा सम्पन्न भएका थिए । ती सबैको संघर्षको प्रकृति भिन्नाभिन्नै थियो । परिस्थिति र श्रमजीवी सर्वहारा वर्गको सामाजिक र सांस्कृतिक अवस्था भिन्नाभिन्नै थियो ।

समाजवाद कसरी लागु गर्ने भन्ने विषय कार्यक्रम पनि स्वाभाविक रुपमा फरकफरक थिए । किनकि पूर्णरूपमा विकसित पूंजीवादी समाजको रूपान्तरण र अर्को पछौटे कृषि प्रधान देशको रूपान्तरण कपी गर्न मिल्दैनथ्यो । ज – जसले नीति निर्माण , कार्यक्रम र विचार हुबहु सार्ने कोसिस गरे ती नराम्रोसँग पछारिए । जसले आफ्नो समाज विश्लेषण धरातलीय यथार्थमा रहेर राम्ररी केलाएर अगाडि बढे तिनीहरू सफल भए ।

केही नवउदारवावी पूंजीवादी पक्षधर विद्वानहरूले सोभियत संघ तथा पूर्वी युरोपको विघटनपछि इतिहासको समाप्तिको घोषणा गरे । यसको अर्थ पूंजीवादको विकल्पमा रहेको समाजवादको अन्त्य र सँगसँगै मार्क्सवादको अन्त्य भएको घोषणा गर्ने कसरत थियो त्यो । कसैकसैले मार्क्सवाद विज्ञान प्रविधिमैत्री नभएको घोषणा पनि गरिदिए । कसैकसैले पूंजीमैत्री नभएकाले विकासमै नभएको आरोप लगाउन पनि चुकेनन् । तर , तिनले समग्रतामा के बुझेनन् भने यदि समाजवादले खोजेजस्तो सम्पत्तिको वितरण र पुनर्वितरण अवरुद्ध भयो भने आममानिस उत्पादन र उत्पादनका साधनबाट वञ्चित हुन्छन्, त्यसको अर्थ पूंजी सञ्चिति तथा पूंजी निर्माणसमेत अवरुद्ध हुन्छ ।

यसको अर्थ सम्पूर्ण बस्तु तथा सेवाको उत्पादन र पुनर्त्पादनमा नकारात्मक असर पर्छ । त्यसले सम्पूर्ण अर्थतन्त्रमा मात्र होइन, सामाजिक संकट खडा हुन पुग्छ । दोस्रो विज्ञान र प्रविधिको विकास भनेको केही मुठ्ठीभर व्यक्तिको धन सञ्चयका लागि कि आमजनताको सन्तुष्टिका लागि ? मानव निर्मित वैज्ञानिक सिर्जना र प्रविधि विकास उपलब्धि मानव विकासका लागि धन आर्जन गर्ने साधन मात्र ? पूंजीवादीहरू मानवतावादलाई नकार्दै विज्ञान र विकासको निजत्वकरणमा लिप्त हुन्छन् । मार्क्सवाद निजत्वकरणको खिलाप थियो र छ । सम्पूर्ण उपलब्धि समाजका सम्पूर्ण मानिसको जीवन पद्धतिमा सुधार गर्न, सहज बनाउन लक्षित हुनुपर्छ भन्ने थियो ।आजसम्मका सबै वैज्ञानिक आविष्कार र विकास व्यक्तिगत निजी सम्पत्ति आर्जनका लागि नभएर समाज कल्याणका खातिर भएका हुन् भन्ने बुझ्न पूंजीवादीहरूले चाहेनन् ( हेर्नुहोस् अल्बर्ट आइन्स्टाइन लिखित ‘ह्वाई सोसलिज्म’ । अझै पनि मन्थ्ली रिभ्यू अनलाइनमा पढ्न सकिन्छ )

मार्क्सवाद अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन योजनाको पोको थिएन भन्ने पनि पूंजीवादीसँगै कथित मार्क्सवादीहरूले पनि बुझेनन् वा बुझ्न चाहेनन् । त्यसैले केही मार्क्सवादीहरूले शासनसत्ता हुँदा गरेका सतही घोषणा, सतही क्रियाकलाप तथा विकृत रूपान्तरणलाई मार्क्सवादसँग जोडेर हेरे । वास्तवमा ती केही मार्क्सलाई बदनाम गर्न चाहने पूंजीवादी र तिनका हिमायतीहरूको औजारजस्तै बन्न पुगे । पूंजीवादीहरूलाई एक प्रकारले औडाहा भएको थियों । मार्क्सवादप्रति तिनको ईर्ष्या चुलिंदै गएको थियो । मार्क्सवादलाई सिराने हालेर गरिएका २०औ शताब्दीभरिका क्रान्तिले गरिब, सर्वहारालाई सशक्तीकरण गरेर जमिन तथा फ्याक्ट्रीको मालिक बनाएको थियो । राष्ट्रिय राज्यको निर्माण गर्दै स्वतन्त्र सार्वभौम सत्तासम्पन्न जनताका अधिकारका लागि साम्राज्यवादविरुद्ध स्वाधीन संघर्ष सञ्चालन गर्न हौस्याएको थियो ।

शिक्षा , स्वास्थ्य रोजगारीमा आमजनताको पहुँच पुर्याउन र राज्यको दायित्वको पहिचान बढाउन मार्क्सवाद औजार बन्न पुगेको थियो । दासका रूपमा भित्र्याएका काला जाति र सम्पूर्ण महिलाहरूलाई मतदान दिने आधार मार्क्सवादको आधारमा भएका क्रान्तिको अगुवाइमा भएका थिए । त्यसले मुट्ठीभर सामन्त तथा पूंजीवादीहरूमा खुम्चिएको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार आमजनताको पहुँचमा पुर्यावन अहम् भूमिका खेलेको थियो । पूंजीवादीहरू समाजवादको नामबाट तर्सिनुपर्ने, झाँक्किनुपर्ने, यिनै कारण थिए । समाजवाद समापन हेर्न पूंजीवादीहरू सधै मौकाको खोजीमा थिए, छन् र भोलि पनि रहनेछन् ।

मार्क्सवाद माथि उल्लेख गरिएझैँ बहस, वादविवाद, भौतिकवाद र बर्ग संघर्षको समष्टि हो । क्रान्तिपछि जानी – नजानी राज्य पुँजीवादमा लैजानेहरूले बहस र बावविवादलाई प्रतिबन्ध लगाए । यसले भौतिक वस्तु उत्पादनको विकास त सम्भव भयो, तर समाजको सामाजिक रूपान्तरण प्रक्रिया अवरुद्ध हुन पुग्यो । डाइलेक्टिकको अभावमा राज्यमा ब्युरोक्रेसी हाबी हुन पुग्यो । डाइलेक्टिक (वादविवाद – बहस) को अभावमा जनवाद मलिन हुन पुग्यो र वर्ग संघर्ष झन् भुत्ते हुन पुग्यो । यसरी समाजवादका नाममा हुर्किएको राज्य पूंजीवादमा ढल्नुथ्यो , ढल्यो । त्यों शासन पद्धति जनताको पक्षमा नभएकाले जनताले काँध थापेनन् र अवसान भयो । पूंजीवादीहरूले मार्क्सवाद मरेको प्रचार गरे ।

पूर्वी युरोप र सोभियत संघको विघटनपछि पूंजीवादमा एकपछि अर्को संकट देखा परे । सन् १९९७ / ९८ को पूर्वी एसियाली वित्तीय संकट, १९९८ / ९९ को रुस तथा मेक्सिको संकट, सन् २००२ को अर्जेन्टिनी संकट , यी श्रृंखलाबद्ध संकटहरू एक अर्कामा गाँसिदै गाँसिदै आइनै रहेका बेला संयुक्त राज्य अमेरिकाका बैंकहरूले वित्तीय संकट निम्त्याए र त्यसले निम्त्याय संसारव्यापी मन्दी । पूंजीवादी अर्थशास्त्री तथा नीतिनिर्माताहरू एक दशकदेखि छताछुल्ल हुन पुगेको पूंजीवादका अवयवहरू बटुलेर टालटुल गर्नमा व्यस्त छन् , तर समाजवादी अर्थशास्त्रीहरू भनिरहेछन् , (पूंजीवादमा प्रणालीगत संकट सिस्टमिक क्राइसिस ) आइसकेकोले अब प्रणाली नै फेर्नुपर्छ र विकल्प भनेको समाजवाद नै हो । तर समाजवादले पुराना गल्तीहरू दोहोर्याउनुहुन्न ।

अघिल्लै शताब्दीको अन्तिम वर्षहरूमा नवउदारवादी पूंजीवादविरुद्ध कुल्ठूला संघर्षहरू भए । समग्र ल्याटिन अमेरिका समाजवादमय बन्न पुग्यो । बोलिभारान क्रान्तिको आधारमा हयुगो चाभेजले दर्शनिक स्तेभान मेजारोसको भिजनमा आधारित रहेर २१ औं शताब्दीको समाजवादी कार्यक्रमलाई अगाडि सारे । अमेरिकी साम्राज्यवादको नाकैमुनि बोलेभिया , इक्वेडर , अर्जेन्टिना, ब्राजिल उरुग्वेका श्रमजीवी कामदारहरुको जीवनस्तर ठूलो फड्को मार्ने गरी समाजवादी पार्टीहरु निर्वाचनमार्फत सत्तामा पुगे । कोही सफल देखिए कोही असफल । यद्यपि यो पुनर्जागरणले ल्याटिन अमेरिकामा सशक्त विकल्प प्रस्तुत गरेको छ ।

सन् २००७ देखि २०१० को अवधिमा पूर्वी र पश्चिमी यूरोपमा समाजवादको नयाँ जागरण सुरु भएको छ । मार्क्सवादको गम्भीर अध्ययन सुरु भएको छ । पूंजीवादका स्वरूप र बिस्तारका बारेमा लेनिन ( इम्पेरियालिज्म अ हाइअर स्टेज अफ क्यापिटालिज्म ), रोजा लक्जेम्बर्ग ( क्यापिटल एकुमुलैसन थ्यौरी ) , माइकल कोलेस्की ( जेनरल थ्यौरी र थ्यौरी अफ ग्रोथ एन्ड इम्प्ल्वाइमेन्ट ), जुबान रॉबिन्सन (थ्यौरी अफ इम्यर्फेक्ट कम्पिटिसन ), पौल बरान, पौल स्विजी, हारी म्यागडफ ( मोनोपोली क्यापिटालिज्म एन्ड स्ट्यागनेसन ) आदि माथि गम्भीर बहस र छलफल चल्न थालेका कुरा हिजोआज प्रकाशित पुस्तक, जर्नल आर्टिकल तथा अखबारी लेखनहरूमा पाइन थालेकाले पुष्टि हुन्छ ।

ग्रिसेली अर्थशास्त्री कोस्तास लापाभिताससको ‘प्रोफिट विथआउट प्रोड्यूसिङ ‘ नामक किताबले हामीकहाँ चलेको दलाल पूंजीवादको बहसकों झल्को दिन्छ । उनले विस्तारमा त्यसको पछाडिको सैद्धान्तिक जरा केलाएका छन् । डेभिड हार्वे, फ्रेड मोस्ले, माइकल हेनरिचलगायत सयौं समाजशास्त्री, अर्थशास्त्री तथा राजनीतिशास्त्रीहरू मार्क्सवादको बिकासमा भिडेर लागिपरेका देखिन्छन् ।

हिजोआज पूँजीवादभित्रै दक्षिणपन्थी लोकप्रियतावाद झाङ्गिरहेको छ । पुरानो उदारवादलाई नवउदारवादले खायो र नवउदारवादलाई दक्षिणपन्थी लोकप्रियताबादले । नवलोकप्रिय राष्ट्रवादीहरू पूंजीवादी भूमण्डलीकरणका विरुद्ध राष्ट्रवादी पूंजीवादको वकालत गरिरहेका छन् । र, त्यसका आडमा नश्लवाद, धर्मवाद, जातिवादलाई आड लिने गरेका छन् । तिनले फैलाउन सक्ने नरहिंसा, अन्याय, अत्याचार आततायी युद्धका विरुद्ध मार्क्सवादमा आधारित राजनीतिक संगठनको निर्माणको विकल्पमा अरू केही देखिएको छैन । यस अर्थमा मार्क्सवाद अहिलेको संकटबाट माथि उठ्ने ठूलो वैचारिक विधि बन्ने सम्भावना प्रवल देखिएको छ ।

मार्क्सवादलाई माथि भनिएझैँ धर्मशास्त्र बनाउने होइन । विधिसंगत ढंगले अध्ययनलाई अगाडि बढाउने हो । मार्क्सले भनेझैँ राष्ट्रभित्र रहेका स्रोतसाधनहरू (जमिन, श्रमशक्ति , उद्योगधन्दा , पूँजी , वित्त) कसरी परिचालित भएका छन् ? कसरी कसले कसका हितमा उपयोग र दोहन गरिरहेका छन् यसको विधिवत् अध्ययन आवश्यक छ । विगतमा ‘डाइलेक्टिक्स’को जसरी हत्या हुन पुग्यो अबका दिनमा त्यसो हुन नदिन पुनर्जीवन कसरी दिने ? बहस छलफललाई कसरी सङ्गठनको जीवन बनाउने ? कसरी वर्गसंघर्षलाई क्रान्तिपछि पनि जीवन्त तुल्याउने ? यसको खोजी हुन जरुरी छ ।

नेपालमा मात्रै होइन, संसारभर , संघर्षको कसरी पहिचान गर्ने ? भन्ने समस्या देखिएको छ । अमेरिका र युरोपमा काला जातिमाथि गरिएको भेदभाव र घृणा , मुस्लिममाथि फैलाइएका द्वेष, नेपाल भारतजस्ता देशमा दलित , जनजातिमाथि गरिएका आर्थिक, सामाजिक साँस्कृतिक , राजनीतिक भेद र अन्य सीमान्तकृत जनसमुदायलाई गरिएका हिजोदेखिका भेदभावलाई कसरी हटाउने ? कस्तो अभियानमार्फत कस्तो आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत ? यी गम्भीर विषय हुन् । गफ र भाषणले मात्र समाजवाद आउँदैन ।

ठोस परिस्थितिको ठोस विश्लेषण, , परिवर्तनका लागि ठोस योजना, योजना कार्यान्वयनका लागि नयाँ क्रियाशील र कामकाजी संस्थाहरूको व्यवस्थापन आवश्यक हुन्छ । नेपालमा वामपन्थीहरुलाई जनताले लहलहैमा लागेर त्यत्तिकै भोट दिएका होइनन्, आमूल परिवर्तनको आसमा दिएका हुन् । यदि उनीहरूलाई यो नाम मात्रका मार्क्सवादी हुन् , यिनले सुधार गर्दैनन् भन्ने लाग्यो भने काँधबाट तल खसालिदिन्छन् जसरी सोभियत सरकारको लास बोक्न कोही सडकमा ओर्लिएनन् ।

चिनियाँ विशेषतासहितको मार्क्सवादको विकास भनेको के हो ?

ली याङ्ग  चिनियाँ राष्ट्रपति शि जिनपिंगले चिनियाँ सन्दर्भ र वर्तमान समयका आवश्यकतासँग मार्क्सवादलाई अनुकूल बनाउन थप प्रयास गर्न आह्वान गरेका छन्। शि, जो कम्युनिस्ट पार्टी अफ चाइना केन्द्रीय कमिटीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन्, नयाँ युगमा मार्क्सवादी सिद्धान्तको अध्ययन र विकासको परियोजनामा एक निर्देशन दिँदै यो आवश्यकता व्यक्त गरेका छन्। मार्क्सवादी सिद्धान्तको अध्ययन र विकासको परियोजनामा एक कार्य बैठक शुक्रबार बेइजिङमा आयोजित गरिएको थियो। बैठकको संक्षेपमा भनिएको छ कि यो परियोजना पार्टीको वैचारिक र सैद्धान्तिक विकासको लागि रणनीतिक महत्त्वको छ। विगत २० वर्षमा यस परियोजनामा सहभागी अनुसन्धानकर्ताहरूले उच्च गुणस्तरका अनुसन्धान परिणामहरू उत्पादन गरेका छन्, जसले पार्टीका नवीनतम सैद्धान्तिक विचारहरूलाई प्रवर्धन गर्न र मार्क्सवादको मार्गदर्शक भूमिकालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। नयाँ युगमा, परियोजनामा सहभागीहरूले मार्क्सवादको प्रणालीगत र शैक्षिक अनुसन्धान र व्याख्यालाई थप तीव्र बनाउँदै, उनीहरूको अध्ययन र अनुसन्धानको परिणामहरूको प्रयोगको सान्दर्भिकता र प्रभावकारिता बढाउनुपर्ने छ, र पार्टीका नवीनतम सैद्धान्तिक विचारहरूलाई देशको उच्च गुणस्तरीय विकास र राष्ट्रिय आधुनिकीकरणको व्यावहारिक आवश्यकतासँग अझ बढी सान्दर्भिक बनाउन प्रवर्धन गर्नुपर्नेछ। उनीहरूले आफ्नो अनुसन्धान पार्टी र राष्ट्रका आवश्यकतामा आधारित गर्नु पर्नेछ, चिनियाँ सांस्कृतिक धरोहरलाई अगाडि बढाउनु पर्नेछ, र मार्क्सवादलाई चिनियाँ सन्दर्भ र समयको आवश्यकतासँग अनुकूल बनाउनको लागि एक मजबूत शैक्षिक आधार निर्माण गर्नु पर्नेछ। उनीहरूले राष्ट्रिय आधुनिकीकरणको प्रक्रियामा प्रमुख मुद्दाहरूमा गहिरो अनुसन्धान गर्नु पर्नेछ, चिनियाँ दर्शन र सामाजिक विज्ञानको स्वतन्त्र ज्ञान प्रणालीको निर्माणलाई तीव्र गर्नु पर्नेछ, उच्च गुणस्तरीय सैद्धान्तिक प्रतिभाहरूलाई पोषित गर्नु पर्नेछ, र मार्क्सवादको सिनिकरण र आधुनिकीकरण प्रवर्धनमा ठूलो योगदान पुर्याउनु पर्नेछ। शि जिनपिंगले हालै परियोजनामा दिएको निर्देशनले यसका स्थिति र भूमिकालाई गहिरो रूपमा व्याख्या गर्दै, सही मार्ग र नवीनता कायम राख्नका लागि पार्टीका नवीनतम सैद्धान्तिक विचारहरूको अध्ययन, अनुसन्धान र प्रचार प्रवर्धन गर्ने कार्यका लागि महत्त्वपूर्ण मार्गदर्शन प्रदान गरेको छ। पार्टीको १८औं राष्ट्रिय कांग्रेसको पछि, सीपीसी केन्द्रीय कमिटीले प्रभावकारी वैचारिक काम र सैद्धान्तिक नवीनताको साथ पार्टीलाई सशक्त बनाउनमा ठूलो महत्त्व दिएको छ। शिले मार्क्सवादी सिद्धान्तको अध्ययन र विकासलाई बलियो बनाउनका लागि महत्त्वपूर्ण व्याख्याहरू प्रकाशित गरेका छन्, जसले मार्क्सवादलाई कायम राख्न र विकास गर्नका लागि दिशा र आधारभूत मुद्दाहरूलाई गहिरो उत्तर दिएका छन्, र यसको अध्ययन र विकासका लागि दिशा, लक्ष्य, आधारभूत सिद्धान्त, कार्य र प्रमुख कार्यहरूको प्रणालीबद्ध व्याख्या गरेका छन्। यो परियोजना, जस्तो चाहिन्छ, अध्ययन र अनुसन्धानको सान्दर्भिकता र प्रभावकारिता सुधार गर्न, मार्क्सवाद र चीनका वास्तविक अवस्थाका बारेमा प्रणालीगत अनुसन्धान र व्याख्या गहिरो बनाउनमा केन्द्रित हुनु पर्छ। विशेष रूपमा, सम्बद्ध अनुसन्धानकर्ताहरूले मार्क्सवादका आधारभूत सिद्धान्तहरूको अनुसन्धान गहिरो बनाउनुपर्नेछ, चीनका विशिष्ट व्यावहारिक समस्याहरूको उत्तर दिनुपर्नेछ, चीनको पारंपरिक संस्कृतिका समृद्ध अर्थ र समकालीन मूल्य अन्वेषण गर्नु पर्नेछ, र सैद्धान्तिक सृजनशीलताको जीवन्तता निरन्तर उत्तेजित गर्नु पर्नेछ। उनीहरूले पार्टीका नवीनतम विचारको मार्गदर्शनमा कायम रहनुपर्नेछ, समयका आवश्यकतासँग अनुकूल हुनु पर्नेछ, चीनको वास्तविकतामा आधारित भएर काम गर्नुपर्नेछ, र मार्क्सवादी अवधारणाहरू र सैद्धान्तिक विचारहरूको प्रणालीबद्ध संशोधन र सारांश गर्नुपर्नेछ, र चीनको राष्ट्रिय अवस्थाका आधारमा दर्शन र सामाजिक विज्ञानको स्वतन्त्र ज्ञान प्रणालीको विकास प्रवर्धन गर्नुपर्नेछ। यस्ता परियोजना चलाउनेहरूले चीनको शैक्षिक संवाद प्रणालीको प्रभावकारिता, आकर्षण र प्रभावलाई निरन्तर बढाउनु पर्नेछ। अनुसन्धानकर्ताहरूले चीनको सुधार, विकास र स्थिरतामा रहेका गहिरा समस्याहरू, जनताको तात्कालिक समस्याहरू, अन्तर्राष्ट्रिय परिवर्तनहरूमा रहेका प्रमुख मुद्दाहरू, र पार्टीको विकासमा रहेको समस्याहरूमा ध्यान केन्द्रित गर्नु पर्नेछ। त्यसको लागि, सम्बद्ध विभागहरूले संगठनलाई सुदृढ गर्न, संस्थागत मेकानिजमलाई सुधार गर्न, प्रोत्साहन ग्यारेन्टीहरूलाई बलियो बनाउन, उपयुक्त शैक्षिक पारिस्थितिकी सिर्जना गर्न, र समन्वय, वैज्ञानिक व्यवस्थापन र प्रोत्साहन नवाचारको साथ कार्य मोडेलको निर्माणलाई तीव्र गर्नु पर्नेछ। यसरी, यो परियोजना सम्पूर्ण पार्टी र समाजलाई मार्क्सवादमा विश्वासलाई थप सशक्त बनाउन र पार्टीका नवीनतम सैद्धान्तिक विचारसँग राजनीतिक, वैचारिक, सैद्धान्तिक र भावनात्मक पहिचानलाई निरन्तर सुदृढ गर्न सहयोग पुर्याउनुपर्छ, र देशको उच्च गुणस्तरीय समग्र विकास र केही जटिल क्षेत्रमा सुधार गहिरो गर्नको लागि थप बौद्धिक समर्थन प्रदान गर्नु पर्नेछ। साभारः चाइनाडेली

सामाजिक सञ्जाल वरदान कि अविशाप !

दिपक तिमल्सिना  तपाईहरूले आजकल सामाजिक सञ्जालमा अनेक किसिमका कनटेन्ट खपत गर्नुहुन्छ । कतिपय राम्रा हुन्छन् भने कतिपय नराम्रा तरपनि हामीलाई सामाजिक सञ्जाल टिकटक, फेसबुक, युटुव चलाउन मज्जा लाग्छ। तपाईंले याद गर्नुभएको छ कुनै दिन तपाईले अब त म सुत्छु माेबाइल चलाएकाे धेरै भयाे भन्नुभएकाे छ र त्यसपछि पनि ३, ४ घण्टा सम्म तपाई स्काेर्ल गर्दै चलाउदै बस्नुभयाे हुन्छ र एक्कासी झसङ्ग हुनुहुन्छ। प्राय: अहिलेकाे सबै जेनजी जेनेरेसनमा सामाजिक सञ्जाल याे एक प्रकारकाे एडिक भइनैसकेकाे छ। सामाजिक सञ्जालका सकारात्मक पक्ष धेरै छन भने नकारात्मक पक्षकाे पनि कमी छैन। आजका ८, ९ र १० कक्षा र कलेजमा पढने प्राय सबै विधार्थीहरू सामाजिक सञ्जालमा र विषेशतय पप जी, फ्री फायर जस्ता गेमिङ पेटफममा आवध छन। अनि आफ्नाे अमुल्य समय समेत  वेतित गरिरहेका छन्। त्यस्ता गेम  जुन खेल्दा डाेपामिन (खुसि हुदा आउने हरमाेन) रिलिज हुन्छ।  क्षणिक सुखका लागि पढाइ र आफ्नो  स्पर्णिम भविष्य आजका पिडिले दाउमा लगाईरहेका छन्। समाजमा हामीले आजकलका बच्चाहरूलाई यसरी माेबाइल फाेन थमाई दिएका छाै कि याे हाम्रो अत्यावश्यक चिज जस्तै हाे। जुन रूपमा कन्टेन्ट फिसिङ्, मिसलिडिङ, मिसइन्फरमेसन फैलिरहेकाे छ यसले पनि भविष्यमा खतराकाे सङकेत गर्दछ।  यसका साथै सकारात्मक कन्टेन्टहरू पनि छन्। कक्षा १ देखि पिएचडि सम्मका कठिन विषयका पाठ्यक्रम, प्रश्नाेउत्तर पनि भिडियो मार्फत सामाजिक सञ्जालमा सजिलै पाउन सकिन्छ। यी लगायत विभिन्न सीप, उघम,नेत्तृत्व, मेसिनरी विषयमा पनि भिडियो श्रव्य, दृश्य कनटेन्ट पाउन सकिन्छ। तरपनि अनावश्यक युटुव च्यानल, फेक न्युज, चरित्र हत्या गर्न प्रयाेग गरिएका एआईका फाेटेज थिडियाेजहरू इत्यादिले निराशा पैदा गर्दछ। यस्ता आर्टिफिसिय इन्टेलिजेन्सबाट बनेका भिडियाेहरू सामाजिक सञ्जालमा हाल्दा नागरिकहरूले छिटै विश्वास गर्न सक्नेछन।  यदि यस्ता प्रस्तुतिहरू प्राटफर्मले समयमा नै नियन्त्रण गर्न सकेन भने पनि जनताहरूलाई गलत सञ्चार हुन जान्छ। सामाजिक सञ्जालका कम्पनीहरूले कम्पनीकाे पेटफर्ममा देखाइएका सम्पूर्ण विषयवस्तुलाई गहिराई मै गई नियन्त्रण र नियमन गर्नु नितान्त जरुरी छ।  आधुनिक प्रविधिको विकाससँगै हाम्रो जीवनशैलीमा व्यापक परिवर्तन आएको छ। यस प्रविधिमा आधारित सामाजिक सञ्जालहरू - जस्तै फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक, युट्युब, आदि - अहिले संसारभर अत्यन्त लोकप्रिय भएका छन्। तिनीहरूले हाम्रो समाज, संस्कृति, र व्यक्तित्वमा गहिरो प्रभाव पार्दै आएका छन्। यसले हामीलाई सूचनाको द्रुत आदान-प्रदान गर्न सजिलो बनाएको छ, तर यसका केही नकारात्मक असरहरू पनि छन्। सामाजिक सञ्जालका केही सकारात्मक पक्षहरू छन्। सूचनाको आदान-प्रदान सजिलै गराउँछ। यो समाचार, स्वास्थ्य, शिक्षा, प्रविधि, आदि क्षेत्रमा छिटो पहुँच पुर्‍याउने उत्कृष्ट साधन बनेको छ। यो माध्यमले मानिसहरूलाई टाढाको साथीभाइ तथा परिवारसँग जोडिन सहयोग पुर्याउँछ। अध्ययन, व्यवसाय वा अन्य प्रयोजनका लागि विभिन्न ठाउँमा बस्ने मानिसहरूलाई पनि आफ्ना नजिकका व्यक्तिहरूसँग सम्पर्क राख्न सजिलो भएको छ। व्यवसाय र रोजगारका अवसरहरू पनि बढेका छन्। स–साना व्यवसायीलाई पनि आफ्नो व्यवसायलाई ठूलो बजारमा प्रवर्द्धन गर्ने अवसर मिलेको छ। मानिसहरूले आफ्नो प्रतिभा, जस्तै कला, संगीत, नृत्य, लेखन, आदि सामाजिक सञ्जालमा प्रस्तुत गर्न सक्छन्। यसले उनीहरूलाई दर्शक र प्रशंसा प्राप्त गर्न मद्दत गर्दछ। शिक्षामा पनि यसले धेरै सहयोग पुर्याएको छ। विद्यार्थीहरूले अनलाइन कक्षाहरू लिन, नोट्स आदानप्रदान गर्न र आफ्ना शंकाहरू समाधान गर्न सक्छन्। तर, सामाजिक सञ्जालका केही नकारात्मक पक्षहरू पनि छन्। यसले मानिसको समयको नाश गराउँछ। सामाजिक सञ्जालमा अत्यधिक समय बिताउँदा मानिसहरू आफ्नो पढाइ, काम, वा अन्य जिम्मेवारीमा ध्यान दिन नसक्ने समस्या पनि देखिन्छ। यसले मानिसहरूको निजी जीवनलाई सार्वजनिक बनाउँछ, जसकारण गोपनीयता सम्बन्धी समस्या उत्पन्न हुन्छ। लामो समयसम्म सामाजिक सञ्जालको प्रयोगले मानिसहरूमा नकारात्मक भावना, मानसिक तनाव, र डिप्रेसनको समस्या निम्त्याउन सक्छ। विभिन्न पोस्ट र तस्वीरले व्यक्तिलाई आफ्ना कमजोरीहरूमा ध्यान दिन लगाउँछ र आत्म–सम्मानमा कमी आउन सक्छ। यसमा छिटो जानकारी फैलिने भएकाले, कहिलेकाहीँ गलत सूचना पनि सजिलै फैलिन्छ, जसले समाजमा भ्रम र अविश्वास फैलाउन सक्छ। सामाजिक सञ्जालमा अपमानजनक कमेन्ट, धम्की, र विभिन्न प्रकारका साइबर अपराधहरू पनि हुनेगरेका छन्। यसले मानिसको मनोबल गिराउने काम गर्छ। यसरी, सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका छन्। सही उपयोग गरिएमा यो एक अत्यन्त प्रभावकारी र शिक्षाप्रद साधन हुन सक्छ। यसलाई सन्तुलित रूपमा प्रयोग गर्न सकेमा हाम्रो जीवनमा यसले उल्लेखनीय सुधार ल्याउन सक्छ। 

बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिका

सुबिन चालिसे नेपाल जस्तो विविधतायुक्त देशमा समाज निरन्तर परिवर्तनको यात्रामा छ। विकास, प्रविधि, र जनचेतनामा आएको परिवर्तनले समाजको संरचना र मूल्य मान्यताहरूमा ठूलो प्रभाव पारेको छ। यस बदलिँदो समाजमा युवाहरूको भूमिका महत्वपूर्ण छ। नेपाली समाजमा परिवर्तन ल्याउने शक्ति नै युवाहरू हुन्। सबैभन्दा पहिला, युवाहरू प्रविधिको सशक्त प्रयोगकर्ताका रूपमा देखिएका छन्। इन्टरनेट, सामाजिक सञ्जाल, र नयाँ प्रविधिहरूको उपयोग गर्दै उनीहरूले नयाँ चेतना, विचार र सन्देश फैलाइरहेका छन्। उदाहरणस्वरूप, विभिन्न सामाजिक मुद्दाहरूमा युवाहरूले अनलाइन अभियान चलाएर समाजलाई जागरूक बनाउने प्रयास गरिरहेका छन्। दोस्रो, राजनीतिक परिप्रेक्ष्यमा युवाहरूको भूमिका उल्लेखनीय छ। विगतका केही वर्षहरूमा, युवाहरूले राजनीतिक आन्दोलनहरूमा सक्रियता देखाउँदै आएका छन्। नेपालमा भएको लोकतान्त्रिक आन्दोलनहरूमा युवाहरूको भूमिका महत्त्वपूर्ण रह्यो। अहिलेको नयाँ संविधान निर्माणमा समेत युवाहरूको आवाजलाई सुनिएको छ। तेस्रो, नेपाली समाजमा भएका परम्परागत धारणाहरू र पुराना सामाजिक संरचनाहरूलाई चुनौती दिन युवा पुस्ताले अग्रसरता लिएको देखिन्छ। जात, लिङ्ग, र धर्मसँग सम्बन्धित विभेदहरूलाई हटाउने र समानता स्थापनाको लागि युवाहरूले अभियानहरू चलाएका छन्। यसले नेपाली समाजलाई उदार, समतामूलक र समावेशी बनाउन ठूलो सहयोग गरेको छ। युवाहरू रोजगारी र उद्यमशीलताको क्षेत्रमा पनि सक्रिय छन्। बदलिँदो अर्थतन्त्रको माग अनुसार युवाहरूले नयाँ नयाँ व्यावसायिक मोडेलहरू सिर्जना गरिरहेका छन्। स्टार्टअप कल्चरको सुरुवात र नविन सोच राखेर उनीहरूले नेपालको आर्थिक विकासमा योगदान पुर्याइरहेका छन्। युवाहरूले सामाजिक सेवामा पनि उल्लेखनीय योगदान दिएका छन्। विभिन्न गैरसरकारी संस्थाहरू, स्वयंसेवी संगठनहरू मार्फत शिक्षा, स्वास्थ्य, वातावरण, तथा अन्य सामाजिक मुद्दाहरूमा काम गरेर समाजलाई सशक्त बनाउन उनीहरूको भूमिका महत्त्वपूर्ण छ। समग्रमा, बदलिँदो नेपाली समाजमा युवाहरू परिवर्तनका वाहक हुन्। उनीहरूलाई सही दिशामा नेतृत्व गर्ने अवसर दिइने हो भने नेपाली समाजको भविष्य उज्ज्वल देखिन्छ। नविन सोच, साहस, र जोशले भरिएका यी युवाहरूले नेपाली समाजलाई आधुनिक र प्रगतिशील दिशामा अघि बढाउन सक्ने क्षमता राख्छन्। बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिकालाई थप विस्तृत रूपमा हेर्दा विभिन्न क्षेत्रहरूमा उनीहरूको प्रभावलाई उजागर गर्न सकिन्छ। सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा उनीहरूको योगदान क्रमशः वृद्धि हुँदै गएको छ। १. सामाजिक नेतृत्वमा योगदान: नेपाली युवाहरूले सामाजिक नेतृत्व र सेवा क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्। सामाजिक अभियन्ता र स्वयंसेवकको रूपमा, युवाहरूले सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र लैंगिक समानताजस्ता मुद्दाहरूमा काम गरिरहेका छन्। विभिन्न गैरसरकारी संस्था र अभियानहरूमा संलग्न भई उनीहरूले समाजमा सुधार ल्याउने प्रयास गरिरहेका छन्। नेपालमा बढ्दो लैंगिक हिंसा, बालविवाह, जातीय विभेद, र अन्य सामाजिक मुद्दाहरूलाई हटाउन युवाहरूले चलाएका अभियानहरूले समाजमा चेतना फैलाइरहेका छन्। यसले समाजलाई न्यायसंगत र समावेशी बनाउन मद्दत पुर्‍याएको छ २. राजनीतिक सचेतना र सक्रियता: नेपाली राजनीतिक परिवेशमा युवाहरूको भूमिका अब सीमित मात्रामा होइन। विगतमा राजनीति बृद्ध पुस्ताको वर्चस्वमा रहे पनि अहिलेको समयमा युवाहरूले नयाँ सोच, सुधार, र परिवर्तनको माग राख्दै सक्रिय सहभागिता जनाइरहेका छन्। स्थानीय निर्वाचनदेखि लिएर राष्ट्रिय स्तरसम्म उनीहरूको सहभागिता बढ्दो छ। युवाहरूले सशक्त राजनीतिक नेतृत्वको माग गर्दै विभिन्न आन्दोलनहरूमा भाग लिएका छन्, जसले नयाँ पुस्ताको आवश्यकता र प्राथमिकतालाई अघि सारेको छ। उनीहरू राजनीतिमा पारदर्शिता, जवाफदेहिता, र निष्ठाको माग राख्दै आएका छन्। यसले पुराना राजनीति शैलीमा सुधार ल्याउन र नयाँ नीतिहरूको निर्माण गर्न सहयोग पुर्‍याएको छ। ३. उद्यमशीलता र नवप्रवर्तन: बदलिँदो विश्वसामु युवाहरूले नयाँ प्रविधिको सदुपयोग गर्दै उद्यमशीलताको क्षेत्रमा क्रान्तिकारी योगदान दिएका छन्। नेपालको आर्थिक अवस्था सुधार्न युवाहरूले स्टार्टअपहरू, साना तथा मझौला उद्यमहरूको सुरुवात गरेका छन्। कृषि, पर्यटन, सूचना प्रविधि, र उद्योग क्षेत्रमा युवाहरूको नविन सोचले नेपाललाई स्वावलम्बी बनाउने दिशामा अघि बढाएको छ। अझै, युवा उद्यमीहरूले विश्वव्यापी मञ्चमा नेपाललाई चिनाउँदै निर्यातका लागि नयाँ नयाँ उपायहरू खोजिरहेका छन्। यसले न केवल रोजगारी सिर्जना गरेको छ, तर देशको आर्थिक विकासमा योगदान पुर्याएको छ। ४. सांस्कृतिक परिवर्तन: सांस्कृतिक रूपमा पनि युवाहरूले परम्परागत मान्यताहरूलाई आधुनिक सोचसँग मेल खुवाउने प्रयास गरिरहेका छन्। नेपालको विविध सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै, नयाँ पुस्ताले सांस्कृतिक साक्षरता, कला, संगीत, र अन्य सांस्कृतिक क्रियाकलापहरूमा पनि नविनता ल्याइरहेका छन्। यसका साथै, विश्वव्यापीकरण र प्रविधिको प्रभावले गर्दा युवाहरूले नयाँ सांस्कृतिक परम्पराहरूलाई आत्मसात गर्दै आएका छन्। यद्यपि, उनीहरूले आफ्नै मौलिक संस्कृति र परम्पराको पनि सम्मान गर्ने परिपाटीलाई कायम राखेका छन्। ५. वातावरणीय सचेतना र संरक्षण: वातावरणीय चुनौतीहरू सामना गर्न युवा पुस्ताले अग्रसरता लिएको छ। जलवायु परिवर्तन, प्रदूषण, र जंगलको कटानजस्ता समस्याहरूको समाधानका लागि युवाहरूले वातावरणीय सचेतना अभियानहरू सञ्चालन गरिरहेका छन्। "क्लिन अप नेपाल", "ग्रीन नेपाल", जस्ता अभियानहरूमा उनीहरूको उत्साही सहभागिताले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।युवाहरूको वातावरणप्रतिको जागरूकता र योगदानले दीर्घकालीन दिगो विकासको अवधारणा फैलाउने कार्यमा ठूलो भूमिका खेलिरहेको छ। निष्कर्ष: बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिका बहुआयामिक छ। उनीहरू समाजका हरेक क्षेत्रमा परिवर्तन र सुधारको वाहक बनेका छन्। प्रविधिको प्रयोग, उद्यमशीलता, सामाजिक न्यायका लागि अभियान, र राजनीतिक सुधारमा उनीहरूको योगदान नेपाललाई आर्थिक, सामाजिक, र सांस्कृतिक रूपमा समृद्ध बनाउन सहायक साबित भएको छ। युवाहरूको सक्रियता र नवप्रवर्तनले नेपालको भविष्य उज्ज्वल र सक्षम देखिन्छ। यदि राज्यले तिनलाई उचित अवसर र स्रोतहरू उपलब्ध गरायो भने, नेपाली समाजले उनीहरूको अद्वितीय ऊर्जा र नवाचारलाई थप सदुपयोग गर्न सक्नेछ, जसले देशलाई दिगो विकास र समृद्धितर्फ उन्मुख गराउनेछ ।   

थारू समुदायमा बर्का अटवारी

छविलाल कोपिला अटवारी, थारू समुदायको महान् चाड माघ पछिको दोस्रो ठूलो पर्वकाे रूपमा मानिन्छ । यो पर्वमा खास गरेर पुरुषहरू निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरू पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने यो पर्व प्रायः भदौ महिनामा पर्छ । यसको तिथि मितिको बारेमा हरेक वर्षझैं विभिन्न मतमतान्तर हुँदै आएका छन् । ठाउँ अनुसार चालचलनमा विविधता छ र यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरू अगाडि आएको देखिन्छ । यसकारण पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरूको बहसको विषय पनि बन्दै आएको छ । अटवारी कहिले मनाइन्छ ? अटवारीको परम्परागत अवस्था र पृष्ठभूमिलाई हेर्ने हो भने यो खास गरेर भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्म सबै आइतबारलाई अटवारी पर्वको रूपमा मान्ने चलन थियो । तर, यो चलन अहिले छैन । समयसँगै अहिले यो पर्व एक आइतबारमा मात्रै सीमित भइसकेको छ । पुरानो चलनलाई हेर्दा जसरी हिन्दू महिलाहरूले साउन महिनाको प्रत्येक सोमबार व्रत बसे जस्तै थारु समुदायमा भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्मको सबै आइतबार व्रत बस्ने चलन थियो । त्यसकारण कुनै साल कात्तिके दशैं पर्यो भने एउटै व्यक्तिले ११–१२ पटकसम्म व्रत बस्नु पर्ने अवस्था हुन्थ्यो । यति लामो समयसम्म लगातार व्रत बस्नु पर्ने हुनाले दशैंसम्मको सबै आइतबार अटवारी व्रत सबैले बस्दैनथे । केही व्यक्तिहरू भदौको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारको अटवारी धुमधामसँग मनाएर व्रत स्थगित गर्दथे भने स्वेच्छिक व्रत बस्नेहरू दशैंसम्मको आइतबार नियमित रूपमा अटवारी व्रत बस्दथे । समयक्रमसँगै भदौको पहिलो आइतबारदेखिको व्रत बस्न अहिले छोडिसकेका छन् । भदौ महिना ऊ बेला धेरैजसोको घरमा भोकमरी हुने र झाडापखाला लगायतका महामारी तथा बर्षे धानबाली भित्राउने र हिउँदे धानबाली रोपाइँ शुरु गर्ने हुँदा कामको चटारो भएकोले व्रत बस्न छोडेको कुरा जानकारहरूले बताउँछन् । तर कुशे औंसी पछिको पहिलो आइतबार बर्का अटवारी र त्यसपछिको ४ आइतबार स्वेच्छिक अटवारी पर्व मान्ने चलन निरन्तर रह्यो । यसरी पाँच अटवारी व्रत रहनेहरूलाई ‘पाँच अटवह्र्यन’ भनिन्थ्यो । पाँच अटवारीपछि दशैं शुरु हुन्थ्यो । अहिले बर्का अटवारी पछिको चार आइतबार व्रत बस्ने चलन पनि हराइसकेको छ । यसरी भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्म, भदौ महिनाको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारसम्म, कुशे औंसीको पहिलो आइतबारदेखि दशैंसम्मको ५ आइतबार र कुशे औंसीको पहिलो आइतबार मात्र व्रत बस्ने यी चार थरिका व्रतालुको साझा दिन कुशे औंसीको पहिलो आइतबारको अटवारी भएकोले यसलाई ‘बर्का अटवारी’ भनिएको हो । अन्य अटवारीलाई भने सामान्य अटवारी अथवा छुट्की अटवारी भन्ने चलन छ । यसकारण यसको मूल गहिराई नबुझ्दा बीचबीचमा तिथि–मितिमा मतमतान्तर हुने गरेका छन् । तर यसका परम्परागत विधि र प्रक्रियालाई गहिरिएर हेर्ने हो भने विवाद गर्नु पर्ने खासै देखिदैन । सामान्यतया अटवारी थारु समुदायको अस्टिम्की पर्व पछिको दोस्रो आइतवार अथवा कुश अमाँवस (कुशे औंशी) पछिको पहिलो आइतबारलाई बर्का अटवारी मान्ने चलन छ । बर्का अटवारी मानेर ४ आइतबार पछि दशैं लाग्छ । किन कि बर्का अटवारी पछि थप चार आइतवार अटवारी व्रत बस्ने पुरानै चलन छ । अथवा कुशे औंसी र दशैंको बीचमा आउने पाँच आइतबारलाई अटवारी मान्न सकिन्छ । यसरी पाँच अटवारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबार नै बर्का अटवारी हो भनेर प्रमाणित हुन्छ । कुनै कुनै गाउँमा हैजा लगायतका रोगको प्रकोप बढी देखिए वा दैविक प्रकोपका कारण) समय हेरेर अटवारी पर्व मान्ने चलन पनि छ । यसो गर्दा पाँच अटवारी व्रत बस्नेहरू सबै आइतबार व्रत बस्न सक्दैनन् र अँटवारी पनि फरक-फरक मितिमा मनाउने बाध्यात्मक समस्या देखापर्छ । केही भ्रमहरू केही मानिसहरूको धारणा हिन्दू नारीहरूको हरितालिका तीज पछिको आइतबारलाई अटवारी मान्ने पनि छ । तर यो त्यति सान्दर्भिक देखिदैन । यदि तीजपछिको आइतबारलाई मान्ने हो भने ‘पाँच अटवारी’ व्रत बस्नेहरूको अटवारी प्रभावित हुन्छ । अर्को कुरा थारू समुदायमा तीजको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ । थारूवस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरूको बसाई थिएन । थारू समुदायको एकलौटी बसाई थियो । आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैनथ्यो । अहिलेको जस्तो विभिन्न जातजातिहरूको मिश्रित बसाई र सबैले एकअर्काका कला, संस्कृतिलाई स्विकारी सकेको अवस्थामा यो कुरा उठ्नु स्वभाविक भएपनि वास्तविकता भने होइन । उसो त कुशे औंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ । यो एउटा संयोग मात्र हो । यसले पनि तीज पछिको आइतबारलाई मान्ने भन्ने कुराको बढावा दिन सक्छ । तर यो सत्य होइन र सँधै यस्तै पनि हुँदैन । कहिलेकाही त तीजकै दिन आइतबार पर्छ अथवा तीज अगावै पनि पर्छ । तर, पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अटवारी मान्ने समस्या देखापरेको छ । अटवारी बिशेषतः आइतबारसँग जोडिएर आएको पर्व हो । यसकारण अटवारी पर्वलाई यो र त्यो बहानामा बिषयान्तर गर्नु भन्दा यसको परम्परागत पृष्ठभूमिलाई अध्ययन गर्न जरुरी छ । जसरी हिन्दू महिलाहरूको सावने सोमवार व्रतलाई कुनै चतुर्थी, षष्ठीले छेकबार लगाउँदैन । त्यसैगरी थारु समुदायको अटवारी व्रत पनि भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्मको आइतबार कुनै पनि तिथि मितिले असर गर्दैन र स्वेच्छा अनुसार तोकिएको समयसीमाका जुनसुकै आइतबार व्रत बस्न सक्ने जानकारहरू बताउँछन् । तर बर्का अटवारी अथवा औंसीको पहिलो आइतबार व्रत अनिवार्य जस्तै रहन्छ । रूपन्देहीका साहित्कार बमबहादुर थारूले ‘रूपन्देहीको थारू समाज र संस्कृति’ भन्ने आफ्नो पुस्तकमा कुशे औंसीको आठौं दिनपछिको आइतबारलाई बर्का अटवारी मान्ने कुरा उल्लेख गरेका छन् । उनले ‘पाँच अटवारी’को विषयमा भने कुनै कुरा उल्लेख गरेका छैनन् । त्यसो त रूपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरू पश्चिमाजिल्ला भन्दा फरक छ । तर, कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूहरूमा वैचारिक धारणा फरक फरक भए पनि विधि प्रक्रियामा भने एकरूपता पाइन्छ । अटवारीमा कसको पूजा हुन्छ ? प्रकृति पुजक थारू समुदायमा खास गरेर यो पर्व सूर्यको पूजा गरेर रूपमा मनाइन्छ । सूर्यलाई उज्यालो, अग्नी र शक्ति (उर्जा)को प्रतीकको रूपमा मानिन्छ । रवि भनेको सूर्य (सुरज) अथवा अग्नी । जब भयावह कालरात्रि चिरेर सूर्यको उदय भएपछि यो संसार उज्यालो भयो भन्ने किम्बदन्ती छ । सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ । जसले गर्दा मान्छे मात्रै होइन यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ । प्रकृतिप्रति विश्वास गर्ने थारू समुदाय, सूर्य उज्यालोको प्रतीक भएकोले यसको पूजा उज्यालोदाताको रूपमा गरेका हुन् । आइतबारलाई रविबार पनि भनिन्छ । त्यसैले यो व्रत पहिले राजकुमार देवदत्त बसे । पाण्डु, कुन्ती, माद्री, कर्ण, भीम लगायत सूर्यको पूजा हेतु श्रीमदभागवत सुनाए । त्यसपछि देउताहरू सूर्यको पूजा गर्न थाले । त्यसैगरि ठूला-ठूला ऋषिमुनिहरू पनि सूर्यको उपासकको रूपमा सूर्यको जन्म दिन आइतबारलाई अटवारी व्रत बसेर मनाउन थाले भन्ने कुरा वीरबहादुर चौधरी आफ्नो पुस्तक ‘वीरबहादुरके ऋतु’मा उल्लेख गरेका छन् । जुन अहिले पनि यो चाड चलन चल्तीमा छ । अर्को मिथक महाभारत कथासंग जोडिएको छ । पाँच पाण्डव मध्ये सबैभन्दा बलियो भेवाँ (भीम) थिए । जब कौरव र पाण्डवको लडाइ भयो । त्यसै समय भीम रोटी पकाउँदै थिए । लडाई चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै टावामै छोडेर लडाईमा हिँडे । जब लराइबाट फर्किदा उनी निकै भोकाएका थिए । टावामा छोडेर गएको एक पट्टी मात्र पाकेको रोटी खाएर पेट भरे । अटवारीमा अक्केकरे रोटी (एक पट्टी मात्र पकाएको रोटी) पकाउने चलन छ । यसरी अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती छ भने भीम, थारू राजा दंगीशरणलाई लराइमा सघाएको र सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने संकल्पका साथ पुरुषहरू उनकै पूजा गरेर अटवारी व्रत बस्ने विचार पनि जनमानसमा छ । यसरी अटवारी पर्वको बारेमा अध्ययन गर्दा वैचारिक एकरूपता रहेको पाइदैन । ठाउँ अनुसार फरक फरक विचार, चालचलन र प्रक्रिया रहेको पाइन्छ । अटवारी कसरी मनाइन्छ ? अटवारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि ‘डटकट्टन’ (दर) खाने चलन छ । दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ । अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ । तर अन्य कुनै चीजको मासु भने हुँदैन । सागमा पोंइ अनिवार्य जस्तै हुन्छ । भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ) लगायतका तरकारी हुन्छ । ‘डटकट्टन’ व्रत बस्नेहरू भाले बास्नु भन्दा पहिले खानु पर्छ । यदि खानुभन्दा पहिले भाले बासे भने ‘डटकट्टन’ खान पाइदैन । खाए भने ऊ व्रत बस्न पाउँदैन । उसलाई जुठो मान्ने चलन छ । आइतबार अथवा अटवारीको दिन व्रत बस्नेहरूको खान भान्सामा पाक्दैन । उनीहरू बिहानै नुहाएर बहरी (घरको प्रवेशद्वारको पहिलो कोठा) या आँगनमा गाईको गोबरले लिपपोत गर्छन् । लिपपोत गरेर ‘कोरे आगी’ (भान्सामा पहिले प्रयोग नभएको आगो, चोखो आगो) मा रोटी पकाइन्छ । पुरानो आगो आज अपवित्र मानिन्छ । त्यसकारण गनयारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गरन्छि । बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रूपमा लिइन्छ । यो पर्वमा रोटी अनिवार्य हुन्छ । अन्य खानेकुरा भने सहायक हुन्छन् । अटवारीमा अन्डी र र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने पक्की, अम्रुट् (अम्बा, बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी पनि हुन्छ । पहिलो दिन नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित हुन्छ । रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनै काठको वस्तुमा संगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन् । खानुभन्दा पहिले अगयारी (अग्यारी) दिने चलन छ । निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो (फिलिङ्गो) राखिन्छ । त्यही आगोमा सर्री धूप (सल्लाको धूप), नौनी र खानका लागि तयार गरिएको बस्तु (अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्बा (बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी) अलिअलि सबै चीज एकैमा मिसाएर त्यसमा हवन गरिन्छ (चढाइन्छ) । यसरी आगोमा चढाउने कामलाई ‘अगयारी’ दिएको भनिन्छ । सूर्य आगोको मुख्य श्रोत हो । सूर्य आफैमा अग्नी हो । त्यसैले सबैभन्दा पहिले अग्नी (आगो)लाई अथवा सूर्यलाई प्रसादको रूपमा अगयारी दिने चलन आएको हो । अगयारी दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ । कोइ–कोइ पाँच या सात फेरा पनि पर्छने गर्छन् । त्यसपछि आफ्ना चेली–बेटीहरूका लागि पहुरको रूपमा ‘अग्रासन’ छुट्याउने चलन छ । ‘अग्रासन भनेको आफू खानुभन्दा पहिले छुट्टयाएको खान भन्ने बुझाउँछ । जुन आफू खानुभन्दा पहिले आफ्ना चेलीहरूको नाममा छुट्टयाइन्छ । अग्रासन ‘अग’ र ‘रासन’ समास भए बनेको शब्द हो । यहाँ ‘अग’ भनेको सबैभन्दा पहिले भन्ने अर्थ हुन्छ र ‘रासन’ भनेको खान भन्ने बुझाउँछ । यसरी चेली बेटीहरूलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ । यो काम दिउँसो हुन्छ । अन्य व्रत जस्तो अटवारीमा दिनभरि निराहार बसिरहनु पर्दैन । दिउँसो नै पूजा गरी खाने चलन छ । यो क्रम सूर्यास्त नहुँदासम्म चल्छ । सूर्यास्तपछि खाने काम पूर्ण रूपले बन्द हुन्छ । अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ । फर्हार अटवारीको अन्तिम पूजा हो । यस दिन व्रतालुहरू बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् । घरका अन्य सदस्यहरूले पनि सहयोग गरेका हुन्छन् । आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भेन्डी लगायतका विजोर संख्यामा तरकारीहरू बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ । फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ । व्रतालुहरू हिजोको जस्तै आज पनि नुहाई धुवाई गरी अगयारी दिएर आफ्ना चेली बेटीहरूका लागि ‘अग्रासन’ निकाल्ने गरिन्छ । अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिदैन । अग्रासन बिशेषताः नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ । अटवारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ । प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ । त्यो नभए विकल्पको रूपमा कमलको पात या केराको पात प्रयोग भएको पनि पाइन्छ । यसरी प्रक्रियागत रूपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालुहरू अन्न ग्रहण गर्छन् । अन्य पर्वमा जस्तै अटवारीमा आफ्ना चेलीबेटीहरूलाई घरमै बोलाउने चलन छैन । ब्रतालुहरूले निकालेको पहुर ‘अग्रासन’ उनीहरूकै घरमा पुर्याउन जाने चलन छ । अग्रासन पुर्याउन प्रायः दाजु भाइ नै जाने गर्छन् । दाजु भाइ नभए अन्य सदस्यहरू जान्छन् । चेलीहरू पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन् । सम्मानार्थ जाँड, रक्सी र मासु खुवाउने गर्छन् । अतिथि सत्कारका लागि थारु समुदायमा जाँड रक्सी ठूलो मानिन्छ । त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन् । यो पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रूपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइता जान नपाएका चेलीबेटीहरू यस पर्वमा आफ्ना दाजु भाइ तथा परिवारसंग दुःखसुखका कुरा खुलेर पोख्छन् । यसरी एकै ठाउँमा बसेर सुखदुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ । पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउँछ । तर यसका केही गलत पक्षहरू पनि छन् । सम्मानका नाममा अत्याधिक मदिरा सेवन गर्ने र गराउने परम्परा समय सापेक्षित देखिदैन । यसकै कारण अनावश्यक झैझगडा, पानीमा डुबेर मृत्यु, सडक दुर्घटना लगायत विभिन्न घटनाहरू भएको पनि देखिन्छ । यसको न्यूनीकरणमा ध्यान दिन जरुरी देखिन्छ । त्यसैगरि अग्रासनका नाममा बासी खानेकुरा, खानेकुरामा रंगको प्रयोग, अनावश्यक खर्च, कुनै साल आफ्ना चेलीबेटी कहाँ अग्रासन पुर्याउन नसके चेलीहरूमा नकारात्मक सोचाई राख्ने र एकापसमा मनमुटाव भएको पनि देखिन्छ । त्यसकारण पर्व, सबैले पर्वको मर्म अनुसार मनाउनु पर्छ । यसलाई समय अनुसार परिमार्जन गर्दै आफ्नो गर्त र मौलिकतामा सबैले सबैलाई खुशी पार्ने हिसाबमा मनाउन सक्नु पर्छ । अटवारी सबैको शुभ रहोस् ।

लोकप्रिय