दाङको ‘राम्री दुर्घटना’ मा गुमेका ‘राम्रा शिक्षक’

दाङको ‘राम्री दुर्घटना’ मा गुमेका ‘राम्रा शिक्षक’

दाङ, पुष १३ । दिदी लक्ष्मीको जन्मदिन। गत शुक्रबार बिहान साढे तीन बजे घोराही उपमहानगरपालिका–२ का प्रदीप घिमिरेले दिदीलाई फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएका थिए। दिदीसँगै आफ्नो तस्बिर पोस्ट गरेर प्रदीप बिहान ६ बजेतिर विद्यार्थी लिएर सल्यान उक्लिए।

सहिद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयमा अध्ययनरत आफ्ना विद्यार्थीलाई सल्यानस्थित वनस्पति उद्यान अवलोकन गराएर फर्कने क्रममा राम्री भन्ने ठाउँमा बस दुर्घटनामा परी प्रदीपको निधन भयो।

‘तिहारयता भाइसँग भेट हुन पाएको थिएन’, लक्ष्मीले भनिन्, ‘जीवनभर हामीलाई शोकमा डुबाएर आफैँ अस्तायो। मैरै जन्मदिनमा उसलाई गुमाउनुपर्दाको पीडा म भुल्न सक्दिनँ।’

आफ्ना गुरु तेज कुँवरसँग प्रदीपले बाचा गरेका थिए, ‘सल्यानबाट फर्कनासाथ सरसँग रमाइलो भेटघाट गर्छु।’ ३१ वर्षीय प्रदीप गुरुसँग कहिल्यै भेट नहुने गरी अस्ताए। ‘सल्यान विद्यार्थी लिएर जाँदैछु, फर्किएपछि गुरुसँग रमाइलो भेटघाट हुनुपर्छ भनेर बाचा गरेका थिए’, कुँवर भन्छन्, ‘तर उनी सल्यानबाट फर्कनै पाएनन्।’

गुरुचेला दुवैजनाले घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका थिए। ‘हामी एउटै कलेजमा अध्यापन गराउँदै आएको भए पनि प्रदीपले मलाई कहिल्यै सर भनेर बोलाएनन्, गुरु भनेरै सम्बोधन गर्थे’, कुँवर भन्छन्, ‘उनी मेरो मनमष्तिष्कबाट कहिल्यै नमर्ने एक कुशल चेला हुन्।’ अध्यापन कौशलकै कारण पछिल्लो समय प्रदीप महेन्द्र बहुमुखी क्याम्पसलगायत अन्य थुप्रै कलेजमा पढाउँथे।

‘उहाँ हाम्रो सर मात्रै हुनुहुन्नथ्यो’, महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत श्रीयम्सी सुवेदीले भनिन्, ‘सर साथीजस्तो व्यवहार गरेर पढाउनुहुन्थ्यो।’ विद्यार्थीका अनुसार उनी चर्को स्वरले कहिल्यै बोलेनन्।

प्रदीपले आफ्नो पुरानो घटना सुनाउँदै आयु लम्बिएको सुनाइरहन्थे। ‘म एकपटक कालको मुखबाट फर्केर आइसकेको छु, अब म कम्तीमा ९० वर्ष बाँच्छु भन्नुहुन्थ्यो,’ दीपशिखा माविमा अध्ययरत छात्रा संहिता अधिकारीले भनिन्, ‘हाम्रा प्रेरणाका स्रोत अकालमै जानुभयो।

उहाँ जस्तो सहयोगी शिक्षक कमै हुन्छन्’। आठ वर्षअघि मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रदीपको लामो समयसम्म आइसियूमा उपचार भएको थियो। प्रदीपले महेन्द्र बहुमुखी, दीपशिखा, कृष्णसेन प्राविधिक शिक्षालय, मदन भण्डारी, सिद्धार्थ, सञ्जीवनी, रझेना, विद्यानीलकण्ठ, चौघेरा, पद्मोदयलगायतका शिक्षण संस्थामा वनस्पतिशास्त्र पढाउँथे।

तंग्रिदै थियो नरेशको जीवन
रुकुम पूर्वका नरेश ओलीले घरबाट पत्नी र दुई वर्षीया छोरीलाई दाङ बोलाएका थिए। बिहीबार साँझ आमाछोरी घोराही आइपुगे। घोराहीमै डेरा गरेर सपरिवार बस्ने योजनाका साथ पत्नी र छोरीलाई बोलाएका नरेशले आफ्नो परिवार दाङ बोलाएको भोलिपल्टै प्राण त्यागे। ‘अब परिवार सबै घोराहीमा बस्ने भनेर बुहारी र छोरीलाई बोलाएको थियो,’ नरेशका दाजु सर्कबहादुर ओलीले भने, ‘भोलिपल्ट आफैं बित्यो।’

नरेशको पनि प्रदीपसँगै दुर्घटनामा परी निधन भएको हो। लामो समयदेखि आर्थिक अभावमा बाँचिरहेका नरेश भर्खर तंग्रिन थालेका थिए। पूर्वी रुकुमको सामान्य परिवार। सानै छँदा बाबुको निधन भयो।

आर्थिक जोहो गर्ने उपाय नचलेपछि दाजु सर्कबहादुरले नै उनलाई पढाएका थिए। ‘घरको आर्थिक अवस्थाले नभ्याउने भए पनि म विदेश गएर पैसा पठाएर पढाउन थालेको थिएँ’, सर्कबहादुरले भने, ‘जेनतेन गरेर पढाइरहेको थिएँ।’ नरेश पढाइमा अब्बल थिए। उनी झन्डै एक वर्षदेखि महेन्द्र बहुमुखी क्याम्पससहित अन्य कलेजमा अध्यापन गर्दै आएका थिए।

राम्री बस दुर्घटनामा गुमेका दुई शिक्षक प्रदीप र नरेशको निधनले दाङको शैक्षिक क्षेत्रमा ठूलो नोक्सान भएको महेन्द्र बहुमुखी क्याम्सका प्रमुख सुदर्शन रिजाल बताउँछन्।

अध्यापन शैलीमा अब्बल तथा शालीन स्वभावका दुई शिक्षकको निधन आफ्ना लागि निकै पीडादायी बनेको उनले बताए। ‘अध्यापन र व्यक्तिगत स्वभावका कारण दुवैजना सबैका प्रिय हुनुहुन्थ्यो’, उनले भने, ‘क्याम्पसले मात्र होइन जिल्ला नै राम्रा शिक्षक गुमाएको छ।’ गत शुक्रबार राम्रीमा भएको बस दुर्घटनामा प्रदीप र नरेशसँगै २३ जनाको मृत्यु भएको थियो। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।

अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।

यस वर्षको  एसइई चैत पहिलो सातादेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ ।  सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति

चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

लोकप्रिय