भारतीय पाइलटलाई हस्तान्तरण गर्दै पाकिस्तान, किन चुनियो वाघा सीमा नै?
काठमाडौँ, फागुन १७ । पाकिस्तानले भारतीय लडाकू विमानका पाइलट अभिनन्दन वर्धमानलाई आज रिहा गर्ने भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘शान्तिको पहल’को रूपमा आफ्नो नियन्त्रणमा रहेका विमानचालकलाई रिहा गर्ने आदेश दिएका हुन् ।
पाइलट अभिनन्दनलाई पन्जाबको बाघा बोर्डर सीमामा भारतीय अधिकारीहरूलाई हस्तान्तरित गरिने भएको छ । बिहिबार इमरान खानले उनलाई रिहा गर्ने बताएका थिए ।
किन चुनियो बाघा बोर्डर नै ?
वाघा गाउँ भारतीय पन्जाबको अमृतसर र पाकिस्तानको लाहोर जोड्ने मार्गबीचमा पर्दछ । पाकिस्तान तर्फ पर्ने वाघा गाउँ नजिकै भारत पाकिस्तानबीचको सीमा रेखा रेड्क्लिफ लाइन पर्दछ ।
भारत तर्फ अट्टारी भन्ने ठाउँ छ । सीमामा पाकिस्तान तर्फ ‘पाकिस्तान रेंजर्स’ र भर्रत तर्फ ‘बोर्डर सेक्युरिटी फोर्स-बीएसएफ’ तैनाथ रहेको छ । सीमामा दुवै देशतर्फ हरेक दिन हज्जारौं मानिस उपस्थित भएर त्यहाँ दिनहुँ आयोजना गरिने ‘बिटिङ् रिट्रिट’ हेर्न आउने गर्दछन् । यहाँ सन् १९५९ देखि दिनहुँ यो कार्यक्रम आयोजना हुँदैछ । यो भारत-पाकिस्तान युद्धका बेला बाहेक अरु समय स्थगित भएको छैन ।
यो दुई देशबीच सबै भन्दा शान्तिपूर्ण नाका समेत हो । यसै नाका भएर दुई देशबीच संचालन हुने एकमात्र अन्तरदेशीय रेल सेवा ‘सम्झौता एक्सप्रेस’ संचालन हुने गर्दछ ।
यो यस प्रकारका कामहरूका लागि सबैभन्दा सजिलो सीमा हो । सन् १९७१ मा भारतले पाकिस्तानका ९० हजार युद्धबन्दीलाई यही सीमाबाट सुम्पेको थियो ।
यो सीमा लाहोरबाट २४ किलोमिटर र अमृतसरबाट ३२ किलोमिटरको दूरीमा छ । लाहोर पाकिस्तानतर्फको पन्जाबको राजधानी हो भने अमृतसर भारतको प्रसिद्ध शहर हो । यहाँ सिखहरूको प्रमुख तीर्थस्थल अमृतसर पनि छ ।
यस्तो अवस्थामा दुवै देश यस सीमामा तनाव थेग्न सक्दैनन् किनकि यसबाट हुने क्षति अनुमानभन्दा बढी हुनेछ ।
पाकिस्तानले वर्धमानलाई सुपुर्दगी गर्न यही सीमा छान्नुका पछाडी कयौं कारण हुनसक्छन् । तर स्पष्ट देखिने कारण भनेको पाकिस्तान भारतीय आम जनतामा आफू भारतीय जनताको शत्रु नभएको संदेश दिन समेत चाहन्छ । यस्तो भएको खण्डमा यो इमरान खानको ठुलो कूटनीतिक जीत साबित हुनेछ ।
धर्मसंकटमा भारत
भारतमा आसन्न लोकसभा निर्वाचनले गर्दा ‘देशप्रेम’को भावना उम्लिराखेको छ । र भारतीय आम बुझाइमा देशप्रेमको सिधा सिधा अर्थ ‘पाकिस्तानलाई घृणा’ गर्नु हो ।
फेरि मोदी दक्षिणपन्थी धडाबाट आउने भएकाले उनकालागि पाकिस्तानलाई ‘पाठ सिकाएको’ प्रचार गर्नु तात्कालिक बाध्यता पनि हो ।
यस्तोमा मोदी जतिसुकै ठाडो हुन खोजे पनि इमरानको यस पहलले आम शान्तिप्रेमी भारतीय जनतामा उनी लोकप्रिय हुने निश्चित छ ।
यस्तोमा भारत यस मामिलाको धेरै प्रचार नहोस भन्ने चाहन्छ । त्यसका लागि उसले वाघा सीमामा विशेष सुरक्षा प्रबन्ध मिलाएको छ ।
भारत चाहँदैन कि पाकिस्तानको ‘उदारता’ आम भारतीय या विश्व समुदायले देखुन । आज वाघा सीमामा हरेकदिन आयोजना हुने बिटिङ रिट्रिट रद्द गरिएको छ ।
त्यहाँ उपस्थित सर्वसाधारण र मिडियालाई फर्काउन लागिएको छ । अहिले अट्टारी सिमामा हजारौंको संख्यामा भारतीय नागरिक उपस्थित रहेका छन् । उनीहरूले अभिनन्दनलाई स्वागत गर्न आफूहरू उपस्थित रहेको भनिरहेका छन् । तर उनीहरूले निराश घर फर्किनुपर्ने भएको छ ।
भारतले यस कार्यक्रम पहिले नै पाइलटलाई सुम्पिनुपर्ने बताइरहेको थियो भने पाकिस्तानले कार्क्रमकैबीचमा उनलाई सुपुर्द गर्ने बताएको थियो ।
भारतमा खुसियालीको माहौल
अहिले देशभरिबाट थुप्रै मानिस विमान चालक अभिनन्दनलाई स्वागत गर्न वाघा सीमामा पुगेका छन् । उनीहरू यसलाई भारतको विजयको रूपमा व्याख्या गरिरहेका छन् ।
यसो हेर्दा सर्वसाधारणमा मोदीको प्रभाव छाएको छ । उनीहरूमा पाकिस्तानी मिडियाले भन्ने गरे झैं ‘युद्ध उन्माद’ व्याप्त छ ।
भारतीय टेलिभिजन च्यानलहरू उक्त घटनालाई अतिरंजित गरेर प्रस्तुत गरिरहेका छन् ।
तर सबै भारतीयको विचार भने त्यस्तो छैन । सामाजिक संजालमा धेरैले इमरान खानको यस पहलले क्षेत्रीय शान्तिमा योगदान पुग्ने बताइरहेका छन् ।
बिबिसीले लेखेको छ, “अभिनन्दनलाई रिहा गर्ने फैसला इमरान खानको राम्रो कदम हो । अभिनन्दन कुनै अपराधी नभएर उनी युद्धबन्दी हुन् र उनी आफ्नो देशका लागि काम गरिराखेका थिए । उनलाई रिहा गर्नु इमरान खानको राम्रो राजनैतिक निर्णय हो ।”
बिबिसी अगाडि लेख्छ, “यसले भारत र पाकिस्तानबीच सम्बन्ध सुध्रिने मात्र होइन यसले इमरानको कद समेत अन्तर्राष्ट्रिय स्तरमा बढ्नेछ ।”
चीनद्वारा दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय
काठमाडौं । चीनको एक सैन्य अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ । सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्री रहेका वेई फेङ्हे र सन् २०२३ मा केही महिना मात्र उक्त पद सम्हालेका उनका उत्तराधिकारी ली शाङ्फुलाई बिहीबार घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो । लीमाथि घुस दिएको अभियोग पनि प्रमाणित भएको बताइएको छ । दुवैलाई दुई वर्षको ‘रिप्रिभ’ अर्थात् निलम्बनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । साथै, उनीहरूलाई ‘प्यारोल’को सुविधा नदिइने अदालतले जनाएको छ । चीनमा यस्तो सजाय प्रायः दुई वर्षपछि स्वतः आजीवन कारावासमा परिणत हुने प्रचलन रहेको छ । चीनको सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार, दुवैको राजनीतिक अधिकार आजीवनका लागि खोसिएको छ भने उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गरिनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट मानिएका ली शाङ्फु मन्त्री नियुक्त भएकै वर्ष अर्थात् सन् २०२३ मा अन्य धेरै उच्च सैन्य अधिकारीहरूसँगै सार्वजनिक जीवनबाट अचानक गायब भएका थिए । सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि सुरु गरिएको भ्रष्टाचारविरुद्धको शुद्धीकरण अभियानअन्तर्गत हालसम्म लाखौँ अधिकारीहरू कारबाहीमा परिसकेको बताइएको छ । विभिन्न रिपोर्टअनुसार केही उच्च पदस्थ अधिकारीहरूको हिरासतकै क्रममा मृत्यु समेत भएको छ ।
इरानी कार्गो जहाज अमेरिकाले कब्जा गरेपछि चीनको विराेध
काठमाडौं । अमेरिकी सेनाले इरानी झण्डावाला कार्गो जहाजलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ । सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सम्बन्धित पक्षहरूलाई जिम्मेवार भई युद्धविराम सम्झौता पालना गर्न आग्रह गरे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले होर्मुज जलमार्गको अवस्था संवेदनशील र जटिल रहेको बताएका छन् । सम्बन्धित पक्षहरूले थप तनाव बढ्न नदिई होर्मुज क्षेत्रमा सामान्य पारवहन सुचारु गर्न आवश्यक वातावरण बनाउनुपर्ने चीनले बताएको छ । साथै सबै पक्षलाई युद्धविराम र वार्ताको गतिलाई निरन्तरता दिन आग्रह गरेको छ । “अहिले शान्तिको अवसर खुलेको छ, त्यसैले युद्धलाई छिट्टै अन्त्य गर्न अनुकूल परिस्थिति निर्माण गरिनुपर्छ,” प्रवक्ता गुओले भने । अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेकाले उक्त इरानी कार्गो जहाजमाथि गोलीबारी गरी नियन्त्रणमा लिएको बताएको थियो ।
अण्डमान सागरमा डुंगा दुर्घटना : २५० रोहिङ्ग्या र बंगलादेशी बेपत्ता
एजेन्सी । बंगलादेशबाट मलेशिया जाँदै गरेको एक डुंगा हिन्द महासागरको पूर्वी भागमा पर्ने अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा परेका उनीहरू रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन् । बीबीसीका अनुसार माछा मार्ने प्रयोजनले प्रयोग गरिने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो । तीव्र हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिस सवार भएका कारण डुंगा डुबेको जनाइएको छ । बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार अप्रिल ९ मा आफ्नो एक जहाजले दुर्घटनामा परेका ९ जनाको उद्दार गरेको थियो । डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन । रोहिङ्ग्या म्यानमारको मुसलमान अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा म्यानमारमा भएको हिंसात्मक अभियानपछि ठूलो सङ्ख्यामा रोहिङ्ग्या बंगलादेशमा शरण लिएका थिए । बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्यालाई नागरिकता दिइँदैन । बंगलादेशमा कठिन अवस्था भएका कारण धेरै रोहिङ्ग्या जोखिमपूर्ण समुद्री यात्रा गरेर मलेशिया पुग्ने गरेका छन् । बंगलादेश कोस्ट गार्डले उद्दार गरेका मध्येका एक ४० वर्षीय रफिकुल इस्लामले उद्दार हुनुअघि आफू ३६ घण्टासम्म समुद्रमा तैरिनुपरेको बताएका छन् । मलेशियामा काम पाइने आशामा आफू यो जोखिमपूर्ण यात्रामा निस्किएको उनको भनाइ छ ।
ट्रम्पद्वारा इरानसँग युद्ध अन्त्य गर्नका लागि यसै हप्ता वार्ता पुनः सुरु हुने सङ्केत
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै हप्ता वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन् । गत शनिबार इस्लामावादमा भएको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएलगत्तै अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको थियो । ट्रम्पले न्युयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “तपाईंहरू त्यहीँ (इस्लामावाद) रोकिनुपर्छ, किनकि आगामी दुई दिनभित्र केही हुन सक्छ र हाम्रो झुकाव पनि त्यसतर्फ बढी छ ।” उनको यो अभिव्यक्ति यस्तो बेला आएको हो जब अमेरिकी सेनाले होर्मुज जलसन्धिमा नाकाबन्दी लागू गरेको पहिलो २४ घण्टाभित्र त्यहाँबाट कुनै पनि जहाज नगएको दाबी गरेको छ । यस गतिरोधले दुई हप्ते युद्धविराम सम्झौता सकिन लाग्दा थप प्रश्न उठाएको छ । इरानतर्फबाट ट्रम्पको भनाइमा अझै कुनै प्रतिक्रिया आएको छैन । तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ‘धेरै सम्भावना’ रहेको बताएका छन् । तेल बजारमा राहत खाडी क्षेत्र, पाकिस्तान र इरानका अधिकारीहरूले पनि अमेरिका र इरानका टोलीहरू यसै सप्ताहान्तमा पाकिस्तान फर्कन सक्ने बताएका छन्, यद्यपि कुनै मिति तय भइसकेको छैन । यो जानकारी रोयटर्स समाचार एजेन्सीले दिएको हो । दुवै पक्षबीच वार्ताको सम्भावना बढेपछि तेल बजारलाई केही राहत मिलेको छ । मङ्गलबार तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा तल झरेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको हवाई आक्रमणपछि इरानले विश्वका लागि अत्यन्त महत्त्वपूर्ण तेल तथा ग्यास परिवहन मार्ग होर्मुज जलसन्धिलाई प्रभावकारी रूपमा बन्द गरेको थियो । अहिले एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र करिब १०,००० अमेरिकी सैनिकले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा बाहिरिने जुनसुकै देशका जहाजहरूमाथि नाकाबन्दी लागू गरिरहेका छन् । यसले इरानको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ । के नाकाबन्दी प्रभावकारी छ ? यो कदमको मुख्य उद्देश्य इरानमाथि दबाब बढाउनु हो । इरानको आम्दानीका दुई मुख्य स्रोत— तेलबाट हुने आम्दानी र होर्मुज जलसन्धिबाट उठाइने टोल— लाई निशाना बनाइएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी लागू भएको पहिलो २४ घण्टामा ६ वटा व्यापारिक जहाजले अमेरिकी निर्देशन पालना गर्दै इरानी बन्दरगाहतर्फ फर्किएको दाबी गरेको छ । तर बीबीसी भेरिफाईको जहाज ट्र्याकिङ डेटाको विश्लेषणअनुसार नाकाबन्दी भए पनि इरानसँग सम्बन्धित कम्तीमा चारवटा मालवाहक जहाज होर्मुज जलसन्धि पार गरेका छन् । तीमध्ये दुईवटा जहाज पहिले नै इरानी बन्दरगाहमा थिए । गत शनिबार र आइतबार इस्लामावादमा भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेन । अमेरिकाको भनाइअनुसार इरानले उसका सर्तहरू स्वीकार गरेन । इरानको आणविक महत्त्वाकांक्षा नै मुख्य अवरोध बनेको थियो । एक अमेरिकी अधिकारीले बीबीसीको साझेदार सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा निलम्बन गर्न आग्रह गरेको छ । तर इरानले भने ५ वर्षसम्म मात्र रोक्ने प्रस्ताव गरेको छ । आर्थिक मन्दीको खतरा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस युद्धले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बीबीसीसँग भनेका छन्, “विश्वभर लामो समयसम्म शान्ति र सुरक्षा कायम राख्ने सर्तमा थोरै आर्थिक पीडा स्वीकार्य छ ।” मङ्गलबार चीनले भने यस नाकाबन्दीलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ भन्दै तनाव अझ बढाउने चेतावनी दिएको छ । चीनको भनाइ छ— पहिलेदेखि नै कमजोर रहेको युद्धविराम सम्झौता होर्मुजको नाकाबन्दीले थप कमजोर हुनेछ । यसैबीच, इजरायल र लेबनानले मङ्गलबार वासिङ्टनमा भएको वार्तापछि सिधा वार्ता सुरु गर्न सहमति जनाएका छन् । इरान समर्थित हिज्बुल्लाहलाई निशाना बनाएर इजरायलले लेबनानमा गरेको हवाई आक्रमणपछि यो पहल भएको हो । यो बैठक सन् १९९३ पछि दुवै देशबीच भएको पहिलो सिधा वार्ता थियो । लेबनानी राजदूतले यसलाई ‘सकारात्मक’ भनेका छन् भने इजरायली राजदूतले यसले ‘शान्तिको नयाँ युग’ को बाटो खोल्न सक्ने बताएका छन् । एक अमेरिकी अधिकारीले जोड दिँदै भनेका छन्— इस्लामावादमा भएको अमेरिका–इरान वार्ता र वासिङ्टनमा भएको इजरायल–लेबनान वार्ताबीच कुनै सम्बन्ध छैन ।




