यस्ता पुरुष रुचाउँदैनन् महिला

यस्ता पुरुष रुचाउँदैनन् महिला

काठमाडौं । पुरुषका अनेकौं विशेषता होलान् जुन महिलालाई मन पर्छन् । यति हुँदाहुँदै पनि महिलाहरू पुरुषको कुनै एक कुराले मात्र पनि उनीहरूलाई नरुचाउन सक्छन् । थुप्रै गुण हुँदाहुँदै पनि एउटै दुर्गुणका कारण पुरुषलाई आफूयोग्य नभएको बताउन हिच्किचाउँदैनन् महिलाहरू । पुरुषका त्यस्ता केही कुरा जुन महिलाहरू रुचाउँदैनन् :

रवाफिलो

रवाफिलो पुरुष सिनेमाका पर्दामा मात्र रुचिका पात्र भएका छन् । आजका अधिकांश महिला रवाफिला पुरुषप्रति त्यति रुचि देखाउँदैनन् । कुनै समयमा रवाफिलो, पुरुषोचित रिसयुक्त एवं कम बोल्ने पुरुष भद्र तथा गम्भीर पुरुष महिलाका रुचिभित्र पर्थे । वर्तमान समयमा कोमल हृदययुक्त, सदैव खुसी देखिने तथा गम्भीर देखिनुको साटो हाँस्ने–हँसाउने स्वभावका पुरुष महिलाका रुचिमा समेटिन थालेका छन् ।

स्वयंलाई विशिष्ट मान्ने

पुरुष प्रधान समाज अन्त्यतर्फ उन्मुख भैसकेको छ तसर्थ अब आफूलाई विशिष्ट वा सुपर मान्ने पुरुष महिलाको रोजाइमा पर्न सक्दैनन् । महिलाहरू यस्ता साथी रुचाउँछन् जो आफ्नो क्षमता एवं उपलब्धिद्वारा चिनिएको होस्, विशिष्ट भएको होस् न कि पुरुष भएकै कारण उसलाई विशिष्ट मानियोस् । लैङ्गिक रूपले बराबरीको दर्जा दिने पुरुषहरू नै हिजोआजका महिलाका रुचिमा पर्न सफल हुन्छन् ।

अधिकार प्रयोग गर्ने वा तानाशाह

वर्तमान समयका आत्मनिर्भर महिला तानाशाही किसिमका पुरुष साथीलाई स्वीकार गर्दैनन् । उनीहरू दबाउन खोजिएको रुचाउँदैनन् किनभने उनीहरू साथीबाट उचित सम्मानको अपेक्षा गर्छन् । जसले महिलालाई कमजोर वा हीन सम्झेर हेप्न खोज्छन् त्यस्ता पुरुषलाई महिलाहरू पटक्कै रुचाउँदैनन् । आफूलाई सम्मान दिने पुरुषलाई नै उनीहरू पनि सम्मान दिन्छन् र रुचाउँछन् ।

सधैं सहवासकै विषयमा सोच्ने

सत्य हो कि पुरुषहरू सहवासमा चाँडै सक्रिय हुन्छन् । महिलाहरू पनि सहवासबाट जोगिन चाहन्छन् वा यसबाट आनन्द लिँदैनन् भन्ने होइन । यद्यपि महिलाहरू त्यस्ता पुरुषलाई रुचाउँदैनन् जसको दिमागमा जतिसुकै बेला पनि सहवासकै कुरा मडारिइरहेको होस् । एक प्रसिद्ध यौन मनेवैज्ञानिकका अनुसार ‘महिलाहरू आफ्ना जीवनसाथीसित सम्भोग गर्न रुचाउँदैनन्, सेक्समा त्यति सक्रिय हुदैनन् भन्ने होइन । बरू महिलाहरू शारीरिकभन्दा भावनात्मक सम्बन्ध राख्ने पुरुषसाथीलाई बढी रुचाउँछन् । त्यस्ता साथीलाई रुचाउँदैनन् जो ‘बेला न कुबेला बजि नयेला’ भनेझैं हरदम सहवासकै लागि उत्प्रेरित रहोस् । यस्तो भए समझदारी तथा प्रेम नै गौण हुन्छ जुन कुनै पनि महिलाका लागि रुचिकर हुँदैन ।’

अभद्र व्यवहार तथा अपशब्द बोल्ने

कुनै समय थियो, पुरुषहरूले अपशब्द बोल्नुलाई नौलो मानिँदैनथ्यो । भलै महिलाहरूले त्यसो गर्न नपाऊन् तर पुरुषका लागि त्यसो गर्न छुटजत्तिकै थियो । यद्यपि अब त्यो जमाना रहेन । महिलालाई हेपेर कुरा गर्ने वा उनीहरूप्रति अपशब्द प्रयोग गर्ने पुरुषलाई आजका महिलाहरू फिटिक्कै रुचाउँदैनन् । महिलाहरू संस्कारवान्, शिष्ट एवं मृदुभाषी पुरुष नै रुचाउँछन् ।

बिनाकारण बहस गर्ने

अनावश्यक कुरामा बहस गर्न तम्सिने पुरुष महिलाहरूको रुचिभित्र पर्दैनन् । सँगै बस्दा पनि अनावश्यक कुराकै कारण असहज महसुस हुन थाले त्यो पारस्परिक सम्बन्धका लागि अनिष्टकारी हुन्छ । यस्ता पुरुष न आफू सुखी हुन्छन् न त अरूलाई खुसी हुन दिन्छन् । त्यस्ता पुरुषलाई महिलाहरू रुचाउँदैनन् ।

अहंकारी

अहंकारवश रुखो व्यवहार गर्ने पुरुषले पनि महिलाको मनमा स्थान बनाउन सक्दैनन् । आफ्नै कुरा मात्र सही अरू सबै गलत भन्ने धारणा भएका पुरुषसँग पनि महिलाहरू तर्किन्छन् । महिलाहरू त्यस्ता पुरुषलाई नकार्छन् जो अरूको योग्यता मान्न तयार हुँदैनन् तर आफूमा भने नभएको क्षमता पनि छ भनेर फुर्ती लगाउँछन् । मनोवैज्ञानिकहरूका अनुसार त्यस्ता व्यक्ति हीनभावनाले ग्रसित हुन्छन् । अहंकारले कसैलाई पनि प्रभावित गर्न सकिँदैन अझ महिलालाई त पटक्कै सकिँदैन ।

असुरक्षित वा कमजोर भावना

सदैव कमजोरी दर्साइरहने तथा भावनामा बगिरहने पुरुष पनि महिलाको रोजाइमा पर्दैनन् । महिलाहरू त आत्मनिर्भर एवं आत्मविश्वासी पुरुषलाई रुचाउँछन् । सदैव श्रीमतीमै निर्भर रहन खोज्ने वा आफूसित हरेक कुरामा डराउने जोइटिङ्ग्रे पुरुषलाई पनि महिलाहरूले मन पराउँदैनन् ।

आवश्यकताभन्दा बढी मातृभक्त

हरेक समय आफ्नी आमाको गुण गाइरहने तथा आफूसित हुने हरेक कुरा आमासित गर्ने पुरुषलाई पनि कुनै महिलाले रुचाउँदैनन् । आमाले जे भन्छिन् त्यही काम मात्र गर्ने आवश्यकताभन्दा बढी मातृभक्त पुरुष पनि श्रीमतीका प्रिय हुन सक्दैनन् । यस्ता पुरुषसित महिलाहरू चाँडै रिसाउँछन् ।

गैरजिम्मेवार

कर्तव्य वा जिम्मेवारीबाट भाग्ने अल्छी तथा कामचोर पुरुष महिलाहरूको रुचिभित्र पर्दैनन् । उनीहरू आफ्ना श्रीमान्ले पारिवारिक एवं सामाजिक जिम्मेवारी कुशलतापूर्वक बहन गरोस् र श्रीमतीले कमाइहाल्छे, उसैले सबै व्यवहार धानिहाल्छे भने मैले किन दुःख गर्नुपर्‍यो भनी गैरजिम्मेवार बन्ने पुरुषदेखि वाक्कदिक्क हुन्छन् ।

चलचित्र लालसलामकी नायिकालाई सांस्कृतिक रुपान्तरण पुरस्कार

काठमाडौं । चलचित्र लालसलामकी नायिका प्रेमा अधिकारी गैरेलाई चलचित्र विकास बोर्डले सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ प्रदान गर्ने भएको छ । बोर्डको सोमबार बसेको बैठकले चलचित्र मार्फत सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा योगदान पु¥याए वाफत गैरेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताउनु भयो ।  प्रवक्ता बुढाथोकीका अनुसार संविधान दिवसको अवसरमा आगामी असोज ४ गते एक समारोहबीच कलाकार गैरेलाई २५ हजार नगद र ताम्रपत्रसहित पुरस्कृत गरिनेछ । कलाकार गैरेले चलचित्र लालसलामा लगायत थुप्रै नाटक, ओपेरा र म्यूजिक भिडियोमा अभिनय गर्नु भएको छ ।  त्यस अवसरमा निर्देशक तुलसी घिमिरे, नीर शाह, हरिवंश आचार्य, ऋद्धिचरण श्रेष्ठ, देशभक्त खनाल, लोचन भट्टराई, रमेशरञ्जन झा, श्याम तमोट, माओत्से गुरुङ, विकास चौधरी र कविता आलेलाई पनि सांस्कृतिक रुपान्तरण पुरस्कार प्रदान गरिने प्रवक्त बुढाथोकीले बताउनु भयो ।

चलचित्र विकास बोर्ड अध्यक्षद्वारा पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले पदभार ग्रहण गरेका छन्। सोमबार बोर्डको कार्यालय पुगेर डिसीले कार्यभार सम्हाल्नुभएको छ । सोमबार बिहान उनलाई बोर्डका सदस्य र कर्मचारीले फूलमालाले स्वागत गरेका थिए।  बोर्डको  हलमा आयोजित बधाई तथा शुभकामना अर्पण कार्यक्रममा नेपाल चलचित्र संघ, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ लगायतका फिल्मसँग सम्बन्धित संस्थाका पदाधिकारीसहित अन्य फिल्मकर्मी समेत पुगेका थिए ।  पदभार ग्रहण गर्दै डिसीले आफू काम गर्न बोर्डमा आएको बताउनुभयो । उहाँले नेपाली फिल्म क्षेत्रको समस्या समाधानका लागि आफूले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत बिहीबार मन्त्रिपरिषदको बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। डिसी लामो समयदेखि फिल्म र सञ्चार क्षेत्रमा सक्रिय हुनुहुन्छ।

झापाका सन्तोष बने ‘रियलमी मिष्टर नेपाल २०२४’

काठमाडौं । रियलमी ‘मिष्टर नेपाल २०२४’ सन्तोष लोक्सम घोषित भएका छन् । शनिबार राति सोल्टीमोड स्थित होटल सोल्टीमा भव्य स्टेज सेटअप सहित आयोजित  ‘रियलमी मिष्टर नेपाल २०२४’को अन्तिमस्पर्धामा झापा सन्तोष लोक्समले शीर्ष उपाधिको ट्रफी उचाल्न सफल भएका हुन् । विजेता बनेसँंगै उनी आधिकारिक रुपमा ‘मिष्टर नेपाल वल्र्ड २०२४’ चयन भएका छन् । उनले आगामी नोभेम्बर महिनामा भियतनामा संचालन हुने ‘मिष्टर वल्र्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।  कार्यक्रममा सन्तोषलाई एन्ट फाउन्डेसनले सोसल एम्बेसडरका रुपमा पनि पुरस्कृत गरेको छ । विजेता बनेसँगै सन्तोषले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन् ।  प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ ‘मिष्टर ग्लबोल नेपाल २०२४’ छानिएका । उनले नेपालको तर्फबाट आउँदो अक्टोबर महिनाको पहिलो साता थाईल्याण्डमा सम्पन्न हुने ‘मिष्टर ग्लबोल २०२४’ नेपालको प्रतिनिधित्प गर्नेछन् । त्यस्तै काठमाडौंका आयुष दुलाल प्रतियोगीतामा ‘म्यान अफ द वल्र्ड नेपाल २०२४’ चयन भए । दुलाले ‘म्यान अफ द वल्र्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।  योगेश र आयुष दुवै तीन लाख बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन् । तीनै जना मुख्य उपाधि विजेताले विभिन्न ब्राण्डका लागि मोडलिङ गर्ने अवसर समेत प्राप्त गरेका छन् ।  प्रतियोगितामा धरानका आदेश प्रधान फस्टरनर अप तथा हेटौंडाका आयुष बमजन सेकेन्ड रनर अप भए । बौद्धिकता सहितको व्यक्तित्व, आकर्षण सहितको आवरण तथा दृढ निश्चयता सहितको आत्मविश्वास भएको युवाको खोजी अन्तर्गत संचालन गरिएको ‘मिष्टर नेपाल २०२४’ को फाइनल प्रतिस्पर्धाको यात्रामा राइनो लेदरको पहिरनमा सहभागिहरुले आफ्नो प्रारम्भिक प्रस्तुति दिएका थिए, भने त्यसपछिका प्रस्तुतिमा ब्ल्याकबेरिजको विभिन्न मेन्स् वेयरमा सजिएर फाइनल प्रतिस्पर्धाको मैदान आफूलाई अब्बल रुपमा उतारेका थिए ।  एक्सपोज नेपालको पहलमा नेक्स्ट मोडल्स नेपालको आयोजनामा नेपाली युवाको बौद्धिकता, व्यक्तित्व, प्रतिभा, साँस्कृतिक पृष्ठभूमि र आत्मविश्वास संग जोडिएको राष्ट्रिय स्तरको प्रतियोगिता रियलमी मिष्टर नेपाल २०२४ मा देशभरिका ३८ जना युवाहरुको सहभागिता रहेको थियो । अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकार कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा  फोटोग्राफर राजभाई सुवाल, युवा उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री एवं मोडल नीति शाह, पूर्व मिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ तथा पूर्व मिष्टर नेपालद्वय डा. रुपक घिमिरे र सन्दिप पोखरेल रहेका थिए । प्रतियोगिताको विभिन्न विधागत अवार्डमा आयुष बोमजन रियलमी मोस्ट पपुलर, आदेश प्रधान पब्लिक च्वाइस, आयुष दुलाल टेनएक्स वेष्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मोस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ आर्टसियम मिष्टर फाटोजेनिक, साकार बजिमय प्रिमेरा मोस्ट इन्टिलेक्चुयल, मनोज गुरुङ बज्र वेष्टफिजिक, सन्तोष लोक्सम ब्ल्याकबेरी म्यान अफ एलिगेन्स, प्रकाश चौहान योलो मोस्ट एक्टिभ, समिर तिमिल्सिना आवरण वेष्ट स्कीन, पियुष श्रेष्ठ जोय मेन च्वाइस, अनिकेत प्रजापति श्रीकेश वेष्ट हेयर, सिजल कपाली राइनो मिष्टर फेसनीष्टा, अग्रज श्रेष्ठ प्रो स्टाइल मिष्टर स्टाइल आइकन तथा मनोज गुरुङ केएफसी वेष्ट स्पोर्टस्मेनशीप अवार्डमा विजेता चयन भएका थिए । ‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगीतामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट लगायत प्रतियोगीका रुपमा रहदै आएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।  

‘कार्साङ’को वर्कशपमा दयाहाङ

काठमाडौं । फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो। यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ ।  यस फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ राई फिल्मको वर्कशपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको हो । केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको फिल्म यसै सातादेखि छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ । सामाजिक कथावस्तुमा निर्माण हुने यस फिल्मको मुख्य कलाकारका रूपमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै फिल्ममार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन्। सृजनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् । यस्तै, फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ । यस फिल्मलाई यम शेर्पाले निर्देशनमा गर्दैछन् । उनको यो डेब्यू निर्देशन फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । शेर्पाले यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् । यस फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सहनिर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् । मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत निर्देशक रहने फिल्मको मुख्य सह(निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह(निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् । फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

लोकप्रिय