रमाइलो चुट्किलाः कमिला र हात्तीबीच रमाइलो गफ
एकदिन कमिला स्कुटर चढेर भट्टीमा खान जाँदै थियो रे एउटा हात्तीले लिफ्ट मागे छ ।
अनि हुन्छ भनेर चढाएछ । एक छिनपछि अर्को हात्तीले पनि लिफ्ट मागे छ तर रोकेन, अनि हात्तीले किन नदिएको लिफ्टभन्दा त्यति पनि थाहा छैन ? ट्राफिक नियम एउटा स्कुटरमा ३ जना चढन पाईन्छ मुर्ख ?
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन
काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ । शनिबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका महासचिव मनोज भट्टले लेखेको उक्त पुस्तक नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कम्युनिस्ट पार्टीका नेता दीनानाथ शर्माले संयुक्त रूपमा विमोचन गरेका हुन् । जलजला उपन्यासका लेखकसमेत रहेका महामन्त्री सिंहले उपन्यासका कमजोर विषयलाई उठान गरेर आफूलाई सजक बनाएकामा धन्यवाद् दिए । उनले लेखक भट्टले पुस्तकमा ‘कामरेड जलजला’ उपन्यासको दार्शनिक, वैचारिक पक्षबारे चर्चा गर्दै उपन्यासका राम्रा–नराम्रा कुरालाई औँल्याइदिएको बताए । महामन्त्री सिंहले उपन्यासमा विश्वको सरसर्ती भ्रमण गरे पनि विश्वलाई बदल्नु मानिसको क्षमताभन्दा बाहिरको कुरा भएको उठान गरिएको बताए । ‘कामरेड जलजला’ मा दार्शनिक, वैचारिक पक्षका साथै आमाको मायालाई विशेष महत्त्व दिइएको र त्यस क्रममा पूरै विश्वलाई आमामय बनाउन खोजिएको उल्लेख गरे । “उपन्यासमा समाजमा पाइने गुणमध्ये आमामा पाइने सन्तानको माया सर्वेश्रेष्ठ मानवगुण भएको छ । जलजलालाई सबै मानव समाज, विश्वको सुदूर अन्तरिक्षको समेत परिप्रेक्ष प्रस्तुत गरिएको छ” उनले भने, “उपन्यासमा संसारका सबै चिजलाई आपसमा जोडेर हेर्ने प्रयत्न गरिएको छ । त्यसमाथि भट्टले विवेचना गरेर मलाई थप राम्रो गर्न सकिने पक्षबारे पनि सचेत गराउनुभएको छ ।” एमाले उपमहासचिव ज्ञवालीले ‘कामरेड जलजला’ उपन्यास पढ्न नभ्याउने पाठकका लागि प्रकाशित पुस्तकले सजिलो हुने बताए। उपन्यासको साङ्गोपाङ्गो रूपमा कृति रहेको, श्रष्टा र सिर्जनाबीचको अन्तरसम्बन्धलाई उजागरण गरिएको भन्दै उनले लेखक भट्टले उपन्यासको विवेचना गरेर त्रुटी सच्चाउने काम गरेको बताए । उपमहासचिव ज्ञवालीले भने, “उपन्यासमा पात्रको चर्चा आर्दशवादी भयो भनेर कृतिमा चर्चा गरिएको छ । मोहनविक्रमले उपन्यासभित्र कम्युनिस्ट आन्दोलनमा अन्तर्विरोध हुनेवित्तिकै पार्टी विभाजन हुने प्रवृत्तिबारे उठाउनुभएको छ । जलजलामा मानव ज्ञानको सबै विधा समेटिएका छ । त्यसैमाथि विवेचना गर्नु सामान्य कुरा होइन ।” नेपाली कम्युनिस्ट पार्टीका नेता शर्माले उपन्यास मात्र नभएर दर्शन, विचार र सिद्धान्तबारे लेखिएको बताए । उनले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासबारे टिप्पणी गर्दै कम्युनिस्ट आन्दोलनको अनुसन्धान गर्न सहयोग पुग्ने गरी उपन्यास लेखिएको चर्चा गरे । कार्यक्रममा भाषा आयोगका सदस्य डा पुष्करराज भट्टले प्रस्तुत पुस्तकले ‘कामरेड जलजला’ उपन्यासप्रति पाठकको जिज्ञासा बढाएको बताए । विश्वभाषा क्याम्पसका प्रमुख बलभद्र भारतीले ‘कामरेड जलजला’ उपन्यास सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको परिचय भएको बताए । प्रगतिवादी समालोचक खेम थपलियाले कम्युनिस्ट आन्दोलन सिद्धियो भनेर भनिएका बेला ‘कामरेड जलजला’ जस्तो उपन्यास आउनु अत्यन्तै खुसीको कुरा भएको बताए । अखिल नेपाल प्रगतिशील लेखक सङ्घका महासचिव भीष्म जोशीले जलजला उपन्यासमा वैश्विक नभएर ब्रह्माण्डीय दर्शनसमेत रहेको बताए ।
फूलपातीमा चार नेपाली चलचित्र प्रदर्शन हुँदै
काठमाडौं । दसैँको फूलपाती (असोज १३) का दिन चार नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएका छन् । ती चलचित्रमा ‘माइतीघर’, ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘अभिमन्यु : च्याप्टर १’ रहेका छन् । ‘माइतीघर’ मा केदार घिमिरे (माग्नेबुढा), धीरज मगर र प्रकाश सपुत मुख्य भूमिकामा छन् । ‘बलिदान’ समीर भट्टको शीर्ष भूमिका रहेको दोस्रो चलचित्र हो । ‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य मुख्य पात्रको रूपमा देखिनेछन् । पहिले भदौ २७ गते रिलिज हुने तय भएको ‘अभिमन्यु : च्याप्टर १’ पनि अब फूलपातीमै प्रदर्शन हुने भएको छ । यसमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर बाङ्देलको प्रमुख अभिनय रहेको छ ।
चलचित्र Atkan Chatkan: गरिबीको छायाँमा सपनाको उडान
काठमाडौं। नेपाली समाजमा गरिबी, सामाजिक विभेद र बालबालिकाको संघर्षका कथाहरू धेरै छन्। चिया पसलमा काम गर्ने बालकदिख सानै उमेरमा भागेर भारतका गल्लीहरुमा भौंतारिने बालकहरु असनका गल्लीहरूमा भट्किरहेका सडक बालबालिकाहरू, वा तराईका मजदुर परिवारका छोराछोरीहरूका जीवनमा सपनाहरू कसरी दबिन्छन् । यो हाम्रो यथार्थ हो । तर सडकको यही धुलोसँग खेल्दै केही सपनाहरु फक्रिन्छन् । रामकृष्ण ढकाल यसको उदाहरण हुन । सघर्ष कठिनाइबीच पनि सपनाको धून नछोडी सफलतामा पुगेका कैयन् कथाहरु पछ्याउँदै चलचित्र Atkan Chatkan (२०२०) ले आफ्नै समाजको ऐना देखाउँछ। निर्देशक शिव हरेको यो डेब्यू फिल्म ZEE5 प्लेटफर्मबाट रिलिज भएको थियो, जसमा संगीत प्रस्तुतकर्ताका रूपमा ए.आर. रहमान र संगीतकारका रूपमा प्रख्यात तालवादक सिवमणि संलग्न छन्। अहिले यो चलचित्र युट्यूबमा हेर्न सकिन्छ । गरिबीको छायाँमा सपनाको उडान फिल्मको केन्द्रमा गुड्डु (लिडियन नाधस्वरम) नामक बालक छ, जो एक सानो चिया पसलमा काम गर्छ। उसको जीवन आर्थिक अभाव, घरायसी कलह र समाजको उपेक्षाले भरिएको छ। बाबुको कठोरता, आमाको असहायता र सडकको कठिनाइबीच गुड्डुको हृदयमा संगीतको ज्वाला बलिरहेको हुन्छ। ऊ सडकमा भेटिएका अन्य बालकहरूसँग मिलेर एक ब्यान्ड बनाउँछ – खाली डब्बा, धातुका टुक्रा र घरेलु वाद्ययन्त्रहरू प्रयोग गरेर। उनीहरूको लक्ष्य एक ठूलो संगीत प्रतियोगिता हो, जहाँ धनी परिवारका बच्चाहरूसँग प्रतिस्पर्धा गर्दै उनीहरूले आफ्नो प्रतिभा प्रमाणित गर्नुपर्छ। कथा ‘अन्डरडग’ शैलीको छ – संघर्षबाट सुरु भएर जितसम्म पुग्ने – तर यसमा भावनात्मक गहिराइ र सामाजिक यथार्थता मिसिएको छ। फिल्मको सन्देश – प्रतिभा वर्गीय सीमामा बाँधिएको हुँदैन – नेपालको जातीय, क्षेत्रीय र आर्थिक विभेदसँग जोडिन्छ, जहाँ दलित, जनजाति वा गरिब परिवारका बच्चाहरूले अवसरबाट वञ्चित हुन्छन्। यो फिल्मले नेपाली दर्शकलाई सोच्न बाध्य पार्छ: के हाम्रा श्रमिक बालबालिकाहरूले पनि यस्तै सपना देख्न र पूरा गर्न सक्छन् त? नेपालको बालअधिकार र शिक्षा नीतिमा यो सन्देशले प्रश्न उठाउँछ। बालसुलभ ऊर्जा र भावनात्मक गहिराइ फिल्मको अभिनय पक्ष बाल कलाकारहरूमा निर्भर छ, जसले यसलाई जीवन्त बनाउँछ। लिडियन नाधस्वरम, जो वास्तविक जीवनमा विश्वविख्यात पियानोवादक हुन्, गुड्डुको भूमिकामा पूर्ण रूपमा डुबेका छन्। उनको अभिनय स्वाभाविक छ – संगीतप्रतिको मोह, सडकको कठिनाइमा देखिने मासूमियत र दृढता – यो सबैले दर्शकको हृदय छुन्छ। अन्य बाल कलाकारहरू – गुड्डुका साथीहरू – ले मित्रताको मिठास, संघर्षको करुणा र बालसुलभ उत्साहलाई सहज ढंगले प्रस्तुत गरेका छन्। उनीहरूको समूह अभिनयले फिल्मलाई ऊर्जाशील बनाउँछ, जसले नेपाली समाजमा देखिने ‘गल्लीका साथीहरू’ को बन्धनलाई सम्झाउँछ। सहायक पात्रहरू – गुड्डुका अभिभावक, धनी बच्चाहरू र निर्णायकहरू – भने प्रचलित ढाँचाका छन्: धनीको घमण्ड, गरिबको आँसु। यी पात्रहरूमा गहिराइ कम छ, जसले फिल्मलाई थोरै सतही बनाउँछ। 🎶 संगीत र ध्वनि सिवमणिको संगीत यस फिल्मको मुख्य शक्ति हो। तालवादनको प्रयोग – ढोल, ताशा, खाली डब्बा – ले सडक जीवनको यथार्थलाई संगीतमय बनाउँछ। पृष्ठभूमि संगीतले भावनात्मक क्षणहरूमा संवादभन्दा बढी बोल्छ, जसले कथालाई अगाडि बढाउँछ। गीतहरू प्रेरणादायी छन्, तर हिट बन्न सकेनन्। अन्तिम प्रतियोगिता दृश्यमा संगीतको थरारिँदो प्रभावले दर्शकलाई रोमाञ्चित पार्छ। संगीतले वर्गीय सीमा तोड्छ – नेपालको दोहोरी प्रतियोगिता वा लोकसंगीत महोत्सवहरूमा देखिने समावेशीतासँग जोडिन्छ, जहाँ ग्रामीण वा गरिब कलाकारहरूले राष्ट्रिय स्तरमा चम्किन्छन्। यो सन्देश नेपाली समाजलाई प्रेरित गर्छ कि संगीतले जात, वर्ग वा क्षेत्रीय विभेद मेटाउँछ। सिनेमाटोग्राफीले सडक जीवनको धुलो, भीड र अव्यवस्थालाई यथार्थपरक ढंगले कैद गरेको छ। रंगीन तर कठिन वातावरणले दर्शकलाई पात्रहरूको संघर्ष महसुस गराउँछ। तर सम्पादन र शैलीमा ८०/९० को दशकका फिल्महरूको प्रभाव छ – नाटकीय हाइलाइटहरू, मेलोड्रामा – जसले समसामयिक दर्शकलाई थोरै पुरानो लाग्न सक्छ। 🧐 प्रतीकात्मकता र सामाजिक आयाम: फिल्म प्रतीकात्मक रूपमा धेरै कुरा बोल्छ। गुड्डुको ब्यान्ड गरिब वर्गको सामूहिक स्वरको प्रतीक हो, जसले समाजको बहिष्करणविरुद्ध प्रतिरोध गर्छ। संगीत प्रतियोगिता वर्गीय संघर्षको रूपक हो, जहाँ धनी र गरिबबीचको विभाजन स्पष्ट हुन्छ। यो नेपाली सन्दर्भमा जातीय विभेद, क्षेत्रीय असमानता वा लैंगिक भेदभावसँग जोडिन्छ – उदाहरणका लागि, नेपालका दलित कलाकारहरू वा महिलाहरूले संगीतमा सामना गर्ने चुनौतीहरू। फिल्मको सन्देश – सपना देख्न र पूरा गर्न कुनै सीमा हुँदैन – नेपाली समाजलाई चुनौती दिन्छ कि हाम्रा सडक बालबालिकाहरू, मजदुर परिवारका छोराछोरीहरू वा ग्रामीण कलाकारहरूलाई समान अवसर दिन सकिन्छ त? यो सन्देश नेपालको बालअधिकार, शिक्षा र सांस्कृतिक नीतिमा सुधारको आवश्यकता देखाउँछ, जसले गरिबीले थिचिएका प्रतिभाहरूलाई उकास्न सक्छ। 🌟 निष्कर्ष: एक हृदय छुने तर अपूर्ण यात्रा Atkan Chatkan संगीत, संघर्ष र सपनाको आत्मीय कथा हो, जसले नेपाली दर्शकलाई आफ्नै समाजको यथार्थता देखाउँछ। यसको सन्देश – गरिबीबीच पनि प्रतिभा चम्किन्छ – नेपालको सडक बालबालिकाहरू, लोककलाकारहरू र सामाजिक असमानतासँग जोडिएर थप सान्दर्भिक बन्छ। बाल अभिनय र संगीत यसको मुख्य आकर्षण हुन्, तर कथा संरचना र शैलीमा नवीनताको कमीले यसलाई असाधारण बनाउँदैन। नेपाली सन्दर्भमा यो फिल्मले हामीलाई प्रेरित गर्छ कि हाम्रा सपनाहरू संगीत वा कलाको माध्यमबाट पनि उड्न सक्छन्, तर समाजले अवसर दिनुपर्छ। संगीतप्रेमी, बालकथामा रुचि राख्ने, सामाजिक सन्देश खोज्ने, वा नेपालको गरिबी र सपनाका कथामा चासो राख्नेहरुका लागि चलचित्र मन पर्न सक्छ । https://youtu.be/CJkVBMaT4s0?si=XLZ7UD1qYkAog4cA
‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी सुरु
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर आइतबारबाट ‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी सुरु भएको छ । प्रतिष्ठानको आयोजनामा भएको सो प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक समारोहका बीच उद्घाटन गरे । कार्यक्रममा कुलपति हार्तम्छालीले प्रतिष्ठानले प्रदर्शनीमार्फत दुई फरक विषयलाई समेट्न खोजेको बताए । उनले ‘हिमालयको रहस्य’ प्रदर्शनीमार्फत नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भिर असरलाई उजागर गर्न खोजेको जनाए । उनले ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ का राष्ट्रिय ललितकला पुरस्कार विजेताहरूलाई हौसला प्रदान गर्न गरिएको जानकारी गराए । कुलपति हार्तम्छालीले उनले भने, ‘वातावरण परिवर्तनले हिमालमा परेको प्रभावलाई कलाकारले कलामार्फत कलात्मक रुपले प्रस्तुत गर्नुभएको छ । हिमाल बचाउने अभियानमा कलाकारको पनि विशिष्ट भूमिका रहनुपर्छ भन्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको हो ।’ उनले कलामार्फत हिमालमाथि भइरहेको दोहनलाई प्रस्तुत गरिएको विचार व्यक्त गरे । कुलपति हार्तम्छालीले नेपालको मौलिक पहिचानसँगै पर्यटनमार्फत सांस्कृतिक अर्थ–समृद्धि मात्रै होइन हिमवत्खण्ड साथै विश्व वातावरण र जैविक विविधताको सार सन्तुलनको मुख्य आधार पनि हिमालय रहेको जिकिर गरे । उनले मानवको प्रकृतिसँग सम्बन्ध, विरासतदेखि आधुनिक समय तथा भविष्यसम्मको सन्तुलन, नियमितता र शान्तिपूर्ण जीवनमोक्षका साथै पुस्ता हस्तान्तरणार्थ जगाधारको बिम्बसार पनि हिमाललाई नै मान्न सकिने झलकहरू कलाकारका चित्रकलामा विभिन्न रेखा, आकार र रङको ढङ्गहरूले देखाउने प्रयास गरिएको जनाए । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले हिमाल जीवन र जगतसँग जोडिएको विषय भएको बताए । उनले हिमाल भए पानी हुने र पानी भए जीवन हुने भन्दै जलवायु परिवर्तनले नेपाललगायतका पर्वतीय देशहरूमा परेको असरलाई गम्भिर रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । उपकुलपति लामाले भने, ‘हिमाल बचाउन यसका बारेमा सबैले आ–आफ्नो ठाउबाट सचेत ढंगले लाग्नु पर्दछ । कलाकारले चित्रमार्फत यो अभियानलाई उजागर गर्ने कोसिस गरेका छन् ।’ प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीमा जलवायु परिवर्तनले पारेको प्रभाव र कालोपत्थर बन्दै गइरहेका हिमालका विषयलाई कलाकारले कलात्मक रुपमा उधिनेको धारणा राखे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ औँ जलवायु परिवर्तनसम्बन्धी ‘कोप २८’ सम्मेलनमार्फत उठाएको एजेन्डालगायतका विविध विषय कलामा समेटिएको बताए । सदस्य सचिव थुम्केलीले प्राणीजगतको जीवनसँग हिमाल जोडिएकाले पछिल्लो समय जलवायु परिवर्तनले यसमा पारेको गम्भिर असरबारे सम्बद्ध सबै सचेत हुनेपर्ने विचार व्यक्त गरे । उनले भने, ‘हिमाल बचाउन विश्वको ध्यान आकृष्ट गर्न कला प्रदर्शनी गरिएको हो ।’ ‘हिमालयको रहस्य’ प्रदर्शनीमा अनिता भट्टराई, एन्जिला जोशी, अर्पिता पराजुली, अरुणा हिङमाङ, बिआर श्रेष्ठ, भिमकुमार श्रेष्ठ, भिम सुब्बा तामाङ, बिक्कुकुमार थापा, विनोदकुमार गुप्ता, विपना महर्जन, दामोदर बराल, डिबी भण्डारी, देवेन्द्र थुम्केली, दिनेश थापा मगर, दिनेश्वर महतो, दिपेश नेपाली, गजेन्द्रमान श्रेष्ठ, गणेश लामा, गौरवरत्न बज्राचार्य तुलाधर, गौतमरत्न बज्राचार्य तुलाधर, इन्दु पन्त, जुजुकाजी श्रेष्ठ, ज्योति खड्का श्रेष्ठ, केशव राज खनाल, किशोर नकर्मी, किशोर रानाभाट, कृष्ण लामा, लालकाजी लामा, लिलाधर के.सी., महेश आचार्य, माइला दोङ, मोहन शिवाकोटी, नरबहादुर बि.के., नारदमणि हार्तम्छाली, नेमबहादुर तामाङ, ओमप्रकाश गुरुङ, प्रदिप अधिकारी, प्रकाश मिजार, प्रमिला बज्राचार्य, प्रितम थापा, रविन्द्र मानन्धर, राजप्रकाशमान तुलाधर, राजन महर्जन, राजकुमार राना मगर, रामबहादुर ठाडा, रमेशनाथ खनाल, रिनु श्रेष्ठ, रोशन खत्री, रूवी महर्जन, रुद्रबहादुर पुन, रूपक राई, रुशा बज्राचार्य, सम्झना राजभण्डारी, संगी श्रेष्ठ, संजय वान्तवा, सरुना देवी महर्जन, सौरगंगा दर्शनधारी, श्रेया हाडा श्रेष्ठ, सिकन्दर चौधरी, सुवास ‘क्षितिज’ श्रेष्ठ, सुदन श्रेष्ठ, सुमन श्रेष्ठ, सुरक्षा वाग्ले, सुरेम देशार, सुश्मा श्रेष्ठ, सुस्मिता कुँवर, क्षितेन शेर्पा, छिरिङ फोन्जो गुरुङ, उसिना महर्जन लगायतका कलाकार सहभागी छन् । यस्तै, ‘सिर्जनावृत्ति’ कला प्रदर्शनीमा उद्धव रिमाल (समसामयिक चित्रकला), विनय रिमाल (प्रतिस्थापन कला), रिसिता खत्री (समसामयिक मूर्तिकला), नम्रता सिंह (लोककला) र राजप्रकाश मान तुलाधर (परम्परागत चित्रकला) ले सहभागिता जनाएका छन् । ‘हिमालयको रहस्य’ प्रदर्शनीको संयोजन कलाकार केशव राज खनाल र क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदीप शाक्यले गरेका छन् । ‘कोप २८’ अर्थात २८औँ विश्व जलवायु सम्मेलन २०२३ नोभेम्बर ३० देखि १२ डिसेम्बरसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न भएको थियो । संयुक्त राष्ट्र सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । सम्मेलनबाट फर्किएपश्चात् प्रधानमन्त्रीले विमानस्थलमा पत्रकारसँग जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप २८’ प्रभावकारी भएको र नेपालले यस पटक आफ्ना एजेन्डा प्रभावकारी र वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरिएको बताएका थिए । यस्तै, उनले जलवायु परिवर्तनको असर भोगेको नेपालले त्यसबापतको क्षतिपूर्ति पाउनुपर्ने र त्यसको प्राथमिकता प्राप्त देशको सूचीमा नेपाललाई समावेश गरिएको जानकारी संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिया गुटेरसले आफूलाई गराएको बताएका थिए । यस सम्मेलनमा नेपालले आफ्नो अधिकारको बारेमा प्रष्ट रूपमा आफ्नो धारणा राखेको थियो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरस २०८० कार्तिक १२ गते नेपालको चारदिने भ्रमणका लागि आएका थिए । यसक्रममा उनले सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्पलगायतका क्षेत्रको भ्रमण गर्दै नेपाललगायतका देशको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गम्भीर असर गरेको बताएका थिए । उनले भनेका थिए, ‘अहिले म हिमालको काखमा छु, यहाँ व्यापक रूपमा हिमालहरू पग्लिएका छन् ।’ महासचिव गुटेरसको नेपाल भ्रमणले विश्वमञ्चमा नेपाललगायतका देशको हिमाली क्षेत्रमा परेको असर र प्रभावबारे आवाज प्रभावकारी रूपमा उठेको थियो । यसअघि वि.सं २०६६ मंसिर १९ गते सगरमाथा क्षेत्रको आधार शिविरमा औपचारिक रूपमा मन्त्रिपरिषद् बैठक गरेर १० बुँदे घोषणापत्र जारी गर्दै नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरका बारेमा विश्वको ध्यानाकर्षण गरेको थियो । यस बैठकपश्चात् (मङ्सिर २२ गते–पुस ३ गते सम्म) डेनमार्कको कोपनहेगनमा सम्पन्न ‘कोप १५’ मा नेपाललगायतका पर्वतीय देशका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको विषयलाई औपचारिक रूपमा उठाएको थियो । माथि उल्लेख गरिएका विविध विषयलाई उठान गरेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले वैशाख २ गतेबाट ७ गतेसम्म ‘हिमालयको रहस्य’ चित्रकला प्रदर्शनी गरेको जनाएको छ । कलाकारले आफ्ना कलाकृतिमार्फत जलवायु परिवर्तन र यसले नेपालका हिमालमा पारेको असरलाई उठाएका छन् । वैशाख ७ गतेसम्म चल्ने यस प्रदर्शनीमा ६९ कलाकारका कलाकृति समावेश गरिएको छ ।

