रोग लिएर फर्कन्छन् महिला कामदार

रोग लिएर फर्कन्छन् महिला कामदार

काठमाडौँ, पुस १२ ।

विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो ।

आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुगेकी उनी फर्कँदा पैसा त कमाए तर पैसासँग रोग पनि ल्याए । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उहाँ धेरै खटे ।

बिहान १/२ बजेदेखि काम गर्ने र राति पनि १२ बजेसम्म काम गर्नुपर्ने बाध्यता थियो । दलालले यहाँ भनेर लगेको भन्दा धेरै समयसम्म काम गर्नुपर्ने र काम गरेअनुरूपको तलब नपाउँदा उनी स्वदेश फर्के । उनले भने, “बैंकमा दुईचार पैसा बचत भएर मात्रै के गर्नु र ? अनेक रोगले गर्दा अब काम गर्न नसक्ने भइहालेँ ।”

उनीजस्तै ३५ वर्षीया अर्की महिला पनि विदेशमा रोजगारीका लागि जाँदा शारीरिक समस्या लिएर फर्किएका थिए । दैनिक २१/२२ घण्टासम्ममा काम गर्दा र आरामको समय नहुँदा उनी केही महीना पहिले स्वदेश फर्केका थिए । एउटा परिवारका लागि काम गर्न उनले दिनमा दुई/तीन घण्टाबाहेक फुर्सद पाएन । उनी आफू काम गरिरहेको परिवारका लागि खाना पकाउने, शौचालय सफा गर्ने, बच्चाको स्याहार गर्नेलगायतका काम गरे । लामो समयसम्म काम गर्दा ढाड दुख्नेलगायतका समस्या आउँदा उनी स्वदेश फर्के । उनले भने, “अहिले काठमाडौँमा नै सानो व्यवसाय गरिरहेकी छु ।”

घरेलु कामदारका रूपमा विदेश जानु धेरै नेपाली महिलाका लागि रहरभन्दा पनि बाध्यता बनेको छ । सरकारले महिलाका लागि खाडीमुलुक जान रोक लगाए पनि लागू भएको छैन । कतिपय महिलाले अनेक हैरानी सहेर पैसा पनि नकमाइ फर्किएका छन् । कतिपय भने एक दिनमा धेरै घण्टा काम गर्नुपर्ने र आराम गर्न समय नपाउँदा विभिन्न रोगले पीडित बनेका छन् ।

अर्की ३७ वर्षीया महिलालाई सुटकेस बोकेर भर्याङ उक्लने ओलर्ने गर्दा धेरै स्वास्थ्य समस्या आयो । श्रीमान्को निधनपछि घरको आर्थिक भार बेहोर्न पर्ने बाध्यता आइलाग्यो र उनी वैदेशिक रोजगारीमा गएका थिए । कुवेत जान हिँडेको मान्छे विमान चढेपछि उहाँले आफू ओमन जान लागेको थाहा पाए । दलालले उनलाई झुक्याएर कतार भन्दै ओमन पुर्याएको थियो । उनी जुन घरमा काम गर्नुहुन्थ्यो त्यो घरमा उहाँले दुई घण्टाभन्दा बढी आराम गर्न पाएन । “उतै मर्छु भन्ने लागेको थियो भाग्यले बाँचे”, उनी भज्छन् ।

बिहान सबेरैदेखि राति अबेरसम्म पनि उहाँ घरायसी काममा नै व्यस्त रहेका थिए । भाँडा माझ्दा, लुगा धुँदा र मिलाउँदा धेरै थाकेपछि उहाँलाई स्वदेश फर्कन मन लागेको थियो । बेचिएर त्यहाँ पुगेकी महिलाले चाहेर पनि स्वदेश फर्कन नमिल्ने रहेछ । आफू काम गरिरहेको घरमा बिरामी हुँदासमेत कामबाट विश्राम र उपचार दुवै कुरा पाएन । “चार दिनसम्म बिरामी पर्दा कसैले वास्ता गरेनन्”, उनले भने, “म नेपाल फर्किएर नाङ्लो पसल खोल्छु भन्ने सोचाइ आयो र अहिले त्यही गरिरहेकी छु ।”

वैदेशिक रोजगारीबाट फर्किएका महिलाका संस्था पौरखीका अध्यक्ष मञ्जु गुरुङ खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा पुगेका धेरै महिला फर्कँदा रोगी भएर फर्किने गरेको बताए । लामो समयसम्म उभिएर काम गर्दा महिलामा पाठेघर खस्ने, छालाको एलर्जी, मिर्गौलाको समस्या देखिएको छ । कामको अवधिमा पर्याप्त मात्रामा पानी नपाउने र पौष्टिक आहारा नपाउँदा महिला कामदार कमजोर शरीर लिएर फर्कनुपरेको हो । कतिपय महिला यौन हिंसामा समेत परेका छन् । काम गर्ने घरधनी वा आफन्तले बलात्कार गर्दा गर्भवती भएरसमेत कतिपय महिला फर्किएका छन् । पौरखीले घरमा फर्कन नसक्ने महिलालाई केही समय आश्रय दिएर तालीम दिने गरेको छ ।

स्वास्थ्य अवस्था कमजोर भएर फर्किएका महिलाको उपचारको सहयोग गरिरहेको उनले बताए । नेपालले नीतिगतरूपमा खाडीमा महिला कामदार रोक्ने तर छिमेकी देशको बाटो हुँदै महिला कामदार जाने क्रम नरोकिँदा समस्या बढेको उनको अनुभव छ । उनले भने, “जुनसुकै देशमा गएर काम गर्न खुला गरेर त्यहाँ भएका समस्याको समाधान खोज्नुपर्छ ।” रासस

नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।

अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।

यस वर्षको  एसइई चैत पहिलो सातादेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ ।  सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति

चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

लोकप्रिय