शहीद शुक्र माविद्धारा ललितकला विषयको अध्यापन सुरु

शहीद शुक्र माविद्धारा ललितकला विषयको अध्यापन सुरु

काठमाडौं । सीप, सिर्जना र उद्यमशीलतासँग जोडिएको ललितकला विषयको अध्यापन शहीद शुक्र मावि बागबजारले यस वर्षदेखि सुरु गरेको छ । आइतबार कक्षा सञ्चालन बारेमा जानकारी दिँदै विद्यालयले ‘ललितकला विषय अध्यापन शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रम’ आयोजना ग¥यो । सो अवसरमा अग्रज कलाकार राधेश्याम मुल्मीले कला जानेको मानिसले सहजै रोजगारसँग जोडिन सक्ने बताए । उनले कलाका विविध आयाम र महत्वबारे चर्चा गर्दै ललितककला विषय सीप र सिर्जनासँग जोडिएकाले समाज र देशका लागि आवश्यक रहेको विचार व्यक्त गरे ।

मुल्मीले कला पढ्दै विभिन्न अवसरसँग जोडिन सकिने भएकाले यसको महत्व पछिल्लो समय निकै बढेर गएको सुनाए । उनले भने, ‘प्रत्यक्ष रोजगारीसँग जोडिएर कला विषय आएको छ । यसको मानिससँग प्रत्यक्ष परोक्ष रुपमा जोडिएका विभिन्न दिनदैनिकीमा उपभोग गर्ने सामानमा पनि आवश्यकता रहेको हुन्छ । अर्थात् डिजाइनको आवश्यकता उत्पादन गरिएका सामानमा विशेष रहेको हुन्छ । कलाविनाको कुनै सामान नै हुँदैन । कलाकै कारण मानिसले त्यस्ता सामान राम्रो या नराम्रो भनेर छुट्टयाउन सक्छन् ।’ अग्रज कलाकार मुल्मीले कलाको प्रत्यक्ष प्रभावकै कारण विश्वबजारमा डिजाइनको महत्व पछिल्लो समय निकै बढेर गएको बताए । नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले कला विषयको अध्यापन सुरु गरेर विद्यालयले उदाहरणीय काम गरेको सुनाए । सीप र सिर्जनासँग जोडिएको यो विषयले विद्यार्थीलाई उद्यमशीलतासँग जोड्ने बताउँदै उनले भने, ‘कलाको प्रभाव संसारमा सबै चीजमा परेको छ । कलाविनाको संसार समृद्ध बन्न सक्दैन ।’ खनालले अहिले चित्रकला, मूर्तिकला तथा प्रायोगिक कलाको ११ कक्षामा अध्यापन सुरु गरेर विद्यालयले कलाको महत्वलाई स्थापित गर्दै सीपलाई बजारसम्म पु¥याउने काममा मद्दत गरेको सुनाए ।

सो कार्यक्रममा नेपाल व्यवसायिक कलाकार संघका महासचिव भोलानाथ पौड्यालले कलालाई उद्यमशीलतासँग जोडेर यसको महत्वलाई समाजमा स्थापित गर्ने लक्ष्यका साथ विद्यालयले कला अध्यापन गरेको बताए । उनले कलामार्फत नेपालको संस्कृति जर्गेना गर्ने तथा प्रत्यक्ष रुपमा उत्पादनमा जोडेर सहज ढंगले रोजीरोटीमा लाग्न सक्ने बनाउने उद्देश्य राखिएको विचार व्यक्त गरे । महासचिव पौड्णलले संघको प्राविधिक सहयोगमा विद्यालयमा कलाका विविध शिल्पगत विषयलाई समेत रोजगारीसँग जोडेर सिकाउने लक्ष्य राखिएको जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमप्रसाद खड्गीले व्यवसायिक कलाको केन्द्र बागबजारमा कलाको शिक्षण सुरु गरिएको बताए । उनले कला शिक्षामार्फत सीपलाई रोजगारीमा बदल्दै समाजका लागि दक्ष र सिर्जनशील नागरिक बनाउने विद्यालयको लक्ष्य रहेको धारणा व्यक्त गरे । यस्तै, कलाकार विष्णुप्रसाद श्रेष्ठले कलाशिक्षणको महत्वका बारेमा प्रकाश पार्दै शहीद शुक्र माविले ललितकला विषय अध्यापन सुरु गरेर राम्रो काम गरेको बताए । उनले कलाशिक्षालाई आमनागरिकको पहुँचमा पु¥याउन विद्यालयले सर्वसुलभ ढंगले कामको सुरुवात् गरेको भन्दै यसलाई प्रभावकारी रुपले लैजानु पर्नेमा जोड दिए । विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारीले गुणात्मक शिक्षामार्फत देशका लागि आफूहरुले काम गर्ने भनाइ राखे । उनले कलाशिक्षाको आवश्यकता बोध गरेर यस वर्षदेखि कक्षा ११ मा ललितकला विषयको अध्यापन सुरु गरेको जानकारी दिए । उनले भने, ‘कला सीप र सिर्जनासँग जोडिएको विषय हो । यसले रोजगारसँगै संस्कृतिको जर्गेना र महत्वलाई समाजमा स्थापित गर्न मद्दत गर्ने विश्वासका साथ अध्यापन सुरु गरेका हौं ।’

सो कार्यक्रममा काठमाडौं महानगरपालिका बागबजारक्षेत्रका वडाध्यक्ष भाइराम खड्गी, नेपाल व्यवसायिक कलाकार संघका केन्द्रीय उपाध्यक्ष विष्णु सिग्देल, केन्द्रीय सदस्य विजय कार्की ढली, कलाकार श्रवणकुमार चौधरी, किरण मगर, विद्यालय व्यवस्थापन समिति सदस्य राजेश श्रेष्ठ, विद्यालयका सहप्रधानाध्यापक रोसन शाह, मावि इञ्चार्ज ज्ञान ब. अधिकारी शिक्षक शैलीसिंह राठौर, विजयाकुमारी ढकाल, शकुन्तला सुवेदी, सविना जिसी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।

अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।

यस वर्षको  एसइई चैत पहिलो सातादेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ ।  सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति

चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

लोकप्रिय