शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा : राष्ट्रपति
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन् । काठमाडौँ महानगरपालिकाद्वारा मङ्गलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताएका हुन् ।
उनले भने, ‘‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् ।’’
शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको बताए । उनले भने, ‘‘खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र अन्तर्निहित प्रतिभाको विकास गर्न सक्छन् । खेलकुद क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ट प्रयत्नहरू होउन् भनेर म सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।’’
राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको बताए। उनले युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको बताउँदै युवा विद्यार्थीहरू शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने स्पष्ट पारे ।
खेलकुद जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाई मुलुकलाई प्रगतिशील बनाउन सहयोग गर्ने राष्ट्रपति पौडेलको धारणा थियो । उनले भने, ‘‘खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ र कामका लागि तयार बनाउँछ । यो उनीहरूलाई ऊर्जा, सजीवता र सामर्थ्य दिने माध्यम तथा स्वास्थ्य ठिक राखी शिक्षामा अग्रसर हुने र आफ्नो जीवनमार्गमा सफल बनाउने कारक पनि हो ।’’
राष्ट्रपति पौडेलले खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाई सांस्कृतिक अनुभूति प्रदान गर्ने उल्लेख गर्दै खेलकुदमा भाग लिने विद्यार्थी एकअर्काप्रति सहयोगी भई सामूहिक प्रयत्न र सामाजिक भावनातर्फ अग्रसर हुन सक्ने बताए ।
उनले भने, ‘‘यो परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउने असल मार्ग हो भन्ने पनि मलाई लाग्छ । खेलकुदले युवामा नेतृत्वको विकास गराई जटिल परिस्थितिमा सहजता साथ प्रतिस्पर्धा गर्ने क्षमता प्रदान गर्ने भएकाले यसमा सहभागी हुनेले धैर्य र समर्थनको भावना विकास गर्न सक्नुपर्छ जुन हाम्रो राष्ट्रका लागि आजको आवश्यकता हो ।’’
उनले राष्ट्रपति रनिङ सिल्ड नाममा काठमाडौँ महानगरपालिकाभित्रका विद्यार्थीबिच भएको यस खेलकुद प्रतियोगिताले विद्यार्थीमा उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने आफूले विश्वास लिएको बताए। उनले भने, ‘‘स्कुल कलेजजस्ता सार्वजनिक स्थानमा आयोजना हुने खेलकुद प्रतियोगिता विद्यार्थीबिचमा सामूहिकता, सहभागिता र उत्साह जगाउने र शिक्षाको मनोक्रियात्मक क्षेत्रलाई सफल बनाउने साध्य भएकाले शिक्षा र खेलकुदबिच अद्भुत सम्बन्ध हुन्छ जसले जीवनभर सफलताको खोजी गर्न बाटो देखाउँछ । यस्ता प्रतियोगिता शिक्षण सिकाइका अङ्गकै रूपमा सबै विद्यालयमा सञ्चालन हुनुपर्छ भन्ने म ठान्दछु ।’’
मध्यपूर्वको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि प्रभावित
काठमाडाैं । फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि नराम्ररी प्रभावित भएका छन् । क्षेत्रीय अस्थिरता, सुरक्षाको चिन्ता र हवाई क्षेत्र बन्द हुँदा दर्जनौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरू स्थगित, रद्द वा अन्योलमा परेका छन् । विशेषगरी फुटबल क्षेत्रमा यसको प्रभाव उल्लेख्य देखिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो क्यालेन्डरअन्तर्गत पश्चिम क्षेत्रका सबै खेलहरू तत्कालका लागि स्थगित गरेको छ । यसमा एएफसी च्याम्पियन्स लिग एलाइट, एएफसी च्याम्पियन्स लिग टु र एएफसी च्यालेन्ज लिग जस्ता प्रतियोगिता समावेश छन् । साउदी अरब, कतार, यूएई, इरान र कुवेतका क्लबहरू सहभागी हुने खेलहरू रोकिनुका साथै क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर जस्ता चर्चित टोलीहरू पनि प्रभावित भएका छन् । इरानको घरेलु ‘पर्सियन गल्फ प्रो लिग’ अनिश्चितकालका लागि निलम्बन गरिएको छ भने विदेशी खेलाडीहरू धमाधम देश छोडिरहेका छन् । दक्षिण कोरियाली डिफेन्डर ली की–जे तेहरानस्थित आफ्नै दूतावासमा शरण लिएर स्वदेश फर्कन सफल भएका छन् । युद्धको प्रभाव फुटबलमा मात्र सीमित छैन । कतारमा मार्च २७ मा हुने तय भएको स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतिक्षित ‘फाइनलिसिमा’ खेल पनि अन्योलमा परेको छ । कतार फुटबल एसोसिएसनले घरेलु खेलहरू स्थगित गरेपछि उक्त खेल हुने सम्भावना कमजोर बनेको छ । यस्तै, संयुक्त अरब इमिरेट्समा हुने फुजैराह ओपन टेनिस प्रतियोगिता पनि सुरक्षाका कारण रद्द गरिएको छ । खेल तालिका अस्तव्यस्त बनेपछि विभिन्न खेल संघहरू अहिले प्रतियोगिता सञ्चालनभन्दा पनि खेलाडीहरूको सुरक्षा र उद्धारमा केन्द्रित भएका छन् ।
स्कटल्यान्डमाथि ऐतिहासिक जितपछि नेपाली टिमलाई प्रचण्डको बधाई
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आईसीसी टी–२० विश्वकप अन्तर्गत स्कटल्यान्डमाथि हासिल गरेको शानदार जितका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। दोस्रो चरणमा पुग्ने सपना अधुरै रहे पनि स्कटल्यान्डविरुद्धको प्रभावशाली जितले सम्पूर्ण नेपालीलाई गर्वान्वित बनाएको उहाँको भनाइ छ। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र लगनशीलताकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो। “नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई। दोस्रो चरणको सपना अधुरै रहे पनि, स्कटल्यान्डमाथि हासिल यो शानदार जितले सम्पूर्ण नेपालीलाई गर्व महसुस गराएको छ,” उहाँले भन्नुभयो, “आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन सफल रहनुहोस्। सिंगो नेपाल तपाईंहरूको साथमा छ।” उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले देखाएको आत्मविश्वास र संघर्षशील भावनाले विश्वसामु नेपालको पहिचान थप मजबुत बनाएको उल्लेख गर्नुभयो। स्कटल्यान्डमाथिको जितसँगै नेपाली टोलीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। यस जितले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटप्रति थप आशा र विश्वास जगाएको छ।
टी–२० विश्वकप: दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा १२ वर्षपछि नेपालको जित
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि जित निकाल्दै स्कटल्यान्डलाई सात विकेटले हराएको छ। भारतको वान्खेंडे रंगशालामा भएको खेलमा १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा चार चौका र तीन छक्कासहित अविजित ५० रन बनाए। यो विश्वकपमा नेपालबाट सबैभन्दा छिटो बनेको अर्धशतक हो। उनी विश्वकप इतिहासमा दुई अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटरसमेत बने। यसअघि कुशल भुर्तेल (४३) र आसिफ सेख (३३) ले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। गुल्सन झाले अविजित २४ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा १७०/७ बनायो। माइकल जोन्सले ७१ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। जितसँगै नेपालले दुई अंकसहित प्रतियोगिता टुंग्यायो। नेपाल र स्कटल्यान्ड दुवै समूह चरणबाट बाहिरिएका छन्।
नेपाल कबड्डी लिगको दोस्रो सिजन आगामी जेठमा हुने
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ । लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनकेएल एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिए । दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी र १५ देशका १०० बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ । प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्ड लगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए ।

