साढे १२ हजार शिक्षक ३ महिनाभित्र पूर्ति गर्ने विभागको तयारी
काठमाडौं, चैत १६ । मुलुकमा नयाँ शैक्षिक सत्र सुरु हुन लागेको छ। वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्छ। विद्यार्थी विद्यालयका नयाँ कक्षामा जाने बेला आउँदा त्यहाँ पढाउनका लागि हजारौँ शिक्षकको भने अभाव छ। शिक्षा विभागका अनुसार मुलुकभरका विद्यालयमा १२ हजार ७३९ शिक्षकको अभाव छ। त्यसको पूर्ति गर्नका लागि शिक्षक सेवा आयोग लागे पनि ती पद कहिले पूर्ति हुने हो निश्चित छैन।
शिक्षा विभागका निर्देशक नरेन्द्रप्रसाद रेग्मीले नयाँ शिक्षक नियुक्तिका लागि सम्बन्धित निकाय शिक्षक सेवा आयोगलाई निर्देशन दिएको बताए। उनले भने, ‘देशभर १२ हजार शिक्षकको अभाव छ। यसको पूर्तिका लागि हामीले शिक्षक सेवा आयोगलाई निर्देशन दिइसकेका छौँ। त्यसका लागि आयोगले नियुक्ति गरिरहेको जानकारी दिएको छ।’ किन भएको हो त यति ठूलो संख्यामा शिक्षक अभाव? रेग्मीले आन्तरिक परीक्षामा असफल भएका र परीक्षामा भाग नलिएका अस्थायी शिक्षकलाई अवकाश दिने सरकारको निर्णयले १२ हजारभन्दा बढी शिक्षकको तत्काल आवश्यकता परेको बताए।
शिक्षक सेवा आयोगका सूचना अधिकारी रामराज खकुरेलले शिक्षक सेवा आयोगले लिएको आन्तरिक परीक्षामा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकका लागि करिब २३ हजार अस्थायी शिक्षकले फारम भरेको बताए। उनले भने, ‘फाराम भरेकालाई मात्र हामीले गणना गरेका हौँ।’ फाराम नभरेका अस्थायी शिक्षक पनि हुन सक्ने उनको आँकलन थियो।
यसबीच अस्थायी शिक्षकलाई स्थायी बनाउने पक्रियामा सहभागी भएका २३ हजार मध्येबाट करिब १४ हजार शिक्षक स्थायी बनेका थिए। जसमा प्राथमिक तहका लागि १० हजार ८००, निम्न माध्यमिक तहका लागि दुई हजार र माध्यमिक तहका लागि एक हजार ४०० गरी १४ हजार २०० को हाराहारीमा शिक्षक उत्तीर्ण भएका थिए।
कुन–कुन तहका लागि कति शिक्षक आवश्यक शिक्षक सेवा आयोगमा मा.वि., नि.मा.वि. र प्रा.वि. तहका लागि १२ हजार ७३९ शिक्षकको अभाव रहेको तथ्यांक छ। शिक्षक सेवा आयोगले अभाव शिक्षकको नयाँ भर्नाका लागि खुल्ला विज्ञापन सुरु गरिसकेको जनाएको छ। शिक्षक सेवा आयोगले खुल्ला विज्ञापनमा प्राथमिक तहका लागि मात्र नौँ हजार ९९६ शिक्षक माग गरेको थियो।
त्यस्तै, निम्न माध्यमिक तहका लागि एक हजार ६३५ र माध्यमिक तहका लागि एक हजार १०८ गरी जम्मा १२ हजार ७३९ शिक्षकको माग राखिएको थियो। जसअनुसार अहिले उनीहरूको उत्तरपुस्तिका जाँचको प्रक्रिया चलिरहेको खकुरेलले बताए। खुल्ला विज्ञापनबाट लिएको शिक्षकहरूको लिखित र मौखिक परीक्षाको नतिजा प्रकाशनका लागि शिक्षक सेवा आयोग सक्रिय रूपमा खटेको र नतिजा सकेसम्म छिटो निकाल्ने प्रक्रियामा रहेको आयोगले जनाएको छ।
शिक्षा ऐन २०२८ (नवौँ संशोधन) को दफा ११ (च) को उपदफा ९ अनुसार आन्तरिक परीक्षामा असफल भएका अस्थायी शिक्षकहरूलाई सुविधासहित अवकाश दिने प्रक्रिया आरम्भ गरेको छ। निर्देशक रेग्मीले शिक्षा ऐनको आठौँ र नवौँ संशोधनको व्यवस्थाअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सो प्रक्रिया थालेको र देशभर शिक्षकको अभाव भएको बताए।
यसरी हुनेछ शिक्षक व्यवस्थापन
शिक्षक व्यवस्थापनको जिम्मेवारी शिक्षा विभागको हो। शिक्षक व्यवस्थापनमा शिक्षक उत्पादन, शिक्षक तालिम, शिक्षण लाइसेन्स, नियुक्ति, सरुवा बढुवा, अवकाश र अवकाशपछिको सेवा सुविधालाई समेत जोडिएको हुन्छ। शिक्षक सेवा आयोगका सूचना अधिकारी खकुरेलले शिक्षा विभागले तहअनुसार शिक्षकको माग गरेपछि मात्र शिक्षक सेवा आयोगले शिक्षक पूर्तिको काम र व्यवस्थापन गर्ने गरेको बताए। शिक्षक व्यवस्थापनमा उल्लेख अवकाश र अवकाशपछिको सुविधा समय हेरेर मात्र दिने गरेको छ।
खकुरेलले भने, ‘अवकाश शिक्षकले कति वर्ष काम गरेको हो, कति पटक शिक्षक सेवाका जाँच दिएको हो त्यही हेरेर सुविधा दिने नियम छ।’ उनले आन्तरिक परीक्षामा हुने प्रतिस्पर्धाले गर्दा २० वर्ष काम गरेको दिर्घसेवी अस्थायी शिक्षक खाली हात अवकाश हुनुपर्ने बाध्यता रहेको समेत बताए। अहिले अवकाश भएका शिक्षकले भने अनिवार्य रूपमा सेवा सुविधा पाउने व्यवस्था रहेको खकुरेलले बताएका छन्।
उनले नयाँ शैक्षिक सत्र सुरु हुन लागेकै बेला १२ हजार शिक्षक अवकाश हुँदा र विधालयमा शिक्षकको अभाव हुँदा आपत्ति जनाए। उनी भन्छन्, ‘हामी १२ हजार अभाव शिक्षकको पूर्ति गर्न कटिबद्ध रूपमा लागेका छौँ,पक्रिया नसकिँदा सम्म शिक्षक सेवा आयोगका सम्पूर्ण कर्मचारी लागि नै रहनेछौँ।’ शैक्षिक सत्र सुरु हुँदा कुनै पनि विद्यालयमा शिक्षकका कारण कक्षाकोठा रित्तो नहोस् भन्ने कुरालाई अघि सार्दै अहिले शिक्षक सेवा आयोग धमाधम शिक्षक नियुक्ति प्रक्रियामा लागि परेको छ। यो समाचार थाहखबर डटकमबाट साभार
नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।
अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।
यस वर्षको एसइई चैत पहिलो सातादेखि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ । सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति
चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

