साना जलविद्युत्, विकास र विस्तारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

साना जलविद्युत्, विकास र विस्तारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ, चैत १५ । साना जलविद्युत् आयोजनाको विकास र विस्तारका विषयमा दक्षिण एसियाली मुलुकको ज्ञान सीप र अनुभव आदानप्रदान गर्ने लक्ष्यका साथ तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान र यहाँस्थित चिनियाँ दूतावासको आयोजनामा सुरु भएको सम्मेलनमा साना जलविद्युत् आयोजनाको विकासका अनुभव आदानप्रदान गर्ने लक्ष्य राखिएको छ ।

प्रविधिका क्षेत्रमा भएको विकास तथा विस्तारले जलविद्युत् उत्पादनमा समेत सहज वातावरण बनाएको भन्दै कार्यक्रमका सहभागीले एक अर्काको अनुभव र ज्ञानले प्रविधि हस्तान्तरणमा समेत सकारात्मक सहयोग प्रदान गर्ने धारणा राखे ।

नेपालमा हजारौँ साना तथा ठूला खोलानाला भएकाले त्यसबाट सहज रुपमा जलविद्युत् उत्पादन गर्न सकिने अवस्थालाई मध्यनजर गर्दै दक्षिण एसियाली मुलुकबीच साझा अवधारणा बनाएर अगाडि बढ्नसमेत सहभागीले जोड दिए ।

सम्मेलन उद्घाटन गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले स्थानीय जनताको सहभागितामा नै साना तथा मझौला जलविद्युत् आयोजना अगाडि बढेको भए पनि सामान्य समस्या आउँदासमेत मर्मत सम्भार हुन नसक्दा सेवाग्राही मारमा पर्ने गरेको बताउनुभयो ।

प्राविधिक जनशक्तिको उत्पादन, उनीहरुको दक्षता वृद्धि तथा नयाँ जनशक्तिको खोजीका लागि सम्मेलन फलदायी हुने र नेपालको ज्ञान तथा सीपलाई दक्षिण एसियाली क्षेत्रमा प्रचारप्रसार गर्न सकिने धारणा राख्नुभयो ।

आफूले २०६४ सालमा सुरु गरेको रुकुम उज्यालो कार्यक्रमको प्रेरणाबाटै आज उज्यालो नेपालको अभियान सुरु गरिएको र त्यसले सफलता हासिल गरेको मन्त्री शर्माको भनाइ थियो ।

उहाँले अँध्यारो युगको अन्त्य भएर उज्यालो युग सुरु भएको भन्दै वर्तमान सरकारले जलविद्युत् क्षेत्रको विकासका लागि हदैसम्मको प्रयास र प्रयत्न गरिएको बताउनुभयो ।

सरकारले आठ हजार मेगावाट जलाशययुक्त आयोजना सुरु गर्न लागेको भन्दै मन्त्री शर्माले ऊर्जा क्षेत्रमा रणनीतिक छलाङ मार्ने दिशामा पुगेको र आगामी तीन वर्षभित्र अद्भूत परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।

ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले सरकारले गत वर्ष सार्वजनिक गरेको ९९ बुँदे ऊर्जा सङ्कटकालसम्बन्धी कार्ययोजना र २७ बुँदे कार्यक्रममार्फत मुलुकको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण छलाङ मारेको बताउनुभयो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का निर्देशक अजयकुमारले सार्कको कोलम्बोमा सम्पन्न १६औँ शिखर सम्मेलनले ऊर्जा क्षेत्रको विकासको ठोस रणनीति अगाडि सारेको र सोही रणनीतिका आधारमा काम भइरहेको बताउनुभयो ।

उहाँले समान धारणा बनाएर ऊर्जा एवम् जलविद्युत् क्षेत्रको विकासमा लाग्नुपर्ने र त्यसमा सबै मुलुकको प्रविधि र ज्ञानलाई आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

यहाँस्थित चिनियाँ दूतावासका कार्यभार राजदूत पेङ वेईले चीनले विकास गरेको प्रविधि विस्तार र विकासले अन्य मुलुकलाई समेत सहज रुपमा अनुशरण गर्न सक्ने तथा विकासोन्मुख मुलुकलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत विभिन्न मुलुकका ३० प्रतिनिधिको सहभागिता छ । सम्मेलनले साना जलविद्युत् आयोजनाको विकास, प्रविधि हस्तान्तरण एवम् ज्ञानको आदानप्रदानको विषयमा समान धारणा बनाउने प्रतिष्ठानका सचिव बुद्धिरत्न खड्गीले जानकारी दिनुभयो ।

महसुल नबुझाउने सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु

गोदावरी । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ । प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम एक करोड ५३ लाख ४९ हजार ३६५ रहेको छ । वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि १८० ग्राहकले महसुल बुझाएका छन् । एक महिनाको अवधिमा ती ग्राहकबाट ७८ लाख ३७ हजार ४९१ विद्युत महसुलबापतको रकम असुली भएको उनले जानकारी दिए । धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ । ती सात कार्यालयले ६ लाख दुई हजार ६०७ विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रले जनाएको छ । लाइन काटिएका सरकारी कार्यालयबाट एक लाख ४८ हजार ६४० मात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिए । धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन् । वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको छ । रासस

काठमाडौंका यी स्थानमा आज बन्द रहनेछ छ विद्युत आपूर्ति

काठमाडौं । काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने यसअघि नै जानकारी गराइसकेको छ । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो । चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुनेछ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।  

काठमाडौंका यी स्थानमा हुनेछैन ७ देखि १३ गतेसम्म विद्युत् आपूर्ति (तालिकासहित)

काठमाडौं । काठमाडौंमा आइतबार (भोलि) देखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । माघ ७ गते महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, ८ गते चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्र, ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति हुने छैन । ११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुनेछ ।

६० अर्ब बराबरको आईपीओ बिक्री गर्दै विद्युत् प्राधिकरण

काठमाडौं । सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । सेयर बिक्रीका निम्ति अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ । अर्थको सहमतिपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । प्राधिकरण सञ्चालक समितिको गएको मंसिर २५ गते बसेको बैठकबाट आवश्यक निर्णय गरिएको छ । सञ्चालक समितिले अर्थ मन्त्रालयबाट अधिकृत पुँजी तीन खर्ब रुपैयाँ कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष स्वीकृतिका निम्ति अनुरोध गर्ने निर्णय गरेको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम खुद सम्पत्ति ९नेटवर्थ०को दुई गुणासम्म प्रतिसेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा हाललाई प्रस्तावित अधिकृत पुँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई सेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय भएको छ । सो निर्णय यही पुस १९ गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयमा पेस गरिसकेका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पनि सार्वजनिक संस्थालाई थप सबल बनाउने उद्देश्यका साथ सेयर जारी गर्न लागिएको बताएका छन् । सरकारले संस्थालाई आमनागरिकको बनाउने उद्देश्यका साथ यस्तो तयारी गरेको स्पष्ट पारेको छ । यसअघि नै सरकारले नेपाल दूरसञ्चार कम्पनीको समेत सेयर सर्वसाधरणमा बिक्री गरेको थियो ।

लोकप्रिय