१० वर्षमा ९ लाख हराएका विद्यार्थी कहाँ गए ?
काठमाडौं, चैत ३ । बितेको १० वर्षमा ९ लाखभन्दा बढी विद्यार्थी विद्यालयबाट हराएका छन् ।
वि.सं. २०६६ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिँदैछन् । २०६६ सालमा कक्षा १ मा १३ लाख ६२ हजार ९२० विद्यार्थी भर्ना भएका थिए । १० वर्षमा अर्थात् २०७५ सालमा कक्षा १० मा आइपुग्दा ती विद्यार्थीको सङ्ख्या चार लाख ५६ हजार ४७६ भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यसवर्ष चार लाख ५० हजार १८६ परीक्षार्थी एसईई परीक्षामा सम्मिलित हुँदैछन् । कक्षा १० मा पुगेका विद्यार्थीभन्दा एसईई परीक्षा दिने विद्यार्थी करिव छ हजार कम छन् । १० वर्षमा नौ लाख विद्यार्थी हराउनुको वास्तविक कारणबारे सरोकार निकायले खोजी गरेको छैन । बीचैमा पढाइ छाड्ने र कक्षा दोहोर्याउने कारण नै यतिका विद्यार्थी हराएको हुनसक्ने ‘तयारी भनाइ’ शिक्षा निकायका पदाधिकारीले दिने गरेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक दीपक शर्माले भने, ‘किन बीचैमा कक्षा छाड्नुपर्यो र किन दोहोर्याउनुपर्यो भन्नेबारे भित्र गएर अनुसन्धान गर्न सकेका छैनौँ तर भर्ना भएकामध्ये आधाभन्दा बढी विद्यार्थी घट्नुको कारण कक्षा छाड्ने र दोहो¥याउने नै हो ।’
वि।सं। २०६६ मा छ लाख ८० हजार ४८२ बालिका र छ लाख ८२ हजार ४३८ बालक विद्यालयमा भर्ना भएका थिए । केन्द्रको तथ्याङ्कअनुसार उनीहरू कक्षा १० मा आइपुग्दा दुई लाख ३६ हजार ३१३ छात्रा र दुई लाख २० हजार १६३ छात्र विद्यालयमा टिकेको देखिन्छ । सुरुमा भर्ना हुँदा छात्र बढी थिए भने कक्षा १० पूरा गर्दा छात्रा बढी टिकेको देखिन्छ । कक्षा १ मा २०६६ सालमा भर्ना भएकाहरू २०६७ सालमा कक्षा २ मा पुग्दा नौ लाख ९३ हजार ९१६ मात्र टिकेका थिए । सुरुमै झण्डै तीन लाख ७० हजार विद्यार्थी घटिसकेका थिए । केन्द्रका उपमहानिर्देशक शर्माले बीचैमा कक्षा छाड्नेहरुको बढी भीड प्राथमिक तहमै भएको बताए ।
कक्षा २ बाट कक्षा ३ मा उक्लिँदा आठ लाख ९५ हजार १५३ जना विद्यार्थी बाँकी थिए । ती २०६९ सालमा कक्षा ४ मा पुग्दा ८ लाख नौ हजार ५०४ जनामा सीमित थिए । केन्द्रका अनुसार तिनै विद्यार्थी २०७० सालमा कक्षा ५ मा पुग्दा सात लाख ३१ हजार ५७३, कक्षा ६ मा पुग्दा छ लाख ३८ हजार ५८०, कक्षा ७ मा पुग्दा पाँच लाख ९४ हजार ५३२, कक्षा ८ मा पुग्दा छ लाख आठ हजार ७७० र कक्षा ९ मा पुग्दा पाँच लाख ११ हजार ६९२ रहेका थिए ।
घट्दै गएका विद्यार्थीको तथ्याङ्क विश्लेषण गर्दै आएका केन्द्रका निर्देशक शंकर थापाले कतिपय विद्यार्थीले कक्षा ५ सम्म सरदर तीन पटकसम्म कक्षा दोहो¥याउने गरेको बताउँदै भने, “विद्यार्थीलाई कोड नम्बर दिएर त्यसका आधारमा ट्रयाकिङ् गर्ने कार्यको प्रयास भएको हो तर सफल हुन सकेन । त्यस्तो हुन सकेमा हराएका विद्यार्थी कहाँ पुगे भन्ने थाहा हुनसक्छ ।”
बाल विवाह, रोजगारी, गरिबी, शिक्षकको अनुपस्थिति, बालमैत्री कक्षाकोठाको अभाव, भौगोलिक विकटता लगायतका कारणले बीचैमा कक्षा छाड्ने गरिएको भनाइ शिक्षाविज्ञहरूको छ । शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले हराएका विद्यार्थीबारे कसैले पनि अध्ययन नै नगरेको बताए
“हरेक वर्ष विद्यार्थी हराए भन्छौँ, तर अनुमानका भरमा हराए भन्छौँ, कहाँ गए भन्ने खोजी नै हुनसकेको छैन” उहाँले थप्नुभयो, “अब विद्यार्थीले विद्यालय छाडेमा त्यसको जिम्मेवार सम्बन्धित प्रधानाध्यापकलाई बनाउनुपर्दछ । त्यसो भएमा उनले हराएका विद्यार्थी खोजी गर्नुपर्ने हुन्छ । सम्पूर्ण विद्यार्थीलाई टिकाउन सक्ने प्रधानाध्यापक वा विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था गरिनु पर्दछ ।”
नेपाल अभिभावक महासङ्घका संयोजक सुप्रभात भण्डारीले विद्यार्थीलाई टिकाउने प्रभावकारी योजना नै सरकारसँग नभएको आरोप लगाउँदै विद्यार्थीलाई सङ्केत नम्बर दिने र त्यसका आधारमा ट्रयकिङ् गर्ने पद्धतिको थालनी भएमा हराएका विद्यार्थीबारे थाहा पाइने सुझाव दिए ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक शर्माले हरेक वडाले विद्यार्थीको अभिलेख कायम गर्नुपर्ने बताउँदै भने, “कुनै विद्यार्थी विद्यालयमा गएनन् भने किन गएनन् भन्ने जानकारी प्रधानाध्यापकसँग माग्नु पर्दछ । अभिभावकसँग सोध्नुपर्दछ । विदेशमा यस्तो पद्धति छ र यसलाई हामीले पनि लागू गर्न सक्छौँ । त्यसो भयो भने हराएका विद्यार्थी कहाँ पुगे र किन हराए भन्ने थाहा पाउन सकिने छ ।”
नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।
अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।
यस वर्षको एसइई चैत पहिलो सातादेखि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ । सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति
चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

