काठमाडौँमा पम्पबाट पानी तान्दा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौँमा पम्पबाट पानी तान्दा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-६ साँखुमा पम्पबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।काभ्रे मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट बस्ने ३० वर्षीया मिनिषा कोइरालाको सख्वाँ डेरीमा करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 

विद्युत् सट भई अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

गृहमन्त्रीको जवाफ संसदमा सुन्ने विपक्षी दलहरुको निर्णय

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो। गृहमन्त्रीले जवाफ दिइसकेपछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने नेपाली कांग्रेसले जनाएको छ । विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए। सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो । कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् । गतिरोध अन्त्यको प्रयासमा शनिबार बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको संयुक्त बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो। तर संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लागेको छैन्। कार्यादेश टुंगो लगाउन एमाले नेता एवम् कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ। कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

संसद् बैठक अगाडि प्रतिपक्षी दलहरू छलफलमा

काठमाडौं । संसद् बैठक बस्नुअघि प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नेपाली कांग्रेससहित प्रतिपक्षी दलको बैठक बसिरहेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जानकारी दिए।  बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका प्रतिपक्षी दलका नेताहरू सहभागी छन्। सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । सोही क्रममा बिहीबार संसद् बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेलाधकेल भएपछि प्रतिपक्षी दलहरू एकठाउँमा उभिएका हुन् । उनीहरूले सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । 

सुनचाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि गत साताको बिहीबार जेठ ३ गते एक लाख ४० हजार रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ४० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँ हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।

प्रहरी जवानको हत्या आशंकामा पाँचजना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा मनमैजुमा घिमिरेको हत्या भएको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

लोकप्रिय