कारबाहीमा परेका प्रदेश सांसद भन्छन्– एमालेमा मेरो डिएनए मिलेन

कारबाहीमा परेका प्रदेश सांसद भन्छन्– एमालेमा मेरो डिएनए मिलेन

नेपालगञ्ज । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टीले जग्गा दानमा लिनु गलत भएको अभिव्यक्ति दिने लुम्बिनीका प्रदेश सांसद तथा पूर्वमन्त्री दुर्गाप्रसाद चौधरीलाई एमालेले पार्टी सदस्यबाट निलम्बन गरेको छ । सामाजिक सञ्जाललगायतमा पार्टीविरोधी अभिव्यक्ति दिएको तथा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको मानहानि गरेको भन्दै चौधरीलाई एमाले बाँकेले मंगलबार निलम्बन गरेको हो । 

एमाले बाँकेले विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको मूल्यमान्यताविपरीत सार्वजनिक रूपमा गालीगलौज गरेकाले चौधरीलाई निलम्बन गरेको जनाएको छ । पार्टीविरोधी गतिविधिका विषयमा उनलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारबाही गरिएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले बताए ।

‘उहाँले कात्तिक ५ देखि नै निरन्तर रूपमा पार्टी हितविपरीत नेतृत्वलाई खुइल्याउने र सामाजिक सञ्जालमा जथाभावी लेख्ने गर्दै आउनुभएको छ, त्यसैले कारबाही गरेका हौं,’ उनले भने, ‘सचेत गराउने उद्देश्यले स्पष्टीकरण सोधिएको तर चित्तबुझ्दो जवाफ नआएपछि निलम्बनको प्रक्रियामा गएका हौं ।’ उनले निलम्बनको जानकारी केन्द्र र प्रदेश कमिटीलाई पनि पठाइएको बताए ।

चौधरी बाँके–१ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य र लुम्बिनी प्रदेशका पूर्ववन तथा वातावरण मन्त्रीसमेत हुन् । उनी एमालेको लुम्बिनी प्रदेश कमिटीका सल्लाहकारसमेत हुन् । चौधरीले बुधबारसम्म निलम्बन पत्र नपाएको तर सामाजिक सञ्जालबाट थाहा पाएको बताए । ‘मलाई पार्टीबाट कारबाही गरिएको कुनै पत्र वा जानकारी आइसकेको छैन तर हिजोदेखि नै सामाजिक सञ्जालमा हल्ला गरेको देखिरहेको छु,’ उनले भने, ‘मैले कारबाही भोग्नुपर्ने कुनै गलत काम गरेको छैन ।’

बाँकेका चौधरी थारू समुदायमा भिजेका पूर्वमाओवादी नेता हुन् । नेकपा टुक्रिएपछि उनी एमालेमै बसेका थिए । पार्टीले निलम्बन गरेको सार्वजनिक भएपछि उनले बुधबार बाँकेको कोहलपुरमा पत्रकार सम्मेलन गर्दै एमालेसँग अहिले पनि आफ्नो ‘डीएनए’ नमिलेको प्रतिक्रिया दिए । ‘एमालेभित्र मेरो डीएनए मिल्न सकेको छैन,’ उनले भने, ‘तिनै डीएनए नमिलाउने एमालेभित्रका केही तत्त्वले स्वीकार गर्न नसक्दा कारबाहीको अफवाह फैलाएका छन् ।’ जिल्लामा आफूले पार्टी संगठन र जनताका लागि गरेका काम एमालेकै केही सांसद र नेतालाई नपचेको पनि उनले आरोप लगाएका छन् ।

पार्टीमा चित्त नबुझेको विषय सार्वजनिक रूपमा राख्दै आएका उनले कारबाही नै गरेको अवस्थामा पदको लोभ गरेर नबस्ने पनि स्पष्ट पारेका छन् । आफैंले पत्र प्राप्त नगर्दासम्म कुनै प्रक्रिया नथाल्ने पनि उनले बताए । ‘माथिल्लो तहबाट कुन किसिमको प्रतिक्रिया आउँछ, म त्यो पर्खिरहेको छु । म भिख मागेर पदको लोभमा पर्ने मान्छे होइन,’ उनले भने, ‘उपल्लो कमिटीको निर्णयपछि आवश्यकता अनुसार थप कदम मैले पनि चाल्नेछु ।’ एमाले प्रदेश सचिव आचार्यले भने जिल्लाको निर्णय र कारबाहीको प्रक्रियाको विषय प्रदेश कमिटीमा आएपछि मात्र त्यसमाथि छलफल हुने बताए ।

आज चुनाव प्रचारको अन्तिम दिन, रातिबाट मौन अवधि

काठमाडौं । आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल र स्वतन्त्र उम्मेदवारको चुनावी प्रचार अन्तिम चरणमा पुगेको छ । निर्वाचन प्रचारको समय बिहीबार मध्यराति १२ बजेसम्म मात्रै छ । उम्मेदवारहरू मतदाता रिझाउन व्यस्त छन् । उपनिर्वाचन हुने एक मात्र नगरपालिका भएकाले कीर्तिपुरमा सबैको ध्यान छ । गत निर्वाचनमा मेयरमा निर्वाचित कांग्रेसका राजकुमार नकर्मीको क्यान्सरका कारण निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको हो । घरदैलोका साथै सामाजिक सञ्जाल र फोनमार्फत पनि उम्मेदवारले मत मागिरहेका छन् । सहरी क्षेत्रका अधिकांश मतदाता दिउँसोको समय घरमा नहुने भएकाले उम्मेदवारले बिहान र बेलुका मात्र घरदैलो गरेका छन् । दिउँसोको समयमा भने चुनावी गतिविधि खासै देखिँदैन । चोकचोकमा प्रचार सामग्री पनि न्यून मात्रै देखिन्छ । चोक, पार्क र बिजुलीका पोलमा फाट्टफुट्ट चुनाव प्रचार सामग्री टाँगिएका छन् । आज अधिकांश स्थानमा दल र स्वतन्त्र उम्मेदवारहरुले चुनावी सभा गर्दैछन् । माओवादी केन्द्रले कीर्तिपुरमा गर्ने सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने सो पार्टीले जनाएको छ ।  

माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

काठमाडौं । मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । दिउँसो १२:०० बजे किर्तिपुर नगरपालिका कार्यालय नयाँबजार छेउमा रहेको पार्टी प्यालेसमा चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रम भएको माओवादीले जनाएको छ ।  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागितामा हुने बताइएको छ । उपचुनावमा माओवादी उमेदवारलाई समाजवादी मोर्चाका दलहरूले समर्थन गर्ने घोषणा यस अघि नै गरिसकेका छन् । चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गर्ने दलमा माओवादी केन्द्र पहिलो दल बनेको छ । माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई कीर्तिपुर नगरपालिका मेयरको रूपमा सार्वजनिक गरिसकेको छ भने उनको मनोनयन भइसकेको छ ।

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थिति समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।

माओवादी केन्द्र लुम्बिनीको बैठकः मंसिर २९ सम्म सबै पालिकामा सम्मेलन

देउखुरी ।  नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले मंसिर २९ गतेभित्र पालिका स्तरका अधिवेशन गरिसक्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालको अध्यक्षता एवं केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल (बलदेव) को प्रमुख आतिथ्यतामा बिहीबार देउखुरीमा बसेको प्रदेश कार्यालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचन तालिका निर्माण गरेको हो । पार्टीको निर्वाचन तालिका अनुसार मंसिर ७ गतेसम्म संगठित सदस्य नवीकरण, लेवी र अभिलेखीकरण गरिसक्ने निर्णय गरेको छ। त्यसैगरी मंसिर ८ देखि १५ गतेसम्म वडा अधिवेशन गरिसक्ने भएको छ । मंसिर १६ देखि २९ गतेसम्म गाउँ, नगर तथा उपमहानगर अधिवेशन गरिसक्ने निर्णय भएको प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने (सागर) ले जानकारी दिनुभयो । त्यसैगरी पार्टी सदस्यता व्यापकरुपमा वितरण गर्ने निर्णय भएको दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले जानकारी दिनुभयो । घरदैलो तथा जनभेटघाट कार्यक्रम गर्ने, छुटेका तथा पार्टी सम्पर्कमा नरहेकाहरुको खोजी गर्ने निर्णय भएको छ । बैठकमा जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ गर्नुभएको थियो । स्थायी समिति सदस्यहरु कुलप्रसाद केसी, जोखबहादुर महरा, पुर्णा सुवेदी, महेश्वर गहतराजलगायतको विशेष उपस्थिति थियो । बैठकको सहजीकरण प्रदेश सचिव कृष्णा अधिकारीले गर्नुभएको थियो ।

लोकप्रिय