तत्कालीन  ओली सरकारको गम्भीर कमजोरीले जेन–जी आन्दोलनमा जनधनको क्षति: मानव अधिकार आयाेग

तत्कालीन  ओली सरकारको गम्भीर कमजोरीले जेन–जी आन्दोलनमा जनधनको क्षति: मानव अधिकार आयाेग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी युवाको प्रदर्शनका क्रममा गत २३ र २४ भदौमा भएको घटनाबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन केपी शर्मा ओली सरकारको गम्भीर कमजोरी औँल्याएको छ । आयोगको यो प्रतिवेदनमा सरकारको उदासीनताले जनधनको ठूलो क्षति भएको दाबी गरेकाे छ । 

आयोगले संक्षिप्त तथ्यपत्रमा भनेको छ, “घटना हुनु अघि सम्भावित कारण र परिणामको पूर्वानुमान गर्न नसक्नु सरकारको गम्भीर कमजोरी हो ।” जेन–जी आन्दोलनको सन्दर्भमा ओली सरकारमाथि औपचारिक टिप्पणी गर्ने आयोगको यो पहिलो प्रतिवेदन हो ।

आयोगले घटनापछि सुरक्षाकर्मीको मनोबल कमजोर भएको र शान्ति–सुरक्षामा थप चुनौती देखिएको निष्कर्ष निकालेको छ । प्रहरीका कतिपय भवन जलेका र कार्यालय पुनर्निर्माण नहुँदा सुरक्षा निकायको नियमित काममा बाधा पुगेको आयोगको भनाइ छ ।

देशभरका कारागार र बालसुधार गृहबाट करिब सात हजार कैदीबन्दी फरार रहनु पनि आयोगले समाजका लागि ठूलो चुनौती भएको जनाएको छ । उनीहरूलाई कारागारमा फर्काउन र कारागार व्यवस्थापन गर्न कठिनाइ रहेको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ ।

आयोगका अनुसार प्रदर्शनको पहिलो दिनको सुरुवात शान्तिपूर्ण भए पनि दिउँसोपछि अवस्था हिंसात्मक बन्यो । सुरक्षाकर्मीको गोली लागेर केही प्रदर्शनकारीको मृत्यु भएपछि दोस्रो दिन अन्धाधुन्ध आगजनी र तोडफोड भएको आयोगको निष्कर्ष छ ।

आगजनी र तोडफोडका क्रममा सरकारी भवन, पार्टी कार्यालय, घर, व्यावसायिक संरचना, शैक्षिक संस्था, सञ्चार गृह र प्रहरी कार्यालयमा ठूलो क्षति पुगेको आयोगले जनाएको छ । केही व्यक्तिको जलेर मृत्यु भएको तथ्य पनि प्रतिवेदनमा समावेश छ ।

आयोगले हिंसात्मक घटनाका कारण पहिचान गरी सम्बोधन गर्न, सुरक्षाकर्मीको मनोबल उकास्न तथा सुधारका प्रयासलाई सफल बनाउन सरकारलाई निर्देशन दिएको छ । साथै, सरकारका सुधार प्रयासमा सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ ।

श्रम स्वीकृति लिनेको संख्या १५ प्रतिशतले बढ्याे

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उल्लेखनीय रूपमा बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष श्रम स्वीकृति लिने संख्या १५ प्रतिशतले वृद्धि भएको हो । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको चार महिनामा दुई लाख ८३ हजार ६१० जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका छन् । गत वर्ष सोही अवधिमा दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष मात्र श्रम स्वीकृति लिनेको संख्या गत आवको तुलनामा ४२ हजार २७ ले धेरै भएको विभागले जनाएको छ । चार महिनामध्ये सबैभन्दा धेरै कात्तिकमा श्रम स्वीकृति लिइएको छ । यो महिनामा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको कात्तिकमा रहेको ७० हजार ९९० भन्दा उच्च हो । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार श्रम गन्तव्य राष्ट्रबाट माग बढ्न थालेसँगै श्रम स्वीकृति लिनेहरूको संख्या वृद्धि भएको हो । साथै करार रद्द भई स्वदेश फर्किएका श्रमिकले पनि देशमा अवसर नदेखिएपछि नयाँ श्रम स्वीकृति लिएर पुनः विदेशिने प्रवृत्ति बढेको हुँदा समग्र संख्या उकालो लागेको बताइएको छ । वैश्विक आर्थिक मन्दीका कारण श्रम बजार सङ्कुचन भए पनि विदेश जानेको संख्या भने बढिरहेको देखिन्छ । विभागका अनुसार चालु आवको साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२ र असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका थिए । कात्तिक महिनामा श्रम स्वीकृति लिने ७३ हजार ९४ जनामध्ये सबैभन्दा धेरै १५ हजार ७६९ जना साउदी अरब जाने श्रमिक छन् । सामान्यतया पहिलो श्रम गन्तव्य रहेको संयुक्त अरब इमिरेट्स (युएई) कात्तिकमा तेस्रो स्थानमा झरेको हो । नेपालमा भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि युएईले श्रमिक भिसामा कडाइ गरेसँगै यो देशको माग घटेको विभागले जनाएको छ । कात्तिकमा युएईका लागि १३ हजार ३९९, कतारका लागि १३ हजार ७३२ र मलेसियाका लागि ९ हजार ८७२ जनाले श्रम स्वीकृति लिएका छन् । नेपालका श्रमिकले पछिल्ला महिनामा १०६ देशका लागि श्रम स्वीकृति लिएका विभागको तथ्याङ्कमा उल्लेख छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीका अनुसार युएईले कडाइ बढाएपछि कात्तिकमा मागमा कमी देखिएको र मंसिरमा यसको प्रभाव झनै स्पष्ट रूपमा देखिने अनुमान गरिएको छ । पछिल्ला महिनामा युएईबाट नयाँ माग आउन छोडेको पनि उनको भनाइ छ ।  

भीम रावलसँग एकताको कुरा सकारात्मक बनेको छ: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता भीम रावलसँग पनि पार्टी एकताबारे सकारात्मक छलफल भइरहेको बताउनु भएकाे छ ।  माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण तथा अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आजै बिहान रावलसँग महत्त्वपूर्ण संवाद भएको जानकारी दिनुभएकाे हाे । ‘भीम रावल, झलनाथजी र घनश्यामजीसँग पनि निरन्तर संवाद भइरहेको छ । यो कम्युनिस्ट आन्दोलन मुख्यधारमा पुनः एकीकृत हुँदै गएको प्रमाण हो,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भन्नुभयाे ।  बैठकमा सहभागी एक नेताका अनुसार, रावलसँगको छलफल सकारात्मक रहेको र भोलि हुने एकता घोषणा सभामा उनी सहभागी हुन सक्ने सम्भावना प्रचण्डले बताउनु भएकाे छ ।  माओवादी केन्द्र, समाजवादी पार्टीसहित विभिन्न नौ घटकबीच भोलि एकता घोषणा हुने तयारी गरिएको छ।

दसैँ लगत्तै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाई

काठमाडौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दसैंपछि (असोज १५ देखि २१ गतेसम्म) मध्य र पूर्वी नेपालमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। तीनवटा मौसम मोडल (ECMWF, ICON, र GFS) ले कोशी, बागमती, गण्डकी, र मधेस प्रदेशमा भारी वर्षा हुने प्रक्षेपण गरेका छन्। विशेषगरी विराटनगर, काठमाडौं, र पोखरादेखि झापासम्म ठूलो वर्षाको सम्भावना छ। हाल गण्डकी र लुम्बिनीका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मंगलबार बिहान मनाङको तालगाउँमा ५.६ मिलिमिटर र बाँकेको भगवानपुरमा ६ मिलिमिटर वर्षा रेकर्ड भएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र पहाडी भेगमा भारी वर्षाको सम्भावना छ। महानवमी (असोज १५) र टीका (असोज १६) मा पनि कोशी, बागमती, गण्डकी, र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। मौसमविद् विनोद पोखरेलले गत वर्षको असोज १०–१३ को जस्तै भीषण वर्षाको सम्भावना रहेको बताए। उनले दसैंपछि यात्रा गर्दा र बाली भित्र्याउँदा विशेष सतर्कता अपनाउन सुझाएका छन्। महाशाखाका अनुसार, यो वर्ष औसतभन्दा बढी वर्षाको सम्भावना ६५% रहे पनि हालसम्म सरदरभन्दा कम वर्षा भएको छ। नेपालमा मनसुन याममा औसत १,४७२ मिलिमिटर वर्षा हुने अनुमान छ।

कंगोको चर्चमा विद्रोही आक्रमण  : ३८ जनाको मृत्यु

एजेन्सी । कंगोको इटुरी प्रान्तस्थित कोमान्डा नगरमा भएको क्रूर विद्रोही आक्रमणमा कम्तीमा ३८ जनाको ज्यान गएको छ। आइतबार भएको यो भयावह घटनाले स्थानीय समुदायमा त्रास र शोकको वातावरण सिर्जना गरेको छ। चर्चमा प्रार्थनारत व्यक्तिमाथि निशाना स्थानीयवासीका अनुसार, आइतबार बिहान कोमान्डा नगरको एक चर्चमा प्रार्थना गरिरहेका मानिसहरूलाई लक्षित गरी सशस्त्र समूहले अन्धाधुन्ध आक्रमण गरेको थियो। मृतकमध्ये धेरैजसो युवा धार्मिक सेवामा सहभागी थिए। कम्तीमा ६ जना गम्भीर घाइते भएका छन्, जसमध्ये केहीको अवस्था चिन्ताजनक छ। सोमबार बिहानसम्म घटनास्थलमा ३८ जनाको शव फेला परेको छ। स्थानीय अधिकारीहरूले केही व्यक्ति अझै सम्पर्कविहीन रहेको र मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन्। सुरक्षा बल परिचालन, तर चुनौती कायम घटनापछि सुरक्षा बलहरू तत्काल घटनास्थलमा परिचालन गरिएका छन्। तर, पूर्वी कंगोमा सक्रिय चरमपन्थी समूहहरूले पुनः हिंसात्मक गतिविधि तीव्र बनाएको यो घटनाले देखाएको छ। विगत केही वर्षदेखि कंगो र छिमेकी मुलुकहरूले संयुक्त रूपमा सुरक्षा अभियान सञ्चालन गर्दै आए पनि यस्ता आक्रमणले क्षेत्रीय सुरक्षा चुनौतीलाई थप जटिल बनाएको छ।   यो आक्रमणको जिम्मेवारी कुनै समूहले औपचारिक रूपमा लिएको छैन। तर, स्थानीय प्रशासनले लामो समयदेखि हिंसात्मक गतिविधिमा संलग्न ‘एलिड डेमोक्रेटिक फोर्स’ माथि आशंका गरेको छ। यो समूहले विगतमा पनि यस्ता आक्रमणहरू गरेको इतिहास छ। स्थानीयमा त्रास, मानव अधिकार समूहको आग्रह यो घटनाले कोमान्डा नगरका बासिन्दाहरूमा ठूलो त्रास फैलिएको छ। मानव अधिकार समूहहरूले कंगो सरकारलाई तत्काल राहत, उद्धार, र प्रभावकारी सुरक्षा व्यवस्था गर्न जोडदार माग गरेका छन्। घाइतेहरूको उपचार र सम्पर्कविहीन व्यक्तिहरूको खोजीमा तीव्रता दिन पनि उनीहरूले आग्रह गरेका छन्। क्षेत्रीय सङ्कटको निरन्तरता पूर्वी कंगोमा लामो समयदेखि विद्रोही समूहहरूको हिंसाले स्थानीय जनजीवन प्रभावित बन्दै आएको छ। यो पछिल्लो आक्रमणले सरकार र अन्तर्राष्ट्रिय समुदायमाथि शान्ति र स्थायित्व कायम गर्न थप दबाब सिर्जना गरेको छ।

लोकप्रिय