जापानी विदेशमन्त्री काठमाडौंमा

जापानी विदेशमन्त्री काठमाडौंमा

काठमाडौं ।जापानकी विदेशमन्त्री कामिकावा योको काठमाडौं आइपुगेकी छन्। एक दिने नेपाल भ्रमणमा आएकी उनी मध्यान्नमा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गरेकी हुन्।

उनलाई विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका अधिकारीहरूले स्वागत गरे। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आएकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन्। विदेशमन्त्री कामिकावाले आइतबार उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछिन्। उनी आजै  फर्कने मन्त्रालयले जनाएको छ।


जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच छलफल

काठमाडौँ । संसद्मा जारी गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबिच बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सत्तारुढ दलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने सहभागी छन् । त्यस्तै, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायत सहभागी छन् । प्रधानमन्त्रीले शनिबार बिहान पनि कांग्रेस नेताहरूसँग छलफल गरेका थिए । सो बैठक सकारात्मक रहेको कांग्रेस नेताहरुको प्रतिक्रिया थियो । त्यस्तै, सभामुख देवराज घिमिरेले पनि प्रधानमन्त्री दाहालसँग छलफल गरेका थिए । कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

कांग्रेस संसदलाई मुठभेडमा लैजान चाहेको एमालेको आरोप

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली काँग्रेसले संसदलाई मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन्।  शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बर्तौलाले संसद अवरोध गर्ने क्रममा बिहीबार कांग्रेसले एमाले अध्यक्षमाथि गरेको दुर्व्यवहार प्रयासले मुठभेडतिर लैजान खोजेको पुष्टि हुने बताए।  'संसदमा हाम्रा श्रद्धेय अध्यक्षमाथि अशिष्ट व्यवहार प्रर्दशन गरे, उदण्ड व्यवहार प्रर्दशन गरे। भिडभाड, दादागिरी र उदण्डताका साथ मुठभेडमा लैजान नेपाली काँग्रेस चाहन्छ भन्ने कुरा त्यो अस्तीको घटनाबाट देखिन्छ,’ बर्तौलाले भने।  कांग्रेसले संसदको वेल घेर्‍यो र नाराबाजी गरेकोमा एमालेलाई कुनै आपत्ति नहुने पनि उनले बताए।  'सरकारको आसनमा आएर उपसभामुखको आसनमा आएर जुन प्रकारको अभद्र, अशिष्ट, अमर्यादित र उदण्ड प्रस्तुति उहाँहरुबाट भयो त्यो संसदीय इतिहासमा एउटा कालो दिनको रुपमा रहन्छ,' उनले भने। प्रमुख सचेतक बर्तौलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसदले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने पनि बताए। 

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफल

काठमाडौं । कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका  सभामुख देवराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।  सो छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ । अहिले गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेको उनको सचिवालयको भनाइ छ ।  आजको बैठक संसद्को अवरोध हटाउनका लागि निर्णयक बैठक हुनसक्ने बताइएको छ । प्रधानमन्त्रीले पनि भोलिसम्ममा संसद्को अवरोध हटाउन सहमति जुट्ने बताइरहेका छन् ।  शनिबार बिहान सदनको गतिरोध हटाउन कांग्रेस नेताहरूसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए। प्रचण्ड समिति बनाउन सकारात्मक रहेको कांग्रेसको दाबी छ ।

कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने जिम्मेवारी छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताएका छन्। शनिबार नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको उल्लेख गरे। राष्ट्रिय राजनीतिमा आफूहरूलाई बेवास्ता गरिएको गुनासो पनि उनले गरे। उनले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको बताए। उनले राजनीति स्थिर भएर अघि बढ्नुपर्नेमा जोड दिए । देशमा स्थायित्व र वामपन्थी कम्युनिस्टबीचको एकता र समझदारी नयाँ उचाइमा पुग्नुपर्ने उनले बताए । “हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ। राष्ट्रिय राजनीतिमा उहाँभन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामी त खालि तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौँ । अवलोकन गरिरहेका छौँ,” उनले भने, “नेपालको राजनीतिले कुन कोर्ष लिएर जाने हो? यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस् । हामी चाहन्छौँ, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरूको, कम्युनिस्टहरूबीचको एकता र समझदारी नयाँ उचाइमा पुगोस् ।” अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरूको रहेको बताए । 

लोकप्रिय