तीन सहसचिव सचिवमा बढुवा

तीन सहसचिव सचिवमा बढुवा

काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवहरूलाई सचिवमा बढुवा गरेको छ।आयोगको आइतबार बसेको बैठकले एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरूलाई सचिवमा बढुवा गरेको हो।

कामु नायव महान्यायाधिवक्ता खेमराज ज्ञवाली महान्यायाधिवक्ता कार्यालयको सचिव सरहको पद नायव महान्यायाधिवक्ता बढुवा भएका हुन् । उनी सरकारी वकिल समूहका हुन् ।

आयोगले सर्वोच्च अदालतका सह–रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषद्को सचिवमा बढुवा गरेको छ। अनि न्यायपरिषदका कामु सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा गरेको हो।

संस्कृत विश्वविद्यालयको जग्गा खोजबिनमा सहयोग गर्न पालिकालाई शिक्षा मन्त्रालयको पत्र

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिलाई सहयोग गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ। मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिलाई समितिले कार्यादेश अनुरूप तत्काल काम सुरु गर्ने भएकाले समितिलाई आवश्यक समन्वय सहयोग तथा सहजीकरण गर्न सचिव स्तरीय निर्णय गर्दै परिपत्र गरेको हो। असार २० गतेको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गर्न पौडेलेको नेतृत्वको ५ सदस्यीय समिति गठन गरेको थियो । समितिले अध्ययन गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ। समितिको सदस्यमा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिले तोकेको प्राध्यापक, पूर्व सहसचिव रोहितकुमार भट्टराई, पूर्व सहसचिव कपिल डंगोल र शिक्षा विकास तथा समन्वय एकाइ दाङका एकाइ प्रमुख देवमणी चौधरी सदस्य सचिव रहेका छन् ।

बिमस्टेक कार्यक्रममा भाग लिन परराष्ट्र सचिव भारत जाँदै

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिवालय सेवा लम्साल आज भारत जाने भएकी छन्। भोलिदेखि सुरु हुने दोस्रो बिमस्टेक विदेशमन्त्रीहरुको निर्धारित रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यता जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। कार्यक्रममा उपप्रधानमन्त्री समेत रहेका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ जाने कार्यक्रम तय भएको थियो। तर राजनीतिक परिस्थितिका कारण उनले आफैँ नगएर सचिवलाई पठाएका हुन्।  उनको सचिवालयका अनुसार असार २८ गते प्रधानमन्त्रीले विश्वासका मत लिने कार्यक्रम रहेकाले मन्त्री श्रेष्ठ भारत नगएका हुन्। कार्यक्रममा बिमस्टेकभित्र पारस्परिक हितका विषयमा सहमति भएका क्षेत्रमा क्षेत्रीय सहयोग र साझेदारीलाई थप सुदृढ बनाउन छलफल हुने बताइएको छ। यसअघि भारतमै बिमस्टेक सम्मेलन भएको थियो । असार २८ गते सकिने सो कार्यक्रमपछि बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव लम्साल असार २९ गते फर्किने कार्यक्रम रहेको छ । 

निमित्त मुख्य सचिवको जिम्मेवारी गड्तौलालाई

काठमाडौँ। सरकारले निलम्बित मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सारेर निमित्त मुख्य सचिवको जिम्मेवारी सचिव लीलादेवी गड्तौलालाई दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेसँगै स्वतः निलम्बन भएका मुख्य सचिव डा। अर्याललार्य राष्ट्रिय योजना आयोगमा विशेष पद (जगेडा) सिर्जना गरेर सारेको हो । अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् ।

चिकित्सा शिक्षा आयोगको निर्देशकमा चार जना सिफारिस

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक पद नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले चार जनाको नाम सिफारिस गरेको छ। समितिले सर्ट लिस्टमा परेका १२ जना मध्येबाट प्रा.डा. गुरुप्रसाद खनाल, प्रा।डा। सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य र डा. सरला श्रेष्ठलाई सिफारिस गरेको हो । प्रारम्भिक छनोटमा परेका १२ जनामध्येबाट खनाल, मरहट्टा, आचार्य र श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त हुनेछन् । चिकित्सा शिक्षा आयोगमा निर्देशकका ४ पद रिक्त छन् । चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८० कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयाँलको संयोजकत्वमा ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए। समितिले ०८० मंसिरमा माग गरेको विज्ञापनमा २० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १२ जनाको नाम सर्ट लिस्टमा परेको थियो।

लोकप्रिय