नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै

नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै

काठमाडौं । नेपालमा नसर्ने रोगको प्रकोप नियन्त्रण हुन सकेको छैन । मिर्गौला, क्यान्सर, मुटुरोग र मस्तिष्कघातजस्ता रोगको बोझ बढ्दो छ ।

नेपाल एनसिडी एलायन्सले आयोजना गरेको ‘नसर्ने रोगसम्बन्धी मिडिया पैरवी कार्यशाला’मा वक्ताहरूले नसर्ने रोगको वृद्धिदरप्रति चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि नीति कार्यान्वयन र जनचेतना अभिवृद्धिमा जोड दिए ।

एलायन्सका सहअध्यक्ष शान्तलाल मुल्मीले विश्वव्यापी रूपमा नसर्ने रोगको प्रकोप बढिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न प्रभावकारी नीति कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे । यस्तै, नेपाल डाइबेटिज सोसाइटीका अध्यक्ष शिव श्रेष्ठले मधुमेह, मिर्गौला र क्यान्सरजस्ता रोगको प्रकोप नेपालमा बढ्दै गएको बताए । 

रोल्पाको जेलवाङमा निःशुल्क संयुक्त स्वास्थ्य शिविर, ३३२ जना लाभान्वित

खुमबहादुर सुनार रोल्पा । “स्वास्थ्य नै ठूलो धन हो” भन्ने नारासहित रोल्पाको दुर्गम क्षेत्र जेलवाङमा एकदिने निःशुल्क संयुक्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। विकट भेगका गरिब, असहाय तथा स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई लक्षित गर्दै शनिबार शिविर सञ्चालन गरिएको हो। नेपाली सेनाको सूर्यदल गण, लिबाङ ब्यारेकको अगुवाइमा स्थानीय तह तथा विभिन्न स्वास्थ्य संस्थाहरूको समन्वयमा शिविर आयोजना गरिएको आयोजकले जनाएको छ। दुर्गम भौगोलिक अवस्था, विशेषज्ञ चिकित्सकको अभाव तथा सामान्य उपचारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यतालाई ध्यानमा राख्दै शिविर सञ्चालन गरिएको हो। सुनछहरी गाउँपालिका–७, जेलवाङमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सेवाग्राहीको भीड व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको थियो। शिविरमा नेपाली सेनाको सूर्यदल गण, नं. १९ फि.ए. गुल्म दाङ, सुनछहरी गाउँपालिका, वडा नं. ७ कार्यालय, रोल्पा अस्पताल रेउघा, स्वास्थ्य कार्यालय रोल्पा, स्वास्थ्य चौकी जेलवाङ, नेपाल रेडक्रस सोसाइटी रोल्पा, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र लिबाङ तथा अनमोल डेण्टल क्लिनिक लिबाङको सहभागिता रहेको थियो। विशेषज्ञ चिकित्सकद्वारा आँखा, दाँत, स्त्रीरोग तथा सामान्य स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो। साथै मधुमेह परीक्षण, पाठेघर जाँच लगायत अन्य स्वास्थ्य सेवाहरू पनि उपलब्ध गराइएको थियो। परीक्षणपछि आवश्यक औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ। सूर्यदल गणका प्रमुख सेनानी ईश्वर थापाले नेपाली सेना सधैँ जनताको सुख–दुःखमा साथमा रहने उल्लेख गर्दै दुर्गम क्षेत्रमा घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउनु नै शिविरको उद्देश्य रहेको बताए। स्वास्थ्य सचेतना अभिवृद्धिमा यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो। शिविरबाट कुल ३३२ जनाले सेवा लिएका छन्। दन्त सेवातर्फ ६१ जनाको परीक्षण गरिएकोमा २२ जनाको दाँत निकालिएको छ। आँखासम्बन्धी सेवामा २४४ जनाले उपचार पाएका छन् भने १६ जनामा मोतिविन्दु परीक्षण गरिएको छ। सामान्य स्वास्थ्य परीक्षणअन्तर्गत २३२ जनाले सेवा लिएका छन्। पाठेघर जाँच ५५ जना र सुगर परीक्षण ४० जनामा गरिएको छ। शिविरमा पुरुष ११५, महिला १६८ र बालबालिका ३१ जना सहभागी भएका थिए, जसले महिला तथा बालबालिकाको उल्लेखनीय सहभागिता देखाएको छ। यसैबीच, जनचेतनामूलक तालिमअन्तर्गत फायर फाइटिङ, बाढी–पहिरो तथा खोज तथा उद्धारसम्बन्धी तालिम पनि प्रदान गरिएको थियो। उक्त तालिममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीय गरी करिब ७५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। करिब ३५० जनाको समग्र सहभागिता रहेको आयोजकले जनाएको छ। बहुपक्षीय सहकार्यमा सम्पन्न शिविरले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ। यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता स्थानीय सरोकारवालाहरूले औँल्याएका छन्।

उदयपुरमा झन्डै तीन करोडमा निर्माण भएको कोभिड अस्पताल अलपत्र

उदयपुर । कोभिड–१९ महामारीका कठिन समयमा उदयपुरका सयौँ नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको चौदण्डीगढी नगरपालिका–६ साताधारेस्थित कोभिड अस्पताल अहिले प्रयोगविहीन बन्दै गएको छ । पर्याप्त पूर्वाधार, उपकरण र संरचना हुँदाहुँदै पनि सञ्चालन अभावका कारण अस्पताल लथालिंग अवस्थामा पुगेको हो ।  स्विजरल्याण्ड सरकारको एक करोड ५० लाख रुपैयाँ र उदयपुरका आठ स्थानीय तहको एक करोड २० लाख रुपैयाँ गरी कुल २ करोड ७० लाख लागतमा निर्माण गरिएको अस्पतालमा करिब १ हजार १ सय संक्रमितको सफल उपचार गरिएको थियो ।  निर्माणपछि २०७७ पुस ६ गते तत्कालीन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपालका लागि स्विजरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरले संयुक्त रूपमा उद्घाटन गरेर सञ्चालनमा ल्याएका थिए।अस्पतालमा एक पोर्टेबल भेन्टिलेटर, ४० बेड तथा साना–ठूला गरी ३० अक्सिजन सिलिन्डरलगायत आवश्यक स्वास्थ्य सामग्री उपलब्ध छन् । तर महामारी नियन्त्रणमा आएपछि यसको वैकल्पिक प्रयोगबारे स्पष्ट योजना नबन्दा अस्पताल प्रयोगविहीन बन्दै गएको हो । हाल अस्पताल परिसर झाडीले ढाकिन थालेको छ भने संरचना संरक्षण अभावमा क्रमशः जीर्ण बन्दै जाने जोखिम बढेको छ । हाल चौदण्डीगढी नगरपालिकाले वर्षमा एक पटक सञ्चालन गर्ने आँखा शिविर बाहेक यहाँ नियमित स्वास्थ्य सेवा सञ्चालन हुन सकेको छैन । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय अभावका कारण अस्पताललाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने पहल नहुनु दुःखद भएको स्थानीयवासीको भनाइ छ । मदन भण्डारी लोकमार्गसँग जोडिएको यस अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न सके दैनिकजसो हुने सडक दुर्घटनाका घाइतेलाई तत्काल उपचार सेवा उपलब्ध गराउन सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् । तर आवश्यक नीति, बजेट र निर्णय अभावले यस्तो सम्भावना व्यवहारमा आउन सकेको छैन । महामारीका बेला वरदान सावित भएको अस्पताल आज प्रयोगविहीन बन्नु सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोगमाथि गम्भीर प्रश्न उठेको स्थानीय अगुवा अन्जनी अधिकारी बताउँछन् । उनले भने, ‘समयमै आवश्यक निर्णय गरी अस्पताललाई नियमित स्वास्थ्य सेवासँग जोड्न नसकिए करोडौँ रुपैयाँको लगानी पूर्ण रूपमा नष्ट हुने खतरा बढ्दै गएको छ ।’ उनले स्थानीयवासीले स्पष्ट जिम्मेवारी निर्धारण गर्दै अस्पताललाई ट्रमा सेन्टर वा बहुउद्देश्यीय स्वास्थ्य केन्द्रका रूपमा तत्काल सञ्चालनमा ल्याउन माग गरेका पनि गरेका छन् ।   चौदण्डीगढी नगरपालिकाकी उपमेयर मणीकादेवी दुलालले अहिले पालिकाकाले त्यही अस्पतालबाट आँखा शिविर लगायत सेवाहरु सञ्चालन गर्दै आइरहेको र अस्पतालमा भएका उपकरणहरुलाई प्रयोग गरेर दैनिक रुपमा सञ्चालनको तयारी गरिरहेको जानकारी दिइन् । उनले भनिन्, ‘हामीले समय सयमा नगरप्रहरी परिचालन गरेर झाण्डीहरु पनि फडानी गरिरहेका छौँ । अस्पतालको जग्गामा विवाद छ । टुंग्याउनु पर्ने छ । त्यो नगरपालिकाको स्थायी संचरना हो । त्यसलाई हामीले जीर्ण बन्न दिने छैनौँ ।’  

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पनि शनिबार र आइतबार बिदा दिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ । सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेसँगै शिक्षण अस्पतालले पनि शनिबार र आइतबार बिदा दिने सूचना जारी गरेको हो । त्रिवि कार्यकारी परिषद्ले २३ चैतमा बिदा दिने निर्णय गरेपछि अस्पताल प्रशासनले यो निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ । अस्पतालले जारी गरेको सूचनाअनुसार शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म रहनेछ । यद्यपि बिरामीको सेवालाई ध्यान दिई ओपीडी (बहिरङ) सेवा र शल्यक्रिया सेवा भने शुक्रबार पूरै दिन र अन्य दिन पनि नियमित सञ्चालन हुने अस्पतालले जनाएको छ ।

‘स्वस्थ मुख, सुखी जीवन’ नारासहित आज विश्व मुख स्वास्थ्य दिवस मनाइँदै

काठमाडौँ — ‘स्वस्थ मुख, सुखी जीवन’ नारासहित आज विश्व मुख स्वास्थ्य दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। यो दिवस हरेक वर्ष मार्च २० तारिखमा मनाइन्छ, जसको मुख्य उद्देश्य मुख स्वास्थ्यको महत्त्वबारे जनचेतना फैलाउनु हो। विश्व स्वास्थ्य सङ्गठन तथा दन्त विशेषज्ञहरूले नियमित दाँत सफा गर्ने, समय-समयमा दाँत जाँच गराउने, अत्यधिक चिनी तथा प्रशोधित खानाबाट बच्ने सल्लाह दिएका छन्। उनीहरूका अनुसार स्वस्थ मुख नै समग्र स्वस्थ जीवनको आधार हो। विश्व दन्त महासङ्घ (FDI) को आह्वानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल दन्त चिकित्सक सङ्घ र विभिन्न स्वयंसेवी संस्थाहरूले आज देशभर दन्त स्वास्थ्य शिविर, कार्यशाला, चेतनामूलक अभियान तथा समुदायस्तरीय कार्यक्रम सञ्चालन गर्दैछन्। यो दिवस सन् २०१३ देखि मार्च २० मा मनाउन थालिएको हो। यस वर्षको विश्वव्यापी अभियान "A Happy Mouth is... A Happy Life" नारासहित जीवनका हरेक चरणमा मुख स्वास्थ्यको हेरचाह गर्नुपर्ने सन्देश दिन केन्द्रित छ। मुख स्वास्थ्य राम्रो राख्न दैनिक दुई पटक ब्रस गर्ने, फ्लस प्रयोग गर्ने र स्वस्थ आहार अपनाउने जस्ता सरल अभ्यासहरूले ठूलो फरक पार्न सक्छ।

लोकप्रिय