कृषकलाई अनुदानमा यान्त्रिक उपकरण वितरण

कृषकलाई अनुदानमा यान्त्रिक उपकरण वितरण

पाल्पा, चैत ५ । जिल्ला कृषि विकास कार्यालय पाल्पाले चालु आर्थिक वर्षमा कृषकलाई ७३ वटा यान्त्रिक उपकरण अनुदानमा वितरण गरेको छ ।

कम लागतमा बढी उत्पादन दिने स्रोत संरक्षण कृषि प्रविधितर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले उक्त परिमाणको कृषि उपकरण किसानलाई अनुदानमा वितरण गरिएको हो ।

यसरी वितरण गरिएको कृषि उपकरणमा ६८ वटा मिनी टिलर र पाँचवटा पावर टिलर रहेकोे कार्यालयका प्राविधिक मोहनकुमार सिंहले बताउनुभयो ।

उहाँले कृषक, कृषि समूह र सहकारीको मागअनुसार प्राथमिकताका आधारमा सो उपकरण वितरण गरिएको बताउनुभयो ।

कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा ८९ वटा मिनी टिलर र ११ वटा पावर टिलर गरी कुल एक सय वटा यान्त्रिक उपकरण वितरण गरेको थियो । त्यस्तै आर्थिक वर्ष ०७१÷७२ मा १५० वटा मिनी टिलर र ५० वटा पावर टिलर वितरण गरिएको सो कार्यालयले जनाएको छ ।

पावर टिलरको बजार मूल्य रु. एक लाख ६५ हजार देखि रु. २ लाख सम्म तथा मिनी टिलरको मूल्य रु. ८० हजार देखि रु. ९० हजार सम्म पर्छ ।

परम्परागत तरिका भन्दा यान्त्रिक उपकरणले खेतबारी खनजोत गर्दा कम लागत पर्ने र सजिलो हुने भएपछि पछिल्लो समयमा कृषकको यसतर्फ आकर्षण बढ्दो छ । यस्ता कृषि उपकरणबाट खेती गर्दा लागत, समय र मेहनत कम लाग्ने भएकाले पछिल्लो समयमा यसको माग गर्ने कृषक, कृषि समूह र सहकारी ह्वातै बढेको कार्यालयका बालीसंरक्षण अधिकृत कफिल अहमद बताउनुहुन्छ ।

कार्यालयले कृषक, कृषि समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक उपकरण वितरण गर्दै आएको छ । अहिले यी यान्त्रिक उपकरण गाउँ गाउँमा भित्रन थालेपछि हिजोआज गोरुले खनजोत गर्ने परम्परा हट्दै गएको छ । यस उपकरणबाट खनजोत गर्न थालेपछि उत्पादन पनि बढ्दै गएको रामपुरकी कृषक दुर्गाकुमारी मरासिनीले बताउनुभयो ।

चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू संक्रमण

चितवन । चितवनको राप्ती नगरपालिकाको एउटा कृषि फर्ममा बर्डफ्लू संक्रमण देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फर्मका कुखुरामा संक्रमण देखिएको हो । फर्ममा कुखुरा मर्न थालेपछि माघ २५ गते नमूना संकलन गरी परिक्षण गरिएकोमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो । फर्ममा दुई हजार कुखुरा छन् । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने छ । संकास्पद फर्महरूको नमूना संकलन गरी परीक्षणसमेत गरिने छ । बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको शुक्रबार बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको छ ।

गरिमा धानको डीएनए परीक्षण, बीउ नक्कली

काठमाडौंः धेरै फल्ने उन्नत जातको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्कै जातको भएको पाइएको छ । असोज बित्दासमेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद्ले(नार्क) गरेको डीएनए परीक्षणमा बीउ गरिमाको जातसँग नमिलेको हो । भारतको रेनोभा सिड्स साइन्स इन्डियाप प्रालिले उत्पादन गरेको बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालीले ल्याएर नेपालमा बेचेको थियो । ‘पञ्जीकरण भएको गरिमा र अहिले बाला नलागेको धानको बीउको वंशाणुगत गुण र चरित्र मिलेन,’ नार्कका वैज्ञानिक सुशील सुवेदीले भने,‘गरिमा भनी किसानलाई अर्कै बीउ बेचेर ठगी गरेको देखियो ।’ यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

कञ्चनपुरमा युरियाको चर्को अभाव

कञ्चनपुर, साउन २१ । कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ । अनुदानको मल नपाएपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायिनक मल युरियाको प्रयोग गर्नुपरेको छ । व्यापारीले तोकेको चर्को मूल्यमा किसानले युरिया खरीद गर्दै आएका छन् । भारतबाट भित्र्याइएको मलसमेत थोरै मात्र किसानले पाएका छन् । “भारतबाट खरीद गरेर मल ल्याउँदा सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले ल्याउन दिँदैनन्”, स्थानीय किसान बाधुराम चौधरीले भने, “बजारमा युरिया मल छैन । पाइएको मल खरीद गरिनसक्नु मूल्यको छ ।” “धान रोपेको २० दिनभित्र युरिया छरिसक्नु पर्दछ”, अर्का किसान बैदार चौधरीले भन्नुभयो, “धान रोपेको महीना दिन बित्नै लागेको छ । अहिलेसम्म मल पाइएको छैन ।” भारतबाट भित्र्याइएको युरिया ४५ किलोको बोराको किसानले रु दुई हजार ३० तिर्नुपरेको छ । मल बिक्रेताले मनोमानीरुपमा मूल्य कायम गरी मल अभाव भएको फाइदा उठाउँदै चर्को मूल्यमा युरिया मल बिक्री गर्दै आएको किसानको गुनासो छ । अनुदानको रासानिक मलको बिक्री दररेट प्रतिक्विन्टल रु एक हजार ६६२ रहेको छ । अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीको शाखा भीमदत्तनगरले मागअनुरूपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नुपरेको हो । कृषि सामग्री कम्पनीले यस वर्ष ८१ मेट्रिकटन मात्रै रासानिक मल आपूर्ति गरेको थियो । सो मल असार महीनामै सकिएको छ । कम्पनीको दुई हजार ५०० मेट्रिकटन युरिया खरीद गर्ने लक्ष्य भए पनि थोरै मात्रै आपूर्ति हुँदा अभाव भएको कम्पनीका निमित्त कार्यालय प्रमुख बलबहादुर शाहले बताए । युरिया समयमै खरीद गर्न नसक्दा र ढुवानीको समस्याले आपूर्ति हुननकेको उनको भनाइ छ । “तत्काल युरिया आउने सम्भावना छैन”, उनले भने, “भर्खरै भारतको कोलकाता बन्दरगाहमा पुगेको भन्ने खबर छ । त्यहाँबाट यहाँसम्म आइपुग्न अझै एक महीना लाग्छ ।” रासस

नयाँ पुस्ताका आलुको बीउ उत्पादन

काभ्रेपलाञ्चोक, चैत ११ । पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताए । उनले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिए। आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा ‘स्क्रिन हाउस’भित्र ल्याबमा टिस्यु कल्चर गरिएका बिरुवा रोपिएको छ । पाण्डेले भने, “रोपिएको बिरुवाबाट फलेको आलु पूर्व मूल बीउ बन्दछ, त्यसलाई पनि रोपेर फलाइएपछिको मूल बीउ हो ।” यो मौसममा रोपिएको तीन हजार ४४० बिरुवाबाट करीब २५ हजार दाना आलुको बीउ उत्पादन गर्ने लक्ष्य लिइएको केन्द्रप्रमुख पाण्डेले बताए । उनका अनुसार अहिले जनकदेव र कार्डिनल जातको आलुको बीउ उत्पादन भइरहेको छ । एउटा बिरुवामा सातदेखि १० दानासम्म फल्ने गर्दछ । यहाँ उत्पादन गरिएको आलुको नयाँ बीउ किसान तथा बीउ बिक्रेतालाई दिइनेछ । उत्पादित प्रिबेसिक नयाँ आलुको बीउ दानाको गन्तीमा बिक्री गरिने पाण्डेले बताए । केन्द्रले पाँच खाल उपत्यकामा विस्तारै आलुको बीउ परिवर्तन गर्दै जाने योजना बनाएको छ । रासस

लोकप्रिय