को हुन् कार्ल मार्क्स, के हो मार्क्सवाद?

को हुन् कार्ल मार्क्स, के हो मार्क्सवाद?

कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधीनस्थ थियो र त्यसबेलासम्म पनि १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्तिको सम्झना बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए जुनबेला सारा युरोपमा नयाँ खालको जागरण आइरहेको थियो । बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको विस्तार पश्चिम युरोप हुँदै पूर्वी युरोपतिर फैलिरहेको थियो । बेलायत, स्पेन, फ्रान्स, पोर्चुगल आदि आफ्ना-आफ्ना साम्राज्यहरू विस्तार गर्न जोरसोरले लागिपरेका थिए र एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका थिए ।

पर्याप्त मात्रामा उत्पादन गर्ने र बेच्ने अनि नाफा आर्जन गर्ने धन्दा चलिरहेको थियो । यो कमाउधन्दा बढिरहँदा फ्रान्सेली क्रान्तिताका लागेका नारा ‘मुक्त’, ‘समानता’ र ‘ऐक्यबद्धता’ क्रमशः ओझेलमा पर्दै गइरहेका थिए । कृषिबाट उद्योगमा रूपान्तरण गर्ने प्रक्रिया तीव्र हुँदै जाँदा बहुसंख्यक मानिसको जीवन कठिन बन्दै गएको थियो । त्यो विषम परिस्थितिले मार्क्सलाई आमूल परिवर्तनकारी लोकतान्त्रिक व्यवस्था हुँदै साम्यवादतर्फ आकर्षित हुने वातावरण बन्यो ।

मार्क्स राम्रै आर्थिक अवस्था भएको यहुदी परिवारमा जन्मिएका थिए । उनका पिताजी वकिल थिए । उनी स्थानीय तहको शिक्षा सकेपछि सर्वप्रथम बोन विश्वविद्यालयमा कानुनको विद्यार्थी बने, त्यसपछि सांस्कृतिक केन्द्रका रूपमा रहेको बर्लिन विश्वविद्यालय गएपछि दार्शनिक जर्ग विल्हिम फ्रेडरिक हेगलका युवा अनुयायीहरूको संगतमा परेपछि इतिहास र दर्शन पढे ।

सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर ‘रेन्चे जाइतुङ’ नामक पत्रिका निकाले । पत्रिकामा किसानमाथि गरिएको विभेदविरूद्ध लेखिएपछि सरकारले प्रतिबन्ध लगायो र उनलाई देश निकाला गरियो । त्यसपछि उनले राजनीतिक अर्थशास्त्र पढ्न थाले । खासगरी फ्रेडरिक एंगेल्स लिखित तथा जर्मन-फ्रेन्च एनल्समा प्रकाशित ‘आउटलाइन्स अफ द क्रिटिक अफ पोलिटिकल इकोनोमी’ पढे । त्यो एनल्समा मार्क्सका दुई निबन्ध छापिएका थिए ।

पहिलो ‘कन्ट्रिब्युसन टु दी क्रिटिक अफ हेगल्स फिलोसोफी अफ ल’ र ‘अन दी जिउइस क्वेस्चन’ । सन् १८४४ मा मार्क्स र एंगेल्सले १० दिनसंगै बसेर ब्रुनो बुयरको ‘सेपरेसन अफ फिलोसोफिकल क्रिटिक’ को विपक्षमा ‘दी होली फामेली’ लेखे । त्यहीँदेखि दुईजनाबीच जीवनपर्यन्त सहकार्य सुरु भयो ।

पर्सियन सरकार (हालको जर्मन) सरकारले बबाब दिएपछि मार्क्सलाई पेरिस बस्न पनि प्रतिबन्ध लाग्यो र उनी ब्रसेल्समा पुगे । त्यही वर्ष एंगेल्सको ‘कन्डिसन्स अफ दी वर्किङ क्लास इन इंग्लैन्ड’ छापियो जुन बृहत अध्ययन तथा वस्तुगत अनुसन्धानका आधारमा आधारित थियो । त्यसपछि एंगेल्ससँगै मार्क्स इंग्लेन्ड पुगे र राजनीतिक अर्थशास्त्र, इंग्लिस समाजवाद पढ्न थाले, श्रमजीवि संगठनका नेताकार्यकर्तासंग उठबस गर्न थाले । दुईजना मिलेर १८४५ मै ‘जर्मन आइडोलोजी’ नामक पुस्तक लेखे, तर त्यो पुस्तक भने १९३२ मा मात्र प्रकाशित भयो ।

१८४८ मा प्रुधाँको आलोचना गर्दै लेखिएको पुस्तक ‘दी पोभर्टी अफ फिलोसोफी’ प्रकशित भयो । ब्रसेल्समा बस्दा मार्क्स संगठन निर्माणको काममा पनि संलग्न भए । त्यही विचार आदानप्रदानका लागि आदा अन्तराष्ट्रिय सञ्जाल निर्माण गरे । त्यही सञ्जाल पछि गएर श्रमजीवी जनताको पहिलो अन्तर्राष्ट्रिय आन्दोलनका रूपमा स्थापित भयो । ९ जुन अफ १८४७ मा पहिलो सम्मेलन गरेर ‘वर्किङ म्यान आफ दी अल कन्ट्रिज युनाइट’ घोषणा गरियो । त्यही वर्ष गरिएको दोस्रो सम्मेलनले मार्क्स र एंगेल्सलाई राजनीतिक तथा सैद्धान्तिक कार्यक्रम तयार पार्ने जिम्मा दियो । उनीहरूले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र तयार पारे ।

घोषणापत्र प्रकाशित भएपछि युरोपमा ठूलो हल्लीखल्ली हुन पुग्यो । ब्रसेल्सबाट निस्कासनमा परेपछि मार्क्स पुन: पेरिस फर्किए । त्यसपछि कोलोन पुगे । त्यहाँ उनले ‘क्लास स्ट्रगल इन फ्रान्स’, ‘दी एटिन्थ ब्रुमेअर अफ लुइ बोनापार्ट’, ‘रिभ्योलुसन एण्ड काउन्टर रिभ्योलुसन इन फ्रान्स’ लेखे । जर्मनी र फ्रान्सबाट पुनः लखेटिएपछि १८४९ मा लन्डनमा बस्न थाले र जीवनभर त्यहीं रहे ।

इतिहास र सिद्धान्त

मार्क्सवाद अन्य सैद्धान्तिक अवधारणाभन्दा ऐतिहासिक उत्खननका कारण भिन्न छ । जसलाई हामी मार्क्सवाद भन्छौं , त्यो कल्पनामा होइन , ऐतिहासिक सत्यतथ्यमा आधारित छ । मार्क्स भन्छन् , “मान्छेले आफनो इतिहास आफै बनाउँछ कसैलाई खुसी पार्न कसैले पनि इतिहास बनाउँदैन ( हेर्नुहोस् , ‘दी एटिन्थ व्रुमेएर अफ लुई बोनापार्ट’ को पहिलो अध्याय ) त्यो ‘इतिहास बर्गीय शोषण कुन चरणबाट गुज्रिने छ भन्ने कुरामा भर पर्छ । साधारणतया ‘उत्पादन पद्धति ‘ , आर्थिक शक्ति र सम्बन्ध तथा उनीहरूबीचको अन्तरविरोध आदिले निर्माण गर्ने बर्ग र समाजमा कसको कस्तो निर्णायक भूमिका रहन्छ भन्ने निर्धारण गर्छ । ऐतिहासिक निर्धारण आर्थिक तथा प्राविधिक बिषयले ऐतिहासिक रूपान्तरण गर्नमा तिनको भूमिका , राजनीतिले निर्धारण गर्ने आर्थिक नीति र संस्थागत परिचालनले शोषणका ऐतिहासिकता कस्तो भन्ने तय गर्छ । इतिहासका सबै मोडहरूलाई हेरेर नै मार्क्स र , एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा ‘ अहिले अस्तित्वमा रहेको समाज इतिहासमा भएका अनेक वर्गसंघर्षको उपज भने ।

यो वाक्यले नै मार्क्सले खिचेको क्रान्तिकारी राजनीतिक कार्यक्रमको बिचारको खाका प्रस्तुत हुन्छ । यही सोचले श्रमजीवी मानिसहरूको आत्म स्वाभिमान जगाउने संघर्ष मात्र होइन, सबै प्रकारका शोषण र उत्पीडनबाट मुक्त हुनका लागि संघर्ष गर्न उक्साउँछ । पूंजीवादी आर्थिक तथा सामाजिक विकासमा उत्पादन सम्बन्ध र उत्पादन प्रकृयाको ऐतिहासिकताका आधारमा समाजलाई हेर्ने बुझ्ने क्रममा मार्क्सले शास्त्रीय अर्थशास्त्रको चिरफार गरे । त्यो चिरफार र आलोचनाको ऐतिहासिक विवेचनाको सैद्धान्तिक जग मार्क्सकै ‘ ग्रुन्डरिसे ‘ मा उल्लेख गरिएको पाइन्छ, जो सन् १९७० को दशकममा मात्र अंग्रेजीमा प्रकाशित भयो । मार्क्सले एउटा बुद्धिजीवीले गर्ने विश्व व्यवस्थाको ऐतिहासिकताको व्याख्या मात्र पस्किएनन् यसलाई कसरी बदल्न सकिन्छ भन्ने कुरामा आफ्नो ध्यान बढी केन्द्रित गरे ।

बुर्जुवा क्रान्तिका पक्षधरले यो ऐतिहासिकताका आधारमा हेर्ने दृष्टिकोणको ठूलो विरोध गरेका छन् । उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादन प्रक्रिया तथा उत्पादन सम्बन्धको आधारको समाजको व्याख्याको विकल्पमा म्याक्स वैबरले ‘ पुंजीवादी समाज र त्यसका क्रियाकलाप बुझ्न सीमान्त उपयोगिताको सिद्धान्त’लाई प्रारम्भिक औजारका रूपमा प्रयोग गरे । बर्गको व्याख्यालाई उनले राजनीतिक मुद्दाबाट बिशुद्ध ‘आर्थिक श्रेणी’मा ओराले । अहिलेसम्मका पूंजीवादी समाजशास्त्रीहरू वैबरकै धरातलमा उभिएर मार्क्सवादको विरोध गर्ने गर्छन् ।

मार्क्सको ‘हिस्टोरिकल म्याटेरियालिज्म ‘ मार्क्सवाद मान्ने र नमान्ने दुवैथरी गम्भीर अध्येयताहरूले राम्ररी बुझेका छन् र समर्थन र विरोधमा व्याख्या पस्किएका छन् । जस्तो लेनिन, रोजा , ग्राम्सी र चे ग्वेभारा आदि तीमध्ये प्रमुख हुन् । तर, कतिपय व्याख्या अधुरा र अपुरा रहेका भनाइहरू पनि आइरहेका छन् । क्यापिटलको पहिलो भोलुम छापिएपछि मार्क्सको देहान्त हुन पुग्यो । उनका नोटबुक र तत्काल उपलब्ध सामग्रीका आधारमा एंगेल्सले ‘ क्यापिटल ‘ को भाग २ र ३ प्रकाशमा ल्याए ।यतिबेलासम्म पूंजीका ६ वटा भाग खासगरी जमिन ( ल्यान्डेड प्रोपर्टी , ज्यालादारी मजदुरी , बैदेशिक व्यापार , विश्व बजार र संकटमा आधारित ६ भाग प्रकाशित छन् ।

पछिल्लो एक दशकयता मार्क्स – एंगेल्स संकलनमाला ( मेगा ) ‘ गठन गरेर सबै सामग्री खोज्दा राजनीतिक अर्थशास्त्रका १५ वटा भोलुम तयार हुने कुरा प्रकाशमा आएको छ । मेगाले विश्व इतिहासको क्रोनोलोजी मात्रै १५ सय पृष्ठ भेटिएको जनाइएको त्यतिबेलाका मार्क्सका साथीभाइ इष्टमित्र र सामग्रीको तीव्रतासाथ खोजी भइरहेको छ । झन्डै २ सयको हाराहारीमा रहेका डायरी जुन समाज विज्ञान, इतिहास मानवशास्त्र, प्रकृति विज्ञान र म्याथम्याटिक्ससँग जोडिएका भेटिएको दाबी गरिएको छ । यिनले विगतमा अधुराअपुरा रहेका कृति पुरा गर्न, कम व्याख्या भएका र अस्पष्टतालाई प्रस्ट बनाउन र व्यवस्थित गर्न सजिलो हुने जनाइएको छ । (हेर्नुहोस् , जोन वेलामी फोस्टरद्वारा लिखित ‘मार्क्स ओपेन इन्डिड क्रिटिक’ मन्थ्ली रिभ्यू , १ मे २०१८) यसको अर्थ मार्क्सवाद अपूरो थियो, अब पूरा हुने भन्ने अर्थ कदापि होइन । मार्क्सले आफ्नो जमानाको आर्थिक सामाजिक धरातलमा उभिएर गरेका खोज तथा अनुसन्धानले उनका त्यसवेला गरेका तर्कहरूलाई पुष्टि गर्न थप मद्दत पुग्नेछ ।

मार्क्सवादीमा आएको उतार चढाव

मार्क्सवाद ऐतिहासिक वर्ग संघर्षलाई अध्ययन गर्ने विधि हो । विज्ञानप्रविधिको विकासले ल्याउने परिवर्तन अकों अर्थमा हरेक औद्योगिक क्रान्तिले ल्याउने परिवर्तन , हरेक परिवर्तनभित्र विकसित हुने कामदार शक्ति कसरी निर्माण हुन्छ, त्यो कामदार शक्ति कसरी प्रशिक्षित हुन्छ र कस्ता वाहक वा सङ्गठकले तिनलाई डोर्याउँछन् भन्ने कुराले कस्तो वर्ग बन्छ र कस्तो संघर्ष हुन्छ वा हुने सम्भावना रहन्छ भन्ने निर्धारण गर्छ । आर्थिक – सामाजिक परिस्थिति, श्रमजीवि शक्तिको प्रशिक्षण, राज्यको नीतिले निर्धारण गर्ने वर्ग संघर्ष र क्रान्तिपछिको रूपान्तरण प्रक्रिया यो अध्ययनसँग जोडिने महत्त्वपूर्ण कडी हुन् । त्यसैले सिद्धान्ततः मार्क्सवाद वादविवाद वा बहस ( डाइलेक्टिक), भौतिकवाद (म्याटेरियालिज्म), र इतिहास ( हिस्ट्री )को सम्मिश्रण हो । त्यसैले ठीकठीक विश्लेषण गर्न र एक्सनमा उत्रन त्यति सजिलो छैन । त्यसैले मार्क्सको एउटा प्रसिद्ध भनाइ छ, ‘विज्ञानसम्म पुग्न बनिबनाउ राजमार्ग हुँदैन’ ।

‘मार्क्सवाद, बाइबल, कुरान, वा गीता होइन, जसलाई कण्ठस्थ गरेर कथित ‘ मुक्ति प्राप्त होस् । आजसम्म जेजति समाजवादी क्रान्ति सम्पन्न भए मार्क्सवादी विधिअनुरूप आफ्नो वर्गसंघर्षको इतिहास , तत्कालीन समाजको आर्थिक सामाजिक संरचना, तत्कालीन राज्यको प्रकृति र प्रवृत्ति , समाजमा विद्यमान वर्गसंघर्ष आदिलाई गहिरोसँग केलाएर बहुमत मानिसलाई संगठित संघर्षमा होम्दै सफलता चुमे । मार्क्सवादी अध्ययन विधिकै कारण पछिल्ला मार्क्सवादीहरू ठोस परिस्थितिको ठोस विश्लेषण गरेर क्रान्तिलाई डोर्याए । रुसको अक्टोबर क्रान्ति, चिनियाँ जनक्रान्ति वा क्युबाली क्रान्ति सबै आ – आफ्ना परिवेशमा आ – आफ्ना व्याख्या विश्लेषणका आधारमा सम्पन्न भएका थिए । ती सबैको संघर्षको प्रकृति भिन्नाभिन्नै थियो । परिस्थिति र श्रमजीवी सर्वहारा वर्गको सामाजिक र सांस्कृतिक अवस्था भिन्नाभिन्नै थियो ।

समाजवाद कसरी लागु गर्ने भन्ने विषय कार्यक्रम पनि स्वाभाविक रुपमा फरकफरक थिए । किनकि पूर्णरूपमा विकसित पूंजीवादी समाजको रूपान्तरण र अर्को पछौटे कृषि प्रधान देशको रूपान्तरण कपी गर्न मिल्दैनथ्यो । ज – जसले नीति निर्माण , कार्यक्रम र विचार हुबहु सार्ने कोसिस गरे ती नराम्रोसँग पछारिए । जसले आफ्नो समाज विश्लेषण धरातलीय यथार्थमा रहेर राम्ररी केलाएर अगाडि बढे तिनीहरू सफल भए ।

केही नवउदारवावी पूंजीवादी पक्षधर विद्वानहरूले सोभियत संघ तथा पूर्वी युरोपको विघटनपछि इतिहासको समाप्तिको घोषणा गरे । यसको अर्थ पूंजीवादको विकल्पमा रहेको समाजवादको अन्त्य र सँगसँगै मार्क्सवादको अन्त्य भएको घोषणा गर्ने कसरत थियो त्यो । कसैकसैले मार्क्सवाद विज्ञान प्रविधिमैत्री नभएको घोषणा पनि गरिदिए । कसैकसैले पूंजीमैत्री नभएकाले विकासमै नभएको आरोप लगाउन पनि चुकेनन् । तर , तिनले समग्रतामा के बुझेनन् भने यदि समाजवादले खोजेजस्तो सम्पत्तिको वितरण र पुनर्वितरण अवरुद्ध भयो भने आममानिस उत्पादन र उत्पादनका साधनबाट वञ्चित हुन्छन्, त्यसको अर्थ पूंजी सञ्चिति तथा पूंजी निर्माणसमेत अवरुद्ध हुन्छ ।

यसको अर्थ सम्पूर्ण बस्तु तथा सेवाको उत्पादन र पुनर्त्पादनमा नकारात्मक असर पर्छ । त्यसले सम्पूर्ण अर्थतन्त्रमा मात्र होइन, सामाजिक संकट खडा हुन पुग्छ । दोस्रो विज्ञान र प्रविधिको विकास भनेको केही मुठ्ठीभर व्यक्तिको धन सञ्चयका लागि कि आमजनताको सन्तुष्टिका लागि ? मानव निर्मित वैज्ञानिक सिर्जना र प्रविधि विकास उपलब्धि मानव विकासका लागि धन आर्जन गर्ने साधन मात्र ? पूंजीवादीहरू मानवतावादलाई नकार्दै विज्ञान र विकासको निजत्वकरणमा लिप्त हुन्छन् । मार्क्सवाद निजत्वकरणको खिलाप थियो र छ । सम्पूर्ण उपलब्धि समाजका सम्पूर्ण मानिसको जीवन पद्धतिमा सुधार गर्न, सहज बनाउन लक्षित हुनुपर्छ भन्ने थियो ।आजसम्मका सबै वैज्ञानिक आविष्कार र विकास व्यक्तिगत निजी सम्पत्ति आर्जनका लागि नभएर समाज कल्याणका खातिर भएका हुन् भन्ने बुझ्न पूंजीवादीहरूले चाहेनन् ( हेर्नुहोस् अल्बर्ट आइन्स्टाइन लिखित ‘ह्वाई सोसलिज्म’ । अझै पनि मन्थ्ली रिभ्यू अनलाइनमा पढ्न सकिन्छ )

मार्क्सवाद अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन योजनाको पोको थिएन भन्ने पनि पूंजीवादीसँगै कथित मार्क्सवादीहरूले पनि बुझेनन् वा बुझ्न चाहेनन् । त्यसैले केही मार्क्सवादीहरूले शासनसत्ता हुँदा गरेका सतही घोषणा, सतही क्रियाकलाप तथा विकृत रूपान्तरणलाई मार्क्सवादसँग जोडेर हेरे । वास्तवमा ती केही मार्क्सलाई बदनाम गर्न चाहने पूंजीवादी र तिनका हिमायतीहरूको औजारजस्तै बन्न पुगे । पूंजीवादीहरूलाई एक प्रकारले औडाहा भएको थियों । मार्क्सवादप्रति तिनको ईर्ष्या चुलिंदै गएको थियो । मार्क्सवादलाई सिराने हालेर गरिएका २०औ शताब्दीभरिका क्रान्तिले गरिब, सर्वहारालाई सशक्तीकरण गरेर जमिन तथा फ्याक्ट्रीको मालिक बनाएको थियो । राष्ट्रिय राज्यको निर्माण गर्दै स्वतन्त्र सार्वभौम सत्तासम्पन्न जनताका अधिकारका लागि साम्राज्यवादविरुद्ध स्वाधीन संघर्ष सञ्चालन गर्न हौस्याएको थियो ।

शिक्षा , स्वास्थ्य रोजगारीमा आमजनताको पहुँच पुर्याउन र राज्यको दायित्वको पहिचान बढाउन मार्क्सवाद औजार बन्न पुगेको थियो । दासका रूपमा भित्र्याएका काला जाति र सम्पूर्ण महिलाहरूलाई मतदान दिने आधार मार्क्सवादको आधारमा भएका क्रान्तिको अगुवाइमा भएका थिए । त्यसले मुट्ठीभर सामन्त तथा पूंजीवादीहरूमा खुम्चिएको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार आमजनताको पहुँचमा पुर्यावन अहम् भूमिका खेलेको थियो । पूंजीवादीहरू समाजवादको नामबाट तर्सिनुपर्ने, झाँक्किनुपर्ने, यिनै कारण थिए । समाजवाद समापन हेर्न पूंजीवादीहरू सधै मौकाको खोजीमा थिए, छन् र भोलि पनि रहनेछन् ।

मार्क्सवाद माथि उल्लेख गरिएझैँ बहस, वादविवाद, भौतिकवाद र बर्ग संघर्षको समष्टि हो । क्रान्तिपछि जानी – नजानी राज्य पुँजीवादमा लैजानेहरूले बहस र बावविवादलाई प्रतिबन्ध लगाए । यसले भौतिक वस्तु उत्पादनको विकास त सम्भव भयो, तर समाजको सामाजिक रूपान्तरण प्रक्रिया अवरुद्ध हुन पुग्यो । डाइलेक्टिकको अभावमा राज्यमा ब्युरोक्रेसी हाबी हुन पुग्यो । डाइलेक्टिक (वादविवाद – बहस) को अभावमा जनवाद मलिन हुन पुग्यो र वर्ग संघर्ष झन् भुत्ते हुन पुग्यो । यसरी समाजवादका नाममा हुर्किएको राज्य पूंजीवादमा ढल्नुथ्यो , ढल्यो । त्यों शासन पद्धति जनताको पक्षमा नभएकाले जनताले काँध थापेनन् र अवसान भयो । पूंजीवादीहरूले मार्क्सवाद मरेको प्रचार गरे ।

पूर्वी युरोप र सोभियत संघको विघटनपछि पूंजीवादमा एकपछि अर्को संकट देखा परे । सन् १९९७ / ९८ को पूर्वी एसियाली वित्तीय संकट, १९९८ / ९९ को रुस तथा मेक्सिको संकट, सन् २००२ को अर्जेन्टिनी संकट , यी श्रृंखलाबद्ध संकटहरू एक अर्कामा गाँसिदै गाँसिदै आइनै रहेका बेला संयुक्त राज्य अमेरिकाका बैंकहरूले वित्तीय संकट निम्त्याए र त्यसले निम्त्याय संसारव्यापी मन्दी । पूंजीवादी अर्थशास्त्री तथा नीतिनिर्माताहरू एक दशकदेखि छताछुल्ल हुन पुगेको पूंजीवादका अवयवहरू बटुलेर टालटुल गर्नमा व्यस्त छन् , तर समाजवादी अर्थशास्त्रीहरू भनिरहेछन् , (पूंजीवादमा प्रणालीगत संकट सिस्टमिक क्राइसिस ) आइसकेकोले अब प्रणाली नै फेर्नुपर्छ र विकल्प भनेको समाजवाद नै हो । तर समाजवादले पुराना गल्तीहरू दोहोर्याउनुहुन्न ।

अघिल्लै शताब्दीको अन्तिम वर्षहरूमा नवउदारवादी पूंजीवादविरुद्ध कुल्ठूला संघर्षहरू भए । समग्र ल्याटिन अमेरिका समाजवादमय बन्न पुग्यो । बोलिभारान क्रान्तिको आधारमा हयुगो चाभेजले दर्शनिक स्तेभान मेजारोसको भिजनमा आधारित रहेर २१ औं शताब्दीको समाजवादी कार्यक्रमलाई अगाडि सारे । अमेरिकी साम्राज्यवादको नाकैमुनि बोलेभिया , इक्वेडर , अर्जेन्टिना, ब्राजिल उरुग्वेका श्रमजीवी कामदारहरुको जीवनस्तर ठूलो फड्को मार्ने गरी समाजवादी पार्टीहरु निर्वाचनमार्फत सत्तामा पुगे । कोही सफल देखिए कोही असफल । यद्यपि यो पुनर्जागरणले ल्याटिन अमेरिकामा सशक्त विकल्प प्रस्तुत गरेको छ ।

सन् २००७ देखि २०१० को अवधिमा पूर्वी र पश्चिमी यूरोपमा समाजवादको नयाँ जागरण सुरु भएको छ । मार्क्सवादको गम्भीर अध्ययन सुरु भएको छ । पूंजीवादका स्वरूप र बिस्तारका बारेमा लेनिन ( इम्पेरियालिज्म अ हाइअर स्टेज अफ क्यापिटालिज्म ), रोजा लक्जेम्बर्ग ( क्यापिटल एकुमुलैसन थ्यौरी ) , माइकल कोलेस्की ( जेनरल थ्यौरी र थ्यौरी अफ ग्रोथ एन्ड इम्प्ल्वाइमेन्ट ), जुबान रॉबिन्सन (थ्यौरी अफ इम्यर्फेक्ट कम्पिटिसन ), पौल बरान, पौल स्विजी, हारी म्यागडफ ( मोनोपोली क्यापिटालिज्म एन्ड स्ट्यागनेसन ) आदि माथि गम्भीर बहस र छलफल चल्न थालेका कुरा हिजोआज प्रकाशित पुस्तक, जर्नल आर्टिकल तथा अखबारी लेखनहरूमा पाइन थालेकाले पुष्टि हुन्छ ।

ग्रिसेली अर्थशास्त्री कोस्तास लापाभिताससको ‘प्रोफिट विथआउट प्रोड्यूसिङ ‘ नामक किताबले हामीकहाँ चलेको दलाल पूंजीवादको बहसकों झल्को दिन्छ । उनले विस्तारमा त्यसको पछाडिको सैद्धान्तिक जरा केलाएका छन् । डेभिड हार्वे, फ्रेड मोस्ले, माइकल हेनरिचलगायत सयौं समाजशास्त्री, अर्थशास्त्री तथा राजनीतिशास्त्रीहरू मार्क्सवादको बिकासमा भिडेर लागिपरेका देखिन्छन् ।

हिजोआज पूँजीवादभित्रै दक्षिणपन्थी लोकप्रियतावाद झाङ्गिरहेको छ । पुरानो उदारवादलाई नवउदारवादले खायो र नवउदारवादलाई दक्षिणपन्थी लोकप्रियताबादले । नवलोकप्रिय राष्ट्रवादीहरू पूंजीवादी भूमण्डलीकरणका विरुद्ध राष्ट्रवादी पूंजीवादको वकालत गरिरहेका छन् । र, त्यसका आडमा नश्लवाद, धर्मवाद, जातिवादलाई आड लिने गरेका छन् । तिनले फैलाउन सक्ने नरहिंसा, अन्याय, अत्याचार आततायी युद्धका विरुद्ध मार्क्सवादमा आधारित राजनीतिक संगठनको निर्माणको विकल्पमा अरू केही देखिएको छैन । यस अर्थमा मार्क्सवाद अहिलेको संकटबाट माथि उठ्ने ठूलो वैचारिक विधि बन्ने सम्भावना प्रवल देखिएको छ ।

मार्क्सवादलाई माथि भनिएझैँ धर्मशास्त्र बनाउने होइन । विधिसंगत ढंगले अध्ययनलाई अगाडि बढाउने हो । मार्क्सले भनेझैँ राष्ट्रभित्र रहेका स्रोतसाधनहरू (जमिन, श्रमशक्ति , उद्योगधन्दा , पूँजी , वित्त) कसरी परिचालित भएका छन् ? कसरी कसले कसका हितमा उपयोग र दोहन गरिरहेका छन् यसको विधिवत् अध्ययन आवश्यक छ । विगतमा ‘डाइलेक्टिक्स’को जसरी हत्या हुन पुग्यो अबका दिनमा त्यसो हुन नदिन पुनर्जीवन कसरी दिने ? बहस छलफललाई कसरी सङ्गठनको जीवन बनाउने ? कसरी वर्गसंघर्षलाई क्रान्तिपछि पनि जीवन्त तुल्याउने ? यसको खोजी हुन जरुरी छ ।

नेपालमा मात्रै होइन, संसारभर , संघर्षको कसरी पहिचान गर्ने ? भन्ने समस्या देखिएको छ । अमेरिका र युरोपमा काला जातिमाथि गरिएको भेदभाव र घृणा , मुस्लिममाथि फैलाइएका द्वेष, नेपाल भारतजस्ता देशमा दलित , जनजातिमाथि गरिएका आर्थिक, सामाजिक साँस्कृतिक , राजनीतिक भेद र अन्य सीमान्तकृत जनसमुदायलाई गरिएका हिजोदेखिका भेदभावलाई कसरी हटाउने ? कस्तो अभियानमार्फत कस्तो आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत ? यी गम्भीर विषय हुन् । गफ र भाषणले मात्र समाजवाद आउँदैन ।

ठोस परिस्थितिको ठोस विश्लेषण, , परिवर्तनका लागि ठोस योजना, योजना कार्यान्वयनका लागि नयाँ क्रियाशील र कामकाजी संस्थाहरूको व्यवस्थापन आवश्यक हुन्छ । नेपालमा वामपन्थीहरुलाई जनताले लहलहैमा लागेर त्यत्तिकै भोट दिएका होइनन्, आमूल परिवर्तनको आसमा दिएका हुन् । यदि उनीहरूलाई यो नाम मात्रका मार्क्सवादी हुन् , यिनले सुधार गर्दैनन् भन्ने लाग्यो भने काँधबाट तल खसालिदिन्छन् जसरी सोभियत सरकारको लास बोक्न कोही सडकमा ओर्लिएनन् ।

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता : संयोग वा राजनीतिक सन्देश ?

पूर्ण घर्ति गणतन्त्र कुनै औपचारिक शब्द होइन। यो नेपाली जनताले दशकौंको संघर्ष, जनआन्दोलन, बलिदान र राजनीतिक रूपान्तरणको प्रक्रियाबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो। त्यसैले जेठ १५ केवल क्यालेन्डरको एउटा मिति मात्र होइन, यो नेपाली राज्यको चरित्र र शासन व्यवस्थामा आधारभूत परिवर्तन भएको दिन हो। यही दिनमा राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्री मौन बस्नु सामान्य घटना मान्न सकिँदैन। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नै सभापतित्वमा सम्पन्न गणतन्त्र दिवसको औपचारिक समारोहमा सम्बोधन नगर्नु त छँदैछ, त्यसबाहेक पनि उनले यस राष्ट्रिय अवसरमा कुनै शुभकामना सन्देश जारी गरेनन्, गणतन्त्रको ऐतिहासिक महत्वबारे कुनै धारणा व्यक्त गरेनन् र जनतालाई सम्बोधन गर्न आवश्यकसमेत ठानेनन्। यसले स्वाभाविक रूपमा एउटा प्रश्न जन्माएको छ—के यो केवल व्यक्तिगत शैली हो, वा गणतन्त्रप्रति रहेको राजनीतिक असहजताको अभिव्यक्ति ? राजनीतिमा मौनता कहिल्यै पूर्णतः तटस्थ हुँदैन। विशेषतः त्यो मौनता राष्ट्रको कार्यकारी प्रमुखबाट आएको हो भने झन् हुँदैन। नयाँ वर्षमा शुभकामना दिने, धार्मिक पर्वमा सन्देश जारी गर्ने, सामाजिक विषयमा निरन्तर अभिव्यक्ति दिने प्रधानमन्त्रीले गणतन्त्र दिवसमा मात्र मौनता रोज्नु संयोगका रूपमा व्याख्या गर्न कठिन छ। गणतन्त्र दिवसमा शुभकामना दिनु कुनै दल वा विचारधाराको समर्थन गर्नु होइन। त्यो संविधानले परिभाषित गरेको राज्य व्यवस्थाप्रति सम्मान व्यक्त गर्नु हो। प्रधानमन्त्रीले संविधानको शपथ खाएर पद ग्रहण गरेका हुन्छन्। त्यसैले गणतन्त्र दिवसमा अभिव्यक्ति दिनु वैकल्पिक सौजन्यको विषय होइन, संवैधानिक संस्कार र राजनीतिक उत्तरदायित्वको विषय हो। कम्तीमा पनि गणतन्त्रप्रति आफ्नो सम्मान सार्वजनिक रूपमा व्यक्त गर्न नसक्ने नेतृत्वमाथि स्वाभाविक रूपमा प्रश्न उठ्छ। यहाँ प्रश्न प्रधानमन्त्रीले विगतमा राजतन्त्रको समर्थन गरे कि गरेनन् भन्ने मात्र होइन। मूल प्रश्न यो हो कि उनले वर्तमान संविधान र गणतान्त्रिक व्यवस्थाप्रति आफ्नो सार्वजनिक प्रतिबद्धता किन प्रष्ट पार्न चाहेनन् रु लोकतान्त्रिक नेतृत्वको दायित्व केवल सरकार सञ्चालनमा सीमित हुँदैनस त्यो राष्ट्रिय मूल्य, संवैधानिक व्यवस्था र ऐतिहासिक उपलब्धिप्रति पनि स्पष्ट अडान राख्नुपर्ने विषय हो। बालेन्द्र शाहको राजनीतिक उदय परम्परागत दलहरूप्रतिको जनअसन्तुष्टिको पृष्ठभूमिबाट भएको हो। उनले भ्रष्टाचार, अकर्मण्यता र राजनीतिक विकृतिविरुद्ध जनमत निर्माण गरे। तर एउटा महत्वपूर्ण तथ्य बिर्सनु हुँदैन—दलहरूको असफलता गणतन्त्रको असफलता होइन। सरकारहरूको कमजोरी संविधानको कमजोरी होइन। संविधानमा रहेका कमी–कमजोरी सुधार्ने, संशोधन गर्ने र समयानुकूल परिमार्जन गर्ने लोकतान्त्रिक बाटो खुला नै छ। यही कारणले गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता अझ गम्भीर देखिन्छ। किनभने यसले दलविरोध र व्यवस्थाविरोधबीचको सीमारेखालाई धमिलो बनाउने जोखिम पैदा गर्छ। यदि प्रधानमन्त्री गणतन्त्रप्रति असहमत छन् भने त्यसबारे स्पष्ट राजनीतिक बहस गर्न सक्नुपर्छ। यदि उनी गणतन्त्रवादी हुन् भने त्यसको पनि सार्वजनिक अभिव्यक्ति आवश्यक छ। तर संविधानको शपथ खाएर प्रधानमन्त्रीको कुर्सीमा बस्ने, अनि गणतन्त्र दिवसमा मौन बसेर सबै पक्षलाई आफ्नो–आफ्नो व्याख्या गर्ने अवसर दिनु जिम्मेवार राजनीतिक नेतृत्वको शैली मान्न सकिँदैन। नेपालमा गणतन्त्र स्थापनापछि विभिन्न असन्तुष्टि र आलोचना भए पनि समग्र जनमत गणतान्त्रिक व्यवस्थाकै पक्षमा रहेको देखिन्छ। यस्तो अवस्थामा प्रधानमन्त्रीको प्रत्येक सार्वजनिक व्यवहार राजनीतिक सन्देशमा रूपान्तरित हुन्छ। उनले बोलेका शब्दले मात्र होइन, उनले नबोलेका शब्दले पनि राजनीतिक अर्थ निर्माण गर्छन्। त्यसैले उनी गणतन्त्रप्रति कति प्रतिबद्ध छन् भन्ने विषयमा स्वयं उनले स्पष्ट धारणा राख्नु आवश्यक छ। गणतन्त्र दिवसमा देखिएको मौनताले गणतान्त्रिक संस्कारप्रतिको पर्याप्त संवेदनशीलता नदेखिएको संकेत दिएको छ। राष्ट्रको प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिक उपलब्धिप्रति सम्मान व्यक्त गर्न आवश्यक ठानेनन् भने त्यसले नागरिकमा स्वाभाविक रूपमा जिज्ञासा, प्रश्न र शंका जन्माउँछ। लोकतन्त्रमा प्रश्न उठाउनु विरोध होइनस उत्तर खोज्नु नागरिक कर्तव्य हो। त्यसैले आजको मुख्य प्रश्न प्रधानमन्त्री बालेन्द्र शाह गणतन्त्रवादी हुन् कि होइनन् भन्ने मात्र होइन। मुख्य प्रश्न यो हो कि गणतन्त्र दिवसजस्तो ऐतिहासिक अवसरमा उनले किन मौनता रोजे ? जब राष्ट्रको कार्यकारी प्रमुख बोल्नुपर्ने दिनमा मौन बस्छ, त्यो मौनता आफैं एउटा राजनीतिक अभिव्यक्ति बन्छ। इतिहासले प्रायः यस्ता मौनताहरूलाई पनि शब्दसरह गम्भीरताका साथ मूल्याङ्कन गर्ने गर्दछ। प्रधानमन्त्री बालेन्द्र शाहको यो मौनता पनि भविष्यमा नेपालको राजनीतिक इतिहास र गणतान्त्रिक संस्कारको बहसमा एउटा सन्दर्भ बिन्दुका रूपमा स्मरण गरिन सक्नेछ। अन्ततः यसको वास्तविक अर्थ र उद्देश्यको मूल्याङ्कन समयले नै गर्नेछ।

प्रधानन्यायाधीश सिफारिसः वरिष्ठता कि सत्ता इच्छा ?

विदुर कटुवाल काठमाडौं । नेपालको संवैधानिक इतिहासमा विरलै देखिने एक प्रकारको तनाव अहिले संवैधानिक परिषद्को निर्णयसँगै सतहमा आएको छ ।  प्रधानन्यायाधीश नियुक्तिजस्तो संवेदनशील र दूरगामी प्रभाव पार्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले परम्परागत वरिष्ठता क्रमलाई पन्छाउँदै डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि सत्ता र विपक्षबीचको राजनीतिक दूरी मात्र बढेको छैन, न्यायपालिकाको स्वतन्त्रता, संवैधानिक संस्कार र संस्थागत स्थायित्वबारे गम्भीर बहस पनि सुरु भएको छ । यस विवादलाई अझ विस्फोटक बनाउने काम परिषद्भित्रकै दुई प्रभावशाली सदस्य–राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले गरेका छन् ।  उनीहरूले प्रधानमन्त्रीको प्रस्तावविरुद्ध लिखित रूपमा ‘नोट अफ डिसेन्ट’ दर्ता गर्दै खुला असहमति जनाएपछि संवैधानिक परिषद्भित्रै असाधारण दरार देखिएको हो । सामान्यतया परिषद्का निर्णयहरू गोप्य सहमतिका आधारमा टुंग्याइने अभ्यास रहँदै आएको अवस्थामा सार्वजनिक असहमति आफैंमा ठूलो राजनीतिक सन्देश मानिएको छ । राजनीतिक वृत्तमा अहिले सबैभन्दा धेरै उठिरहेको प्रश्न एउटै छ–प्रधानमन्त्री बालेन वास्तवमै ‘नयाँ अभ्यास’ को सुरुवात गर्न खोजिरहेका हुन्, कि न्यायपालिकाभित्र राजनीतिक प्रभाव विस्तार गर्ने जोखिमपूर्ण प्रयोग ? प्रधानमन्त्री शाहले परिषद् बैठकमा डा‍‍. शर्मालाई ‘स्वतन्त्र, प्राज्ञिक र अराजनीतिक व्यक्तित्व’ भन्दै प्रस्ताव गरेका थिए । उनी निकट स्रोतहरूका अनुसार बालेनले परम्परागत वरिष्ठता प्रणालीभन्दा ‘मेरिट र कार्यक्षमता’ लाई प्राथमिकता दिनुपर्ने तर्क गरेका थिए । तर परिषद्का विपक्षी सदस्यहरूले भने यो तर्कलाई संवैधानिक अभ्यास तोड्ने खतरनाक बहानाका रूपमा व्याख्या गरेका छन् । नेपालको न्यायपालिकामा वरिष्ठता प्रणाली कुनै लिखित संवैधानिक बाध्यता नभए पनि दशकौंको संस्थागत अभ्यासका रूपमा स्थापित छ । सर्वोच्च अदालतभित्र वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्पराले न्यायिक स्थायित्व, पूर्वानुमेयता र आन्तरिक विश्वास कायम गर्न सहयोग गरेको मानिन्छ । यही कारण वरिष्ठता तोडिने हरेक प्रयासलाई न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेपका रूपमा हेरिने गरिन्छ । यही संवेदनशील बिन्दुमा अहिले विवाद चर्किएको हो । विपक्षी नेता आङ्देम्बे र राष्ट्रियसभा अध्यक्ष दाहालले आफ्नो लिखित असहमतिमा ‘प्रधानन्यायाधीश नियुक्ति कुनै व्यक्तिको इच्छाअनुसार होइन, संवैधानिक संस्कार र विधिसम्मत प्रक्रियाअनुसार हुनुपर्छ’ भन्ने स्पष्ट अडान राखेका छन् । उनीहरूको यो कदमलाई धेरैले संस्थागत पारदर्शिता र लोकतान्त्रिक मूल्यको पक्षमा गरिएको साहसी हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् । विशेषगरी प्रमुख विपक्षी नेता आङ्देम्बेले परिषद्भित्रै खुलेर प्रतिरोध जनाउनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । सत्ता पक्षको निर्णयलाई बैठकमै चुनौती दिनु केवल औपचारिक असहमति होइन, यो सरकारको शैलीप्रतिको प्रत्यक्ष राजनीतिक प्रतिरोध हो । उनले ‘न्यायपालिकाको गरिमामा सम्झौता नगर्ने’ संकेत दिएका छन् । यसले आगामी दिनमा संसद् र सडक दुवैमा यो मुद्दा चर्किन सक्ने संकेत देखिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री बालेनको यो कदमले दुईवटा सन्देश दिएको छ । पहिलो–उनी पुराना राजनीतिक दलहरूले निर्माण गरेका परम्परागत शक्ति संरचनालाई चुनौती दिन चाहन्छन् । दोस्रो–उनी संस्थागत अभ्यासभन्दा व्यक्तिगत दृष्टिकोणलाई बढी प्राथमिकता दिन तयार छन् । तर यही दोस्रो पक्ष अहिले उनको सबैभन्दा ठूलो आलोचनाको कारण बनेको छ । आलोचकहरूको प्रश्न स्पष्ट छ–यदि प्रत्येक सरकारले आफ्नो राजनीतिक वा वैचारिक सुविधाअनुसार वरिष्ठता तोड्दै ‘योग्य व्यक्ति’ को नाममा नियुक्ति गर्न थाल्यो भने न्यायपालिकाको संस्थागत स्वतन्त्रता कसरी सुरक्षित रहन्छ ? आज एक व्यक्तिलाई ‘योग्य’ भन्दै नियम बदल्ने हो भने भोलि अर्को सरकारले त्यही अभ्यासलाई अझ राजनीतिक रूपमा प्रयोग गर्न सक्दैन ? कानुन व्यवसायीहरू पनि अहिले विभाजित देखिएका छन् । केहीले ‘मेरिट आधारित नियुक्ति’  को बहसलाई स्वागत गरे पनि धेरै वरिष्ठ अधिवक्ताहरूले न्यायालयभित्र राजनीतिक प्रभाव विस्तार गर्ने जोखिम बढेको चेतावनी दिएका छन् । उनीहरूका अनुसार न्यायपालिका केवल दक्ष व्यक्तिको नेतृत्वले मात्र चल्दैन, त्यसको आधार संस्थागत विश्वास, परम्परा र निष्पक्षताको सार्वजनिक अनुभूति पनि हो । यदि त्यो अनुभूति कमजोर भयो भने अदालतको निर्णयप्रतिको सामाजिक विश्वास समेत खस्कन सक्छ । नागरिक समाजका केही प्रतिनिधिहरूले समेत यो घटनालाई गम्भीर रूपमा लिएका छन् । उनीहरूको तर्क छ–लोकतन्त्रमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको शक्ति सन्तुलन अत्यन्त संवेदनशील विषय हो । यदि कार्यपालिकाले न्यायपालिकाको नेतृत्व चयनमा अत्यधिक प्रभाव जमाउन थाल्यो भने अन्ततः लोकतान्त्रिक संरचनामै असन्तुलन पैदा हुन सक्छ । यस विवादको अर्को महत्वपूर्ण पक्ष डा. मनोजकुमार शर्माको सम्भावित कार्यकालसँग जोडिएको छ । स्रोतहरूका अनुसार उनी प्रधानन्यायाधीश नियुक्त भएमा करिब ६ वर्षसम्म पदमा रहन सक्नेछन् । नेपालको सन्दर्भमा यो अत्यन्त लामो अवधि मानिन्छ । त्यसैले यो नियुक्ति सामान्य प्रशासनिक निर्णयभन्दा धेरै ठूलो राजनीतिक र संवैधानिक महत्वको विषय बनेको हो । यही कारण अहिलेको बहस केवल ‘को प्रधानन्यायाधीश बन्ने ?’ भन्ने प्रश्नमा सीमित छैन । असली बहस त न्यायपालिकाको भविष्य कस्तो हुने भन्नेमा केन्द्रित हुँदै गएको छ । न्यायालय विधि, परम्परा र संस्थागत सहमतिबाट चल्ने कि राजनीतिक शक्ति केन्द्रहरूको प्राथमिकताबाट ? प्रधानमन्त्री बालेनले आफूलाई ‘पुरानो राजनीतिक संस्कार तोड्ने नेता’ का रूपमा प्रस्तुत गर्दै आएका छन् । उनले परम्परागत दलहरूको आलोचना गर्दै ‘नयाँ राजनीतिक संस्कृति’ को वकालत पनि बारम्बार गरेका छन् । तर आलोचकहरू भन्छन्–संस्कार तोड्ने नाममा संस्थागत सन्तुलन नै भत्काउन थालियो भने त्यो परिवर्तन होइन, अस्थिरताको सुरुवात हुन सक्छ । संवैधानिक परिषद्भित्र सार्वजनिक रूपमा देखिएको यो असहमति आगामी दिनमा अझ ठूलो राजनीतिक संघर्षको संकेत हुन सक्छ । विपक्षी दलहरूले यसलाई ‘संवैधानिक निकायमाथिको सत्ता हस्तक्षेप’ का रूपमा प्रचार गर्ने सम्भावना बलियो देखिएको छ । उता सत्ता पक्ष भने ‘पुरानो शक्ति समूहको प्रतिरोध’ भन्दै आफ्नो कदमलाई सुधारवादी निर्णयका रूपमा प्रस्तुत गर्न प्रयासरत देखिन्छ । तर जे भए पनि एउटा तथ्य स्पष्ट भएको छ–प्रधानन्यायाधीश सिफारिसको यो विवादले नेपालको राजनीतिक बहसलाई गहिरो मोडमा पुर्‍याएको छ । अब यो केवल व्यक्तिको नियुक्तिको प्रश्न रहेन । यो प्रश्न बनेको छ–नेपालको लोकतन्त्र संस्थागत विधि र संवैधानिक संस्कारले चल्ने कि सत्ताको इच्छाअनुसार नयाँ परिभाषा निर्माण हुँदै जाने ? आगामी दिनमा यही प्रश्नले सरकार, विपक्ष, न्यायपालिका र नागरिक समाजबीचको सम्बन्धको दिशा तय गर्नेछ । अनि शायद, यही विवादले भविष्यको नेपालको लोकतान्त्रिक चरित्रसमेत परिभाषित गर्नेछ ।

सुकुमबासीप्रति राज्यको जिम्मेवारी: मानवीयता संवेदना किन जरुरी ?

विदुर कटुवाल काठमाडाैं । काठमाडौं उपत्यकामा नदी किनारका सुकुमबासी बस्ती हटाउने सरकारी अभियान आजदेखि फेरि सुरु भएको छ । वर्षौँदेखि अनौपचारिक रूपमा बसोबास गर्दै आएका हजारौँ परिवारलाई उठीबास लगाउने यो कदम केवल भौतिक संरचना हटाउने प्रशासनिक काम मात्र होइन, यसले समाजको सबैभन्दा कमजोर वर्गमाथि प्रत्यक्ष असर पार्ने मानवीय प्रश्न पनि हो । सरकारले ‘वास्तविक सुकुमबासीको पहिचान गरी उचित व्यवस्थापन गरिने’ आश्वासन दिएको भए पनि व्यवहारमा त्यस्तो संवेदनशीलता कत्तिको देखिन्छ भन्ने गम्भीर प्रश्न उठेको छ ।  सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने सुकुमबासी समस्या एकरातमा जन्मिएको होइन । यो दशकौँदेखि जमेको सामाजिक–आर्थिक असमानताको परिणाम हो । गाउँमा रोजगारीको अभाव, शिक्षा र स्वास्थ्य सेवाको सीमित पहुँच, प्राकृतिक विपत्ति तथा द्वन्द्वका कारण विस्थापित भएका नागरिकहरू बाँच्ने विकल्प खोज्दै सहर पस्छन् । सहरले उनीहरूलाई अवसर त दिन्छ, तर सम्मानजनक आवास दिन सक्दैन । अन्ततः उनीहरू नदी किनार, सार्वजनिक जमिन वा जोखिमयुक्त स्थानमा बस्न बाध्य हुन्छन् । यस्तो यथार्थलाई बेवास्ता गर्दै केवल ‘अवैध संरचना’ भनेर हटाउनु समस्याको समाधान होइन, बरु त्यसलाई झन् जटिल बनाउने कदम हो । सरकारको अहिलेको कदममा सबैभन्दा ठूलो कमजोरी मानवीय दृष्टिकोणको अभाव हो । कुनै पनि नागरिकलाई वैकल्पिक व्यवस्था नगरी जबरजस्ती उठीबास लगाउनु राज्यको दायित्वबाट पन्छिनु हो । विशेषगरी बालबालिका, गर्भवती र सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकजस्ता संवेदनशील समूहको अवस्थालाई प्राथमिकतामा राखिनुपर्थ्यो । उनीहरूका लागि अस्थायी आवास, स्वास्थ्य सेवा, पोषणयुक्त खाद्य सामग्री र मनोसामाजिक सहयोगको व्यवस्था नगरी गरिएको हटाउने अभियान अमानवीय मात्र होइन, गैरजिम्मेवार पनि देखिन्छ । अर्कोतर्फ, सुकुमबासीको नाममा सार्वजनिक जमिन अतिक्रमण गर्ने र निजी स्वार्थका लागि फाइदा लिने प्रवृत्तिलाई पनि बेवास्ता गर्न मिल्दैन । वास्तवमा सबै सुकुमबासी एउटै प्रकृतिका छैनन् । केहीसँग अन्यत्र घरजग्गा हुन सक्छ, केहीले योजनाबद्ध रूपमा सार्वजनिक जमिन कब्जा गरेका पनि हुन सक्छन् । तर यसै आधारमा सबैलाई एउटै तराजुमा राखेर कारबाही गर्नु न्यायसंगत हुँदैन । राज्यको दायित्व भनेको वास्तविक सुकुमबासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, रोजगारी र सामाजिक सुरक्षाको पहुँच उपलब्ध गराउनु हो, न कि सबैलाई एउटै समूहमा राखेर हटाउनु । सरकारले यस विषयलाई केवल ‘व्यवस्थापन’को समस्या जस्तो देखाउन खोजेको छ, तर यो मूलतः गरिबी, असमानता र विकासको असन्तुलनसँग जोडिएको गहिरो संरचनात्मक समस्या हो । अहिले विश्वव्यापी रूपमा देखिएको आर्थिक अस्थिरता, ऊर्जा संकट र रोजगारीमा आएको गिरावटले गरिब वर्गलाई झन् प्रभावित बनाइरहेको छ । नेपालजस्तो आयातमा निर्भर र विप्रेषणमा आधारित अर्थतन्त्रमा यसको प्रभाव अझ गहिरो हुन्छ । वैदेशिक रोजगारी घट्दा परिवारको आम्दानी घट्छ, उपभोग कम हुन्छ र अन्ततः सहरमा बस्ने न्यून आय भएका वर्गहरू प्रत्यक्ष मारमा पर्छन् । यस्तो अवस्थामा सुकुमबासी हटाउने जस्ता कदमले उनीहरूको जीवन अझ असुरक्षित बनाउँछ । घर मात्र होइन, उनीहरूले सानो–सानो रोजगारीका अवसर पनि गुमाउँछन् । दैनिक ज्याला मजदुरी गर्ने, सडक व्यापार गर्ने वा साना सेवा व्यवसायमा संलग्न मानिसहरूका लागि स्थान परिवर्तन गर्नु भनेको आम्दानीको स्रोत गुमाउनु हो । त्यसपछि उनीहरू अपराध, शोषण वा मानव तस्करी जस्ता जोखिममा पर्न सक्ने सम्भावना बढ्छ । सरकारले यस्ता दीर्घकालीन प्रभावको मूल्याङ्कन गरेको देखिँदैन । सरकारको अर्को आलोचनायोग्य पक्ष भनेको तथ्याङ्क र वास्तविकताको बीचको अन्तर हो । प्रायः सरकारी निकायहरू आर्थिक सूचकहरू राम्रो देखाउनमा केन्द्रित हुन्छन्, तर जमिनस्तरको यथार्थ फरक हुन्छ । गरिबी घटेको, रोजगारी बढेको वा विकास तीव्र भएको दाबी गरिए पनि सहरका झुपडी बस्तीहरू विस्तार हुँदै जानु आफैंमा त्यसको खण्डन हो । यदि नीतिहरू प्रभावकारी हुन्थे भने सुकुमबासीको संख्या घट्नुपर्ने हो, बढ्ने होइन । यसैले, अहिलेको परिस्थितिमा सरकारको प्राथमिकता स्पष्ट हुनुपर्छ । पहिलो, कुनै पनि हटाउने अभियान अघि वैकल्पिक आवासको सुनिश्चितता अनिवार्य हुनुपर्छ । दोस्रो, सुकुमबासीलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । तेस्रो, सामाजिक सुरक्षा सञ्जाललाई विस्तार गरी कमजोर वर्गलाई लक्षित सहायता उपलब्ध गराउनुपर्छ । चौथो, स्वास्थ्य र शिक्षामा सहुलियत दिई उनीहरूको जीवनस्तर सुधार गर्ने प्रयास गर्नुपर्छ । यसका साथै बजार अनुगमन प्रभावकारी बनाउन पनि जरुरी छ । कृत्रिम अभाव, कालोबजारी र अनियन्त्रित मूल्यवृद्धिले गरिब वर्गलाई सबैभन्दा बढी असर गर्छ । सरकारले कर छुट, सहुलियत र नियमनका माध्यमबाट अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण गर्नुपर्छ । तर यी सबै अल्पकालीन उपाय मात्र हुन्। दीर्घकालीन समाधानका लागि उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, उद्योग विस्तार र आन्तरिक रोजगारी सिर्जना अपरिहार्य छ । अन्ततः, सुकुमबासी समस्या समाधान गर्न राजनीतिक इच्छाशक्ति र मानवीय संवेदनशीलता दुवै आवश्यक छन् । केवल कानुनी आधारमा संरचना हटाउनु सजिलो छ, तर मानिसको जीवन पुनःस्थापित गर्नु कठिन काम हो । यही कठिन काम गर्न सक्नु नै राज्यको असली परीक्षा हो । यदि सरकारले उठीबास गरिएका नागरिकलाई सम्मानजनक जीवन दिन सक्यो भने मात्र यो अभियान सफल मानिनेछ । अन्यथा, यो केवल गरिबमाथि अर्को अन्यायको अध्याय बन्नेछ । सरकारले अब निर्णय लिनुपर्छ-उसले विकासको नाममा कमजोरलाई विस्थापित गर्ने हो कि समावेशी नीति अपनाएर सबै नागरिकलाई साथ लिएर अघि बढ्ने हो । यही निर्णयले नेपालको सामाजिक न्यायको भविष्य निर्धारण गर्नेछ ।

सत्ताको 'उचाइ' र विधिको 'धरातल':  नयाँ आवरणमा पुरानै प्रवृत्ति

पूर्णबहादुर घर्ती  १. नयाँ आवरणमा पुरानै प्रवृत्ति:  नेपाली राजनीति अहिले एउटा विचित्रको संक्रमणकालबाट गुज्रिरहेको छ। 'पुराना' दलहरूको असफलताको जगमा 'नयाँ' शक्तिहरूको उदय त भयो, तर कार्यशैलीमा भने एउटा साझा र खतरनाक चरित्र हावी हुन थालेको छI  सस्तो लोकप्रियतावाद (Populism) र संस्थागत बेवास्ता। जनअपेक्षालाई सुशासनमा बदल्नुको साटो सत्ताको बागडोर सम्हालेका पात्रहरूले नै राज्यका दुई मुख्य स्तम्भ-  व्यवस्थापिका (सदन) र न्यायपालिका (अदालत) को मर्यादालाई नजरअन्दाज गरिरहेका छन्। २. सैद्धान्तिक विचलन:  लोकतन्त्रको आत्मा भनेको 'बहस' र 'सहमति' हो। तर, वर्तमान परिदृश्यले अर्कै संकेत गरिरहेको छ: * सदनको उपेक्षा: जनप्रतिनिधिहरूको सर्वोच्च थलो 'सदन' लाई जीवन्त बहसको केन्द्र बनाउनुको साटो राष्ट्रपतिलाई आह्वान गर्न लगाईएको सदन  विनाकुनै कारण  स्थगन गरिनुले संसदीय सर्वोच्चताको उपहास र राष्ट्रपतिलाई रबर स्ट्याम्प जस्तो वनाईएको छ । प्रचण्ड बहुमत हुँदाहुँदै पनि जब शासकहरूले अलोकतान्त्रीक र  हुकुमी शासनको बाटो रोज्छन् छिट्टै पतनको दिशामा पुग्छन् ।  * लोकप्रियतावादको पासो: लोकप्रियताका लागि गरिने 'स्टन्ट' हरूले तत्कालका लागि सामाजिक सञ्जालमा ताली त पाउँछन्, तर यसले समाजमा गहिरो विभाजन निम्त्याउँछ। सुकुम्बासी समस्यालाई मानवीय र आर्थिक पाटोबाट हेर्नुको साटो केवल 'अतिक्रमणकारी' को लेभल लगाएर बल प्रयोग गर्नु शासकको अनुदारवादी र निरंकुश चरित्रको उपज हो। ३. कानुनी राज्यको उपहास: नेपालको संविधानले नागरिकको 'आवासको हक' लाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। तर, व्यवहारमा विधिको शासनलाई शक्तिको आडमा थिचिएको देखिन्छ।  * अदालतको अवज्ञा: सर्वोच्च अदालतले २०८० मा दिएको "वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्ती नहटाउनु" भन्ने आदेशको पालना नगर्नु सिधै अदालतको मानहानि मात्र होइन, बरु लोकतान्त्रिक मूल्यमान्यता माथिको गम्भीर प्रहार हो। * संस्थागत पद्धतिलाई बाइपास: भूमि आयोग जस्ता संवैधानिक र कानुनी संयन्त्रलाई परामर्श र समन्वयमा सामेल नगरी 'डोजर' चलाउने आदेश जारी गर्नुले राज्यका स्थापित संस्थाहरूलाई कमजोर बनाउने र व्यक्तिलाई हाबी गराउने प्रवृत्तिको पुष्टि गर्छ। ४. काँधमा चढेको बच्चाको मनोविज्ञान:  अहिलेको सत्ता सञ्चालनमा एउटा रोचक तर भयावह 'मनोविज्ञान' देखिएको छ। जनमतको काँधमा चढेर शक्तिमा पुगेका पात्रहरूले आफूलाई संसारकै अग्लो ठान्ने भ्रम पालेका छन्। * नयाँ शक्तिको विरोधाभास: 'जान्नेलाई छान्ने' भन्दै आएका शक्तिहरूले 'एकाधिकारवादी' शैलीलाई नै निरन्तरता दिने हो भने, जनतामा "जुन जोगी आए पनि कानै चिरेको" भन्ने निराशा बढ्नु स्वाभाविक छ। * सेलिब्रेटी संस्कृति र पद्धति: राजनीति जब 'सिस्टम' मा भन्दा पनि 'सेलिब्रेटी' र 'फ्यान फलोइङ' मा आधारित हुन्छ, तब संस्थागत जवाफदेहिता हराउँदै जान्छ। यसले बिस्तारै 'निर्वाचित अधिनायकवाद' लाई आमन्त्रण गर्छ। ५. निष्कर्ष र निकासको बाटो शासकले आफ्नो उचाइ आफू उभिएको धरातल (कानुन र संविधान) बाट नाप्नुपर्छ, अरूको काँधबाट होइन। अहिलेको संकटबाट निकासका लागि निम्न बुँदाहरू अनिवार्य छन्: 1.संवैधानिक सम्मान: सरकारले अदालतको आदेश र संविधानको धारा ३७ (आवासको हक) लाई पूर्ण रूपमा पालना गर्नुपर्छ। 2.संसदीय सक्रियता: जटिल मुद्दाहरूलाई सदनमा लगेर व्यापक छलफलबाट मात्र कानुन र नीति निर्माण गरिनुपर्छ। 3. मानवीय व्यवस्थापन: सुकुम्बासी समस्याको समाधान 'डोजर' होइन, 'पुनर्स्थापना' र 'वैज्ञानिक पहिचान' हो। वास्तविक सुकुम्बासी र भू-माफिया छुट्ट्याउने वैज्ञानिक विधि अपनाउनु नै सुशासनको पहिलो कदम हो। अन्त्यमा, जबसम्म पद्धतिलाई व्यक्तिभन्दा माथि राखिँदैन र राज्यका संस्थाहरूलाई खेलौना बनाइन्छ, तबसम्म लोकतन्त्रको आवरणमा अराजकता मात्र मौलाइरहनेछ जो छिट्टै पतनको दिशामा जान्छ । लेखक : नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभाका निवर्तमान सांसद हुन् । (२०८३ / ०१ / १२)  

लोकप्रिय