खिम्ती–ढल्केबर प्रसारण लाइन सम्पन्न, भारतबाट आयातीत बिजुली सोझै राजधानीमा

खिम्ती–ढल्केबर प्रसारण लाइन सम्पन्न, भारतबाट आयातीत बिजुली सोझै राजधानीमा

काठमाडौँ, ४ माघ । विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती– ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । उत्त प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण समेत सुरु गरिएको छ ।

विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

प्रसारण लाइन निर्माण भएपछि भारतबाट आयात गरिएको विद्युत् ढल्केबर– खिम्ती– लामोसाँघु हुँदै काठमाडौँ भित्र्याउन सहज भएको अधिकारीको भनाइ छ । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनअनुसार नै प्रसारण लाइन सम्पन्न भएको तथा प्राधिकरणले महत्वपूर्ण सफलता हासिल गरेको उनले बताए ।

प्राधिकरणका तत्कालीन उपकार्यकारी निर्देशक कन्हैयालाल मानन्धर आयोजना प्रमुख हुँदा सन् २००३ मा सुरु भएको आयोजना उनी सेवा निवृत्त हुँदासमेत सम्पन्न नहँुदा सर्वत्र संसय पैदा भएको थियो । आयोजना प्रमुख श्यामकुमार यादवले आयोजनाको यही माघ १ गतेबाट नियमित परीक्षण भइरहेको बताए ।

“हामीले नियमति रुपमा प्रसारण लाइन परीक्षण गरिरहेका छाँै । खिम्तीको सव स्टेशनमा सामान्य प्राविधिक परीक्षण भइराखेको छ । प्रसारण लाइनले आफ्नो क्षमताअनुसार भार बहन गरेको छ,’’ उनले भने ।

सिन्धुलीको रतनचुरा, सिन्धुलीमाडीलगायतका स्थानमा स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर पटक÷पटक आयोजना अवरुद्ध गर्दै आएका थिए । अब भारतबाट आयात भएको विद्युत् काठमाडौँ भित्र्याउने बाटो खुलेको छ ।

समयमै प्रसारण लाइन बन्न नसक्दा नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मा पाएको ‘कालपत्रे पावर’ ट्रान्समिसन र ‘मुडभरी एन्ड जेभी’लाई मासिक रु ११ लाख हर्जना तिर्दै आएको थियो । सन् २०११ देखि हालसम्म प्राधिकरणले बैंक ग्यारेन्टी, बिमा, सामान भण्डारण शुल्कबापत रु ६ करोड ६० लाख तिरिसकेको छ । आयोजना सम्पन्न भएपछि उक्त भार समेत बहन गर्नुनपर्ने भएको छ ।

विश्व बैंकको रु दुई अर्ब १५ करोड ६० लाख ऋण सहयोगमा उक्त आयोजना सन् २००६ मा सुरु भएको हो । प्रसारण लाइन सम्पन्न भएपछि बर्सेनि रु एक अर्ब प्राधिकरणलाई फाइदा हुनेछ ।

विद्युतको प्राविधिक चुहावटका कारण १० मेगावाटभन्दा बढी विद्युत् खेरगइरहेको छ । करिब ७३ किलोमिटर दुरी रहेको सो आयोजना निर्माण भएपछि खिम्ती काठमाडौँ भरतपुर हुँदै तराई जोड्ने दुई सय ५० किलोमिटर लामो दुरी पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्रसारण लाइन घुमाउरो हुँदा प्राधिकरणलाई वार्षिक रु एक अर्ब बराबरको घाटा भएको छ भने प्रसारण लाइन बन्ने बित्तिकै १० मेगावाट बिजुली बचत हुँदा मुलुकभरको विद्युतभार कटौती आधा घन्टा कम हुने विश्वास लिइएको छ ।

प्रसारण लाइन नहुँदा सिप्रिङ आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्न सकिएको थिएन । सो आयोजना निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोसी र दोलखालगायतका जिल्लामा उत्पादन भएको विद्युतसमेत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहयोग मिल्नेछ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजनास्थलबाट खिम्तीसम्मको प्रसारण लाइनको निर्माण सुरु गरिसकेको सन्दर्भमा सो प्रसारण लाइनमा करिब पाँच सय ५८ मेगावाट विद्युत् प्रवाह हुनेछ । प्रसारण लाइन दोलखाको सहरे गाविसबाट सुरु भई रामेछाप, सिन्धुली र महोत्तरीका विभिन्न गाविस हुँदै धनुषाको ढल्केबरमा रहेको सव स्टेसनमा जोडिएको छ ।
आयोजनाले पाँच जिल्लाका १६ गाविस र एक नगरपालिका प्रभावित भएका छन् । विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सो आयोजना सम्पन्न भएपछि भारतबाट थप आयात हुने ४० मेगावाट विद्युत् यही माघ १६ गतेबाट सहज रुपमा काठमाडौँ ल्याउन सकिने प्राधिकरणका प्रवक्ता अधिकारीको भनाइ छ । रासस

महसुल नबुझाउने सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु

गोदावरी । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ । प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम एक करोड ५३ लाख ४९ हजार ३६५ रहेको छ । वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि १८० ग्राहकले महसुल बुझाएका छन् । एक महिनाको अवधिमा ती ग्राहकबाट ७८ लाख ३७ हजार ४९१ विद्युत महसुलबापतको रकम असुली भएको उनले जानकारी दिए । धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ । ती सात कार्यालयले ६ लाख दुई हजार ६०७ विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रले जनाएको छ । लाइन काटिएका सरकारी कार्यालयबाट एक लाख ४८ हजार ६४० मात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिए । धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन् । वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको छ । रासस

काठमाडौंका यी स्थानमा आज बन्द रहनेछ छ विद्युत आपूर्ति

काठमाडौं । काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने यसअघि नै जानकारी गराइसकेको छ । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो । चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुनेछ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।  

काठमाडौंका यी स्थानमा हुनेछैन ७ देखि १३ गतेसम्म विद्युत् आपूर्ति (तालिकासहित)

काठमाडौं । काठमाडौंमा आइतबार (भोलि) देखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । माघ ७ गते महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, ८ गते चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्र, ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति हुने छैन । ११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुनेछ ।

६० अर्ब बराबरको आईपीओ बिक्री गर्दै विद्युत् प्राधिकरण

काठमाडौं । सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । सेयर बिक्रीका निम्ति अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ । अर्थको सहमतिपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । प्राधिकरण सञ्चालक समितिको गएको मंसिर २५ गते बसेको बैठकबाट आवश्यक निर्णय गरिएको छ । सञ्चालक समितिले अर्थ मन्त्रालयबाट अधिकृत पुँजी तीन खर्ब रुपैयाँ कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष स्वीकृतिका निम्ति अनुरोध गर्ने निर्णय गरेको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम खुद सम्पत्ति ९नेटवर्थ०को दुई गुणासम्म प्रतिसेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा हाललाई प्रस्तावित अधिकृत पुँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई सेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय भएको छ । सो निर्णय यही पुस १९ गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयमा पेस गरिसकेका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पनि सार्वजनिक संस्थालाई थप सबल बनाउने उद्देश्यका साथ सेयर जारी गर्न लागिएको बताएका छन् । सरकारले संस्थालाई आमनागरिकको बनाउने उद्देश्यका साथ यस्तो तयारी गरेको स्पष्ट पारेको छ । यसअघि नै सरकारले नेपाल दूरसञ्चार कम्पनीको समेत सेयर सर्वसाधरणमा बिक्री गरेको थियो ।

लोकप्रिय