जान्नुहोस्, परीक्षा तयारीका ७ टिप्स
काठमाडौंः यस दुुनियाँमा परीक्षालाई रमाइलो मान्ने विद्यार्थी भेट्टाउन निकै कठिन छ । तर सही तरिका समातेर गरिएको परीक्षा तयारीले उत्कृष्ट नतिजा दिने गरेको विभिन्न अध्ययनले देखाएको छ । जुनसुकै तहको परीक्षा तयारी गरिरहेका भए पनि विद्यार्थीले तयारीअघि केही यस्तो तरिका समात्नुपर्छ जसले उनीहरूलाई परीक्षामा आनन्द प्रदान गर्नुको साथै सोचेजस्तै नतिजा ल्याउनसमेत मद्दत गर्दछ ।
अध्ययनका लागि पर्याप्त समय
परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई परीक्षा आउनुुभन्दा अन्तिम एक मिनेट पनि निकै महत्वपूर्ण हुन्छ । त्यसैले विद्यार्थीले सबैभन्दा पहिला आफूले दिनुुपर्ने परीक्षा कतिवटा छन् र ती परीक्षामध्ये कुन विषयलाई कति समय दिने भन्ने योजना विद्यार्थीले पहिले नै बनाउनुपर्छ । कहिलेकाहीँ कुनै विषयलाई धेरै समय र कुुनैलाई थोरै समय पनि दिनुपर्ने हुुन्छ । यसको हिसाब तयारीको योजना बनाउने बेलामा गर्नुपर्छ । यसो गर्नाले विद्यार्थीलाई आनन्द प्रदान गर्नुका साथै सोचेजस्तो नतिजासमेत प्रदान गर्दछ ।
अध्ययन कक्षमा पर्याप्त स्थान
परीक्षाको तयारीका लागि होस् अन्य जुनसुकै विषय अध्ययन गर्न बसेका विद्यार्थीका लागि पनि अध्ययन कक्ष पर्याप्त हुनुपर्छ । अध्ययनका क्रममा विद्यार्थीले आवश्यकताअनुसार प्रशस्त किताब र कापी प्रयोग गर्नुपर्ने हुन्छ । प्रयोगका क्रममा यी सामग्रीहरू यताउति छरिन्छन् । यो सामान्य कुरा हो । यसका लागि स्थान पर्याप्त स्थान चाहिन्छ । अध्ययन कक्षमा कम्प्युटर, बत्ती, कुर्सी आदि सामग्रीलाई सजिलो हुनेगरी राख्नुुपर्छ । कोही विद्यार्थी अध्ययनका क्रममा गीतसंगीत बजाउने बानी परेका हुन्छन् । कुनै विद्यार्थी अत्यन्त शान्त भएर बस्ने हुन्छन् ।
चार्ट र डायग्रामको प्रयोग
कुनै विषयवस्तु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पुर्याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उतारेर राख्नुपर्छ । जसलाई आफूले चाहेको र सम्झन खाजेको अवस्थामा सहजै हेर्न सकियोस् ।
पुराना प्रश्नपत्रको अध्ययन
परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं सम्झनुुपर्ने विषय हो, पुराना प्रश्नपत्रको अध्ययन । यसो गर्दा परीक्षाको कस्तो फरम्याटमा आउँछ? उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरू बढी महत्वपूर्ण हुन्छन् भन्ने जान्न सहज हुन्छ । कस्तो प्रश्नलाई कति समय दिएर लेख्ने भन्ने जान्न पनि यसले सहयोग पुर्याउँदछ ।
आफूले जानको कुरालाई साथीभाइलाई भन्ने
भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुुस्तक अध्ययन गरेरभन्दा आफूले जानेको कुरा अरूलाई भन्दा बढी प्रभावकारी हुन्छ । त्यसैले साथी, दाजुभाइ, दिदीबहिनी वा आमाबाबुलाई नै भने पनि आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउने गर्नुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुक्ति पाइन्छ ।
समूहगत अध्ययन गर्ने
परीक्षा तयारी गर्दा साथीभाइसँग पर्याप्त भेटघाट गर्नुुपर्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले अन्य साथीलाई सोध्न सकिन्छ । यसो गर्दा पनि पढेको कुरा स्पष्टसँग बुझ्न सकिन्छ । त्यसबाहेक साथीबाट नयाँ जानकारी पाउन पनि सकिन्छ ।
नियमित ब्रेक लिने
कुनै मानिस म्याराथनको तयारीमा लागेको छ भने उसले २४ घन्टा नै दौडन सक्दैन र दौडनुु पनि हुँदैन । यसैगरी परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुुस्तक र नोट बुकमा मात्र केन्द्रित हुनु पनि हुुँदैन । यसले गर्दा उनीहरूलाई दौड परीक्षा आयो भन्दैमा दिन रात नभनी पढाइमा मात्र केन्द्रित हुनुहुुदैन । नियमित रूपमा ब्रेक लिनुपर्छ ।रातमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले दिनमा धेरै थकाई मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले रातमा थकाई मार्ने गर्नुुपर्छ । जुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुपर्छ । यसबाहेक उनीहरूले नियमित पानी पिउने, हलुका खानेकुरा खाने गर्नुपर्छ । अन्नपूर्ण पोस्ट् दैनिकबाट
नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।
अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।
यस वर्षको एसइई चैत पहिलो सातादेखि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ । सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति
चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

